September 25, 2008

आह् ! बिदाका ती दिनहरू...

लड्दा उठ्न हामी किन हतार गर्छौँ ? एकछिन भुइँमै बसेर थकाइ मार्दा हुन्न र ?
- म्याक्स इस्टम्यान
भगवान्‌ले समय बनायो । मान्छेले हतार बनायो ।
- आइरिस उखान

यस्तै हो हतार । फुर्सदलाई एक इन्च पनि छेउ पर्न नदिने राक्षसी तुजुकका हतारहरू । मान्छे आज जम्मै हतारहरू उचालेर जिन्दगीको सडकैसडक दौडिएको छ । बिदाको केस्रा नङ्ग्याउँदै चौरमा मुङ्फली बदाम कुटुक्क टोक्न आफैँलाई अनुमति नदिने प्रावधान छ । पटक्कै फुर्सदको माग छैन, चाख छैन । बरु अझ अरु हतारहरू चाहिएको छ । यो हाम्रो हतार आफ्नै सम्भावित सुखसयल र सन्ततिको हरियोभरियो 'प्लेटर्फम' जगेडाको लागि तुन्द्रुङ्ग टाँगिएको सेतो गलैँचा हो । जसलाई आकार दिनु छ, रङ भरिरहनु छ । जबसम्म त्यो सेतोपन निक्खर कालो हुँदैन । र यस्तो धडाधड पेन्टिङको धपेडी जिन्दगीभर चलिरहने प्रक्रिया हो भन्ने यो युवा चेतनामा पनि ज्ञान अपरम्पार बनेको छ ।
बिदाको औचित्य व्यस्त कामकाजी ज्यानलाई बिछट्टै हुन्छ । त्यसो त, गोठ र गुँडहुँदी घुँडा धसेर बतासको पल्ला तौलिँदै बस्ने पशुपन्छीलाई पनि आराम चाहिन्छ । पापी यही शरीरै त हो ! यही शरीरले माग्छ धेरैथोक, सबथोक । भोक माग्छ, सन्तोक माग्छ । लामो चक्करको एउटा स्टेशनमा विराम माग्छ, यात्राक्रममा आराम माग्छ । तर धन्य विवशता ! शरीरले आराम खोजेको बेलामा पनि फुर्सदको टेको दिँदैन । यो धेरै हदसम्म मान्छेको लोभी मनको उपज हो, जति जोरजाम-सङ्ग्रह गरे पनि पुग्दै नपुग्ने-भरिँदै नभरिने अघोरी सन्तोक ! बाँकी केही हदसम्म धपेडीको यो संसार अनिवार्य आवश्यक्ता/विवशता नै हो । अहिले धपेडी नगरे भोलिको जिन्दगीमा ब्रेक लागिहाल्छ ।
चाडपर्व आउँछन्, पारिवारिक-सामाजिक उत्सवहरू दैलामा झुल्किन्छन् । तर हाम्रो धुन अर्कै हुन्छ, अर्कै बनाइरहनुपरेको हुन्छ । हतारैहतारको यस्तो धुनले अचेल चाडबाड पनि वास्तविक रसमा मनाइने चलन घट्दै गएको पाइन्छ । अरु त अरु, निक्खर परम्परा र संस्कारको मेलो समाउने गाउँघरतिर पनि चाडपर्वको रौनक सट्याकसुटुक औपचारिकतामा सकिभ्याउने रोग सल्किसकेको छ । आँगनमा अनुहार देखाउने बजारु लहर सामाजिक रहनसहनमा छिरेको छ । वर्षदिनमा झुलुक्क एकफेरा नाति-नातिनालाई च्यापेर देखापर्ने छोरा-बुहारीले बा-आमाको सातपत्रे अनुहार पनि मजाले नियाल्नसम्म भ्याउँदैनन् । हत्त न पत्त फर्किने पोको-पन्तराको मेलोमेसो सुरु भइसक्छ । धन्य सम्बन्ध !
आजका मेसिनम्यानहरूलाई बिदा मनाउनलाई फुर्सद छैन । आराम गर्न फुर्सद छैन । शरीरका पार्टपूर्जालाई फिटिक्कै विश्राम छैन । अनेक भोगीचेती गरेर पनि शरीर रहे पो संसार रहन्छ भन्ने युक्ति हामीमा घुस्दैन । एउटा आफ्नै सम्झौटो छ । किशोरवयमा म घरमा छँदा ममी तेलको कचौरासँगै मायालु रिस पोख्‍नुहुन्थ्यो-'जीउले पनि स्याहार खोज्छ, बेलाबेलामा यसलाई पनि पोषण दिनुपर्छ, हेर तेल सोसेको....!' म नुहाएपछि वा अरुबेला पनि जीउ र टाउकोमा तेल लगाउन मतलबै नगर्ने । ममी भने त्यही कुरामा करकर गरेर तेल लगाउन बाध्य पार्ने । मलाई टाउको दुखिराख्थ्यो, सान्त्वनापूर्ण माया पाउने आशले ममीलाई सुनाउँथे । ममी चाहिँ म पढाइलेखाइमा मात्र एकोहोरिने कुरामा दिक्किँदै 'तैँले कहिल्यै तेल लगाउन जानेको भए पो, खालि झोक्रिएर पढेको छ अनि त सबै टेन्सन निधारमा सोहोरिएर टाउको दुखिहाल्छ नि !' भनेर स्नेहमिश्रित बोलीमा सातो खानुहुन्थ्यो । भने यस्तो छ हामीलाई हाम्रो शरीरको (बे)वास्ता । मनाएको बिदा पनि हामीले कस्तो मनाइरहेछौँ ? कसरी मनाइरहेछौँ ?
काम त गरिँदै गइन्छ, यसको पाङ्ग्रामा ओट हालेर अँड्याउनु सम्भव छैन । तर बीचबीचमा फुर्सदको लुब्रिकेन्ट्सको प्रयोगले काममा तात्तिने प्राणमय कोषलाई केही ताजगी मिल्नेथियो कि ? कुनै किताब होला मनले सोचेको तर पल्टाउन बाँकी …। कुनै सङ्गीत होला अधिक रुचाएर पनि सुन्न छुटिरहेको…। कुनै ठाउँ होला सपनामा झस्काइरहने, जसलाई नटेक्दा हाम्रो पैँताला बाँझै रहिरहेको होला…। कुनै साथी होला, आफ्नै ढुकढुकीजत्तिकै कमलो गरी बजिरहेको र पर्खिरहेको । बिदाका दिनमा तिनलाई मुटुभरि अँगाल्न पाए कति सार्थक हुनेथ्यो दुवै पक्ष ! सोचौँ है…।
सेप्टेम्बर २२, २००८ (नक्साल)

September 22, 2008

आन्दोलनको रन्को : खिचडी राजधानी !







* तस्बिरहरू : मनबहादुर बस्नेत ।

जगदीश अवतार : संक्षिप्त आराधना

यस पुस्तकको विक्रीबाट प्राप्त सबै रकम जगदीश घिमिरे प्रतिष्ठानको अक्षयकोषमा जम्मा गरिनेछ र प्रतिष्ठानको मूल उद्देश्यअनुरुप रामेछापका अति विपन्न जनताको अत्यावश्यक स्वास्थ्योपचारमा खर्च गरिनेछ ।

२०६४ सालको मदनपुरस्कारविजेता कृति अन्तर्मनको यात्राको पेटबोली हो यो ।
आत्मालापको नयाँ विधागत चिनारी स्थापित गर्ने तोडका साथ आएको उक्त संस्मरणात्मक/आत्मकथात्मक कृतिका लेखक हुन् जगदीश घिमिरे । स्वास्थ्यकै कारण यो लेखियो, स्वास्थ्यकै लागि यसलाई समर्पण गरियो । स्वास्थ्यकै कारण यो लेखिनुमा कति पीडादायी यात्राको चरण पार भएको छ । कम्ता दुःख र अनुभव-अनुभूतिको धारमा खारिएर निस्किएको छैन यो कृति । मल्टिपल माइलोमा नामक रक्तक्यान्सरबाट गिजोलिएर 'अब मसँग धेरै समय छैन' भन्ने आत्मचेतना सँगालेको थिलथिलो ज्यान अस्पतालको बेडमा पीडापूर्ण कोल्टे फेर्दाफेर्दै ल्यापटपमा जीवनकथा लेख्न बस्दा के-कस्तो अनुभूतिसाथ औँला खिटखिटाउला ? पढेपछि लफक्क भिजाउँछ ।

