October 24, 2010

गाउँको फेरिएको मुहार

क वर्षपछि दसैँमा यसपाली गाउँ पुग्दा त्यहाँ निकै बदलीका चिन्हहरू देखेँ । गाउँको कोल्टे फेराइ तर सारमा होइन, रूपमा मात्र थियो । पूर्वी नेपालको भित्री मधेसमा पर्ने उदयपुर त्यसो त चर्चाको हिसाबले कुनै खबरमा नछाएको ठाउँ हुन सक्छ- न भोकमरी छ, न त सम्पन्नताको चुलीमा नै उभिएको छ । जे छ, खान-लाउन ठीक्क मध्यम वर्गको परिवार जस्तो छ । त्यसैले सायद झट्ट याद नहुने पारामा रहेको छ यो भूमि ! तर पछिल्लो समयमा भौतिक सुख-सुविधाको बुई चढेर उदयपुरको ग्रामीण परिवेशले पनि मुहार फेरेछ ।

पहिले-पहिले मुश्किलले साइकल राख्थे घरमा मानिसहरू, अहिले त घरैपिच्छे भने जस्तो मोटरसाइकल राख्‍न सक्ने हैसियतका भएछन् धेरैजसो । यसो हेर्दा यसलाई आर्थिक समुन्नतिकै सूचक नमानी धर भएन । घरको लाठे छोरा, दाजु वा भाइ परदेशमा कमाइ-धमाइको मेलोमा राम्रैगरी लागेको परिणाम पनि होला यस्तो समृद्धि । गाउँघरमा भनेको बेलामा वा आपत पर्दा तुरुन्तै सवारीसाधन नपाइने  अहिलेको समयमा मोटरसाइकललाई  विलासिताको साधन पनि कसरी भन्नु ? तर ती साधनलाई कति सदुपयोग गर्छन् गाउँलेहरू, यो मुख्य कुरो हो जस्तो लाग्यो । कामकाजी मान्छेबाहेकले घरदेखि चोकसम्म रल्लिनका लागि बाइक गुडाएको पनि देखियो । उहिले घरमा टेलिभिजन राख्‍नु जसरी इज्जतको कुरो हुन्थ्यो, अहिले बाइक त्यस्तै शानको साधन बन्न पुगेको अनुभूति गरेँ । विभिन्न सहरमा गएर कमाउनेहरूले दसैँको रामरमाइलोमा तास र जूवा खेल्दा ८०-९० हजार रूपियाँ त सजिलै हार्ने ल्याकत पनि राख्‍ने भएछन् ।

धानखेतहरूमा पक्की घर ठड्याउने लहरले त केही वर्षयता छोपेकै थियो, घडेरी प्लानिङ गरेर चोक्टा-चोक्टामा छुट्याएर राख्‍ने सहरिया चलन पनि सुरु भएछ । बुबा-काकाहरूले कुरा गरेको सुनियो- घडेरीको भाउ दोब्बर-तेब्बर बढेर उत्पात छ । उहाँहरूको आँखामा त्यो खुसी पनि देखेँ, स्थानीय घडेरीको भाउ राजधानीसँग टक्कर गर्दै अकासिएको ।

यिनै बदलीहरूको छिपछिपे प्रसङ्गकै बीचमा माथिका कुराहरूसँग उति सम्बन्ध नराख्‍ने खालका भए पनि गाउँ पुगेको बेला खिचेका केही तस्बिर यहाँ टाँग्दैछु :

 

Chowk चुहाडे चौक, जहाँ भुराभुरीलाई चटपटेदेखि  ठूलाठालुलाई बियर उपलब्ध छ !

