Subscribe:

Ads 468x60px

22 May 2008

♪♪ ओझेल-ओझेलमा:



बीस दिनको बिदाइ

२१ मे बुधबारको दिन बन्दको रापले काठमाडौँ खाल्डो उसिनिइरहेको बेला म उदयपुर जाने ताउरमाउरमा प्रबन्ध मिलाउँदै थिएँ (हेर्नुस् तल- 'असार भेट्ने हतार') । बिहानपख एकफेरा काठमाडौँलाई शुभ प्रभात बोलूँ न त भनेझैँ पुतलीसडकछेउछाउ निस्किएको थिएँ म । सडक-सडकमा युवाहरू फाट्टफुट्ट 'चल्न पुगेका' मोटरसाइकललाई हल्लाखल्ला मच्चाउँदै गुरुम्म हूलले छोपेर स्थितिको तहकिकात गर्दै थिए । कोही 'चाबी खोस् चाबी' भन्दै अर्को 'बन्ददाता'लाई उक्साउँदै थियो, कोही भने 'क्या हो, बन्दको दिन बाइक चलाउने ? बन्दको पालना गर्नुपर्दैन ?­' भनेर वाहनधनीलाई थर्काउँदै थियो ।

नयाँ नेपालको आलोकाँचो मञ्चन हुँदै गर्दा हामीकहाँ यस्ता 'बन्ददाता'हरू पश्चिमेली दाता राष्ट्रलाई बिर्साउने तालमा जोशिएर अग्रसर हुन तल्लीन छन् । बन्दको पालना सिकाउने यी बबुराहरू आफूले चाहिँ मुलुकमा लागू गरिएकामध्ये कुन-कुन नियमको पालना गरेका छन्, यिनै जानून ! जे होस् एउटा बन्द बुधबारको प्रत्यक्ष दर्शनले मानिसहरूको बन्द दिमाग पढ्न सकिन्थ्यो ।

आजको जागिरे संसारमा मानिसहरूलाई तलबी बिदा लिएरै भ्याइनभ्याइ छ । अझ के रे, काज बिदा पो भन्छन् त ! मलाई भने बेतलबी बिदा लिनुपर्ने व्यथाले छोएको छ । यसैको लागि ब्लगको यो आँखीझ्यालबाट तपाईँसँग खुसामद गर्न आइपुगेको म । बिदा पाऊँ है ! त्यस्तै बीस दिनको बिदा हुनेछ मेरो । यो ब्लगरको आँखासँग आँखा मिलाइरहने नाताले तपाईँबाट बिदा स्वीकृत गर्नु मेरो धर्म बन्यो । बीस दिनपछिको भेट कतिविघ्न व्यग्रताले भरिएको अनि मह घुलेको होला, अहिल्यै मादकताले लठ्ठ पारिरहेछ । फेरि त झुल्किनु नै छ, पृथ्वीको पोखरीमा घामका पहेँला माछाहरू सलबलाएजस्तै । १९/२० तारिखमै जाने तयारी गरेको म यतिन्जेल अड्किनुपर्‍यो । बल्ल २३ मे को शुक्रबारे साँझमा म पूर्वको भित्री मधेस अर्थात् उदयपुरमा उदाउनेछु ।

कहीँ-कतै नडुबेरै
म फिर्ता हुनेछु तिमीसम्म,
एउटा इँटको प्लास्टरसँगै
तिमीमा मिसिनेछु
भूगोलको यो पहाडमा
भइरहनेछ अनि फापर खेती...।


***
© जोतारे धाईबा
मे २२, २००८ (नक्साल)

बुद्ध जयन्तीमा बिचरा बुद्ध

मे २० तारिख (जेठ ७) बुद्ध जयन्तीको दिन सहरको रमझममा मिसिने कसोकसो चिठ्ठा परेको थियो । मेघको भारी गर्जन नबोकेरै वर्षा ठमठम अहिल्यै झरुँलाझैँ गरिरहेको अपराह्‍न थियो । नयाँ सडकछेउको इन्द्रचोक हुँदै बौद्ध धर्मावलम्बी तथा अन्य मानिसहरूको झुन्ड ध्वजा-पताका आकाशमा नचाउँदै बुद्धको प्रतिमालाई गोलाकारमा घेरेर वसन्तपुरको गल्ली छिचोल्दै थियो ।

बुद्ध अहिले पनि जनजनभित्र जन्मिरहेछन् रे ।
बुद्ध मूर्तिपूजाको घोर विरोधी रे ।
बुद्ध वचनमा बाँच्छन् रे ।
अरु पनि के-के रे ...।

यस्ता भौतिक-अध्यात्मिक कुरो सुनिन्छन्, आमाको पूजाकोठामा अथवा काका-हजुरबाको चिया गफमा । अरु जेसुकै होस्, बुद्ध जयन्तीको एक दिन संसारमा लुम्बिनी सिङ्गो चुम्बक बनेर केन्द्रमा रहन्छ । मूर्तिपूजाको विरोधी बुद्धको मूर्ति आज हेर्ने हो भने आँखा थाकेर लोलाउन थाल्छन् । बुद्ध आज क्यूरियो पसल-पसलमा व्यापारिक ट्याग बोकेर टुसुक्क बसेका छन् । स्वयम्भू थुम्कोलाई रखवारी गर्नझैँ बुद्ध त्यसैको तल आँगनीमा भीमकाय स्वरुपमा खडा छँदै छन् । 'अहिले जन्मिएका भए बुद्धले पनि बन्दुक बोक्थे रे', नारायणको पल्पसा क्याफे उपन्यासमा पढ्दा खूब चित्त बुझेथ्यो ।
सबैतिर छन् बुद्ध ।
- उपहारमा बुद्ध ।
- कोसेलीमा बुद्ध ।
- पूजाकोठामा बुद्ध ।
- मोडेल गर्लसँगै भित्तामा बुद्ध ।
- घाँटीमै टाँसिएका 'लकेट बुद्ध' ।
कति-कति बुद्ध...।

तर के, बुद्ध आत्मामा छन् ?
मनमा कसैले राखेको छ त बुद्धलाई ?
आत्मामा त्यति 'स्पेस' छ राख्‍नलाई ?

मान्छेभित्र नअटाउने भव्य बुद्ध ।
बिचरा बुद्ध !

***
मे २१, २००८ (नक्साल)

वैरागी विजेता !


पुरस्कारले काममा उत्साह थप्छ । सन् २००७ को नोबेल साहित्य पुरस्कार विजेता डोरिस लेसिङ भने त्यसैका कारण आफू बर्बाद भएको ठान्छिन् ।
'पुरस्कार जित्‍नु मेरा लागि सर्वनाशको कारण बन्यो', ८८ वर्षीया बेलायती लेखिकाले बीबीसीसँग अन्तर्वार्तामा भनिन्-'मैले लेख्‍न छाडेँ । अब त एउटा उपन्यास पनि पूरा गर्न नसक्ने भएँ ।'
किन त ?
'पत्रकारले मलाई हैरान पारे', उनको जवाफ छ-'पुरस्कार पाएपछि मेरो दिनचर्या अन्तर्वार्ता दिनु र फोटो खिचाउनुमै बितिरहेको छ ।' उनले आफ्नो पछिल्लो कृति 'अल्फ्रेड एन्ड इमिली' अन्तिम हुने बताइन् ।
उनले बीबीसीका लागि लेख्ने गरेको नियमित स्तम्भ पनि बन्द गरेकी छन् । 'अब म केही लेख्‍नै नभ्याउने हालतमा पुगेकी छु । मसँग अब त्यसका लागि पर्याप्‍त ऊर्जा पनि छैन', डोरिसले भनिन् ।
उनले पछिल्ला पुस्तालाई उमेर छँदै चाहना पूरा गर्नेतर्फ लाग्न सल्लाह दिइन् । मान्छेको जिन्दगी धाराको टुटीबाट झरेको पानीको थोपाजस्तै भएको दृष्टान्त प्रस्तुत गर्दै उनले भनिन्- 'उमेर घर्केपछिको उपलब्धि अर्थहीन हुँदो रहेछ ।'
पुरस्कार पाएको घोषणा भएको दिनदेखि सञ्चारकर्मीको झुन्डले आफूलाई घेर्दै आएको उनको दुःखेसो थियो ।
***
स्रोत: कान्तिपुर दैनिक

20 May 2008

महायात्रा (कविता)

रूखका हाँगामा नाचिरहेका
हरिया पहेँलिँदै गरेका पातहरू
जसमा प्रस्टसँग म
मेरो मृत्यु देखिरहेछु ।

बगैँचामा फुलेका रङ्गीचङ्गी फूलसँगै
जीवन्त बनेको मेरो प्राण
ओइलाएर फूलसँगै झर्छ ।

मेरो प्राण बगैँचामा नाचिरहेछ
मेरो आँखासामु
प्रत्येक दिन
प्रत्येक क्षण,
तर पनि म अञ्जान बनिदिन्छु
अनि चिम्लिदिन्छु आँखा-
सूर्यलाई हत्केलाले छेकेजस्तै

जून हराएको बिहानमा
अनि सूर्य हराएको रातमा
म पनि हराउनेछु-
मौन बतासमा ।

रूखका हाँगामा नाचिरहेका
हरिया पहेँलिँदै गरेका पातहरू
जसमा प्रस्टसँग म
मेरो मृत्यु देखिरहेछु ।

बैशाख २८, २०६५
(सानेपा, ललितपुर)

18 May 2008

असार भेट्ने हतार

जेठ महिनाले कहिले घाम कहिले पानी शिरमाथि बोकेर हिँड्दै छ । मनसुनले गाउँमा मकैका पात-पातमा पिपिरी बजाउन थालेको छ । छिट्टै धानको रोपाइँ पनि चल्नेछ मलाई भने असार कहिले आउला झैँ भएको छ । अर्थात् असार भेट्ने हतारले पिरोल्नुसम्म पिरोलेको छ । असार भन्नासाथै प्रत्येक श्वासप्रश्वासमा मन कस्तरी मगमगाउँछ भने, मानौँ नाकै छेउमा दायाँ-बायाँ गालाको डिलमा ढकमक्क फूल फक्रिएको होस् ।

नक्सालकै सेरोफेरोमा चक्कर मार्न एक बिहान के निस्किएको थिएँ, कसो-कसो आँखा एउटा घरको बगैँचामा गएर टाँस्सिए । बगैँचा त्यस्तो अनुपम पनि होइन, तै पनि मन एकछिनलाई त्यही माहुरी बनेर अल्झिरहृयो । साधारण फैलावटको बगैचामा आँपको एउटा बोट थियो, अहिले भर्खर चिचिला नै रहेछ दाना । र त्यसैमा झुम्मिएको मन एकाएक उदयपुरको घरतर्फ मोडिन गएको थियो । ओह्, यो आँप फल्ने मौसम ! पखेटा भएको भए झट्ट घर उडेर जाऊँ लाग्यो । सोचेँ, काठमाडौँमा बाँधिराख्‍ने त्यस्तो केही कुरा पनि छैन अहिले । साथी मुगुबाट कहिले आउने हो, पर्खिँदा-पर्खिँदा अब पर्खिनु नै जिन्दगी जस्तो लागिसक्यो । घर किन नजाऊँ म भनेर आफैँ सँग अन्तर्वार्ता गरिरहेँ र ट्वाक्कै टुङ्गो जवाफ नपाएर अलमलिरहेँ ।

घर पुगेपछि २०/२५ दिनको बसाइमा पहेंलपुर आँपसँग मितेरी गाँसेको कल्पनाले एकछिन गुलियो चाखेँ । स्मृतिका पुराना फाइल तख्ताबाट झिक्न थालेँ- बालापनमा काँचै आँप खाएर मासी पर्दा बिसन्चोले गलाएको, आँपको चोपले मुखवरिपरि घाउ भएर पोलेको, बोटमा बाँदरजस्तै झुन्डिएर पाकेको आँप तमाम पारेको, चढ्न गाह्रो हुने बोटका राताम्मे आँपको झुन्डलाई ताकेर झट्टी हानेको अनि आँपैआँपको कोसेलीपोको बोकेर नजिकका फुपूदिदीहरूका घर पुगेको । अब त ती दिन कहाँ । बोटैमा पाकेको आँप खानु त सपनामा मात्र हो जस्तो लाग्छ । उता गाउँमा घरपछाडि आँपको बोटैबोटले बगैँचा भरिभराउ छ र हामी काठमाडौँको साँगुरो घरपरिसरमा फलेको एक बोट आँप देखेर फुरुङ्ग पर्छौँ ।

राजधानीका बजारमा पहेंलै भएका आँप बेच्न राखिएको धेरै भइसक्यो । आँप पाक्न कम्तीमा पनि असार वा मध्य जेठ त हुनैपर्छ । बजारमा अहिले देखिने औषधि हालेर पकाइएका आँप नाकैनेर ठोक्काउँदा पनि सुगन्ध पाउन मुश्किलै हुन्छ । तर गाउँघरतिर आफैँ पाकेको आँप सुँघ्नु त के, तपाईँ बगैँचानेर पुग्नुभयो भने मात्र पनि भरपूर तृप्ति मिल्छ । फलको राजा हो आँप । काँचोमा अचार खान चुटुक्क अमिलो, पाक्दा गुलियो स्वादिलो ।

गएको एउटा शनिबार घरबाट ममीको फोनले पनि घर जानलाई मन चुलबुलियो । 'कहिले आउँछस् त काले ?', ममीको माया घुलेको सवाल । 'खोइऽऽ हेरुँ ...', मेरो अनिश्चयको तर अपेक्षा जगाउने बोली । हेरुँ, जान पनि सक्छु । अबका केही दिन ब्लग अपडेटमा ढिलाइ भयो वा शून्यता देखियो भने सम्झिनुहोला, म घर पुगिसकेको हुनेछु । कारण, ब्लग लेख्‍नका लागि घरमा युनिकोडसहितको कम्प्युटर छैन । त्यहाँ युनिकोड छैन त के भयो ? छ त टन्नै आँप । तपाईँलाई पनि आँप सेयर गरुँ ? धन्दा नमान्नुस्, आँप ल्याउन नसके पनि केही त पक्कै ल्याउनेछु तपाईँको लागि ।
फर्किएर लेखूँला है 'आँप-संस्मरण' !

