Subscribe:

Ads 468x60px

30 June 2009

बुबाबिना

माबारे जताततै लेखिएका छन्, आमाको महान्‌ता र गरिमालाई पृथ्वीसँग तुलना गरिएको पाइन्छ । साहित्य र धार्मिक वर्णनमा माता-महिमाको शृङ्खला चहकाउँदो गरी उज्यालो छ । त्यसको अघि बुबा अर्थात् पिता-महिमा शून्य नै छ भन्दा फरक पर्दैन । बुबाबारे साहित्य र धर्म-संस्कृतिमा कमै पढ्न पाइन्छ । देवी-देवताको आराधना गर्ने र रिझाउने मेसोमा सगोलमा "त्वमेव माता च पिता त्वमेव, त्वमेव वन्धु सखा त्वमेव" भित्र समेटिएर आउँछन् पिता ।

यो कविता मैले त्यही अभाव पूर्ति गर्ने हिसाबमा कोटापूर्ति गर्न लेखेको भने होइन । तर लेखिसकेपछि साहित्यमा पिता-प्रसङ्ग कति होलान् भनेर लख काटेँ । आफूले पढेकामध्येमा, र आफैँले लेखेकामध्ये पनि कति मात्रामा र कुन प्रसङ्गमा पिताको कुरा आयो भनेर सम्झिन खोजेँ, दिमाग स्क्यान गरेँ । तर जवाफ चित्तबुझ्दो आएन । यो कविता २०६३ सालको रचना हो मेरो । २०६२ सालमा अनाममण्डली संस्थाबाट देउसी खेल्न साथीहरूसँग संस्थालाई सहयोगको साथमा आफूलाई पनि रमाइलो पनि हुने देखेर देउसी खेल्न काठमाडौँ चहारिएको थियो । त्यसै क्रममा सर्जक मित्र विभोर बरालको काठमाडौँ टङ्गालस्थित घरमा पनि पुगियो । माथि छतमा उपद्रै किसिमले उफ्रिएर रमाइलो गरी भट्याइयो, नाचियो । घरधनीले साथ दिएर देउसेलाई जोस र आत्मीयता थपेको विरलै देखेको मैले त्यहाँ विभोरपिता वासुदेव बराल र हजुरआमाको रमाइलो सहभागितालाई लोभिएर हेरिरहेँ । ज्यादै आत्मीय देउसीमध्येको एउटा देउसी थियो त्यो ।

देउसीको रमझम सकिएपछि सबै साथीसङ्गी जीवनगाडीको इन्धन जुटाउने रनाहामा च्यापिएर आ-आफ्नै कामको मेलोमेसोमा हराए । यस्तैमा एक दिन सुनियो- हामीसँग रमाएर देउसीमा साथ दिने मित्र विभोरका बुबा वासुदेव बराल बित्‍नुभएछ । २०६३ मङ्सिर १३ गते बित्‍नुभएछ उहाँ । सुनेर खै कस्तो अत्यासले किचिएँ म, यत्तिकै झोक्रिएँ-फन्किएँ, सामान्य स्थितिमा फर्किँदा कविता थियो साथमा । म कवितामै रोएँ, सुकसुकाएँ । एउटा सन्तानको ठाउँमा बसेर लेखेको थिएँ कविता । वियोगको रन्थनीले मलाई हत्केलाबीचमा कागती बनाइदिएको थियो, निचोरिएँ र अमिलिएँ । त्यसमा मित्र विभोर जीको स्वानुभूति लदबद मिसिएको थियो क्यार मभित्र ! त्यही कविता आज यहाँ प्रस्तुत गरेको छु । कविता उनै बुबा वासुदेव बरालमा समर्पित छ । र साथमा मित्र विभोर जी र बहिनी विप्‍लवीलाई पनि यतिबेला सम्झिरहेछु ।



बुबाबिना

जानुभयो बुबा,
जसरी
मध्यरातको आकाशबाट
झट्ट खसेर जान्छ
फेरि नफिर्ने गरी
रहरलाग्दो पिलपिल तारा ।



बुबा जब साथ हुँदा
हाम्रो आँसुका कारखानामा
भोटेताल्चा हुन्थे
मनमा जे रहन्थे पोख्‍नलाई
सारा निस्किन्थे मूल फुटेर
र बुबा बन्नुहुन्थ्यो
समर्पित स्रोता,

खै त अब
हाम्रो बोलीको
एकै सुका मोल रहेन ।

बामे सर्दा
बुबाले दिनुभएको एउटा औँला
हाम्रो भरोसाभरि
कति भरिलो हुन्थ्यो
न्यानो औँलाको त्यो गोलाइ
बालापनलाई खित्का बाँडिरहने
कति सुन्दर खेलौना थियो !
अहिले बुबा हुनुहुन्न
बुबासँगै उठे ती मायालु औँलाहरू

हो नि, अब त
सहारा छुटेर यो जिन्दगीको बगरभरि
कस्तोसँग लरबराएर पुक्लुक् पुक्लुक्
लड्नुपर्ने हो !

बुबाबिनाको नयाँ वर्ष र
असार १५ को रस,
दसैँको गाढा टीका
अनि देउसीभैलीको तिहार
र घाम ताप्दै चपाइने
माघे सङ्क्रान्तिको तिलको लड्डु …
अहँ छैन
केही स्वाद छैन ।

आँखामाथि बुबाको
त्यो टल्किने चश्‍मा
हाम्रो लागि ऐना थियो
शृङ्गारकक्षको बेहुली झैँ
खुलेर
बरोबर हेर्थ्यौँ चश्माभरि
र देखिन्थ्यौँ भित्रैसम्म
बुबा ऐना नै हुनुहुन्थ्यो
र त हामीमा सज्जा थियो,
हरेक सोचहरूमा
हाम्रो उमेरको हनुहार पढीपढी
अनेक लगनले सरक्क खुसी थुपार्ने
बुबाको हात
ठेलैठेलाले कतिविघ्‍न घाइते हुँदो हो !


