October 27, 2009

योगफल



गुँड बनाएर
यही मनको टोड्कामा
आफ्नै तापमा हुर्किएको
मैँसँग थियो एउटा घाउ

एक्लै थियो-
टोलाउँथ्यो
निस्ताउँथ्यो
एक्लो मातमा पुलपुलिँदै
दिनुसम्म दुःख दिन्थ्यो

घाउको यो एकल राजमा
तिमीले थपिदियौ अर्को घाउ

अहिले मेरो घाउ
साथ पाएर तिम्रो घाउको
खुसीमा लहलह छ

एक्लो घाउलाई पनि
जोडी चाहिने रहेछ ।

October 25, 2009

महिनाको फोटो : रानी पोखरी, रानी र भुराहरू



रानी पोखरी, इतिहासको ऐनामा माझिएको अनुहार । र मायाको कलिलो आँधी !
एउटा ठिटौले दिनमा जब हिँड्दै थिएँ पोखरीलाई बायाँ बनाएर,  एउटी युवती पोखरीछेउ उभिएर घोरिएको खुबै सुहाएको देखें मैले । ती नानीले माछालाई चारो छर्दै थिइन् पोखरीमा बस्, मेरो क्यामेरालाई पनि चारो मिलिहाल्यो, मैले क्लिक् बजाएँ । 

त्यही फोटो मेरो ब्लगको नयाँ स्तम्भ 'महिनाको फोटो'को पहिलो प्रस्तुतिमा पस्किएको छु  अब हरेक  नेपाली महिनाको पहिलो साता CaFe मा एउटा तस्बिर प्रस्तुत गर्दै जानेछु । फोटो पत्रकारिता आंशिक (पत्रकारिताको सिङ्गो पढाइअन्तर्गत नै केही मात्रामा पाठ्यक्रममा पढ्न पाएको) रूपमा पढेको उपयोगिता र फोटो खिच्ने आफ्नै रुचिबाट डोरिँदै यो स्तम्भ सुरु गरेको हुँ । सारा संसारको दर्शन गराउन नसके पनि देशको कुनै घटना, अवस्था र विशेषताको झलक दिन सकेँ भने मेरो यो प्रयासको फल त्यही हुनेछ ।

October 17, 2009

देव कोटा !



हिलेसम्म पनि नेपाली साहित्यका जरा र केन्द्र हुन् देवकोटा । महाकवि लक्ष्मीप्रसाद देवकोटा । उनै देवकोटा जन्मिएको आज एक सय वर्ष पुगेको छ त्यही अवसरमा उनको शतवार्षिकी विभिन्न कार्यक्रम गरी यस वर्ष देवकोटाको जन्मजयन्ती मनाइँदैछ । विक्रम सम्वत् १९६६ सालमा लक्ष्मीपूजाको दिन जन्मिने देवकोटाको युग बग्दै आएर २००० सालको ६० को दशकमा आइपुग्दा पनि नेपाली साहित्यको ताजको रुपमा जब्बर बन्दो छ । देवकोटाको यो आराधन नयाँ समयको साहित्यमा विकल्पहीनताको कारक हो कि विकल्प हुँदाहुँदै पनि पुरातनप्रेमी मानसिकता हो हाम्रो या हो कालजयी प्रेरणा र आदर्शको स्थापित मान्यता यो बहसको विषय हुन सक्छ ।

तर महाकवि देवकोटा खास अर्थमै देव कोटा बनेर नेपाली साहित्यको देवालयमा देउताको स्थापना लिएर चहकिएका छन् साँच्चै देव कोटा ! त्यति प्रतिभासम्पन्न सिर्जनाको अविरल धारा र सरस्वतीप्रेममा कटिबद्ध पुजारी अहिलेसम्म देखा परेनन् । अब कोही देवकोटा नै त बन्ने छैन त्यस्तै तेज लिएर कोही आएछ भने पनि देवकोटाको केन्द्रअघि त्यो अर्को केन्द्र बनेर रहला ।

