Subscribe:

Ads 468x60px

29 March 2010

‘हिँड्नुअघि’मा कवि सुको साइबर

पाहुनाको कलमलाई क्याफेमा प्रस्तुत गर्ने क्रममा 'अतिथि आसन' स्तम्भमा यसपालि कवि सुको साइबरलाई लिएर आएको छु । सुको अर्थात् सुदिप कोइराला । कवि साइबर मेरा समकालीन हुन् । उनको कवितामा मैले सधैँ अनुभूति गर्ने पाटो अभिव्यक्ति शिल्पमा बिछट्टै नयाँपन नै हो । सरल विषयवस्तु र कथ्यमा गम्भीर चाबुक दिनु साइबरको कलमको जग हो । यो एउटा कविको लागि (जो कोही लेखककै लागि) अपेक्षित गुण हो । यसैले समकालीन युवा कविहरूको भीडबाट कवि सुकोलाई नै अतिथिको रूपमा उभ्याउन मलाई लोभ लाग्यो । उनी हाल नयाँ कविताकिताब प्रकाशन तयारीका लागि कविताहरूको जोरजाममा लागेका छन् । निकट भविष्यमै उनको कृति आउँदैछ । त्यो उनको गन्तीको हिसाबले दोस्रो र एकल लेखनको हिसाबले पहिलो किताब हुनेछ ।
कविता लेखनमै समर्पित रहँदै आएका उनको एउटा ताजा कविता क्याफेमा प्रस्तुत छ :


Suko


हिँड्नुअघि

घामले पोल्न सक्छ
पानीले निथ्रुक्कै रुझाउन सक्छ

बाटोमा
धुलो उड्न सक्छ
बाटो
हिलो हुन सक्छ
बाटो हो
कसैले
नछोड्न सक्छ
कसैले
छेक्न सक्छ
कसैले
घचेट्न सक्छ
ठोकिन सक्छ
ठेस लाग्न सक्छ

हिँड्ने-नहिँड्ने
हिँड्नुअघि नै सोच्नुपर्छ

हिँडिसकेपछि हिँड्नैपर्छ

फर्कँदा
बाटो उही हुन्छ
तर
हिँड्ने मान्छे
बदलिसकेको हुन्छ ।

27 March 2010

सचित्र गोरखा

Sunset-@-Gorkha

गोरखा दरबार उक्लिँदै गर्दाको सूर्यास्त

 

Manaslu-Himalayn

अटेसमटेस गाडी, गर्मी उस्तै, मनास्लु हिमालले पङ्खा हम्किरह्‌यो

 

Risky-travell

देख्‍नमा मनमोहक, जोखिमयुक्त बाटो

Wonderful-Land

तरेली परेका खेतका गह्रा

 

Bridge-on-Istool-River

इस्तुल खोला तरेर

 

Aarughat-village

आरुघाट बजारमाथिको गाउँ

 

Gitti-kutdai-Aamai

आरुघाट बजारमा गिट्टी कुट्दै आमै

 

Putali-of-Arughat

नामै पुतली : आरुघाटकी पुतली

 

Village-women 

नियमित दिनचर्या

 

Peogen

यो देशमा म एउटा मानिस खोजिरै’छु : बिहानपख टोलाउँदै परेवा

 

Men-are-trying-to-ride-on-t 

सङ्घर्ष पाइलैपिच्छे : ट्रकमा चढ्न सकस झेल्दै धादिङको हनुमानडाँडानिर

26 March 2010

राराको सङ्लो पानी… (प्रेमबाहिर पत्रहरू)

Rara--Cafe
मा ऽ याऽ लु ऽऽ !!!

यो शब्द खर्चेर अब चिच्याउने छुइनँ म ।
मसँग आवाजहरू त छन्, तर त्यो आवाजमा ब्रेक लगाएकै सही । कम्तीमा अबको तिम्रो कानको लागि । तिम्रो कान परिवर्तनै त भएको होइन, अछुत झैँ व्यवहार किन गर्न लागेको भन्ने लाग्ला । सके अर्को टप वा रिङसम्म फेर्‍यौ होली ।

साँच्चि मैले उपहारमा थमाएको नाकको त्यो टिलिली फुली त कतै सेलाइसकेकी छैनौ होला है । त्यही फुलीमा तुकबन्दी मिलाउँदै तिमी र मैले साँझपखको सडकमा भाका हाल्थ्यौँ “मनभित्र के छ ठूली किन बोल्दिनौँ ?” … … 

त्यो गीति गुञ्जन त म अझै पनि कतै भीडमा रहँदा पनि हृदयको सन्दुकभरि तरङ्गिरहेको पाउँछु ।

“साह्रै कमलो मन भईकन पनि तिमी कडा छौ”, तिमीले ती दिनहरूमा त्यसै भनेकी रहिनछौ । अँ त, सम्झना साँगाल्ने कुरामा पनि म यतिन्जेल कडै रहेछु ।

तिम्रो भाका त मसिनो-मुलायम नै थियो, समयको यति टाढा पनि डोरिएर किन आउँछ हँ !?

अचेल प्रेमका कुरा गन्थनसिबाय केही लागिरहेको छैन । हेर न, फौजीको जस्तो रुखो र सिलसिलेवार जीवन छ । म त्यही जीवनको रिङमा रिँगटा छुटाइरहेछु ।

यो पत्रमा प्रेम हुनेछैन । र पनि हो त यो पत्र नै । प्रेमको घर न त बनाउने, न त केही कसैसँग आँखमिचौली खेलेर मन साट्ने, कुनै कुनासँग मितेरी साइनो नभएको यो पत्र कसरी हुनसक्ला प्रेमपत्र ? र पनि प्रेमबाहिर रही-रही पनि प्रेमको ताजमहल हेरेरै भए पनि आफ्नै छातीमा हलुका मुक्का हान्दै पत्रहरू लेखिरहिएकै छ क्यारे संसारमा । यो त्यस्तै एक पत्र – तिमीलाई ।

(के-के लेख्छु भन्थेँ, यसबेला केही नै पो शब्द फुट्न छाडे । अँ त, म अचेल अलि हुस्सु पनि हुँदैछु ।)

छोड्छु भन्छु, सुसेलीहरू ओठकै जोर चुल्ठोमा बाटिएर आउँछन् । अब त केही सोच्दिनँ भन्छु, झन् झन् गहिरिँदै गए जस्तो तलाउमा छाल उछालिइरहन्छ । र यसैले अचेल स्वतन्त्र छाडिदिने गरेको छु सबै कुरा । ध्यानविधिमा “आफ्नो शरीरको अनुभूति भोक्ता भावले होइन, द्रष्टा भावले अवलोकन गर” भन्ने तरिका पछ्‌याए झैँ सबै स्वतन्त्र हेर्ने गरेको छु ।

स्वतन्त्र यादहरू …
स्वतन्त्र मातहरू …
तिमीलाई त अन्दाजै सम्म पनि नहुन सक्छ । बाहिर रहेर पनि म कहाँ बाहिर छु र !?

೯  ೯  ೯

Swan3
प्वाँखहरू सबैलाई मन पर्छन् । नरम-न्याना भुवा । तिमीलाई पनि । मलाई पनि । तिम्री आमा पनि त बूढी भएर गल्न थाल्नुभो, उहाँलाई त झन् जरूरी । चिसोमा खेलेर हातको के बिरामी हुनुभएको होइन ?

