April 27, 2009

ढकमक्क काठमाडौँ

देशभित्रको कचिङ्गल देखेर मन एकतमास धुम्मिन्छ, विरक्तिले छोप्छ । यो कचिङ्गलको बारेमा त केही लेख्‍नै मन लागेन, हार खाए जस्तो भइयो । कुकुरको पुच्छर बरू सोझिएला नेपाली निधारको भाग्यमा ऐंठन उमार्नेहरूको कसैगरी होश-चेत खुलेन । कर्णधार युवा पुस्ता भन्छन्, जुरुकजुरुक उचाल्छन्, आफ्नो यो गति छ- जिल्लिन्छु । सोच्यो भने कस्तो हुनुपर्ने र कस्तो भएँ भन्ने दोसाँधमा भक्कानो छुट्न बेर लाग्दैन । एउटा पौडीबाज रहरबश पोखरीमा फाल हालेर पौडीमा रम्न थाले पनि या त हुतिहारापन साबित गर्दै बाध्यतावश मृत्युसामु आत्मसमर्पण गर्न डुबुल्किए पनि अन्तत: पोखरीबाट माथि निस्किनुपरे-उत्रिनुपरे झैँ जति छटपटायो आफ्नै ज्यान र मनलाई सास्ती न हो भन्ने सम्झेर जस्तोसुके दिक्कताबाट कोल्टे फेर्न करै लाग्छ । आखिर सामान्य दैनिकीमा फर्किएर नित्य जीवनगाडी हाँक्नैपर्छ ।

घाम उदाउँछ र उज्यालो हुन्छ, घाम डुब्छ र अँध्यारो छाउँछ । काठमाडौँको सूर्य पनि त्यस्तै लतमा मग्न छ । काठमाडौको रापिलो तापक्रमसँगै राजनीतिको सरसराहट राष्‍ट्रिय प्रसारणमा धुवाँदार बनिरहेको बेला म भने सुन्दरताको पाटोमा चित्त बुझाउन लाग्दैछु । नीला झुप्पादार ज्याराकान्डा र गुलाफी सुर्यास्तमा यतिखेरको मुलुकको व्यथा र छटपटी कुन रूपमा प्रतिविम्बित हुन्छ होला । मैले त्यो अन्दाज गरिनँ । र पनि धेरै शुभ-अशुभ कुरा फुलिरहेको काठमाडौँमा मेरा हेराइमा परेका केही प्राकृतिक झाँकीहरू यहाँ फुकाउँदैछु । यी तस्बिरहरू दरबारमार्ग र रत्‍नपार्क क्षेत्रबाट खिचिएका हुन् ।














April 21, 2009

गजल, मञ्च र गायन

प्रिल १८ शनिबार, मध्यदिनको महानगर । पोखरेली गजलकार प्रकट पगेनी 'शिव' आरोहण-गुरुकुलको हलमा आफ्नो पाँचौँ एकल गजल वाचन कार्यक्रमको लहरमा उकुसमुकुस दर्शक-घुइँचोमाझ घेरिएका थिए । उही ठाउँमा केही महिनाअघि "प्रणयमा प्रकट दाइ" को कार्यक्रमशृङ्खलामा श्रृङ्गारिक गजलहरू सुनाएर दर्शकलाई कतै लाजले पानीपानी बनाएका र कतै खिलखिलाहट भरेका गजलकार पछिल्लोचोटि "परिवेशमा प्रकट दाइ" कार्यक्रमशृङ्खलाअन्तर्गत आपसी मायाप्रेमका साथै देशप्रेम, जीवन-जगत् र समसामयिक विविध विषयका गजल वाचनमा पलेँटी कसेर हलमा आकर्षण बनेका थिए । गजलमा नेपालीपनको खोजी र पहिचान दिलाउन मुना-मदन र मालती-मङ्गलेको प्रसङ्ग उनिएका सेर पनि उनले सुनाए-

"कान बुच्चै छ मुनाको ल्हासामा सुन् छ कि मदन

अलिनो छ तरकारी भान्सामा भोटमा नुन् छ कि मदन ?

ओछ्याउने राडी छैन जाडोमा ओढ्ने पाखी छैन,

लेकको भेडीगोठमा कतै भेँडाको ऊन् छ कि मदन ?

कति खानु साग-सिस्नो आखिर धन त चाहिन्छ नै,

स्वस्थानीकी गोमा जस्तै मुनाको मन रुन्छ कि मदन ?

सपनामा भैँसी देख्‍नु राम्रो हुन्न भन्छन् सबै,

तिमीलाई बीच बाटोमा हैजाले छुन्छ कि मदन ?

जे होस् चाँडै फर्की आउनु आमा साह्रो बिरामी छन्,

भेल-बाढी पहिरोले बाटो थुन्छ कि मदन ?"

