Subscribe:

Ads 468x60px

09 November 2012

गीतको कथा – ‘धेरै माया दिँदा रै’छन्...’ (ललिता कुँवर)

परिचय ‘किलर सङ’को – ललिता कुँवर
'धेरै माया दिँदा रै'छन्' गीतलाई धेरैजनाले मेरो आफ्नै कहानी ठानेका छन् । तर यथार्थ अर्कै छ । यो गीत लेखिनुको कारणबारे आजसम्म जति जनालाई सत्य कुरा भन्दै आएको छु, नपत्याउनेको संख्या धेरै छ । प्रेम-वियोगको भाव बोकेको गीत भन्नेबित्तिकै गीतकारले आफ्नै प्रेमजीवनको कुरा लेख्यो भनेर चर्चा गर्न सजिलो पनि छ । Lalita-Kunwarतर गीतकार आफ्नो संसारमा मात्र सीमित हुँदैन । यो गीत जन्मिँदाको समयतिर मलाई माया-प्रेम भन्ने थाहै थिएन, त्यसमा परेको भए पो थाहा होस् !

१४-१५ वर्षको उमेरदेखि नै मैले गीत र कविताको ढाँचा जानेर लेख्न थालेकी हुँ । पछि गीतलेखनबारे राम्ररी बुझेर लेख्ने क्रममा एक दिन एउटा घटनाले निकै छोयो । १० वर्षअघिको कुरा । विभिन्न टेलिसिरियलमा अभिनय गर्ने पाइलट विजय गिरीको 'विमानचालक' भन्ने टेलिसिरियलमा म त्यो समय निकै मोहित भएको थिएँ । नेपाल टेलिभिजनमा प्रसारण हुने त्यो सिरियलको विशेष गरी 'विमानचालक छ तिम्रो आकाश विमान उडाउनको लागि' बोलको गीत एकदमै मन पर्थ्यो । त्यही गीतकै लागि भए पनि म सिरियल हेर्थेँ ।

21 October 2012

अन्ना, अनुश्रेया र प्रकट

'जाडो महिना आउँदै छ रे भन्ने सुनेकी छु
मैले मेरो हजुरलाई स्वीटर बुनेकी छु'

काठमाडौंमा जाडोले बिस्तारै पखेटा खोल्दै छ । बिहान-साँझ सिरेटोले जिस्क्याउन थालेको छ ।
साँझ पर्दै गरेको समय । गजलकार प्रकट पगेनी 'शिव' आफ्नो गजलमा घुसेर स्वीटर बुन्नPrakat-Pageni तम्सिने गुनिला नारीहरूलाई निकै सम्झिरहेछन् । बुनिएका स्वीटर खोइ कुन कुनामा छाडेर आएका छन् । उमेरमा ५५ काटेको ज्यानले साँझको सिर्सिरे बतासलाई नवयुवक झैं चुनौती दिएका छन् ।
 हामी बागमती किनारको चौरमा छौं ।
बागमती, जसले सभ्य दाबी गर्ने काठमाडौंलाई छिटा पार्दै चिरेको छ । कुराकानी गर्नुअघि बागमतीको कसम खाएका छैनन् प्रकटले, कसम खान लायक पवित्रता वागमतीसँग छैन पनि । यसैले कसम नखानुपर्ने वागमतीछेउ श्रीमतीलाई बिर्सिएर दूरका प्यारीहरूलाई सम्झिँदै छन् । उनी बैंसले कुतकुतिएका गजल लेख्छन् । प्रेमको प्राप्ति र वियोगका गीत पनि लेख्दै आएका छन् । जीवनयात्रामा छुट्टिनुपरेका पात्रलाई प्रस्तुत गर्ने क्रममा उनको सिर्जनामा श्रीमती इन्दु ओझेल परेकी छन् । 'अलग्गै रहने प्रेमिका र जीवन नै बिताउनुपर्ने श्रीमतीबीच नितान्त फरक हुन्छ', आत्मीयताको क्यालकुलेटरबाट यसरी हिसाब निकाल्छन् प्रकट ।

13 October 2012

सम्बोधन : ईश्‍वरको पिशाचलाई

'ढुंगा अगाडि घन्टौं बस्नुहुन्छ, के दिन्छ त्यसले ?' मैले घर बसुन्जेल आमाको पूजाविधिमाथि टिप्पणी गरेर झिंजो लगाइरहन्थें । आमाको जवाफ हुन्थ्यो - 'आफूले (पूजा) नगरे पनि यस्तो चाहिं नभन्नू काले !' 

हुन पनि हो । 

कसैको मनको आस्थामा धावा बोल्नु पापै हो । कसैको मान्यतालाई भत्काउन खोज्नु अधर्म हो । धार्मिक आस्था मानिसहरुले नै रचेको मन बुझाउने मेलो हो भन्ने लागिरहन्छ सधैं । मान्छे नै हो अद्‌भूत रचनाकार । जीवनशैली सहज तुल्याउन र सामाजिक व्यवस्थापनका लागि उसले अनेक शर्त र सीमा कोरेको छ  यो लोकमा । कतिपय निकै वैज्ञानिक पनि छन् । धर्म-अधर्म ईश्‍वरसँग जोडिन्छ कि जोडिंदैन थाहा छैन, तर पाप र पुन्यको भने ख्याल हुन्छ मलाई । मानवीय भाव कुतकुतिएर अन्तरमा कतै हिउँ पग्लिन्छ । तर ईश्‍वरको अस्तित्वप्रति कहिल्यै विश्वास भएन । ईश्‍वर छ भने धर्म-अधर्मको हिसाबले हुनैपर्ने कुरा किन हुन नसकेका र नहुनुपर्ने कुरा किन भएका ? हुन्छ भने झन् यति क्रूर किन हुन्छ त्यो शंकास्पद अस्तित्वको ईश्‍वर ? शक्तिको दाबी गरिने र रेखदेखको ठेकेदार मानिने ईश्‍वरले संसारमा हुने उचित-अनुचित घटनामा हिस्सेदारी त पक्कै राख्‍नुपर्ला । 