***
मे १७, २००८ (नक्साल)

गुरु र गनीहरू

मे १६ को एउटा शुक्रबार फेरि हाम्रो माझमा छरिएको थियो । हामी थियौँ मन्द मुस्कानको अभिवादनमा रमाइरहेका । हामी अर्थात् गनी अन्सारी र म जीवन कार्की । गनी र जीवनको यस्तो जोडी पनि लेखिएको रहेछ । अघिल्लो शुक्रबार गयल हुन गएको हाम्रो भेटको शून्यतालाई यसपाली बढ्तै भोग गरेर बिर्सनु थियो ।

सदाझैँ हामी भेटियौँ घन्टाघरछेउको जामे मस्जिदनेरको आँगनीमा । गनीको ओठमा के थियो भनिरहनु नपर्ला, हाँसोका सहज रेखाहरूले ओठका गोलाइभरि सुरेली खेलिरहेका थिए । कान्तिपुर एफएमको न्यूजरुममा एक साता बाँधिनुपर्दाको थकान त्यहाँ शेष थिएन । हेरेर उसलाई, मैले पनि बिझाएको काठमाडौँको आफ्नो भावदशालाई सट्याकसुटुक नजिकैको भीडभाडमय जेब्राक्रसिङमा मानिसहरूको पैँतालामुनि सेलाइदिएँ । अब बल्ल मिल्यो- दुइटा फूल देउरालीमा....।

आरोहण गुरुकुलमा नाटक हेर्न जाने सोच हाम्रो धेरै हप्ताअघिदेखिको छँदै थियो । अस्ति नै को एउटा शुक्रबार गुरुकुलको दैलोमै पुगेर निराश भएर फर्किनुपरेको टर्रो सम्झना आलै थियो । त्यसबेला सञ्जीव उप्रेतीकृत उपन्यासकृतिको नाट्यरुप 'घनचक्कर' हेर्न पुगेका हामी प्रदर्शन बन्द भइसकेकाले आफैँ घनचक्करमा परेका थियौँ । अतः सचेत हुँदै फोन गर्‍यौँ गुरुकुल थुम्कोमा । धेरै समयको प्रयासपछि बल्ल फोन सम्पर्क जोडिए पनि उताबाट हामी दुईको आकांक्षालाई भने थलै पार्ने गरी आवाज सुनियो- 'आज त प्याक भइसक्यो, भोलि आउनुस् न !' भोलि.... अनि सायद हामी दुवै आदिकवि जिजुबाजे भानुभक्तलाई स्मरण गर्‍यौँ । 'ताराबाजी लै लै' मञ्चन हुँदै रहेछ तर शुक्रबार र शनिबार मात्रै देखाइने भएकाले दर्शकहरू अग्रीम बुकिङसहित नाटकमा ओइरिएछन् । जे होस्, नेपालमा रङ्गमञ्चको रङ गाढा हुँदै गइरहेको छ, सन्तोष लाग्यो । यसमा गुरुकुलको गुरु अभिभारालाई पनि मान्नुपर्छ ।

नाटक हेर्न जान नपाउँदाको ज्वरो शान्त पार्न हामी यत्तिकै गफिने भयौँ । नत्र कुन पार्टीको निर्लज्जताको समर्थनमा जुलुश लगाउन जानु थियो र ? घुम्दै जाँदा मित्रद्वय अर्जुन र प्रभात भेटिन्छन् कि भनी नयाँ पत्रिका दैनिकको कमलपोखरी अड्डामा हाजिर भयौँ । तर दुवैजना रिपोर्टिङको रौनकतिर गायब ! अनि नक्सालको मेरो अस्थायी अड्डा नै उपयुक्त सुझ्यो । कुरैकुरामा कलेज जीवनको कुरो निस्कियो । कक्षाको एसाइनमेन्टको तातो-पिरो सास्तीको प्रसङ्ग उप्कियो । कलेजका गुरुहरूको प्रकृति चिरफार भयो । अनि यस्तैमा नेपाल मानविकी (रत्नराज्य) क्याम्पसमा डिग्रीको पत्रकारिता कक्षा लिने टङ्क उप्रेतीले हाम्रो केही समय लिए ।
कति भद्र टङ्क सर,
कति नम्र टङ्क सर,
कति मिलनसार टङ्क सर,
कति सीधासादा टङ्क सर,
कति खुला दिलको टङ्क सर,
गनीले गुरुबारे सानोतिनो प्रवचन दियो । र, त्यो आत्माबाटै हृवारहृवारी निस्किएको थियो । हामी दुईको टेबल गफमा टङ्क सर 'ज्वाइन' पनि हुनुहुन्थेन त्यहाँ, जसले गर्दा सरलाई फुर्क्याउनु परोस् । गनीको गुरुसँग म पनि चिनाजानामा छु, गुरुका रुपमा नभए पनि एक कविका रुपमा । एकाध भेटको सुयोग पनि जुरेको छ । उहाँको 'मानिसपन'बाट जो कोही प्रभावित हुन्छ । डिग्रीको कक्षामा गनी, सारा अनि अमृतहरू टङ्क गुरुलाई कति चाख दिएर सुन्छन्, कति इज्जत गर्छन् अनि कक्षा सकिएपछि पनि कति सम्झिराख्छन् । साँच्चैको गुरु हुन के हुनुपर्छ, गनीहरूको अपेक्षा र तृप्त मन पढ्दा थाहा हुन्छ । गुरु हुन चर्को छ चर्को । गनीहरूका टङ्क गुरु पढाउनुहुन्छ । टेलिभिजनमा कार्यक्रम बनाउनुहुन्छ । सडकमा मान्छेहरूको लस्कर हेरेर टुक्राटुक्रा भावना बटुल्नुहुन्छ । कविता लेख्नुहुन्छ । गनीका यिनै गुरु टङ्क उप्रेतीको कविता पढ्ने हो ? ल है त:

अनि ?


रुमालबाट खन्याइदिन्छु ताराहरू
तिम्रो पोल्टामा
तिमी के गछ्‌र्यौ ?

' म टाँसिदिन्छु मुक्तियोद्धाको छातीमा ।'


राखिदिन्छु तिम्रो हातमा
हँसियाजस्तो चन्द्रमा,
तिमी के गछ्‌र्यौ ?

'यसलाई उद्‌याउँछु र काट्छु
धर्तीका सारा दुःखहरू'

अनि ?

'अनि फिर्ता गर्छु तिमीलाई नै सुरक्षित ।'

- (शब्दहरूको नेपथ्य, २०५६ बाट)

***
मे १८, २००८ (नक्साल)

नारायणहिटीका नारायण र बाँकी तेत्तिस कोटि भगवान्

टिकटिक घडीको शिखर आरोहण झन्-झन् चुलिँदो छ, मानिसहरूको अनुहारमा कतै भय छ कतै कौतूहलको धुवाँ रङमङिएको छ । देशभित्र दशाको रुप बदलिएको मात्र छ, ठोस अवतरण हुन सकेको छैन । जनता नेताजीका पछि अनवरत् लागिरहे तर यिनै नेताजी भने 'आफू कसको पछि लागूँ प्रभु' भन्ने मनोदशाले ग्रस्त छन् । नेतालाई पनि महानेता चाहिएको छ । यस्ता नेतृत्वगुम नेताजीका हातमा राष्ट्रिय सर्कसघरको जोखिमपूर्ण सञ्चालन थामिनुपरेको छ । र, हामीले केही होला भन्ने अपेक्षा गर्नु रमिताको लाजमर्दो सिलसिला भइरहेको छ । यस्तैमा चैतको २८ को जग पार गरेर टेकिन आउनेछ जेठ १५ को ऐतिहासिक बैठक, संविधानसभाको । त्यस दिन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका ६०१ कुर्सी मात्र ताता बन्नेछन् कि अरु केही पनि हुनेछ, यसै भर गरेर भन्न सकिँदैन ।

सत्ताको खेलमा कस्तै पिलन्धरे वीर र गौप्राणी पनि उखरमाउलो खेलाडी भएर समयको चेपबाट फुत्त मैदानमा देखा पर्छन् । एक हिसाबमा उनीहरूलाई चिठ्ठा पर्छ । ज्ञानेन्द्र शाहले 'छप्पर फाडके' त्यही विरासत हात पारे । ज्ञानेन्द्रपछि फेरि अर्को कुन कर्मेन्द्र वा टपेन्द्रले गोलपोस्ट छेड्नेछ, हामी त तिनको एउटा-एउटा विजयमा खोइ कुन उल्लासले ताली पिट्ने न हो । हामीले बिस्तारै तालिम प्राप्त गर्दै आयौँ, जोर जबर्जस्ती दबाब र अन्धो आन्दोलनले नै थपक्क अधिकार हत्केलामा आउँछ । सोझो औँलाले घिउ त के, घिउमा लागेको कमिला पनि आउँदैन । बिग्रिएको संस्कार मूलधार बनेर बस्न थाल्यो राजनीतिको उचाइविन्दुदेखि नै । यस्तो शिक्षाप्रणाली राज्य भनिन लायकको दायराभित्र कहिले आउने हो, भगवान् भरोसा !

भगवान् भरोसा त भनियो, तर एउटा भगवान् भए पो ढुक्क हुन सकिन्थ्यो । भगवानै भगवान्‌को भेलबाढीमा कहाँ-कता तानातानी होला र कत्तिको छरपस्ट होला, केही भर छैन । नारायणहिटीमा गजक्क परेर बसका एउटा नारायणलाई 'ल सिट खाली' भन्ने सिग्नल देखाएर उठाए पनि जिल्ला-जिल्लाबाट जनपखेटामार्फत उड्दै केन्द्रमा बास बस्न आइपुगेका अरु छोटे नारायणहरूलाई के गर्ने ? कसले सिट खाली भनेर उठाउने ? आफैँ उठ्नलाई यी तेत्तिसकोटी टाउकाहरूको आफ्नै ढाड छ त ? अनि आपसी अविश्वासको राजनीति गरेर यिनले के लछारपाटो लगाउलान् ? दलीय अराजकता र निरङ्कुशतालाई सेलाउन अर्को राजाले फेरि पागलपन देखाउनैपर्ने हो ? यस्ता खुलदुलीमा हामीले पनि टाउको दुखायौँ भने अरु कसैलाई नोक्सान/नाफाभन्दा पनि हामी आफैँले छिपछिपे भए पनि जवाफ पाउँछौँ कि ? गहिरिएर हेरौँ है त !

***
मे १७, २००८ (नक्साल)

करिअर र हामी

'अहिले कहाँ रे तपाईँ ?' प्रश्न सुन्दा फोनबाट कसैले ठेगाना पछ्याउन खोजेको जस्तो लाग्छ । तर होइन । प्रत्यक्ष भेटमै पटकपटक यस्तो प्रश्‍नको सामना गर्नुपरिरहेको हुन्छ । 'कहाँ होउ आजकाल, पूरा व्यस्त ?'

