January 6, 2025

मानसिक स्वास्थ्य


मानसिक स्वास्थ्यको विषयमा कुनै दिन सोचिएला, लेखिएला भन्ने कहिल्यै लागेको थिएन। मानसिक समस्या मैले नसोचे पनि सायद जीवनका कतिपय मोडमा भोगेको कुरा हुन सक्छ। तर, त्यो अस्वस्थता मानसिक स्वास्थ्य समस्या नै थियो कि थिएन भन्ने स्पष्ट भइएन। यसै कारण यसबारे खासै मतलब पनि गरिएन। तर, बुझ्दै आउँदा यो निकै संवेदनशील विषय र स्वास्थ्यको एउटा अभिन्न हिस्सा रहेछ।

विगतमा जीवनको एउटा कालखण्डमा निकै निराश थिएँ म। किशोरवयको सिमाना काट्दै गर्दा वर्तमानको असन्तुष्टि र भविष्यको अनिश्चितताले मन-मगजलाई हदै गहिरो दलदलमा जाकेको थियो। खुइय्य गर्दा पनि बीसको उन्नाइस नहुने गरी पिरो सासले छाती पोलिराख्थ्यो।

त्यो समय पटकपटक आत्महत्याको विचार आउँथ्यो। आफ्नै सोच देखेर डर लाग्थ्यो। तर, फेरि चरम उदासीले तान्दैतान्दै त्यही सोचको अँध्यारो ओढारतिर लैजान्थ्यो।

मभित्र चलेको त्यस्तो हुन्डरीबारे मेरा स्वजन र निकटस्थहरूलाई के पत्तो! यसै पनि हामीकहाँ घरपरिवार र समाजमा मानसिक स्वास्थ्य भन्ने कुरा पनि हुन्छ है भन्नेबारे हेक्का नै छैन। बाहिरी चोटपटक मात्र देख्ने आँखाहरूले अदृश्य घाउ र दुखाइबारे अनुमानसम्म गर्दैनन्। मभित्र पनि सायद मनोभाव बुझ्न नसक्ने परिवारकै दबाबका कारण मानसिक घाउ हुर्किंदै गएको थियो, जुन पारिवारिक उपेक्षाकै मल पाएर झन् पाक्दै थियो। हरेक मध्यम वर्गीय परिवारका युवाले कुनै न कुनै मोडमा यस्तो जलनसँग मुकाबिला गर्दा हुन्।

कसोकसो त्यो चरण पार गरेँ। कुन आँटले त्यो पीडाको बोझ उठाएर पन्छाउन सकें कुन्नि। बिस्तारै जिन्दगीको लय मिल्दै गयो। नमिले पनि मिले झैं मान्दै गयो मनोभावले, तब त भावनामा तातो छाल उठ्न छाड्दै गयो। त्यसपछिका दिनमा आफूले सकारात्मक चिन्तन गर्ने त छँदै छ, अरुलाई पनि हौसला र आडभरोसा दिँदै आइयो।

तर, चेतन मनले जतिसुकै सम्झाइ-बुझाइ गरेर पीर र बहको बहाव थामथुम पार्न तटबन्ध बाँधे पनि यदाकदा कमजोर मनोभावले गति छाडिहाल्छ, आफ्नो पारा देखाइहाल्छ। अनि त जिन्दगीको बाटोमा पाइलाहरू यस्सै लरखराए झैं भइदिन्छन्। टेकेको जमीन भास्सिए जस्तो, समाउने हाँगो भाँच्चिए जस्तो।

केही समययता त्यस्तै मानसिक अवतरणमा खसे जस्तो भएँ। उस्तै पिरो सास। टाउकोमा उस्तै तातोपन। उस्तै बेचैनी। वर्तमानका यावत् कुरामा बेपरवाह। कामकाज चौपट।

मान्छेको मन न हो, कहिलेकाहीँ तलवितल भइजान्छ भन्ने पनि लाग्न सक्छ। तर, आफ्नो मनको आरोह र अवरोह कतिसम्म माथि वा तल जाने गर्छ भन्ने नापो त आफैंलाई थाहा हुन्छ। त्यस हिसाबमा मलाई लागेको हो, म यतिसम्म मानसिक भुङ्ग्रोमा बाफिने, पग्लिने मान्छे त हैन। मैले चिनेको म त यतिसम्म कमजोर थिइनँ।