 

Flower1 स्वागतम : तिहारको लागि तयार सयपत्री

 

Vegbuy चुहाडे चौकमा तरकारी किन्दै सर्वसाधारण : दसैँमा काउली ७५ रूपियाँ किलो

 

Dhiki छिमेकमा बस्दैआएका खरिगाउँले भिनाजु र दिदी ढिकीमा चामलको पिठो बनाउँदै

 

ping 
केटाकेटीलाई घरैमा पिङ

 

RiskyTravel यसैगरी खाँदखुँद गरी चल्छ यहाँ ट्याक्सीको आवागमन

 

Flower2

फूलबारीमा भाले फूल

October 15, 2010

काठमाडौँमा उड्दैन चङ्गा

यो दसैँमा दसैँ मान्नेहरूको निधार त अक्षताले भरिन्छ, तर आकाश भने पूर्ववत् उजाड नै रहनेछ ।  kite

दसैँ सुरु हुने कति दिन अगाडिदेखि र दसैँ सकिएपछिका केही समयसम्म पनि चङ्गाको रङ्गीन झाँकी देखिने आकाश अचेल विधवाको सादापनमा खुम्चिएको पाइन्छ । जाडो याम सुरु हुने बेला उत्सवको स्वागत गरे झैँ खुसियाली मनाउन चङ्गा उडाउने प्रचलन विशेष गरी काठमाडौँकै हो । तर काठमाडौँको त्यो चिनारी पछिल्ला वर्षहरूमा खुइँलिँदै गएको छ । अचेल फाट्टफुट्ट रूपमा मात्र ठिटाहरू चङ्गाको रामरमाइलोमा देखिन्छन् ।

चङ्गा उडाउने क्रम पातलिनुको मुख्य कारण काठमाडौँको बढ्दो जनघनत्व र त्यो घनत्वसँगै घाम समेत देख्‍न मुश्‍किल हुनेगरी थपिएका घरको चापलाई मान्न सकिन्छ । मान्छे हिँडडुल गर्दा मात्रै पनि ‘साइड’ दिनुपर्ने अवस्था आउने महानगरमा अनि कसोगरी पो उडाउनु चङ्गा ? दसैँको समयमा विभिन्न जिल्लाका मान्छेहरू पर्व मनाउन गाउँ फर्किएर काठमाडौँको भीड पातलिने भए पनि चङ्गाका पारखी तन्नेरीहरूमा अचेल जोस भरिएको पाइन्न । त्यसो त मनोरञ्जनका लागि चङ्गा नै उडाउनुपर्छ भन्ने पनि नहोला । मनोरञ्जनका विविध साधन र माध्यम उपलब्ध भएकोले पनि चङ्गातिरबाट युवाहरूको मन ‘चेट’ भएको हुन सक्छ । तर चङ्गाको प्रचलन घट्दै जानुलाई सांस्कृतिक विचलन र परम्पराप्रतिको लगावमा कमी भनेर पनि विश्लेषण गर्न सक्छौँ हामी । मौसमले पनि साथ नदिएर हो कि चङ्गा उडाउनेहरू जिल्लिएका, हावा नचलेपछि चङ्गा उडाउनुको के मज्जा ! :-)

ericdsnider.comत्यसो त रमाइलो भन्ने कुरा, त्यसमा पनि दसैँको मोजमज्जा खासगरी बालापनमै अँटाउने कोठा हुन् । जति उमेरले छोप्दै जान्छ, जिम्मेवारी र कर्तव्यले किच्दै जान्छ र चाडपर्व मनाउनु भनेको सारमा परम्परालाई निरन्तरता दिने औपचारिकता बन्न पुग्छ । नमनाए वल्ला-पल्ला घरकाले के भनेर कुरा काट्ने हुन्, फेरि असामाजिक पनि भइने डर !  फेरि आफूलाई पनि त वर्षदिनमा तन-मनलाई ऊर्जा दिने रमाइलो बहाना चाहियो । तर यस कुरामा चङ्गा उडाउनुको कुनै साइनो छैन । मान्छेहरू अचेल आकाशमा चङ्गा उडाउनबाट सुस्ताए पनि मनमनमै उडाइरहेछन् । मनमै खुम्चिएर सपनाको नौनी मथिरहेछन् । बाहिर खुसी हुने बहाना पनि उति साह्रो छैनन् । सबै सांसारिक साँगुरोपनबाट जोगिएर पस्न सकिने भरपर्दो थलो आफ्नो मनदेखि बाहेक अरू हुन पनि त सक्दैन नि !