बुबाबिना
हाम्रो मुहारमा सज्जाको बदला
अब दागको दु:ख खोपिएरै बसिरहला ।

बुबासँगको देउसी-भैली
जे रहेछ यसैपाली रहेछ,
फेरो लाउने जोगी जस्तै
दसतिर हामी डुलेनौँ
बुबासँगै देउसी गायौँ
बुबासँगै भैली भाक्यौँ
पट्याएको इस्टकोट जस्तै
असङ्ख्य चाउरी बोक्ने
मायालु हजुरआमा
र लहरै कुर्सीमा बुबा
देउसी गाउँदै हामी
फुर्किएर नाचिरहँदा
कस्तरी आनन्दमा जाग्नुभएथ्यो,
थाहा थिएन-
बुबा यसरी हाँसीहाँसी हराउनुहुन्छ,
बुबाको त्यो कुर्सी रित्तो छ
चप्पल बजाउँदै ठमठम चाल मार्ने
फराकिलो छत पनि चुपचाप छ

बुबाबिनाको बिहान
म उठ्न सक्दिनँ कि !
(बुबाले मिलाइदिने अलार्म घन्टी
खै त अहिले म कहाँ सुन्न पाऊँ ?)
बुबाबिनाको यो रात
सायद सुत्‍न सक्दिनँ कि !
(कहाँ छ र
मैले कोल्टे फेर्दा शिर मुसार्ने
त्यो आशीर्वादमय हत्केला ?)

बुबाको चम्किलो चश्मा
त्यो त्यही टेबलमै छ
गलबन्दी ह्याङ्गरमा
उसैगरी झुन्डिएको छ
छैन तर बाँकी
मेरा आँखामा सङ्लो दृष्‍टि
छैन जिन्दगीमा मखमली न्यानोपन,
यस्तै त हो
आँसुमा नबग् बहिनी !
आमासँगै बुबा टाढा गए पनि
तेरो त म छु
म पनि यदि गएँ भने
रुनू
ए बहिनी
रोइरहनू रहर भरिभरि ।

बुबा गएपछि
आइरहन्छन् आँखाको दुरबीनमा
धूलो जस्तै बुङ्बुङ्ती आँसु
र केही देखिन्न
केही पनि ।




***

27 June 2009

सुर न ताल, मदन गोपाल !

हारमोनियम जुरुक्कै उचालेर उनी मञ्चबाट दर्शकदीर्घाको एक कुनातिर ओझेल भए, स्रोतामण्डलीले बल्ल तृप्‍ति र चैनको श्‍वास फेरे ।

अचम्मको कुरो ! गाउने कलाकार गला बिसाएर छेउ लागेपछि स्रोता मन्त्रमुग्ध भएर रमाए ।

गायन अवधिभरि 'यातना' बेहोरिरहेका हलभरिका सङ्गीतप्रेमीहरू सङ्गीतकै लहरबीच रहेर पनि गायक र वाद्यवादक टोलीका सामु आकुल-व्याकुल देखिन्थे । उनीहरूको चेहरामा भाव त बाँकी थिएन नै, त्यसको ठाउँ लिएको थियो हैरानी र विरक्तिले । मानौँ उनीहरू कुनै शोक सभाका गम्भीर पाहुनाका रूपमा आतिथ्यभाव जनाइरहेछन् । म आफैँ पनि एक कुनामा कुथुर्किएर बसेको थिएँ, केही चमत्कार पो भइहाल्ला कि भने झैँ !

तर मन झन्-झन् मर्दै गएर घाटको बाटो लम्किने तर्खरमा चिसिँदै थियो । उफ् ! सङ्गीत पनि यस्तो उखरमाउलो कर्णकटु !!

जेठ २३ गते शनिबार राजधानीको आरोहण गुरुकुलको सम नाटकघरमा यस्तै वातावरण र भावदशा देखिन्थ्यो । विभोर बराल र सप्रेम अर्चना दम्पतीको छुट्टाछुट्टै गजलकृतिको विमोचनको कार्यक्रममा स्वाद थप्न गरिएको गजल गायनको कार्यक्रममा स्वर ढिला पार्नासाथै गजल भइहाल्छ भने झैँ छनकमा एकपछि अर्को गायकी देखिँदै थियो । छ जनाले गजल गाएको त्यो साङ्गीतिक माहौलमा एक थिए गायक मदन गोपाल । शास्त्रीय सङ्गीतमा रत्तिएका रमेश पोखरेल, निर्मल 'म' का साथै एक समय 'भनिदेऊ आज के छ मनमा' बोलको गीत गाएर चर्चित बनेका मिलन सिंह लगायतका गायक कलाकारले आफ्नै सङ्गीतमा गाएका थिए त्यस अवसरमा । तीमध्ये रमेशले स्रोताहरूको दिल लुटे आफ्नो गायकीबाट । मदनले पनि आफ्नै सङ्गीतमा दुई गजल गाएका थिए ।

यो लेख जन्माउने र चरित चर्चामा सुहाउँदिला पात्र उनै हुन् । तर चरित्रहत्या र व्यक्तिगत आक्षेपको रूपमा यो प्रसङ्ग यहाँ उठाइएको होइन । उनी मेरा मित्रमण्डलीमा बेलाबेला अन्तरङ्ग जमघटमा आउने आत्मीय नाम हुन् । र आज यति निकट भएकैले उनलाई नेपाली सङ्गीतको एउटा निकै फेसनबदार तर घिनलाग्दो, शीर्षचर्चामा छाउने तर विसङ्गतिको कालो घोलले लतपतिएको पाटो- 'गायक बन्ने लहड'को खोतलखातलमा उभ्याएको छु ।