१० दिन लामो विपश्यना ध्यान शिविरमा नियमपूर्वक साधना पूरा गरेर आएको मान्छे एउटा तहसम्म त मनलाई वशमा राख्दै आएको थिएँ। तर, यो के भयो, म त आफैंदेखि एकदम बाहिर भाग्दै छु। मगजले जे नगर्न भन्यो, मन त्यतैतिर लहसिन्छ। जे गर भनेर अह्रायो, फिटिक्कै टिप्दैन। घरिघरि अपरिचित गल्लीमा परिचयको भीख माग्न गइराख्छ।

जिन्दगीका विभिन्न घुम्तीमा अनेक खालका बेचैनी र उकुसमुकुसले घेरे। यस पटकको उकुसमुकुस तीभन्दा बेग्लै भए।

केही वर्षयता म लेख्न र सोच्न नसक्नुको अर्कै उकुसमुकुसमा थिएँ। बाँचे पनि सास थुनिए जस्तो भएको थियो। जिन्दगीले उमेर त निलिरहेको थियो, स्वाद हराएको थियो। मानौं, उड्ने आकाश उपहार दिएर त्यसको बदलामा कसैले मेरो पखेटा काटेर लगेको होस्।

लेखनमा अर्थात् जीवनमा फर्किन म जुनसुकै हदसम्म जान तयार थिएँ। जस्तोसुकै नैतिक पर्खाल नाघ्न खुट्टा उचाल्नेवाला थिएँ। खान नमिल्ने फल खान तयार थिएँ, गाँस्न नमिल्ने नातामा हात बढाउन व्यग्र थिएँ। अपरिचित अनुहारमा प्रेमिल परिभाषा कोर्न पनि मेरो लागि सङ्कोचको कुरा थिएन। लेख्नु मेरो लागि मर्दामर्दैको प्राणलाई एक घुट्को अमृत झैं थियो।

त्यस्तै एउटा अनुहार भेटेर मेरो आँखामा सपनाको चमक चढ्न थालेको थियो। पाइलामा फूर्ति र हृदयमा मुस्कान फर्केको थियो। मरेका रहर र मूर्च्छित ऊर्जा चलायमान हुन थालेका थिए। हराएका शब्द बटुलेर अर्थको खोजी गर्दै थिएँ।

त्यो अनुहारबाट अपेक्षित मुस्कान नपाए पनि त्यहीँबाट सबथोक पाए झैं आफ्नो ओठमा हाँसो पोत्ने प्रयासमा थिएँ। त्यही बलजफ्ती बटुलेको धारले आफ्नो मन-मगजका खिया झार्दै थिएँ।

तर, बलपूर्वक ल्याएको र मागेको प्रकाशले तपाईंको घर कति लामो समयसम्म उज्यालो रहन सक्छ र? उज्यालोमा आत्मनिर्भर नहुँदासम्म सापटी बत्ती वा कता-कताबाट चुहिएर आउने भ्रमको प्रकाशमा बामे त सरिन्छ, जसमा गति हुँदैन। चुहिएर आउने प्रकाश देखेर मैले उज्यालो पाएँ भन्ने भ्रम हुन सक्छ, तर त्यो ज्योति आफ्नो हुँदैन। त्यो साथ, त्यो भर, त्यो काँध कदापि आफ्नो हुँदैन। एक चुट्कीमा सारा टेको भाँच्चिन्छ।

मैले पाएको उज्यालो र टेको पनि भ्रम रहेछ। निभ्यो, भाँच्चियो।

मान्छेको जीवन पनि ट्रान्जिट त रहेछ, जीवनयात्रामा भेटिने बटुवा क्षणभर टहलिने र हठात् गुम हुने। आफू ट्रान्जिट बनिरहेको पत्तो हुन्थ्यो भने सायद मान्छेले आफूलाई त्यस्तै हलुका रूपमा प्रस्तुत हुन तालीम दिन्थ्यो होला, जस्तोसुकै सम्भावित मोडलाई स्वाभाविक रूपमा लिन मानसिक रूपमा तयार पार्थ्यो होला। तर, जीवनयात्रामा त्यस्तो जोरजाम र बन्दोबस्त गर्ने समय कहाँ पाइन्छ र! यो यात्रा त तत्काल अगाडि जे आइपर्छ, नाङ्गै पैताला रापिला कोइलामा नाच्दै हिँड्नुपर्ने सर्कस हो।