औपचारिकता वा सद्‍भाववश साथीहरू हाल काम गरिरहेको थातथलो जान्न खोज्छन् । यो अस्वाभाविक होइन । खासमा हामी आजको पुस्ताको लागि करिअर यतिविघ्न महत्वपूर्ण छ कि यसको लागि परिवार समेतलाई दाउमा राखेर अघिल्तिर हुत्तिन हामी आतुर छौँ । यसकारण घरपरिवार र आपसको सन्चो-बिसन्चोभन्दा पनि अहिले कहाँ काम गर्दै हो भन्ने थेगोमा हामी अल्झिएका छौँ । करिअरले हाम्रो मन पिसिएर/भुटिएर तावामा छुटेर जलेको करेलाको मिहीन पाप्रो भएको छ र दिमाग मात्र भद्दा भएर जागिरहेछ ।

रुवाउने करिअर । हँसाउने करिअर । यही मझधारमा आजका युवाले जीवनको नाउ खियाइरहेछन् । यो खियाउनुसँगै उनीहरू आफैँ खिइँदै गएका त छैनन् ? खोइ, यसको हिसाब गर्ने कसले ? देशमा आज छ्वास्सछुस्स रुपमा युवा मन्त्रालयको कुरा उठिरहेको छ । असम्भव भन्ने के कुरा छ र, नयाँ सरकारले त्यस्तो नयाँ मन्त्रालयको व्यवस्था पनि गर्ला । तर त्यो युवा मन्त्रालय पनि कुनै एउटा युवा अनुहार भर्ती हुनमै सीमित भयो भने नयाँ नेपालको नयाँ विडम्बना उखान मात्र सही साबित हुनेछ । युवा मन्त्रालयको युवा मन्त्रीले आफ्नो करिअर बनाउनेछन्, बाँकी त ऐजन ऐजन... ।

जीवनमा हामी पढेरभन्दा परेर सिक्दै आउँछौँ । पढाइको कखराले नदिलाएको हातको मैला अनुभवको एकै झोकाले हत्केलाभरि भरिदिन्छ । र पनि हामी अपूरो बन्छौँ नियतिको गोलघरमा र 'करिअरको बेरियर' खोज्नमा आफूलाई हराउँछौँ । करिअर चाहिन्छ, समाजमा सहज भएर जीवनयापन गर्नलाई । सम्मानजनक स्थानको लागि । तर त्यही सबथोक होइन सायद । करिअरको दौडमा लछारपछार हुँदाहुँदै हाम्रा अन्य महत्वपूर्ण कुरा नछुटून् । पछि फर्किँदा केही नरहेको स्थिति नहोस् । सिबाय पछुतो र आँसुले पनि नपखालिने भुतभुते खरानीजस्तो आँखा । ओशोको चर्चित किताब 'अलोन वी क्यान फ्लाई' को भाव समाएर कुद्‌ने भए अर्कै कुरा ।
आज जे छन्, सबै तपाईँसँगै रहन सम्भव होस् ।
यो शुभकामना तपाईँलाई !
तपाईँको प्रिय साथीलाई !!
अनि मलाई पनि !!!
यति मात्र ।

***
मे १७, २००८ (नक्साल)

ऐनामा मेरो देश (कविता)



- सुरेश सुवेदी


यात्रामा
समस्याका अग्ला-अग्ला
सगरमाथाहरू उभिन सक्छन्
अशान्तिको बादलसँगै
दुःखका असिनाहरू बर्सन सक्छन्
षड्यन्त्रका
चट्याङहरू खस्न सक्छन्
कतै
कलेजो छिया-छिया हुनेगरी
सुस्ताहरू छटपटाउन सक्छन्
कतै एकताको जग हल्लनेगरी
राष्ट्रघातीहरू सलबलाउन सक्छन्
खबरदार
नयाँ जिन्दगी
नयाँ विश्वास
नयाँ रङ
नयाँ समय
नयाँ सत्यसँगै
खोलेर चेतनाको भोटेताल्चा
विवेक र विचारको साँचोले
चिहानबाट चियाइरहेका
सहिदहरूको नाममा
शान्तिको दुबो उमारेर
अक्षरको रमाइलो पिङमा
बयली खेल्दै म
यो देशको
लाली गुराँस फुलेको
रातो कविता लेख्‍न चाहन्छु
बगरका ढुङ्गामा लतपतिएका
रगतका सिर्का पखाल्दै
फूलको बास्नामा मिसिएर
कहालीलाग्दो तस्विर मेटेर
नयाँ क्यानभासमा
नयाँ तस्वीर उतार्न चाहन्छु
परिवर्तनको नयाँ मोडमा
सुन्दरी युवतीको स्नेहले
लोलाएका नयाँ आँखा होइन,
विश्वको मानचित्रमा
छाती फुकाएर हाँसिरहेको
मेरो देशको ऐनामा
एकपटक म
मेरो नयाँ अनुहारले
हेर्न चाहन्छु ।

भोजपुर, हाल: काठमाडौँ ।
disubhai@yahoo.com

प्रेमको जन्म, प्रेमको मृत्यु

के प्रेम गर्भधारण हुने कुरा हो ?
प्रेमको जन्म हुन्छ ?
अनि प्रेम मर्छ पनि ?

यी प्रश्नका चराहरूले मेरो टाउको दुखाएका छैनन्, बरु मन भने मज्जैसित ठुँगेका छन् । प्रेमको बारेमा मैले कहिलेदेखि सोच्न थालेँ, अनि यो सोचाइ कहिले बन्द हुन्छ, यकिनसाथ भन्न सक्दिनँ । मेरो जन्मसँगै प्रेम जन्मियो कि ? यसको माने मेरो जन्मअघि प्रेम नै थिएन भन्ने होइन । मेरो जन्मले मेरै परिवेशको प्रेम लिएर आएको चाहिँ हो । यसर्थ अब के त उसोभए मेरो मृत्युसँगै त्यो प्रेम जानेछ, होइन त ? अर्थात् प्रेमको मृत्यु ।

एकजना दाइ साथी (साथी मात्र र भाइ साथी पनि हुन्छन् क्यार) सँग ६/७ महिनाअघिको भेटको एक प्रसङ्ग सम्झिन्छु यतिखेर । डिल्लीबजारबाट पुतलीसडकतिर ओरालो झर्दै गर्दा कोठाबाट निस्किएर आउँदैछु भन्ने कलेजको एउटा साथीलाई कुर्दै थिएँ । छेउकै ध्रुवको पसल पत्रपत्रिकाघरमा मान्छेहरू आइरहेका थिए, गइरहेका थिए । तर मैले पर्खिरहेको मान्छेको अत्तोपत्तो भएन । यत्तिकैमा तीन तन्नेरीहरू ओरालो झर्दै मेरो छेउमा आइपुगे । तिनले मेरो अफिसको आइडी निकालेर हेरे, पैसा कमाएको कुरा उप्काए, अनि साथीभाइको माहोलदेखि हराएकोमा मलाई प्रश्नहरूले चिमोट्न थाले । ती तीन तन्नेरी थिए सुरेश सुवेदी, घनेन्द्र ओझा र जय गौडेल । सायद उनीहरू गजलसम्बन्धी संस्था अनाममण्डलीद्वारा एकैचोटि प्रकाशनमा आउन लागेको १२ किताबका लागि दौडधूपमा थिए त्यसताका ।

'किन माया मारेको हो यसरी ?' सुरेश दाइले घट्टमा मकै ओइरिएजस्तै गरी सरक्क प्रश्न मेरो लागि पोख्‍नुभयो । साप्ताहिक पत्रिकामा कामको चापबारे दाइ अनभिज्ञ हुनु स्वाभाविक थियो । त्यही कामकै गुफामा म भूमिगत बन्नुपरेको लामो कथा सुनाएर पनि मेरै अनुभव घोलेर बुझाउन गाह्रो थियो । मैले प्रश्नको जवाफ दिने सिलसिलामा यस्तैयस्तैमा भनिदिएँ-'माया मारेको होइन, आफैँ मरेको हो ।' सुनेर के असर पर्‍यो थाहा भएन । त्यसपछि पनि संयोगले जम्काभेटबाहेक नियोजित भेटघाट लामो कालसम्म हुन सकेन । ती तन्नेरीहरूसँग बिदावारी भइसकेपछि आफूले बोलेको कुराबारे सोचेँ, मरेको माया...।

पुरानो हुँदैन माया भन्ने गीतमा मात्र होइन, बोलीचालीमा पनि धेरै ओठहरूबाट सुनेको छु । यस्तै तन बूढो भए पनि मन बूढो नहुने प्रसङ्गले त हाम्रा हजुरबा/आमालाई राम्रो भरथेग गरेर जोश भरेको छ । तर नयाँ-पुरानोको कुरामा यसो सोच्दा, मानवको यात्राक्रममा हिँड्दाहिँड्दै घुँडा खिइएजस्तै आत्मीयता र मायाको दूरी बढ्दै जाने त होइन भन्ने लाग्छ । हिजो मन परेको मान्छे आज झर्कोलाग्दो हुनु, छायादेखि पनि पन्छिन खोज्नु, निकट हुने आतुरता सबै सेलाएर फिल्मी ट्राजेडीकै हाराहारीमा नौ डाँडापारि पुग्नु ।
खोइ के पो हुन् यी कुराहरू ।
जति गरे पनि भन्नै नसकिने ।
भने पनि कहिल्यै नसकिने ।
अव्यक्त... अमूर्त...।

***
मे १८, २००८ (नक्साल)

12 May 2008

दुई गजल


- रुपक बनबासी

१)
प्रारब्धमा मान्छे कति विवश हेर्नुस्
बार-बार विफल भयो सिसिफस हेर्नुस् ।

स्याहार्दा-स्याहार्दै मर्‍यो गुलाफको बोट,
कसरी फस्टाएछ यो क्याक्टस हेर्नुस् ।

विश्वास नराखूँ प्रत्यक्ष आँखाले भोगेको छ,
यथार्थभन्दा कति टाढा यो सर्कस हेर्नुस् ।

पाइएन प्रशंसाको आनन्दीमा रमाउन,
अभागीको पोल्टोमा सधैँ अपजस हेर्नुस् ।

दिक्दार हुँदा आत्महत्याको सोचाइ उर्ले पनि,
जीवनप्रति हुँदो रै'छ मोह र लालस हेर्नुस् ।

.......................................................
२)
दुवै हाजिर भयौँ दिलको दूरी बोकेर
म आफ्नो कलेजो बोकेर ऊ छुरी बोकेर ।

निर्माण हुने क्रममा थियो घर पिरतीको,
तिमी आइपुग्यौ अकस्मात हुरी बोकेर ।

बिना सहयात्री जिन्दगीको उकालोमा,
बाध्य भएँ म हिँड्न दुःख नौमुरी बोकेर ।

बस्न बरु वेश होला रोई एकान्तमा,
कहाँ जाऊँ अब म यो मजबुरी बोकेर ।

सुनाउन गाउँभरि उड्दै जाऊ ए चरी,
म मरेको हालखबर जरुरी बोकेर ।

तनहुँ ।
banbasirupak@yahoo.com

आफैँ आफ्नो साथी भएँ

यतिखेर कसैको चालचुलको पर्खाइमा छु । व्यर्थ छ भन्ने जान्दाजान्दै पर्खिनु मेरो कत्रो उल्लूपन ! प्रतिक्रिया सुन्नको लागि यति मरेको छु, यतिसम्म पूकार मैले ईश्वरसँग त के आफैँसँग पनि यसअघि गरिनँ सायद । एउटा यस्तो प्रतिक्रियाको शीतल, जसले आफ्नो अस्तव्यस्त उडानलाई झट्ट भरोसापूर्ण सतह देओस् । यो मेरो इच्छा मानौँ नामुद साहुजीको विलासिताकै फेहरिस्त हो सायद, कहिल्यै पूरा नहुने । मेरो पर्खाइ बूढो हुन्छ, राल-सिँगानमा झोक्रिन्छ, हेपाइमा पर्छ र यस्तैयस्तैमा घिटघिटो खप्दै मर्छ । म प्रार्थनामा के बोल्छु, मेरो वरदाताले फिटिक्कै बुझ्दैन । अथवा बुझे पनि अहम्‌तालाई थोरै सङ्कुचन पारेर मसम्म आफूलाई सस्नेह झुकाउँदैन । आत्मीयताको नयाँ परिभाषा मेरै परिवेशमा बन्दै छ । मेरो लगाव र आशक्तिलाई नोकरसरि आफूप्रति पिछलग्गु बनाइराख्‍ने उसको अव्यक्त भावले म अझसम्म अभिशप्त छु क्यारे । यो कस्तो विपत्ति ! म आफ्नो गीतरचना आफैँ सङ्गीतकारको धुनमा आफैँ गायककारद्वारा अनि आफैँ स्रोतालाई सुनाउँदै छु । मेरो छेउमा पर्खिएको तिर्खालु कोही छैन ।