यही सन्दर्भमा गत असोज २३ गते २७ वर्षको कलकलाउँदो उमेरमा निधन भएका पत्रकार तारा रेग्मी (आरोह) को नियति र ईश्‍वरीय लीलामा मन बरालिंदा अमिलिएँ । मृत्यु सत्य हो । तर त्यसको पनि त केही नियम र अवस्था हुँदो हो, यदि ईश्‍वर छ भने । कि त ईश्‍वरको लोकमा अनुशासन सबैभन्दा घटिया कुरा हो कि ? ताराको मृत्युमा मैले आफ्नै मृत्यु पनि चाखें । नत्र अराजकता, अनियमितता र भद्रगोल खटन हुन्छ भने  के को ईश्‍वर ! ईश्‍वर र मान्छेमा फरक के ? कथित दैत्य र ईश्‍वरलाई मरेको दङदङी गन्हाएका माछासरि एउटै तराजुमा किन नजोख्‍ने ? यस्तैयस्तै विकृत सोच आएर एउटा कविता लेखेको थिएँ ।

26 September 2012

सहरको किनारामा रामकुमारी

Ramkumari
'आज जून १७ (२०१२), बाबु पाँच महिना पुगेर ६ महिनामा लाग्यो । अब त बाहिरी संसार देख्न पाइएला कि !'
आफ्नो फेसबुक स्टाटसमा केही समयअघि रामकुमारीले घरभित्रै गुम्सिराख्नुपर्दाको उकुसमुकुस पोखेकी छिन् ।
एक समय खरो विद्यार्थी नेतृका रूपमा जोशिएर प्रस्तुत हुने रामकुमारी झाँक्री अहिले लगभग गुप्तबासमा छिन् । भूमिका नै फेरिएको छ – तोते बोल्न थालेको बच्चाकी आमा, घरकी बुहारी, माया साट्ने पत्‍नी । घरव्यवहारको सानो संसार नै उनको जिन्दगी । सक्रिय राजनीतिक जीवनमा विभिन्न कार्यक्रम लिएर जिल्ला-जिल्ला दौडाहामा जाने उनी पछिल्लो समय काठमाडौं खाल्डोबाट बाहिर निस्किएकी छैनन् । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूकी अध्यक्ष छँदै २०६६ माघ २९ मा बिहे गरेपछि जिन्दगीले अर्कै मोडको कथा माग्यो । उनी सबैकी रामकुमारीबाट पुरी परिवारकी बुहारी बनिन् । विद्यार्थी जीवनको जल्दोबल्दो समयमै उनले ललितपुर जिविसका योजना अधिकृत पशुपतिबाबु पुरीसँग लगनगाँठो कसिन् । केही वर्षको 'छुपेरुस्तम प्रेम'लाई आकारमा ढाल्दै गुल्मेली ठिटीले धनकुटाको युवकलाई बिहेका लागि रोजेकी थिइन् ।

19 August 2012

‘संकटको बेला साहित्यकारले नबोले कसले बोल्ने’ – राजेन्द्र विमल

मिथिलाक्षेत्रका स्वनामधन्य लेखक डा. राजेन्द्र विमल जनकपुरबाट काठमाडौं आएको मौकामा पारस नेपालले उनीसँग लामो कुराकानी गरेका थिए । त्यही कुराकानीको पूरा भाग यहाँ प्रस्तुत छ । यो वार्ता यसअघि सम्पादित रुपमा भदौ २ गतेको कान्तिपुर-कोसेलीमा प्रकाशित छ । शब्द ब्लगका लागि वार्ता उपलब्ध गराउने पारसज्यूलाई धन्यवाद !

Paras_Nepal

        

 

 

 

पारस नेपाल

Rajendra-Bimal.डा. राजेन्द्र विमल बढीजसो जनकपुरमा बसे पनि नेपालभरका भाषासाहित्यप्रेमीले श्रद्धासाथ लिने नाम हो । प्राध्यापनमा चार दशक बिताएका उनी नेपाली र मैथिलीमा समान दक्षतासाथ कलम चलाउने स्रष्टा हुन् । नेपालीमा उनका 'राजेन्द्र विमलका कथाहरू,' 'खहरेको तिर्खा' (उपन्यास), 'मिथिलाको इतिहास, संस्कृति र कला परम्परा,' 'गद्य, पद्य र नाटक' (समालोचना), 'फिस्टी रानी' (बाल साहित्य) आदि प्रकाशित छन् । मैथिलीमा उनले कथासंग्रहहरू 'इतिहासक घाओ,' 'पचास वर्ष मैथिली कथा' र ‘ई हमरे कथा थिक,' गजलसंग्रह 'सूर्यास्तसँ पहिने,' नाटकहरू 'सीता', 'नौटंकी चलिरहल अछि', 'दोहाइ बाबा भुँइयाँ' जस्ता कृति निकालेका छन् । हिन्दी र अंग्रेजीमा समेत कलम चलाउने विमलले टेलिसिरियल, फिल्म, गीत र कविताहरू पनि लेखेका छन् । उनले जगदम्बाश्री पुरस्कार, साझा पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, विद्यापति पुरस्कार, गोपालप्रसाद रिमाल सम्मान, कुलचन्द्र कोइराला सम्मान, मिथिला विभूति, वैद्यनाथ सियादेवी पुरस्कार प्राप्त गरेका छन् । ६६ वर्षीय यी स्रष्टा पछिल्लो कथासंग्रह 'समयका आँखा' सार्वजनिक गर्न हालै काठमाडौं आएका थिए ।

14 August 2012

चोट-यात्रा


जिन्दगीको दोसाँधमा रहेकी ओ बाला,

सेयर हालेका छौं हामी दुईले यो पृथ्वीमा

जस्तो कि -
जति भ्वाङ परेको छ त्यो छातीमा
सराबरी भ्वाङ छ यो छातीमा पनि

आह् ! दुइटा भ्वाङ
मानौं कसैले गह्रौं-गह्रौं दुई पाइला
चालेको होस् भर्खरै ...