मैले पनि पछिल्लो समय यही कोइला-नृत्यमा भाग लिनुपर्‍यो।

आँखामा घरिघरि डबडब बादल खेलिरहे। टाउको र सास एकतमास पिरो गरी पोलिरहे। राति सुत्न त सुतेँ, तर निद्रा नपुगेर आँखा भारी र मन थकित भइरह्यो। काम गर्न त बस्थेँ, तर मन अधैर्य भएर छटपटिँदै कता कता पुगिरह्यो। दिमागको प्रेसरले कति छलाङ लगायो कति!

अहो, मैले आफूभित्र अर्कै म झेल्नुपर्‍यो। मैले पहिलेको म गुमाएँ। त्यो शान्तपन, त्यो सकारात्मकता कसैका कारण बिदा गरिदिएँ। आफ्नो मन कसैको हातमा खेलौनासरि सुम्पिएँ। भावनालाई नै सबथोक मानेँ, जसले हदैसम्म कमजोर पारेर छाडिदियो। एक किसिमको अँध्यारो, अन्योल, निराशा र शून्यताले छोप्यो। जिन्दगी नै शिथिल बनिदियो।

मानसिक शान्ति वा अशान्तिको निश्चित आयु पक्कै हुन्छ। शान्तिमा रहँदासम्म अशान्तिको अस्तित्व छ भनेर अनुमानसम्म गरिन्न, तर अशान्तिको रापले पिल्स्याएपछि शान्तिको प्रतीक्षा  गरिहालिन्छ। यो अपेक्षाले भन्छ, अशान्तिको समय पनि पक्कै बितिजानेछ। भन्छन् नि, समय नै घाउ समय नै औषधि।

तपाईंले समयलाई आफ्नो ठान्नुभयो। जीवनकै हिस्सा बनाउनुभयो। तर, समयले तपाईंलाई आफ्नो नठान्न सक्छ, पाउँछ। उसले तपाईंलाई केही पनि नठान्न, नगन्न सक्छ।

तपाईं समयप्रति समर्पित हुनुभयो। ऊतिर बेहिसाब बग्नुभयो। तर, समयले हरेक कुरा नाप-जोख गरेर व्यवहार गर्‍यो। तपाईंको बेहिसाब बगाइ सायद समयलाई झर्को र बोझिलो लाग्यो। उसले तपाईंलाई कुल्चेर पुल बनायो। यो जमानालाई समयले ठीक पक्रियो, तपाईं बढ्तै भावुक हुनुभयो, अनावश्यक गम्भीर बन्नुभयो। समय कति अगाडि लम्किसक्यो, तपाईं उही बासी कुरामा अल्झिँदै आफ्नो मन भतभत पोलेर सेकुवा बनाइरहनुभयो।

तपाईंले समयलाई जसरी मनभरिको प्रेमिल साथ दिनुभयो, बदलामा त्यस्तै अपेक्षा गर्नुभयो। तर, दोष समयको हैन, तपाईंको अपेक्षाको हो। तपाईंलाई समयको हरेक व्यवहार रहस्यमय, छलयुक्त लाग्यो। तर, समस्या समयको व्यवहारमा हैन, तपाईंको शङ्कामा छ। तपाईं एकोहोरो उसमा केन्द्रित हुनुभयो, उसैमा खुशी देख्नुभयो। उसले तपाईंमा केही पनि देखेन, खासमा तपाईंलाई हेर्दै हेरेन। समस्या उसले नहेर्नुमा थिएन, तपाईंको नालायकीमा थियो। कसैले नहेर्दा ‘ओइ, मलाई पनि हेर न’ भन्ने लाजमर्दो आग्रह गर्ने कुरा पनि भएन। भीखले आत्मनिर्भरता दिने हैन क्यार।

