Where words smile ...
November 9, 2012
गीतको कथा – ‘धेरै माया दिँदा रै’छन्...’ (ललिता कुँवर)
October 21, 2012
अन्ना, अनुश्रेया र प्रकट
मैले मेरो हजुरलाई स्वीटर बुनेकी छु'
October 14, 2012
सम्बोधन : ईश्वरको पिशाचलाई
September 26, 2012
सहरको किनारामा रामकुमारी
आफ्नो फेसबुक स्टाटसमा केही समयअघि रामकुमारीले घरभित्रै गुम्सिराख्नुपर्दाको उकुसमुकुस पोखेकी छिन् ।
August 19, 2012
‘संकटको बेला साहित्यकारले नबोले कसले बोल्ने’ – राजेन्द्र विमल
मिथिलाक्षेत्रका स्वनामधन्य लेखक डा. राजेन्द्र विमल जनकपुरबाट काठमाडौं आएको मौकामा पारस नेपालले उनीसँग लामो कुराकानी गरेका थिए । त्यही कुराकानीको पूरा भाग यहाँ प्रस्तुत छ । यो वार्ता यसअघि सम्पादित रुपमा भदौ २ गतेको कान्तिपुर-कोसेलीमा प्रकाशित छ । शब्द ब्लगका लागि वार्ता उपलब्ध गराउने पारसज्यूलाई धन्यवाद !
पारस नेपाल
डा. राजेन्द्र विमल बढीजसो जनकपुरमा बसे पनि नेपालभरका भाषासाहित्यप्रेमीले श्रद्धासाथ लिने नाम हो । प्राध्यापनमा चार दशक बिताएका उनी नेपाली र मैथिलीमा समान दक्षतासाथ कलम चलाउने स्रष्टा हुन् । नेपालीमा उनका 'राजेन्द्र विमलका कथाहरू,' 'खहरेको तिर्खा' (उपन्यास), 'मिथिलाको इतिहास, संस्कृति र कला परम्परा,' 'गद्य, पद्य र नाटक' (समालोचना), 'फिस्टी रानी' (बाल साहित्य) आदि प्रकाशित छन् । मैथिलीमा उनले कथासंग्रहहरू 'इतिहासक घाओ,' 'पचास वर्ष मैथिली कथा' र ‘ई हमरे कथा थिक,' गजलसंग्रह 'सूर्यास्तसँ पहिने,' नाटकहरू 'सीता', 'नौटंकी चलिरहल अछि', 'दोहाइ बाबा भुँइयाँ' जस्ता कृति निकालेका छन् । हिन्दी र अंग्रेजीमा समेत कलम चलाउने विमलले टेलिसिरियल, फिल्म, गीत र कविताहरू पनि लेखेका छन् । उनले जगदम्बाश्री पुरस्कार, साझा पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, विद्यापति पुरस्कार, गोपालप्रसाद रिमाल सम्मान, कुलचन्द्र कोइराला सम्मान, मिथिला विभूति, वैद्यनाथ सियादेवी पुरस्कार प्राप्त गरेका छन् । ६६ वर्षीय यी स्रष्टा पछिल्लो कथासंग्रह 'समयका आँखा' सार्वजनिक गर्न हालै काठमाडौं आएका थिए ।
August 15, 2012
July 12, 2012
नागी गुम्बामा एक फन्को
‘पहिला देश, अनि विदेश’
पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डको यो नारा जब-जब सहरका विभिन्न ठाउँमा देख्छु, चिमोटिन्छ मन । अरे भाइ, तँ त कुवाको भ्यागुता नै छस् भनेर थकथकी लाग्छ । विदेशको कुनै मोह छैन अहिलेसम्म (पछि के हुन्छ, परिवर्तनशील सांसारिक नियमविरुद्ध छुइनँ म), तर स्वदेशकै धेरै ठाउँमा टेकेको छैन यो ज्यानले । टेलिभिजनका पर्दा, पत्रपत्रिका र पर्चा-पम्प्लेटका पानामा देश-दर्शन गरेको लाजमर्दो अनुभव छ ।
आफ्नै जिल्लाको पहाडी इलाकामा पुग्न नसकेको पाइला काठमाडौं बसाइका क्रममा पनि यस छेउछाउका लोभलाग्दा ठाउँमा जाने कुरा सोचकै सूचीमा थन्किएर बसेका छन् । कहिले जुर्ने हो मेसो, अनिश्चित नै छ । सुनाउँदा पनि बकवास जस्तो लाग्ने व्यस्तता नामको चिप्लेकीराले गुटुङटुङ चिप्ल्याइरहेछ । यस्तो चेपाचेपका बीच पनि काभ्रेको नेपालथोक, साँगास्थित महादेवको अग्लो मूर्ति, शिवपुरी-सुन्दरीजल हाइकिङ, बालाजुमाथिको जामाचो गुम्बा, नुवाकोटको ककनी, ललितपुरको लाकुरीभञ्ज्याङ लगायतको सयर गरियो ।