अन्तिममा एक टुक्रा :

यसपालीको दसैँ
सहर जस्तो अप्ठेरो
गाह्रो र साँगुरो
छैन यो मन,
चाहेमा-
पिङ हाल्न सक्छ्यौ
उडाउन सक्छ्यौ निश्फिक्री
मायाको चङ्गा...

October 9, 2010

दसैँ : रहनुस् मस्त र स्वस्थ …

विजयादशमीको हार्दिक मङ्गलमय शुभ कामना !
जो जहाँ रहनुहुन्छ, टीका लगाउने-नलगाउने जस्तो परिस्थिति भए पनि त्यसैमा खुसी हुन सक्नुहोस् । यस वर्ष कतिलाई बिदा मिलेन होला, कतिलाई पाएको बिदामा पनि के-कसरी घरसम्म पुग्ने हो भन्ने झन्झटले पिरोल्यो होला ।  विदेसिएकाहरूलाई देशको सिमानादेखि टाढा रहनुपर्दा अघिल्ला वर्षहरूका यादको सहारा नै रामरमाइलो गर्ने बाध्यात्मक बहाना बनिरहेको होला । मुलुकमा मौलाएको परिवर्तनको मुना जमरा जस्तै पहेंलिएर त नजाओस्, यही कामनाका साथ दसैँलाई मनाऔँ । आखिर वर्षदिनको चाड, नेपाली संस्कृतिको परिचायक मानिने दसैँमा खुसी नै हुन खोज्छौँ सुख-दु:ख जे भए पनि । यही गन्थनको साथ दसैँको बहानामा दसैँकै कविता बिसाउँछु :

Ping

संस्मरण दसैं

ताछिएको पाखोबारी र निधार
छैन केही फरक
रोपूँला यही पाखोबारीमा
अक्षताको दूबो
छोपूँला खिया पर्दैगएको शिर
जमराको सिउरले

स्वजनको आशिष्‌ले ओत देला
थामिन्छ कि अब
पलपल झोंक्किने पैँतालाको पहिरो
सरुवा भई आउँछ कि
उही पुरानो ठेगाना पैल्याउँदै
सौभाग्य नामको हल्कारो

छाडेको चिया झैँ एकदम चिसो
निभेको चुरोट झैँ ध्यानमग्न
कुनै घर होला परदेशीको पर्खाइमा
सुकेको सिट्ठा बाँस भएर
कुरेका होलान् निर्बलिया बा-आमाले
तुफान हुँदै आउनुपर्ने लालाबालालाई

भोकले दोब्रिएको पेट जस्तै
बटारिएका यी बाटाहरू पार गराउन
छैन पर्खाइ कुनै देवदूतको
दसैं आउँछ र आउँछन्
सम्झना र समस्याका भँगालोहरू एकसाथ
कतै
टीका उजाडिएको निधार खडेरीग्रस्त पाखोबारी
कतै
टीका टाँसिएको निधार -
ताराको दाग उम्रिएको बिफरग्रस्त आकाश ।