12 July 2012

नागी गुम्बामा एक फन्को

‘पहिला देश, अनि विदेश’

पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डको यो नारा जब-जब सहरका विभिन्न ठाउँमा देख्छु, चिमोटिन्छ मन । अरे भाइ, तँ त कुवाको भ्यागुता नै छस् भनेर थकथकी लाग्छ । विदेशको कुनै मोह छैन अहिलेसम्म (पछि के हुन्छ, परिवर्तनशील सांसारिक नियमविरुद्ध छुइनँ म), तर स्वदेशकै धेरै ठाउँमा टेकेको छैन यो ज्यानले । टेलिभिजनका पर्दा, पत्रपत्रिका र पर्चा-पम्प्लेटका पानामा देश-दर्शन गरेको लाजमर्दो अनुभव छ ।

आफ्नै जिल्लाको पहाडी इलाकामा पुग्न नसकेको पाइला काठमाडौं बसाइका क्रममा पनि यस छेउछाउका लोभलाग्दा ठाउँमा जाने कुरा सोचकै सूचीमा थन्किएर बसेका छन् । कहिले जुर्ने हो मेसो, अनिश्चित नै छ । सुनाउँदा पनि बकवास जस्तो लाग्ने व्यस्तता नामको चिप्लेकीराले गुटुङटुङ चिप्ल्याइरहेछ । यस्तो चेपाचेपका बीच पनि काभ्रेको नेपालथोक, साँगास्थित महादेवको अग्लो मूर्ति, शिवपुरी-सुन्दरीजल हाइकिङ, बालाजुमाथिको जामाचो गुम्बा, नुवाकोटको ककनी, ललितपुरको लाकुरीभञ्ज्याङ लगायतको सयर गरियो ।

चिसापानी जाने मनको भाका भने मनभरि नै छ अझै ।

बरु तीन महिना अघि लहडै लहडमा साथीहरुसँग शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको नागी गुम्बा गइयो । कुनै ठाउँ कति मनमोहक र आकर्षक छ भन्ने कुराले भन्दा त्यस ठाउँको यात्रा कसरी गरियो भन्ने पक्षले मिठास दिने हो र यादगार पनि यात्रामा भएका कुरा नै बन्ने गर्छन् । नागी गुम्बाको यात्रामा पनि पाँच भाइले रामरमाइलो गर्दै ती पलहरुको याद गाढा बनायौं । जीवन यात्रा हो भन्छन् । तर यात्राको नाममा वल्लो घर र पल्लो घर र बस्तीको यो मोड र पल्लो कुनाभन्दा अलि फैलिएर हेर्ने हो भने स्वर्गीय यात्रा यही जीवनमा गर्न पाइन्छ ।

नागी गुम्बा जाँदाका केही तस्बिर हेर्न भित्र आउनुस् :

पढ्नु : प्रेम [निबन्ध]

प्रेमसँग हाड नाता भएकाहरूले बुझ्छन्- यसभित्रको लगाव कति दुःखदायी हुन्छ, तर मीठो तड्पन ! भोगेपछि यस्तो लाग्दो हो, यो प्रेम भन्ने कुरा त नभइदिएकै भए पनि हुने ! तर के यसबिना संसारको सहज रफ्तार सम्भव छ ?

धेरैअघि सोचेथेँ, प्रेमबारे केही त लेख्‍नेछु । तर यसबेलासम्म त मैले त्यही सोचाइसँग नै प्रेम गरेर बसिरहेको रहेछु ।

फेरि यो बसिरहनु, बस्न सक्नु पनि त एउटा प्रेम नै हो ।

कति-कति प्रेमहरू...।

26 June 2012

ओइ सयपत्री !

बास्ना जति खोइ कहाँ लुकाएर


पत्र-पत्रको पङ्खा हम्किँदै आउने


त्यो तिमी नै थियौ ।

Sayapatri

25 June 2012

कवि कृष्णभूषण र काठमाडौंलाई हाँक दिने कविता

[ २००४ चैत १ - २०६९ असार ११ ]
 Photo  ©  Jotare Dhaiba
असार ११ । कवि  एवं प्राज्ञ कृष्णभूषण बलको ६५ वर्षको उमेरमा सोमबार साँझ निधन भएको छ । गत शुक्रबार मस्तिष्काघात भई विराटनगरस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको कवि बलको उपचारकै क्रममा सोमबार साँझ साढे सात बजे निधन भएको हो । २००४ साल चैत १ गते इलामको माल्टेनी रविमा जन्मिएका उहाँका 'दाज्यु तिम्रो हात चाहिन्छ' खण्डकाव्य, 'भोलि बास्ने बिहान' नामक कवितासंग्रह र अङ्ग्रेजीमा अनुदित कविताको सँगालो 'द फुल मुन एट द रिभर ब्याङ्क' प्रकाशित छन् । वाणी प्रकाशनका अध्यक्षसमेत रहेका कवि बलको 'काठमाण्डू एक्लैले काठमाण्डू बोक्न सक्दैन' भन्ने कविता निकै चर्चित छ । शुक्रबार मर्निङ वाकबाट घर फर्किएर नुहाउन लाग्दा बाथरुममा बेहोश भएपछि उहाँलाई न्यूरो अस्पताल लगेर सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो । 

24 June 2012

एकेडेमी, कविता जात्रा र 'सम्बोधन फूलको'


केही वर्षयता नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने राष्ट्रिय कविता महोत्सव लगातार विवादमा पर्दै आएको छ । नेपाली साहित्यको संवर्द्धन र प्रवर्द्धनको जिम्मा पाएको एकेडेमीको जन्मोत्सव जस्तो पुनीत अवसरमा वर्षेनी हुँदै आएको कार्यक्रम विवादमा मुछिइरहनु त्यसै पनि लाजमर्दो कुरा हो । त्यसमा पनि युवा कविहरुले आफूलाई फुलाउने र फलाउने क्रममा प्रतियोगितालाई सिंढी बनाउन खोज्दा यस्तो विवादले घेरिएको प्रतियोगिताका कारण खिन्नता र निराशा मात्रै हात पार्छन्, भलै प्रतियोगितामा सहभागी हुनु-नहुनु र पुरस्कृत हुनु-नहुनुले कविताको महान्‌ता सावित गर्दैन । 