टिकट काटेर पार्क, साङ्गीतिक कन्सर्ट, दोहोरी साँझ र सिनेमाहल चहार्ने संस्कारमा हुर्किएका हामीलाई टिकटमा मुक्तक, टिकटमा कविता, टिकटमा गजल भन्ने प्रसङ्ग सुन्दा केही वर्षअघिसम्म एउटा 'जोक' वा पागल प्रलापसरह लाग्थ्यो । तर अब बिस्तारै साहित्य-कलाको जगेर्ना, मूल्यस्थापना तथा सामाजिक प्रसार तथा मान्यताबोधका लागि साहित्यिक कार्यक्रममा समेत टिकटको संस्कृति बसाल्नु हाम्रासामु आवश्यक औपचारिक एवम् व्यवस्थित कदम हुनआएको छ । पोखरेली साहित्यकारहरूले सुरु गरेको टिकटमा मुक्तक वाचन कार्यक्रमको सफलता र प्रभावले पछिल्लो एक-दुई वर्षयता मञ्चकेन्द्रित सशुल्क कविता तथा गजल वाचनको कार्यक्रमले गति लिएको छ ।

प्रकट दाइको वाचन कार्यक्रमको ब्रेकमा प्रकट दाइकै गजलरचना लिएर सङ्गीतकार सुरेश अधिकारीले आफ्नो सङ्गीतमा मीरा राणाको गलालाई ठीक पारेको भाका उनको अनुपस्थितिमा आफैँले गाएका थिए -

"जाडो मौसम आउँदै छ रे भन्ने सुनेकी छु

मैले मेरो हजुरलाई स्वीटर उनेकी छु ।

"

गजल गाउनुअघि सुरेशजीले गजलको सन्दर्भमा सादा भाषामा छोटो तर सटीक भनाइ राखेका थिए- "गजल छोटो हुन्छ तर ज्यादै खिपेर-गहिरिएर खँदिलो बनाएर लेख्‍नुपर्ने विधा हो । गजलकारहरूले निकै मिहिनेत गर्नुहुन्छ । निकै गहिरो अर्थ लुकेको हुन्छ एउटा गजलमा ।"

त्यसरी बखानिएको रूपमा हामीले गम्भीरतासाथ सोचिरहेका छौँ त आजका सबै गजलकारले ? लेखकले ? हाम्रो लेखाइ त्यस्तै अर्थप्रधान छन् त ? कि झाराटराइमा टाउकोको गन्ती देखाउने कोटिका छन् ? सोच्ने बेला यही उमेरको/लेखाइको युवावयमा हो, पछि त सोच्न सकिएला-नसकिएला वा सोच्ने पल नै नपाइएला कि ?

पछिल्लो पाँच-छ वर्षयता नेपाली लेखनमा गजल धेरै मात्रामा लेखिँदै आएको छ । परिमाण बढेसँगै त्यस सक्रियताको फिलिङ्गोमा रापिएर पाकेको राम्रो परिणाम पनि हामीले साहित्यिक ढुकुटीमा थाप्न पाएका छौँ । सर्जक-चापको परिपाकमा छानिएर सिउर भएका प्रतिभा पनि फुतुफुतु निस्किँदैछन् । गजल लेख्‍नेहरूले त रचनात्मक मादकताबाट भरपूर आनन्दलाभ गर्छन् नै, नलेख्‍नेहरूले पनि अरूहरूको अनुभूतिपरक अभिव्यक्तिमा समभाव राख्दै यसको मिठासबाट पक्कै मह चाखेका छौँ । त्यही भएर होला एक समयमा युवा कवि मोतीराम र उनको मण्डलीको गजल-सक्रियतापछि लामो समय विश्राम लिएर पुन: २०३५ सालमा शब्दशिल्पी ज्ञानुवाकरको जुर्मुराइबाट बिस्तारै चाल मारेको गजल-लेखनको मेलो नयाँ पुस्तामा निकै घना रूपले सरेको छ । फलत: डायरीको पानादेखि उठेर गजल आज वाचन र गायनको क्रममा मञ्चतिर उक्लिएको छ । यद्यपि गुनासो छ गजलगोहरूबीचमै- "गजलमा बाढी आयो, धेरै लेखिए गजल, जे पायो त्यही कुराको डङ्गुर लाग्न थाल्यो ।" तर बेकामी कुरा आफैँ थिग्रिएर पिँधमा हराउँछन् भन्ने सूत्रमा विश्‍वास गर्ने हो भने बढी भीड लागेर बढी लेख्दैमा केही बिग्रिँदैन । तर 'एक जनाले बिराउने शाखा पिराउने' भन्ने उखान चरितार्थ भएर एकाध नमुनाले गर्ने गडबडीले साहित्यको गरिमा र मूल्यबाट पाठकीय विश्‍वास नै उठ्ने खतरा पनि रहन्छ नै । साहित्यको अपमान भएको देख्‍न आज कतै लेन्स जडेर हेर्नुपर्दैन, साहित्यक्षेत्रभित्रै साहित्यिकहरूको अनुशासनहीन र मनमानी चलखेलमा हेरे पुग्छ । लेख्‍नेहरूले नै लेखाइलाई धराशायी तुल्याएका छन्, लेखन क्षेत्रको सुकुमारीपनमाथि बलात्कार गरेका छन् ।