कहिलेकाहीँ झल्यास्स हुन्छु, जिन्दगीमा मैले केही गल्ती पक्कै गरेँ । बोध गर्न थाल्छु । त्यो पनि कस्तो गल्ती भने, आफ्नै जिन्दगीलाई स्पस्टता नदिने र रनभुल्ल पारेर पेन्डुलम बनाउने गल्ती । र, त्यो अब सच्याएर अनि पछुताएर टाउको ठोक्दैमा विषरहित हुने हो र ? यस्ता गल्ती गर्नेहरूको सूचीमा म पनि अब एक प्रत्यक्ष उम्मेदवार । संविधानसभापछिको कानुन निर्माणमा तर यो उम्मेवारको कुनै भूमिका छैन । समझदारी होस् भन्ने चाहने नाममा जे जस्तो हुन्छ होस् भनेर छाडिदिने बेहोसी ताल अपनाउनुपर्छ भन्ने मलाई लाग्दैन । समझदारी र स्वतन्त्र यात्रामा आपसी सम्मान र चासोको सापेक्ष पाटो अवश्य रहन्छ । जहाँ अर्काप्रति चासो र खुलदुली रहँदैन, त्यहीँ सम्बन्धको औचित्य समाप्त हुन्छ ।

कवि तथा गीतकार रमेश क्षितिजको गीतसँगालोको नामलाई यस लेखको शीर्षक बनाउँदा मैले सोचिनँ- 'कठै ! क्षितिजबाबूले पनि मेरै अनुभूति पार गरे ?' मैले यस्तो सोच्नु सोह्रै आना मूर्खता हुनेथ्यो । कारण, एक्लोपनको चरी बिचरीको व्यथा भोग्ने त आजको जस्तो अनकन्टार सांसारिक जङ्गलमा जो पनि हुन्छ । स्कुले बेलामा 'मेरो सानु साथी' (भवानी भिक्षु) कथा पढेसँगै एक्लोपनको छिपछिपे अनुभूतिले म त कहालिन सुरु गरेँ । कथाको आशय छ- चाहेर कसैले कसैको साथ दिने होइन र नचाहेर पनि नछुट्टिई बस्न सकिने होइन । यात्रा गर्नुपर्ने आखिर एक्लै एक्लै...

र, तपाईँलाई जस्तै मलाई पनि लाग्दैन, दिल र दिमागमा बतासिएर उठेको एक्लोपनको यो भट्किँदो डुङ्गाले सन्तुलनको किनारा भेट्टाउनेछ । विज्ञापन फुकेरै पनि सुनुवाइ नहुने आजको हतारिएको संसारमा भावनाको बोल सुन्ने फुर्सदमा को नै होला र ? र, सुनेवापत जागिरको तलब दिने पनि कसले ? आजको अस्तित्वले तलबी कामलाई बाहेक दायित्व सोच्ने पनि त होइन ।
यात्रा साँच्चै एक्लै...एक्लै ...
***
मे ११, २००८ (नक्साल)

08 May 2008

आधा रङ्ग गए पनि

धा रङ्ग गए पनि जवानीको फूल उस्तै
तैपनि छ जिन्दगीमा आँसुको यो मूल उस्तै ।

तिमी मात्र मेरा प्यारा भन्ने सीमा तोक्नु किन,
धेरैलाई प्यारा भन्ने गर्‍यौ होला भूल उस्तै ।

मेला अनि हाटतिरै सिक्लान् बरु केटाकेटी,
कठै यहाँ तर्साउने बन्दीझैँ यो स्कुल उस्तै ।

मुहारको गुलाफले गाढा रस फिँजाउँछ,
हेपिएछ रुपैबिना चेतनाको तरुल उस्तै ।

निम्तो लेख्‍ने समयमा आफैँ पारि पुगिन्थ्यो कि,
पारिबाट ऊ नै आओस् भन्छ तर पुल उस्तै ।

                      ***

हो, मैले तिमीलाई नै भोट दिएँ ! (कविता)



- कुसुम ज्ञवाली


हो,
मैले तिमीलाई नै भोट दिएँ
तिमीलाई खुवाउँदा खुवाउँदै
घरमा अन्नको गेडो बाँकी थिएन
ऋण नतिरे साहुले घर छोड्न भन्यो,
छोराले पठाएको पैसा नदिए
तिमीले घर छोड्न भन्यौ,
मर्न काल आएन
जन्मेको माटो छोड्न सकिनँ
यसपल्ट मेरो अहोभाग्य
अब कहिल्यै केही नमाग्ने सर्तमा
तिमीले जाबो एउटा भोट माग्यौ
हो,
मैले तिमीलाई नै भोट दिएँ
मेरो बास जोगाउनका लागि
मसँग तिमीलाई दिन बाँकी
अरु केही थिएन ।
♦♦♦

मेरो लुरेका बाबुलाई तिमीले लगेका हौ
मैले मेरा खसमको हाल खबर मागिनँ
मैले मेरा देवताको लाश वा श्वास मागिनँ
तिमीले बैँकबाटै लुटेको
मेरो मङ्गलसूत्र सम्म पनि मागिनँ
मैले सशूल्क कार्यकर्ताले जस्तो
तिमीसँग भत्ता मागिनँ, सत्ता मागिनँ
तिमीले टाट्नाको खसी माग्यौ
तिमीले कुखुराको भाले माग्यौ
मेरो बस्ने झुप्रो पनि माग्यौ
मसँग भएका यावत् चीज माग्यौ
हामीले नाईनास्ती गर्न कहिले पो पायौँ र
भए पनि नभए पनि टक्र्यायौँ
यसपल्ट मेरो अहोभाग्य
अब कहिलै केही नमाग्ने सर्तमा
तिमीले जाबो एउटा पैसै नपर्ने भोट माग्यौ
हो,
मैले तिमीलाई नै भोट दिएँ
मसँग तिमीलाई दिन
अरु केही बाँकी थिएन ।
♦♦♦
वृद्धभत्ता ल्याइदिने
डाँडाघरेको पनि कसले खुट्टा भाँचिदियो रे
भोट माग्न यसपल्ट कोही गाउँ छिरेन
यो चैतेदसैँको अक्षताका लागि
चामल पनि थिएन
धन्य टीका थापिमाग्न आएनछौ
मलाई आशीर्वाद र श्रापमा भेद थिएन
यसपल्ट मेरो अहोभाग्य
अब कहिलै केही मागेर नपिरोल्ने सर्तमा
तिमीले जाबो एउटा पैसै नपर्ने भोट माग्यौ
हो,
मैले तिमीलाई नै भोट दिएँ
अन्तिममा ज्यान जोगाउनका लागि
मसँग तिमीलाई दिन
अरु केही बाँकी थिएन ।
♦♦♦
- गुल्मी ।

भुस मान्छे ! ओ भुस मान्छे !!

मय,
मैले सधैँ मनमै जपिराख्ने 'प्रिय' विशेषण यस पत्रमा तिम्रो नामअघि लेख्न सकिनँ । खोइ जाँगरै चलेन, मन बन्द भएजस्तै भयो । यसको लागि सुरुमै माफी माग्छु । यो तेस्रो पत्रमा आइपुग्दा एक दुई तीन भनेर कुनै गणनामा हामीले निश्चितता तोक्न खोज्ने आम प्रवृत्तिजस्तै प्रियताको स्वतःस्फूर्त सम्बोधन मबाट निस्किन सङ्कोच मान्यो । म पनि आफ्नो यो स्थितिबाट चकित भइरहेछु । खोइ, के भयो भयो ! लाग्छ, अब संसारमा यस्तै चकित हुनुपर्ने लीलैलीला त छन् नि । यसपाली तिमीलाई प्रिय भनेर पुकार्न मलाई आउँदै आएन, यसको माने तिमी अप्रिय भएर त होइन । तिमी कहीँ न कहीँ कसैको प्रिय त सुरक्षित रुपमा हुँदै हौ । यो लेखिएकै होला भावीको लेखामा ।

यसअघि म यतिसारो काँपेको त कहिल्यै थिइनँ, दिमागमा तातो भुङ्ग्रोको श्राप पनि यस्तोसित कहिल्यै परेको थिएन । हुन्थेँ भने तिम्रै लागि म भयभीत हुन्थेँ र मिठासका लागि मीठो गरी तिमीसँगै डराउँथेँ । यसपाली भने यस्तो विक्षिप्त तुल्याउने गरी मलाई के भयो, बालापनमा राक्षसको कथा आमा-हजुरआमाले हाल्नासाथै मुटुमा ढुकढुक सोला हानेजस्तै म तिमीबाटै डराइरहेछु । तर तिमीले कल्पनालोकको कथा त मलाई सुनाएकी होइनौ, बरु एउटा सनसनी कथाले ममाथि त्रासदी छरिएको छ । वास्तविकताको करेन्टले म कस्तरी पिल्सिएको छु भने बाहिरबाट देखिएको म र भित्रको व्यथित मलाई बुझ्नै मलाईसमेत कति गाह्रो छ । जोसँगको सामीप्यमा यो ब्रम्हाण्डभरिमै सुरक्षित अनुभव गर्नुपर्ने हो, उसैसँग म डराइरहेछु । मैले जति गर्दा पनि बुझ्नै सकिनँ, किन यस्तो भयो ? म सामान्य बन्न सकिरहेको छुइनँ । सुरुको मेरो सहज अवस्था र तिम्रो पनि स्वाभाविक उपस्थिति खोइ त्यो खोइ ??? खोइ ती दुई पात्रहरू, जो विगतका दिनहरूमा एक-अर्काको लागि हरेक कुरामा उत्साही र कोमल बनिरहन्थे ? खोइ सुतेको मन्दिरमा उस्तै सुतिरहेका सारा सालिकमय मूर्तिहरूअघि ती दुई मात्र चलायमान दुई मनहरू ? खोइ हराएका जम्मै ती पूर्वरुपहरू ? खोइ मेरो त्यो प्रिय समय ? खोइ ??

यतिखेर एउटै मात्र पछुतो छ मनमा, म संवेदनाको ढिक्काढिक्का नौनीयुक्त मान्छे बनेँ । भएको आफ्नो मन अब कुनै रिपेयर सेन्टरमा लगेर यसभित्र इस्पात कोच्न सकिन्छ ? सहरको कुनै एक्सचेन्च अफरको मौका छोप्दै यो मनको सट्टामा अर्को लिन सकिन्छ ? अचेलभरि मलाई यस्तै अतिकल्पनाले मैदान खुला पारेर मलाई भकुन्डो गुडाइरहेछ । म के नै गर्न सक्छु र गुडि्कनु अनि गुडि्करहनुसिवाय ? र, यो जेजति लेख्दै छु अहिले, नठान्नू यो सबै साहित्यको उडन्ते भावनात्मक भेल हो । अथवा जे पनि ठान्न सक्छौ, कारण आफ्नो बुझाइमा आफ्नै मर्जी त चल्ने हो नि । सम्हालिनलाई मलाई अब आफ्नै भर छैन । आफ्नै भर बाँकी नरहेपछि मान्छे कति बेकामी बन्छ होला, भन्नु नपर्ला । हो म बेकामी हुँ । तिम्रै भाषामा भन्नुपर्दा म भुस मान्छे हुँ । जो गुदीविनाको नाथे जिन्दगीलाई पनि जिन्दगी ठानेर बाँचिरहेछ । यस हिसाबले म त झट्टै मरिहाल्नुपर्ने एउटा भुसाहा (सायद भुस्याहा नै) अस्तित्व ।

समय,
मे ५ तारिख (२००८) सोमबारको साँझलाई म एकरत्ति सम्झिन पनि चाहन्नँ र सक्दिनँ बिर्सिन पनि । यो कस्तो फसाद छ मलाई, समय - हजार पाइलाहरूको तात्तातै कुल्चाइमा परेर पिसिँदै गरेको वसन्तपुरको परिवेश सम्झिँदा मलाई हिटलरको ग्याँस च्याम्बरको उखरमाउलो कहाली पनि झिनो लाग्छ । यथार्थसँगको प्रत्यक्ष साक्षात्कार र इतिहासको एउटा झिल्कोको आहान सुनाइमा कति-कति अन्तर हुँदो रहेछ, आज आएर बुझ्दै छु । असली विश्लेषण गर्दा त्यो खाँट्टी रुपमा एउटा झगडीया साँझ थियो । चुलो बल्नको लागि आगो ठोस्नैपर्छ अनि झिल्का निकाल्नको लागि चकमक पत्थर रगड्नैपर्छ भन्ने धेरै सुनिएको थियो । तर त्यहाँ त त्यो साँझमा छँदाखाँदाको हरियो जङ्गल आगलागी भएर सखाप हुनेवाला थियो । धन्न नवीकरण र संशोधनबाट एउटा सम्बन्धको जात्रा सुस्तरी फेरि अघि बढ्यो । त्यो वसन्तपुर त्यसअघि त्यति अँध्यारो र रापिलो कहिल्यै थिएन । जनआन्दोलन -२ को सफलतापछि उल्लास मनाउने क्रममा प्रदर्शनीमा राखिएका मुठभेडको रक्ताम्य तस्बिरहरू हेर्दा पनि वसन्तपुर त्यति उराठमय लागेको थिएन । म त्यतिबेला दर्शकमात्र बनेथेँ सायद । तर पात्र नै बनेर प्रत्यक्ष वसन्तपुरको आँगनमा उत्रिँदा जिन्दगीको लुगा यति साह्रो बिझायो, म च्यातचुत भएर ओइलाऊँ जस्तो भयो ।