प्वाँखले कति हेरचाह गर्छ है । रजहाँसले बच्चालाई पखेटामा लुटपुटाएर पागल हुन्जेल ममता दिएको कति इर्ष्यालाग्दो ! हामी मान्छे कति मात्रामा रजहाँस हुन सकेका हौँला !!? मान्छेले पनि बच्चाबच्चीको फोहोर हत्केलैमा थापेर फाल्दै घच्चीमच्चीको लामो यात्रा निर्धक्क पार गरेको देखेको छु मैले । म पनि त्यसै गर्नेछु । तिमी पनि गर्नेछ्‍यौ सायद । भन्न त हाँसोमा भन्नेगर्थ्यौ- “म त केटाकेटीले कल्याङमल्याङ गर्न थाले भने पाटपिट पारिहाल्छु !” तर भने जस्तो कहाँ हुन्छ र हजुर ? निकटता भन्ने कुरा मासुमा छाला टाँसिएभन्दा अझै तातोपन हो ।  सबैले भन्छन् । त्यस्तै लाग्छ यसो अनुभूतिमा बहकिँदा । अँ त, अलि बहकाइ चाहिँ बढी नै भएको होला सायद ।

मन खिच्ने लगाम किन हुन्न साथी ?

೯  ೯  ೯

“हदै दुब्लायौ दुब्ले, अलि मोटाउ न !” भाषणमा नेताको गर्जिएको गला जस्तो नाडीमा अस्वाभाविक फुलेर निस्किएका नसा छाम्दै तिमीले कति-कति भन्थ्यौ । रिसाए-रिसाए जस्तो त्यो झोक्काइ । तर पूरै मायाको जाममा लपेटिएको । तर सकिनँ । म मोटाउनै सकिनँ । नसक्नुको पीडा कस्तो हुन्छ भने, म झन् त्यो ‘दुब्ले’ भनाउँदो स्तरदेखि खस्किएँ क्यार ! मोटाउनु मेरो नियन्त्रणभित्रको कुरो पनि त थिएन । सकभर, म खानपानमा उत्ति ध्यान नदिने, कुनै काममा लागेँ भने अरू कुरातिर फिक्री नै नगर्ने मेरो बानीलाई एउटा स्याहारिलो लिक दिन खोजेकी थियौ । म लिकबाहिरै बुर्कुशी मारिरहेँ ।

उही छ सबै कुरा । देश पनि । नेताहरू कोही बदलिएका छन् । खेल उही जारी छ । पुस्ता-पुस्तापिच्छे सय जोडी प्रेमीहरू बदलिँदैमा प्रेम बदलिन्छ र ? त्यस्तै त हो देशको खेल । जसरी बदलिन्छ थाहै नपाई आफ्नो अनुहार, अनि पनि ऐना छुट्दैन साथबाट । हुँदो हो- “यो फेरिएको अनुहार पहिलेको अनुहारभन्दा कति दागयुक्त, कति बेदाग भन्ने लेखाजोखा बन्छ क्यारे हाम्रो जीवनसंसारमा । हामीले पनि त के-के कुरा साटिसक्यौँ होला जिन्दगीको हाटबजारमा । आफूलाई भनेर बनाएको बाटोमा कोही पसे झैँ ।

सङ्लो मन रारा तालको झैँ बनाउन कति-कति भाकलमा घोप्टिँदा हुन् है यो सांसारिक चक्रमा मान्छेहरू । तर आफैँ पालिस कहाँ पुछ्‌दा हुन् र कोही ? मैले पनि जुत्ता त खुब पुछेँ, लाग्यो- जिन्दगीको राजमार्गमा/प्रतिस्पर्धाको सर्कसमा यही हो असली अभिनेता । पुछिरहेँ जुत्ता , घोटेँ खुबै मस्का लगाएँ । तर फाटिजाने जुत्ता कतिबेर घोटेर हुन्छ र ? गन्ती-गन्ती फेरिँदै जान्छ एकपछि अर्को .. .. ।

तर मन त आजीवन रहिरहन्छ । त्यसलाई कतिपल्ट मस्काउँछौँ हँ हामी ?

೯  ೯  ೯

समय मध्यरातको बुइ चढिसक्यो । पत्र पढ्दै गरेका तिम्रा आँखाहरू पनि त थकाइले चुर भइसके होलान् ।
सधैँ पत्र लेख्दा भन्थेँ म, यो पत्रपछि फेरि कुनै पत्र लेखिन पनि सक्छ, नलेखिन पनि ।
यस्तै हो ।

मन हो कुन बेला बहकिन्छ, थामिन्छ ।

बाँधबिनाको तेस्स्सिमा हुल्याहा मन !!

22 March 2010

समाचारको सेरोफेरोमा बोल्ड म्यान कोइराला

Ktv3 “भोक लागेपछि त पेट्रोल पनि कस्तो फेन्टा जस्तै देखिएको !”
मेरो मुखबाट बजिहाल्यो ।  बेलुका ९ बजे अफिसबाट घरमा ड्रप गरिदिन हिँडेका थिए अफिसका ड्राइभर दाइ । चुहिन थालेको पेट्रोल भरिएको बोतल गाडीमा रहुन्जेल समाइदिन उनले अह्राएपछि मेरो भोक साटिँदै पेट्रोल फेन्टामा प्रतिविम्बित भएको थियो । बिहान होटलमा भात खाएपछि दिनभरि केही नखाँदाको नतिजा थियो त्यो । त्यसो त त्यस्तो भोक पुराण मामूली कुरा थियो । काममा डटेपछि भोक र तिर्खालाई तिलाञ्जलि कति दिनुपर्छ-पर्छ । बेपरवाहका साथ ।
यो थियो रातिको कुरा । यसो हुनुमा दिउँसोको खटाइको रनाहा कारक थियो ।
मार्च १९ शुक्रबारको त्यो दिन स्टान्डबाइ थियो न्युजरूम । काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको जस्तोसुकै अवस्थाको खबर सम्प्रेषणका लागि सबैजना तम्तयार थियौँ कान्तिपुर टेलिभिजनका हामी सदस्यहरू । कस्तो निष्‍ठुर पल र जिम्मेरवारीको तह, सिकारीले सिकार पर्खिए झैँ खासमा त हामी अस्वस्थ रहेका मृत्यु कुरिरहेका थियौँ । सुनिएअनुसार स्वास्थ्य संवेदनशीलता र हल्लाको मात्रा नै त्यस्तै थियो । साँझपख प्रधानमन्त्री माधवकुमार नेपालसहित मन्त्रिपरिषद्का सदस्यहरू कोइरालालाई भेट्न कोइराला उपचाररत छोरी सुजाता कोइरालाको मण्डिखाटारस्थित निवासमा पुगे । त्यसपछि त झन् स्थिति चरम संवेदनशील भएछ भनेर लख काट्न थालियो । नत्र राष्‍ट्र बैंकको गभर्नर र संवैधानिक निकायका प्रमुख नियुक्तिको निर्णय मन्त्रिपरिषद्ले गरिसक्नासाथै साँझको समयमा  हुल बाँधेर मन्त्रिहरू त्यता जानुको अत्यावश्यकता के थियो भन्ने लाग्नु स्वाभाविकै थियो ।

