March 26, 2009

... साथी ! (गजल)

बाहिर चैते झरीको ठट्यौली लीला जारी छ, भित्र कोठामा म छु, अक्षरको बलेंसी सम्हाल्दै फुरुङ्गिँदै । धेरैपछि लेखेँ आज गजल र टाँस्न हतार लागिहाल्यो । सुर त अरू नै केही लेख्‍ने थियो, तर बगेको मन फर्किएन । आज तीनवटा गजल लेखियो, गन्ती गर्नुको के नै तुक हुन्छ र ! र पनि धेरै समय बाँझिएको जग्गामा बाली लाग्दा किसान मक्खिए जस्तै रमाउँदो रहेछ मन । बालीमा कोसा-गेडी मजैले लाग्यो कि लागेन, पछि आँक्ने कुरा हो । म पनि लेखिएका गजल कतिविघ्न रसिला-कसिला रहेछन्, कोट्याउने क्रममै छु, अझै पालिस लगाउने ठाउँ कता छ, जोखाना हेर्दैछु । एउटा गजल भने तात्तातै CaFe मा भतेर लाउने हुटहुटी लागिहाल्यो र मध्यरातको बत्ती उछिन्ने तर्खरमा धर्ना बसेको छु ।

यो मेरो हेराइमा औंसत गजल हो, सामान्य विषयमा सामान्य ढाँचाले लेखिएको । त्यसो यसलाई उच्चस्तरीय कमसल पनि नभनिहालूँ, मध्यमस्तरीय कमसल भने यो पक्कै हो :-)

यसो हेर्दा यस गजलमा कसैले अर्तीको बाक्लै ध्वनि गुन्जिएको पाउला । आजको उत्तरआधुनिक तनावमा अर्तीको के नै मोल र महत्ता होला र ! खासमा गजलको भावमा यो मैले मैंलाई गरेको साउती र सम्झाउनी हो । यो साउती हरू धेरैसँग मेल खाला र मेल नखानेहरूमा पनि रचनागत सामीप्यता राख्ला बनेर बाँड्ने मन भयो । खुलेरै भन्दा ब्लगर मित्रहरूलाई मेरो निजी मामिला थोपरेर के बहको बोझ दिऊँ ! तर केही समययता म अलि बिथोलिएको छु, त्यसैको मलमपट्टी गर्नतिर आफैँ लागेको छु । यो गजल त्यसै प्रयासको एउटा चक्की हो ।

साइनोको मोडमा पीडाको तोड नपरिरहन कसरी पो सक्छ र ? सम्हालिन्छु भन्दाभन्दै पनि जाकिएको किला खियादार चिस्यान उमारेर भित्रभित्रै भुलभुलाउँछ र रन्थनी छुट्छ । यस्तो भावनात्मक मनोदशामा मान्छेले सामाजिक, सांस्कृतिक र पारिवारिक र अन्य नसनातो र सरोकार आदि केही कुराको वास्ता राख्दैन रहेछ । मग्न त होइन, भग्न हुँदो रहेछ मान्छे । यस्तोमा, सबै कुरा एउटै चोटको केन्द्रविन्दुमा फिक्री मान्दै परिक्रमारत हुन्छ । कति मान्छेले कति साह्रो हण्डर र व्यथा झेलेका छन् र पनि सामान्य लयमा उही दैनिकीमा बाँचेकै छन् , म भने किन यस्तो ? आफैँलाई थर्काउँछु र चक चोरेर कक्षाको डेस्कमुनि लुक्ने विद्यार्थीलाई मास्टरबाबूले खबरदारी औंलाले लुचुक्क बनाए जस्तै आफैँलाई चूप लगाउँछु । र पनि चुइँक्क बोल्न पुग्छु यस्तै गजलमार्फत -
----------------------------------------------------
भाँचिँदैमा एउटा छाता जीवनभरि भिजिन्न साथी
टुट्न सक्छ गाढा साइनो संसार सारा रितिन्न साथी !

पाइलैपिच्छे थपक्कन ओइरिदिन्छन् शिखरहरू,
उक्लिँदैमा कुनै शिखर समग्र यात्रा जितिन्न साथी !