सहरमा बाँच्न त्यस्तो सकस कहिल्यै लागेन मलाई । तर मन भएर बाँच्न ज्यादै कठिन परीक्षा रहेछ । मन अडेसा लाग्ने भरोसाको ठाउँ यहाँ खोइ कहाँ रहेछ र ? ठाउँ भेटिए पनि त्यो वास्तवमा त्यही कहाँ रहेछ र ? यो सम्झिँदा यति अत्यास लाग्छ, छातीभरि भुलुक्‌भुलुक् उम्लिएका वेदना पोखाऊँ भन्दा पनि जाबो रुवाइ मात्रले त्यो काम गर्दैगर्दैन । कत्ति पनि गर्दैन । र, योभन्दा बढी लेख्न पनि सकिन्न । उदयपुरे साथी दीपक चिन्तक (सुवेदी) ले पत्र पठाउँदा टुङ्ग्याउने क्रममा लेख्ने गर्नुहुन्थ्यो- 'धेरै लेख्दा नदेखिन सक्छ, हवस् त बिदा है ।' त्यही सम्झिँदै छु ।

खासमा हो पनि, अक्षर लेख्दा र कुनै कुरा गर्दा यहाँ केही फिटिक्कै देखिँदैन । देखिनलाई अनि कसैको आँखामा सँगालिनलाई यहाँ चुपचाप सालिक बन्नुपर्छ । ढुङ्गा बन्नुपर्छ ढुङ्गा । तब एकाएक देवता भइन्छ । आत्मीयता र चासो पाउनको लागि मलाई बाँचीबाँची टक्क गाडिएको देवता बनेर करुण पूकार सुन्ने कुनै सोख छैन । मलाई मान्छे नै बनिरहनु छ र मन भाँच्ने गाली सुनिरहनु छ । अम्मल जो यसैको पाइरहेछु । समय, मेरो तमाखु यसैगरी भरी बनाइदिइराख है । मलाई धुवाँ फुकिरहनु छ र एकदिन अकस्मात रगत छादेर त्यसँगै आफैँलाई बान्ता गर्नु छ । आशा छ, यो मेरो अपेक्षा भने पूरापूर बुझेर तिमीले पूरा गर्नलाई हतारिनेछौ । कारण, स्वागतमा हतार हुन्न, बिदाइमा भन्ने आतुरताले हामीलाई छोप्छ र भर्‍याङ ओराल्न तम्सिहाल्छौँ । यात्रा अखिरमा एक्लै अर्थात् एक्लै... । उसै पनि यहाँ कसैको जीवनमा कसैको स्थान र महत्व छँदै छैन । तिम्रो भनाइमा सहमति जनाउन म पनि प्रयास गर्नेछु । आभार ।
***
मे ७, २००८ (नक्साल)

स्वादको नेपाली र सङ्‌कटग्रस्त नाक (संस्मरण)




- आकांक्षा कार्की

चार कक्षामा पढ्दा, नेपाली कक्षामा 'गुरुमाप्पा' नेवारी नाटक मिसले सबैलाई पढ्न लगाउनुभएको थियो । तर कसैले पनि शुद्धसँग नेवारीमा लेखिएका कुरा पढ्न नसकेपछि बाहिर चाहिँ मन नलागीनलागी पढेको झैँ गरी देखाउँदै, भित्रभित्र दङ्ग पर्दै, मैले पढेकी थिएँ । अनि स्कूलमा अभिभावकहरूलाई देखाइने 'गुरुमाप्पा' नाटकमा रहेको 'कृष्णचन्द' केटाको भूमिका पनि मैले नै अभिनय गरेकी थिएँ । मेरो केटाकेटी दिमागमा नेपाली भाषाप्रतिको मोह त्यही बेलादेखि नै बीजारोपण भएको थियो । म अहिले पनि नेपाली भाषाको कुरा गर्नेबित्तिकै त्यही क्षण झल्झल्ती सम्झिन्छु । मैले अभिनय गरेको त्यो, 'कृष्णचन्द' को भूमिका मलाई अहिले पनि निक्कै मन पर्छ ।
'सर्कल' मा Dawa को चिठी पढेँ । चिठी साह्रै मन पर्‍यो । तर नेपाली फन्ट नभएकाले होला रोमनमा लेखिएको रहेछ । नेपाली भाषालाई रोमनमा पढ्न पाउँदा पनि निक्कै आनन्द आउँदो रहेछ । स्वरुप जुन भए पनि गुदी नेपाली भएकाले होला । Dawa को रोमनमा लेखिएको चिठी पढ्दा कतै नेपाली भाषा भोलि रोमनमा परिणत त हुने होइन भनी शंका पनि लाग्यो । अनि मेरो बाल मस्तिष्कमा रोपिएको नेपाली भाषाप्रतिको मोह फेरि जागृत भयो । मलाई केही लेख्नकालागि घचघच्यायो । र 'सर्कल' को बैठकमा नेपाली भाषामा केही लेख्छु भने । मेरो कुरा सुनेर सबैमा मुख खुल्लै रहे, आँखाका साइज एक्कासि ठूला भए । मानौँ उनीहरूको सामु अजङ्गको जनावर उभिएको छ । मन दुख्यो । अनि नेपाली भाषाको झन् माया लाग्यो ।

एसएलसीपछि हामी सयमध्ये चार-पाँच प्रतिशत मात्रैले नेपाली पढेका वा लेखेका हुनुपर्छ । कस्तो सरमलाग्दो कुरा.... कक्षा ९, १० मा पढ्दा कहिलेकाहीँ नेपालीमा लामा-लामा पट्यारलाग्दो, अल्छीलाग्दो विवेचनात्मक उत्तर दिनुपर्दा, 'नेपाली' जिन्दगी कहिले नपढ्न पाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । तर अहिले मनोविज्ञान र गणितको सागरभन्दा पनि ठूला Syllabus देख्दा A Level मा पनि त्यही नेपाली पढ्न पाए कस्तो आनन्द हुन्थ्यो जस्तो लाग्छ । अस्ति एउटा सार्वजनिक कार्यक्रममा जाँदा, एउटी युवतीले मेरो सामु आएर भनिन्- 'You are from Rato Bangala! That’s why your English is so good!' मैले नभा'को बत्तीस दन्त देखाएर 'Thank you' फर्काएँ ।

समय कसरी परिर्वतन हुँदो रहेछ, सम्झिँदा पनि अनौठो लाग्छ, कक्षा चारमा रातो बंगलामा भर्ना हुनकालागि परीक्षा दिन लाग्दा मेरो सबैभन्दा राम्रो पक्ष भनेकै नेपाली विषय थियो । नेपाली खर्रर पढेर वन्दना मिसलाई मख्ख पारेको र अंग्रेजीमा Teddy Bear किताबको दुई पाना हक्लिँदै पढेको म कहिल्यै पनि बिर्सन्नँ । नेपाली पढ्न पाउँदा स्वर्गीय आनन्द आउँथ्यो । अनि अंग्रेजीका ठेली देख्दा मेरा टाउको दुख्थ्यो । एकताका 'Two' लाई 'Tow' Spell गरेकोले साथीहरू अहिलेसम्म पनि गिज्याउँछन् । अरुले अंग्रेजी र म्याथको माला जप्दा म चाहिँ My favourite subject is Nepali and my favorite teacher is Bandana Miss भन्थे And today, I was being congratulated for speaking good English. Funny! However, it took me a while to achieve this 'prestigious' English speaker title. अंग्रेजी किताब मेरा दुश्मन थिए । शब्दहरू केही नबुझ्ने र सबैभन्दा महत्वपूर्ण Comprehend गर्न नआउने । अब परेन आपत् ...! Box Car Children भन्ने किताब पढ्नु पर्थ्यो, पाँच पाना पढेपछि के हो के हो - दिक्कै लाग्दो ! छ-सात कक्षामा पुगेपछि बल्ल बुझ्न अलि सजिलो हुन थालियो अनि त बल्ल RACE सुरु भयो । धमाधम I started reading everything I could get my hands on ( and NO ! that doesn't include Harry potter ) अहिले पनि शब्दभण्डार ( Vocabulary ) Miss Perry को standard जति तगडा भएको छैन । कहिलेकाहीँ लगातार B3 पाउँदा त साह्रै पछुतो लाग्छ । सानैदेखि किताब पढ्याभए - .......तर अपसोच !

अँ, सानो बेलाको कुरा गर्दा मेरो ९ वर्षको भाइ नेपालीमा जिरो छ । अंग्रेजी चाहिँ शुद्ध, Tape recorder जस्तो खररर्र बोल्छ । अब उसको यो Bringing up मा कसको दोष, ( वा निर्दोष ) त ? नेपाली आउँदैन भनेर हपार्ने कि ?, अंग्रेजी आउँछ भनेर स्याबासी दिने ? नेपाली भएकाले उसलाई शुद्ध नेपाली बोल्न आउनुपर्ने हो तर पनि किन यत्रो ओझेलमा नेपाली ? समाजशास्त्रको सिद्धान्त यहाँ लागू हुन्छ । सहरमा बसेर अंग्रेजी बोल्नु हामीलाई हाम्रो कर्त्तव्यझैँ लाग्न थालेको छ । समाजको संरचना नै यस्तै भएपछि हामी पनि यही समजमा बसेर अरु भन्दा अलग हुन सक्दैनौँ । हाम्रा अभिभावकहरू आफ्ना छोराछोरीले अंग्रेजी बोलेको सुनेर मख्ख पर्ने हो भने भोलि नेपालमा नै नेपाली बोल्ने मानिसलाई टर्च बालेर खोज्नुपर्ने हुन्छ । अनि नेपाली भाषाको जगेर्ना गर्न विदेशीको टोली नेपालमा आउनुपर्ने हुन्छ । त्यो बेला के होला हामी नेपालीको अस्तित्व ? Manesh Sir ले कक्षा कोठामा बारम्बार भनिरहने कुरा याद आयो- 'You are here because you want to go to America.' Maybe its not the statue of liberty efÚ sf] America for everyone, but going to Australia, Uk, Newzealand and even India for that matter, doesn't make a difference to the whole idea. So people, stop rationalizing!

Lastly, for people who thought that the English version of 'Palpasa Cafe' was one of the best novels you've read in your lives. तर पल्पसा क्याफे नेपालीमा लेखिएको उपन्यास हो । र धेरै चर्चामा आएपछि मात्र यसलाई अंग्रेजीमा अनुवाद गरिएको हो । त्यसैले पल्पसाको सही मज्जा नेपाली पल्पसा क्याफेमा नै छ । ( नेपाली पढ्नकालागि एसएलसीमा ६० प्लस आएकै हुनुपर्छ भन्ने छैन । )

- रातो बङ्‌गला स्कुल, पाटनढोका ।

साथीहरूको माझमा

- 'किन होउ सर पर-पर तपाईँ, अलि हामीसँगै यता आउनू न !'
मे ४ आइतबारका दिन मार्टिन चौतारीको गेट छिचोलेर माइतीघर चोकको लागि सेन्ट जेभियर्स कलेजतिर मोडिन लाग्दा साथी अभिनय थापा बोल्यो । बोली सामान्य र स्वाभाविक भन्न सकिन्थ्यो । तर, बोलीसँगै बीच-बीचमा मिसिएको उसको हाँसोले कता-कता मलाई व्यङ्ग्य गरिरहेको थियो । र यो एकपटकको कुरा होइन । रत्नराज्य क्याम्पसमा स्नातक पढ्दादेखिको साथी अभिनयको हाँसोमा केही समययता मप्रति रहस्यात्मक हाँसो फुस्किएको पाउनु भेटैपिच्छेको मेरो रुटिन भइरहेको छ । यो हाँसो किन र केका लागि, म बुझ्छु । जुन कुरालाई यहाँ सविस्तार खुलाउनु आवश्यक देख्दिनँ । कुनै-कुनै कुरा बुझेर पनि त्यसलाई नदेखाउनुपर्ने समय/अवस्थाको नियम हुन्छ । बनेको एउटा नयाँ सम्बन्धले मेरा केही साथीलाई प्रत्यक्ष/अप्रत्यक्ष रुपमा बिझाउनु स्वाभाविकै थियो । यसको लागि म गर्न नै के पो सक्थेँ ?