यस्ता देवकोटाको शतवार्षिकी उत्सव र जन्मजयन्तीमा उनीप्रति हार्दिक शब्द-सुमन ! यो देवकोटाको जन्मको सय वर्षको अवधि मात्र होइन सिङ्गो नेपाली साहित्यको विवेचना र आकलनको घडी पनि हो । सय वर्षको गणनामा पर्ने अवधिअन्तर्गतमै देवकोटा २०१६ मा महाप्रस्थानमा अलप भए । तर त्यसपछिको गोरेटोको लेखाजोखा भने ऐतिहासिक आयामबाट हुनै बाँकी छ ।

देवकोटा जयन्तीको यो पावन अवसरसँगै जोडिएको लक्ष्मीपूजाको शुभ साइतमा सबैलाई तिहारको शुभ कामना ! शुभ दीपावली !!

October 14, 2009

भनिन् उनले - "यसो च्याउनुभयो"

नारीहरूको मनोभावलाई लिएर नारी पात्रकै मुखबाट पोख्‍नेगरी पुरुष लेखकहरूले धेरै साहित्य र लेखोट लेखेका छन् । नेपाली सङ्गीत फाँटमा हेर्दा त गायिकाहरूले गाएका नारीसुलभ कोमलता, लज्जा र विरहहरू घोलिएका प्राय: सबैजसो गीतहरू पुरुष लेखकले नै लेखेका छन् । यसको मूल कारण, नारी सर्जकहरूको सङ्ख्या कम भएकोलाई मान्ने गरिन्छ ।
बाहिरी संसारमा खुलेर झ्याङ्गिने र अपेक्षाकृत बढी सल्लाह-परामर्श गर्दै रचना संयोजन गर्नुपर्ने कला-सङ्गीतको क्षेत्रमा सहज रूपले घुलमिल गर्न नसक्दा नारी सर्जकहरूले नारी भावलाई अभिव्यक्त गर्नुपर्ने रचनाको जिम्मा पनि अघोषित रूपमा पुरूष सर्जकहरूको पोल्टामा सुम्पिदिएका छन् । यसलाई पक्कै पनि उचित र सन्तुलित मान्न सकिँदैन । सके भने नारीहरूले पनि (नै) लेखे हुन्छ नि त नारी मनोभावका रचनाहरू भन्ने तर्क पनि अघि सार्न सकिएला ।
तर नारीहरूको अनुभूति, पीडा, उठ्नुपर्ने र नउठ्नुपर्ने मुद्दाहरू लगायत समग्र मनोभावहरू जति मात्रामा नारी सर्जकहरूबाट तिक्खर र प्रभावकारी रूपमा आउने सम्भावना हुन्छ, त्यति पुरुष लेखकबाट लेखिनेमा शङ्कै हुन्छ । पुरूष लेखकले स्वानुभूति गरेर त्यो नारीव्यथालाई लेख्‍नै हुँदैन भन्ने बन्देजको कुरा गरेको होइन मैले यहाँ । खालि, नारी समाजले भोगि-चाखिराखेको परिस्थितिबारे प्रभावशाली भावधारा सोझै नारीबाटै बढ्ता निख्खर रूपमा आउनेथ्यो कि भन्ने सम्भावनाको हेराइ हो । कारण, भीरमाहुरीलाई भीरको कुरा थाहा हुन्छ, लाठे छोरो गुमाएको आमैलाई नै गुमाउनुको पीर थाहा हुन्छ । भनेपछि, मूलबाटै भुलभुलाएको पानी शुद्ध र शीतल हुन्छ । तर नेपाली लेखनमा त्यसरी पीडितकै हातबाट कलम नसर्ने, प्रभावितले आफ्नो कोलाहल र प्रफुल्लता व्यक्त गर्न नसक्ने स्थिति कायमै छ, आगामी कैयन् समयसम्म यो जग भत्किने छाँट पनि देखिँदैन ।
मैले पनि त्यही रोगग्रस्त लेखाइको कापमा च्यापिर यो कलम निचोरेर एउटा नारी मनोभावको गजल-रचना नारी-पात्रको मुखबाट बखानेको छु । कस्तो लाग्छ, सुहाउँदो कि भद्दा, पढेर पारख गर्नुहोला ।