तपाईंले समयलाई जति महत्त्व दिनुभयो, उसबाट उत्तिकै महत्त्व पाउने आश गर्नुभयो। जिन्दगीलाई लेनदेनको गणित बनाएर तपाईंले नै भुल गर्नुभयो।

तपाईंले आफूलाई मूल्यहीन ठान्ने समयलाई आइन्दा फर्केर नहेर्ने निधो त गर्नुभयो। तर, त्यसको पालना गर्न सक्नुभएन। घरिघरि अतीततिर फर्केर आफ्नै पीडाको आयतन बढाइरहनुभयो। मनको तुष्टिका लागि समयसँग सम्बन्धित कुरा सुटुक्क बारम्बार हेर्नुभयो, तर उल्टै आफूलाई दुखाइरहनुभयो।

तपाईंलाई आधा-अपुरो यात्रा चित्त बुझेन। समयलाई अपूरो कुरो नै रोमाञ्चक बनिदियो। अब तपाईंले समयलाई त्यो रोमाञ्चमा रमाउन दिएर आफूमा केन्द्रित हुँदा हुन्न? समयको अभिनय निश्चित अवधिको थियो, अब पर्दा खसिसक्यो भनेर मन बाँध्न सक्नुहुन्न? अहो ! यो पीडादायी यात्रा सम्झिनु पनि कति दु:खद छ, फेरि फेरि त्यही समयको स्मरण गरेर आफ्नो आलो घाउमा लात नहान्दा हुँदैन?

समय र तपाईंको कथा नै मेरो पछिल्लो कथा हो। यही कथाभित्रका घटनाले मेरो शान्ति बिथोलिदियो। आफ्नो शान्ति बिथोल्ने, मन भत्काउने अधिकार जोकसैलाई दिन हुन्न भनेर सम्झाउँदै छु।

यति सम्झाउने सफलता पाए जीवनमा शान्ति फर्केला। त्यो शान्तिलाई अबका दिनमा एक्लै उभिन र हिँड्न ऊर्जा बनाइरहनेछु। कारण, यस पटक भर्खरै भोगेको बेचैनी, अत्यास र एक किसिमको कहालीले मानसिक स्वास्थ्य कति महत्त्वपूर्ण रहेछ भनेर यसको रक्षा गर्न पाठ पढाएको छ।

यो र यस्तै मानसिक चोट कसैले भोग्नु नपरोस्।

September 7, 2024

गीतको कथा- 'म मरेको पल...' (वीरेन्द्र राई)

वीरेन्द्र राई
गीतकार वीरेन्द्र राईले सात सयभन्दा बढी गीत लेखिसकेका छन्। सयौं गीतमध्ये एउटा उनको मनको सबैभन्दा नजिक छ, जसले उनलाई २६ वर्षयता बेलाबेला झस्काइरहन्छ। मुटु असह्य हुने गरी रेटिरहन्छ। खोटाङबाट काठमाडौं आएर राईले गीत–संगीतमा राम्रो नाम कमाए। घर–गृहस्थीमा आफ्नै संसार सृष्टि गरेर अघि बढे। तर, एक समयमा पत्रमित्र साथी हुँदै प्रेमिका बनेकी पात्रले उनलाई उही तरुनो बेलामा पुर्‍याइदिइन्। बैंसमा प्रेमको भुङ्ग्रोमा परेर छटपटाएका गीतकार राईले सफल गीत र असफल प्रेमको दुःखान्त किस्सा यसरी सुनाएः

सानो छँदा रेडियो नै सञ्चारको एकमात्र साधन थियो। रेडियो नेपालबाट गीतहरू सुन्ने क्रममा आफू पनि यस्तै गाउन पाए कस्तो हुन्थ्यो भन्ने रहर पलाउँथ्यो। त्यसबेला लेखक–कवि बन्छु भन्ने एक मनमा पनि थिएन।

२०४० सालमा एलएलसी परीक्षा दिएर उच्च शिक्षा पढ्न खोटाङबाट काठमाडौं आएँ। गायक बन्छु भन्ने सोच मनभरि थियो। गायक बन्नलाई सुरतालको अनेक ज्ञान चाहिने रहेछ भन्ने बुझेपछि यो बाटो मेरो होइन भन्ने लाग्यो । बरु कवि–लेखकहरूसँग सरसंगति बढ्दै जाँदा गीत र कविता लेख्न थालें।