यस्तै हो यो जीवन-संसार सिक्छ कहिले सिकाउँछ,
पला-पला घोटिनैपर्छ हत्त न पत्त सिकिन्न साथी !

एकै भेट भरपूर कुनै बारम्बार भेट्दा शून्य केही,
कोटा र गन्ती हिसाब गर्दै आत्मीय फोटो खिचिन्न साथी !

पश्‍चिमबाट आएँ म बग्दै तिमी पूर्वै लागेछौ अझै,
सोचाइ-रोजाइ बेग्लेपछि बलैले दुई मिलिन्न साथी !
*तस्बिर: ट्राभेल.वेबसट्स.कम

March 22, 2009

चोरसभा

बार-बार खुलेआम
सडकछेउको दुर्गन्ध झैँ
वा, चोकको लोभी मगन्ते झैँ
आउँछ, आइरहन्छ चोर

जहाँ स्वर्ग जस्ता
सुन्दर बस्ती मौलाउँछन्
तिखारेर हत्केलाभरि पिरो नङ्ग्रा
जन्मिइहाल्छन् कलकलाउँदा चोरहरू

रसिलो लबज
सुकिलो कवच:
उसको मस्तराम व्यक्तित्वले
चोरलाई चोर भन्न
ठोकिदिन्छ ताल्चा आम ओठहरूमा

बस्तीको पवित्र बगैँचामा
आफ्नो भद्दापन थुपार्छ चोर
मिचेर छाडिदिन्छ असरल्ल
कर्णधार पुस्ता जस्ता रङ्गीन फूलहरू
र निमोठेर खान्छ कसिला जरा
पस्छ घरको उल्लासमा
मतलब गर्दैन -
टेबलमाथिको भाँडो कम्प्युटर
र सुटकेसको अन्तिम पत्रमा सम्हालिएको
आमाचिनोको स्वर्णऔँठी

बरू लुछेर लैजान्छ
उज्यालो हार्डडिस्कको जडान
पारिदिन्छ गुजमुज्ज
दिमागका सुनौला तारहरू
तब गायब हुन्छन् एकैसाथ-
समुद्रमा पनदुब्बी जहाज झैँ
ट्याउँट्याउँ ओठको चाल
हराउँछ सिरानीछेको
बृहत् शब्दकोष

सामुन्नेमा-
देखेर उदास जेलघरको
रिक्त-अपूरो 'विशिष्‍ट बन्दी कक्ष'
सधैँ परिरहेछ
छक्क पर्नु परिरहेछ
चोरको यस्तो चलाखी बोक्न
कहिलेसम्म सक्छ काँध खुस्किएको यो कुप्रो बस्ती ?

ए थकाली बा !
खोइ
बाली तहसनहस पार्दा साँढे धपाउने
ती लाठी र भालाहरू,
धुलाम्मे गलैँचा झैँ
किन नटकटक्याउने
सिङ्गो बस्ती कुटुकुटु टोक्ने
चोरका बेइमान खल्तीहरू ?
किन सरक्कै नबढार्ने
आराम सभा मनाइरहेका चोरको यो आमसभालाई ?

March 17, 2009

समय नै घाउ, समय नै औषधि

धेरै भयो मनको कुरा नगरेको, आफूलाई नियालेर नहेरेको । जीवन त अरूहरूतिरै निशानाबाजी लगाउनमा रनभुल्लिएछ । यो जीवन छ नि हाम्रो, जब्बरमा बडो जब्बर छ र सरलमा ज्यादा सरल । बुझेँ भन्यो बुझ्न उति नै बाँकी, बुझिनँ भन्यो त्यतिसम्म पनि निरपेक्ष बस्न र जिम्मेवारीबाट पन्छिन नसकिने, नमिल्ने पनि । आखिर जीवन त बाँच्दै आइएको छ, यो बच्चो त हाम्रै आफ्नो काखमा कोकोहोलो र खिलखिलाहट उछालिरहेछ । कहिले यसले आफैँभित्र कल्याङमल्याङ जन्माउँछ, कहिले अरूमा कम्पन पैदा गराउँछ । चुप कहिल्यै बस्दैन । चुप बस्ने भए त यो जीवन नै कसरी कहलिन्थ्यो र ? जीवन छुलछुले !