न त जानुभयो न त आउनुभयो
दैलोबाटै फेरि यसो च्याउनुभयो ।


बोलाई बसाउन मैले भुलिगएँ,
त्यसैले पो हो कि घुर्की लाउनुभयो ।


बन्द झ्यालभित्र बेखबर म बनेँ,
इशारा त्यो गर्दा दु:ख पाउनुभयो ।


हुन्न भन्दाभन्दै पराई बाबु झन् झन्,
जहाँ पुग्छु त्यहाँ खुबै धाउनुभयो ।


बिदा गर्नै गाह्रो लोभी हजुरलाई,
घुम्टी खोल्दै आफैँ सरमाउनुभयो ।

October 12, 2009

"पर + यटन" = पर्यटन


सैँमा फुर्सदिलो समयभन्दा पनि फुर्सदिलो मानसिकता बोकेर साथीहरू पूर्वी नेपाल छिचोल्दै दार्जिलिङ घुम्न गएको बखत आफ्नो मन भने ललचाएर विरक्तिरह्‌यो । घुम्ने टोलीमा सँगै जान नपाउनुको थकथकी त छँदै थियो, त्यो भन्दा बढी दिक्दारी आफू यतिन्जेलको जिन्दगीमा कतिसम्मको साँगुरो वृत्तमा सीमित रहेछु भन्ने तुच्छ सोचको कमिलाले चिलिरह्‌यो । कस्तोसँग जीवन त एकतमासको भइसकेछ, धेरै ठाउँ छन् जहाँ कामविशेषले नघचेटेसम्म गइएको त छैन नै, अझै धेरै कालसम्म जाने छाँट छैन । उही रुटीन र लिकमा फटफटाइरह्‌यो प्राणपखेरु ।

यसो हिसाब गरेँ, कहाँ-कहाँको सुवास मेरा यी जोर पयरले चाखेछन् हँ ? घुमघामको नाममा पूर्वको गृहथलो उदयपुर र राजधानी ओहोरदोहोर गर्दा यातायातको साधनले जति-जति ठाउँ टेकिभ्यायो त्यति रहेछ मेरो तीर्थाटनको आयाम ! त्यो पनि म घुमेको ठाउँ के भनूँ, याकमाथि चढेर शेर्पाले हिमाल चढ्ने तर्खर गरे जस्तै गाडीमा चढेर मैले गरेको सयर त सोझै याकको हिमालारोहणलाई बिर्साइदिने ढाँचाको सवारीको आफ्नै घुमफिर थियो । म त याकमाथि सवार भएर हिमाल चढेको बहादुरी बटुल्ने शेर्पा जस्तो बनेछु !

घुमफिरकै विषयमा कुराकानी हुँदा अड्डामा सँगै काम गर्ने एकजना दाइले बताए- "मसँग विदेशतिर सयर गर्न जाने त्यति धेरै पैसा हुने हो भने पूरै नेपाल घुम्थेँ ।" साथीहरू पूर्वी नेपाल घुमघाम गर्न गएको प्रसङ्ग मैले कोट्याउँदा ती दाइले सिङ्गो नेपाल नै घुमघामको मोहक गन्तव्य रहेको उक्त कुरा बताउँदै थिए । घुमघामको कुरो निस्किनासाथै हाम्रो मानसिकतामा टाढाको सयर भन्ने सोच घुसिहाल्छ । कुनै टोलमा भएकाहरूले आफ्नो टोल नाघेर अर्को टोलतिर टहलिने सोच, कुनै जिल्लामा रहेकाहरूले   अर्कै जिल्ला घुम्ने सोच, एउटा विकास क्षेत्रमा रहेकाहरूले छुट्टै राज्य, प्रान्तमा पुग्ने सोच, अझ भनौँ, घुमघाम भन्नेबित्तिकै देशै काटेर परदेशतिर लम्किने हाम्रो सुर हुन्छ । पर्यटन भन्नासाथै पऽऽऽरै गएर फन्को मार्नुपर्ने घुम्ती लीलाको रूपमा बुझिएको छ ।  त्यही मर्म छामेर होला, संस्कृतबाट आएको 'पर्यटन' शब्दको अर्थ पनि शब्दकोशमा यसरी दिइएको छ- "दर्शनीय र महत्वपूर्ण स्थानहरू हेर्न वा मन बहलाउनका निम्ति देशविदेशमा गरिने भ्रमण वा यात्रा ।"

