Subscribe:

Ads 468x60px

27 September 2010

आफ्नै मन पनि भारी !

हिलेकाहीँ धेरै सोचिन्छ र केही पनि सोच्न सकिन्न । त्यसमा पनि मलाई बात लगाउँछन् मान्छेहरू – तँ अलि चाहिने भन्दा बढी नै सोच्छस् यार ! र यति तीव्रतम सोच राख्दै आए पनि यसको फल आखिरमा के निस्कियो त ? यसो सोच्छु र फेरि केही पनि सोच्न सक्दिनँ । अन्तर्मुखी हुनुको गुण यस्तै हुँदो हो ।

जीवन सोचाइकै जोड, घडाउ र आखिरमा योगफलको शून्य जस्तो लाग्छ । यस्तो विश्‍लेषण अलि निस्सारवादी लाग्छ सक्छ । तर कहिले त जिन्दगीका सानातिना आँखीझ्याल पनि बन्द हुन्छन् केही पनि देखिन्न । अनि सर्वत्र निस्सारता मात्र हात लाग्छ । तर सबैजसोले कहिले न कहिले त अनुभूति गर्दा हुन्, कहिलेकाहीँ त आफ्नै मन पनि भारी भए जस्तो हुन्छ । यही अनुभूतिको सेरोफेरोमा एउटा गजल केही समयअघि लेखेको थिएँ ।

heavy life

आफ्नै मन पनि भारी हुने छाँट देखिँदैछ
रेट्छ यो मौसम आरी हुने छाँट देखिँदैछ ।

कति विघ्न मोहनी लगाएछ गहनाले,
सिङ्गो जीउ आलमारी हुने छाँट देखिँदैछ ।

जुगौंअघि पनि थियो आज पनि आएकै छ,
यो दुःख त अवतारी हुने छाँट देखिँदैछ ।

कहाँ कसको नजर लागेछ आज यसरी,
अँगालोको माया पारि हुने छाँट देखिँदैछ ।

उध्रिएको खुसीलाई यता सियो उता फुक्छ,
यस्तो सिलसिला जारी हुने छाँट देखिँदैछ ।

19 September 2010

सरकारी कविता / जनताको कविता

शक्तिको केन्द्र राजधानी विविधताको हिसाबले पनि अब्बल नै छ । मुलुकका कुना-कन्दराबाट आउने थरीथरीका मानिसले यहाँ अवसरको बल्छी थापे जस्तै परिपरिका नमुना चिज पनि यहीँ देख्‍न पाइन्छ । फुटपाथमा कचौरा ठटाउने भिखारीदेखि त्यही फुटपाथसँगैको सडकमा बुलेटप्रुफ गाडी हुइँक्याउने महाजनहरूको साझा पौडीपोखरी हो काठमाडौँ । यस हिसाबले राजधानी खाल्डोलाई नमुना थलो भने पनि हुन्छ । यही राजधानीमा सरकारी कविताको स्वाद  पनि चाख्‍न पाइन्छ ।

चलनचल्तीमा आम गुनासो सुन्ने गरिन्छ, राज्यले साहित्य-कलालाई अनुत्पादक क्षेत्र सम्झिएर हेला गर्‍यो । तर राज्यको कुनै निकाय भने आफ्नो संस्थागत सन्देश प्रचारप्रसारका लागि काव्य कर्ममा तल्लीन भएको पाउँदा ‘वाह ! राज्यले साहित्यलाई सम्मानजनक रूपमा नहेरेको कहाँ रहेछ र’ भनेर चित्त बुझाउनुपर्ने हुन सक्छ ! नत्र किन कविताकै सहारा लिएर सन्देश जारी गर्नुपर्दो हो ? सन्दर्भ हो, राज्यको स्वतन्त्र आयोगको सार्वजनिक प्रचार सन्देशको । राजधानीको माइतीघरबाट नयाँ वानेश्‍वरतर्फ जाने बाटोमा बबरमहलमा केही समय अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय थियो ।

भ्रष्टाचार नियन्त्रणमा काम गर्ने आयोगले राज्य प्रशासनमा भएगरेका अख्तियार दुरुपयोग सम्बन्धी उजुरीअनुरुप अनुसन्धान, छानबिन गरी आरोप प्रमाणित भए कारबाहीको लागि सरकार समक्ष सिफारिस गर्ने गर्छ । (अहिले आयोगको कार्यालय टङ्गालमा अवस्थित छ ।) भ्रष्टाचार नियन्त्रणका लागि खटिँदै आएको आयोगको उपस्थितिले आच्छुआच्छु भएर कति मात्रामा भ्रष्टाचार घट्यो, त्यो आँकडा तथ्याङ्क विभागले निकाल्ला, हामी भने आयोगले भ्रष्टाचारलाई निरुत्साहित गर्न अपनाएको प्रचार विषयवस्तुमा जाऔँ । आयोगले बबरमहल स्थित आफ्नो पुरानो कार्यालय रहेको स्थान अगाडि सडकछेउमा सोही कवितात्मक सन्देशको होर्डिङबोर्ड राखेको छ । बालकविताको झलक दिने र तुकबन्दी पारामा लेखिएको कविता पढेर को-को भ्रष्टाचारीलाई हाउगुजी भयो होला, तर पैदलयात्रु र सवारीसाधनमा हिँड्नेहरूको लागि भने यो काव्यिक स्वाद मेट्ने खुराक बन्ने देखेँ मैले । हेर्नुस् तस्बिर :