यो जीवन नामको पाठशालामा, कस्तो भने, हामी इरेजरबिना नै सिकाइप्रक्रिया हाँक्दै जाँदा रहेछौँ । केवल शीशाकलमको भर । सिकाइको बाँच्ने यात्रामा केही भूल कथम् भइहाले पनि कुनै निरूपाय बालकले थुकको सहाराले शीशाकलमको रेखा घोट्ने उपक्रम गरेर पाना मैल्याएजस्तै जीवन धूमिल बनिदिन्छ । बाँच्दाबाँच्दै बाँच्ने नली थुनिए जस्तै । अनि त आफैँ आफ्नो रमिते बनेर एउटा कुनाबाट नियाल्नुपर्ने । त्यतिबेला 'आफैँलाई माया गर्नु' भन्ने जीवनवादी नारा कति कामलाग्दो भइदिन्छ भने, मिल्थ्यो भने आफ्नै अँगालोमा गुजुल्टिन आफू यथेष्‍ट भइन्छ ।

सम्बन्धको जालोमा एउटा उद्‍गार खूबै मन झस्काउने बनेर रहेको छ- 'Relation is tension' । भन्नलाई त केके भन्छन् नि । राम्रो पनि, नराम्रो पनि । राम्रो कुरामा यति पाएँ, यति सिकेँ, यति त जोरजाम गरेँ भनेर चित्त बुझाउन हामीले कहिले पो जान्यौँ र ? खालि रिक्त र भग्न मन लिएर समयको पर्खालवरिपरि चौकिदारी गर्नको हत्तेमा हामीलाई मजा मिल्छ । नराम्रो झस्का नै हाम्रो मनमा गढ्छ । उसै पनि युद्धमैदानमा सैनिकले छातीमा ट्याप्प कस्ने बुलेटप्रुफ ज्याकेट मान्छेको मुटुको सुरक्षा गर्ने कहाँ हुन्छ र ! कहाँ छातीको घेरालाई यसो थामथुम पार्ने बुलेटप्रुफ, कहाँ आवरणरहित मन । राम्रो र भइराखेको कुरो उपेक्षाको नाइल नदीमा सेलाउनु जस्तो महान्‌ता हामी बाहेक सायदै अरू प्राणीले गरेका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्ड बुकमा हाम्रो यस्तो रेकर्ड अभिलेखित गरिनुपर्ने होइन ?

समयको कुनै साइतमा त्यो पनि दिन आउला । अहिले केही नजुर्दासम्मन् त समयहीन मान्नुपर्ला परिस्थिति । समयले दिएका सुनौला निर्देशनचिन्हमा भन्दा अलमल्याउने गुजुल्टोमा अथाह मनोरञ्जन भेटेर व्यस्त बन्न सजिलो छ । समयले थोपरेका थरीथरी घाउ गन्दै स्कुले बेला पार गरेसँगै छुटेको अङ्कगणितको खेल अद्यावधिक गर्नु त्यसो त चानचुने कुरो होइन । तर 'अचानचुने' काम गर्नु छ, अरूभन्दा बेग्लै हुनु र देखिनु छ, दौडमा सबैभन्दा अगाडि पैँताला टेकाउनु छ । यता पनि हजुर टक्र्याउनु छ, उता पनि 'त्यो त सारै चिसो व्यवहारको छ है' भनेर खुसामद गर्नु छ । यसो सोच्दा यही एउटा जीवन त के भजाउन भ्याइसक्दो छ र एउटा मान्छेलाई !?