घुमघामको विषयमा कुरा हुँदा ती दाइले राजधानी काठमाडौँछेउमा पर्ने सुन्दरीजलपारिको चिसापानी भन्ने ठाउँको नाम लिए । एक दिनको घुमघाम गरेर आउन सकिने राजधानीछेउका लेले, लामाटार-लुभू (ललितपुर), नमोबुद्ध, जिरी जस्तै चिसापानी पनि मनोरम गन्तव्य रहेको कुरा दाइको बखानसँगै फुलेल मुद्राले साबित गर्दै थियो । हामी नेपालीहरूको घुमफिर गर्ने बानी छैन भन्ने थेगोले थिचिरहेको समयमा आन्तरिक पर्यटनको 'गफ'ले पछिल्लो समयमा केही हदसम्म काम गरेको देखिन्छ । मान्छेहरू व्यस्तताको बिटो थामथुम पारेर र घरमा डामडुम ताल्चा ठोकेरै भए पनि भुराभुरी चाइँचुइँ पार्दै देशकै पूर्व र पश्‍चिमतिर टहलिन निस्किन थालेका छन् ।

सहरिया युवा डिस्कोथेक र मुठीभरको पार्कमा सीमित भएर रमाइरहेको बेला कहाँ तिनलाई खबर होस् सुन्दरीजल र चिसापानीको ? फेरि नजिकको तीर्थ हेलाको नियति भोग्दै त्यस्ता घुमफिरका मनोरम गन्तव्यहरू रैथानेहरूको हेराइमा रूखोसुखो झाडीसमान बन्न पुगेको छ । बरू खोइ कुन पर्यटनको उद्देश्यले बत्तिएर हो, तिनै युवा जोडी च्याप्दै नगरकोट र गोदावरी भने धाउँछन् । ठाउँ दर्शन गर्ने लालसाले हो या आफैँ अरूहरूको सामु दर्शनीय मूर्ति बन्न !?

कतिपयलाई परिवारको नियमित खर्च धान्नै धौधौ हुन्छ, घुम्ने कुरा तिनका दैनिकीमा सपनीमा झुल्किने कार्यव्यस्तताभित्र मात्र पर्छन् । तर धेरैजना पैसो भएर पनि, रहर भएर पनि बरू ठूला योजना बुनेर बस्छन्, वरपर तीर्थाटनमा निस्किने 'कष्‍ट' उठाउँदैनन् ।

घुम्न आफ्नै देशभरिका ठाउँहरू पर्याप्‍त छन् । तर टाढा रहेका उस्तै ठाउँका लागि जति पनि खर्चिन तयार हुने हाम्रो मन हाम्रै छेउछाउ भएका ठाउँमा जान-बस्न लाग्ने खर्चको सूची सुन्दा भने थकथकी मान्दे निचोरिन्छ । यो त हातमा भएको मोतीलाई पनि धुलो ठान्ने मूल्यहीन भावना मात्रै हो । भित्रै कतै एउटा साथी छटपटाइरहेछ हाम्रो मनको किनारमा, हामी भने बाहिर व्याकुल भावले अरूको पछि कुदिरहेछौँ साथको तृष्‍णा बोकेर । छेउमै भएको कुराबारै जानकारी छैन । मैँ पनि त, आफ्नै जिल्लाभरिको कान्लाकान्ली फेरो मारेको छैन । ती दाइका कुराले झुलुक्क देवकोटाको 'के नेपाल सानो छ ?' निबन्धका हरफहरू ताजा भएर आए - "यहाँ वाग्नर कोदाली खनिरहेछन्; शेक्सपियर हलो जोत्ता हुन्; टिसियन र टर्नर भेंडा चराउँदा हुन्, सोक्रेटिज गुफामा घोत्लिरहेका होलान्, कालिदास आषाढको पन्ध्रमा धाराप्रवाह गीत गाइरहेका होलान्, मेरो वनमा हेलेन केलेरहरू गीत गाउँदछन्, यहाँ कति सावित्रीहरू छन्, जसका कथा संसारले सुनेकै छैन, यहाँ कति साहित्य छ, जो लेखिएकै छैन, न लेखिनेछ ।"

