Subscribe:

Ads 468x60px

29 June 2010

गाउँमा

गाउँको ठेगाना त सधैँ मनमै हुन्छ थातथलो छाडेर आफू जहाँ पुगिएको होस् , फरक यति हो - जीवनरफ्तारको क्रममा धेरैजसो त्यो ठेगाना छोपिएरै रहन्छ, बेलाबेलामा त्यो ठेगाना अनपेक्षित रूपमा प्रकट हुन्छ । अचाक्ली राप बोकेर । यसबीचमा भर्खरै केही समय फेसबुकमा कविताको अविरल वर्सात् गरियो, पढ्नेलाई फुर्सद नहुने गरी ;) दैनिकजसो केही न केही टुक्रा लेखेकै हुन्थेँ ।  यसो गर्दा आफूलाई ब्युँताइराख्‍ने बहाना मिल्ने रहेछ । तिनै फेसबुक-कविताको लहरबाट एउटा छाल यहाँ फ्यालेको छु । गाउँमा शीर्षकको कविता : 

Mango 
कोठेबारीमा
लहराउँदै होला भोक
हरियो उल्लासमा
खोल्सा नाघेर सु्त्केरी वन बिरालो
गरिरहेकी होली
पीडाको पूकार
फुक्दैफुक्दै
पिढीँ
बरण्डाका भुइँ
र बुइँगलका कुनाकानी
बाफिलो हावाले
छाम्यो होला पालैपालो -
असुरक्षा
वेदना
र खुत्रुकेको नाभीसम्म गाडिएको खिन्नता

सुनसान कोठाको बाकसमा
रोयो होला घर
भिजायो होला
पैँताला जत्रो जम्मै आँगन
शीतले भर्‍यो होला
बाटोभरिको सिउँदोमा
ओसिलो सिन्दूर
आँपगाछीमा
कसका लागि फल्थे आँपहरू
फले होलान् परदेशीका थकथकी
झुले होलान्
घरबूढा र आमैका सुस्केरा

कति हरायौ-हरायौ...
यसपालि त आउनू है !
यसै गरी तिमीले अह्राएकी थियौ,
म त आइनँ नै
न त आउँछु भन्ने नै खबर पायौ,
न आउँदिनँ भन्ने नै शून्य भाव
र पनि
घामको बाफले रातिँदै
मुस्काइरहेकी हौली तिमी
गाउँ त्यसैत्यसै
धपक्क उज्यालो होला ।

( गाउँसँगको बिछोडमा यादैयादमा बहकिएर लेखिएको कवितासँगै राखिएको आँपगाछीको तस्बिर भने पोहोर-परारकै हो, उदयपुरमै खिचेको ।)

20 June 2010

साहसिक आरोहण !

म्ता साहसिक कर्म होइन त्यो । कसरी गर्ने त्यत्रो साहस ? मानौँ कुनै महान् तपस्या हो । एउटा जोखिम नै भने हुन्छ यसलाई । पुस्तक प्रकाशनको कुरा सोच्नासाथै वनढाडेले कुखुरा झम्टिए सरि यस्तै प्रश्‍नहरूले भुत्ल्याउँछन् मलाई । कतै साथीभाइले करकर गर्छन्, “अब त धेरै ढिला भयो, यसो एउटा फ्याँके  हुने नि ।” शुभेच्छुकले झकझक्याउँछन्, “अझै निस्किएको छैन, लौ है अब त तात्‍नुपर्‍यो ?” म घाइते खरायो झैँ हत्त न पत्त विभिन्न उपाय लगाएर बहानाको झाडीभित्र पस्छु । हुन पनि लेखनकर्म (कर्म चाहिँ यो हो है, टेबलमा बसेर झोक्य्राउने विद्या मात्र होइन) थालेको एक दशक भइसक्यो । विद्यालय बेलादेखिकै आलोकाँचो समयसमेतलाई जोड्ने हो भने यो अवधिले अझै डिग्री हान्छ ! तर कहाँ कीर्तिमानधारी हुनु छ र हिसाबकिताबमा उक्सिएर ? र पनि हिसाबै गर्ने हो भने यो अवधिमा घटीमा पनि दुइटा किताब त निकालेर साहित्यिक बायोडाटामा बकाइदा लेख्‍न हुन्थ्यो ! :) तर ताक परेन, अझ भनूँ न, आफूलाई त्यो साहस नै आएन  । अथवा आफू अलि अजङ्गकै रूख परियो कि क्या हो, साहस नामको त्यो पिउसे कमिला उक्लिनै सकेन !