‘म मरेको पल’ करिब २७ वर्षअघि लेखेको गीत हो । यसको चर्चा आजसम्म पनि भइरहँदा गीतकारको मन गदगद हुन्छ । यो गीत लेखिनुमा कारुणिक विगत छ।

२०४० सालताका साथीभाइसँग सम्पर्क गर्ने माध्यम चिठीपत्र नै थियो । मोबाइल फोन त परको कुरा, ल्यान्डलाइन फोन पनि सहज भइसकेको थिएन । त्यो बेला पत्रमित्रताकै जमाना थियो।

म पूर्व–पश्चिमका नयाँ–नयाँ साथीसँग पत्रमित्रता निकै गर्थें । गोरखापत्र संस्थानबाट छापिने युवामञ्च पत्रिकामा पत्रमित्र बन्नका लागि शिक्षा, उमेर, रुचि र सम्पर्क ठेगानासहित फोटोहरूको सूची नै छापिएर आउँथ्यो ।

त्यसै क्रममा पत्रमित्र स्तम्भमा चितवन टाँडी ठेगाना भएकी अस्मिता थापा (क्षेत्री) नाम गरेकी केटीलाई देखेँ । उनको रुचि पनि साहित्य र संगीत देखेपछि विचार मिल्ने देखेँ । चिठी पठाएँ।

चिठी आदानप्रदान बढ्दै गएर हामी राम्रो पत्रमित्र भयौं। चिठी आदानप्रदानको क्रम दुई–तीन वर्ष चल्यो । म त्यसबेला ल क्याम्पसमा पढ्दै थिएँ । उनी चितवनमा आईएड सकेर बीएड पढ्न राजधानीमै आइन् । हाम्रो भेट भयो । झन् घनिष्ट साथी भयौं।

त्यतिबेला म वानेश्वरमा दिदीको घरमा बस्थें। अस्मिता चाहिँ बागबजारमा डेरा लिएर बस्थिन् । हाम्रो घनिष्टता बढेसँगै उनी बेलाबेला वानेश्वर आउन थालिन् । मेरो दिदीसँग पनि उनको राम्रो घुलमिल भयो । बिस्तारै परिवारकै सदस्य जस्तो भइन् । कुनैबेला त हप्ता–दस दिनसम्म पनि हाम्रैमा बस्थिन्।

दिदी र हाम्रै छिमेकमा बस्ने दिदीकी मितिनीले उनलाई हाम्रो भाइसँग विवाह गर्नुपर्छ है भनेर जिस्क्याउँदा रहेछन् । अस्मिता लजाउँदै त्यसै मक्ख पर्दिरहिछन् । म त आफ्नै तालमा बहकिएर हिँड्ने अल्लारे पाराको थिएँ । उनलाई विशुद्ध साथी मात्र ठानेकाले त्यस्तो केही सोचेकै थिइनँ । दिदीहरूको कारण हाम्रो चर्चा झ्यांगिन थालेपछि एकदिन मैले उनलाई सोधें, ‘के हो कुरा, हामी साँच्चै विवाह गर्न सक्छौं त ?’ उनले घरमा सोध्नुपर्छ भन्ने जवाफ दिइन्।

सम्बन्धबारे आपसमा कुरा भएपछि हामी डेटिङ जान थाल्यौं । तर, अचेलको जस्तो दुईजना मात्र होइन । डेटिङ जाँदा कहिले उनको साथी, कहिले मेरा साथीहरू साथै हुन्थे।

२०४३–४४ सालतिर अन्तरजातीय विवाहका लागि हाम्रो समाज आजको जस्तो उदार थिएन । उनी फेरि सेनाको कर्णेलकी छोरी रहिछन् । पछि उनी चितवन (घर) गइन् । उनले विवाहका लागि घरबाट अनुमति मिलेन भन्ने खबर पठाइन् । अनि मलाई लाग्यो, यो त खासमा प्रेम नै होइन रहेछ।