हामी लेख्‍नेहरूले यी लेखाइहरूमा कतै कुनै प्रकाशन त कतै वाचनमा दुई-चार पाठक/स्रोता पाएरै गजलको तिर्सनामा चित्त बुझाउँदै आएका छौँ । दिमागको टोड्कामा सोचाइका बचेरासँग चुच्चा मिलाउँदै, मनको खोपमा भक्कानोका 'मकमक घुर्' जप्दै र सम्हाल्दै लेख्छौँ, लेखेका कुरा प्रस्तुतिको माध्यम उपलब्ध भएसम्म सार्वजनिक गर्न मन लाग्छ । नत्र त आफ्नै अन्तर्मुखी स्वभाव र स्वाभिमानी शिर 'भिलेन' भइदिएपछि प्रायश: गुटबन्दीको भीडमा आँखमिचौली खेल्न नसकेर/नजानेर/नरूचेर डायरीकै पानातिर आहाल बसाएर राख्छौँ हरफहरू । मौका मिल्दा कतै वाचन पनि गर्छौँ । अरू त गर्न पनि के नै सक्छौँ र ? तर गजलले स्वाभाविक रूपमा गायकी खोज्छ, सङ्गीतको सुर खोज्छ । साङ्गीतिक शङ्खबाटै गजलले सार्थक ध्वनि पाउँछ र जनमानससँग सरल एवम् सहजतापूर्वक मितेरी लाउँछ । कोरा शब्दमा रहेको गजल त अनकन्टार गुफामा गाडिएर बसेको खानी मात्र हो । त्यसलाई उत्खनन गरेर, नयाँ पहिचान, नयाँ सज्जा र थप अर्थ दिँदै पालिस लगाउने काम त सङ्गीतको सरगमले गर्छ । तर सीमित स्रोत-साधन र पहुँचको अभाव तथा गहिरो उत्सुकताको कमीले गर्दा नेपाली गजलले सङ्गीतको त्यस स्वाभाविक बाटोमा पाइला चाल्न अपेक्षाकृत सकेको छैन । अझै पनि प्रमुख साहित्यिक पत्रिकाहरूमा गजल गीत भनेर छापिन्छ बेलाबेलामा । आयातीत विधाको बिल्ला भिरिरहेछ लेखन क्षेत्रमा रहेका बौद्धिक वर्ग तर गैरगजलकारबाट ।

नेपाली गजलमा सङ्गीतको रौनक पसेको त दशकजति अवधि भइसकेको छ । भक्तराज आचार्य, शक्ति बल्लभले चिनिने गोरेटो कोरेको मान्नुपर्छ । तर सङ्गीतको मूलधारमा गजलले अझै प्रवेश र मान्यता पाउन खोइ केले छेकिराखेको छ । गीतजसरी नै गायनमा गजल छाउन नसक्नुको दोष गजल-सर्जक र सङ्गीत-सर्जक दुवैमा जान्छ नेपाली सन्दर्भमा । गजल-सर्जक केही मात्रामा आफ्नो सिर्जनाकर्ममा असचेत छन्, केही मात्रामा लेखनलाई साङ्गीतिक प्रवर्द्धन गर्नमा उत्साही र जागरुक छैनन् । उनीहरूमध्ये कतिपयमा साङ्गीतिक पाटोको प्रविधिगत कुराबारे जानकारी त छैन नै, दौडदूप र लागिमेली गर्ने कुरामा जाँगर छैन । सङ्गीतज्ञहरू नेपालमा उम्दा गजलकारै छैनन्, राम्रो गजल छैन भनेर गजलमा आफ्नो सिर्जनाशून्यलाई छोप्छन् । तर खासमा तिनमा अध्ययन र सोधखोजको कमी देखिन्छ । स्तरीय र गुनिला कुरालाई खुलेरै सम्मान दिने परिपाटी छैन । सङ्गीतबद्ध गजल उत्पादन भएर बाहिर आए पनि मसालेदार चुट्का गीतअघि गजलमाथि मिडियाहरूले गर्ने सौतेनी व्यवहार र उपयुक्त बजारको अभावका कारण पहिलो गाँसमै ढुङ्गा बिझेपछि अर्को गजल-सङ्गीत सिर्जनामा फर्केर नहेर्ने नयाँ पुस्ता पनि छ । आशलाग्दो सम्भावना बोकेका गायक शिव परियार यस्तै एक उदाहरण हुन् । आधुनिक सुगम सङ्गीतको लागि सुहाउँदो गला भएका उनी केही गजल गरेर पनि ताल नराम्रो देखेपछि लोक दोहोरी गीत गाउन समेत मोडिए ।