एउटा-एउटा नाता र बहानामा जीवन-यात्रामा भेटिएकाहरूको घोडा चढ्नु, अलि माथि पुग्नु र अलि समयपछि घोडालाई धारे हात लगाउँदै 'जीवनमा कोही भेटिनु भनेकै उसबाट आफूले केही सिक्नु हो, तँ बाट लिनु मैले यति नै रहेछ' भन्ने थेगो सुनाउँदै फेरि अर्को घोडाको प्रतीक्षामा बस्नु अहिलेका मान्छेको सवारी-लीला हो । यसलाई उपभोक्तावादी संस्कृतिको चरम नमूना भनिदिए हुन्छ । घाउको वितरण यस्तै सवारीबाट हुन्छ । घोडा हुनु कोही सवारलाई बोक्नु मात्र कहाँ हो र, यात्राभरको उसको अपजस र बिस्तारै घनघोर उपेक्षाको नीलडाम पनि सँगै हातलागी हुन्छ पिठिउभरि । हामी घोडाभन्दा कति मानेमा फरक छौँ हँ ? घोडा बराबर मान्छे भन्दा देशको कानुनले बोल्नेको मुखमा पिच्कारी छ्‌याप्ला ? तर घाउ लिएरै घोडा टापभरि कस्सिएको व्यथा बजाएर बसिराख्दैन । समयले घाउ दियो एउटा मोडमा । समय आफैँ घच्चीको चक्की औषधि भएर बसेको हुनेछ मूल सडकमा, पर्खिनुपर्छ । समय नामको वैद्यले चक्कु चलाए पनि त्यसैको उल्टो उपचारले हामीलाई ताछेर जीवनपथमा धारिलो उभ्यानेछ । नि:शस्त्र अवस्थामा पनि हामी सशस्त्र बनौँला । बाँच्न जान्नुपर्छ, जीवन कुराउनी जस्तै कमलो-मगमगाउँदो हुँदै जानेछ । यो त जो कोही 'म' ले छिप्पट रातमा आफैँलाई लोरी गाइरहेको हुने भए पनि जपिरहनुपर्छ ।
घाउ निको हुनु मात्र सरोकार होइन, बाँच्नु ठूलो कुरो हो । र त्योभन्दा ठूलो कुरो- अरूलाई घाउ नदिई आफ्नै पैदलयात्रामा वेग मार्नु । सके स्वार्थी नै भइयोस् । अझ हुन सकोस्, त्यो वेगले शीतल देओस् कसैलाई । सबभन्दा पहिलो मुद्दा- आफैँलाई माया गर्नु । भन्छन्- आफैँलाई माया गर्न नसक्ने-नजान्नेले अरू कसैलाई माया गर्दैनन् रे ! आफैँलाई माया गर्नेले तै मायाको अनुभूति र त्यो न्यानो रक्षाकवचको महत्व त थाहा पाउँछ । तब उसलाई मायाको घेरा मुलायम लागेर त्यसैको आदानप्रदानमा खुल्न मन लाग्दै जान्छ । घोडा भएर हिनहिनाइरहने र पीडाको विज्ञापन गरिरहने हो भने त के लाग्छ र ? हिनहिनाइले कुनै नाममा चढ्न आउने मालिकको कोर्रा बाहेक केही पाउँदैन । कोर्रा ... थप कोर्रा ... । खासमा पहिले त हामी घोडा नै त हौँ !

March 11, 2009

जोगिरा सररर....

राजधानीको होलीको रङ नै चर्को ! होली आउनुभन्दा एक साताअघिदेखि नै लोलाको वर्षाले सडक र गल्लीको दायाँ-बायाँ अभागी ढाडहरूलाई अधैर्यपूर्वक प्रतीक्षा गरिरहेका हुन्छन् । को साथी, को बटुवा केही हेक्का राखिन्न । हत्तपत्त रङ त देख्नै पाइँदैन । विशेषत: युवा उमेरसमूहका अनुहारहरू होलीको बहानालाई उपद्रै रमाइलो गर्ने रूपमा लिन्छन् । यस्तो आशक्तिलाई संस्कृतिप्रेम भन्ने कि चाडबाडको नाममा अराजक प्रथा ? प्रस्तुत छ यसपाली मेरा आँखाले नियाल्न भ्याएका होलीका केही झाँकीहरू ------






March 8, 2009

... यस्तरी

लेछ ती अधरमा जुनार यस्तरी
आँखाभरि नाचिरह्यो मुहार यस्तरी !

मनमनै डाक्यौ होला मलाई प्यारले,
मैले भने सुनेँ सोझै पूकार यस्तरी !

घाउ थियो भित्र कतै आँसु चुहाउँथ्यो,
तिमी आयौ तब भयो सुधार यस्तरी !