सुरुमा साथी मात्र सम्झेर त्यति ख्याल नगर्दा मलाई वास्तै थिएन । तर, हामीबीच बिहेबारीसम्मको कुरा हुन थालेपछि म त प्रेम मानेर एकोहोरिन थालिसकेको थिएँ । भर्खर २४ वर्षको पट्ठो थिएँ । दुखेको मन पोख्दै मैले उनलाई अन्तिम चिठी लेखेँ–

प्रिय अस्मिता,
अशेष प्यार ।
म मरेको पल तिमी डोली चढ्नू
हर्षाश्रु झार्दै रोए जस्तो गर्नू, दुःखे जस्तो गर्नू ।

– तिम्रो वीरेन ।

चिठीको जवाफ आएन । सम्बन्धको धागो त्यत्तिकै चुँडियो । चिठीका ती पंक्तिलाई पछि मैले गीतको रूपमा लेखेँ । गीत ०४५/४६ सालतिर सुरेश अधिकारीको स्वर र संगीतमा रेकर्ड भएर रेडियोमा बज्न थाल्यो । रेडियो नेपालको फर्मायशी कार्यक्रममा निकै बजिरहन्थ्यो।

अकस्मात् एक दिन नेपाल टेलिभिजनमा अस्मिताले बागबजारमा झुन्डिएर आत्महत्या गरेको खबर आयो । ०४७ सालको घटना हो यो । मैले गीतमा आफू मर्ने कुरा लेखेको थिएँ, उनको मृत्युको खबर सुन्नुपर्‍यो  ! आत्महत्या गर्दा उनले आफ्नो लुगाभित्र मैले लेखेका चिठी, मसँग खिचाएका फोटोहरू राखेको भेटिएछ । उनले ‘यो जुनीमा त तिम्रो हुन सकिनँ, अर्को जुनीमा हुने वाचाका साथ बिदा’ भन्ने आशयसहितको आफ्नो अन्तिम चिठी पनि छाडेकी रहिछन्।

रेडियोमा ‘म मरेको पल’ गीत बज्ने क्रममा उनले पनि सुनेकी रहिछन् । गीत सुनेर व्यग्र भए पनि परिवार नमानेकाले फर्किएर आउने हिम्मत गर्न नसकेको र आफू अरु कसैको हुन नसक्ने देखेपछि आत्महत्या गरेको कुरा पनि उनले चिठीमा लेखेकी थिइन्।

खासमा उनी पनि मलाई अति नै प्रेम गर्थिन् । तर, आफ्नो परिवार र समाजसँग जुध्न सकिनन् । बीचमा उनले घर–परिवारमा के–कस्तो अवस्थाको सामना गर्नुपर्‍यो, फोन सम्पर्कको माध्यम नभएकाले मैले बुझ्न पनि पाइनँ।

उनको मृत्युपछि निकै विरही भएर काठमाडौंका सडकहरूमा भौंतारिएँ । उनी नमरेकी भए हाम्रो विवाह हुन पनि सक्थ्यो होला, समयको लेखा न हो । मैले लेखेका सयौं गीतका पाठक र श्रोता बन्ने थिइन् । तर, केटीहरूप्रतिको मेरो उदासीनताका कारण मैले समयमै उनको प्रेम चिन्न सकिनँ र त्यसका लागि आवश्यक जोड गरिनँ।

‘लभ ट्राजेडी’ को पराकाष्ठा हो यो गीत । रेडियो नेपालको गीतिकथामा हरिभक्त कटुवालले लेखेको ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ पछि यो गीत बढी बज्थ्यो । यसमा गर्व लाग्छ । रेकर्ड भएका मेरा चार सयजति गीतमा यही गीतले मलाई बढी चिनाएको छ।

०५१ सालमा मैले भोजपुरकी तारा राईसँग बिहे गरेँ । उनी कवि/गीतकार भूपाल राईकी दिदीकी छोरी हुन् । भोजपुरमा जाँदा उनीमाथि आँखा परेपछि बिहेको कुरो चल्यो । पछि तारासँग मागी बिहे नै भयो । बिहेपछि श्रीमतीलाई मेरो विगतको प्रेम भन्दै अस्मिताको कुरा सुनाएको थिएँ । श्रीमतीसँग आफ्नो विगतको कुरामा पारदर्शी हुनुपर्छ भन्ने सोचेर सबै सुनाएँ।