October 8, 2010

मिसावटमा झर्रो मन

“भेलबाढी जस्तो सुसाउने मन पनि मरूभूमिको बलौटे समुद्र जस्तो शान्त हुँदोरहेछ है !”
उसलाई भन्नुपर्नेछ  यस्तै-यस्तै कुरा । ऊ सुदूर देशमा धपेडी सहिरहेकी मेरी पत्रमित्र साथी । कुराकानी नभएको धेरै भयो, र सायद अब हुने पनि छैन कि ? मैले नै दुईबीचको सम्पर्कमा भाँजो हालिदिएँ । ऊसँगको पर्खाल यति अग्लो लाग्दैछ, मानौँ कसैले हामीबीच अर्को रुखो पृथ्वी राखिदिएको होस् । उसको मौनता कति झर्कोलाग्दो !! घण्टाघरको घण्ट जस्तै कान टट्टाएको छ । गहनाबिनाको बुच्चे कान मैँ हुँ कि ! कसैको साभार गरिएको महान् बोली जस्तो मेरो पदचाप । उसलाई अन्दाज सम्म नहोला, म उसको सम्पर्क बाहिर ठेगानाविहीन चिठी जस्तै कतिसम्म यता-उता भौँतारिएको छु । नियति नामको हल्कारोको पिठिउँमा बोकिएको छु नि म !
अस्ति नै भनेको हुँ नि, सहर पसेपछि म अलि बिग्रिएँ, मनैदेखि । झन् ऊ त महासहरको भेलमा पुगेकी छे, कस्तो दशा भोग्दै होली ? उसलाई आफू बिग्रिएको कुरा सुनाउन  पनि कुनै ग्लानि लाग्दैन, के भएको हो यस्तो ? उसमा म आफैँलाई देख्‍छु । ऐया भन्दा उसले, यता आफ्नो छातीमा सियो वारपार भइसक्छ । र पनि मिठासको आलो रगत कुद्छ शरीरभरिको सुरुङमा ।

Evening

अँ त, म फेरि-फेरि बिग्रिने ठाउँ नहुने गरी बिग्रिएँ । पहिले हाँस्थेँ, रुन्थेँ पनि । अचेल गैँडाको छाला मेरो तन-मनमा प्रत्यारोपण भए जस्तो भएको छ । न हाँस्न जान्दछु, न रुन नै । कामकाजी ठाँटमा अफिसको रहनसहनमा घुल्छु - पीडा, कुण्ठा र निराशाले पाकेका आफूभन्दा गएगुज्रेका हालत भएकाहरूको अनुहार पढ्छु र झन् हाँसो र रोदनको दुनियाँ भुल्न पुग्छु ।  कतै तिमीले गाउँले ठिटोको जुग पुरानो पुस्तौनी साइकल देखेकै हौला, ठिटो कति कायल हुन्छ साइकलको पन्चर टाल्दा-टाल्दा । गाउँका उबडखाबड ठाउँमा घिस्रिँदा  गति छाड्न पुग्ने साइकलको ट्युब अनगन्ती पटक टालिँदा फेरि पन्चर टालिने ठाउँ नहुने गरी रद्दीमा परिणत हुँदो हो एकदिन ।  उसो त तिमी भन्लfउ दार्शनिक कसीमा, हाम्रो जीवन पनि पाङ्ग्रा नभए पनि साइकलको त्यो ट्युबभन्दा कति नै फरक छ र ?  मर्मत गरिँदै, टालिँदै जानुपर्ने र फेरि दरिलो भए झैँ कुद्‌नुपर्ने रीत … …
मुलुकमा पनि सङ्क्रमणकालको ज्वरो छ भन्छन्, म पनि सङ्क्रमणकै रापमा छु कि जस्तो छ । सहरिया हावापानीमा पाकेको म गतिलो रक्सी भइनँ । खाँटी ‘लोकल’ खान त गाउँको उकालोतिर सोझिनुपर्छ भन्छन् स्वाद लिनेहरू । म यस्तो रक्सी भएँ, यस्तो रक्सीको सरसङ्गत-सम्पर्कमा आउनेहरूलाई कस्तो मात दिएँ हुँला मैले यस बीचमा !?  सप्पैसप्पै दोष मेरो हो कि, मलाई यस्तो बेस्वादे रक्सी पार्ने सहरिया हावापानीको ? अचेल सोध्न पनि छाडिसकेँ ।
मबाट कठोर मात पाउनेहरूको आँखामा म एउटा परेली-रेसा भएर कता बगिसकेँ हुँला । उसबाट पनि बगेर टाढा बढारिन मन लाग्यो, ताकि धेरै मात मबाट ऊसम्मन प्रसार नहोस् । मेरा सम्पर्कका डोरीहरूबाट उसलाई ‘अनपलग्ड’ गर्ने बेलामा करेन्ट कतिसम्म लाग्यो भने, पत्थरको जुनी लिएन संवेदना गुमाएको मेरो ओखर मनमा पनि कम्पन छुट्यो । तर उसलाई बिदा गर्नै थियो । ऊ एउटा आफ्नै उद्देश्यको रथमा सोझिएकी युवती, म आफ्नो मायाजालको रटान लगाउने युवक । तालमेल कहाँ मिल्थ्यो पनि ? उसले जस्तो आफ्नो भूमिदेखि दूर, कुनै रूखमुनि गएर म तपस्या गर्न सक्दो हुँ त उसलाई जत्तिकै प्रेम म आफैँलाई गरेर बस्दो हुँ । आफ्नै आँखामा म त अचेल विरानो भएको छु, जसलाई दयावश बाससम्म दिएको हुँ । स्याहार, सुमसुमाहट त त्यसले मबाट कल्नासम्म नगरोस् ।