देवकोटाकालीन नेपालदेखि समय चिप्लिँदै अहिलेको नेपालसम्म आइपुग्दा कति धेरै शेक्सपियर र सोक्रेटिजहरू हलो जोत्दाजोत्दै, गुफामा घोत्लिँदा घोत्लिँदै खेर गए होलान्, हिसाब छैन । जसले एकरसमय जीवनबाट थोरै पनि फुर्सद निकालेर आफ्नै चौकुना आँगन पनि मजाले नियाल्न भ्याएनन् होला । अरूहरूबाट उपेक्षाको सिकार भएका उनीहरू आफ्नै जीवनको वेगमा पनि छेउकिनारमा फुर्सदी भावले आफू र आफ्नो बहलाउने रहरलाई स्वयम्‌बाट उपेक्षित गराइरहेछन् । तिनले कहिले टहलिएलान् आँगनबाट निस्किएर टोलतिर, जिल्लातिर, अञ्चलभरि, आफ्नै देशको कुनाकुना ???
हलो जोतिरहेछौँ , गुफामा घोत्लिरहेछौँ

फ्रेमभित्र


सरी खुल्छन्
चश्मादार प्राध्यापकको
फुस्रा ओठबाट
कोठा-कोठा पुस्तकालय
अथवा खुल्छ
ब्रह्माण्डभरिको अनुहारमा
एउटा टीका झैँ -
यो भूगोल,
उसरी त म खुलिनँ
खुल्दै खुलिनँ यो फ्रेममा ।


कुनै बहुलाहीको
बेसोमती केशहरूमा छरिएको विरक्ति जस्तो
भयभीत आँखाका यी नानीहरू,
टिपिहाल्नु छ अकस्मात्-
टिलपिल कचौरा जस्तो गहिराइबाट
सन्तुलित गहहरूमा,
फेरि पनि देखेर:
भित्ताको फ्रेममा
आफ्नो तस्बिरको बलिदान
र क्यालेण्डरका पुराना कोठेपद मितिहरू सवार
खुइलिँदै गएको आकृति
मनाहीपूर्वक हेरिरहेछु ।

हिउँका धारिला हातहरूमा गएका
न्याना मुटुहरू
कोइलाका राता ल्याप्चेले
लतपतिन पुगेका
जुनीजुनीका निधारहरू
सबै छ
दमग्रस्त बुढ्यौलीमा
असहायक श्‍वासनली
र जीवन नामको धमिलो रेखा
सबै छ, फ्रेममा ।

कुनै आरामको बिछ्‌यौनादेखि
टाढा उछिट्टिएको एकाबिहान
जब पाइलाहरूमा
टीका पुछिएको
विरूप साइत बोकेर
युगसामु कलश समाउँछ
बुझिन्छ-
ओ यात्रा ! यात्राको उडान !!
आकाश कहीँ-कतै
बिग्रिएकै छ ।

धेरै भयो
कीलामा
तु
र्लु
ङ्ग
फ्रेमभित्र
उकुसमुकुस दुख्‍ने
सहाराको तप्‍त बालुवा जस्तोमा
कहाँ छ
स्वस्थ-स्वच्छन्द विरुवाको
रहरलाग्दो फुरफुर  !