आजसम्म मान्छे भइनँ कि भन्ने बोधले पाठकलाई झकझक्याउँछ र मानवताको परिचय एवम् विशेषतासाथ जिउन प्रेरित गर्छ । मैले पनि पढुन्जेल किताबको तिक्खर विषयवस्तुको आनन्दसँगै त्यसको असरले आत्मसमीक्षाको टर्रो झोललाई मुखभरि खेलाइरहेँ । पुरस्कार नपाउँदैको किताब पढ्नुको गर्विलो मजा बेग्लै थियो । हातमा सूली-नली उनेर अस्पतालको बेडमा पल्टिँदा मृत्युसँगको साक्षात्कारबाट उनी कहालिँदैनन्, बरु अनेक सत्यको बोध र उद्‌घाटनमा उनको दिमागी फित्ता घुमीघुमी दार्शनिक बोलीको मह काढ्न एकसुर बन्छ । सार्वजनिक तथा दैनिक बोलीव्यवहारमा स्पष्टवादी लेखकले आत्मालाप कृतिमा मृत्युको घेरा छुँदै सत्य ओकलेका छन् । त्यो सत्य विगतदेखि बगेर आफ्नै सामाजिक, राजनीतिक र पारिवारिक परिवेश तथा मानवजीवनका विविध सन्दर्भमा खुलेको छ । जसलाई साबित गर्न लेखक नै साक्षी भएर उभिएका छन् ।

जीवन बुझ्ने आँखीझ्याल होइन, अन्तर्मनको यात्रालाई त सिङ्गो ढोकै भनिदिए हुन्छ । त्यति सघन ताप उनले शब्दमा भरेका छन् । मर्मस्पर्शी आख्यान र सटीक व्याख्यानको चपैचेप लेखकले एउटा सार्थक किताबको गोरेटो कोरेका छन् । आफ्नो जीवनको उकालीओरालीलाई शब्दमा सम्याउँदासम्याउँदै उनी जीवनदर्शनकै मेहेरो केलाउन पुग्छन् । जस्तै, पुस्तकभित्र भाव, स्वभाव, स्ववास्तविकता शीर्षकको सातौँ परिच्छेदमा जगदीशका हरफहरू छन्-
व्यवहार मान्छेको स्वभाव हो । स्वभावको गहना नम्रता हो । नम्रता हीनता होइन, नम्रता अहङ्कारहीनता हो ।
कसैले अहङ्कारीलाई उसको व्यवहारको कमजारी बारे सङ्केत गर्‍यो भने (कसैलाई पनि सङ्केतभन्दा बढी गर्न गाहारो हुन्छ, अहङ्कारीलाई त असम्भव हुन्छ) पहिलो, उसले स्वीकार नै गर्दैन । दोस्रो, सुधार्नै चाहँदैन । कदाचित् स्वीकार गरेर सुधार्न चाहिहाल्यो भने पनि समय लाग्छ । समस्या त्यो हो ।

तर समस्या समस्यामा हुँदैन । समस्या मान्छेमा हुन्छ । समस्या मान्छेको अ
हङ्कार, मूर्खता र स्वार्थमा हुन्छ । समस्या तब हुन्छ, जब मान्छेले आफ्नो समस्या आफूमा होइन अरुमा देख्छ । समस्या तब हुन्छ, जब मान्छेको समस्या हेर्ने दृष्टि नै समस्या हुन्छ । समस्या तब हुन्छ, जब मान्छेले आफू मात्रै जान्ने छु भनी ठान्छ । अनि त्यसको समाधान हुँदैन ।
किताब पढेपछि लाग्यो, यो नपढेको भए त मेरो अध्ययनयात्रा अधुरै रहने रहेछ । नसोचेको स्वाद घुटुक्क पिलाइदिएको थियो कृति अन्तर्मनले । लेखकको गुदीहरफ २३५ पृष्ठ मा फैलिँदै गर्दा कतै पनि झिँजो लागेन । १८ परिच्छेदको किताब युवाहरूलाई आधुनिक महाभारतको १८ पुराण भन्न मन लाग्यो । सारै जतनसाथ शब्द चलेका छन् भुतुक्कै पार्नेगरी । यसरी मैले भनिरहँदा प्रशंसाको भकारी ठड्याएको लाग्न सक्छ । कति प्रशंसा तान्ने खुबी रहेछ किताबको, कतै निस्तो पो छ कि, यसको लागि एकपल्ट यो किताब अवश्य पढ्नोस् । लेखकको आफैँसँगको कुराकानी अर्थात् आत्मालाप यस कृतिको अध्ययन गरेमा लेखकको भावना अर्कोसम्म पुग्ने हुँदा लेखकलाई त लाभ छँदैछ, पढ्नेले पनि पुस्तकको अन्तिम पृष्ठ पल्टाउँदासम्म आफूमा मलिलोपन लिएर निस्किनेछ । यो पक्का हो ।

जगदीशको यो किताब पढुन्जेल मदन पुरस्कारको झस्को पनि पसेथ्यो । अर्थात् कतै यही कृतिले त उम्काउने होइन नेपालको नोबेल पुरस्कार ! यतिको मिठासे किताब नपढेको जुग बितेथ्यो । त्यसो त पुरस्कारै नपाए पनि किताब जनजनको मनमा बसेर अलग्गै आस्थाको उचाइमा पुगिसकेको हुनेथ्यो । पुरस्कारले त लेखकीय भावना र जिम्मेवारीको सम्मान मात्र गर्ने हो । पुरकार पाउने लहरमा सञ्जीव उप्रतीको उपन्यास घनचक्कर र डा गोविन्दराज भट्टराईको समालोचनात्मक ग्रन्थ उत्तरआधुनिक विमर्शको चर्चा पनि उर्लिरहेकै थियो । प्रकाशन तिथिमा पनि तीनै कृति २०६४ कै घेरोमा रहेछन् । त्यसैले सम्भावनालाई ठूलो ठाउँ थियो ।

पढ्नलाई सकस लाग्दालाग्दै पनि घनचक्कर उपन्यास आफ्नै मान्छेको हातबाट उपहार पाएकाले स्नेहवश तानिएर पढेको थिएँ । त्यसैले चर्चामा आएको र पुरस्कारको दाबेदार उक्त किताबको वजन आफ्नो हेराइमा बनाउन पाएको थिएँ । प्रयोग र विषयवस्तु प्रस्तुतिमा उपन्यासकार उप्रेतीलाई सराहना गर्नुपर्छ, तर मनले राम्रो किताब भने र पटक्कै मान्यता दिएन घनचक्करलाई । उता डा. भट्टराईको पुस्तक रुखो विषय समालोचनाको भएकाले त्यसले पुरस्कार लैजाला भनेर पटक्कै लागेको थिएन । सर्वत्र चर्चामा जगदीश र अन्तर्मनको यात्रा नै थियो । एक हिसाबले 'क्वेश्चन आउट'को स्थितिजस्तो । भविष्यवाणी गरेजस्तै भयो, अर्थात् अन्तर्मनको यात्राका जगदीशलाई मदन पुरस्कार । तिम्रो अमरता साबित भइसक्यो जगदीश !

सेप्टेम्बर २२, २००८ (नक्साल)

नालायक जिन्दगी (निबन्ध)

ड्कलेर बाँच्नुको स्वाद किन-किन खल्लो लाग्दोरहेछ । बेलुकाको निम्ति बाँच्ने चाहनाले बिहान खल्लो बनिदिन्छ । भोलिका निम्ति बाँच्ने चाहनाले बेलुकी अमिलो बनिदिन्छ । अमिलो स्वाद पनि हिजो-आज पृथक् लाग्न थालेको छ । एउटा सिङ्गो दिन आशा, आक्रोश र निराशामा रुमलिन्छ । भनिँदै आएको प्रगति अथवा अवनति सिद्धान्तले कोपरेर छ्‌याकटे बनेको अनुहार लुकाएर ङिच्च कसैका अगाडि कृत्रिम हाँसो हाँसिदिनु दैनिकी बनेको छ । बाँच्नुको अर्थ खोज्नु जति आर्दश हो, त्योभन्दा बढी दुसाध्यकर । सबै कुरा मानिसका लागि कहाँ स्वीकार्य हुन्छ र । सूत्रहरू, सिद्धान्तहरू त केवल गतिलो बहाना हुन् । हेर्दाहेर्दै सम्झौता गरेर बाँच्नेहरूले नै जितिदिन्छन् जिन्दगीको दौड । पुरस्कार थाप्छन्, घाँटीमा माला पहिरिन्छन्, प्रमाणपत्र थाप्छन् र जिन्दगीभरि त्यसैको ब्याज खाएर बाँचिदिन्छन् ।