श्रीमतीलाई भने यो कुराले नराम्रो लागेछ । उनी सामान्य ठाकठुक परेको बेला अझै पनि ‘आखिरमा म त कान्छी पो रै’छु’ भनेर गुनासो जस्तो गर्छिन् । म भने विगतको प्रेम र दुःखद घटना सम्झेर भक्कानिन्छु।

 -----------------
गीत: म मरेको पल

म मरेको पल तिमी डोली चढ्नू
हर्षाश्रु झार्दै रोए जस्तो गर्नू, दुःखे जस्तो गर्नू।

विश्वासको मन्दिर भत्काइदिन सक्थ्यौ, ढलाइदिन सक्छौ
आश्वासनको वाचा बदलिदिन सक्थ्यौ, भुलाइदिन सक्छौ
निरस यो सपना रित्तो छ जीवन
बदनामी पिँजडा कैदी छ यो मन
म मरेको पल … ।

व्यथालाई समेटी विस्मृतिमा भुल्छु, उदासीमा डुब्छु
रंगिएको सिउँदो भ्रान्तिभित्रै रम्छु, तरंगमा झुम्छु
सुकेको पलाँसलाई वसन्तले के भो
यो पागल तिमीले नचिने’नि के भो

म मरेको पल … ।

रचना : वीरेन्द्र राई
स्वर/संगीत : सुरेश अधिकारी

October 4, 2023

‘रिटायर्ड’ मुखियाजी


भित्तामा लस्करै सजिएका छन् चित्रहरू। एउटा क्यानभासमा भूकम्पले भत्किएको अवशेषमुनि एक अधबैंसे छन्, खुइय्य सुस्केरा हाल्दै टुक्रुक्क बसेका। न ओढ्ने छानो छ, न टेक्ने जमिन। न त छ समाउने हाँगो नै। भित्ताको अर्को छेउमा केही बालकहरू खुब ध्याउन्नले गुच्चा खेलिरहेका छन्। गुच्चा झैं गुड्दै आउने उनीहरूका लागि सिङ्गै पृथ्वी छ, भोलिको चमक बोकेको।

अब त सबथोक सकियो भन्दै गरेको संसारमा आशाको रहरलाग्दो लहरा छ।

August 26, 2023

दूरी


अचेल हेरिन्न पल्लो घरको झ्याल
खोलिन्न संवादको आत्मीय पर्दा
मौन एकदम मौन छन् चौतारो र फल्चा

बोल्दै नबोलिने हैन
बोलिन्छ- ‘देखभेट नै हुन छाड्यो त !’
देखभेट हुँदै नहुने पनि हैन
हुन्छ जम्काभेटहरूमा
तर भेटहरू साँचो अर्थमा भेट्दैनन्

एउटै घर
एउटै कोठा
एउटै बिछ्यौना
यत्रतत्र उभिन्छन् पर्खालहरू
चिमोट्छन् एक्लोपनले

प्रियजनभित्र भेटिन्न
प्रिय मन

खासमा डिजिटल भित्तामा पो छ सबथोक
छामिन्छ त्यहीँ-
अर्को समाज
अर्को शहर
अर्कै गाउँ
अर्कै महानगर
अर्कै देश
पल्लो ग्रह
ब्रह्माण्ड

पग्लिन्छ त्यहीँ नौनीभन्दा कमलो भावना
भेटिन्छ कतै नभेटिएको हार्दिकता
अदृश्य भुलभुलैयामा हुन्छ गहिरो लगाव
भ्रमले पाउँछ सम्पूर्ण विश्वास

छेउकै र साथैका कुरा छुट्दै जाँदै छन् …

धेरै के भन्नु !
हामीले पनि त
एक-अर्काको मुहार राम्ररी नहेरेको
जुग भएछ है !

September 6, 2019

गजल : बाँकीले एक थान चिहान बनाउँछन्


सक्नेले आफ्नो पहिचान बनाउँछन्
बाँकीले एक थान चिहान बनाउँछन् ।

थोरै मात्र हुन्छन् दुनियाँमा जसले,
साहसलाई सदा जवान बनाउँछन् ।