कुनै पनि कुरा वा घटनाको प्रतिक्रियामा कोही साथी बोलेरै अथवा सङ्केतबाट व्यङ्ग्य र्छछन् कोही साथ दिन्छन् । अनि कोही मौन रहेरै 'साथी' को अहम् दायित्व पूरा गरिरहन्छन् । उनीहरूको यो मौनता आफ्नो लागि स्वीकृति हो कि कटु खिसीटिउरीको गुपचुप सिलसिला, बुझिनसक्नु हुन्छ । यस्तो कुरा बुझ्नलाई कसैले साथीहरूको माझमा समय नष्ट गर्ने मूर्खता पनि गर्न हुन्न सायद । जे छ, छँदै छ । नभएको टेढेमेढे कुरालाई भएको पार्न कम्तीमा मैले त्यस्तो खेल जानेको छुइनँ ।

अन्तर्मुखी यात्रा र म
मेरो अन्तर्मुखीपनले कहिलेकाहीँ मलाई जोरजुलुमसाथ अत्याएर रुवाउँछ । कलेजमा मिडिया विषय लिएर पढ्न थालेदेखि विषयको विशेषतागत प्रवृत्तिले केही बहिर्मुखी हुँदै आएँ । अन्तर्मुखी हुनाले आफ्नो मनको कुरा हत्तपत्त कतै निकासमा जान मान्दैन र कुनै न कुनै तरिका अपनाएर जनाउ गर्नुपर्ने कुराहरू पनि छुटिरहेको हुन्छ । यस बीचमा राजधानीको भीडमा गनिन आएका अनेक अनुहारमध्येका केही विशेष आकृति आफ्नो सम्पर्कमा बुनिन आए । र, यो सहरी परिवेशका साथीहरूसँग जति नै घनिष्ट भएँ भने पनि अन्तरङ्ग हुन नसक्नु मेरो दशा भइरहृयो । थाहा छ, यो मेरै अघुलमिलपनको नतिजा हो । फेरि, म जस्तो छु त्यस्तो नहुन पनि कसरी पो सक्छु र ? यस्तो कठोरता पनि मैले अनेक सम्बन्धबाटै सिक्दै आएँ । के पनि सत्य हो भने, मिल्ने साथी बन्छु भनेर बिजनेसको हिसाबकिताब मिलाएजस्तै तयार गरेर, योजना बनाएर हुने पनि होइन ।

सम्बन्ध यत्तिकै १० मिनेट मात्रको यात्रामा साथै हिँड्दाहिँड्दै पनि अटूट भइदिन्छ । अनि वर्षौँको निकट सहयात्रा पनि एकाएक बलेँसीमा बज्रिएको माटोको गाग्री बनिदिन सक्छ । यस्तो थाहा पाएर पनि सम्बन्धको मामिलामा सतर्क हुन सकिने कुरा होइन, पछिको कुरा कसरी थाहा पाउनु । तर पनि, सम्बन्धको सूचारुमा आफ्नो समान भूमिका हुने निश्चित भए पनि हरेक सम्बन्धको सुरुवातमा म नमीठो गरी काँप्ने गर्छु कारण, आफ्नो भूमिका इमानको भए पनि अरुबाट धोका पाउने कुरालाई त कसरी पो नियन्त्रण गर्न सकिन्छ र ? न आउने बाढीलाई रोक्नु न जाने बतासलाई छेक्नु । निश्चितता यहाँ हुन्छ के नै कुराको ? दूधे बालकलाई मन्दिरछेउ निर्जीव मूर्तिको रेखदेखमा छाडेर अर्को कुमारी रात खोज्दै हिँड्ने एक्कादुई आमा हाम्रै समाजमा हुन्छन् । आमा र सन्तानको यस्तो अजम्मरी साइनो !

थरीथरी साथीपरी
साथीहरूको सङ्गतिमा म धेरै रहेँ । कोही सञ्चार संस्थामा काम गर्दाका साथीहरू । कोही साहित्यकर्मका सिलसिलामा बनेका साथीहरू । कोही कलेज पढ्दाका साथीहरू । कोही सडकमा जम्काभेटमा आएका साथीहरू । साथी नै साथीको यो महासागरमा तुलनात्मक रुपमा स्कुले साथीजस्तो स्वतःस्फूर्त र सम्पूर्ण भावनात्मक दुरासयमुक्त साथी कतै दोहोरिएर आएनन् । स्कुलमा १० वर्षको लामो कालखन्डको सामीप्यता मिल्ने भएर पो हो कि ? तर होइन, सम्बन्धमा समयसीमाको कुनै हिसाब हुन्न । यो मेरो भोगाइको कुरा । खासमा अधिकांश मित्रताको पहिरन व्यापारिक हतारोमा बुनिन्छन् र त्यसलाई पहिरिएर न्यानो-शीतल के-के पाउनुपर्ने हो व्यापारिक हतारोमै खोजिन्छन् । अर्थात् 'मैले मात्र फोन गर्नुपर्छ भन्ने के छ, उसले गरोस् तब मात्र फेरि म गर्छु ।'

मन भएर पनि उता फोन गरोस् भन्ने साथीको परिबन्द र विवशता के हुन्छ, यता फोन कुर्ने साथीको अनुमान डेग चल्दैन । खालि फोनमै मित्रताको जोखाना हेरिन्छ । नाथे फोनमा झुन्डिएको मित्रताको आन्द्राभुँडी केलाउनुपर्ने त्यो मित्रता के मित्रता !? सम्बन्ध त मनदेखि मनसम्मको रसायनमा जोडिने तुइन होइन र ? लोभी मन तर फोन कुरिरहन्छ र कुरा केलाउँछ- 'ऊ कति आत्मीय हो, कति मतलबी र निठुरी हो थाहा पाइयो ?' तर मित्रतामा एउटा मजबुन भने पक्कै हुन्छ- मीठा-मसिनो बोलेपछि प्रतिक्रियामा ताजा उस्तै बोली फर्किनुपर्छ । जाबो ऐना हेर्दा पनि ऐनाले त हामीलाई हाम्रो अनुहार देखाइदिन्छ भने मान्छेले मान्छेको जवाफ नदिनु ?

अन्त्यमा,
साथीहरूको माझमा जब लोडसेडिङ हुन थाल्छ, तब कुनामा दबिएको मैनबत्ती जलाउन मन हुन्न र सम्साँझै ढुक्कले सुतिन्छ । यही भवितव्य हो ।
***
मे ८, २००८ (नक्साल)

दुःख



दुःख

मान्छेजस्तै हुन्छ

हाँस्छ मुसुमुसु
र धुरुधुरु रुवाउँछ
कर्कटपातामा रमाएको ढोलके वर्षासँगै
दुःख आफ्नै भाषणमा
आफैँले थपडी बजाउँछ

ऋषिको श्रापजस्तै चल्छ एकसाथ
कत्ला जमेको हत्केला
र मनको खियादार मदानी
तब तातो दिनमा
बैँसालु पर्वतको आङभरि ताजा पसिनाजस्तै
गहको कापभरि बादल पोखिन्छ

दुःख
मान्छेजस्तै हुन्छ

तारले टनटनी पाता कसिएका ल्याम्पपोस्टहरू
घाटेहरूले लाश कुरेजस्तै
सालिक बनिरहन्छन्
त्यसैमा पोको परेको भाग्य
फ्युज गएर पनि झुन्डिरहन्छ

अँध्यारो सडकदेखि हाँकिएको
जँड्याहा दुःख
हल्लिँदै कुमारी घरमा सिंहासन जमाउँछ
बस्छ भेट्नो चुँडिएको अनुहार-अनुहारमा
र ताछ्‌दै झार्छ रातो माटोमा सारा लालीगुराँस

दुःख
मान्छेजस्तै हुन्छ

दुःखले
दुःखबाहेक केही गर्दैन

खसम र आफ्नो लाश जलाउन
वंश रोप्ने सौतालाई
दुःखले
आफ्नो आँगनमा
सहर्ष स्वागत गर्छ ।

***

© जोतारे धाईबा

मे ७, २००८ (नक्साल)

04 May 2008

उसका ती सपना (कथा)


॥ अनिता शिवाकोटी ॥
मकाएर भत्किन लागेको घर, भित्तामा पोतिएको रङ उडेर टाटेपाटे बनेको छ । भित्तामा टाँसिएको माटो उप्किएर भुइँभरि छरिएको छ । घरवरिपरि फोहोरै फोहोर छ । घरको छिँडीको एउटा कोठामा मधुरो बत्ती बलिरहेको छ । घर मुख्य सडकखण्डको छेउमै छ । तर पनि काम परेर गएकाहरूको बाहेक बाटो हिँड्ने कसैको ध्यान यो घरले तान्दैन । ढप्काइराखेको ढोका उघार्दै हामी दुईजना भित्र पस्यौँ । भित्र पस्न नपाउँदै कोठामा गुम्सिएको ढुसी हामीलाई स्वागत गर्न आइपुग्यो, सासै रोकिएलाजस्तो गरी । राजधानीभित्र पनि यस्तो घर ? पहिलोपटक म यस्तोघरमा छिर्दै थिएँ ।

एउटा बालक, अन्दाजी १३ वर्षो, किताबको बीचमा आफूलाई हराइरहेको छ । निकै लगनसाथ पढिरहेको देखिन्छ । हामी उसको कोठामा छिरेको उसले पत्तै पाउँदैन । मसँगै गएकी साथीले उसलाई बोलाई- 'विकास, कत्ति पढ्छौ हो ?' उसले हामीतिर हेर्‍यो अनि आङ तान्दै, प्रतिउत्तरमा मात्र मुसुक्क मुस्कुरायो । विकासको र मेरो पहिलो पटक भेट भएकाले मैले आफ्नो परिचय दिएँ । उसले पनि परिचय दियो- 'म विकास' । उसले आफूनजिकै रहेको स-साना दुईटा टुलतिर देखाउँदै भन्यो- 'बस्नुस् न !' उसले देखाएको टुलतिर बस्दाबस्दै मैले कोठाको चारैतिर नियालेँ । निकै मिहिनेत गरेर सजाइएको छ कोठा । कोठामा सामान निकै थोरै छन् र महँगा पनि होइनन् तर पनि निकै राम्रो र व्यवस्थित कोठा । त्यस्तो थोत्रो घरभित्र पनि यति राम्रो कोठा हुन सक्छ, कसले सोचेको होला ?

'गाउँ रुवाई म आएँ...'

धेरै दिनदेखि एकतमास भइरहेको मनले साथीको गुनगुन खोजिरहेको रहेछ । जब साथीको सङ्गतिमा झ्याम्मिएँ, औषधिको काम गरिहाल्यो । मन कति बोझिलो र दिमाग कति जेलिएको रहेछ भने, बितेका उल्लेखनीय दिन सँगालेर शब्दहरूसँगै ब्लगको आँगनीमा नाच्न नपाउँदा ममा गाँठिएर बसेको उखरमाउलो सकसक साथीसामु सरक्क फुकिहाल्यो । कम्प्युटरमा युनिकोड सेटिङमा खराबी देखिएकाले केही समययता लेख्न नपाएर आफ्नो संसार आफूमै सीमित राख्नुपरेको थियो ।

अब कुरो शुक्रबारे साथीको । साथी ऊ गनी अन्सारी । कान्तिपुर एफएमको न्यूजरुमबाट सातामा बल्ल एकदिन मिल्ने फुर्सद उसलाई कत्तिको बिझाउँदो हो ? बिझाउनु कहाँ, बरु सायद फारो गरीगरी पलहरू चाख्न पनि नपुग्दो हो । यसैले ऊसँगको शुक्रबारे साथ आक्कलझुक्कल जुर्छ । जुरेपछिको शुभ लग्न - ऊ बराबर म मक्ख र भरिपूर्ण ! मानौँ तब हामी नयाँ ग्रहको खोजी र प्राप्तिसँगै जिन्दगीको असली मोक्ष भोगिरहेका हुन्छौँ ।

गनीसँग स्नातकसम्मको मेरो कलेज-यात्रा मध्यम लयमा कुदेको थियो । अर्थात् बरोबर आत्मीय भेट भइरहे पनि चुम्बकसरि एकै ढिक्का बन्ने घुलमिलमा हाम्रो सम्बन्धले उस्तो शक्ति देखाएन । र पनि बरोबरको आत्मीय भेटमा हामीले आ-आफ्ना खुजुरा पलहरू आपसमा विनिमय गर्दै आयौँ, तृप्तिको हद यो के कम थियो र ! अनि यो पनि, अहिले साताको बल्ल एकचोटि त्यो पनि चिठ्ठाजस्तै मिल्ने भेटघाटमा हामी दुई कति निकटतासाथ पेश हुन्छौँ भने मानौँ अफ्रिकाको भोकमरीग्रस्त इलाकामा एउटा बालकको पेट र ढाड एउटै भएझैँ हाम्रो प्रियता छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सहरका भित्ताभरि टाँसिएका पोस्टरहरू झिलझिलाकार रहँदै मे २ शुक्रबार अनेक धपेडीबाट उम्किएर हामी फेरि जमघटमा आमनेसामने मिसिएका थियौँ । यो पनि एउटा दिन थियो सायद, चिठ्ठै परेर आएको । पुतलीसडकछेउको भीडभाडमय साइबर क्याफेको स्टेशनमा नियोजित रुपमै हामी भेटियौँ । क्याफेमा केहीबेर ऊ अन्तर्राष्ट्रिय वेबसञ्जाल 'हाइ फाइभ' को फेभरमा डिग्री नाप्ने धुनमा देखियो । दिल र दिमागको थर्मोमिटरमा पारो कति उक्लियो हँ ?