एकेडेमीको अस्वस्थ चाला देख्‍दा कतिपय साहित्यप्रेमीको त नेपाली साहित्यको वर्तमान धाराप्रति नै मोहभंग हुँदो हो । कविता महोत्सवको पछिल्ला वर्षको झलक हेर्दा नेपाली साहित्यमा भनसुन र आफन्तवादको लालमोहर लगाउँदै आएको देखिन्छ एकेडेमीले । खै यसको गरिमा र मर्यादा ? देख्‍नेहरु त बरु एकेडेमीको कविता महोत्सव पञ्चायतकालमै ओजपूर्ण थियो भन्छन् । यस्तै बनावटी महोत्सवको आयोजना गर्ने हो भने आगामी वर्षदेखि एकेडेमीले कविता महोत्सवलाई 'गाईजात्रे महोत्सव' भनेर आयोजना गरे हुन्छ ।

26 May 2012

लेखिकालाई सम्पादकको पत्र

त्यो समय ठेगाना भएर पनि बरालिएर हिँडेको पर्यटक जस्तै थिएँ म । मियो भेट्टाएर पनि टिक्न नसकेको चञ्चल अवतार । जीवनमा कसैको आगमन भएको समय थियो त्यो । बाफ रे, खुबै व्याकुल हुने मन ! धड्कनका चरा एक मिनेटमा ७२ भन्दा बढी चोटि छातीको पर्खालमा भ्याट् भ्याट् ठोक्किएर मर्थे । शान्तिमा पनि त्यसै अशान्ति । उतिबेलाको व्याकुलताको छनक यो पत्रले दिन्छ । जीवनकै जस्तो विशृंखलता र विसंगतिको  अंश पनि भेटिएला यहाँ । यो चिठी उनैको लागि लेखिएको थियो उतिबेला । तिनले पाइन् र जवाफ पनि दिंदै गइन् पश्नोत्तरी खेल जस्तो ।

आत्मीय नातालाई सम्पादक र लेखिकाको रुपमा ढाल्दै साहित्यिक रोगन दिँदा यस्तो लेखिएको थियो चिठी, जस्ताको तस्तै :

असोज ११,०६४

नक्साल

स्नेही लेखिका,

प्रेमिल कामना ।

तिम्रो प्रश्न र अनन्त विरक्तिको अनुहार लिएर सम्पादकलाई पत्र आउनुभन्दा धेरै अगाडि नै यो पत्र लेखिनुपर्थ्यो । तर समय हुने रहेछ कुनै पनि कुरा र काम आयोजनाको । भनौं न, भेट भएर पनि तिमी र म धेरै अन्तरालमा एक-अर्काको चाहनामा सराबरी मिल्यौं । पहिलो पत्र लेख्दै छु तिम्रो नाममा । र सायद तिम्रो जन्मसँगै यो पत्रको बीज फुटेको भए हुने थियो । तब तिम्रो आयुकै हाराहारीमा सोच र समझ राख्न पत्रले सामर्थ्य राख्ने थियो । पत्र जतनसाथ पढ, के थाहा पहिलो यो पत्रपछि अर्को पत्र सायद नलेखिएला । प्रेम हामीबीच कायम रहे पनि पत्रको खाँचो हामीलाई नपर्ला । मलाई गर्ने प्रेमजत्तिकै पत्रले पनि तिमीबाट छत्रछाया पाउने आस छ । नत्र लेख्नुको अर्थ नै के...।

13 May 2012

बार्गेनिङ्को संवाद र विवाद

कान्तिपुर पब्लिकेसन्सको साप्‍ताहिक प्रकाशन नेपालको बैशाख ३१  (May 13)को अंकमा प्रकाशित आफ्नो निबन्ध  सबैसामु बाँड्न मन लाग्यो  -

- कान्छु, सिद्धियो आलु ?

- के भयो ज्याकेट, धरधरी च्यातिएछ ! फेर्नलाई अर्को साथमा छैन ।

हाम्रा जीवनचर्याका उप्किरहने एकोहोरो गन्थनका पाप्रा हुन् यी । जसलाई घाउ नै भनिदिए हुन्छ । अघिको 'गन्थन' शब्द अलि अर्थबाहिर गयो क्यार ! यसलाई आवेग भनिदिँदा अलि वेश । अर्थात् एकोहोरो आवेगका पाप्रा ।

व्यवहारमा हाम्रा खाँचो र मागहरू टुटुल्कोजत्तिकै मर्मबोध बनेर हामीसामु पसारो लाग्न आइपुग्छन् । र, तिनलाई नसुमसुम्याई पनि धर कहाँ पाउनु ! अझ भन्दा, त्यस टुटुल्कोलाई भावीको लेखामा अभिशाप मान्ने वा वरदानको कसिलो प्याकेज ? हिसाब निकाल्नुपरे क्याल्कुलेटरलाई नै मस्तिष्कघात हुँदो हो।

- आलु कुहिएर जान्छ वा भान्छाको घानमा परेर रित्तिन्छ ।
- ज्याकेट पनि उमेर खाएर जीर्ण बन्छ वा दुर्घटनावश बेकामी बनिदिन्छ ।
... ... भने, यस्तोमा उपाय के ?