Kakani trip 088

म बिग्रिनुको प्रमाणपत्र म स्वयम् हुँ । त्यस्तो प्रमाणपत्र, जो हत्तपत्त कुनै आँखाले बुझ्दैन । धारिलो चश्मा पनि फेल खान्छ । अचेल कसैले कसलाई पो मनदेखि दूरबीन सोझ्याएर हेर्छ र ? म पनि त्यस्तै बहिर्मुखी जीवमा रूपान्तरण भए क्यार ! जो चिच्याउँछ र गर्जन्छ मात्रै – गुनगुनाउँदैन ।

जीवनको मिलमा पिसिन पुगेको थिएँ, के-के मिसावटमा परेँ । सायद साखुल्ले हुने बहानामा आफूलाई ठान्छु - झर्रो मन थियो साथमा, नानाथरी रङरोगन मिसावट भयो ।
उसको पनि हालत मेरो जस्तै त होला ।

October 3, 2010

दस्स्स्स्सैं !!!

तेस्सिमा हौ, यो दसैँ त आइगो गाँठे ! काठमान्डुमा ठिटाहरूले चङ्गा उडाउनुभन्दा पहिल्यै हामी जस्ता रोजीरोटी गर्नेहरूको मन चाडबाडले फुरफुर उड्छ ।
म हरि बादुर खड्का ।
कसैले हरि भन्छन् । ठिटाहरू ‘बूढा दाइ’ भन्छन् । जोईले सुबोधेका बा भन्छे । तर जे भने पनि म त उही हो नि, रामेछापको मैलाधैला माइला ।
ड्राइभर काम गर्छु  हजुर । रामेछापमा पनि धुस्रेफुस्रे भए पनि सडक त छन्, तर मालिकहरू छैनन् हजुर । नत्र त उतै चलाउँथेँ नि गाडी । उता म जस्ता नोकरहरू मात्र छन् । अरूको खेत खोस्रने, इ: यसरी मैले जस्तै अरूको गाडी चलाउने । पहिले इन्डियाको गाडी लाइसेन्स थियो साथमा, नेपालमा इन्डियाको लाइसेन्सले गजबले गाडी चलाउन पाइन्थ्यो । चलाएँ । 
Shabda-Driver दसैँमा घर जानु छ । मालिकको गाडी चलाएर वर्षभरि केही बचाएको छु । मन मारेर बचाएको हो हजुर रुपियाँ । फुक्का छाडेर हिँडेको भए दुई-चार हजार जाबो त दारूसारुमै खत्तम हुन्थ्यो । अनि, घरका जहान र केटकेटी मात्र के, मेरो पनि उहिले नै चिलिम फर्किसक्नेथ्यो ।
           ***
दसैँ फक्रिसक्यो अब, गामतिर गुलमोहरको फूल झुले जस्तै । यो चिसो-चिसो बिहान सुरु हुँदा त झन् दसैँ आए-आए जस्तो महक हुँदो रै’छ हजुर । म सँग के नै छ र, लगाएको एकसरो लुगा बाहेक ? एउटा झोला छ थोत्रिएर धुर्कुटान भाको ।  त्यसैमा कोचेको छु लालाबालाका लागि एक-एक जोर लुगा । तिनकै आँखामा त हो नि, कति रहरलाग्दो गरी तैरिन्छ चाडबाडको खुसियाली । हामी उमेर पाकिसकेकाहरू तिनै बालबालाका लागि खुराक पकाउने भान्से न हौँ ।