आज खासगरी गजल-सङ्गीतको सक्रियतापछि यतिका अवधिमा पनि यसमा लहर नदेखिनुको एउटा कारण गजलकार र सङ्गीतकर्मी दुवै वर्गको आ-आफ्नै अभिमान पनि हो कि भन्ने लाग्छ । गजलकार गजल लिएर बिन्तीपत्र बिसाए जस्तो म कहाँ आउला कि भन्ने सङ्गीतकर्मीहरू, उता म त लेख्‍ने पहिलो प्रारुपकर्ता पो त सङ्गीत गर्नेहरूले चासो दिए पो केही हुन्छ भनेर गुम्म पर्ने गजलकार । यस्तै कारणले नेपाली सङ्गीतमा गजल विधा बेलाबेलामा राम्रो छनक देखाए पनि मूल वहाबमा देखापर्न सकेको छैन । यस्तो अवस्थाले साहित्य र सङ्गीतको दह्रो सम्भावनालाई खुम्च्याएर राखिरहेको छ भन्दा अत्युक्ति हुँदैन । निकासको उपाय हो- आ-आफ्नो अहम् र सङ्कोचको माकुराजाल च्यातेर सङ्गीतकर्मी र गजलकार समन्वय र सहयात्राको कोठेबारीमा खेल्नैपर्छ । कारण, गजलको जीवन र भविष्‍य मञ्चमै छ, गायनमै हुन्छ ।




April 12, 2009

चैत २८ देखि चैत २८ : अविरल चमत्कार

न्तत: चैत २८ आयो र गयो पनि । गत वर्ष निर्वाचन भएको मितिले १ वर्षको बोझ हामीमाथि थोपरेर राष्‍ट्रिय राजनीतिको थिलथिलो आङलाई पाको बनाउँदै संविधान-यात्राले एउटा घुम्ती पार गर्‍यो । तर संविधानको छाँटकाँट केही देखिएको छैन । जिल्ला-जिल्ला दौडाहामा गई सभासद्‌हरूले सुझाव सङ्कलन गरेर थुपारेका जनअभिमतका कागजी चाङ कुन ओसमा थान्को लगाएका छन्, खबर छैन । संविधानको पन्ना जोरजाम गर्नभन्दा दैनिक एकसेएक चमत्कारिक बोली सार्वजनिक गरेर सनसनी छर्नमा जनप्रतिनिधिहरूले दायित्व निर्वाह गरिरहेका छन् । ठूलाठालु जनको यस्तै प्रवृत्ति बुझेर होला, हिन्दी भाषाबाट नेपालीमा बयान हुँदा दायित्व, कर्तव्य वा भूमिका निर्वाह गर्नु भनिनुपर्नेमा सोझै 'दायित्व निभाउनु' हुन गएको छ । कसैलाई आफ्नोबारे छिरिक्कै फरक मत उब्जाउने विरोधीहरूको हातखुट्टा ठुन्का पार्ने भयानक लत प्यारो छ । कसैलाई भने सार्वजनिक समारोहतिर भाषणकै खेती फापसिद्ध भइरहेको छ । आफूबाहेकका गुट, वर्ग र व्यक्तिलाई तल गिराउनैपर्ने, एकोहोरो मस्ती चाख्‍नैपर्ने र सर्वत्र लडीबुडी मच्चाउनैपर्ने हतारोमा हानथाप चल्नु फिल्मी ग्लामरसरहको नशा भएको छ । एउटा-एउटा कुरालाई सहारा लिएर चमत्कार गरिरहनुपर्ने मानौँ अभिशापमा छन् उनीहरू । बोलीदेखि गोलीसम्ममा अविरल चमत्कार गरिरहने धन्य हुन् हाम्रा महामानव ! शान्ति र सुव्यवस्था मुलुकको कुनै पनि हिस्सामा शेष देखिँदैन । अराजकतालाई अनुमोदन गर्नमा आधिकारिक मोर्चा नै बनेको देखिन्छ । नेपाल काङ्गुडी गाई भएको छ, जो गोरसको राम्रै असुल गरिएर छाडा छाडिएको छ ।