कति-कति भर्खरका भाइ-बहिनीले किताब छापिसके, सात वर्ष पनि साधनामा नभिजेकाहरूले सात वटा किताबको ताँती लगाएर उछिनिसके भनेर फत्र्याकफत्र्याक हुनु पनि भएन । सक्नेले नै त गर्ने हुन् ।  यसमा कति वर्ष कतिले साधना गरे, कतिले फोकटमा चोरचारमा रात कटाए र कति आलाकाँचाले हौवामा किताबी रकेट उडाए भन्ने कुराले के माने राख्ला ? किताब निकाल्नु आफ्नो बर्कत भएर पनि पुग्ने कुरा होइन, यो खास त अरूमा निर्भर हुने कुरा हो । किताब निकाल्ने तयारी अवस्थामा आफू रहेर मात्र कहाँ हुनु र, तँ तयार भइस् है भनेर मनोवैज्ञानिक टाँचा लगाएर अपेक्षाको स्वर भर्ने त समाजले नै हो जस्तो लाग्छ । एउटा अप्रत्यक्ष दबाब भनूँ न !
Books5 फेरि प्रकाशित किताबले समुदायमा के-कति हर्कत देखाउँछ, किताब प्रकाशनको अर्को छेउ यो कुरामा पनि गाँसिएको हुन्छ । यो प्रश्‍नसँगै किताब के का लागि निकाल्ने भन्ने ठिहीले मुटु कमाउँछ । एउटा लेखक र सर्जकले आफ्ना कुराहरू बाहिरी दुनियाँसम्म प्रसार गर्ने लोभ पालेको हुन्छ । यसै कुरा उसको तृप्‍ति लुकेको हुन्छ । त्यो लेखाइमा विश्‍व हल्लाउने तागत रहेको होस् वा एउटा मुटुमा चस्का हान्ने मामुली मर्म होस् । समाजको लागि लेख्‍ने भनेर छाती चौडा पारे पनि लेखकले पहिले त आफ्नै मन र मगजको तलतल मेटाउन लेख्‍ने हो । तब मात्र गहिराइको स्वर फुक्छ । नलेखेसम्म सकसकले पिरोल्छ, नशाको अम्मलीलाई कक्कडको धुवाँ नपुगे झैँ ।
मेरा कतिपय साथीहरू छन्, मैँ जस्तो साहस गर्न नसकेका । जो सोच्छन्, आफ्नै खर्चमा किताब निकाल्नुको के अर्थ, र मजा पनि के नै ? किताब नै तयार परेपछि त कोही प्रकाशक होस् अनि पो 'किताब प्रकाशनमा आयो' भन्नमा पनि तुक मिल्छ भन्ने सोच राख्ने तिनको एक स्तरको व्यावसायिकता पनि कसोकसो मन पर्छ मलाई । अनि कतिपय सोच्छन्, किताब निकालेपछि त्यस्तो के  हुन्छ र निकाल्ने झन्झटमा फस्नु ? किताबको थान गन्ती गरेर लेखकको स्तर निर्धारण हुँदैन भन्ने तिनको सोचाइप्रति पनि सम्मतिको शिर झुक्छ । मेरै छिमलमा कुम मिलाएर साहित्यिक कर्म गर्ने केही अनुज अनुहारहरू छन्, तिनको किताब पल्टाउँदा यस्तो लाग्छ – यो किताब त बरू ननिस्किएकै भए वेश हुनेथ्यो । (यसो भन्नुमा मेरो अहङ्कार लुकेको हुन्न, बरु भाषिक-साहित्यिक प्रेमका कारण यस क्षेत्रमा केही राम्रै होस् भन्ने आग्रहभावको भूमिका होला ।) ती प्रति मेरो सद्‌भाव-शुभेच्छा नहुने होइन, भरपूर हुन्छ । त्यही भएर त त्यस्तो किताबको मुख देख्‍नु नपरोस् भन्नेमा म निर्धक्क सोच्न सक्छु । आफूले किताब छपाउने ल्याकत नराखे पनि छपाउनेहरूले गतिलै चिज दिऊन् भन्ने चाह राख्नु पाप पक्कै होइन ।

तर सोझै मुख फोर्न भने सक्दिनँ, कतै तिनको कलिलो रहर कहिल्यै नलेख्‍ने गरी नभाँचियोस् । र कहिलेकाहीँ डर लाग्छ – तिनको रहरको भीडमात्र यसैगरी उर्लिरहँदा साहित्यमा कच्चा लेखनको विकृत स्वरूप मात्र त जम्मा हुने होइन ? यस्तो डरको ठेक्का मैले लिनु पनि आवश्यक नहोला । तिनको लेख्‍ने हक पनि स्वतन्त्र छ आफ्नो ठाउँमा । तर मेरा ती अनुजहरूलाई एउटै कुम जोडेर हिँडिरहेको मेरो पुस्ताले नभने कसले भन्ने ?  साहित्य र कलाको बारे के राम्रो भइरहेछ, के नराम्रोले जकड्याइरहेछ भन्नेमा हामी यही क्षेत्रमा रहेकाहरूले चर्चा नगरे कसले हो गर्ने ?


अर्कोतिर, आफ्नै रहर र तृप्‍तिका लागि लेख्न सुरु गरेपछि आफूलाई कसैले चासो दिएन, प्रकाशनबारे खोजीनीति गरेनन् भनेर राज्य वा कुनै स मूहको भूमिकाको अपेक्षा गर्नु पनि आफैँमा बेफ्वाँकको कुरा लाग्छ ।
आत्मप्रकाशनको रन्थनीले आफू वा समाजकै लागि लेखे पनि आफ्नो प्रतिभाललाई जगाइराख्ने, संरक्षण गर्ने जिम्मा त आफ्नै हो । सके आफूलाई हौस्याउने, फलाउने  र नसके काम्रो कसेर बस्ने । हो, राज्यले विकास-निर्माणको क्षेत्रमा जस्तै बौद्धिक फाँटमा पनि केही प्राथमिकता निर्धारण गरी व्यवस्था गर्नु उसको दायित्वभित्र पर्नुपर्ने कुरा हुन् । तर गैंडामाथिको प्रहार त्यो गैंडालाई लुतो न कन्याइ भइरहन्छ भने ' श्री दयनीय माननीय' भन्नुभन्दा बढी केही गर्न सकिन्न ।
यस्तोमा, पुस्तक प्रकाशनको साहसिक आरोहण विफल भइरहन्छ भने पनि आफ्नै गोडा बल्ढ्याङ खाएर हो । कसलाई पो दोष दिनु र ?