'सुर न ताल, मदन गोपाल' टुक्का अहिल्यै झटपट बनाइएको होइन । न त यो पुरातन रूपले कुनै ग्रन्थमा गुम्सिएको आदिम पदावली हो । यो टुक्का गायक मदन गोपालसँगै जन्मिएको हो । भन्नु नपर्ला, उनको सन्न्यास वा बिदाइसँगै यो टुक्का पनि निदाउनेछ अवश्य नै । यो टुक्काबारे आरोपित उनै पनि जानकार छन् । अलि चञ्चले छन्, कुरो चपाएर-लुकाएर बोल्न नजान्ने सरल र खुलस्त व्यवहार उनको हकमा कमजोरी भइदिएको छ । उनले हाँसोमा खिलखिलाउँदै डेढ सय-दुई सय गजलप्रेमीको भीडसामु त्यस गजल समारोहमा समेत गाउनुअघि आफैँ कुरा निकाले- "भन्न त भन्छन् मलाई- सुर न ताल मदन गोपाल, आज त्यस्तै होला कि जस्तो छ । हारमोनियम बिग्रिएको थियो, बनाउन दिएको ठाउँबाट समयमा ल्यादिएन र आज गाउने गजल रियाज गर्न पाइएन । जति तयारी सुरुमा कम्पोज गर्ने बेलामा गरेको थिएँ, त्यति नै हो त्यही नै सुनाउँछु ।" यति भनेर झ्यापुल्ले कपाल मुसार्दै फेरि खिलखिलाए उनी र गाउन थाले -

"पर्‍यो जब रात कोही याद आयो
चढ्यो जब मात कोही याद आयो ।

कुनै पनि फूलले साथै दिएन,
झर्‍यो जब पात कोही याद आयो ।

… … … … "

- (विभोर बराल, 'उड्दै गए सपनाहरू' गजलकृति- २०६६ बाट)

अर्का थिए, निर्मल 'म' । यिनको नाम त नौलो छ नै, गायन पनि अद्‌भूत रहेछ । जम्मा ५-७ मिनेटको अवधिमा सकिने गजल गाउनुअघि उनले १०-१५ मिनेट नै आलाप तान्नमा खर्चिदिए । कस्तो गायकी हो ! गजलको बीचमा आलाप तानिएको त सुनिएको थियो, गाउनुअघि पनि गला सफा गर्न र प्राविधिक तयारीको मेसो मिल्दै गर्दा तथा स्रोताको ध्यान पूरापूर केन्द्रित हुने अवस्था कुर्नलाई गायकले केही बेर आलाप तानिएको कतिपय कार्यक्रममा सुनिएको हो । तर निर्मल 'म' ले त यस्तो गरे, मानौँ उनले तानेको आलाप चाहिँ मुख्य गायनको कार्यक्रम हो र गाउनुपर्ने गजल चाहिँ आलाप हो ! १५ मिनेटको आलाप, धोद्रो गला…. उफ् ! यातनामय भयो हल । बुझिन्थ्यो, उनले शास्त्रीय गायनमा दखल राख्छन्, तर गजल सुन्न भेला भएका सर्वसाधारणलाई तिनको शास्त्रीय गायनसँग के को नसनातो र लेनदेन !? त्यो विद्वता त्यहाँ देखाउने उनलाई के जरूरी । आलाप तानेर रियाज त उनले आफ्नै निवासमा गर्नुपर्थ्यो । तर उनी त्यसरी नै भुनभुनाइरहे । तबला र गिटारमा साथ दिने जीवन राई र सन्जु शाहीको अनुहार त्यो अवधिमा हेर्न लायक थियो । ती वाद्यवादकद्वय पनि वाक्कदिक्क थिए सायद गायकदेखि ।

मदन गोपाल त एक उदाहरण मात्र हुन् । निस्प्रभावी गायकीलाई दु:ख दिईदिई सङ्गीतको कमलमा हिलो छ्‌याप्नेहरू त उनीभन्दा गएगुज्रेका होलान् । कम्तीमा मदनहरूलाई त सङ्गीतप्रति आस्था र लगाव छ । नेपाली सङ्गीतले पछिल्लो एक दशकमा ठूलो फड्को मारेको छ । फलत: कलाकार, सङ्गीतकार, प्राविधिक र साथसाथै पर्दापछाडिका ओझेल पात्र र आर्थिक रूपमा पनि सधैँ हातलागी शून्य हालतमा रहने गीतकारका दिन पनि फिर्दै गए । चोक-चोकमा रेकर्डिङ स्टुडियो खुल्न थाले । गीत गाएरै, सङ्गीत बनाएरै खाने दिन आउन थाल्यो । देशभित्रका कुना-कन्दराका साथै विदेशका विभिन्न महँगा ठाउँमा साङ्गीतिक कन्सर्टका कार्यक्रममा गएर दुई-चार पैसा जोडेर भविष्यको मुख हेर्ने बाटो पनि बन्दै गयो । यसो भएपछि दिल खोलेर सङ्गीतमा भिजेर काम गर्दा यसको गुणस्तरमा पनि सुधार हुने सम्भावना देखियो ।

तर यस्तै सम्भावना र आशाको झुल्कोबीच खतरनाक भाइरसको प्रवेशले नेपाली सङ्गीतको आशलाग्दो आकाशमा ग्रहण लाग्यो । यो भाइरस हो- 'मान नमान मैँ तेरा मेहमान' भन्ने भाँतीमा 'डेढअक्कली' गायककार र सङ्गीतकारको ओइरो । बोली फुट्नासाथै गायक, बाजालाई छोएर आवाज निकाल्नासाथै सङ्गीतकार । गीतकार पनि त्यस्तै, साँवा अक्षर लेख्‍न जान्यो कि त गीतकार बन्ने धुन । एलबम निकालिहाल्ने भोक, रातारात चर्चाको धुरीमा देखिने लालसा, सबैलाई चिनाउने सस्तो प्रचारको दौडधुप । तब त जन्मियो टुक्का - सुर न ताल मदन गोपाल !

