जेलभित्र बीपीसँग

BP-Jail-Journalधैं पढिरहने तर कहिल्यै नसकिने किताब पनि हुने रैछ जीवनमा । जुन पढ्दा पढिसिध्याउने उद्देश्य राखिंदैन । बस् पढ्दै गइन्छ, सिलसिलेवार लय तोड्दै । कहिले पहिलो पानाबाट फाल हाल्दै ११औं पृ्ष्ठमा फड्को मार्न मन लाग्छ, कहिले हातमा लिनासाथै एकैचोटि पुछारको पृष्ठ पल्टाएर त्यहाँबाट बीचतिरको पृष्ठमा फर्किन पनि मन लाग्छ । किताब मन नपरेर यसरी पानाहरू छाड्दै उम्किएको हैन, मन परेर अझ नयाँ कुराको खोजीमा छटपटाएको हो।

बीपीको जेल जर्नल त्यस्तै किताब बनेको छ मेरो लागि । कहिल्यै आद्योपान्त छिचोलिएन । यस्तो किताब उपन्यास पढे जस्तो एक-एक पानाबाट अघि बढ्दै गइन्छ कि गइन्न खै ! पठन नियम पनि थाहा छैन ! किताब हात परेको समय २०६० सालदेखि यसैगरी पाना-पानामा छलाङ मार्दै दगुरिरहेको छु । फेरि, आफू निकै अल्छे र ढिलो पढ्ने पाठक परियो । एउटा किताबले मन खाएपछि अरुतिर हत्तपत्त आँखा नलगाउने । (यो पाठकलाई प्रेमिका छउन्जेल बाटामा हिंड्दा अन्य केटीतिर नजर लगाउने झन्झट पनि मन पर्दैनथ्यो एक समयमा Winking smile । आफ्नो विशेष मान्छे छँदै छ भन्ने एकखाले ढुक्क ढकनी!)

सुन्दरीजल बन्दीगृह बसाइका डायरीमा बीपीका अनुभूति, जीवनदर्शन, अध्यात्म, आत्मसमीक्षा, आशा-निराशा, मसिना कुरामा उफ्रिएका खुसीहरू, राजनीतिका सामयिक घटनाक्रम, पारिवारिक लगावका विविध प्रसंगले  छुँदा सिलसिलेवार पढ्ने लय थाती रहन्छ । मन परेका प्रसंग फेरि पढ्न मन लागेर अघि बढ्नु त्यत्तिकै हुन्छ, कहिले चाहिं कुनै गहन कुरा आउँदा गम खाएर हराइन्छ । अलिक अन्तरालमा किताब समाउँदा फेरि उही ताल!

व्यक्तिपिच्छे पढ्ने आ-आफ्नै शैली हुन्छ । मलाई लाग्यो, फरक-फरक दिनको डायरी भएकाले फरक भाव र घटनाको बयान आफैंमा सिंगो रचना हो । कुनै एक दिनको डायरी पढ्दा पूर्णता भेटिने । यसैले पनि यस्तो किताब उपन्यास पढे जस्तो टाँस्सिएर बगिराख्नुपर्ने वर्गमा पर्दैन होला । जेल जर्नलले मलाई क्रमभंग पठनको बानी बसाए पनि यही किताब अरुले सरासरी पनि पढे होलान्।

बीपीले ‘आफ्नो मनका भाव पोख्ने’ भन्दै पत्नी सुशीलालाई सम्बोधन गरी चिठीका रुपमा लेख्ने सोचले डायरी लेखन सुरु गरेका छन् । तर, व्यक्तिगन सम्बोधन गर्ने उद्देश्य राखिएको डायरीमा बीपीको बहुआयामिक व्यक्तित्व सीमित भएको देखिंदैन ।  डायरीमा उनले मुठी आकारको मुटुदेखि त्यस्तै गोलाइको सिंगो पृथ्वी र सृष्टिकै बृहत्तर चर्चा र चिन्तन गरेका छन् । यसमा व्यक्तिगत सम्बन्धका आयामदेखि पञ्चायतकालमा राजनीतिक सम्बन्ध र छिमेकी देश भारतसँगको सम्बन्धको सीमा, सम्भावना र आशंकासम्मका कुरा छन् । ‘आखिर बन्दीगृहमा के घटना घट्छन सक्छ र? … … जेलभित्रको एक दिनको दिनचर्या अर्को दिनको दिनचर्यासँग फरक हुँदैन’ भनेर बेलाबेला चरम निराशा समेत पोखेका बीपीले धर्मग्रन्थ र दर्शनका किताबको चेपमा आशाको झिल्को भेटेर उत्सव पनि मनाएका छन् मनमनै । शनिबार जेलमा अखबार  नआउँदाको बेचैनी र अन्य बार खबरकागजमार्फत अन्तर्राष्ट्रिय घटनाहरूले उमार्ने ऐंठन उनले बारम्बार पोखेका छन्।