सम्साँझै ‘लाइभ’ रिपोर्टिङका लागि क्यामेरासहितको प्राविधिक र संवाददाताको टोली मण्डिखाटारतिर लाग्यो । रातिसम्म बेला-बेला कहिले टेलिफोन टक र कहिले लाइभ भिजुअलसहितको रिपोर्टिङ गर्दै रहे रिपोर्टरहरूले । गिरिजाप्रसादलाई राखिएको कोठामा बलेको बत्तीमा क्यामेरा फोकस गर्दै चित्त बुझाउँदै गरेका देखिन्छन् क्मामेरा पर्सन । भित्र जाने अनुमति र व्यवस्था छैन । खासमा कोइरालाको अवस्था के छ, चिकित्सकरूले गर्ने ब्रिफिङ्कै आधारमा बुझ्नुपर्ने बाध्यता छ । उपचारमा संलग्न चिकित्सकहरू फेरो हत्तपत्त निस्किने होइनन् ।  म भने स्क्रोल बार अपडेट गर्दै, बेलाबेला ‘फ्लास न्युज’ हाल्नुपर्ने जिम्मेवारी सम्हाल्दै अफिसमै तैनाथ छु । त्यो दिन त्यस्तै हल्का गाइँगुइँमै बित्यो । स्वास्थ्य खराब छ , सुधारोन्मुख नभए पनि स्वास्थ्यस्थिति स्थिर नै छ, कोइराला चिकित्सककै निगरानीमा छन्, नियमित दिइँदै आएको अक्सिजनको मात्र बढाइएको छ भन्ने जानकारी आयो । राति अबेरसम्म सम्भावित आकस्मिक खबर सम्प्रेषणका लागि मण्डिखाटारकै कोइराला निवास बाहिर संवाददाताहरू अड्डा जमाउने भए ।

भोलिपल्ट अन्य दिन पुग्ने समयभन्दा अलि बिहानै जिम्मेवारी सम्हाल्न पुगियो अफिस । शनिबारको दिन, धपेडी, कुदाकुद, कार्यक्रमहरू भइरहने, नेताहरूले बोलिरहने अन्य व्यस्त दिनभन्दा खबरहरूको चाप स्वत: कम हुने दिन हो । तर, विशेष सक्रियताबाट मुलुकमा संविधानसभाको चुनाव सम्पन्न गराई शान्ति प्रक्रिया र संविधान लेखनको कार्यमा नेतृत्वदायी भूमिका दिँदैआएका राष्‍ट्रिय राजनीतिका मूल खम्बा नै बिरामी भएको बेला अन्य दिनको झैँ तनाव थियो न्युज रुममा । जे पनि हुन सक्थ्यो, तम्तमार भएर बस्नु नै बुद्धिमानी थियो । कोइरालालाई राति पखाला लागेको र थप कमजोर भएको खबरहरू आउन थाले । राति कोइरालाको स्वास्थ्य नाजुक भएर छातीमा पम्प दिनुपरेकोसम्म हल्ला फैलियो । श्‍वासप्रश्‍वासको गति मन्द हुँदै गएकोले अक्सिजनको मात्रा शरीरमा कम भएको चिकित्सकहरूले बताउन थाले । सबै टेलिभिजन र रेडियोहरू कोइरालाकै स्वास्थ्यको सेरोफेरोमा घुमिरहेका थिए । सोझै कोइरालाको हाल चित्रण गर्ने पहुँच कसैको नभए पनि मिडियाहरूले कुनै न कुनै रूपमा ताजा विवरण छरिरहेका थिए ।

एकीकृत माओवादी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष बाबुराम भट्टराई, सरकारका मन्त्रीहरू, काङ्ग्रेस नेतागण आलोपालो आउँदै जाँदै गरिरहेका देखिन्थे । कोइरालालाई हेरेर/भेटेर फर्किएका तिनै नेताहरूसँग प्रतिक्रिया लिएर आम दर्शक स्रोतालाई आश्वास्त पार्नुभन्दा विकल्प थिएन ।  कार्यकर्ता एवम् शुभेच्छुकहरूको भीड पनि मण्डिखाटार निवास बाहिर बढ्दो थियो । “मैले दुई चोटि बोलाएँ, केही बोल्नुभएन”, प्रचण्डले प्रतिक्रिया दिए, “उहाँ जसरी पनि ठीक हुनुहुन्छ, देशलाई अझै उहाँको खाँचो छ । साथमा बाबुरामले पनि थपे । भेटेर फर्किएका युवा तथा खेलकुदमन्त्री गणेश तिवारी नेपालीले ‘आश भएको विश्वास नभएको’ रूपमा कोइरालाको स्वास्थ्यस्थितिलाई उल्लेख गरे । झन् के हो के हो भन्ने उदेक भो । बिहान ११ बजेतिर पछि खबर आयो, बिहान ५ बजेदेखि कोइराला अचेत छन् । पखालाको कारण कमजोरी बढ्यो । राति ११ बजेदेखि नै कोइराला अचेत अवस्थामा रहेको एभिन्युज टेलिभिजनले समाचार बुलेटिन र ब्रेकिङ न्युजमा प्रस्तुत गरिरहेको थियो । स्रोत थिएन विश्वास दिलाउने, चिकित्सकको प्रतिक्रिया कुर्नु नै आधिकारिकता र पत्रकारिताको आचारसंहितालेको कोरेको रेखा सम्झेर प्रतिक्षा गरियो ।

एभिन्युजले नै कोइरालाको निधन १२ बजेर ११ मिनेटमा भयो भनेर फुक्यो । पहिलो बन्ने होड कसरी फस्टाइरहेछ इन्डियन टेलिभिजन च्यानल जस्तै नेपाली च्यानलमा पनि । कोइराला खबर अपडेटमा सामेल हामी कान्तिपुरकर्मीहरूले हामीले अचम्म मान्यौँ । जे कुरालाई पनि बिनासोच र आफूले ब्रेक गरेको हो या होइन भन्ने समझ नराखी ‘ब्रेकिङ न्युज’ का रुपमा पिलिकपिलिक स्क्रिनमा छर्ने इन्डियन छ्यानल हेर्ने हो भने बेहोस भइन्छ । कति हो कति ब्रेकिङ न्युज !  केही छिनमा उसैले कोइराला पुत्री सुजाताले जानकारी दिएको भनेर खबर पुष्टि गर्ने प्रयास गर्यो । स्रोतको अभावका साथै चिकित्सकले क्लिनिकल्ली र अफिसियल्ली डेथ भएको घोषणा नगरी यस्तो संवेदनशील समाचार दिनु आचारसंहिता बाहिरको र जोखिममूलकअन्तर्गतकै कुरा थियो । काङ्ग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक मण्डिखाटारमै बस्ने समाचारले फेरि रन्थनी छुटायो । केही गडबड नै भइसकेको हो कि क्या हो ? हल्ला त पहिले-पहिले कोइराला बिरामी हुँदा पनि चल्ने गरेकै थियो- कोइराला गइसके भन्ने किसिमको । तर यस्तो बिरामी तारन्तार भइरहेथे कोइराला । एक त जीर्ण उमेर, त्यसमाथि रोगको भार । फोक्सोको सङ्क्रमण, पिसाबको पनि । अक्सिजनको सिलिन्डरबिना एक घण्टा टिक्न गाह्रो पर्ने भन्ने हिसाबले ठट्टामा पनि कोइराला छाए ।