स्कूले बेलामा 'बलभन्दा बुद्धि ठूलो', 'कलम बलियो कि तरबार बलियो' आदि विषयमा अतिरिक्त क्रियाकलापअन्तर्गत वादविवाद प्रतियोगीता हुन्थ्यो । तर 'पैसा ठूलो कि प्रतिभा ठूलो' भन्ने विषयमा कहिल्यै प्रतियोगीता भएन । अहिले यसो सोच्दा त्यो एउटा महत्वपूर्ण पाटो त छुटिगएछ लौ जाऽऽ भन्ने लागिरहेछ । कारण, पैसा खर्चेर एलवम निकालेर रातारात चर्चा बटुल्ने होडमा लहसिएका 'अगायक'हरूको तागतअघि कैयन् प्रतिभाहरू पहुँच र मौका नपाई गाउँको गुफा-कन्दरामा सीमित बनेका छन् । यो सत्य हो । पैसा छैन भने गला मात्र भएर त कुन गायकलाई हत्तपत्त म्युजिक कम्पनीले पत्याएर लगानी गर्ला र यहाँ ? साँचो कलाकारको मूल्य छैन, लगानी फस्ने डरले बरू गाउने छाँटकाँट नभएपनि पैसावाल 'गायक' (!) को घाँटीमा झुन्डिन्छन् कम्पनीहरू । उसै पनि आधाजसो त आजकाल त मेसिनले नै गाउने प्रविधि आइसकेको छ तानतुन मिलाएर । पूर्वेली गायक कुवेर राई यसकै उदाहरण हुन् । स्वरसम्राट् नारायण गोपालको दुरुस्तै आवाज निकाल्ने खुबी भएका तथा आफ्नो छुट्टै मौलिक स्वरका धनी राई कुन संयोगले अवसरको भण्डार राजधानी सहर एक सहर आएर पनि बसे, तर के कारणले यहाँ टिक्न सकेनन् । खेती-किसानी गर्दै अहिले गाउँमै सङ्गीत-साधनामा तृप्‍त छन् उनी । अनि यता सहरमा चाहिँ अलिकति गुनगुनाउन जानेको भरमा हाहाऽऽ होहोऽऽ मच्चाएर सिङ्गै सहर कब्जा गरूँला झैँ तालमा मदन गोपालहरू चिच्याइरहेछन् ।

गायन, चित्रकारिता, कवित्व आदिलाई सामान्यतया जन्मैदेखि प्राप्‍त ईश्‍वरीय वरदानको रूपमा व्याख्या गरिन्छ । तर प्रतिभाले निखार अभ्यास र निरन्तरको साधनाबाटै पाउँछ, यसमा शङ्कै छैन । शून्यबाट उठेर साधनामै घोटिएर प्रतिभा हासिल गर्नेहरूको संसारमा कमी छैन । भाग्यमानी डोकोको रचना भयो भन्नासाथै त्यसमा दूध त कसरी पो अँड्छ र ? केही टालटुल त गर्नैपर्छ । त्यही टालटुल गर्ने चालचुल नै हो साधना र सङ्घर्ष ।

हतारमा उदाउने सूर्य प्राकृतिक होइन, एउटा नियम-समयमा बाँधिएको सूर्यले नै प्राणीजगत्‌लाई जीवनप्रक्रियामा साथ दिन्छ । आजको पुस्ता हतारमै हिँड्छ, हतार प्राकृतिक हिँडाइ कदापि हुँदै होइन, त्यो धेरै टिक्दैन, खरायो झैँ थाक्छ र बेलैमा लम्पसार परेर थान्को लाग्छ । कम्तीमा गाउन मन हुनेले अर्थ न बर्थ, सुर न ताल चिच्याएर विशुद्ध सङ्गीतको भोकमा रहेका सर्वसाधारणलाई यातना र कष्‍ट नदिए हुन्थ्यो । सडकमा फ्याँकेर छाडे पनि तिनका क्यासेट र सीडी लिनेवाला कोही छैनन् । बरू गाउनै छ भने 'बाथरूम सिङ्गर' बने वेश । कम्तीमा बाथरूमभित्र रहने 'सावर', ऐना र धाराले त्यो गुनगुन र भुनभुनको विरूद्धमा विद्रोह गर्ने उत्तरआधुनिक समय नआउन्जेल 'बाथरूम सिङ्गर'को पदवी सुरक्षित छ !

14 June 2009

समय-प्रस्थान

केही समयअघि माइसंसार.कममा एउटा तस्बिर देखेँ, झ्वाट्टै पिरो भएर आयो मन । तस्बिर हेरेर कविता लेख्‍न आह्वान गरिएको पोष्‍ट थियो त्यो । के झोँक चल्यो कुन्नि एकै मेहेरोमा कविता लेखिभ्याएँ, र उक्त ब्लगमा कमेन्ट बक्समा खसालिदिएँ पनि । नत्र हत्तपत्त त्यसरी सार्वजनिक मञ्चमा र प्रतियोगीतामा हात हालिहाल्न मन लाग्दैनथ्यो, कविता लेखाउनमा तस्बिरकै हुटहुटीले काम गर्‍यो होला , यतिखेर यस्तै सोच्दैछु । त्यसरी पहिलोपटक म सहभागी भएको थिएँ ।