अँ त, अफिसबाट बिदाबारी भएर हिँडेको छु म रामेछापतिर । भोलि  सँगै घरतिर लाग्ने कुरा हिजो साँझ दाजुले गरेका थे । दाजु-भाउजूसँगै गाउँ जाने सल्लाह थियो । दाजुले नै बोला’का थे – “आ न त, मेरै कोठामा राति बास बस, दाजु-भाइ सँगै जाम्ला एकाबिहानै ।” तर मैँ मानिनँ । सखारै आउँछु भनेर यतिखेर रिमरिमे बिहान त्यतातिर बाटो तताउँदैछु । दाजु बसेको घट्टेकुलो पुग्न एकाबिहानै ट्याक्सी चढेर अनामनगरको उकालो बाँसघारीतिर उक्लिँदैछु । उकालो पार भएपछि अलि पर वरको बोट आउन बाँकी नै छ, छेउमा आर्मीको अडडा पनि छ क्यारे ! तर उकालो मोड सुरु हुनासाथै ट्याक्सी डेग चलेन ।
थोत्रो ट्याक्सी चलाउने बूढा ड्राइभर हुन त मेरै पेसाका हुन्, तर बढी दयालाग्दो देखेँ तिनलाई । मैले सोधिनँ पनि उनलाई, कसरी मनाउनुहुन्छ यसपाला दसैँ ? चाउरीका रेखाहरूले घेरा हालेको उनको तनावयुक्त  अनुहार नै आफैँमा जवाफ थियो । कनेर पनि उक्लिन नसकेपछि ट्याक्सीलाई बिदा गरेर पैदलै अघि बढ्नु वेश लाग्यो । बूढालाई बिदा गरेँ । बाँसघारीको उकालो छिचोल्नै लाग्दा त्यही अँध्यारोमा फिलिमहुँदी ठ्याक्क गुन्डा निस्किए झैँ खै कताबाट ५-६ जना पाखुरावाल केटा देखापरे । मेरो सातो गयो । अरू बेला दसैँ आए जस्तो अनुभव दिने बिहानको चिसो हावा पनि प्राण उड्दाको बरफ जस्तो भान भो । मेरी बास्सै, अब के पो हुने हो !? मुटुमा गैँती बजारे जस्तो लाग्न थालिगो ।
***
कन्चटमा खुकुरी नचाउँदै केटाहरू मेरो खानतलासी लिने रूपमा उत्रिए । म चुँ सम्म बोल्न सकिनँ ।
“के-के छ त सँग भन् ?”, केटाहरूले र्‍याखर्‍याखती पार्न छाडेनन् । बोल्न करै लाग्यो ।
“दसैँमा गाउँ जान हिँडेको हुँ हजुर, यसो केटकेटीका लागि कपडा बोक्या छु, अरू त के हुनु र ?”, कनेँ यति बल्ल ।
लुगाको झोला भनेर केटाहरूले मानेनन्, आधिकारिक जाँचबुझ निकाय जस्तै ओल्टाइपल्टाइ गरेर हेरे । झोलाभित्र गोडा-दुएक हजार रुपियाँ दाम दसैँमा टीकारीहरूलाई दिन खुजुरा बनाएर लिएर हिँडेको थेँ । केटाहरूले थुते । पूरै जिउ छामछुम गर्न थाले । अघि बताएको थिइनँ हजुर, कम्मरमा एउटा मैलो गुम्छामा वर्षभरि कमाएकोमध्ये जोगाड गरेको २७ हजार दाम बाँधेर पाइन्टको भित्रपट्टि बेरेको थेँ । बुद्धि त पुर्‍याएको हुँ । तर बाटोमा यस्ता सिकारी ढुकेर बसेका होलान् भन्ने के पत्तो ? पूरै शरीर खानतलासी लिँदा केटाहरूको हातले पैसाको त्यो मुठो पनि फेला पारिहाले । गर्धनमा खुकुरी ताकेर बयान लिइरहेको बेला जे-जसो होस्, ज्यान जोगाऊँ भन्ने धुन त हुन्छ नि ।