अधैर्य प्रतीक्षाले आम जनमानसलाई त घेरिरहेकै थियो, त्यो भन्दा दायित्व र धर्मले खबर दिनुपर्ने हतारमा मिडियालाई जकड्याएको थियो ।  अन्तत: २ बजेतिर खबर आयो – कोइरालाको निधन । १२ बजेर १० मिनेटमा । काङ्ग्रेस केन्द्रीय समिति तथा चिकित्सकहरूको बैठकले गर्‍यो निधनको आधिकारिक पुष्टि । न्युजरूममा कम्प्युटर खिटखिटाइरहेकै थिए, इन्जिनियरिङ विभागका दाइहरू पनि न्युज कन्ट्रोल रुम (एनसीआर) मा मेसिन दबाइरहेकै थिए ।
तर कता-कता सन्नाटा भने बाक्लिँदै गएको थियो ।

शनिबारको फुर्सद तोडेर निस्किए कोइराला महाप्रस्थानमा । 
तल भोलिपल्ट २१ मार्च आइतबारका दिन भएको कोइरालाको शवयात्राका झलकहरू हेरौँ :

Gp-view3
 शवयात्रा आउने समय कुरिरहेका सर्वसाधारण

Crowd33
शवयात्रामा लस्कर डिल्लीबजार उकालोमा

Gp-corpse22
कोइरालाको पार्थिव शरीर लिएर अघि बढेको वाहन

Crowd23
पशुपति आर्यघाटतर्फ अघि बढ्दै शवयात्रा

20 March 2010

गिरिजापछि ?

गिरिजाप्रसादपछि के ?,  को ?  र  कसरी ?
प्रश्‍न जसरी पनि गर्न सकिन्छ ।
तर जवाफ दिन गिरिजाप्रसाद जस्तो निर्भीक र स्पष्‍ट अडान भएका मानक नेता नेपाली राजनीतिक मञ्चमा कोही छैन ।

शनिबारको फुर्सदिलो सप्‍ताहान्तमा नेपालीजनका साथै नेपालप्रति चासो राख्‍ने विश्‍व-जनमानसको मथिङ्गललाई बेफुर्सदी पार्दै मध्याह्‌न १२ बजेर १० मिनेट जाँदा काङ्ग्रेस सभापति तथा नेपाली राजनीतिका शिखर व्यक्तित्व कोइरालाको ८६ वर्षको उमेरमा निधन भयो । भोलिको राजनीतिक निकासको आशाका केन्द्र उनै थिए । मियोविहीन राजनीतिक आँगनमा अब जे पनि हुन सक्छ । भद्रगोल हिसाबले दाइँ चल्न सक्छ । ब्रेक नभएको जिब्रोधारी चालकहरूको बाहुल्य रहेको राजनीतिक रङ्गमञ्चमा आलोचना र आह्रिसको तहमा गिरिजाप्रसाद जतिसुकै हठी र एकोहोरो भन्ने रूपमा चित्रित भए पनि उनको त्यही हठ नै दृढ सङ्कल्पको प्रतीक थियो । जसले उनलाई परिपक्व नेतृत्वका रूपमा स्थापित गर्न विश्‍वासिलो गरी सबैसामु उभ्यायो ।

जीवनको आखिरी घडीमा राजनीतिक प्रतिष्‍ठा र सामूहिक नेताको छवि दाउमा राख्‍दै जोरबलले छोरी सुजातालाई मूलधारको राजनीतिमा लतारेर ल्याएकोमा अपजस खेपे पनि व्यक्तिपिच्छे फरक-फरक दसथरी  कुरा फेर्दै हिँड्ने उनको स्वाभाव कहिल्यै भएन । प्रजातान्त्रिक आन्दोलनको यात्रामा अथकित जुटेको नेपाली काङ्ग्रेस र त्यसमा पनि विगत ६ दशकयता अटुट रूपमा अग्रसर गिरिजाप्रसादको निर्विकल्प नेतृत्व माओवादीलाई शान्ति प्रक्रियामा मनाएर ल्याएपछि झन् चुलिएर आयो ।  लगातार ११ वर्ष पार्टी सभापति र पाँच पटकसम्म देशको कार्यकारी प्रमुख बनेका कोइरालालाई यही नेतृत्वमोहका कारण शक्तिमा रहिराख्‍न जोड गर्ने लालची नेताको रूपमा समेत छड्के आँखाले हेरियो । तर उनको त्यो विशेषतालाई उनी सधैँ सक्रिय रहन मन पराउने भूमिकाप्रेमी राजनेताको रूपमा हेर्नुपर्ने हुन्छ । नभन्दै गिरिजाप्रसाद जीवनको अन्तिम समयसम्मै नेपाली राजनीतिको चर्चा र चासोका बीच भूमिका खेल्ने सक्रियताबीचमै  छाइरहे ।

श्रद्धाञ्जलि नेपाली राजनीतिका यी शिखर पुरुषलाई !

17 March 2010

यस्तै लेखिएको रहेछ

स्ट्रेमा चुरोटजसरी निभ्न र चिसिन कसलाई पो मन हुँदो हो र ? बाफ छुट्ने कप हुन मन लाग्छ सधैँसधैँ । तैपनि बेमनको कुरा भइरहन्छ, दोहोरिरहन्छ । एउटा क्याफे कुनोमा कुनै एक्लो बेन्चमा खुट्टा लतारेर उसले आगामी यात्राको किरमिरे खाका कागती निचोरिएको मनले कोर्‍यो होला । यो 'ऊ' जो कोही पनि हुन सक्छ । 

कहिले व्यस्तताको जुम्राले लगातार टोकिरहन्छ, कहिले भने फुर्सदको हुल्याहा बारुलाले एकोहोरो डस्छन् । ठीकठीकै व्यस्तता, ठीकठीकै फुर्सद कहिले होला राजै जिन्दगीमा, मन तिरमिराउँदै नाच्छ प्रश्‍नको तख्तामा अक्सर ! यस्तै त हो जिन्दगीमा भनेर कहिले त मन बुझाउन मन हुन्छ, । मन बुझाउनु भनेको तृप्‍त हुनु कहाँ हो र आजकाल, यो त सम्झौताको एउटा तह हो । अँ त, आँखाको बिख मार्नैपर्ने हुन्छ, सम्झौताको काउछो गलैँचालाई मखमली सम्झेर त्यसमै गुडुल्किनुपर्छ । कर्मको लेखाले सधैँसधैँ साथ दिँदैन र कहिले त कर्मशील जीवनले पनि भावीको लेखामा अडेसा लगाउन खोज्छ । 

