"गजलमा भावका भक्कानोहरू पाउरोटीमा जाम मिले जस्तै मिल्छन् । वेदनाका पिल्लिएका घाउ मोहीबाट सर्लक्क नौनी निस्किए जस्तै गजलमा अँटाउँछन् । यसैले म गजल लेख्छु सायद, गजलमा पनि विशेषत: दु:खका कथाहरू खार्छु र व्यथित मनहरू त्यसमा आफ्नो व्यथालाई समभावमा राखेर हुरुक्क हुन्जेल रमाउँछन्।

तपाईं मलाई निराशावादीको आरोप लगाउन सक्नुहुन्छ । तर म व्यथालाई जीवनको अटुट पाटोको रूपमा हेर्छु, व्यवहार गर्छु र त्यसलाई न्याय दिँदै गजलमा सजाउँछु । भन्नुस् त, सिर्जनामा जीवनसंसारका दु:खद् पाटोलाई ठाउँ नदिएर त्यसलाई तिरस्कार गर्दा के त्यसमा पूर्ण जीवन सँगालेको ठहर्छ त ? पक्कै पनि ठहर्दैन । दु:खका गजल लेख्दा मलाई किन यस्तो लाग्छ, सजिलोपन अनुभव हुन्छ, वर्षौँ खियाले कटकटिएर बसेको मरूभूमिको कुनै धारा अनुपम चमत्कार भएर खुले जस्तै म त्यस्ता विरही गजलमा खुल्छु।"

अलमलमा नपर्नुस् । यो कुनै अन्तर्वार्ताको साभार सामग्री सँगालेर ल्याएको होइन । यो त मेरो आफ्नै भनाइ हो । र अहिलेको लागि यो खरर पस्किएर तुरुन्ताको तुरुन्तै खर्च गर्न पनि मैले यो तयार पारेको होइन, बुढेसकालमा गजलबारे कतै बोल्नुपरेमा 'रेडिमेड' अन्तर्वार्ता बनाइराखेको :)

केही दिनयता मैले आफ्नो सिर्जनयात्रा र सिर्जनधारालाई केलाई हेरेको- तिनमा अधिकांश त वेदनामय र कारूणिक भाव मात्र पलेंटी कसेर बसेका रहेछन् । सबैले आफ्नो सिर्जनामा यस्तो विश्‍लेषण गरिरहेका हुँदा हुन् । मैले भने हाँसेको, भेटिएको, रमाएको, खुसीले पागल भएको रचनाशिल्पभन्दा छुटेको, विरक्तिएको, दुखेको कुरा नै बढी फलाकेछु । तर दु:खको अबिव्यक्तिलाई निराशावाद र पतनोन्मूख रूपमा जान दिए जस्तो लाग्दैन आफ्ना ती शब्दहरू केलाउँदा । यति भने हो, वादको फुर्को र भोकमा कहिल्यै कतै कुदिएन, कहिल्यै चाख राखिएन । प्रगतिवादलाई नअँगाले पनि साहित्य अप्रगतिशील हुँदैन । मार्क्सवादी सौन्दर्यशास्त्रको दुना-टपरी नगाँसे पनि साहित्य कुरूप हुँदैन । यदि त्यो साहित्य नै हो भने त्यो प्रगतिशील नै हुन्छ र सुधारोन्मुख र सहित (अर्थात् हित गर्ने) भावनाकै हुन्छ । बरू वादको बर्को ओढेको सिर्जना (?) ले नै समग्र साहित्यिक गतिधारामै हरक उमार्ने गर्मी उत्पन्न गर्ने खतरा हुन्छ । कुनै समूह र गुटको पक्षपोषण गर्ने सिर्जनाले कसरी पो गरोस् जनको मनमा बास ? र पनि तिनै स्वघोषित रूपमा कहलिन्छन्- जनपक्षीय साहित्य।