आफू प्यासी रहेर नै तृप्‍त पारेको छु,
को पो होला दुनियाँमा उदार यस्तरी !

मुटुभित्र मायालुको फोटो खिचाएर,
भएको छु ती आँखामा कुमार यस्तरी !



March 1, 2009

मनमाया र मजेत्रो

यो कविता मेरो केही वर्षअघिको कमाइ हो । सादा विषय, सादा पात्र, सादा लेखाइ भएको कविता । र पनि किन-किन यो कविता पढ्दा मन चङ्गा हुन्छ, मानौँ म नै हुँ त्यो हतभागी मनमाया चरित्र । आफ्नै व्यथा चौतारीमा कहे जस्तै हलुङ्गो लाग्छ । आज हाम्रो समाजमा मनमाया जस्ता थुप्रै अनुहारहरू निचोरिएको मन लिएर बाँचिरहेछन्, छि:छि र दूर्‌दूर्‌मा तेर्सिने औँलाहरूलाई हाँक दिँदै उनीहरू बाँचिरहेछन् । हेलाहोचा नै मनमायाहरूको दैनिक श्‍वासप्रश्‍वास हो । केवल बाँच्नु ठूलो कुरो होइन, र पनि प्रतिकूलताबीच बाँच्नु महान् यात्रा हो । मनमायाको धुस्रेफुस्रे कपाल र खपटे अनुहार त प्रतीक मात्र हो, खासमा समाजमा तिनको जिन्दगानी नै धूस्रेफुस्रे र रूग्ण छ । मनको सुन्दरतामा जोड दिँदै जिन्दगीको 'डायनामो'मा चार्ज गर्दै गुड्ने मनमायाहरू एक्का-दुक्का सामाजिक आँखाले थोपरेको कायिक झलकको झम्टा खेप्नुपर्दा असाध्यै ठेस भोग्छन् र ऐनासामु पसारो पर्न अभिशप्‍त बन्छन् । यस्तो भीडबजारमा समान अवसर र सम्मानभावको ब्यूटी पार्लर कहाँ होला यिनको लागि ? कविता प्रस्तुत छ -

--------------------------------------------
मनमाया र मजेत्रो

मङ्गको आकाशमा
स्वच्छन्द उड्नेभन्दा
विरक्तिको विरानो वनमा
विरह गाउने
मैन जस्तो मन छ
मनमायासँग

थाहा छ उसलाई
केवल
हाँगा फाटेको
लट्टा परेको
गुजमुज्ज कपाल,
मेहन्दीको घोलको
चम्किलो रङ्गीन लेपन
र सेम्पुको सलसलाउँदो गुन
अहँ, मनमाया
असाध्यै अबुझ छे,
अग्घोरै अक्षम छे

चौँरीको पुच्छर निमोठ्नु
भेंडाको बगाल सम्हाल्नु
त्योभन्दा बढी पटक्कै
आफैँलाई समेत
नियाल्दिन मनमाया
रातो तर फुटेका गालामा
चमक उडेको सादा ऐनाबाट

भद्दा ओठले
मलिन भाका गुनगुनाउनु
बाटुला अमिल्दा दाँतले
मुख छोपेर हाँस्नु -
मनमाया विवश छे
सारै विवश,
केही क्षणलाई खल्तीको फुरूङ्ग पर्न
कसैबाट लिएको सापटी नोट जस्तो
अत्यन्त हिफाजतसाथ
राख्छे मनमाया
मजेत्रो शिरमा

घुँगुरिएका फुस्रो कपालसँगै
बाँधेर मजेत्रोले
कुबेलामै फुलेको आफ्नो बैँस
मनमाया यतिखेर
आफैँलाई हेरिरहिछे
सान्त्वनाको सन्झ्यालबाट
मनमाया
कसिराख्छे मजेत्रो
केवल हराएको यौवन
सम्हाल्न,
मैलो मजेत्रोभरि गुम्सिएको
कपालको एक झुप्पा बादल झैँ
कतिविघ्न गन्हाइरहँदो हो
जिन्दगी !

मनमाया
विवश छे,
सारै विवश !

* तस्बिर :
नेपाल स्कूल प्रोजेक्ट