थाहा छैन । पृथक् बाँच्नका लागि यो सहरमा कसैको अनुमति लिनुपर्छ अथवा कुनै सम्झौताको फारम भर्नुपर्छ । सारा समय यसैगरी बरबाद भइरहेछ मानिसहरूको— फाराम भर्दाभर्दै, लाइन लाग्दालाग्दै, हस्ताक्षर गर्दागर्दै अथवा नागरिकता र आफ्नो मूल्याङ्कन-सर्टिफिकेटको फोटोकपी गर्दागर्दै…। अब्बल दर्जाको बन्नुका निम्ति कति धेरै सूत्रहरुको जङ्गलमा पस्नुपर्छ । थाहा छैन यो कुरा मानिसले कहाँबाट सिक्यो । हाम्रा धेरै यस्ता व्यवहारहरूको जन्म कसरी भयो भन्ने कुरा हाम्रो लागि न रुचिको विषय हो न खोजको । सायद थाहा पाउँनुको पनि त अर्थ छैन । जीवनमा थाहा नपाइकन धेरै प्रयोगहरु हुने गर्दछन ।
कहाँ गएर के हुन्छ ? केही सिक्नेमा नाममा, केही जान्नेका नाममा जिन्दगी झनै सूत्रहरूले सीमाबद्ध बन्दैछ । समयसँग दौडिन नसक्नु जिन्दगीदेखि भाग्नु हो कि के हो भन्ने मलाई थाहा छैन । थाहा नपाईकन नै हामी कति धेरै कुराबाट प्रतिबन्धित छौँ स्वतन्त्रताको नाममा । मेरो घरअगाडि बस्ने माग्ने मान्छे कसरी स्वतन्त्र हाँसिदिन्छ, सडकछेउमा वा कहीँ-कतै सुतिदिन्छ । सारा जीवनका परिभाषाहरू उसकाअगाडि कसरी लम्पसार परेर आत्मसमर्पण गरिरेहछन् । हस्ताक्षरमा चलेको मानिसका सिङ्गो व्यवहारहरू । कागजमा कुँदिएका योग्यताहरू । सबैलाई भ्रमहरू प्रिय लागेपछि जीवनका सर्वमान्य सिद्धान्तहरू आफैँ किनारा लाग्दा रहेछन्, भनौँ बाटो फेर्दारहेछन् । कुन दिन जीवनका सिद्धान्तहरु पनि कोशीले जस्तै पुरानै बाटोमा हिँड्न खोज्ने हुन् र सारा मानिसहरू परिवर्तनको सिकार हुनुपर्ने हो थाहा छैन । त्यो दिन मेरो घरअगाडि बस्ने माग्ने के गर्ला ? उसले कति सजिलै सिङ्गो दिन काटिदिन्छ ।
विधि र व्यवस्थाहरू, नियम र कानूनहरू र विश्‍वासका सारा पर्खालहरू उसका अगाडि कति साह्रो अर्थहीन छन् । बेपर्वाह, बेमतलव ऊ माग्नका लागि कुनै कुइरेसँग अङ्ग्रेजी बोलिदिन्छ । कोही नेवारसँग नेवारी बोलिदिन्छ । उसका लागि योग्यताका सारा मापदण्डहरू ढोंगसिवाय केही होइन । केही दिनअघि पशुपतिको मन्दिरपरिसरमा एउटा फुच्चे केटो कसरी जोडसँग चुरोट तानिरहेको थियो । सायद उसले शिवजीलाई चुनौती दिइरहेको होला । त्यो उसको भ्रम हो कि के हो ? मलाई थाहा भएन । यद्यपि सारा मानिसको पशुपतिप्रतिको आस्था उसको अगाडि कति निरीह बनिरहेको थियो । अनुहारभरि हतासा बोकेर अफिसबाट घर फर्कंदा त्यो मगन्ते मलाई जिस्काएझैँ गर्छ । त्यो क्षण मेरो लागि सर्वाधिक अप्रियकर र बेस्वादको लाग्छ, गान्टे मुलाको टङ्लङ्ग झोलजस्तो ! सायद त्यो मेरो भ्रम पनि हुनसक्छ । यद्यपि भ्रमहरूले जिस्काएको मलाई कत्ति मन पर्दैन । तर सबै कुरा स्वीकार्नुपर्छ, नचाहेर पनि । भागेर पनि के गर्नु !
म आफूलाई असल प्रमाणित गर्न सारा शक्ति खर्चन्छु । प्रमाणपत्रहरूको जोहो गर्छु, तालिम लिन्छु । अरुका अनुभवहरू सुन्छु । महान् व्यक्तिहरूका जीवनी पढ्छु । गोष्ठी र सेमिनारहरूमा भाग लिन्छु । जब सफलताहरू भाग्छन् अथवा म आफूलाई प्रमाणित गर्ने काममा चुक्छु त्यतिखेर मेरा सबै प्रयत्‍नहरू मीठो भ्रम बनिदिन्छन् र मलाई गिज्याउँछन् । त्यही एउटा केटो र माग्नेको बाँच्ने प्रयत्‍न मेरा लागि कहीँ-कतै आदर्शजस्तो बनिदिन्छ । कहिलेकाहीँ यस्तो लाग्छ, यो दुनियाँ नै योग्यताको परीक्षामा असफल भएको छ र हामीजस्तालाई परीक्षामा फेल गराएर आफ्नो असफलताको क्षतिपूर्ति गर्न चाहन्छ । म नालायक बनिसकेको छु र महत्वाकांक्षाको पर्खाल बिस्तारै अग्लिँदैछ । घाम र छायाको सम्बन्ध कस्तो फिक्का लाग्दैछ ! अहो, बिस्तारै अँध्यारोले घेर्दैछ ।
जीवनमा कहाँबाट शून्यताबोधको थालनी हुन्छ र कहाँबाट मृत्युबोधको थालनी हुन्छ भन्ने प्रश्‍नको जवाफ खोज्नु छायालाई धोएर समय बरबाद गर्नुजस्तै हो । वाइरन भन्छन्- जो महान् उद्देश्यका लागि मर्छ, उसको हार कहिल्यै हुँदैन । तर वाइरन सत्य छैनन् । मृत्युपछि हार र जीतको के अर्थ रह्‍यो र ! त्यसोभए मानिस हार्नकै लागि जन्मेको हो त ? हार्नु ठिक कि सम्झौता गर्नु , थाहा छैन । थाहा नभएका धेरै कुराहरुमध्ये यो पनि एक हो । त्यो माग्ने हार्दैछ कि जित्दैछ ? जबकि जीवनका सारा सूत्रहरू उसकोअगाडि लम्पसार परिदिन्छ ।

चितवन, हालः काठमाडौँ ।

September 16, 2008

"स्रष्टाहरूमा साहित्यिक भाइरस छन्" - कुमार नगरकोटी

फूलाई फिक्सन डिजाइनर भन्न रुचाउने कथाकार कुमार नगरकोटीसँगको वार्ता यसपाली ब्लगमा राख्ने सोच बन्यो । बिछट्टै भिन्नै विषय र शिल्पसहित आख्यानमा कलम चलाइरहेका उनका कुरा साहित्यप्रति चाख राख्‍नेहरुका लागि रुचिकर होला भन्ने लागेको छ । 
उनी रुटिनमा बाँधिदैनन् । परम्परागत बाटोदेखि विरक्तिएर अफबिट सोच्छन्, र सकेसम्म अफबिट नै बाँच्न रहर गर्छन् । कुनै फिल्म वा उपन्यासको पात्र जस्तै अजीवको चरित्र ! जो सुत्छ मसानघाटमा र  मृत्युसँग जिस्किँदै ब्युँझन्छ भट्टी अर्थात् उनकै शब्दमा - दारुमहलमा ।  सास फेराइको लयमा सिगरेट फुक्नु उसको अम्मल । तर ऊ हो अक्षरको धुरन्धर व्यसनी !
यो अन्तर्वार्ता उनको लेखाइको सुर र साहित्यिक मान्यता थाहा पाउन सहयोगी हुने ठानेको छु । यसले नगरकोटी खासमा के रहेछन् र उनलाई नै वार्ताका लागि रोजाइमा किन पारिएछ भनेर उनका सिर्जना खोजीतर्फ नयाँ पाठकहरुलाई हुटहुटी पक्कै जगाउनेछ । यहाँ पढ्नुस् उनको "पृथ्वी..." शीर्षकको एउटा कथा । 

उनका अरु कथा पनि खोजेर पढ्नुस्, नेपाली कथासाहित्यमा नयाँ आयाम खुलेको पाउनुहुनेछ ।
प्रस्तुत वार्ता त्यही पठनको लागि घचघच्याइ र सङ्केतपाटी मात्र हो :