बजारको विरहलाग्दो बाटोमा नचाहेर पनि मनीब्यागको मुख खोतल्न हामी व्यापारकि भीडमा फसिहाल्छौँ। अन्तत : उद्‌घाटन बार्गेनिङ्को ।

हो, हुने गर्छ : बजार, बार्गेनिङ् र आजीवन बिच्छी पीडा ।

08 May 2012

शिरीष याम

फोटोग्राफीको नशाले पनि अनेक गराउँछ । साधारण ‘प्वाइन्ट एन्ड सुट’ डिजिटल क्यामेरा बोक्नु छ, ठूलै खजाना मिल्ने उमंगमा कहिले शहरको भीडमा त कहिले एकलास पाखातिर बरालिनु छ । तर सिकारी गतिलो नभए पनि गतिलो सिकार खोजेर कहाँ हुनु र ?

शिरीष फूलको यो सिरिज तयार पार्ने बेलामा निकै बरालियो ज्यान । दृश्यको राम्रो ‘मूड’ नरहेपछि  एकै ठाउँमा पनि विभिन्न समयमा फेरिफेरि पुग्नुपर्ने । कहिले बिहानीपख, कहिले मध्याह्नको छिप्पट दिन र कहिले भने घाम ओइलाउने बेला । ‘काठमाडौं‍ शहर, घुम्न लाउँछ रहर’ भन्ने भावले यो बेला शहरतिर फन्को मार्दा शिरीष फूलहरुले आँखै निभ्न दिंदैनन् ।

ननिभेका आँखाहरुले देखेका शिरीषका तिनै प्राकृतिक टुकीहरुको दर्शन गरौं न त !

Shiris-1

19 April 2012

रामकली र देश


रामकलीले माझेको थाल
देशभन्दा चम्किलो लाग्छ,

पत्याउन सकिन्न

रामकली पनि यही देशकी हो ...

- (Feb 1, 2012)

13 April 2012

काठमाडौं किताब : पाँच पन्ना [निबन्ध]

साझा प्रकाशनबाट छापिने 'गरिमा' मासिकको २०६८ चैत अंकमा मेरो निबन्ध छापिएको थियो,  पत्रिका पढ्न नपाउने साथीहरुको लागि सोही निबन्ध यहाँ राखेको छु -

कहिलेकाहीं यो समयलाई नै समय दिन मन लाग्छ । अपेक्षा-भयदेखि वितरागी रहेर ओम स्वाहाको शैलीमा आफूलाई त्यसै बगाइदिनु ... । समयकै सिरानी र डस्नामा दैनिकी फिट्दै आए पनि कति जनाले पो समयलाई समय दिँदा हुन् र ? यस्तै भाव आएर मन र मगजमा ओथारो बसिरहेको बेला सहरतिर निश्फिक्री निस्किन मन हुन्छ । उसै पनि मन भनेको मसी जस्तो न हो, यसो छर्किए पुग्ने ।

पन्ना- १ :

मान्छेहरूको बजारमा आफूलाई कतै नभेट्ने गरी हराइदिन र एक कुनामा टुसुक्क बसेर त्यो बजारमा आफैंलाई नियाल्नु छ भने सहर उत्तम मञ्च हो । म भने यसको लागि नयाँ सडक परको वसन्तपुरले पर्खिरहेको पाउँछु । वसन्तपुरमा वसन्त छैन त के भयो, मान्छेहरूको हरियाली त छ ! उः मन्दिरको खाँबोमा आड लागेर गोडा हल्लाउँदै लोलाइरहेका एक जोडीको आँखाभरि पालुवा लहराइरहेको देखिन्छ । तिनको मनमा त अझ सिङ्गो जंगल नै सुसाइरहेको होला । परमाणु बम र तेल कुवाको खिचातानीमा हुनसक्ने सम्भावित विश्वयुद्धको झल्का तिनको मनको दायरामा परेका छैनन् । कामना छ, नपरोस् पनि । अब त्यो जोडीको गोपनीयतालाई सम्मान गरेर अलि फराकिलो बनौं । साँझको बेला घामको मन्द छाप गालामा बोक्दै मान्छेहरू उछिनाउछिन गर्दै छन् । छन् भरिया, छन् मन्दिरका सैनिक गार्ड, छन् लट्टे बाबाजी, छन् घुमघाममा कता-कताबाट आएका गोराहरू ।

01 April 2012

चौथो चुम्बन

ठट्टैमा बित्छ जोबन, अरुको त के कुरा ?

ब्लग लेखनका चार वर्ष पनि ठट्टैमा बितेसरि गए । अप्रिल फुलकै दिन चार वर्षअघि थालेको यो ब्लग माझेर चम्काउन मेरो अविरल प्रयत्‍न रहँदै आयो । तर ब्लग लेख्‍नु र चम्काउनु अनन्त यात्रा रहेछ । पूजाकोठाको थाली एक दिन चम्काएर पार पाइने हो र ? अँ त, पूजाकोठाको कुरा गर्दा केही समय यता ब्लग भनेको पूजाकोठा र ब्लग लेखन चाहिं पूजा हो जस्तो लाग्न थालेको छ । ब्लग लेखन पूजा नभए यसबाट यति आनन्द र तृप्ति कसरी मिल्दो हो !

ब्लगका चार वर्षमा लेखनका महत्वाकांक्षी योजना केही पनि पालिएन । निरुद्देश्य लेखन । सबै काम मिसनसहितको गरिन्न रै’छ जीवनमा, सबै कुरा योजनासहितको पनि हुन्न रै’छ संसारमा । कुनै योजना पूरा गर्छु भनेरै लाग्नेहरुबाट त कुनै छनक मिल्दैन यहाँ, स्वयंसेवा (आफ्नो) को लहडबाट सुरु गरिएको ब्लगले कुनै बोझ के पन्छाओस् ! खालि रहरले लेखियो, स्वर्गै हडपेको खुसीमा फुलेल भइयो, सधैं १६ वर्षको जोबन ज्यानमा कसिएर बसिराखे झैं वासन्ती सुगन्ध अनुभूति गरियो । आह्, ब्लग भनेको खुला गगनमा चराको भाँतीमा उड्नु हो ! कुनै शिकारीको परवाह नगरी । चराको वायुवेगको उडानबाट प्रतिफलको आशा के राख्‍नु ? बरु आफ्नो उडानबाट कसैलाई आफैं उडेको अनुभव हुँदो हो, कुनै न कुनै सन्तुष्टि मिल्दो हो । ब्लगको शक्ति र प्रभाव त्यही नै हो ।