संविधानसभाको ऐतिहासिकताले देशलाई नुहाएपछि सुकिलोपन छाउँछ भन्ने तरङ्गले सबै नेपालीहरू फुलेल थिए । आखिर सबैसबै किसिमको प्रयोगशाला त देश भइ नै सकेको थियो । बाँकी एउटै काम- जनप्रतिनिधिको हातबाट संविधान लेख्‍ने प्रक्रिया पनि थालिएपछि विकल्पको मार्ग खुलेको उत्साह सँगाल्दै यस संविधानसभालाई बाहिरफेर उपयोग गरिएको देखेर आयातीत साबुनको रूपमा अपनाउनुभन्दा पनि आफ्नै आँगनमा झिकाएर-सुकाएर फिँज निकाल्नैपर्ने स्थानीय रिट्ठाको रूपमा उपयोग गर्नुपर्ने अत्यावश्यकता थियो । जे होस्, त्यो खुड्किलो सफलतापूर्वक पार गरियो । संविधानसभा ठूलाबडाको लागि कस्तो डसना र सिरानीको शयन-सोच थियो/होला कुन्नि, तर आम सर्वसाधारणको लागि त स्वतन्त्र अस्तित्वसहित आधारभूत गाँस, बास र कपाससहितको जीवनयापनको लागि सङ्घर्ष गर्न पाउने सहज वातावरणको व्यवस्था थियो । संविधान बनाउने यात्राको गन्ती १ हुँदानहुँदै नागरिकको आँखामा सपनाको तह डबाडब भरिइसकेको थियो । तर त्यो सपनामा अङ्कुरण लाग्न थाल्दै गर्दा राजतन्त्रले घनघोर चपेटामा पारेको बेला आच्छु-आच्छु भएर चेतबाबा काशी भएका शीर्ष राजनीतिक दलका नेताहरू स्थिति आफ्नो हातमा आउनासाथै फेरि पुरानै धुनमा सय झट्का पिङ मच्चाउन थालिहाले । अरू त अरू, सर्वहाराको अधिकारप्राप्‍ति र आमूल परिवर्तनका लागि पुरातन राज्यव्यवस्थाविरुद्ध लडाइँ छेडेका भनेका माओवादी समेत सत्ताको झुत्तो आफ्नो पोल्टामा आउनासाथै तिनले धारेहात लाउने गरेको सामन्तको ठाउँ लिएर रजाइँ गर्न कम्मर कसेर लागेका छन् । परिवर्तनको अनुभूति सिन्कोसम्म पनि गर्न पाइएको छैन । एउटा बोझको ठाउँ अर्को बोझले लियो, त्यत्ति हो !

यो चैत २८ गते संविधानसभा निर्वाचन सम्पन्न भएको ठीक एक वर्ष पुगेको छ । संविधानसभा चुनाव सम्पन्न भएर सभासद्‌हरू संविधानसभा-भवन पसिसकेपछिको यस एक वर्षको अवधिमा के-कस्तो अवस्था छ, त्यो हाम्रै आँखाअघि नग्न सत्य बनेर लम्पसार परेको छ। तोकिएकै समयमा संविधान नबन्ने प्रशस्त छनक त देखिएकै छ, कस्तो संविधान बन्ने भन्नेमा अन्योल र भय पनि उत्तिकै मौलाएको छ जनमानसमा । एउटा पार्टीको नीति र घोषणापत्र नै संविधान बन्ने त होइन भन्ने खतरा पनि देखिन्छ । कारण, आफ्नै एकोहोरो नेताहरूले भन्ने गरेको नयाँ नेपालको चमत्कारको थालनी यस्तै अन्योल र धूमिलताबाट हुने हो क्यारे ! 'प्रजातन्त्र'को शल्यक्रियापछि 'लोकतन्त्र' हुँदै 'गणतन्त्र' को बीज फुटाए पनि पुगेको छैन, 'जनगणतन्त्र' को रटान क्रान्तिकारी नेताहरूको टेबलमा एकफेरा निकै गरम बन्यो । संविधानको नौलो रौनक देखेसुनेर राजनीतिलाई बल्ल '' बाट प्रवेश गर्दै बुझ्ने ध्याउन्नमा चाख उमारेका युवावर्ग देशमा मागीखान आएका 'नयाँ जोगी' हरूको उस्तै चिरिएको कान देखेपछि हतास वितृष्‍णामा रङमङिन थाले । बोलेका कुराको केही ठेगान नहुने र खुलमखुला दिनदिनै आफ्नै कुराको खण्डन गर्दै हिँड्ने चमत्कारिक संस्कृतिको बीजारोपण डरलाग्दो ढङ्गले बढ्दै गएको देखिन्छ । नेतालाई आदर्श मान्ने दिन कहिल्यै आएन हाम्रो नेपालमा । कसैको घरमा पनि म नेता बन्छु, फलानो मन्त्री जस्तै असल र प्यारो मान्छे बन्छु भन्ने सन्तान छैनन् । उनीहरू बरू केही छाँट र छनक नपाए पनि 'डाक्टल बन्थु, देछको धेलै सेवा गल्छु" भन्ने तोतेबोली सुनाइहाल्छन् । नेता जस्तै असल र प्यारो बन्ने रहर पाल्न त यहाँ भने जस्तो नमूना नेता पनि हुनुपर्‍यो । भएका नेतामा केलाइपल्टाइ गर्दा एउटा बीउ पनि छैन । नमूना नेता त छन्, तर कस्ता ? -- विदेशमा उपचार पड्काउने, छोराछोरीलाई विदेशको प्रतिष्‍ठित शिक्षण संस्थामा पढ्न पढाएर देशमा आफू भने सोझासीधा जनतालाई बुर्जुवा शिक्षा बहिष्‍कार भनेर भड्काउने, नेतागिरिलाई समाजसेवा-राष्‍ट्रसेवा त परै जाओस्, टोलसेवासम्ममा खर्चन नसक्ने, बरू सकेजति भरणपोषणको भरपर्दो पेसा बनाउने, ढाडमा अक्सिजन बोकेर हिड्नुपरे पनि युवा नेता कहलिइरहने, जनता र कार्यकर्ताबीचको अस्तित्वको मूल्यमा लामै खाडल बनाएर जनता मर्दा कुकुर-बिरालाको मराइ ठान्ने र कार्यकर्ता मर्दा भने ठूलै हङ्गामा मच्चाउने । यस्तो चमत्कार गर्नमा हाम्रालाई अन्य कुनै पनि देशका राजनेताले भेट्न सक्दैनन् ।