तर आजका मितिसम्म त्यो 'फोटो हेर्नुस् कविता लेख्‍नुस्' शृङ्खलाको नतीजा आएको छैन । माइसंसारले पछिल्लो समयमा बढ्दो राजनीतिक घटनाक्रमको चपेटामा साहित्यलाई ठाउँ दिन नसकेको अवलोकन गरिरहेको थिएँ । उसको आफ्नै विवशता होला भन्ने लाग्यो । नतीजा नआए पनि केही घोत्लिएर लेखेको कविता त्यसै खेर जान दिन मन लागेन र मायाले स्याहारेर आफ्नो क्याफेमा पस्किँदैछु । कविता एकै बसाइमा लेखेकोले त्यति रङ पाकेको छैन, तैपनि तस्बिरमा आधारित तातो कविता यस्तै झटपटको सम्झेर स्विकार्नुहोला ।
-----------------------------------------------------------------------


* तस्बिर: माइसंसार.कम


नतातो हाउभाउसहित
एकैफेरा जाग्नु छ अकस्मात् सुर्योदयसँग
र निभ्नु छ कुनै साँझ जस्तो चिसो एस्ट्रेमा,
ताप्नु छ आफैँलाई भरदिन
हाल्नु छ आकाङ्क्षाको तरल-तरल बग्दैजाने तेलधारा
थप्नु छ खिइँदै गएको ठूटे उत्साहमा नयाँ सलेदो

यसरी नै त जिउनु छ,
यसरी नै त घर्कदै जानु छ-
समयको सेतो जुल्फीको टुप्पाबाट फेदीतिर

आँखाको पर्खाल फोरेका थियौ-
जब आएका थियौ प्रथम आरोही बन्छु झैँ भाकामा,
सायद त्यस्तै आवेग निचोर्दै फेरि पग्लिनेछौ
बिदाइको पिरो रापमा उम्लिएर

नरोऊ ओ जिन्दगी !
यो ध्वाँसोले अँगालोमा बेरेको कुमारी आकाश
तिम्रो होइन
हरबरी खेलिरहने यो गोधूलिको नरम वायु
बस्दैन तिम्रो साँगुरो खल्तीमा
आउँछौ तिमी हावा बहने रीत जस्तै
सजिलै आउँछौ
जान्छौ सजिलै
एउटा चक्रभन्दा बढी तिमीले कतै घुम्नुछैन

सुर्तीको पातमा च्यापिएको कोक्याउने स्वादले
निम्तो दिन्छ चोखा ओठहरूलाई
आँधीबाट जेनतेन बचेको बचेरी ढेपिँदैढेपिँदै
पुग्छे सर्पको टोड्काछेउ
यस्तै त हो-
निस्किएपछि सडकको उन्मुक्त उल्लासमा
फेरि घुम्दैफिर्दै पस्नुपर्छ उही अँध्यारो गल्ली
वा, खचाखच झुप्पादार बस्तीको उकुसमुकुसमा

तिम्रै बुइ चढेर युगौँयुगदेखि
समय गइरहेछ घामको पहेंलपुर तमसुक फट्टा गर्दै
जिन्दगी, तिमी त सधैँ छौ
यतै कतै
धूवाँदार आकाशमुन्तिर
देहको शालिग्राम घोट्दै
तिमी बाँचिरहेछौ

आगो बाँचेर
आगो ओकलेर
आगो पचाएर
बढिरहने तिम्रो अग्नियात्रा…,

प्रकृतिको पूजामा तिम्रो यो आराधन
कति प्यारो
कति मुलायम !


***

13 June 2009

तिमी रहे मुलुक डुब्न्याछ !!



केही वर्षअघि एउटा फिल्मी गीत खुबै चलेको थियो, उखानलाई उसिनेर पचाएको त्यस गीतको भाकाले भन्थ्यो-
"बुझ्नेलाई इशारा काफी छ,
नबुझ्नेलाई पिरती भारी छ….. ।"

यो 'भारी'पनको यथार्थलाई पिरतीको भुलभुलैयामा रङमङिनेहरूले त्यसको मादक घुलाइबाट फुर्सद पाएर कतिबेला बुझ्न भ्याउलान्, त्यो अर्कै कुरा हो । तर, बुझेर पनि बुझपचाउनेहरूको एउटा जमातका कारण भारीपन क्विन्टल र टनदेखि पनि बढेर विष्‍फोटको तहमा उक्लिँदै गएको भान हुन थालेको छ । त्यो पनि हाम्रै नेपालमा । कुरा हो देशको राजनीतिको, कुरा हो नेताको अनि कुरा हो नेताको बगलीमा तैरिएको सपनाको माछो खाने धुनमा नेताको मयलको गन्धलाई समेत 'वाह माछो-सुवास !' भन्ने विश्‍वासमा पछ्‌याइरहेका जनता-जनार्दनको हूलको । अनि खास चाहिँ, यही नेपालको रङ्गशालामा खेल र खेलाडीको उछिनपाछिन गहिराइबाट नाकै ठोक्किने सतहमा आइपुग्दा पनि 'मूर्खदेखि राम डरायो' भन्ने उखान काखी च्यापेर तर्किँदैछन् सर्वसाधारण, निरीह भावदशामा । आशा गर्दागर्दा हारेको थकित ज्यान लतारेर यावत् कुरामा आफ्नै खतरनाक सहनशीलतादेखि भयभीत छन् उनीहरू ।