गडबडी आफूमा हुन्छ प्राय: , त्यसलाई मर्मत गरिन्छ, तर फेरि पनि गडबडी देखिन्छ । गडबडी आफूबाहेकको कुरामा, नियन्त्रणबाहिर हुँदा भने ज्यादा मुश्किल हुँदो हो है ! यस्तै मेसोमा निच मारेर बसेको हृदयको सन्दुक खिटिरखिटिर बज्छ, अथवा बोलिहालेछ भने पनि अनायासै ओठको गजबार तोडेर फुसफुसाइन्छ - यस्तै लेखिएको रहेछ । लेखाइका रेखीहरू कति-कति भाग्यको दाम्लोसम्म बाँधेर चित्त बुझाइएको हुन्छ, कति भने यही लेखाइ नै सबल पक्ष हो भन्ने किटानी स्वर बन्न सक्छ ।
कथा, कविता, गजलहुँदी पनि कहिले त मूल फुटेर ओइरिन्छन् यस्ता भावी र कर्मको संयुक्त लेखा ।



हिँड्नु एक्लै-एक्लै पैदल, यस्तै लेखिएको रहेछ 
कैले गल्छी कैले जङ्गल, यस्तै लेखिएको रहेछ ।

यात्राको लागि जोरजाम केही पनि पो गरिएन,
खुट्टै थियो बाक्लो चप्पल, यस्तै लेखिएको रहेछ ।

त्यसै बसुन्जेल न भोक थियो न खुराक थियो,
हिँड्नासाथै मिल्यो फसल, यस्तै लेखिएको रहेछ ।

भोको आँखाले मूर्ति भएर कुर्दारहेछन् भगवान्,
गरियो निकै भाकल, यस्तै लेखिएको रहेछ ।

आफन्तको साथ पाउन चटके झैँ रुँदारुँदै,
रुवाइ नै बन्यो अम्मल, यस्तै लेखिएको रहेछ ।

15 March 2010

पर्खाइको किनारामा डुबाउने साँझ

Arko-Sanjh2 साँझहरू कस्ता हुन्छन् ? पक्कै पनि अलि शीतल, मादक र भावयुक्त । ती, मन पराइने रूपमा अतीतका पलहरू स्मरण गराउँदै हामीमाझ लरबराउँदै आएका हुन सक्छन् । साँझ जस्तै मीठो र भावमयी कविताको परिकार चाख्‍ने इच्छा कवि रमेश क्षितिजको 'अर्को साँझ पर्खेर साँझमा' कविताकिताब समाएपछि शान्त हुन सक्छ । किताब पुरानो हो, २०५७ सालमा प्रकाशित । तर काव्यिक सुगन्धले उमेरको बूढोपन छोडेर जीवन्त संवाद गर्छ । लोरीको भाकामा कवितामा धुन खिप्‍न सिपालु कविले सरल अभिव्यक्तिशैलीबाट गहन अर्थ दिने बाटो समाएको देखिन्छ ।
शब्दजालका भद्दा संगठनबाट क्षितिजका कविताहरू परै बस्छन् र साउतीका स्वरहरू सुसेल्दै पाठकलाई सम्मोहन पैदा गर्छन् । 'आफ्नो कुरा' शीर्षकको भूमिका खण्डमा कविले लेखेकै पनि छन्- "अनुहार हराउनेलाई अनुहार दिने कलात्मक तर नि:शब्द ऐनाजस्तो होस् कवितामा विचार - मैले कामना गरेको हुन्छु ।" नभन्दै दुरुस्तै आफ्नो कामनाअनुरूप अनुहारसहित हाजिर भएका भेटिन्छन् कवितामा कवि । आत्मीयता पैल्याउन सक्ने कविको खुबी र कविताको गुणले होला, कविता पठनसँगै एउटा सम्बन्ध स्थापित भइसक्छ कवि र पाठकबीच । अझै, विम्ब र अलङ्कारहरूको घना उपस्थितिले कविताभित्र सङ्गीतिक लहर तरङ्गिएको आभास हुन्छ ।

हातमा लिएर हेर्दैछु
एउटा तस्वीरको पत्ती
र खेल्दैछु तर्कनाहरूको तास !
कि तस्वीरहरू कहिल्यै पुराना नहुँदारहेछन् ?
एक वर्षअघि सँगसँगै हिँड्ने
त्यो मायालु सोझो मित्र
भाग्यको गुलाम
कहाँ पुगेर के गर्दै होला ?
अङ्कअङ्क हिसाब गर्दैछु
थाहै नपाएर चिप्लिएछ एक वर्षको जोकर समय
- (तस्वीर, पृष्‍ठ २८)

कवितामा देश र समाजको चिन्ता र चासोजत्तिकै प्रगाढ रूपमा मानवीय मूल्य, अस्तित्वबोध र हार्दिकता अँटाएका छन् । त्यसै गरी प्रकृतिचित्रणमा पनि कवि निर्धक्क भई पोखिएका छन् । त्यस क्रममा बलियो औजारको रूपमा कलात्मकता प्रशस्त खर्चिएको पाइन्छ । उपमाको साथै खासगरी रूपक अलङ्कारको निकै जतनसाथ प्रयोग भएको छ ।

झम्‌झम्‌
जब पग्लिन्छ आँसु आकाशको
रुझेर पहाड सोचमग्न हुन्छ
उही अगस्त ९ सम्झिरहेको नागासाकीको
कुनै बूढो
राष्‍ट्रवादी नागरिक जस्तो
- (झरी, पृष्‍ठ १३)

३८ थान कवितामा हुलाकघर कविताशृङ्खला विशेष स्मरणीय छन् । पाँच शृङ्खलासम्म तन्किएका 'हुलाकघर' कवितालाRKshitijई कविले हुलाक  सेवामा जागिरे जीवन बिताउँदाको महत्वपूर्ण आम्दानी हो भन्दा हुन्छ । झरी पर्दा हुलाकघर सङ्कटमा परेकी अबला महिला जस्तो देख्छन् कवि, जहाँ हुलाकघरको छानाबाट निरन्तर चुहिँदै गरेको पानीलाई आँसुसँग दाँज्छन् उनी । त्यो आँसु बग्दै लतपतिएर 'सुन्दरी खामका आँखाका गाजले ठेगानाहरू' अस्पष्‍ट पार्ने कविले गरेको कलात्मक वर्णन र नौलो कल्पनाशक्ति निकै कलाकारी खुबीले ओतप्रोत भएको महसुस हुन्छ । सर्पजस्तो गुडुल्किएर सुतेको गोरेटो, कुम फाटेको गरिबी, बैरङ्ग चिठीजस्ता घुमन्ते, सूर्यास्तजस्तो जिन्दगी, खुम्चिएको सिरकको खोलजस्तै अनुहार, पहाडले मस्तसँग चुटोट पिएर धुँवा (बादल) उडाएको आदि प्रयोगले कवितामा बाँधिइराख्‍न सुनौला रेखी कोर्न सक्छन् पाठकलाई ।

कालो चश्‍मा लगाउने मान्छे
देख्छ - धमिला पहाड
अँध्यारो बाटो
र कालो अङ्गारको झरी
खाली कालो घाम देखेको उसले
देख्दैन- छेउबाटै
हिँडिरहेका कर्मशील कमिलाहरूको पङ्क्ति
र इन्द्रेनीजस्तो रङ्गीन जिन्दगी
(चश्मा, कालो-२, पृष्‍ठ ४७)

कलामा विचारको वेग मिसिएको स्वादिला कविता पढ्न रुचाउनेहरूको लागि रोजाइको एउटा नाम बन्न सक्छ रमेशको 'अर्को साँझ पर्खेर साँझमा' ।
फुटकर रूपमा प्रकाशित उनको कविता ‘पाण्डुलिपि हराएको दिन’ पढ्न यहाँ जानुहोला ।

14 March 2010

लोडसेडिङको बहार !!