September 15, 2008

सहरमा एउटा खेलाडी

CaFe मा यसपाली अलि भिन्नै चकचक गर्न मन लाग्यो । ब्लगिङ सुरु गरेयता आफ्नोबारे धेरै लेखियो, छिपछिपे भए पनि आफ्नो विचार पोखियो । यतिखेर हेर्दा त ए रात्तै ! हदै आत्मकेन्द्रित भएछु कि जस्तो लाग्यो । हुन त पढेर-सुनेर पनि अरुको कुराकन्था त जान्नबुझ्न पाइएकै हो । त्यस मानेमा अन्य विषय एवम् वस्तुकेन्द्रित पनि धेरथोर बनिएकै हो । तर ब्लगमा (आफ्नो तर्फबाट) अरुको विचार खनिखोस्री गर्ने प्रयास त यतिन्जेल शून्य नै रहेछ ।
साहित्यिक अभिरुचिका कारण साहित्यलाई बढावा दिनमा CaFe लाई बढ्तै खटाउँदै आएको बेहोरा त के खुलाइराखूँ, जे छ देख्‍नुभएकै छ । त्यसबाहेक समाज, संस्कृति, सामयिक सन्दर्भसँगै आहारविहारका मौसमी गफहरू त बेलामौकामा चुटिने नै भए । तर पत्रकारिताको विद्यार्थी भएका नाताले ब्लगकर्मलाई त्यसको लागि किन उपयोग नगरुँ भन्ने पहिल्यैदेखि लागिरहेको थियो । त्यो सोचलाई लेखिन लागेको यो व्यक्ति-फिचरसँगै उद्‌घाटन गर्दै मलजलको थालनी गरेको छु । यो अभ्यासक्रममा कत्तिको कच्चा विद्यार्थी भएँ, छुट्याउने जिम्मा तपाईँको ।
***
पोष्टसँगै रहेको ज्यानदार काँटको तस्बीर हेरेर धेरै अड्कलबाजी हुन सक्छ । तर आवरणमा नजाँदै वेश । उसै पनि हामी बाँचिरहेको यो समाज र समय आवरणको ऐना नियालेजत्तिकै अनि त्यही देखिएअनुसारकै सादा हिसी बोकेको कहाँ छ र ? र पनि मनको तुलबुल न हो, एउटा अनुमानको आँकडा त खिचिएर बसिहाल्छ ।
लाग्न सक्छ, कुनै चमत्कारिक रेकर्ड राख्‍ने आर्मीम्यान (कतै लाहुरे नै होस्) वा कोही बोल्ड फिगरवालाको नालीबेली खोतलिन लाग्दैछ ।
अथवा, लाग्न सक्छ, कुनै बडी बिल्डर वा रेस्लरसँगको जम्काभेट यसपाली पन्च (घात) जत्तिकै भुतुक्कै पार्नेगरी लेखिँदैछ ।
हो सही हो, हुनलाई उनी खेलाडी नै हुन् । तस्बीरका दुई खरो हुलिया हेरेर पनि प्रस्टै थाहा हुन्छ, उनको हात कतिविघ्न चलायमान कौशलको छ ।
उनी खेलाडी नै हुन् - तर अक्षरका पक्का खेलाडी । त्यो फिटिफिटी चल्ने हातका औँला पनि औँठीको घेरामा पर्न मात्रै होइन, अक्षरको खेती गर्नमा तुलबुलाउँछन् । अर्थात् शब्दशिल्पी कुमार नगरकोटी ।
सहरमा उनी 'छुपारुस्तम' कथाकार मानिन्छन् । तर औधि इष्‌र्यालाग्दो लेखनशिल्पका धनी । जमघट र चर्चाको लस्करभन्दा बाहिर उनको एकान्त आफैँसँग नयाँ-नयाँ संवादबाट विश्‍लेषण र चिन्तनको जरा पहिल्याइरहेको हुन्छ । उनी गहिरिन्छन्, 'कति सीमासम्म ख्याति कमाउने भन्नेमा लेखकको रचना नै उसको हस्ताक्षर र परिचय हो ।' यसैले उनी प्रचारप्रसार र आम भीडमा चलमलाउन जरुरी देख्दैनन् । 'चर्चा पाउन २०-२५ वर्षै लाग्छ भने पनि के भयो, त्यो धैर्यता सँगाल्न लेखकले सक्नुपर्छ', उनको कर्मशील गान हो यो । चल्तीको कफी सप, साहित्यिक गोष्ठि तथा सभाहरूमा उनी दुर्लभ भइदिन्छन्, जहिल्यै । साहित्यकारहरूको माझमै उनी अपरिचय लिएर यात्रारत छन् । दुर्लभ बनिदिएर मान्छेहरूमा आफूबारे जिज्ञासा र रौनकता सिर्जना गरिराख्‍ने यो उनको चाल त होइन ? 'मेरो प्रकृति नै यस्तै', दार्जिलिङमा लीलालेखनको जपमा उँघिरहेका अग्रज इन्द्रबहादुर राईको कथासिर्जना 'ऊ त्यसरी बाँचेको छ त्यसरी नै' को पात्रजस्तै कुमार प्रस्टिन्छन् ।
समाचार म्यागेजिनभित्र साहित्य स्तम्भको एक कुनामा वा अन्य साहित्यिक पत्रिकामा कुमारका कथा पढिरहँदा उनी यति सजिलै भेटिएलान् भन्ने यस पंक्तिकारलाई अन्दाज थिएन । मानौँ अर्कै ग्रहमा बसेका यिनी इलेक्ट्रोनिक प्लेटमा खरर्र जादुगरी ढाँचाले लेखिभ्याएर पृथ्वीमा बेलाबेला तरङ्ग फैलाउँथे । तर, थोरै चासो जनाउनासाथै सोचेभन्दा सजिलै कुमार उपलब्ध भइदिए र यो भेटको कथा सम्भव हुँदैछ ।
नयाँ सोच र खोज भएका युवाहरूको एउटा जमातमाझ उनको 'हाइ फिगर' कस्तो छ भने उनको नाम देखेर मात्रै पनि बजारबाट सिङ्गो पत्रिका हारालुछ हुन्छ । 'अलि बेग्लै छु म', आफ्नै हेराइको ऐनामा उनको प्रस्ट कथन हुने गर्छ । यसलाई उनको परिचय र आत्मगौरव नै भनिदिए हुन्छ । उसो त प्रत्येक मान्छे आफैँमा मौलिक र अतिरिक्त प्याकेजको मांसपिण्ड हो । यो शाश्‍वततालाई हीनताबोधमा पिल्सिएरहेका जीवनहारा कुनै 'आइटम' ले मात्र नकार्न सक्छ ।
माउसुली, मेटाफिजिक्स, अरुको फूल, त्रि्रो मृत्युको समाचार, खप्पर... उनका कथाका केही शीर्षकहरू । कुमार नगरकोटीबारे एक थोप्लो नसुन्ने-नजान्नेहरूलाई पनि यसैले पुष्टि गर्ला, उनी केही न केही बेग्लै छन् क्यारे !
***
खेल्नलाई उनी कुनै जमानामा मैदानमै उत्रिन्थे । 'स्कूल पढ्दा गुरुहरूको नजरमा फुटबलको कुशल खेलाडी थिएँ', ओठका केस्रा पल्टाउँदै उनले स्वादिलो स्मृति पस्किए । पस्किनलाई अझै धेरै बाँकी छ । कोही मान्छेलाई विधि पुर्‍याएर चलाउनु मात्र पर्छ, अनारका दाना छोडिएजस्तै आफैँ बुरुरु खुल्न थाल्छन् । कथाकार कुमार यस्तै सजिला-रसिला 'मनुखे' हुन् कि 'रिजर्भ' बनौटको पत्रेदार दिमाग ? यस सवालमा, नितान्त नयाँ अनुहारहरूबीचको जम्काभेटमा औपचारिकतालाई चिर्दै अनौपचारिकताको खुला मस्कामस्की इलाकामा पस्नु कत्तिको सकसपूर्ण कार्य हो, म बुझ्दैछु ।

यतिखेर राजधानीको शङ्खमूल क्षेत्र मन्द भाकामा अस्तित्वको मन्द हावा खाइरहेको छ । जीवन आफ्नै गतिमा चल्छ, हतार के छ ? सामुन्नेमा CaFe ब्लगका सिकार उनै कुमार (अविवाहित रहेको हकमा संयोगले अहिलेसम्म उनी नामअनुसारकै कुमार) मन्द भाकामा चुरोट फुकिरहेका छन् । राजधानीको इनोभेटिभ इङ्लिस स्कूलका अङ्ग्रेजी शिक्षक यतिखेर पढाउन होइन 'पढिन'लाई हाजिर भएका छन् । कुमारसँगको भेटमा मिसिनलाई उनका एकजना फ्यान पनि साथमा छन् । कथाकारका कथाहरूमा स्वप्निल यात्रा गर्नमा मगनमस्त हुने फ्यान सामुन्नेमा साक्षात् कथाकार उभिएको पाउँदा आफैँलाई हराएझैँ देखिन्छन् । स्कूलका भुराभुरीलाई भर्खरै घरतिर लखेटेर हाम्रो चिया-वार्ताको निम्तारु हुन आएका 'माड्साब'का लागि साथमा ल्याएको तयारी प्रश्‍नका बिटा नखोले पनि पुगेको छ । अब उनी आफैँ खुल्दैछन्, आँखाको सो-केसलाई एक फाँको धुवाँले धमिल्याउँदै मन खोल्ने धुनमा उनी देखिए- 'जीवन साँच्चै विसङ्गत छ, म त्यही विसङ्गतिलाई आफूमा स्वागत गर्दै रमाएर बाँचिरहेछु ।'

जीवन मात्र विसङ्गत छ कि मृत्यु पनि ?
यो प्रश्‍न केही क्षणमा राख्‍ने सोचमा छु । भर्खर त जीवन फक्रियो, यसैलाई एकछिन लरबराउन दिऊँ ।
थुरथुर काँप्दै यिनी जन्मिए, डिसेम्बरको जाडोमा, काठमाडौँको महाराजगञ्जमा । यो थियो १९७४ को घटना । उनले माया पाएनन्, आमाको । आमाको माया पर्खिएर बसिराख्‍ने माया हुँदा पनि त होइन, जीवनको यस मोडमा आएर सारीले न्यानो र गहकिलो बन्ने आमाको स-सानो काखे झोलुङ्गोको अन्तरकथा सायद बुझ्दैछन् उनी । आमाको रुपमा अर्की महिलाको स्याहारले उनी लाठे भए । धन्य हुन् ती कर्म दिने धाई आमा ! ती आमाको कथा पनि साथसाथै आफ्नो जीवनसँग हिँडिरहेको रोचकता उनीसँग छ ।