खेलाडीहरूले खेलको तौरतरिका जान्नु अत्यावश्यक र बढ्ता जान्नु र बठ्याईँ अपनाएर विभिन्न घुमाउरा नियमहरूसम्म पहुँच विस्तार गर्नु चाहिँ खतरनाक हुन्छ । आम खेलविज्ञानले पनि यही भन्दो हो- चाहिँदो मात्रामा बुझ, त्यसैको दायराबाट विजेताको ताज हासिल गर । तर कहीँ नभएको जात्रा नेपालको नमूना मैदानमा देख्‍न पाइन्छ- घघडान रेफ्री र कोच यी खेलाडीहरूको अराजक शैलीलाई नै मानक खेलप्रणालीको रूपमा स्विकार्न अभिशप्‍त छन् । कारण, बहुमतको कदर गरिने लोकतान्त्रिक परिपाटीको 'अत्याधुनिक' रूप भीडतन्त्रमा अभ्यस्त हुँदै नागरिक सर्वोच्चताको मोहक नाराबाट स्वयम् सर्वोच्चताको लाभदायक शिखर आरोहणतर्फ हान्निएको छ । आफूअनुकूलको गफ लगाइदियो, हल्ला छरिदियो, गीत गाइदियो, भाकल गरिदियो, सडक उचालिदियो; काम तमाम ! लाज पचाएरै लाजको व्यापारलाई फाइदाकारी रूपमा भजाउन तल्लीन छन् नेतृत्वका शिरहरू । सम्हाल्ने, समन्वय गरिदिने कर्तव्यबोध कसैले आफ्नो ठेकेदारी कित्तामा राखेकै छैन ।

कति दुर्भाग्य छ भने, आफ्नो माटोको गन्धदेखि 'एलर्जी' भएर विदेशी आकाशमा सयरको मौका छोप्नेहरूको हातमा देश गएको छ, आफ्नो मुठीभरका मनमानी गुटको मुद्दालाई 'जनताको' भन्ने थेगो बसालेका अराजक हूलको पोल्टामा जनमतको काँटा भारी हुनगएको छ । सबैभन्दा बढी आशा गरिएको/भर परिएको र पाका मान्छेहरूको भीड भएको समाजवादी दल 'अल्लारे' अदबमा देखिएको छ । अनि अल्लारे युवाहरू भने दिनदिनैको गाईजात्रै राज्यव्यवस्थादेखि आजित भएर हतासपनको सिकार भएका छन्, ढाड नै उठाउन नसक्ने गरी ।
पैसाको जोहो गर्न सक्नेहरू कमाइ, पढाइको लागु विदेश जालान् तर विवश अनुहारहरू त यस्तै राज्य-रमिताको साक्षी बस्दै दिन गन्ती गररिरहन बाध्य छन् । भएको थोरै पैसा लगानी गरेर केही व्यापार-व्यवसाय गरौँ भने देशको स्थिति सहज छैन, भरपर्दो वातावरण र लगानीको सुनिश्‍चितता छैन, यत्तिकै बसौँ भने घर-परिवारमा बेरोजगारको बिल्ला, विदेशमा कमाइ गरिरहेका साथीभाइमाझ खिसीटिउरीको पात्र । विदेशै गइसकेका कतिपय भने भनेजस्तो तलबपानी र व्यवस्था नभएकले तथा ठगीको मारमा परी हार खाएर फर्किएका छन् र पैसा फस्ने भयले मन भएर पनि अर्को चोटि हत्तपत्त आँट्दैनन् । जम्मामा, गरूँ न मरूँको भावदशामा चाउरिएका छन् युवा । कुबेलामै केश फुलेको छ, जाँगर र आत्मबल घाटको ताजा लाशसँगै सती गएको छ तिनको ।

दरिद्रभन्दा दरिद्र कोटिको जीवनचर्याको केन्द्रविन्दुमा पनि राजनीति हावी भइआएको परिवेशमा राजनीतिभन्दा पर रहेर सोच्न खोज्दा पनि यसको अमिवा औँलाहरूले गाँज्न छाड्दैनन् । राजनीतिले अरू सारा सामाजिक जीवप्रणाली र गहिरो संवेदनशील मुद्दालाई पनि ओझेल तुल्याइदिएको छ । जगत्‌मा राजनीति चर्किएको छ, रगतमा त्यही राजनीति लहरिएको छ । दुर्गम गाउँको रोगी हाटबजारमा डढेको तेलको खिर्‍याउने हरकसँगै लपेटिएर आउने मुरही, ढुङ्ग्री, कचेरी, चप आदिको खुद्राखाद्री खाजाको परिकारमा राजनीतिको बाछिटा जब चल्छ, सबै बगाएर केवल एकपातो प्याल्‌प्याले कागज मात्र बाँकी बस्छ हत्केलामा । सहरको अचाक्ली हडतालमा रिक्साको त्रिखुट्टी नचाउँदै बन्द सवारीको विकल्पमा अवसर के छोपेको हुन्छ धनुषाको लखनदासले, हेर्दाहेर्दै यही राजनीतिको नौटङ्कीले नामुद कार्यकर्ताको कुशलताको 'स्याहार' पाएर उसको रिक्सा दुई मुठी कवाडीमा परिणत हुन्छ ।

विकल्पको अनुहार खोज्दा जनताले आलोपालो उनै दर्जनजति अनुहारको घेराबन्दी पाए जनताले, सत्ताको कोठेपदमा । जहाँ ती जनता नामका रमितेहरू कोठेपदका कालो कोठाजसरी मूल्यहीन, जीवनहीन र उपेक्षित बन्दै गए । कोठेपदको गहुँगोरो कोठामा लमकलमक घर कोर्दैजाने पात्रहरू तै बदलिए, प्रवृत्ति ऊँटको पिठिउँमा आसन जमाएर उस्तै कुरुप चालमा लस्किरह्यो यो कुना, त्यो कुना । जनता तिनका त्यो खेलका कि त माइक भए, कि माइक्रोफोन । फुकिँदा-फुकिँदा कान सुन्निएको दर्दनाक विपनामा यी जनता 'नयाँ नेपाल'को मिटरब्याण्डभरि घुमिफिरी उही एउटा स्टेशन र अर्को स्टेशनको धोद्रो सुरमा लट्ठिने 'ड्रगिस्ट' बनाइएका छन् । स्वप्नजीवी यी 'जन-ड्रगिस्ट'को काम अरू के हुन्थ्यो, आश्‍वासनको ट्याब्लेट खायो, नशाले मस्त भएर गर्वशाली नाक मुसार्‍यो-बस्यो ।