धेरैजनालाई लोडसेडिङका कारण घरै अँध्यारो संसारै अँध्यारो लाग्छ । यस पङ्क्तिकार मनुवाको नजरमा भने लोडसेडिङको धारावाहिक बहार अति प्यारो जिनिस बन्न थालेको छ । यसो भन्दा चिया पसलमा सडकदेखि बिजुली र पानीसम्मको विकासे वार्ता हाँक्ने आदर्शका स्वघोषित ठेकेदारहरूको क्रोधको भोल्टेज एक्कासि 'हाइ' होला । तर यहाँ कसैलाई पीर पार्ने कुरा उछाल्नु छैन, बरु लोडसेडिङको कालो ओढारभित्र पनि सन्तोष मान्न सकिने आविष्कारिक उज्यालोको एकाध सूची धेरथोर सुझाउनु छ ।

उज्यालो एक -
मौलिकतामा जोसुकैलाई गर्वको अनुभूति हुन्छ, यही सत्य हो । जससँग मौलिकता हुन्छ ऊ नै आजको समाज अनि भीड-बजारमा अरुभन्दा विशिष्ट अनि अलग्गै किसिमको सम्पदाको धनी कहलिन्छ । प्रस्टै छ, हाम्रा धेरैधेरै मौलिकतामध्ये एक हो लोडसेडिङ । अतः हामी पनि विश्‍वबजारमा विशिष्‍ट छौँ भन्नेमा शङ्का छैन । अन्यत्र कतै छ र यस्तो दिनदिनै र छिनछिनै प्राप्‍त हुने अन्धकाररुपी सित्तैको लड्डु ? 

यसै कारण हाम्रो यो मौलिकतालाई हामीले माया नगरी हु“दै हुन्न । कारण, हाम्रो यही मौलिकता नै एकमात्र श्रीसम्पत्ति हो । आफ्नो स्थानीय पहिचान हो । गर्वलायक अरु केही उपाय नभएपछि कुनै एउटा बहानामा सन्तोष मान्नु सकारात्मक सोच पनि हो ।  

उज्यालो दुई -
यतिखेर सबैलाई न्याय र अवसरको समावेशी लहर चलेको छ । समान हक र समान रूपले बाँच्न पाउने अवसर । कसैले पनि आफ्नो कामबाट विमुख हुनु नपरोस्, लोकतान्त्रिक प्रणालीको मूल भाका यही नै हो । यस सवालमा चोर र लुटेराहरूलाई यो समान अवसरबाट पाखा लगाउने कुरै आउँदैन । किनभने ती बबुरा पनि त नागरिक हुन् । अतः उनीहरूको तर्फबाट समावेशी दृष्टिले हेर्न हो भने यो लोडसेडिङ बिछट्टै प्यारो छ । 

लोडसेडिङको महान् पर्वले सर्वत्र अँध्यारो छाएका बेला हाम्रा चोर र लुटेरा बन्धुहरूको मुहार भने हर्षले धप्प उज्यालो हुन्छ । अर्थात् अन्धकारले छोपेको ठाउँमै तिनको हातको सफाइले चमत्कारिक उब्जनी गर्न सक्छ । प्यारो लोडसेडिङ नभएको भए यो वर्गको अस्तित्व नै सङ्कटमा पर्दैनथ्यो ?

उज्यालो तीन -
देश विकासको मेरुदण्ड उद्योग र कलकारखाना हो । जसरी होस् उद्योग- व्यवसाय हाँक्नुपरेको छ । लोडसेडिङले उद्योग सञ्चालनमा कठिनाइ भएर मूलगेटमै ढ्याम्म भोटे ताल्चा लागेको खबर जिल्ला-जिल्लाबाट सुनिँदै आइरहेका छन् । तर यसमा घाटोको के नै कुरा ? लोडसेडिङका कारण सबै उद्योग एकपछि अर्को गर्दै धमाधम ठप्प भए पनि त्यही गतिमा मैनबत्ती, ढिब्री, टुकी, दियो इत्यादि उद्योगहरू खुल्न र चल्न थालेपछि औद्योगिक विकासले भरथेग त हुने नै छ । 

लोडसेडिङ हुन थालेपछि आंशिक पिलपिले उज्यालोले तिर्सना मेटाउन भए पनि सर्वसाधारणले मोबाइल फोनसेट किन्नाले त्यसको आयातबाट राज्यले गतिलै राजस्व संकलन गर्नसक्ने देखिन्छ । लोडसेडिङ भएपछि घरघरको मिटरमा पैसो पनि कम उठ्ने र बत्ती बाले पनि नबाले पनि सरकारले पनि निश्चित महशूल निःसङ्कोच लिन सक्ने भएकाले यसले त कमालको दोहोरो लाभ भएको छ ।

यसै सन्दर्भमा लोडसेडिङको तालिकाअनुसार देशका विभिन्न ठाउँमा झ्याप्प-झ्याप्प बिजुली निभाउने नयाँ काम पाउनेहरूलाई बेरोजगार समस्याबाट उन्मुक्ति पाएकोमा मुरी बधाई नदिँदा अन्याय नै हुन्छ । लोडसेडिङको बहारलाई धेरैधेरै बधाईको बहार !  

11 March 2010

सपनाको काटिएको प्वाँख

"हाई", 
च्याटमा उसले उताबाट टेक्स्ट ठेलेपछि चिमोटे जस्तो भयो, जुन चिमोटाइ म पर्खिरहेथेँ । 

ऊ युवती थिई, म युवक थिएँ, यतिले मात्र  रोचक लय हामीमाझ तरङ्गिएको थिएन । मादकता घोल्ने रसायन लैङ्गिक पाटोमा मात्र कहाँ लुकेको हुन्छ र ? कुराको मेलो अझ लम्बिँदै गयो । सुरुको चिमोटाइले अहिले भने उग्र रूप लिन थाल्यो । चिमोट्ने कुरा युवाहरूको साझा मुद्दा थियो : करिअरको दौडधुपमा बतासिएको जिन्दगीको रथ । ऊ आफूलाई त्यस्तै रथसँग तुलना गर्दै थिई । हे दैव, म पाङ्ग्रा थाम्ने ओटको ढुङ्गा बन्न सक्ने कहाँ त्यस्तो थिएँ र ?

