जल लेख्‍नुमा सुरुमा मजा थियो, जुन बेला लेख्‍न सुरु गरियो । जब कविता लेखनतिर हात हालियो, तब त्यो मजाको वेग कविताले नै उठायो । मूल विधा पनि तबदेखि कविता नै बन्यो । अरुलाई पनि यस्तै हुन्छ कि क्या हो, ? मेरो सरसङ्गतिमा रहेका गजल र कविता दुवै लेख्नेहरूले भने मैले जस्तै तृप्‍तिको फरक तह अनुभव गरेको सुनाएको पाएको छु ।

र पनि गजल विधागत लेखनीको हिसाबले पहिलो प्रेमको रूपमा सम्हालिँदै-सुमसुम्याइँदै आइयो । र गेयात्मकतामा जुन सुरमय तरङ्ग दिन्छ गजलले, त्यो त कवितामा सम्भव छैन । अर्कोतिर मात्रा, मिटर र साँघुरो आयाममा खुम्चिनुपर्ने काफियासंसारको सीमा हुँदाहुँदै पनि भावगत र वैचारिक प्रखरता दिन गजल हच्किँदैन । यसैले गजलहरू आजसम्म पनि लेखिँदैछ- उता हिन्दी र उर्दू साहित्यमा; यता नेपाली, भोजपुरी, मैथिली, नेपाल (नेवारी) आदि भाषाभाषीमा । फाट्टफुट्ट अङ्ग्रेजीमा पनि लेखिन थालेका छन् पछिल्लो समयमा गजल ।

तर गजलको जगले पक्की घरको स्वरूप गायनमा अभ्यस्त तुल्याएपछि नै लिनेछ । अचेल राजधानीमा हुने गजलका विविध कार्यक्रम, गजलकृति विमोचन आदिमा गजलकारहरू नै गुनासो र खिन्नता पोख्‍न थालेका छन् - 'गजल लेखेर भविष्‍य छैन । जथाभावी गजल लेख्नेहरूले गजलको मानमर्दन गरे ।' खास गरी, साहित्यिक ओजबिनाको लेखनी गजलतिर ल्याएर रचनात्मक पाइन देखाउने हूल देखेर र अपेक्षाकृत साङ्गीतिक गजलको जमजमाहट नदेखेर अत्यास मानेका भेटिन्छन् खास गजल-साधकहरू ।
कुनै पनि रचना स्वाभाविक रूपले सर्जकले आफ्नो आत्मानन्दलाई तौलिँदै लेख्‍छ, त्यसमा सामाजिक दायित्वको पनि पारख गर्दै जिम्मेवार मन-मगजले गुदी कुरो हाल्दै जान्छ । गजलमा पनि त्यस्तै हो । मायाप्रेम र भक्तिभावबाट लेख्न सुरु गरिएको नेपाली गजल-लेखन आज विविध विषयवस्तुमा फैलिएको पाइन्छ । बिस्तारै पङ्ख हाल्दैछ, समयको लगानी आवश्यक छ यसले एउटा रचनागत मूलबाटो बनाउन ।
त्यसअघि त यस्तै फुटकर लेखनमा अलिअलि मजा लिने न हो ! यसपाली यस्तै एउटा फुटकर मजा :



भो नगर्नू कुनै डाह अलिअलि बाँचेँ
बाँच्नै थियो आगो चुम्दै जलीजली बाँचेँ ।

यौटा आँखा अर्को आँखा कति प्यारा आँखा,
आफ्नै आँखा त्यतै नाच्दा गलीगली बाँचेँ ।

हिँड्दाहिँड्दै जिन्दगानी भयो कछुवा झैँ,
घडीसँगै सुस्तसुस्त चलीचली बाँचेँ ।

दुनियाँमा तगारोले जाने ठावैँ छैन,
थुनिएर श्‍वासको यो नलीनली बाँचेँ ।

वाण हान्ने प्यारा वैरी यतै सामु आऊ,
हान तारो आदतै भो छलीछली बाँचेँ ।