भएछ के भने, घाँस काट्न गएकी ती आमा सामान्य भीरमा नराम्रोसँग लडिछन् । त्यहीँ तिनको प्राणपखेरु उडेछ । 'अहिले केलाइहेर्दा तिनीसँगै मेरो सबै ग्रहदशा पनि अलप भएछ जस्तो लाग्छ', एकोहोरा धमिला आँखा 'लाखलाख प्रणाम है' भनेझैँ भाँतीमा झिमिक्क पार्दै कुमारले सुनाए । हुन पनि थाहा पाएदेखि आजको मितिसम्म उनलाई सामान्य ज्वरो अनि रुघामर्की समेत के हो, केही थाहा छैन । आफ्ना कथामा ज्वरो वा सर्दीको कथानक आएर त्यो अनुभूति दिनुपरे कसरी व्यक्त गर्दा हुन् ? त्यसैको लागि हो सायद, कहिलेकाहीँ त आफूलाई पनि ज्वरो आओस् जस्तो लाग्छ रे उनलाई ।
***
अन्तर्मुखी हुनलाई के-के पृष्ठभूमिले काम गर्नेरहेछ, उनकै जीवनका भूतपूर्व अध्यायहरू पढेमा थाहा हुन्छ । आमाको आंशिक पाठशालामा कुबेलामै एक्लो बेन्च हुनु उनको जीवनमा पहिलो 'प्राप्ति' छँदै थियो । त्यो प्राप्ति कस्तो भने, पोल्टो भरिनुको साटो काँडैकाँडाले चाल्नो बनेर आफ्नै आङ रगताम्य भएको कटु अनुभूति उनले भोगे । ३ दाजुभाइमा माहिला उनले पुलिस स्कूलको होस्टेलमै कुथुर्किएर एस्एल्‌सीसम्मको कडा पढाइ पूरा गरे । त्यही कडापनले उनी पनि कडा हुँदै आफैँमा लीन एकसुरा ऋषि हुँदै आए । फर्केर हेर्दा जीवनमा बहिर्मुखी भएर अरुमा वित्थै बाँडिएनछु भन्ने पछुतो हुँदैन यी कुमारलाई ? 'आफैँलाई जिस्काउँदै र केलाउँदै सबै रहर मेटिँदै आएछ' किलकिले च्याप्प खाएको टाईको नोट खुकुल्याए- मानौँ गलामै गाँठिएर बसेको छ उमेरभरिको रहस्य, 'जे-जस्तो छु यसैगरी आफैँसँग बाँच्दै आएँ ।'

आठ कक्षादेखि उनले साहित्यमा कलम तिखारे । अन्ततः कविताहरू लेखे, हिन्दी गजलहरू कति लेखे कति, अनुवादमा रमाए । तर उनको प्रेम र प्राप्ति सबैसबै कथामै र कथाबाटै भयो । विश्‍वसाहित्यको अध्ययनसँगै तीव्र चेतना आर्जन गरेका उनी त्यही फराकिलो चेतनाको खुराक नेपाली पाठकलाई पस्किँदैछन् । उनको नियमित दिनचर्याको खुराकको कथा भने बेग्लै छ । रुटिनअनुसार उनी कहिल्यै खाना खाँदैनन् । नेपालीहरू उसै पनि 'भाते ज्यान' भनिएर जगत्‌मा कहलिएका छन् । कुमार मात्र अपवाद हुन् कि ? 'भोक लागेपछि जति नै बेला पनि केही खिच्रिङमिच्रिङ खाइन्छ, तर बिहान-बेलुका यति बजे खाने भनेर रुटिनअनुसार चल्दिनँ', अरु त अरु लगातार खाइरहनुपर्ने चुरोटको अम्मलमा पनि खाने रुटिन बसाल्न सकेका छैनन् उनले । पोटिला गाला मुस्कानको तहसम्म पग्लिन दिँदै बोले- 'भात २-३ दिनमा एकचोटि खान्छु ।' अनि नुहाउन मन लाग्यो भने मध्यरातमै पनि उठेर नुहाइदिने !

उनले प्रेम क-कसको पाएछन् ? घुँडाको पाङ्ग्रा धुल्याउने जीवनको करिबन् जम्मा ६० किलोमिटर मोडहरूमा नागबेली चाल मार्दै गर्दा सङ्गति नै सङ्गतिको चाहले मान्छेको मन पिल्सिरहेको हुन्छ । यस्तोमा प्रेम कुन मोडको चौतारी भएर बसिरहेको हुँदो हो ? 'जीवनमा सङ्गति नै सङ्गति असम्भव कुरा हो,' कथामा पात्रलाई हिँडाएजस्तै आफूलाई लिक दिएर हिँडाउनमा बुझ्झकी छन् यी कथाकार । सङ्गतिहीनताको नमूना उनी आफैँ हुन्, विद्यार्थीका रूपमा एकदिन कलेजमा मुख देखाएका उनी त्यसपछि कहिल्यै कक्षाकोठामा छिरेनन् । जेजति आर्जन भयो सबै स्वाध्ययनको कमाइ । र पनि स्नातकसम्मको डिग्रीको प्रमाणपत्र उनको दराजको शोभा बनिछाड्यो । अनि प्रेम ? यस प्रश्‍नमा, पाठकको प्रेम नै काफी छ भन्ने बूजो उनले ठेलिदिएमा बढी हुँदैन ।

आफैँलाई माया गर्नु, यो समाधानकारी सत्य उनले जानेका छन्, अझै दार्शनिक पंक्तिको एक झोक्का छ- आफैँलाई माया गर्न नसक्ने/नजान्नेले अरुलाई माया गर्दैन । यसै दर्शनको बुइ चढेर उनको आत्मकेन्द्रित प्रेम माउतेझैँ ठीकठाक गतिमा जीवनको ३४ औँ हात्तीसारमा परिभ्रमण गर्दैछ । अरु कसै(आफ्ना मानेका)लाई गर्दा पनि, प्रेम आज, झिँजो बनिदेला र प्रेमको सांसारिक आत्मिक पवित्रता विडम्बनामा परिणत होला भन्ने भयले सायद उनी सतर्क भएका हुन् । प्रेम आजको हतारिँदो दुनियाँमा भावनाको बोझिलो डोरीपासो बनेको छ । उपभोक्तावादी संस्कृति बजारको भीडभाडबाट मान्छेको आत्मामा सरेको छ, प्रेम पाउनु कुनै जागीर पाउनु त होइन नि ! अनि कहाँ प्रेम ? प्राप्ति/गराइ)का लागि हुटहुटी !
एकान्तमा आफ्नै धुन सुन्नु/सुन्न पाउनु सौभाग्यको कुरा हुन्छ । कम्तीमा ढाँट्नु पाइँदैन र पर्दैन, र त्यो पापबाट जोगिन्छ मान्छे । सत्यवादीको लगनशील परीक्षामा अभ्यासरत हुन्छ, आत्माको उत्तरपुस्तिकामा । फेरि जाँचकी पनि आफ्नै हुनुपर्ने चुनौती ! सधैँ आफैँमा केन्द्रित भएपछि अन्तर्मुखी मान्छे आफैँसँग निहुँ खोज्ने रहेछ । कुमारलाई पनि त्यस्तै हुन्छ । 'निहुँ खोज्ने आफ्नै सिर्जनशील पाटोमा हो,' अब आफ्नै हिसाब मिलाउने धुनमा उनी मिसिए, 'प्रतिस्पर्धा अरु कसैसँग नभई आफैँसँग हुन्छ, सुरुको आफ्नै शैली र विचारसँग प्रतिस्पर्धा भएर लेखक माझिँदै जान्छ ।'

यिनका कथा डेड बडी, घाट, मलामी, लाशघर, चिहान आदि जीवनइतर प्रसङ्गमा ज्यादा नै तानिएको हुन्छ । प्रायजसो कथालाई असरदार मोड दिनमा इतिहासका र मरिसकेका पात्रहरू नै प्रमुख भूमिकासाथ आएका हुन्छन् । र तिनमा आफैँलाई रुपान्तरण गरेर कथाकार कुमार कथामा हिँड्छन्, कहाँ... कहाँ...।
जस्तो, उनले पछिल्लो 'खप्पर' कथामा लेखेका छन्-

विरूपाक्ष कसैको फोनको प्रतीक्षामा बसेझैँ अधीर थियो । आर्यघाटको प्रतीक्षालयमा तपाईँ अवश्य पुग्नुभएकै होला । त्यहाँको भित्तामा विभिन्न महात्माहरूका वाणी अर्थात् दिव्योवचन पढ्न सकिन्छ । उता चितामा प्रियजनको लाश जलिरहेछ तर तपाईँ सिद्धार्थ गौतमको 'दिव्यवचन' भित्तामा पढिरहनु भा'छ ।

लेखनमा यस्तो अतीतमुखी र मृत्युप्रेम किन ? 'मृत्यु पेन्टिङको क्यानभास वा आँखीझ्याल हो, जहाँबाट म जिन्दगीलाई हेर्छु', फिल्टरसम्म आयु छोट्याइरहेको चुरोटलाई औँलाहरूको चेपबाट मुक्त गर्दै उनले निधार बटारे, 'मृत्यु जीवनकै टेढोमेढो लम्बाईको अन्तिम जेब्राक्रसिङ भएकाले पनि कथामा (भित्र्याउन) ती स्वाभाविक लाग्छन् ।' अब उनको लेखनमा मृत्युको प्रसङ्ग, गाउँको आदिम कुवामा पानी भर्न जाँदा आमाहरूको पैँतालाले खोपेको मूलबाटो नै भइसक्यो, नहिडूँ भन्दा पनि छुट्दै नछुट्ने !