 

{ सरकारी कविता }

Government

राजतन्त्र हुन्जेल राजाहरूको महावाणी सहरको विभिन्न स्थानमा होर्डिङ बोर्डमा देख्‍न पाइन्थ्यो । कविताको छनक तीमध्ये धेरै सन्देशमा मिल्थ्यो । नेपाल एकीकरण गरेको श्रेय दिइने पृथ्वीनारायण शाहकै दिव्योपदेशको कुरा गरौँ न,  कम धारिला छन् ती सन्देश ? बिच्छीको टोकाइ झैँ क्रान्तिकारी र प्रबल राष्ट्रवादी विचारधारा छन् तिनमा । ‘नेपाल दुई ढुङ्गाबीचको तरूल’, ‘जाई कटक नगर्नू, झिकी कटक गर्नू’ आदि गहन सन्देशमा साहित्यिक ओज पनि कतिपयमा गढेर रहेको पाइन्छ । त्यसपछि जनप्रिय राजा वीरेन्द्रकै सन्देश व्यापक रूपमा महावाणीका रूपमा होर्डिङबोर्डमा पढ्न पाइयो । ‘शिक्षाको पारिलो घामबाट कसैले पनि वञ्चित हुन नपरोस्’ भन्ने शिक्षाको व्यापकताको इच्छा गाँसिएको वीरेन्द्रको वाणी धेरै ठाउँमा प्रयोग भएको उतिबेलाको ठिटौले बेला सम्झिन्छु । यी सबैलाई सरकारी कविताको परिचयमा राख्‍ने र बुझ्‍ने गरेको छु मैले । सरकारी कविताको आयाम भनेको सरलता नै हुँदोरहेछ भन्ने लाग्छ अहिले यसो सोच्दा । जनजनको मनमा बस्नुपर्ने र बुझिनुपर्ने भएर होला । 

अन्त्यमा, अब माथि भ्रष्टाचारविरुद्धको सरकारी कवितासँग एकाकार हुँदै जनताको कविता प्रस्तुत गर्दै बिदा हुन्छु :

{ जनताको कविता }

दुखेको छातीमा मलम लगाएँ
जलप लगाएँ सुनौलो आशाको 
खै, कन्तुरमा भएन एक सिक्का
मृत्युले डाँको छाडेर माया गर्दै गयो
मानौँ, म नै थिएँ उसको
बिछोडिएको मायालु …

15 September 2010

भाग्य भरोसा

खबारको राशिफलमा भविष्य खोज्ने आँखाहरू थकाइ मान्दैनन् । सिमाना नाघेर परदेशसम्मको सपना समेट्ने युवा पुस्ता देशभित्र उपायविहीनताको अवस्थामा भाग्यकै सहारा लिने दशा भोग्नेरहेछन् । भाग्यको भरोसामा रहनुपर्ने परिस्थिति कसरी सिर्जना हुँदो हो भने, गरेका काम पूरा नहुने र सोचेको उद्देश्य पार नलाग्ने प्रतिकूल वातावरणले जब घेर्छ । मुलुकको पछिल्लो कालखण्ड खासमा लगभग त्यस्तै छ । केही काममा प्रयास गर्‍यो, त्यसलाई पार लगाउन उपयुक्त वातावरण हुँदैन । गरी खान पाउनुपर्ने आधारभूत अधिकारबाट पनि वञ्चित छन् नागरिक । धेरै युवाहरू रहरले विदेशिएका होइनन्, स्वदेशमै काम गरेर दुई-चार पैसो आम्दानी गर्ने वातावरण भए को ढुन्मुनिन पुग्दो हो विरानो माटोमा !? विदेश जान नसकी/नचाही यतै रहिरहेकाहरू पनि आफ्नो जीवनको मेलो ठीकसँग अघि नबढ्दा मन बुझाउन भाग्यकै सहारामा लुटपुटिरहेका छन् ।

राजधानीका सडकमा एक दिन टहलिने क्रममा जीवनको यथार्थ रूपबाट ठगिएका र भाग्यको शरणमा जाकिएका त्यस्तै धेरै अनुहारसँग ठोक्किएँ जस्तो लाग्यो । ती अनुहारलाई साथ दिइरहेका ज्योतिषीहरूको लर्को पनि कम थिएन, जो आफैँ पनि बाँच्ने उपक्रममा र भाग्य खोजिदिने बहानामा अन्योलमा रुमल्लिएका देखिन्थ्यो ।

त्यसैमध्येका केही झलकहरू ----

 

1 राहु, केतु र बिहान-बेलुकाको दालभातडुकु !