चलनचल्तीको बोलीचालीमा हेर्दा सात समुद्रपारिको  दूरी हामीमाझ फैलिएको थियो । कुरै गर्ने हो भने त एक झलक देखेको सम्म छैन उसलाई । हो, तस्बिर दर्शन गरेर भने  उसको केशका जरीजरीसम्म गाडिएको जीवनको तनाव नापेको छु मैले । बेलाबेला अनलाइनमा म भावनाको पसल खोल्छु । बेलाबेला इन्टरनेट आकाशमा ऊ भक्कानोको भाका टाँग्छे । बेलाबेला उसको लीला म बुझ्दिनँ । बेलाबेला मेरो पागलपनमा ऊ पिठिउँ फर्काउँछे । म उसको दु:खलाई  आफ्नै दु:खमा रूपान्तर गरेर कस्तो अध्याय गाँस्दैछु आफ्नो जीवनमा, पटकपटक अलमलिन्छु । 
खासमा यसो सोच्दा अलमलैको घुम्ती त हो नि यात्रा । स्पष्‍ट चित्र देख्‍नलाई त जीवन कुनै भिजुअल मेसिन वा चित्रकला हो र ? यसैले यो अलमल मलाई प्रिय छ क्यार ! यसैमा अभ्यस्त हुँदैछु ।

ठीक यतिखेर भने  उसको पढाइ र कामको समानान्तर जीवनरेखाको साक्षी बस्न पुगेको छु । यसरी संघर्षमा हेलिने संसारमा ऊ मात्र एक्ली नमूना होइन । कतिपय चरम सास्तीमा जीविकाको मेलो हाँकिरहेकाहरूको अघि उसको धाईधपेडी नगन्यै होला ।  तर भोक्ताको रूपमा उसले बाँचिरहेको पल  नितान्त दुर्लभ हो । परदेशिनुको पीडा त उसले च्याटमा कोरल्दै गरेका अक्षरहरूमा रगताम्मे झल्किरहेको देख्‍दै थिएँ म । स्वदेशमै उसले जीवनलाई प्रयोगशालाको रूप दिएर हेरेकी नै हो । प्रोजेक्टमा काम गरी । मिडियामा टस बसाउन खोजी । राजधानीको निसास्सिँदो हाँडीमा ऊ पड्किएकी नै हो । नत्र ठेट्ना मकै झैँ उछिट्टिएर ऊ कहाँ विदेश पुग्थी र ? जिल्लाबाट आएर  राजधानीमा बाफिँदै संघर्ष गर्दा सबै जना फूल मकै झैँ भरिपूर्ण हुने ग्यारेन्टी कहाँ हुन्छ ? नत्र  साँझ-बिहान दाजु-दिदीको 'भान्से बज्यै' भएर अनि दिनभर अफिसमा फाइलको चाङसँग खेल्दै लोथ हुँदा पनि किन उसको जीवनले ढुक्कको किनार भेटेन ?

खर्च गरेर र अनेक योजना बनाएर देश छाडेपछि त्यहाँ हण्डर खाए पनि हत्तपत्त रित्तो हात फर्किन नसक्नुको पीडा कसले बुझ्ने ? उसले जस्तै सयौँ युवाले भोगेका छन् । नेपालबाट बाहिर कतै नजाउन्जेल विदेशमा त पैसाको रुख फलेको हुन्छ कि जस्तो मानसिकताले हाम्रो टोल-समाजमा डेरा जमाएको पाइन्थ्यो केही समयअघिसम्म । अलि खर्च धान्न सक्ने र पढ्ने समेत योजना बनाउनेले यूके, अमेरिका, अस्ट्रेलिया ताके पनि नेपाली युवाको ठूलो बाढी कतार, मलेसिया, साउदी अरबको भुङ्ग्रोमा सेकिएको छ । रोजगारी र जीविकाको नयाँ मेलो भेट्ने ध्याउन्नमा । जानेमध्ये कमैले मात्र राम्रै गरी हरियाली भेटेका छन्, कोही नराम्रोसँग पीडित छन् ।

"म त्यसै त आउँदिनँ  नेपाल । नेपाल आएर पनि के गर्नु ! त्यहीँ हुँदा ट्राइ त उहिले नै मारेकी हुँ  केही गर्न ।", च्याट बक्समा अर्को लाइन खरर्र सरेको देखियो । म नाजवाफ । साथीमा म साथीसम्म पनि हुन नसकेको हुँ कि ? संविधान निर्माण र शान्ति प्रक्रियाको बेटुङ्गोमा अनिर्णयको बन्दी बन्दै गरेको देशभित्र संघीयताको राजमार्गमा अनेक थरी मनपरी 'पार्किङ' जातीयता र समूहको नाममा । झन् झन् विकराल अवस्था, राजनीतिक कचिङ्गल र तमासा खेल । यस्तो स्थितिमा बाँकी रहेका केही 'बीउ' युवाहरू पनि कतातिर पलायन हुन जाऊँ भनेर वाक्कदिक्क भएको बेला म कसरी उसलाई यही अस्तव्यस्त भन्ज्याङमा फिर्ता बोलाउन सक्थेँ ? केही गरूँ भन्ने सोचको भाँडो खिया नपरी रहन गाह्रो होइन निकै गाह्रो छ । विदेशमा रहँदा पनि अपेक्षा गरेजस्तो प्रगति हुन नसक्दा उसको सपना भरिने आँखामा आँसुको तह जम्छ । त्यसमा पौडी खेल्छन् व्यथाका मन नपर्ने भ्यागुताहरू । कहिले स्वदेश सम्झिन्छे  र सम्झिन्छे गाउँको घरमा अगेनुछेउ सपरिवार बसेर दाउरासँगै गफको अगुल्टोसमेत जोर्दै र आगो ताप्दै भात पकाएको । कहिले सम्झिन्छे आत्मीय स्वजनका प्यारा अनुहार । र विदेशको अत्याधुनिक सहरको फ्ल्याटमा भक्कानोमा पग्लिन्छे । उसले निराशा र उपायनास्तीको हाल पोखिरही ।

२६ वर्षीया युवतीमा यति बेचैनी ! बुढेसकालमा मुजा पर्न बाँकी उनको निधार अहिले नै ढाकिएला कि भन्ने चिन्ताले मलाई गलायो । उसलाई सहारा दिन त के सक्थेँ, फकाउनसम्म पनि शब्दको अभाव भयो । काठमाडौँमा हालैको दिनमा बढ्दो तापक्रममा उसको गरम उच्छ्‌वास पनि मिसिएर झन् तातो महसुस गरेँ । त्यतिबेलै  अनलाइन गफलाई 'यस्ता जैरै कुरा' भन्ठानेर बरफ-कुल्फीतिर मोडिने चिसो मन पनि आफूसँग भएन । एकोहोरो र निष्फल लगावमा बाँधिइरहेँ । न समाधानकारी उपायले उनको कान फुक्न सकेँ , न उनीबारे 'All is Well' भनेर आफ्नो छातीमा थपथपाउँदै ढाडस दिन सकेँ । एउटा जलनमा म सलाइको काँटीमा रुपान्तरित नभएको भए जिन्दगीको तावामा जल्नु कुन चरीको नाम हो, थाहा हुने थिएन ।

धन्न उसले डक्टर, पाइलट हुने त्यस्तो ठूलो सपना बुनिन । नत्र सोच्दासोच्दै, गर्दागर्दै आफ्नै आँखाअघि सपनाको काटिएको प्वाँख देख्‍दा ऊ मूर्च्छा पर्ने थिई सायद । कम्तीमा अहिले दुखेको दिमाग भए पनि होसमै त छे ! यहाँ, यसबेला त होसमा साबुत रहनु/रहन पाउनु नै भाग्यको कुरा छ !
यो सायद उसले बुझेकी छ ।

08 March 2010

हेलु ऽऽ हेलु हेलु ऽऽऽ सुनिस् काठमाडौँ !! ?