जेल जर्नल पढिरहँदा एउटा पुस्तकालयमा छिरे जस्तो पनि लाग्छ । विभिन्न समयमा पढ्दै गरेका अनेक किताबका नाम र चर्चा डायरीमा धेरै ठाउँमा आएका छन्  । निकै अध्ययनशील र गम्भीर अध्येता बीपीले समाएको किताबलाई उपयोगी सूची मान्दै हामीले सिफारिशकै रूपमा लिंदा हुन्छ । लामो सूचीमध्ये केही त हाम्रो दिमागले पनि फुटाउन सक्ने होला । कति किताबमा भने उनी आफैं रमाउन नसकेको पनि देखिन्छ । प्लेटो, सोपेन हाउपर जस्ता विचारकको किताबमा मन अँड्न नसक्दा उनी सार देख्दैनन् र भन्छन् – ‘यी दर्शनका कुरा पनि निरर्थक हुन् कि?’

दर्शनप्रति झोंक देखिए पनि बेलाबेला उनी आफैं दार्शनिक कसीमा बोल्छन् – ‘कष्टमय जीवन दुःख होइन, जीवनबाट आशाको लोप दुःख हो ।’ यस्ता दार्शनिक पंक्ति र गहन चिन्तन बाक्लै छन् जेल जर्नलमा  । दर्शनको उज्यालोमा बन्दी जीवनलाई उज्यालो बनाउन खोज्दाखोज्दै उनी थाक्छन् पनि । एक्लोपनले उनलाई निकै गाँजेको देखिन्छ । अध्ययन र चिन्तनले एक्लोपनलाई लखेट्न खोजे पनि कारागारको चार भित्ताले निचोरेर उकुसमुकुस बनाउँछ उनलाई । अखबार पढ्न नपाउँदा दिन नीरस – महानीरस मानेका छन् उनले । कारागारमा सधैं उही दिनचर्या र भोगाइदेखि दिक्क भएर नयाँपनको खोजी हरदम लागे पनि आफूमा आलस्यले नराम्ररी डेरा जमाएकोमा थकथकी पनि मानेका छन् । दिनलाई रचनात्मक रुपमा सदुपयोग गर्ने सोचसहित काम तोकेर रुटिन नै बनाए पनि बिछ्यौना र आराम प्यारो भएर चौपट भएको  खिन्नता छ।

जेलको बसाइलाई उनले बढीभन्दा बढी पढ्ने र लेख्ने रुपमा उपयोग गरेका छन् । मूलतः राजनीतिक व्यक्तित्व भएका उनीमा साहित्यिक पकड पनि बलियो थियो । जेलमा कथा लेख्दै गर्दा उनले ‘ती कथा एक प्रकारले आत्मकथाकै टुक्रा जस्तो भएर आफू प्रतिवादीको रुपमा आत्मरक्षा गर्न प्रयत्न गर्ने’ भनेर स्वीकारेका छन् । सिग्मन्ड फ्रायडको दर्शन नजिक रहेर यौन मनोविज्ञानका कथा र उपन्यास लेखेका बीपीले आफ्ना स्त्रीप्रसंग र यौनका कुरा पनि खुलेर लेखेका छन् डायरीमा । पत्नी सुशीलाप्रति अगाध प्रेम हुँदाहुँदै उनले आफूमा रहेको यौन स्वच्छन्दताको कुरामा आत्मालोचना गर्नुपर्ने देख्दैनन् । भन्छन्: ‘मेरो आचरण – यौन स्वच्छन्दतालाई म पापयुक्तता र कर्तव्यविहीनताको संज्ञा दिन सक्तिनँ ।’ डायरीका पानामा सम्बोधन गर्दा आफ्नो डायरी हेर्ने अधिकार उनै सुशीलालाई मात्र सुम्पेका उनले केही नलुकाई आफ्नो स्पष्टता र इमानदारी देखाएका छन् । पत्नीले धूमपान, मदिरापान र अवैध यौन सम्बन्धदेखि टाढै रहन गरेका आग्रहमध्ये अघिल्ला दुई छोड्न अठोट गर्न सके पनि यौनको मामिलामा आफूलाई कडाइ गर्न नसकेको उनले लेखेका छन् । आत्मसमीक्षा गर्दै जाँदा पत्नीको परम विश्वास पाउन जस्तोसुकै बलिदान पनि ठूलो हैन भनेर उनले अन्ततः परस्त्रीसंगम नगर्ने निश्चय गरेका छन्।