चार वर्षको यात्रा पूरा गरी पाँचौं वर्षमा ब्लग लम्किनुलाई मैले वर्षैपिच्छे चुम्बनको विम्ब भिडाएको छु । चौथो चुम्बन पनि मैले गरिभ्याएँ । तर जति नै बार गरे पनि चुम्बनले केहीको जन्म दिंदैन । यो त कुनै गोलो घेरोको अक्वारियममा माछो ठोक्किरहनु जस्तै छिपछिपे चाल हो । जन्मको लागि अलग प्रयास चाहिन्छ र केही समय पनि । यो ब्लगले त्यो गन्तव्य भेट्ने दिशा पैल्याओस् ।

सदा झैं म, मेरो लेखन र ब्लग मन पराएर-नपराएर हौसला र सुझाव दिने सबैलाई सम्झिरहेछु ।

चियर्स !!  

-----------------------------------------------------------------
गत वर्ष ब्लगको चौथो वार्षिकोत्सवमा लेखेको गन्थन पढ्ने भए - तीनवर्षे ब्लगिङ र आत्मस्वीकृति : यो अप्रिल फुल होइन

29 March 2012

युद्ध

फुर्सदमा रै'छन्
बूढा महादेव
पार्वतीको कपालमा
मार्दैछन् ठुङ

खै, म चलाउँछु अब त्रिशूल
गंगा अब बगाउँछु यतै ।

trishul

28 March 2012

फेरि गुलजार

शान्त समुद्र पनि छालहरुमा पौडिंदै किनारसम्म साउती मार्न आइपुग्छ, आफ्नो चाहिं एकतमासले बित्न थालेका छन् दिनहरु । अचेल आफ्नो प्रतिभा उजागर गर्नेभन्दा पनि अरुकै प्रतिभामा लुटपुटिएर मक्खिंदैछु । फिल्म हेर्ने, किताब पढ्ने, घुमफिर गर्ने ।

यसबीचमा घरैमा निकै फिल्म हेरियो । कहिले त दिनमै दुइटासम्म । अक्सर कस्तो लाग्छ भने एक दिनमा एकभन्दा बढी फिल्म हेरेमा ती फिल्मको प्रभाव आफूमा राम्ररी बस्न सक्दैन र हेरेका ती फिल्मप्रति पनि अन्याय हुन जान्छ । कतिपय त अझ एकसाथ चार-पाँचवटा किताब पढ्ने बानी भएको कुरा सुनाउँछन्, विषय-प्रसंग जुधेर ती कति हैरान हुँदा हुन् जस्तो लाग्छ । तर किताब पढ्ने कसरतभन्दा थपक्क आँखा उघारेर बसिदिए पुग्ने फिल्म हेर्नतिर लाग्दा एकपछि अर्को फिल्मको संख्या बढाउन कुनै हिसाब गरिन्न रैछ ।

17 March 2012

साँझपख स्वयम्भू

धार्मिक हिसाबले स्वयम्भू स्तुपाको महत्व विशिष्ट छ । पर्यटकीय आकर्षणमा पनि यसले चुम्बकको काम गर्दै आएको छ । धेरै फिरन्तेहरु स्वयम्भूको थुम्कोमा त्यहाँको अर्धमुदित नयनको दर्शन गरेर मन ‘पवित्र’ पार्न नभई मन ‘शीतल’ पार्न उक्लिने गर्छन् । अझ गजबको कुरो त, स्यवम्भू पुग्नुको कतिपयको उद्देश्य स्वयम्भू परिसरका सम्पदाको दर्शन नभई माहुरीको चाका जस्तै फैलिएको काठमाडौं उपत्यकाको संरचना अवलोकन गर्नु रहेको हुन्छ । आज त्यही थुम्कोतिर उक्लेर सुस्ताऔं ।

Swayambhu

अरु तस्बिर हेर्न भित्र पसौं -

15 March 2012

घुम्ने मेचका सुहाउँदा मान्छे

लेख्‍नेहरूले लेख्‍न सक्थे, यो देश -
धुपी, सल्ला र हिमालहरूको देश,
भूपी, हल्ला र रिमालहरूको देश ।
तर सम्झिनेहरूले कवि भूपी शेरचनलाई स्मृतिमा रेसारेसा केलाउँदा उनका विभिन्न पाटो खुल्दै जान्छन्, चर्चाको क्रम 'हल्ला'मा गएर टुङ्गिइहाल्दैन । हल्लाको गुप्त तहबाट पार भएर यथार्थका फग्लेटाहरू स्मृतिको झ्यालमा प्रकट हुन थाल्छन् ।

हामी, मेरो चोक, यो हल्लैहल्लाको देश हो लगायतका शक्तिशाली कवितामा बाँचेका भूपीबारे अनेक रङ्गीन प्रसङ्ग उनीसँग उठबस गर्नेहरूको मानसपटलमा आलै छ । भूपीका समकालीन तथा अन्तरङ्ग मित्र कवि तथा गीतकार रत्‍नशमसेर थापाको सम्झनामा भूपी रङ्गीन मिजासका मान्छे हुन् । उतिबेलाको काठमाडौंमा एकातिर नारायणगोपाल, भूपी र रत्नहरूको गीताङ्गे जमघट हुन्थ्यो भने उता कृष्णभक्त, द्वारिका श्रेष्ठ, मोहन कोइरालाहरूसँग मिसिँदा उनै भूपी र रत्न साहित्यिक रौनकमा धुवाँदार बहस गर्थे । भीमदर्शन रोका, शङ्कर लामिछाने र मोहनहिमांशु थापासँगको 'यारोँ दोस्ती' पनि कम थिएन । मिलनसार स्वभावका थिए भूपी र असाध्यै मीठो गरी बोल्थे । बोली नै पिच्छे ठट्टा गरिरहनुपर्ने ।

06 March 2012

तिम्रो हरामखोरको डायरी

पहिरिएर बालुवाको ओभरकोट
गमक्क गम्किँदै
आएछौ नि हाम्रो बस्तीमा !
जाबो हावा भन्थ्यौ हामीलाई

अब भन,

हत्केलाको लगौँटी बाहेक
के हुनेछ तिमीसँग,
के हुनेछ बाबुसाहेब ?