वाद बुझ्ने झैझमेलातिर कहिल्यै नलागे पनि विशिष्‍ट साहित्यिक कृति पढ्न छुटाएको छैन, सबै छिचोल्न नसक्नु (सम्भव पनि कसरी !) अर्कै कुरा हो । वाद अँगाल्नेहरूले इतर वादीहरू र स्वतन्त्र विचारधारामा रम्नेहरूप्रति गर्ने निषेधको व्यवहार र सौतेनीप्रथा आफैंमा स्थापित वाद बने जस्तो लाग्छ । त्यसकै बजार छ । नेपाली साहित्य सामूहिक र संस्थागत रूपमा अघि बढ्न नसक्नुको कारण के हो ? भन्ने प्रश्नको बल्छी फ्याँक्दा त्यसमा अल्झिएर आउने सबैभन्दा ठूलो जवाफी माछो हुन्छ- 'गुटबन्दीको खेल' । सामूहिकतामा पो तागत हुन्छ, विचार-अन्तक्रियाबाट पाकेको ठोस विचार हुन्छ र कार्यगत परिणाम पनि असरदार हुन सक्ला । तर हामीकहाँ त एउटै संस्थामा मियोमा बाँधिएकाहरू पनि चतुर्मुखी ब्रम्हाजीलाई बिर्साउने भाँतीमा मुख फालाफाल गर्छन् । यस्तोमा कुनै अभियान, सोच कसरी डेग चलोस् र स्तरवृद्धिमा नेपाली भाषा-साहित्यले भारी कस्न पाओस्!

जुनसुकै वाद बुझे राम्रो हो, अँगाल्नु स्वेच्छाको कुरा हो । तर अन्धो भएर निश्‍चित वादकै चप्पल लगाएर सिङ्गो पृथ्वी परिक्रमा गर्न तम्सिनु पागलपन सिवाय केही होइन । त्यसरी वाद अँगाल्नु वादको जीत होइन, विवादको जड हुन सक्ला । वाद नअँगाल्नुलाई हामीकहाँ विचारशून्यता र र जगविहीनताको संज्ञा दिइन्छ । तर वाद नै यहाँ वादप्रेमीहरूको निकृष्‍टताको प्रमाणपत्र देखिएको छ, (सबैको हकमा यो कुरा लागू नहोला ।), उनीहरू आफ्नो दयनीयता स्वयम् प्रदर्शन गर्छन् । प्रगतिशील साहित्यको वकालत गर्छौँ भन्नेहरूले जनपक्षीय साहित्यको गाइने गीत भट्याइरहँदा मेरा यिनै कानले सुनेका छन् कुनै समयमा तिनका सिर्जनाका राग- "ज्ञानेन्द्र, नारायणहिटीबाट जाऊ ….।" कस्तो सिर्जना हो यो ??? तीन पटक सोच्दा पनि टाउको मात्र घुम्छ।

यति गफको पुल हालेपछि निराशा र हँसमुख मेरो सिर्जनाधारातिर मोडिन्छु फेरि । मेरो ठम्याइमा विरही-वैरागी-व्यथित लेखनी बोकेको म केही वर्षअघिको आफूलाई जोख्दै दुवै धारको एउटा-एउटा गजलमाला उन्न लाग्दैछु यहाँ । जहाँ आफ्नै हेराइमा अपत्यारिलो रोमान्टिकपना पनि छ, र भइरहेका विलौना पनि छँदै छन् । र्‍याकमा पत्रपत्रिकाको चाङमा पिठिउँ चाउरी पारेर बसेको गाता पनि गायब भइसकेको कपीका पानाहरू पल्टाउँछु र भन्छु आफैँलाई- यस्तो पनि लेख्यौ है महाशय?

अल्झिई‍-अल्झिई कायल भएको नसकिने लीला दुई गजलमा:



१. अल्झियो -------------------

विश्‍वास अनि घातमा जिन्दगी अल्झियो
फेरि कसको हातमा जिन्दगी अल्झियो ।

असिनपसिन हुँदै दिनमा म भाग्थें,
आखिर घुम्दै रातमा जिन्दगी अल्झियो ।

फूलको रङ्गीन कथा एकैछिन रोक,
हेर्नेलाई त पातमा जिन्दगी अल्झियो ।

बाहिर मुहार हेरें केही खास छैन,
थाप्यौ पासो आँतमा जिन्दगी अल्झियो ।

जसले तार्‍यो जहाज पुग्यो ऊ किनारा,
कोहीको बातैबातमा जिन्दगी अल्झियो।


२. नसकिने भो -------------------

आँखाभित्र पस्नेसँग नसकिने भो
मुटुसम्मै डस्नेसँग नसकिने भो !

झ्याल-ढोका चुकुल मार्नु व्यर्थै लाग्यो,
स्वप्नभरि खस्नेसँग नसकिने भो !

न्यानो पिर्का कसैलाई भएछु म त,
ढसमस्स बस्नेसँग नसकिने भो !

जोगिएर आफू सक्छु कहिलेसम्म,
अँगालोमा कस्नेसँग नसकिने भो !

तातो-रातो मुहार त्यो यस्तो प्यारो छ,
रङरस घस्नेसँग नसकिने भो !

फसाएको दोष लौ न बोक्नु कसरी,
आफैं आई फस्नेसँग नसकिने भो!