रणबहादुर शाह जस्ता सनकी र कामाशक्त राजाले पनि खोइ कस्तो विवेकको सुई चलेर हो भनेका थिए त्यस समयमा- "म मरे मुलुक डुब्न्या छैन, भीमसेन मरे मुलुक डुब्न्या छ ।" तर वंशज परम्परामा लतारिँदै आएको राजतन्त्रपछि अनेक यत्‍नले हासिल प्रजातन्त्र, लोकतन्त्र र लोकतान्त्रतिक गणतन्त्र वहालीको रोमाञ्चकारी यस अवस्थासम्म आइपुग्दा पनि त्यसरी कसैलाई 'फलानो नभए मुलुक डुब्न्या छ' भन्ने सुयोग्य अनुहार नदेखिनु राष्टट्रिय विस्मात् हुनगएको छ । शोभायमान पद खाली-खाली छ । आज अनेक खेल, जालझेल गर्दै प्रयोगशालापछि प्रयोगशाला देशलाई बनाइसकेपछि र अवसरपछिको अवसर जनताको वाहुलीबाट थापेर पनि चेतबाबा काशी नभएका, यी मुटु र शिर सुदूर शौचालयतिर बुझाएर आएकाहरूलाई कुन संज्ञा र उपमाले सम्मान गर्ने ?

यसो हेर्दा, उहिलेदेखिको आधुनिकतम नेपालको यात्राक्रममा गोरखा दक्षिण वाहुदेखि अनेकका त्रिशक्ति पट्ट बाँडिएको ऐरेगैरे असीमित सूची सम्झिँदा अहिलेका नेताहरूलाई दिन बाँकी कुनै पदक, तक्मा बचेको छैन । सिवाय, अन्तिम वाणी: "वत्स (अर्थात् हे बच्चा) ! तिमी रहे मुलुक डुब्न्याछ !! केही त पुन्य गरिदेऊ !!!
तिमी नरहे पो केही हु्न्थ्यो कि यहाँ ?"

08 June 2009

अल्झियो ! ….. नसकिने भो !!

"गजलमा भावका भक्कानोहरू पाउरोटीमा जाम मिले जस्तै मिल्छन् । वेदनाका पिल्लिएका घाउ मोहीबाट सर्लक्क नौनी निस्किए जस्तै गजलमा अँटाउँछन् । यसैले म गजल लेख्छु सायद, गजलमा पनि विशेषत: दुखका कथाहरू खार्छु र व्यथित मनहरू त्यसमा आफ्नो व्यथालाई समभावमा राखेर हुरुक्क हुन्जेल रमाउँछन् ।

तपाईँ मलाई निराशावादीको आरोप लगाउन सक्नुहुन्छ । तर म व्यथालाई जीवनको अटूट पाटोको रूपमा हेर्छु, व्यवहार गर्छु र त्यसलाई न्याय दिँदै गजलमा सजाउँछु । भन्नुस् त, सिर्जनामा जीवनसंसारका दु:खद् पाटोलाई ठाउँ नदिएर त्यसलाई तिरस्कार गर्दा के त्यसमा पूर्ण जीवन सँगालेको ठहर्छ त ? पक्कै पनि ठहर्दैन । दु:खका गजल लेख्दा मलाई किन यस्तो लाग्छ, सजिलोपन अनुभव हुन्छ, वर्षौँ खियाले कटकटिएर बसेको मरूभूमिको कुनै धारा अनुपम चमत्कार भएर खुले जस्तै म त्यस्ता विरही गजलमा खुल्छु ।"

अलमलमा नपर्नुस् । यो कुनै अन्तर्वार्ताको साभार सामग्री सँगालेर ल्याएको होइन । यो त मेरो आफ्नै भनाइ हो । र अहिलेको लागि यो खरर पस्किएर तुरुन्ताको तुरुन्तै खर्च गर्न पनि मैले यो तयार पारेको होइन, बुढेसकालमा गजलबारे कतै बोल्नुपरेमा 'रेडिमेड' अन्तर्वार्ता बनाइराखेको :)

केही दिनयता मैले आफ्नो सिर्जनयात्रा र सिर्जनधारालाई केलाई हेरेको- तिनमा अधिकांश त वेदनामय र कारूणिक भाव मात्र पलेँटी कसेर बसेका रहेछन् । सबैले आफ्नो सिर्जनामा यस्तो विश्‍लेषण गरिरहेका हुँदा हुन् । मैले भने हाँसेको, भेटिएको, रमाएको, खुसीले पागल भएको रचनाशिल्पभन्दा छुटेको, विरक्तिएको, दुखेको कुरा नै बढी फलाकेछु । तर दु:खको अबिव्यक्तिलाई निराशावाद र पतनोन्मूख रूपमा जान दिए जस्तो लाग्दैन आफ्ना ती शब्दहरू केलाउँदा । यति भने हो, वादको फुर्को र भोकमा कहिल्यै कतै कुदिएन, कहिल्यै चाख राखिएन । प्रगतिवादलाई नअँगाले पनि साहित्य अप्रगतिशील हुँदैन । मार्क्सवादी सौन्दर्यशास्त्रको दुना-टपरी नगाँसे पनि
साहित्य कुरुप हुँदैन । यदि त्यो साहित्य नै हो भने त्यो प्रगतिशील नै हुन्छ र सुधारोन्मूख र सहित (अर्थात् हित गर्ने) भावनाकै हुन्छ । बरू वादको बर्को ओढेको सिर्जना (?) ले नै समग्र साहित्यिक गतिधारामै हरक उमार्ने गर्मी उत्पन्न गर्ने खतरा हुन्छ । कुनै समूह र गुटको पक्षपोषण गर्ने सिर्जनाले कसरी पो गरोस् जनको मनमा बास ? र पनि तिनै स्वघोषित रूपमा कहलिन्छन्- जनपक्षीय साहित्य ।