02 March 2012

तरबार र धार

पर्यटक जस्तो बादल !
कुनै नेपाली कविले उपमा दिए झैं आकाशको सीमाहीन देशमा बादलको मनमौजी वहकाव पर्यटकीय उडानभन्दा कम इर्ष्यालाग्दो हुँदैन । घरि सलाइको काँटी जस्तै छरिएर बिलाउँछ,  घरि अमिवाको अवतार लिंदै झोल्लिएर तन्किन्छ ।

केही समयअघि काठमाडौंछउकै सेतो गुम्बा जाँदा बादलको त्यस्तै बथानले टाउकोभरि थिच्यो । कस्तो भने, घरैघरको सिउरले आकाश छोपिने काठमाडौंदेखि छलिएर डाँडातिर पुग्दा आकाशको बाथटबमा चोबलिएको नाङ्गो नौजवान जस्तो भएर फनफनाएको देखियो बादल ।  त्यही रुपाकृतिको केही झलक हेरौं :

Cloud

28 February 2012

होली

तिमीसँगको होली पो होली !

रङ्ग्याउनु ..
भिजाउनु ...

चुपचाप - चुपचाप
रङहरूको आरोहण

न तिमीले सङ्कोच मान्ने

न मलाई धक लाग्ने ।

Pic Source - AFP

23 February 2012

- शिवरात्रि लाइभ -

वागमती कुलकुलाएको आवाज सुन्न के पाइन्थ्यो ! ऊ नै च्याट्ठिई-“हात समात न हौ, म हराउँछु के !” उसको मुख हेरेँ, कलिलो काँक्रामा कसैले चक्कु घिसारे जस्तै देखियो ।
भीडमा उसको झर्को बोलीले सुटुक्कै मैं पो हराइदिऊँ कि जस्तो झोंक पनि नचलेको होइन । तर हामी त जीवनसाथी पो त भन्दै साथमा रहने मैच्याङलाई पशुपतिको भीड देख्दैमा झिंजो मानेर कसरी पो छाड्न सक्थेँ र ?

तर हातै समातेर त के हिंड्नु गाँठे, अप्ठेरो लाग्यो । कसैले देख्‍ला, नदेख्‍ला भन्दा पनि आफ्नै हेराइमा यस्तो हर्कत अलि विचित्र लाग्छ । तर पश्‍चिमा संस्कृतिको बैशाखीमा रत्तिँदै आएकी स्वरूपा त्यस्तै छे, उसलाई सब कुरा जायज लाग्छ । स्वरूपा यसैले रूपसँगै जीवनशैलीको हिसाबले पनि झिलिमिली छे । उहिले उताको संस्कृतिलाई बैशाखी बनाएर रमाई, अहिले यो भीडमा मलाई बैशाखी बनाउन खोज्दैछे ! “केटीहरूको कुरो बुझ्न सकिन्न ब्रो”, कसैले भनेको थियो कुन सर्कोमा । ठीकै भनेको रै’छ त्यो जैरेले । अहिले दिव्य ज्ञान पलाए जस्तो भयो ।

20 February 2012

रत्‍न दाइ, लेखकीय अहम् र धुपौरे

Ratna-Shamsher-Dai
कमलपोखरीमा छ्‌याप्पै एक पाटो ओगटेर बसेका थापा खलकमध्येको एउटा घरमा पुगिरहन मन लाग्छ । कवि-गीतकार रत्‍न शमशेर थापा निवास । नक्सालको डेराबाट यसो टहलिंदै जान सकिने भए पनि एक-डेढ वर्षको अन्तरालमा मात्र बल्लतल्ल झुल्किन पुग्दो रहेछु त्यहाँ । तैपनि रत्‍न दाइको कुनै गुनासो, दु:खेसो छैन । जतिसुकै अन्तरालमा जुनसुकै बेला पुगे पनि ‘ल, भाइहरू आएको बेला’ भन्दै साहित्यिक र सांगीतिक दुनियाँका विभिन्न ऐतिहासिक सन्दर्भहरू खुबै डुबेर सुनाउँछन् दाइले । सम्पदाका रूपमा ती किस्साहरू समेट्न लोभलाग्दो बन्ने गर्छ ।

31 January 2012

घर फर्किरहेको मानिस

Ramesh Kshitijगीतिकारिताको २५ वर्षे यात्रापछि पहिलो गीति एल्बम लिएर आए रमेश क्षितिज । आफ्नै पुच्छ्रे परिचय ‘क्षितिज’ नाममा । सँगालोमा परेका गीतहरूमा यिनले शैली र विषयगत विविधता दिए पनि एउटै खालका भाव उनेका छन्, मान्छेका कुरा, ती मान्छेका मर्म र मनका कुरा ।

मान्छे र मनका कुरा गर्ने क्षितिजका शब्दमा पस्न सजिलो र आनन्दमय पनि लाग्छ । दिनभरि टन्टलापुर घाम खेप्दै पहाडको आफ्नै घरमा पुगेर मोहीले आँत मेटे जस्तो ! सामान्य व्यवहारमा काव्यलाई ओखर मानेर त्यसको स्वाद लिने प्रयाससम्म नगरी ‘कठिन’ भनेर उपाधि दिने एउटा पठित जमात हामीकहाँ सधैं छ । क्षितिज ती उपाधिदाताको लागि पनि सहज बनेर लेखिन्छन् । यसैले यिनलाई पछ्‌याउन मलाई प्रिय लाग्छ । यी कुनै सीमा कोरेर कुनै गुटको ऐनामा साँगुरो झलक दिंदैनन्, यसैले उनी सबैका हुन सकेका हुन् कि । उनलाई पढिनभ्याएकाको लागि यो बयान निराधार लाग्न सक्छ, एक पटक पढ्नेले भने एउटा-एउटा मोहनी मन्त्रमा बाटिएर पटक-पटक यिनको खोलामा धाएका छन् ।