एउटा लेखक लेखक कहलिन कृतिको हात धेरै माथि हुन्छ । कृतिबिना लेखकको आसन सुरक्षित गर्न गाह्रो पर्छ । त्यसमाथि देखावटी फेशनको उपासक नेपाली समाज ! यिनी पनि पत्रपत्रिकामा छरिएका बटुलोहरूको एउटा कथाकृति प्रकाशनको तयारीमा छन् । लेख्‍नमा दिमाग दुखाउने कुमार विसङ्गत जीवनमा कति अभ्यस्त छन् भने सङ्ग्रह प्रकाशनको लागि व्यक्तिगत ताउरमाउर जनाउने लिप्सा पटक्कै छैन । तयारी, यिनका लेखनबाट प्रभावित शुभेच्छुकहरूबाट हुँदैछ । दर्जन कथाको सङ्ग्रह 'मोक्षान्त काठमाडौँ फिभर' रत्‍न पुस्तक भन्डारको प्रकाशन-प्रक्रियामा छ ।

बात मार्ने मेलोमेसो मिलाउने क्रममा भेटपूर्वको फोनवार्तामा प्रकाशोन्मूख त्यही कृतिको सन्दर्भमा 'दाइको कथासङ्ग्रह आउँदैछ रे नि !' भन्ने जिज्ञासा राख्दा उनी जवाफमा बोलेथे-' खै, मैले पनि त्यस्तै सुन्या'छु...।'
उनी यस्तै छन् ।

आफैँमा कथा हुन् कि कथाकार मात्र ?
सेप्टेम्बर १४, २००८

September 10, 2008

धरहरा ( कविता)

तिमीले दिएको उपमा-
नियाल्छु आफूलाई अनि पाउँछु
बिस्तारै जग खनिँदै गरेको
ठीक त्यही
'धरहरा' ।

तिम्रो दृष्टिप्रति एकोहोरिँदै
हेरिरहेको छु म
आफैँभित्रको धरहरालाई

जगहरू भर्खरभर्खर खनिँदै छन्,
त्यसमाथिका तल्लाहरू
बिस्तारै बिस्तारै
थपिँदै छन्
एक...
दुई...
तीन...
चार...
पाँच गर्दै
लाखौँ लाख
अनुभव, विश्‍वास, घृणा, द्वेष
कति-कति
झन् झन् मजबुत हुँदै छन्,
अग्लिने क्रममा
आफ्नो वरपर
पुलुक्क-पुलुक्क हेर्छु
देखिँदैन सबैथोक
एकै दृष्टिमा

इँटाहरू झन् थपिरहेछु
बढिरहेका छन्
तल्ला ह....रू....
बिस्तारै बिस्तारै
चुली-चुली
अग्लिँदै झन् बढिरहेछ
अनियन्त्रित तरिकाले
बिना रोकतोकको मलजल पाएर
अनगिन्ती तल्लाहरूमा

पाउँदिनँ कतै आफ्नो अस्तित्व,
अस्तित्वविहीन बहकावमा
हावाभरि उडिरहेछु
म हराउँछु त्यहीँभित्र,
आफ्नो अणुअणु
पाइरहेछु तिमीभित्र,
ऊभित्र, सबैभित्र

हेर त,
तिमीले देखेको
मभित्रको असम्भव धरहरा
हावाको जुलुसमाझ उडिरहेको छ
लगातार ।

- ललितपुर ।

विद्यालय बाहिरको 'कक्षा'


विद्यालयको शैक्षिक स्तर कस्तो छ भन्ने कुरो उक्त विद्यालयको व्यवस्थापन कत्तिको चुस्त छ भन्नेमा धेरै भर पर्छ । अनि व्यवस्थापनको कसी हुन् -विद्यालयका हेडसर । विद्यालयलाई क्या गज्जब भनिन लायकको बनाउन जिम्मेवार हेडसर विद्यालयबाहिरको परिवेशमा चाहिँ कस्ता हुन्छन् ? यहाँ काठमाडौंको एक सरकारी विद्यालयका हेडसरको विचित्र आनीबानीको रोचक प्रसङ्ग उधिन्ने प्रयास गरिएको छ ।

उनी आफैंमा धार्मिक स्वभावका होइनन् रे । तर रमिता हेर्न भने कहिलेकाहीँ धार्मिक स्थलतिर बतासिन्थे । एकदिन उनी अर्थात् न्यूरोडस्थित हिमालय माविका प्रधानाध्यापक विजय बज्राचार्य एकजना साथीसँग टहलिँदै पशुपतितिर लागेछन् । भगवान्‌को दर्शनका लागि लाइनमा उभिएछन् । उनीभन्दा अगाडि पूजारीजस्ता लाग्ने एकजना भलाद्‌मी थिए । एकछिनमा ती भलाद्मीको ठाउँमा एकजना निकै मोटोघाटो मान्छे आएर पसेछन् र पूजारी बाहिरिएछन् ।



त्यत्तिमै उनलाई झनन्न रिस उठ्यो । 'ज्यानमा मभन्दा दोब्बर ठूलो अनि निधारमा लामो धर्से चेन्दन लगाएको', एक फाँको धक फुकाएर हाँस्दै उनले भने, 'भगवान्‌ले पनि धेरै पाप भएकोलाई निधारै छ्‌याप्नेगरी चन्दन लगाउन बाध्य पार्दारहेछन् भन्ने लाग्यो ।' अनि सोचे उनले- 'आफ्नो त सानो आकारको टीका छ, उस्तो पापी छुइनँ क्यारे ।' यस्तैमा सँगै गएको साथीको सातो खाएछन्- 'ए मोरा ! तेरो पनि निधार छाम्, कतै यो मान्छेको जस्तै छ कि !' सुनेर त्यो मोटो मान्छे रातोपिरो भएछ । 'अहिले पनि त्यहाँ गयो भने त्यही सम्झेर एक्लै हाँस्छु', विजय सरले कुतकुतिँदै सुनाए ।
शुभकामना कार्ड । 'हृयाप्पी बर्थ डे' का अभिवादन स्वर । उपहारको ओइरो । टेबुलमा केक अनि वरिपरि मैनबत्ती र आफन्तजनको सराबरी लस्कर । जन्मदिनको अवसरमा सामान्यतया यिनै कुराहरू हुन्छन् । तर, देवीदेउताको चरणमा धर्म नभाक्ने यी हेडसरको 'बर्थ डे' मनाउने चलन भने निकै धार्मिक रहेछ । 'वास्तवमा म अलिक अर्कै 'नेचर'को मान्छे', उनले आफूलाई अर्थ्याए- 'गरिब र असहाय मान्छे देख्यो भने मन थाम्नै सक्दिनँ ।' सधैँ सम्भव नभए पनि जन्मदिनको साइतमा भने त्यस्ता दीनहीनहरूलाई केही भए पनि खुवाउने गरेकोमा यी हेडसरले सन्तोष माने ।
उनले आफ्नो जन्मदिनको एउटा प्रसङ्ग झिके ।
त्यस दिन ५० औं वर्षा टेक्दै रहेछन् विजय सर । जे-जस्तो हुन्छ घरमै साधारण रुपले जन्मदिन मनाउने परिवारको चाहना थियो । सानैदेखि छुलछुले प्रवृत्तिका उनी त्यस दिन पनि अटेर गर्दै जस्केला नाघेर नजिकैको स्वयम्भू डाँडातिर लम्किएछन् ।

सम्झनाको ऐनामा पिलिक्क हेरेझैँ उनले बताए, 'बाटोमा किनेको त्यस्तै दुई/तीन सय रुपैयाँको मिठाइ अनि सेलरोटी मन्दिर परिसरमा माग्न बसेकाहरूलाई बाँड्दै हिडेँ ।' तर त्यसरी बाँडेर मात्र सरको सन्तुष्टिको वृक्ष के लहलहाउँथ्यो ! बाँडेका खुराक आफ्नैअगाडि खानुपर्ने शर्त उनले राखेका थिए त्यसबेला । 'किनभने गरिबगुरुबाहरूले त्यसरी तात्तातै खाएको देख्न पाउँदा मलाई अपार तृप्ति मिल्थ्यो', भावुकताको एक झिल्को आँखाभरि बाफिएर उडेजस्तै भयो । एउटी बूढी आमैलाई भने रोटी दिएर तत्काल खान निकै पापड बेल्नुपरेको थियो त्यसबेला उनले ।
मन्दिरको ढिस्को छोडेर सडकतिर ओर्लिएपछि पनि उनको जन्मदिनको उत्सवले विश्राम लिने छाँट देखाएन । फुटपाथमा प्लास्टिकजस्तै यताउता रल्लिइरहेका केटाकेटीहरूसँगै मिठाइ र रोटीको सहपानमा रमाउँदा फाइभस्टार होटेलको भन्दा कम्ती स्वाद पाए होलान् उनले !
यो सबै अर्को स्कुलका एकजना चिनाजाना हेडसरले पनि हेरिरहेका रहेछन् । स्कूलमा प्रशासकीय कौशल खुर्किएर सबैलाई असरदार कुराउनी पस्किने हेडसरको त्यस्तो सडक-गतिविधि अध्ययन गरिरहेका समकक्षी हेडसरले सोधेछन्, 'होइन ओ विजय माड्साब, के गरेको हो यस्तो ? सेल र मिठाइ बाँड्दै हिँडिरा'छौ, बहुलाइयो कि कसो ?' जवाफ दिनुसाटो मिठाइ र सेल उनको अञ्जुलिभरि थमाइदिए यी विजय सरले । सँगैका हेडसर झनै आर्श्चर्यमा परे, 'किन ? के हो आज ?' पुलकित भावमा यी सरले एकै मेहेरोमा कहे- 'पहिले खाऊ न, मैले धर्ती देखेको दिन हो आज !' अर्का सरको मनको खुनखुन अझै मरेन, थर्काएको शैलीमा पडि्कए, 'जन्मदिन पनि यसरी मनाउने हो त ?'