डायरी भनेको आफैंसँगको कुराकानी हो । आत्मसाक्षी हो । कोठामा एक्लै बसेर ऐनामा आफूलाई हेरिरहँदा आफ्नो अनुहारमा कसैले कुनै आदर्श व्यक्तिको चित्र टाँसेर दंग पर्नुको के अर्थ हुन्छ र ?  यस हिसाबले बीपीको इमानदार लेखन यहाँनेर स्वाभाविक लाग्छ । एक ठाउँमा त उनले यौनकै प्रसंगमा दर्शनलाई दैनिक जीवनसँग जोड्दै लेखेका छन् : ‘यौन र योग मेरो अन्तरहृदयमा एउटा ध्वनि उत्पन्न गराउँछन्, मानौं दुवै एउटै तत्व हो – अथवा यौनको आर्को अभिव्यक्ति योग हो ।’ जीवनमा यौनको अपरिहार्यता र अभिन्नतालाई उनले त्यसरी खुलाएका छन्।

इमेलका केही पंक्ति र च्याटका दुई चार शब्दमा सम्बन्ध टेकाउने बानी परेका आजका हामीलाई बीपीले ती दिनहरूमा एक दिनमै एक दर्जन र कहिले त तीन दर्जनसम्म चिठी लेखेको कुरा फिल्मको प्लट जस्तो लाग्न सक्छ । बढीजसो चिठी उनले परिवारका सदस्यहरूलाई लेखेका छन् । तिनमा आपसी सञ्चो-बिसञ्चोका साथै देशमा भइरहेका बाहिरी घटनाक्रम बुझ्ने-बुझाउने माध्यम पनि बनेका छन् चिठीहरू । डायरीमा बारम्बार आउने नाम राजा महेन्द्र, सँगै जेलमा रहेका गणेशमान सिंह लगायतका पात्रहरूको प्रवृत्ति र व्यक्तित्वलाई हामी बीपीकै शब्दहरूको आँखीझ्यालबाट बुझ्न सक्छौं । भलै, त्यो बुझाइलाई पूर्णता मान्न नसकिएला, उनको चर्चामा केही हदसम्म राजनीतिक आग्रह/पूर्वाग्रह पनि मिसिएको हुन सक्छ।

बीपीको डायरी पढिरहँदा यस्तो लाग्छ, उनीसँगै म पनि जेलको एक कुनामा छु र उनले बयान गरेका दिनचर्या आँखै अगाडि नियालिरहेको छु । उनको छटपटी, उत्साह र खुल्दुलीको एकमात्र साक्षी छु । यस्तो अनुभूति उमार्न सक्नु उनको कलमको खुबी र सफलता हो।

जेल जर्नलपछि बीपीको जेल डायरीकै अर्को संकलन ‘फेरि सुन्दरीजल’ पनि निस्केको छ । यसका साथै कांग्रेस नेता तथा चिन्तक प्रदीप गिरिले पछिल्लो समयमा बीपीबारेको लामो लेखमा जनाएअनुसार, बीपीका केही डायरीहरू अप्रकाशित अवस्थामा छन् । तिनमा विदेशी कवि तथा साहित्यकारहरूको बारेमा विचारोत्तेजक टिप्पणी पनि छन् । ती कहिले छापिने हुन्, तिर्खा निकै रसिलो भएर आएको छ।

Post a Comment

0 Comments