23 January 2012

सात फेरो

Womenचुरालाई पखेटा बनाउँदै
उडाएँ मैले तिमीतिर
जिन्दगी जस्तै प्यारो हात
बोकेर ल्याएँ
कहिल्यै सन्नाटा नछाउने घर
आफैंलाई सौगात बनाएर सुम्पिएँ,

तिमीले दियौ
एउटा पलङ
पलङको आधा हिस्सा
र दस्तखत चलाएर सग्लो मेरो आङमा
दियौ बलात्कारलाई संस्थागत स्वरूप ।

22 January 2012

आज दुवै आँखा गुमाएँ …

{ Attachment brings suffering }

पत्रमित्र साथी,
हस्याङफस्याङ गर्दै बरालिएको जिन्दगीमा तिमीलाई जमेको माया !

तिमीलाई पत्र लेख्‍न बस्दा हातभन्दा बढी मन काँपिरहेको छ । अदृश्य मनको कम्पन कति ज्याद्रो हुन्छ, तिमी बुझ्छौ नि ? यो पत्र तिमीले स्वीकारै पो गर्ने हौ कि होइनौ, डर यत्ति छ । म बेठेगानामा त निशाना ताकिरहेको छुइनँ नि ? आजको समय पल-प्रतिपल रफ्तारमा छ, साइबर युगमा सूचना-सन्देशको प्रसारभन्दा तीव्र रूपमा परमाणु विस्तार र विरोधी स्वरको होड छ विश्वमा । यस्तोमा तिम्रो मन मात्रै स्थिर रहला भन्ने के ग्यारेन्टी ! तिमीभित्र चञ्चलताले जुरो उठाउँदो हो यदाकदा । यसै पनि हामी आधुनिक मान्छे यथास्थितिवादमा विश्वास गर्दैनौं अचेल । यसबीचमा तिम्रो चायादार कपालले विदेशको चिसोमा अझै चायाको च्यादर ओढे होलान् ( कि पायौ त्यहाँ प्रभावशाली सेम्पुको स्याहार ?), मेरो मनमा पनि टाँस्यो होला समयले असंवेदनशीलताको  पत्रे चट्टान । त्यो चट्टान च्यात्दै यति एउटा पत्रको भाकाTear... Pic Source - www.sirpatrickofireland.wordpress.com भए पनि तिमीसम्मन् भर्न खोज्दैछु । कोसौं पर रहेको परदेशमा बस्न पुगेकी नितान्त तिमीलाई मेरो भावनात्मक भुल्का ।

भुल्काको कुरा गर्दा भुल्का-भुल्का रगतको सिर्का छर्ने मेरो मुठीदार मुटुको कुरा सुनाउने व्यग्रता जाग्यो । तिमीसँगको भौतिक दूरीपछि मेरो मुटु कुनै बालकको हातमा पुगेको सलाइको डिब्बा बनेको छ, जसलाई त्यो बालकले खेल्ने नाममा यति जोडसाथ हल्लाएको छ – बढ्ता टङ्कारको कारण त्यसको चालसम्मको होश अब छैन मलाई । म जिउँदै त छु ? चिमोट्ने नङ पनि हिजो मात्रै काटिहालें । यो पिरो मुटु कति पोल्छ भने, मानौं तन्दुरी ढावामा प्रतिपल सेकिइराख्‍ने तावामा छुटेको रोटीको टुक्रा यही मुटु हो !

01 January 2012

२०१२ मा दुई कुरा

समयको बहानामा योजनाको पन्तुरो फुकाउने चलन नयाँ होइन । चाहे सुरुवातको घडीमा होस् वा समाप्तिको चरणमा, आत्मसाक्षी राखेर हामी योजना र वाचाको सूची बनाउन तम्सिहाल्छौं । यस्तै सूची यसपालि आफ्नो दिमागमा पनि फुरेको छ, वर्ष २०१२ को बहानामा ।

पहिलो योजना छ, यस वर्ष म धेरै पढ्छु ।

अध्ययन निकै सीमित भएको छ पछिल्लो समयमा । किताबका पन्नाभन्दा भातका सिता र निद्राका घन्टाको अंकगणितमा अल्झिन थालेको छ जिन्दगी । बौद्धिक साहचर्यमा रमाउन खोज्ने एउटा युवाको लागि यस्तो चाला हानिकारक हो । तात्कालिक रूपमा आफ्नो पेशागत कामको लागि चाहिने कुरा त ‘फास्टफुड’ हतारोमा पढिएकै छ । तर पाठ्यपुस्तक इतरको अनौपचारिक अध्ययन भने सुनसान छ । पुस्तक नभएर नपढेको भने होइन । किनेर, उपहारमा पाएर थुपारेका पुस्तक जम्मा पार्ने हो भने आफू छोपिनलाई बडेमानको भकारी नै तयार हुँदो हो । तर पढाइतिर ताउरमाउर नै चल्दैन । पढाइ पातलिंदा लेख्‍ने मसी पनि पातलिनु स्वाभाविकै हो ।  लेखाइको रङ निकै फिका भएको अनुभव हुँदैछ । मुख्य कुरो त, आफू गुदीयुक्त नभएपछि उभिएको भुइँ नै भासिएला जस्तो लाग्दोरै’छ । फितलो लागिरहेछ आफू ।  आफू अघिका पुस्ताले नयाँ पुस्तामा अध्ययनै छैन भनेर यत्तिकै थेगो बनाउने गरेको कुराले अहिले हो न हो, आफैंलाई घोचो बनेर बिझाउन थालेको छ ।