अब विजय सरको मुखबाट एकैसाथ दार्शनिक र धर्मात्माको लबज मुस्लिएर निस्कियो 'हेर, म पनि यी दीनदुःखीहरूजस्तै भएको भए के हुन्थ्यो ? आज एक दिन भए पनि उनीहरूलाई खुसी बाँड्न खोजेको मात्र हुँ । सबैले आफ्नो जन्मदिन यसरी मनाउने हो भने यिनको आधा दु:ख घट्थ्यो कि ?' त्यति सुनेर उनलाई बहुला देख्ने ती सर निकै गम्भीर बनिसकेका थिए । फर्किएर घर पुग्दा परिवारका सदस्यहरू भने त्यस दिन निकै क्रुद्ध थिए । 'तैपनि मैले मेरो परम्परा छाडेको छुइनँ', घरपरिवारको चाहनाभन्दा सडक र मठमन्दिरका दुःखी मनलाई सुमसुम्याउने उनको एकोहोरो लगाव छँदैछ । यतिबेला यी विजय सर पनि समकक्षीकै हाराहारीमा भावुक देखिन्थे । वा माड्साब !

उनी एकचोटि श्रीमतीसँग दक्षिणकाली पुगेछन् । 'उनको मन राख्‍न गएको थिएँ । म हत्तपत्त पैसा चढाउँदिनँ, बरु चढाएको पैसा बोकेर आउँछु', उनले आफ्नो स्वभाव फेरि प्रस्ट्याए ।
दक्षिणकाली मन्दिरमा आफ्नी संगिनीले भेटी र फूलमाला चढाइरहेकी थिईन् । विजय सर भने मन्दिरकै फेदीमा रहेको खोलामा भक्तजनले चढाएका खुजुरा पैसा हातभरि लिएर भगवानले ज्ञानी मान्छेलाई दिएको भन्दै वरिपरि देखाइरहेका थिए । 'असल मान्छे भनेर भगवान्ले मेरै लागि राखिदिएका', प्रदर्शनी स्थलमा दुर्लभ वस्तुबारे व्याख्यान दिएजस्तै त्यसबेला उनले बखानेछन् । अञ्जुलिभरि पैसा लिएर उनले त्यसो भनिरहँदा वरिपरिका मान्छेहरू भने आँखा झिमिक्कै नगरी मन्दिरका मूर्तिहरूको पंक्तिमा अर्कोअर्को मूर्ति बनेझैँ ट्वाँ परिरहेका थिए ।

- भोजपुर , हाल : काठमाडौ ।

September 4, 2008

कविजी, पहिले मान्छे बन्नुस् !

केही वर्ष भयो, नेपाली साहित्य तथा समग्र ज्ञानगुनको भण्डारमा पुस्तक प्रकाशनले कछुवाको सुलसुले घस्राइ होइन, भ्यागुताको छलाङ लगाउन थालेको छ । अरु त अरु, साहित्यको 'स' उच्चारण गर्दानगर्दै 'लालाबालाहरूले पिँढीभरि कुन्नि के जातिको रास' भनेझैँ लेख्यो कि त हरेक तोतेबोली नै एकाध महिनामा पुस्तकको बिटोमा रुपान्तरित हुने । अनि त नेपाली साहित्यको भण्डार भरिपूर्ण !

विशेषगरी कवितामा (साथै गजलमा पनि) यस्तो हतारको रोग जेलिएको छ । साहित्यमा बढी लेखिने विधा कविता नै भनिन्छ । र, कवितासाहित्यको रोचकता यतिमै सकिन्न, बढी लेखिने भए पनि कम पाठक कविताकै छन्, यो गुनासो साहित्यिकहरूको । छैन त गजब ? र, एक हिसाबमा केलाउने हो भने (नेपालमा/नेपालीमा) यस्तो कम पाठक हुनुको कारण के रहेछ भने, जति जना पनि कविता पढ्छन् ती आफैँ पनि कविता लेख्छन् । अर्थात् यस हिसाबले कविता लेख्ने मान्छेले मात्र कविता पढ्ने निष्कर्ष हामी निकाल्न सक्छौँ ।

कविता रुचाउने अथवा आफैँ लेख्‍न रुचाउनेले कविता पठनमा अधिक रुचि देखाउनु स्वाभाविक भए पनि लेख्‍नेले मात्र पढ्ने कुरा पूरापुर सही होइन । मेरै आमुन्नेसामुन्नेका सरसङ्गतिबाट पनि देखेको छु- जो लेख्दैनन्, उनीहरू धुरन्धर लेखकलाई पनि माथ गरिदिने खालका बिछट्टै पढनदास छन् । राम्रो लेख्‍नलाई सकेजति धेरै पढ्नुपर्छ भन्ने सामान्य सूत्रलाई स्वीकार गरेर आधार मान्ने हो भने हामी लेखिटोपल्नेहरू ती पाठकभन्दा गएगुज्रेका छौँ । खासगरी कविहरू । जो राम्ररी पढ्दैनौँ यो त छँदैछ, राम्रो लेख्दैनौँ पनि । नतीजा यति मात्र हात लाग्छ- कागज र समयको सर्वनास । अरुको पढ्दै नपढ्ने र आफ्नो विज्ञापनमा चाहिँ ठाउँ-कुठाउँ भट्याइरहने । मानौँ लेख्‍नुको ऊर्जा सबैसबै भाषणमा खन्याएर लेखकको मर्यादा चुल्याउने व्यग्रता छ सबैलाई । यो कुरा अहिलेको पाठक समुदाय तथा फेसनेवल समयको घेराबन्दीले पनि अझै मिल्छ भने 'एक टुक्रा है' भन्दै सडकछेउ उभिँदाउभिँदै तीन पाना कविता पनि चिरिप्पै सुनाइदिने !

साहित्यको उत्थान एवम् सङ्ख्यात्मक-गुणात्मक विस्तारका लागि बढीभन्दा बढी सर्जकको सक्रियता चाहिन्छ भन्ने मतलाई एकातिर राख्‍ने हो भने, बढ्दो सर्जक-भीडले नेपाली साहित्य 'मुखभरि धेरै जिब्रो भएर लठेब्रो हुनपुगेको नमूना प्राणी'जस्तै भएको छ । यो सधैँको रोग हो । पछिल्लो समयमा त गजलमा समेत यो भदौरे भेलबाढीले शिष्ट र सन्तुलित लेखनका पक्षधरहरूलाई धुरुक्कै रुवाएको छ । यस्तो भनाइबाट जोसुकैले साहित्य लेख्‍नुहुँदैन, यो त मुठीभरका ठेकेदारको मनलाग्दी रजाइँ हो भन्ने नबुझियोस् । तर लेखनमा कोही आएपछि उसमा केही कला तथा समयचेत या त लज्जाशीलताको छनक हुनुपर्ने कुरोमा निरपेक्ष रहन कदापि सकिन्न ।

केही वर्षपहिलेको कुरो हो, साझा प्रकाशन ललितपुरमा भएको एक भेटमा गरिमा मासिकका सम्पादक तथा मदन पुरस्कारविजेता स्रष्टा गोपाल पराजुलीले फ्याट्ट किटेरै कहे- 'नेपालमा ४० हजार कवि छन्, सम्हालिसक्नु छैन ।' टेबलभरि कविताका बडेबडे फाइल उधिनिरहेका उनको पिरलो सम्पादकीय दायित्वमा रहेर कवि र कविताको छनोट गर्नुमा थियो । जाहेर थियो, त्यो दायित्वमा उनको दिमाग तुफानी वेगसाथ उम्लिएको थियो । अर्कातिर, आजका सम्पादकहरू कविता छाप्न भनेपछि झर्कोफर्को मान्दै कोसौँ दूर भाग्छन् । 'कविता होइन, बरू छोटामीठा गजल-गीत ल्याउनुस् न' भन्न उनीहरू फूर्ति चलाउँछन् । कविताको मर्म र गहिराइभन्दा पत्रिकाको स्पेस बचाउने धुन तिनलाई प्यारो छ । कविताले एउटा साहित्यसचेत सम्पादकबाटै हेलाहोचो खेप्नुपरेको छ । यस्तो परिस्थितिको निर्माण हुनुमा कवि/अकविहरूको कमजोरी-असावधानी र फटाइँको भुमिका कति छ, सम्पादकहरूको गैरजिम्मेवार प्रवृत्तिको कति छ ? ठन्डा दिमागले सोच्ने बेला आएको छ ।