 

2 कोही त आउला, तर कतिबेला ?

 

3

भाग्य केलाउँदा अलपत्र परेका भाग्यहरू

08 September 2010

अन्योलको पिटाइ

 
“खानु आफ्नो रोजाइ अनुसारको, लगाउनु अरूको रोजाइको ।”
यही आहान अरू कुरामा पनि लागू हुने रहेछ । जस्तो कि पछिल्लो समय म पुस्तक प्रकाशनको योजना बुन्ने क्रममा अलमलिएँ । लेखनको सुरुवाती क्रमका हिसाबले मैले गजलकै सँगालो निकालूँ भन्ने जोड दिएँ । यसो सोचेँ, अहिले पनि किताबमा नसमेटे त यी गजल खेर नै जानेछन् । खास समयमा लेखिएका र मेरो सर्जकीय उमेरअनुसारको रचना पनि होलान् केही, अलि नमाझिएका । ती पनि बिस्तारै मैले मेरो डायरीबाट थुतेर फाल्नुपर्नेछ पुस्तक बेलैमा ननिकाले । book_blank2
उता साथी र शुभेच्छुकहरूले भने 'लौ कवितासङ्ग्रह निकाल्नुपर्छ' भन्नेमा ध्यानाकर्षण गरेका छन् । उनीहरूको आकलनमा गजलको तुलनामा कवितामा मेरो पकड केही बलियो छ रे ! 
एक जना प्रवासी साथीले त कतिसम्म हाकाहाकी भन्नुभएको छ भने, "तपाईँको गजल नै पटक्कै मन परेनन्" भनेर झटारो हान्नुभयो । मैले त्यसलाई उहाँको पाठकीय अधिकारको रूपमा मान्दै टिप्पणी सकारेँ ।
हो पनि, म आफैँ पनि गजल लेखनका क्रममा अलि उकुसमुकुस बन्न पुग्छु, कवितामा भने छताछुल्ल हुन पाउने खुलापन अनुभूति गर्दै रमाउँछु । कवितामा जीवनदायी अक्सिजन भएको भान हुन्छ । जोरजाम म गजल सङ्ग्रहको पनि गर्दैछु, साथमा कविताकृतिको लागि कविताहरू ताछतुछ र माझ्ने काममा पनि लागेको छु । अब थाहा छैन, कुन पल्ला भारी हुनेछ र कुन कृतिको गर्भाधान हुने हो अगाडि ? अहिलेसम्म चाहिँ अन्योलकै पिटाइबाट रन्थनिएको छु ।
गजलसङ्ग्रहको लागि तयार पार्दै गरेको सङ्कलनबाट तानेर एउटा गजल यहाँ पस्किँदैछु ।


यसकारण यहाँ चुप बसिएको छ
आवाजहरुले मुख भरिएको छ ।

पखाला लागेको हो यो समयलाई नै,
कमजोरीले यो आँखा भासिएको छ । 

जतासुकै झुकाउन सकिन्थ्यो होला शिर,
गाह्रो यही छ  शिर आधा ताछिएको छ ।

तलामा जो सबैभन्दा बस्छ माथि,
उसकै कारण यो घर थलिएको छ ।

भो नबताऊ को-कति छ इमान्दार,
थाहै छ कसले कति सम्झिएको छ ।

06 September 2010

ओ मैच्याङ, उमेरले के भन्छ ? #आनी

वर्षैपिच्छे Me2लुगा फाट्दै जानु, केश फुल्नु पाकोपनको सूचक हुन सक्दैनन्, तर अचेल केश फुल्दै गइरहेछ । ऐना हेर्दा घना रूपमा रहेको कालो केशको चेपचेपमा टुसाएका एकाध सेता रेसाले पनि बडो गिज्याए जस्तो लाग्छ । भएबचेका त्यतिका कालो केश साबुत रहेकोमा खुसी रहन छाडेर ओइलाइसकेको कुरातर्फ मोह जाग्ने यस्तो हुने रहेछ मानवीय प्रकृति ।  मलाई पनि यस्तै भएको छ । एउटा आम मानिसको जीवनमा जन्मोत्सवको अवसरमा केक काट्ने कुनै मेलोमेसो नहुँदो हो, मात्र उसले केकको साटो जीवन काटिरहेको हुँदो हो । र त्यसैमा मग्न हुँदो हो । म पनि त्यस्तै हुँ कि जस्तो लाग्छ । हरेक वर्ष जन्मोत्सवमा बल्लतल्ल अक्षर फुटाउन सक्ने मेरी निरक्षर आमा “काले, भगवान्‌ले तेरो कल्याण गरून्” भन्ने लोली भर्दै मेरो समृद्धिको कामना गर्न भुल्दिनन् । आज पनि एकाबिहानै आमाको फोन आयो । त्यही बोली ।