हजारौँको श्‍वास हडपेर त्यसैको खुड्किलो टेकी सत्ताको शिखर आरोहण गर्नमा गर्व गर्ने र शान्तिपूर्ण राजनीतिमा आएपछि पनि अपराधलाई औजार बनाउनमा क्रियाशील गुट सरकारमा ठाँटिएर बसेको कति विडम्बनापूर्ण लाग्छ ! माओवादीले ठाडै भनेका छन्- 'हिजोसम्म अरूहरूले मोज गरेँ, अब नेपाली सोझासीधा जनताको हो ।' तिनको परिभाषामा जनता तिनकै मुठीभरका ऐरेगैरे नै हुन् भन्ने बुझ्न सत्ताको सिकारमा मग्न तिनको एकसुर हेर्दा हुन्छ । एउटा चोरको ठाउँमा नागरिकले अर्को चोरको माग र खोजी त कदापि गरेका थिएनन्, तर भइरहेछ त्यस्तै । सामन्त र सामन्तवादको धूवाँदार विरोध गर्ने 'सर्वहारा' जनताको पार्टी आफैँ सामन्तवादी भएर हैकम चलाउँछ, एक्लो मोज चाख्छ । क्रान्तिकारी दल मूलधारको राजनीतिमा प्रविष्‍ट भएपछि जनताले गरेको परिवर्तनको आशामा छेउकुनासम्म पनि स्पर्श हुन सकेको छैन । हामीले पूरै चलाउन पाएनौँ, कामै गर्न दिएनन् अरूहरूले भनेर उनीहरू आफूउपर उडेका आशङ्काका माखाहरूलाई छेउ लगाइरहेछन् । पुरानो स्तम्भमा वर्षौँदेखि टस न मस भई बसेका अरू राजनीतिक दल पनि के कम, आरोप-प्रत्यारोपमा मट्याङ्ग्रा वर्षाइहाल्छन् । सरकारमा बसेपछि यति जस र अपजस त लिनैपर्छ । जसको जति हैसियत र विवेक हुन्छ, त्यसले त्यही देखाउँछ भन्छन् । हामी अहिले त्यही झेलिरहेछौँ । विकल्पको अभावमा हामीले एउटा न एउटालाई 'जय होस्' भन्नै परेको छ ।

जनयुद्धको नाम दिएर बन्दुकको नालबाट सत्ता निकाल्ने दौडमा धूवाँदार पाइला चालेको क्रान्तिकारी जत्था युद्धलाई विराम दिएर शान्तिपूर्ण राजनीतिमा आएयता जनचाहनाको घाँटी निमोठेर प्रत्यक्ष सत्तासफरमा चाल मार्ने राजतन्त्रले डेरा सर्नु मात्र परेन, यस मोडसँगै जङ्गली राजले राष्‍ट्रिय शासनसत्ताको नेतृत्व तहमा छलाङ मार्न पुग्यो । सँगै जङ्गलीपनको सीधा प्रसारण राज्यको नियमित गतिधारामै स्थापित बन्न थाल्यो । अपराध के हो, त्यसलाई कसले-कुन रीत पुर्‍याएर नियन्त्रण गर्ने र सजाय कस्तो हुने र कसले दिलाउने ? रित्तो छ प्रत्युत्तर । यसको ठाउँ अराजकता र मनमानीतन्त्रले लिएको छ । गणतन्त्र बराबर मनपरीतन्त्र भएको छ । यस्तै छन् चमत्कारका शृङ्खला ।

अर्को चमत्कार फेरि के होला यो देशमा ?

कति शीघ्र आउला कुन्नि त्यो ?