कतै गुहार मागूँ भने पनि खुकुरी छप्किहाल्ला कि भन्ने डर छ । डरले आकुल हुँदै बरू सर्वस्व लुटिन तयार भएँ । होसहवास कता गुम भयो-भयो हे दैव ! सात पत्र पारेर बेरेको रुपियाँ मुट्ठ्याएर केटाहरू  सायद विजय मनाउँदैथे होलान् । म भने शीत जस्तै चिसिएँ । खुकुरीले यहीँ गिडेर फाल्दिने हुन् कि भनेर मुटुसम्मै ओसिलो भो । मृत्युकै बोध भो खुकुरी तेर्स्याएर आफू बलिको बोको बनाइँदा । झोलामा भएको खुजुरा बनाएको दाम भने केटाहरूले आपसमा सल्लाह गरेर मैँलाई फिर्ता दिने भए । नाडी घडी भने थुते तिनले । ‘लौ अब जा ‘भन्दै केटाहरूले उकालो छिचोलेर आर्मीको अड्डाभन्दा अघिल्तिरसम्म पुर्‍याइदिएर फर्किए ।
***
जसोतसो लडखडाउँडै खै कुन सुरमा दाइको कोठा त पुगेँ । त होश पटक्कै छैन । अनुहार खङ्ग्रङ्ग सुकेको छ । एकोहोरो । दाजु-भाउजू घेरिएर सोध्छन् के भो ए होइ !! भाइ भने प्वाक्कै एक शब्द फुटाउँदिनँ । दाजु जिल्लिए । बल्लबल्ल खुकुरी गर्धनमा सोझ्याएको डर केही मत्थर भएपछि सबै कथा सुनाएँ । दाजुले जे भो-भो, यसो हामी खर्चबर्च दिउँला, घर पुगेपछि एउटा उपाय होला हिँड भनेर ढाडस दिँदैछन्, तर मेरो मन बुझेको छैन । म जान्नँ घर, फन्किन्छु खुब । यस्तोमा कुन मुखले पो जाऊँ घर ? एउटा गरिब लुटिँदा कतिसम्म लुटिन्छ र सातो कतिसम्म गायब हुन्छ, मैले यही बिहान थाहा पाउँदैछु ।
यस्तैमा केही दिन काठमान्डूमा बिते । दसैँ अब सूर्य जस्तै टाउकैमाथि टेकिन आइपुगिसकेको छ ।
ड्राइभरी काम गर्ने अफिसका मालिकले पनि म लुटिएको कुरा था’ पाएछन् । बोलाए ।
“उसो भा’ पैसा कत्ति पनि बचेन होइन हरिबहादुर ?”, सान्त्वना दिए । साथमा १० हजार दाम पनि हातमा दसैँ खर्च थमाइदिए ।
लुटिएको घाउमा मल्म यही भो । खिस्स हाँसेँ ।
सहरमा कोही-कोही त भगवान् नै भेटिन्छन् हजुर ।
अब रामेछापमा दसैँ मनाउन पुग्छु । त्यो बाँसघारीको बाटो त मरिगए जान्नँ ।
सहरमा ठाउँठाउँमै त्यस्ता राक्षस भेटिन्छन् ।