“ह्याप्पी बर्थ डे”, कनीकुथी फोनमै फुसफुसाइन् । आमाको निरक्षरता मलाई बिझ्दैन कहिल्यै, उनको हार्दिकता र ममतामा सिङ्गो विश्‍वविद्यालय प्रकट भएर आउँछ । त्यसबाट म झन्-झन् दीक्षित हुँदैछु ।

भदौ २१ गते (सेप्टेम्बर ६), म च्याँहा-च्याँहा गर्दै रोएर धर्तीमा झरेको दिन, यो धर्ती (सायद) मुसुक्कme हाँसेको थियो । त्यतिबेला हाँसेको थिएन धर्ती भने पनि अब हँसाउने प्रयत्‍नमा छु म । र सायद म त्यसैको लागि बाँचिरहेछु क्यार ! बाँच्नुपर्छ पनि । हरेक वर्ष चाहेर पनि वा नचाहे पनि जन्मदिन आउँछ । एकछिनको बधाई साटासाट, पुराना दिनको एलबममा आँखमिचौली खेल्यो अनि फेरि उही पुरानै दिनको लम्बिएको फेरो । अर्को जन्मदिनको प्रतीक्षामा आँखा फट्टाएर हिँडे झैँ केही अलमल-अलमलको यात्रामा एकोहोरिनु छँदैछ । कपालसँगै फुल्दै गएका परिपक्वताको मात्रामा पातलै सही तह बढ्दै गए पनि उमेरमा छ नै के भन्ने लाग्छ । भर्खरको शिशुले पनि कति कुरा जानिराखेको हुन्छ होला, बोधको हदमा ऊ केही न केही होला , तर त्यसलाई प्रकट गर्ने भाषा ऊसँग नहुँदैमा कसरी उसलाई ‘केटाकेटी’को तहमा सीमित गर्न सक्छौँ हामी । अहिलेसम्म भएको त्यही नै त हो । आशा गरौँ, जन्मनासाथै शिशु बोल्नेछ कुनै दिन ।

पहिलेको जन्मदिनमा साथ रहेका धेरै कुरा अहिले साथमा छैनन् । गडगडाएको खहरेले फेदीमा आएपुगेर अँगालोबाट फ्याँकेको दाउरा र मुढा जस्तै छुटेका छन् कुराहरू । अब आउँदो जन्मदिनको स्वागत गर्न लाग्दा निश्चय पनि अहिले साथ रहेका धेरै कुरा म सँग हुने छैनन् । जीवन क्षणभङ्गुर छ, यसैले भनिन्छ ।

जन्मदिनको शुभ कामना दिने सबै आत्मीय साथीहरूलाई धन्यवाद । साथीहरू छन् र धनी भएकोमा खुसी हुन पाइएको छ । अन्त्यमा, केही दिनअघि लेखेको एउटा कविता राखेर बिदा हुन्छु ।

-- आनी --
 1-Young-Buddhist-Monk2
टाँगेर चिवरमा सिङ्गै आकाश
कता बढ्दैछ गुलाबी यात्रा
नसोध्नू उसलाई


उसको मुडुलो टाउकोमा
हतारिँदै घुमेको कस्तुरी देखेर
कसलाई लाग्यो रिँगटा,
चकमक घोटिएर सल्किएको
धपक्क मुहारमा परेर
को क्षणमै जल्यो र तडि्पयो -
छैन हिसाब


सडकमा ट्राफिक जाम चिर्दै
खुल्न सक्छन् जीवनमा
झ्याल र ढोकाहरू
एक्कासि बढ्छन्
आहाल बस्न थालेका धड्कनहरू
सम्हालिँदै छुकछुकाउँछन्
श्वासनलीको लिकभरि


छातीको खोपमा
शान्तसित उसले पालेको जोर परेवा
अँटाउँदैनन् कुनै मुठीमा,
कतै आसपासमा
बहुलाएको भीड
घाटका एक्ला रुखहरू
तलाउको एक कुनामा कुहिएको कमल
सबैसबैको लाग्छ माया


किन रुँदैनन् यहाँका मान्छे
किन छैन फुर्सद
एक फाँको हाँस्न
राख्न मन छ उसलाई प्रश्नहरू
हरेक बुद्धका आँखा-आँखामा


चिवर ओढेकी सुन्दरी
ठमठम बढिरहेकी छे
चिराचिरा कालो पृथ्वीलाई जोड्दै ।