April 7, 2009

... अल्झिनु छ

------ गजल ------

महबात सुनाइमा अल्झिनु छ

माकुराको बुनाइमा अल्झिनु छ ।


जलारीले खुला नदी जेल पार्‍‍यो,
त्यही तातो थुनाइमा अल्झिनु छ ।


मान राख्‍न कसैलाई फूल भई,
सियोधागो उनाइमा अल्झिनु छ ।


आँखा तिम्रा दृष्‍टि होइन दृष्‍य बन्छन्,
कुनै लोभी चुनाइमा अल्झिनु छ ।


अङ्क जस्तै दायाँबायाँ मिल्किएर,
जिन्दगीको दुनाइमा अल्झिनु छ ।

April 4, 2009

पहिलो वर्षगाँठ : अनुभूतिका गाँठाहरू

ब्लगिङ गर्न थालेको पनि वर्षदिन पुगिसकेछ । फर्किएर हेर्दा ठीक अप्रिल १ कै दिन पहिलो पोष्‍ट प्रस्तावनास्वरूप पस्किँदै ब्लगिङको संसारमा पाइलो हालेको रहेछु । लेख्‍न त २०५४/५५ ताकाको स्कुलेबेलादेखि नै लेख्थेँ, तर प्रविधिलाई आत्मसात् गर्दै इन्टरनेटको सहारा लिएर लेख्दै जानु र लेखिरहनुको चुनौतीलाई आत्मसात् गर्दा अर्को 'लेख्य-पाठशाला' बन्यो मेरा लागि । भर्खर लेख्‍न थालियो भने जस्तो भयो । तर पनि ब्लग भनेको व्यावसायिकताको पङ्खमा फटफटाइरहने यान्त्रिकता नभई एक मानेमा मनमानी खेती हो, मन लाग्यो लेख्‍यो नत्र चुपचाप बसिदिए पनि हुने । चुपचाप बस्दा भने पोष्‍ट र पठनमार्फत पाठकसँग बन्दै गएको परिचयको नवीकरण टुटेर सम्बन्ध विकर्षित हुने सम्भावना रहन्छ । नलेख्दा केके छुटे जस्तो मनको तुलबुल र तलतलले अत्याउने आत्मरन्थनी त ब्लगरलाई हुने गर्छ नै । त्यसैले पाठकसँगको परिचय नवीकरण गर्ने हतारो भन्दा पनि प्राथमिकतामा आफ्नै रन्थनी शान्त पार्ने क्रममा एउटा ब्लगरले लेख्छ क्यारे ! एवम् रीतले ब्लगिङको निरन्तरता बढ्दै जान्छ । त्यसैले यस्तो खुला संसारको ब्लगिङ-सफरमा मस्ती छ ब्लगरलाई ।

ब्लगको नागरिकता र थातथलो

ब्लग सुरु गर्दा केही लेख्‍दै जानु नै ठूलो र मजादार कुरा भए पनि समयक्रमसँगै मजादार एकरूपता पनि निस्तो भइदिन्छ । र खोजी हुन्छ अलि नयाँपनको, अरू ब्लगभन्दा फरक रङरोगनको । ब्लगको मस्तीमा फन्को मार्न थालेयता जानीनजानी ब्लगपेजलाई मस्काउने र छाँट्ने खेतीमा यो अन्जान 'बबुरो' पनि पछि परेन । नतीजा, भत्काएपछिको जोडजाडमा अनेक सास्ती खेपेर अहिलेको रूपाकार पाएको छ ब्लगले । अझै प्रयासरत छु, café कै पर्यायको रूपमा ब्लगलाई पहिचान दिलाउने पथमा ।

परिवर्तनशील मानवीय स्वभावअनुरूप सुरूमा चित्त बुझेको ब्लगको नापनक्सा र नाम पनि बिस्तारै खल्लिँदै जाने 'रोग' र जो कोही ब्लगरलाई कुनै मोडमा लाग्दो हो । मेरो कुरा पनि लगभग त्यस्तै रह्यो । तर म त अझ त्यस्तो रोग काखी च्यापेर रमाउने सवालमा अगाडि निक्लिएँ । ब्लगको पहिलो वार्षिकोत्सव (!) कै मौकामा ठेगाना नै फेरेँ । यो फेर्नु भन्ने कुरा पनि बाध्यतै हुनेरहेछ क्यारे जिन्दगीमा । फेशनको लहर सकिएर अथवा मैलिएर लुगा फेर्नु, पावर कम भएर चश्मा फेर्नु, मन नमिलेर मीतज्यू फेर्नु …… पाए भने के मात्र बाँकी राख्दो होला है मान्छेले फेर्नलाई !

फेरबदलको फन्कोमा रहँदा हाम्रो Life नामबाट थालिएको ब्लग Café मङ्गलम् मा बास बस्न आइपुगेको छ, भर्खरै ठेगानामा clickdhaiba अङ्कित भएर annagee को यात्रा मैजारो भयो । यस्तै हो परिवर्तनशीलताको नियम र फेरबदलको आवश्यकता । नाम र ठेगानामा कायम र स्थिर भएर बस्ने मन भएर मात्र हुँदैन रहेछ । बाध्यताभित्रको रहरमा पनि रमाउनुपर्ने खन्खाँचो आइपर्छ र भक्कानो गलाको किलकिलेमा पट्याएर फनक्क मोडिनुपर्ने हुन्छ जीवनपथमा । जस्तो कि जीविकाको खोजीमा खाडी मुलुक बहराइन पुगेको एउटा आफन्त भाइ म देशमै बस्न पाएकोतर्फ इङ्गित गर्दै फोनमा बह पोख्दै थिए- "दाजुलाई पो चैन छ है, जे-जस्तो भए पनि आफ्नै ठाउँमा बस्न पाइएको छ । आफू त अर्काको देशमा हाड घोट्न आइएको छ, भने जस्तो पनि हुँदैन ।" उनले औँल्याएको 'जे-जस्तो भए पनि' अन्तर्गत स्वदेशमै रहेका (यो रहनुलाई रहन पाएका भन्ने हो कि सकेका भन्ने हो, मेरो दिमागको ह्याउ चलेन है !) हरूले व्यक्तिगत स्तरमा घरनीतिदेखि राष्‍ट्रिय स्तरमा राजनीतिबाट कस्तो प्रकोप खपिरहनुपरेको छ, अनुभव र अनुभूतिको सामाजिक, आर्थिक र मनोवैज्ञानिक राप नाप्न त यहीँ बस्नुपर्छ । र पनि जहाँको पनि समस्याको गाँठो त उही नै हो । बस्, यति फरक हो- त्यो गाँठोभित्र कोही कनिके चामल (कतै त्योभन्दा गएगुज्रेको !) को पोको चाखिरहेका हुन्छन् त कोही मगमग बास्मती चामल । गाँठोको उकुसमुकुसबाट त को नै मुक्त होला र ?