यताउता नापजाँच गरेपछि आयो निष्कर्षः +२ को परीक्षाको तयारी गर्दै गरेकी मोरिससकी साथी मिजाहले खूब मन दुखाइछ । साथीले मन कुँढिनेगरी लेखेको मेसेजले गनी त्यो मेसेजभन्दा मूड अफमा देखियो । साथीबीच निकटता बढ्दै गएपछि अपेक्षा बढ्दै जान्छ तर परिस्थिति सहज नहुँदा चित्त कतिबेला कति टुक्रा आलुमा परिणत भएर फ्रेन्च फ्राइ बन्छ, भन्न सकिन्न । अनि त चोखो मित्रतामा पनि मुटावले डेरा बनाइहाल्छ । गनी र मिजाह त्यस्तै कष्टकर अवस्थाको नमूना बन्दै थिए । अनि बतासियौँ हामी बागबजारको एक चिया कुनोमा ।

भए कुरा सम्बन्धका...
भए कुरा साथी र असमझदारीका...
भए यान्त्रिक नाटकीय संसारका...
भए घरपरिवारको ममताका...
भए अनपेक्षित बढ्ने दूरीका...
भए अनि यस्तै विविध आँसुजस्तै नरम वेदनाका कुरा ।

बोल्यो अगाडि ऊ- 'एउटा दाइले सोध्नुभयो, भाइ तिम्रो ईश्वरसँग प्रार्थना गर्दा माग्नचाहिँ के माग्छौ ? जवाफ मुखैमा थियो - 'दाइ, म कोही केटीसँग मेरो प्रेम नभइदेओस् भनेर पुकारिरहेको हुन्छु ।' गनीलाई थाहा छ सम्बन्ध मीठो हुन्छ, तर एकजनासँग बढेको निकटताले छँदाखाँदाको सारा दुनियाँसँग टाढिनुपर्ला भनेर ऊ प्रेम नपार है हे ईश्वर भनेर प्रार्थना फुसफुसाउँछ, कति अनौठो ! र, उसलाई त्यो एकजनासँग बढ्ने प्रेममा भर पनि छैन, सँगै हिँड्दाहिँड्दै कुन विन्दुमा आफ्नो मन कहालीमा डुब्ला र दुख्नुपर्ला भनेर उसलाई अत्यास लाग्छ । यसैले गनी सीमाबन्द छ सायद नारी संसारदेखि । उसको कुरा धेरै हदसम्म साँचो होइन र ?

पर्साको घर र छिमेकमा उसले प्रशस्त माया पाएको छ । पढाइ र अनुशासनमा ठीकठाक । एक जमानामा साथीहरू उसैको चिठी पढ्नलाई व्याकुल बन्थे । यसैले राजधानीबाट घर गएर फेरि फर्किने बेलामा उसका साथीहरू पिरोलिन थाल्छन् । बिदावारी भएर हिँड्दाहिँड्दै सडकछेउ लामबद्ध साथीभाइ भक्कानिएर बोल्छन् - 'हेर् गनी, पछाडि फर्किएर नहेर् है, हामी खप्न सक्दैनौँ जाने बेलाको तेरो निन्याउरो मुहार हेरेर, जा सरासर है नत्र रोइदिन्छौँ ।'

'यार, गाउँ रुवाई म आएँ', सडकमा उभिएकोउभियै गनीले शुक्रबारको छुट्न साँझमा मलाई सुनायो । तर यो सडक पर्साको थिएन, काठमाडौँको दरबारमार्गसामु संस्कृत छात्राबासको अघिल्तिर गनीको कमलो संवेदनालाई छाम्दै थिएँ । तर काठमाडौँमा आँसु कसको छ र रोइदिनलाई गनी ? मलाई सोध्न मन थियो । तर दायाँ कम्मरमा झोला फिर्‌फिर् नचाउँदै ऊ सडकपारी हुँदै क्षणमै ओझेल पर्‍यो।

***
मे ३ २००८ (नक्साल)

हाम्रो आउनु र जानुहरू

स्तो लाग्छ, आउनुसँगै त्यसको गर्भमा जानुको पनि भ्रुण रोपिएर आएको हुन्छ । अर्थात् जहाँ आगमन हुन्छ, त्यहाँ त्यही आगमन अन्ततः प्रस्थान पनि बन्छ । कुरै गर्दा मात्र पनि कति अत्यास लाग्छ, यथार्थ तर यही हो । यति फरक हो- आँखा त हामीसँग उही नै एकजोडा रहिरहन्छन्, तर कसैको आगमनमा ती उमङ्गले डबडबाउँछन् भने प्रस्थानमा पीरले पिलपिलाउँछन् । र, यस्तोमा हामी आँखालाई मद्दत गर्नुबाहेक गर्न नै के पो सक्छौँ र ?

'भोलि रसियन कल्चरल सेन्टरमा प्रोग्राम छ ४ बजे, तपाईँको निम्तो मसँग छ आउनु है !', अप्रिल २१ सोमबारको अपराहृन मोबाइलको एसएमएसमा बुरुरु अक्षरहरू छरिए । पढेँ, साथी 'समृद्घि सायद'को रहेछ । शुभारम्भ : द म्युजिकल जर्नीको कार्यक्रम रहेछ । एउटै राजधानी खाल्डोभित्र रहेर पनि जोसँग अहिलेसम्म भेटघाटको घुम्टीखोली भएको छैन । कार्यक्रमको रमाइलो बहानासँगै साथी-साथीमा पहिलो भेट हुन पाउने कुराले मन मुस्कुरायो । त्यो भोलि कतिबेला आउला भनेझैँ आतुरताको एक झिल्कोले दुःख दिइरहृयो । कारण, परिचयको सुरुवाती समयदेखि नै उनी मेरो सिर्जनात्मक यात्रा तथा व्यक्तिगत कथाव्यथाका कुरामा कसोकसो एक शुभचिन्तकका रुपमा आत्मीय भएर उभिएकी थिइन् । यस्तो शुभचिन्तकसँग भेट हुन पाउने कुरामा उत्सुक नहुने कुरै थिएन । यो भेट उनीसँग म पहिल्यै गर्न चाहन्थेँ । तर कहिले उनको जागिरे दैनिकीको धपेडी र कहिले बिरामी बाबाको सेवाटहलमा उनको व्यस्तता र पिरलो देखेर भेट्ने कुरो छायामै पार्नु परेको थियो ।

हङकङबाट सञ्चालित एउटा वेबसाइटमा मेरो पत्रात्मक कथा पढेपछि 'मेरो लागि लेखेको हो कि क्या हो ------' भनेर इमेलमार्फत जिस्काउँदै पहिलोपटक सम्पर्कमा जोडिएकी एउटी अञ्जान केटीसँग त्यसयता पछिल्ला दिनहरूमा उसका फोनवार्ताले म विशेष प्रभावित हुँदै आएको थिएँ । उनै समृद्धिले मलाई जीवनकै पहिलो रेडियो अन्तर्वार्ताको मौका जुटाइदिइन्, जसका दूरगामी गहिरा कुराहरूबाट हुँडलिएर बल्ल म २० वर्षछिको लागि सोच्दै सोखको 'कवि-जीवन'बाट कर्तव्यको 'कर्मचारी-जीवन'मा घुस्रिन लोकसेवा आयोगको पढाइतिर मोडिएको थिएँ । उनको फोन आइरहन्थ्यो र म ढुक्क भई साथीसँगै सहोदर एउटी दिदीबहिनीसमानको स्नेहबुटी पाएर पुलपुलिँदै थिएँ । उनी कहिले मेरो प्रेमिका-प्रसङ्ग निकाल्दै 'अरुतिर आँखा दौडाए प्यारीको हातबाट टाउकोमा धार्नीको आलु फल्ला है' भनेर खिलखिलाहट बाँड्ने गर्थिन् । यस्तो आत्मीय अनुहारको दर्शन गर्नलाई बल्ल साइत जुर्न लागेको थियो, एउटा कार्यक्रमको मध्यस्थतामा ।

भोलि अपराहृनको ४ बजे भेट्ने टुङ्गोलाई जप्दै बेलुका निदाएको म ४ बजे त के बिहान सबेरै ३ बजे नै उठ्नुपर्‍यो । सुक्खा मौसमको बदलिँदो रङले ममा होली नखेली रहन सकेन, मलाई बिरामी बनाएरै चराहरू उठ्नुअगावै उठायो । गाउँको झाडापखालाले यता सहरमा 'डाइरिया' भएर मलाई निचोर्‍यो । डेढ वर्षपछि त्यस्तरी फेरि बिसन्चोले म बिछ्यौनाको अडेसामा ढलेको थिएँ । केही हप्तायता बीचबीचमा हल्काफुल्का अस्वस्थताले शरीरलाई मर्मत गर्दै थियो, यस्तरी थला पार्नलाई नै त्यो पर्ूवतयारी रहेछ सायद । कुनै भक्तप्रसादले तन्मय भएर बेलाबेला मन्दिरको परिक्रमा गरेजस्तै छिनछिनमा म चक्करमा निस्किन थालेँ- बाथरुमको भूगोलमा । भरेसम्ममा त बिस्तारै ठीक होला र कार्यक्रममा जाउँला, तब प्यारी साथीसँग उद्घाटन भेट गरुँला सोचेर आफूलाई ढाडस दिइरहेँ । यसैले आउनको लागि अर्समर्थ भएँ भनेर झ्वाट्ट खबर गर्न पनि सकिनँ, पुग्छु भन्ने आस लागिरहृयो । नक्सालबाट कमलपोखरीको रुसी केन्द्र टाढाको कुरा पनि थिएन ।

घन्टैपिच्छे घडीका सुइराहरूले अब त निको हुनुपर्छ भनेर मलाई झस्काइरहृयो । बिहानको समय पार भयो, मध्याहृन आइपुग्यो, यस्तैगरी दिवासमयले तालु सेक्न थाल्यो । तर झन् झन् हालत खराब पो हुन थाल्यो । टोलको रैथाने अल्लारे आँखाले नवागन्तुक किशोरीलाई घुरेर पिछा गरेजस्तै म बिसन्चोको निशानामा परिरहेँ । यस्तैमा ४ बज्यो, अब आस मार्नुभन्दा विकल्प थिएन, तर यतिखेर आउँदिनँ भन्नलाई लाज र डरका युगल जालोले मलाई छोप्यो । म कुच्रुक्क परेर सुतिरहेथेँ । सवा चारतिर उनै समृद्धि नानीको खबरदारी फोन आयो, उठाउनेबित्तिकै बोल्ने तागत झिक्दै 'माफ गर्नु है आउन सकिनँ' भनेर भरोसाको आधार खोजेँ । उताबाट 'नआएको ? किन ?' भन्ने दिक्किएको स्वर बज्यो । पृष्ठभूमिमा कार्यक्रम चल्दै गरेको आवाज सुनिँदै थियो, प्रकाश सायमीको बोली घुस्यो ।