क महिनाअघि गोरखा जिल्ला पुग्दा 'काठमाडौँ कता हो हे राम' भन्ने आपतले कहिल्यै छोपेन ।  गोरखा काठमाडौँदेखि टाढा पनि त होइन ।   तर काठमाडौँमा जीवनचर्याको आठ वर्ष लामो रथ हाँक्दा पनि कहिल्यै एक झमट देख्‍न नपाएको दृष्यले गोरखामा हाम्रा आँखालाई 'भाग्यमानी' तुल्याए झैँ गर्‍यो । गुणस्तरीय सेवा दिनमा हुतिहारा भईकन पनि निर्लज्ज बनेका दूरसञ्चार कम्पनीको सास्ती खेप्दै रुखहुँदी र घरको माथिल्लो तलामा  'नेटवर्क'को खोजीमा भौँतारिने सर्वसाधारण उपभोक्ताबारे त बेलाबेला सञ्चार माध्यमहरूबाट सुनिएकै थियो । तर जिउँदो प्रमाण मिलेको थिएन आँखैअघि । त्यो जुट्यो गोरखामा ।  सीडिएमए प्रविधिको फोन गाउँको कुना-कन्दरासम्म पुग्दा सञ्चारबाट वञ्चित जनताले निकै राहत त पाएका छन्, तर सेवाको उपभोग तिनले सही र पूरा रूपमा लिन सकेका छैनन्  निश्‍चय नै । विदेशतिर खेलाएर-थोत्र्याएर फ्याँकेको प्रविधि कठैबरा केही नदेखेका भेंडा जनतालाई के‍-के न हो भन्ने चमत्कारमा सजाएर बाँडे झैँ भान हुन्छ ।

यही तस्बिरमा पनि त बूढा बा पसलबाट बाहिर सडकछेउ निस्किएर चिच्याउँदै उताकालाई आफ्नो कुरा सुनाउन र उताको कुरा सुन्ने मिहिनेतमा डल्लो पर्दै चिच्याउँदैछन् । मानौँ भनिरहेका हुन् मोफसलबाट 'फसल' राजधानीलाई ती बूढा बाले - "ओइ काठमाडौँ, सुनिस् बज्जे !? अझै सुनिनस् ? कहिले सुन्छस् हे दैव !"

07 March 2010

परिवर्तन

"हिजोसम्म जो रोईरोई बाँचिरहेका थिए
आज तिनै हाँसीहाँसी मर्न तयार छन् …"

 
क्याम्पस प्रवेशको कलकलाउँदो बेला थियो त्यो । नेपाली विषयको कक्षामा युगकवि सिद्धिचरण श्रेष्ठले ठाडै हमला गरे कवितामार्फत । युवा जोस र पखेटा आकाशतिर उचालिएको सोच भएर होला , त्यो बलशाली कविताले आफूमा निकै तरङ्ग पैदा गर्यो । 'परिवर्तन' शीर्षकको कविता थियो त्यो । अहिले परिवर्तनको सामयिक गन्तीको आँधीवेहरी पार गर्दै आफैँ समेत परिवर्तित रुपमा आइपुग्दा पनि कविता भने मानसपटलमा बाफिइरहेकै छ अझै ।

परिवर्तनको आफ्नै चरण हुन्छ परिवर्तनको वहाबलाई बुझ्ने विभिन्न बाटो हुन्छन् । कुनै प्रत्यक्ष त कुनै घुमाउरो रेखा । मैले भने त्यही छोटो कविताको रापबाट परिवर्तनको तापक्रम नापेँ होला ।

बलिदानको वेग र त्यसैमार्फत विद्रोहको ज्वरोलाई कवितात्मक डिग्रीले नापेका छन् कविले यसमा । यसपछि पनि कविता तन्किएर अघि बढ्छ तर मलाई भने यही दुई हरफ यादगार छ । रोईरोई बाँच्नुको बन्दी विवशतालाई हाँसीहाँसी मरेर नामेट पार्न चाहन्छन् जनता ।

परिवर्तन चाहिन्छ - समाजमा देशमा विश्वमा । अझ चलनचल्तीको भाषामा भनिन्छ "परिवर्तन हुनुपर्छ ।" नेताजीहरुको ब्रेक नभएको जिभ्रो यो गर्नुपर्छ र त्यस्तो नगर्नु फजुल हो भन्दै नानाथरी कुराहरुको किनारमा फड्कारिए जस्तै परिवर्तनको नारा पनि जथाभावी बतासिइरहेछ । भुराभुरी नेताहरु टोल समाज र घरघरमै छ्यासछ्यास्ती जन्मिएका छन् ।

परिवर्तनको रन्कोले त पछिल्लो समय सिङ्गो मुलुकलाई नै छोएको हो । सिरमा हुनेहरु बल्ढ्याङ खाएर एकैचोटि पाउमा झरे, सडकका मान्छे शासक भए । सोझो रुपमा जनमानसले बुझ्दा ठूलै बदली आयो राष्ट्रिय मौसममा । तर लुगा धुने धोबीले आफ्नै रीतमा लुगा धोइरह्यो लुगा सुकिरह्यो आफ्नै ढङ्गमा । परिवर्तनपछि लुगा धुने मान्छेले लुगै धुन छाडेर उपरखुट्टी लगाउन पाउनुपर्छ भन्ने होइन । धोबीको कोठामा धाराको टुटी जोडिन नसक्ला एउटा कुवा त बनोस् । तर तर परिवर्तनको आभास सबैले उपरखुट्टी लगाएर 'परमानन्द गर्ने' रुपमा बुझ्न चाहे, यस्तै फल ग्रहण गर्न इच्छा राखे ।  


सबैलाई लाग्दो हो- म यो भन्दा बढी गर्न सक्छु चाहन्छु । खोइ मैले उडान भर्ने आकाश यो साँगुरो बाकसभरिको आयतन मेरो होइन । म सुन्निएर पड्किजाने बेलुन होइन तर सधैँ उस्तै सुकेनासमा ठोस रहिरहने बेमौसमी काँक्रा पनि होइन । लाग्दो हो यस्तैयस्तै … । तर के त बन्द बाकसदेखि बाहिर चिहाउन परिवर्तन भनिँदो ती ज्वालामुखी विस्फोटबाट कुनै चिरा फुटेको छ
 

परिवर्तन भन्नु बिहानको चटनी-भात र बेलुकीको भात-चटनीको उल्टापुल्टामा मापन गर्नुपर्ने अवस्था छ । दैनिक उही रुटमा उही लोकल बसको शरणागत भई कार्यालय धाउनु । दैनिक उही भात होटलको बेन्च तातो पार्नु । दैनिक 'केही गरौँ' भन्ने हाकिमको थेगोमा अभ्यस्त हुनु । दैनिक सहकर्मीहरुको निरपेक्ष सङ्गतिबाट न साथ भइएको न विरानिएको अनुभूतिमा टोलाउनु । दैनिक 'अब त छुट्टी त भो' भन्ने बोलीमा हाइ काढ्दै चिसिएर कार्यकक्षबाट ओरालो झर्नु ।
 

परिवर्तनको भुलभुलैयामा हामी जिन्दगीको राजपथमा चक्रपथभन्दा टाढा कतै मोडिन भ्याएका छैनौँ । चक्रपथको उही भाउन्न पार्ने चक्कर । सीमित ।