वाद बुझ्ने झैझमेलातिर कहिल्यै नलागे पनि विशिष्‍ट साहित्यिक कृति पढ्न छुटाएको छैन, सबै छिचोल्न नसक्नु (सम्भव पनि कसरी !) अर्कै कुरा हो । वाद अँगाल्नेहरूले इतर वादीहरू र स्वतन्त्र विचारधारामा रम्नेहरूप्रति गर्ने निषेधको व्यवहार र सौतेनीप्रथा आफैँमा स्थापित वाद बने जस्तो लाग्छ । त्यसकै बजार छ । नेपाली साहित्य सामूहिक र संस्थागत रूपमा अघि बढ्न नसक्नुको कारण के हो ? भन्ने प्रस्‍नको बल्छी फ्याँक्दा त्यसमा अल्झिएर आउने सबैभन्दा ठूलो जवाफी माछो हुन्छ- 'गुटबन्दीको खेल' । सामूहिकतामा पो तागत हुन्छ, विचार-अन्तक्रियाबाट पाकेको ठोस विचार हुन्छ र कार्यगत परिणाम पनि असरदार हुन सक्ला । तर हामीकहाँ त एउटै संस्थामा मियोमा बाँधिएकाहरू पनि चतुर्मुखी ब्रम्हाजीलाई बिर्साउने भाँतीमा मुख फालाफाल गर्छन् । यस्तोमा कुनै अभियान, सोच कसरी डेग चलोस् र स्तरवृद्धिमा नेपाली भाषा-साहित्यले भारी कस्न पाओस् !

जुनसुकै वाद बुझे राम्रो हो, अँगाल्नु स्वेच्छाको कुरा हो । तर अन्धो भएर निश्‍चित वादकै चप्पल लगाएर सिङ्गो पृथ्वी परिक्रमा गर्न तम्सिनु पागलपन सिवाय केही होइन । त्यसरी वाद अँगाल्नु वादको जीत होइन, विवादको जड हुन सक्ला । वाद नअँगाल्नुलाई हामीकहाँ विचारशून्यता र र जगविहीनताको संज्ञा दिइन्छ । तर वाद नै यहाँ वादप्रेमीहरूको निकृष्‍टताको प्रमाणपत्र देखिएको छ, (सबैको हकमा यो कुरा लागू नहोला ।), उनीहरू आफ्नो दयनीयता स्वयम् प्रदर्शन गर्छन् । प्रगतिशील साहित्यको वकालत गर्छौँ भन्नेहरूले जनपक्षीय साहित्यको गाइने गीत भट्याइरहँदा मेरा यिनै कानले सुनेका छन् कुनै समयमा तिनका सिर्जनाका राग- "ज्ञानेन्द्र, नारायणहिटीबाट जाऊ ….।" कस्तो सिर्जना हो यो ??? तीन पटक सोच्दा पनि टाउको मात्र घुम्छ ।

यति गफको पुल हालेपछि निराशा र हँसमुख मेरो सिर्जनाधारातिर मोडिन्छु फेरि । मेरो ठम्याइमा विरही-वैरागी-व्यथित लेखनी बोकेको म केही वर्षअघिको आफूलाई जोख्दै दुवै धारको एउटा-एउटा गजलमाला उन्न लाग्दैछु यहाँ । जहाँ आफ्नै हेराइमा अपत्यारिलो रोमान्टिकपना पनि छ, र भइरहेका विलौना पनि छँदैछन् । र्‍याकमा पत्रपत्रिकाको चाङमा पिठिउँ चाउरी पारेर बसेको गाता पनि गायब भइसकेको कपीका पानाहरू पल्टाउँछु र भन्छु आफैँलाई- यस्तो पनि लेख्यौ है महाशय ?

अल्झिई‍-अल्झिई कायल भएको नसकिने लीला दुई गजलमा:



१. अल्झियो -------------------

विश्‍वास अनि घातमा जिन्दगी अल्झियो
फेरि कसको हातमा जिन्दगी अल्झियो ।

असिनपसिन हुँदै दिनमा म भाग्थेँ,
आखिर घुम्दै रातमा जिन्दगी अल्झियो ।

फूलको रङ्गीन कथा एकैछिन रोक,
हेर्नेलाई त पातमा जिन्दगी अल्झियो ।

बाहिर मुहार हेरेँ केही खास छैन,
थाप्यौ पासो आँतमा जिन्दगी अल्झियो ।

जसले तार्‍यो जहाज पुग्यो ऊ किनारा,
कोहीको बातैबातमा जिन्दगी अल्झियो ।


२. नसकिने भो -------------------

आँखाभित्र पस्नेसँग नसकिने भो
मुटुसम्मै डस्नेसँग नसकिने भो !

झ्याल-ढोका चुकुल मार्नु व्यर्थै लाग्यो,
स्वप्नभरि खस्नेसँग नसकिने भो !

न्यानो पिर्का कसैलाई भएछु म त,
ढसमस्स बस्नेसँग नसकिने भो !

जोगिएर आफू सक्छु कहिलेसम्म,
अँगालोमा कस्नेसँग नसकिने भो !

तातो-रातो मुहार त्यो यस्तो प्यारो छ,
रङ्गरस घस्नेसँग नसकिने भो !

फँसाएको दोष लौ न बोक्नु कसरी,
आफैँ आई फस्नेसँग नसकिने भो !