अर्को प्रसङ्ग सम्झिन्छु- केही महिनाअघि पर्वत जिल्लाबाट पुस्तक छपाईको मेलोमेसो मिलाउन राजधानी आएका कवि गणेशकुमार जीसीसँग बागबजारस्थित साथीको पुस्तकपसलमा भेट भयो । कविताका मूल भित्री पृष्ठहरू पर्वतमै छापिइसकेको रहेछ, आवरण पातो तथा कम्प्युटरबाट अन्य कलाकारी निखार सुल्झाउन उनी धपेडीमा थिए । उनका केही कविताहरू त्यसै भेटको मेसोमा पढिभ्याएँ । मोफसलको गतिलै घानमा सायद उनी परेका थिए, यसैले त दमदार कविता लेख्‍ने भए पनि राष्ट्रिय पत्रपत्रिकामा रचना प्रकाशन नभएका कारण उनको परिचय नितान्त नौलो लाग्थ्यो ।

उनको कविताकृतिको नाम रहेछ- अग्नियात्रा । तर कृतिको नाममा ह्रस्व-दीर्घको वर्णविन्यासगत पेच खुस्किएको कुनै विद्वान्‌बाट औँलो ठडिएपछि गणेशजीलाई ज्वरो छुटेको थियो । थाहा पाएपछि उदीयमान सर्जकको पहिलो कृति, त्यो पनि अशुद्ध रुपमा आउने भयो भनेर हामी साथीहरूलाई पनि दुःख लाग्यो । हुनुपर्ने 'अग्नियात्रा', भएछ- अग्नीयात्रा । अब के गर्ने - छापिन बाँकी आवरणबाहेक छापिइसकेको प्रत्येक पानाहरूको फेदमा 'अग्नीयात्रा' नै अङ्कित भइसकेको थियो ।

खर्च गरेर छापिइसकेको कुरामा उपाय अरु थिएन । कविजीले कविताको शुद्धाशुद्ध हेरिदिन नेपालीका एकजना शिक्षकलाई अनुरोध गरेर त्यहीबमोजिम राखेर छापेका रहेछन्, त्यसैलाई आधार बनाएर दोषको भागीदारबाट आफू जोगिन कृति-कृतिकारको नाम तथा प्रकाशक-संस्करण आदि रहने पृष्ठमा शुद्धाशुद्ध हेर्ने भनेर ती शिक्षकको नाम चढाउने जुक्ति निकालेछन् कविले । अन्त्यमा त्यसैगरी त्यो चलाखीपूर्वक छापिएछ पनि । त्यस्तो सबै जानेबुझेर कविजीप्रति टीठ लागेर आयो मलाई ।

साहित्यमा भाषा/व्याकरण ठूलो कि भाव भन्नेमा छुट्टाछुट्टै बहस चलाउन सकिन्छ । लेखनपछिको सम्पादनको प्रक्रियाको कुरामा पनि आँखा चिम्लिन सकिन्न । लेखक एक्लै हरेक कुरामा परिपूर्ण हुनुपर्छ भन्ने अड्डी कस्नु कुखुरा भुर्र उडिरहोस् भन्नुजस्तै अव्यावहारिक हुन्छ । तर भावको वाण हान्ने साहित्यिकहरू भाषा/व्याकरणको सामान्य ताँदो चढाउन त सिपालु हुनैपर्छ । सोचौँ त, 'म मोती समातिरहेछु' लेख्‍नुपर्नेमा 'म मोटी समातिरहेछु' भनेमा के अर्थ लाग्ला ? अल्पज्ञान भयङ्करम् भएन ? विधिअनुरुप बिहे गर्न खोज्ने अनि सिउँदोको सीधा रेखामा सिन्दूर भर्न नजान्ने भएर कसरी हुन्छ ? सिन्दूर हाल्न अर्को मान्छे खोज्नुपर्‍यो भने त्यो बिहेको हविगत के होला ? करिब-करिब त्यस्तै हो लेखनको हकमा पनि ।

यो समस्या कविहरूको मात्र होइन । तर, मुख्यगरी कविहरूको हो । विम्ब र प्रतीकको गुजमुज्ज भाका उन्यो, गोष्ठिमा हात नचाएर फलाक्यो अनि त कवि भइयो ! यस समस्याको निराकरणका लागि भाषा-व्याकरणको बन्द प्रशिक्षण लिएर पूरा तयारीको साथमा साहित्यको मैदानमा आउन हाँक दिनु यस लेखको आशय होइन । लेखुन्जेल प्रयोगमा थोरै भए पनि गम्भीरता र सचेतता जाग्नुपर्छ र गल्तीबाट मनन गर्दै सिक्ने तत्परता हुनुपर्छ, बिस्तारै ठीक आकार आइहाल्छ ।
कविजी, पहिले सिन्दूर हाल्ने हात सोझ्याउनुस्, आफ्नो बिहे सकेसम्म आफैँ गर्नुस् । पहिले मान्छे बन्नुस् अनि लेख्‍नुस् मानवताको कविता । कि कसो ?

सेप्टेम्बर ३, २००८ (नक्साल)

समयको इजलासमा साक्षी बस्नु

ब्लगमा आँधीबेहरी उराल्ने उच्च सोच नभए पनि मन्द भाकाको बतास भने सधैँ चलिरहोस् भन्ने इच्छा हुन्छ । तर केके कुराले अलमल्याउँछ-अलमल्याउँछ, त्यो इच्छा इँजारबीच किचपिचिएर आपत्को बेलामा उपयोगमा ल्याउन नकिएको नगद नारायणजस्तो बेकामी बन्छ । अनि त ब्लगको आकाश पनि खाली, मनको काराबास पनि कस्तो-कस्तो नियाँस्रो ।
कहिलेकाहीँ लेख्‍ने कुराहरू धेरै भएर पनि आत्तिएर कुन कुरा पहिले लेख्‍ने भन्दाभन्दै सबैथोक भाँडिन्छ । मूडको त कुरै नगरौँ, लेख्‍ने वातावरण भएर लेख्‍न बसेको बेला मूडको बच्चो डाइनोसरझैँ अलप हुन्छ । अनि लेखाइको कुरा आपत्तिजनक हुने समय (जस्तै हिँडिरहेको बेला, साथीहरूसँग चिया उत्सव मनाइरहेको बेला) मा भने यो मूड सितारको तारमा राग जमेजस्तै झनझनाएर आइरहन्छ । जीवनजस्तै उबडखाबड लेखनको रीत पनि ।
CaFe मा मेरो नयाँ चलखेल धेरैबेर नदेखेपछि साथी समृद्धिले त जोडै गरेर झटारो हान्नुभयो- 'कवितामा जस्तै ब्लगलाई पनि श्रद्धाञ्जलि दिएको हो कि क्या हो' भनेर । साथीको जिज्ञासासूचक थपथपाहट पाएपछि कोही त छन् चासो दिनेहरू भन्ने लागेर हितैषी भावले मन गदगद भयो । अर्कोतिर दुःख पनि लाग्दै थियो, साँच्चै यो त कुम्भकर्णलाई बिर्साउने सुताइ भो मेरो भन्ने लाग्यो । कतिलाई ब्लगको पछिल्लो प्रकाशन 'म एउटा श्रद्धाञ्जलि' कवितापछि (थाहा भएन कतिजनाले पढ्नुभयो ।) यत्तिकाबेर केही चालचुल नदेख्दा साँच्चै बबुरो कतै श्रद्धाञ्जलिकै स्थितिमा पुग्यो कि भन्ने पनि लाग्यो होला । जे होस्, सरोकारविहीन यात्रा भए पनि फेरि जोड्दै यसरी आएको छु ।
यसो सोच्दा यसबीचमा समयलाई शब्दमा उन्ने संयोग छोप्न नसके पनि समयको साक्षी बस्ने काम भएछ । हामी लेखापढीको विविध काममा खिइनेहरूलाई एउटा दृष्टि भए पुग्छ, त्यसैलाई बहना बनाएर तुष्टिको किनारा छुन हामीलाई काफी हुन्छ । त्यही तैराइमा मैले यसपाली आफूलाई बगाइदिएँ । कति कुराहरू नदेख्नुपर्ने देखेँ, अर्थात् देखिनुपर्ने कुराहरू देखिनँ होला । दसैँको मुखमा देशको विविध ताल र तरङ्गहरू देखेँ । साक्षी बस्नु भनेको आफ्नै जमिसकेको रगतलाई बगाउन बरफले डाम्नु-डामिरहनु रहेछ । यसपाली त्यही भोगेँ ।

***
सेप्टेम्बर ४, २००८ (नक्साल)