बिहानैदेखि बिसन्चोले थिलथिलिएको म निम्तो मान्न जान नपाएकोमा थप दिक्क छँदै थिएँ, भनेँ- अहँ आउन सकिनँ । साथीले 'ल त्यसो भए मैले कुरा गरिनँ है' भनेर झ्वाट्ट फोन राखिन् । साथीको चित्त दुखाइ र मायालु रिस प्रस्टै थाहा पाएँ । पहिलोपल्ट त्यति महत्व दिएर बोलाउँदा मैले नगएर खासमा उनको अपेक्षाको अवहेलना गरेको थिएँ । बिरामी हुनु विज्ञापन गर्ने कुरा पनि होइन भन्ने मलाई सधैँ लागिरहन्छ, यसैले यसपाली पनि पीडाको पिरामिड आफूमै उभ्याएर चुपचाप बसिरहेँ । आउन नसक्नुको स्पस्टीकरण दिएर बुझाउन नसकेकाले उनलाई कति नमीठो अनुभूति भयो होला, म पारख गर्दै थिएँ । तर धेरै कमजोरी भएर कामज्वरोसमेत छुटिरहेको कारण म सिरकभित्र निसासिएर आफ्नो हालत हेर्नमै सीमित हुन बाध्य भइरहेँ ।

बेलुका ज्वरो उत्रिएपछि साथीको उही बोली कानभरि गुन्जिएर आइरहृयो- 'ल त्यसो भए मैले कुरा गरिनँ है !' मन कताकता पिरोलिइरहृयो, आफ्नो कारणले कसैको मन दुख्नु र साथी रिसाउनु मेरो लागि सहृय कहिल्यै हुँदैन, छटपटिइहाल्छु अत्यासले । साथी समृद्धिबाट म फिर्ता भएको हो ? सोचिरहेँ । त्यो स्नेहसँग त्यति गहिरिएर घुलेको म फिर्ता भएर निस्किन सक्छु ? यतियतिमै त्यो आउनु अब जानुमा रुपान्तरित भइहाल्ने हो कि ? आत्मीयताको बिजोगले डर लाग्यो ।

लाग्यो, असम्भव केही छैन दुनियाँमा । केवल आशय गलत पर्दा भने थकथकी हुन्छ मन । उसै पनि यो समय थकथकीकै त हो । समृद्धिजी, मिल्छ भने हिजोदेखि आजसम्मको सबैसबै घटनाहरूको लागि क्षमा दिनुस् है । तर यो क्षमाको माने केही कुरा बिराएर म तपाईँसामु लज्जित भने कुनै विन्दुमा छैन । यद्यपि मेरो अनुभवमा केलाउँदा विगतको हाम्रो मैत्री पलहरूमा सहृदयताको प्रतिशत कता हो कता ज्यादा रहृयो । तर तपाईँको असीमित आत्मीयताको अघि मेरो धोकाको मात्राले बढ्तै बठ्याइँ देखायो होला । सायद मेरो मैत्री योग्यता समान कदमा उभिन सकेन तपाईँसँग । तपाईँबाट यदि म फिर्ता भएको भए जान्छु आफ्नै जानुसँगै । तपाईँको मन दुखाउने सेरोफेरोमा अब मेरो चालचुल कत्ति पनि रहने छैन । ढुक्क हुनुस् । पुनश्चः क्षमा ।

***
अप्रिल २३, २००८ (नक्साल)

पहिलो माया...


'रातपछि दिन आयो दिनपछि रात
समयसँगै वर्षौँ बित्यो तर बितेन तिम्रो याद
तिमी नै हौ मेरो-
पहिलो माया... ...'

आजको टेलिभिजन-पुस्तामाझ मनोरञ्जनात्मक कार्यक्रमबाट अलग्गै किल्ला गाडेका आसिफ शाहको यो गीत अरु बेला पनि सुनिन्थ्यो यदाकदा । पपको सुर र ताल उसो त मलाई उति रुच्दैन । तर, अप्रिल १९ को शनिबार मेरै लागि बजिरहेको थियो पहिलो माया...., म्युजिकको फाइलमा त्यही भाका खोज्दै मेरो औँला सलबलाएर बल्ल टक्क थामिन पाएको थियो । आफ्नो निवासको चार भित्तामा खोइ कुन संवेदनाले निचोरेर हो, म पहिलो मायाको कुरामा नियोजित रुपमै फस्न पुगेको थिएँ । र, यो फस्नुमा स्वेच्छाले नै सुमसुम्याएर धकेलेको थियो ।


यसअघि शुक्रबारको रातमा उनै पहिलो माया सर्मिलालाई सम्झिन पुगेको थिएँ । भेटघाटको देखादेख त परको कुरा, करिब १० महिनाको मौन व्रतपछि हाम्रो फोन सम्पर्क जोडिएको थियो बल्ल । हाम्रो पछिल्लो भेट सम्झिन्छु यतिखेर, नेपालको अर्थ-राजनीतिक ज्वरोलाई नाप्ने हिसाबमा खट्दै गरेको आजको अभियान साप्ताहिकमा म संलग्न रहेको बेला लामो अन्तरालमा उनको सान्निध्यता मिलेको थियो । त्यो २०६४ को साउनताका मलाई नै भेट्न राजधानीको कोल्टे पाखोमा रहेको कालिकास्थानमा सहेली आकृतिसँग पुगेकी थिइन् उनी । त्यो फौजीजीवनको तालिमी कालमा उनको मुडुलो टाउको, त्यति नै बेला म उनको विगतको रूपरङ कल्पँदै थिएँ । सिमसिम पानीमा सर्मिलाले मेरो हातमा बालकलाईझैँ थमाइदिएको चकलेट..., म फुरुङ्ग परेको थिएँ ।


यद्यपि त्यो सम्बन्धको हाँगा अब त कहाँ-कहाँ भाँचिइसकेको छ, र पनि मानव हुनुको मानवीय प्रकृतिले आत्मीयताको जरुवा कहाँ नभुलभुलाउन दिँदो रहेछ र ? उसै पनि जिन्दगी भनेको मियोमा दाइँको लागि लस्करै बाँधिएको गोरु पनि होइन, जो रहोस् चुपचाप उही लयमा र नियमित चक्करमा घुमिरहोस् । एकाएक मलाई दशकअघिको समयमा दिमाग निफन्न मन लाग्छ, देख्छु- एकाबिहानैको ट्यूसन पढाइमा टल्किने रुमालले बेरिएर ढोकाबाट सामुन्नेमा चियाइरहेको एउटा किशोरी शिर । देख्छु- स्कुलका आम आँखाहरूको भयले अनकनाउँदै बडो कष्टसाथ कोठाभित्र र बाहिर आफूहरू दुईलाई विभाजन गरी सुरू भएको टुटफुट सञ्चार ।


झन् देख्छु- बैशाख/जेठको हपहपी गर्मीमा कुन भुलभुले मूल छुटिरहेको स्नेहले डोर्‍याएर मकैबारीको आलीमा गराएको क्षणिक प्रेमवार्ता र भावी हाम्रो बाजे-बज्यैको स्वप्नखेती । अझै देख्छु- भोलिपल्ट स्कुलको प्राङ्गणमा हिजोको मकैबारी-मिलनलाई अतिशयोक्ति गरी लज्जास्पद काण्डको रुप दिइएको गजबको फोहोरा ताल र हामी दुईलाई बेसोमती केटाकेटीको भाकामा घुरिरहेका हजार आँखाहरू ! हामी दुवै कति बिचरा थियौँ भने सङ्कुचित समाजमा यस्तो अफवाह उरन्ठेउला ठिटाहरूको कर्तुत हो भन्ने जान्दाजान्दै पनि हाम्रो निरीह उमेरका कारण मूकदर्शक हुन विवश भएका थियौँ । र, त्यही अफवाह काण्ड र हामी दुईको लाटोसुधोपन त थियो हाम्रो सम्बन्धमा दन्किएको सरल आगलागी । अहिलेकोझैँ बलियो मनस्थिति त्यसबेलामा भएको भए टुक्रिने शीशा कहाँ हुनुपर्थ्यो र ?


त्यसपछि कक्षाको अन्तरले सर्मिलालाई स्कुलमै छाडेँ मैले र छुट्यो यस्तैमा बिस्तारै साथ र हात । म राजधानीको सङ्‌घर्ष-यात्रामा हेलिएँ, उनी उदयपुरमै अध्ययनलाई निचोड रुप दिन थालिन् । हुनु यस्तै थियो, हामी किनाराहरूमा चिराचिरा भएर पछारियौँ । नत्र त उनी पनि स्कुले शिक्षा पूरा गरी राजधानी आएपछि भएको हाम्रो भेटको आपसी विमर्शबाट सम्बन्धले फेरि निरन्तरताको लिक भेट्न सक्थ्यो । समयक्रममा उनी पनि राजधानीको कठोर जीवनशैलीमा आफ्नै बलबुताले घस्रिँदै १०-६ को नाइट ड्यूटीमा आँखालाई स्वप्निल पार्न पुग्छिन् । बिस्तारै कस्तो महत्वाकाङ्क्षाले हुर्‍याएर हो नेपाली सेनाको अधिकृत तहमा काँध उचाल्न पुगिन् ।


'कसैको केही नबिगार्दा पनि कसले दियो श्राप ?'
'मान्छे आफूले सोचेजस्तो नहुने रहेछ ।'
'अब त राम्रो होला कि भन्यो फेरि उस्तै तातोपिरो...'
१० महिनापछिको भेटमा उनले मेरो मैत्री भरोसा मान्दै सामुन्नेमा छरेको दुःखको बिटाले म थिचिँदै थिएँ । अप्रिल २० को साँझ उनी मेरो कोठामा थिइन् । सर्मिलाको त्यो कैलो आँखा उहिलेजस्तै नरम पाउँदै थिएँ । पहिलो मायाको छाप लिएरै उनी मानौँ पहिलो पाइला मेरो दैलोमा हाल्दै थिइन् । अपराहृन साढे चार बजेको जम्काभेट जुराए पनि साढे पाँचमा मात्रै उनको दर्शन पाइयो । हेरेँ- फौजीको कडा तालिमपछि निकै झाटिएकी ऊ अहिले अलि सन्तोषलाग्दी भइछ, कपालले पनि त थोरै लामो पालुवा हाल्न पाएछन् । भूतपूर्व पलमा मलाई 'हेर लुरे भएको !' भनेर जिस्काउने ऊ मैँसमान लाइनमा आएकी थिई, दुब्ली भएर ।


भेट्नासाथै हकारपकारको नखरा देखाएँ- 'एक घन्टा ढिलो यस्तो पनि गर्ने हजुर ?' कोठामा साथै लिएर बसालेपछि जब कुराले दुखान्त मोड लियो, आफैँलाई गाली गरेँ- वित्थै हकारेछु । यति सङ्‌घर्ष गरेर सफलता पाएपछि पनि मान्छेले जिन्दगीमा किन तृप्तिको समथर गोरेटो पाउँदैन ? तुफानी वायुवेगबाट कसोकसो सम्हाल्दै जहाजलाई अवतरण गराउँदै गर्दा कसरी धर्तीमा धाँजा फाट्न सकेको ? स्टोन भएको किड्‌नीको अपरेसन गरेर फेरि केही समयपछि स्टोन देखापर्नासाथै उपाय नै नचल्ने हो र ? विकल्प यतिमै सकिएर तिम्रो फौजी जीवन दाउमा पर्ने र मानवीय जीवन बगरमा पछारिएको माछा बन्ने होइन मेरो साथी ! अझै धेरै गीत गाउनै छ, धेरै लुगा धुनै छ- सुकिलो सरगम यात्राको लागि । स्टोनको अर्को अपरेशनमै तिमी बूढी र चालू मैदानमा परेड खेल्नै नसक्नेगरी जीर्ण हुनेछैनौ, मान न !


असफल प्रेमपछि पनि कस्तरी सबैभन्दा नजिककी साथी हुन आएकी थिई ऊ मेरो वर्तमानमा । यस्तो आत्मीयता अवश्य कमैबीच हुन्छ । र, यस्तो उदारमना नारीलाई अर्को-अर्को परीक्षा ओछ्‌याइरहेछ नियतिले । तिमीलाई केही नहोस् सरु । तिमी धेरैधेरै बाँच, कम्तीमा पनि धुवाँ-धपेडी खेपेर तिमीले तुल्याएको आफ्नो भान्छालाई त तिमीले ढुक्कले मनाउनैपर्छ । एक्लोपनले वाफिएकी तिमीले धेरै अन्तरालको भेटमा सान्त्वना पाउनलाई होला, विरही लयमा भन्यौ- 'यत्रो छोटो जीवनमा पनि धेरै गहिरो पल बाँचे, अब यात्रा सकिइहाले पनि कुनै गुनासो छैन ।' तर मेरी प्यारी प्यारी साथी, विगतदेखि तिम्रो कष्टकर उडानको साक्षी रहेको मलाई तिमीले गुनासो गर्न दिइरहनूपर्दैन र ? मलाई जस्तै साथीप्रतिको पर्खाइको नशा तिमीलाई पनि लागिरहोस् । पहिलो मायाको सजीव उदाहरणीय स्वरूप नत्र मैले खोज्नु कहाँ ??...
कहाँ ???

***
अप्रिल २०, २००८ (नक्साल)