यही सत्यतालाई साक्षात्कार गर्दै ब्लगयात्राको पहिलो वर्षगाँठको मेलोमा ब्लगको थातथलो फेर्नपुगेँ म । Café मा नियमित छिरिरहनुहुने पाठक मित्रहरूमध्ये के-कति थाहा होला, ब्लगठेगाना annagee भाकालाई मैले अरू कसैको नामसँगै आफ्नो नाम गाँसेर बनाएको थिएँ । अनुरागको पहिलो बुँद उपस्थिति(भौतिकता)बाट गर्दै त्यसलाई बोधको अर्को चरणमा अनुभूतिको स्तरमा प्रणय-मिठास चाखिरहेको थिएँ म । तर परिस्थितिका झटाराहरूले हामीलाई झाङमा लर्किरहेको सप्रिएको काँक्रो फेला पारेर अचूक निशाना त छोडिहाल्ने रहेछन् । annagee को युगल पङ्खलाई पनि त्यही तीरले छोयो र टुटेको दुई मनलाई वैधानिकता दिँदै आज त्यही भौतिकताको भेट्नो चुँड्दैछु । पुरानै युगल नामलाई अँगालिराखूँ, त्यति उदार हुन सकिनँ म । फेरि कुन पो अर्थ, संयोग र हकले त्यो अवस्थालाई कायम गर्न सक्नु मैले ?

परिवारिक भर र लदबद संवेदना


ब्लगको बगालमा लस्किन थालेपछि आफ्नो कुरा भन्नु र मग्न हुनुले केही अर्थ नराख्‍ने अनुभव म गर्दैछु । यस यात्रामा चाँडै एउटा सञ्जालमा पारिवारिक साथ पाइयो, आत्मीयता बढ्यो । यसैले मान्छे हुनुको बोध गराउँछ, सामाजिक प्राणीको घेराबन्दीको स्वाद चखाउँछ । यही नै मूल प्राप्‍ति हो जस्तो लाग्छ । आफ्नो भावना-विचार बाँड्नु, हात मजाले बस्नु र खारिँदै जानु, चर्चा पाउनु त हुँदै जाने कुरा हुन् ।

यस्तोमा कहाँ कुनाकुना छरिएर रहे पनि, घर र परिवारको यादले कायल भए पनि प्राप्‍त नयाँ पारिवारिक माहौलमार्फत संवेदनाले उपल्लो भरणपोषण पाउने रहेछ । मनमा मान्छेको कीरा ओल्टापल्टा खेलुन्जेल, परिस्थिति जीवनअनुकूल रहुन्जेल, प्रविधि-पहुँच उपलब्ध हुन्जेल अर्थात् समग्रमा जीवन छउन्जेल हामी लेखिरहौँला । लेख्‍नु अब लत मात्र होइन, जीवनऐ पनि त भइसक्यो ।

तर मेरो संवेदनाको लदबद सिमसार यतिखेर हल्लिरहेछ, कता-कता लाग्छ- जब म केही लेख्‍दिनँ, मेरो केही चालचुल हुन्न, कैयन् दिन-साता-महिना र वर्ष मौन बनिदिन्छु, म कतै हराउन पुग्छु, मेरो जीवनै रहनेछैन…… के मेरा मित्रले Café को कुनोबाट त्यो उपस्थिति अनुभव गर्लान् ? सोच्दैछु, म कति गुमनाम बनूँला ! म नयाँ पोष्‍टको प्रकाशनबिना कति त्याज्य एवम् निरीह बनूँला, बिना सोधखोज र खोजखबर …….!?
लाग्न सक्ला यो मेरो निकृष्‍ट निराशावादी कुरा हो । तर खासमा यो संवेदना र आत्मीयताको पोषणले उमारेको एक झिल्का पिरो ज्वाला मात्र हो । आत्मीयताको अदालतमा मेरो यस्तो टीठलाग्दो सुनुवाइ यस पहिलो वर्षको बेन्चमै समाप्‍त भइदेओस् । नत्र त ब्लग गुनासैगुनासाको ठेली बन्न के बेर !
ब्लगरहरू सरल-सहज जीवनप्रवाह र ब्लगधारामा बगिरहून् ।