चिसापानी जाने मनको भाका भने मनभरि नै छ अझै ।
बरु तीन महिना अघि लहडै लहडमा साथीहरुसँग शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको नागी गुम्बा गइयो । कुनै ठाउँ कति मनमोहक र आकर्षक छ भन्ने कुराले भन्दा त्यस ठाउँको यात्रा कसरी गरियो भन्ने पक्षले मिठास दिने हो र यादगार पनि यात्रामा भएका कुरा नै बन्ने गर्छन् । नागी गुम्बाको यात्रामा पनि पाँच भाइले रामरमाइलो गर्दै ती पलहरुको याद गाढा बनायौं । जीवन यात्रा हो भन्छन् । तर यात्राको नाममा वल्लो घर र पल्लो घर र बस्तीको यो मोड र पल्लो कुनाभन्दा अलि फैलिएर हेर्ने हो भने स्वर्गीय यात्रा यही जीवनमा गर्न पाइन्छ ।
नागी गुम्बा जाँदाका केही तस्बिर हेर्न भित्र आउनुस् :
पढ्नु : प्रेम [निबन्ध]
प्रेमसँग हाड नाता भएकाहरूले बुझ्छन्- यसभित्रको लगाव कति दुःखदायी हुन्छ, तर मीठो तड्पन ! भोगेपछि यस्तो लाग्दो हो, यो प्रेम भन्ने कुरा त नभइदिएकै भए पनि हुने ! तर के यसबिना संसारको सहज रफ्तार सम्भव छ ?
धेरैअघि सोचेथेँ, प्रेमबारे केही त लेख्नेछु । तर यसबेलासम्म त मैले त्यही सोचाइसँग नै प्रेम गरेर बसिरहेको रहेछु ।
फेरि यो बसिरहनु, बस्न सक्नु पनि त एउटा प्रेम नै हो ।
कति-कति प्रेमहरू...।
आरम्भमा प्रेमका बारेमा केही विद्वान्द्वारा अभिव्यक्त पंक्तिहरू :
- हरेक दिन म तिमीलाई बढी माया गर्छु हिजोभन्दा आज बढी, भोलिको भन्दा आज कम । - रोजमोन्ड गेरार्ड ।
- म प्रेममा धेरैपल्ट परेँ । र सधैं तिमीसँग । - एडगर एलेन पो ।
- प्रेम दुई जनाले खेल्न मिल्ने र दुवै विजयी हुने खेल हो । - इभा गाबर ।
- थप प्रेमबाहेक प्रेमको कुनै उपचार नै हुँदैन । - थोरो ।
- प्रेम विष्फोटक सिगार हो । जानी जानी हामी यसलाई खाइरहेका हुन्छौं । - लिन्डा बेरी ।
- प्रेम मेरो धर्म हो । योबिना म बाँच्न सक्दिनँ । - जोन किट्स ।
- मेरो हृदयमा आएर बस । यसको कुनै भाडा तिर्नुपर्दैन । - स्यामुयल लभर ।
... ... र यति गमिसकेपछि के भयो ? भयो नै भने पनि उपर्युक्त प्रेमशास्त्री विद्वान्हरूसँग हामीलाई आकर्षणको प्रेम भयो सायद । आह ! क्या धारिलो चित्रण !! तर तिनको निचोरिएको भावधारा त हामीबाट गुम ! खासमा भनाइहरूका ती चास्नीले हामी लस्सादार हुनुपर्ने हो । शीतको प्रथम आवेगले भिजेको कपास झैं अझ कोमल र प्रेमिल हुनुपर्ने हो । जो बतासको वेग देख्नासाथै जुरुक्क उत्तेजनामा मर्किहाल्दैन, हामी त तेलको स्याहार पाएर सपक्क सुतेको त्यस्तो कपाल पो हुनुपर्ने !
यी अनगिन्ती 'हुनुपर्ने' हरूलाई हामी मानौं देउसी र भैलोको सुरिलो भाका ठानेर भट्याइरहेछौं । भट्याएर आज पोल्टोमा कति दान-दक्षिणा भरियो ? खोइ, मैले प्राप्तिलाई अङ्कगणितमा पढ्न र पारख गर्न जानेको छैन । यति जानेको छु, प्रेम गर्न । तर प्रेम गर्नु भनेको त्यस्तो जान्नैपर्ने पाकशिक्षाको तालिमकक्षा नै कहाँ हो र ? र, प्रेम गर्नुको मिठासलाई अर्थ दिन सक्यो भने पढ्नु पनि त प्रेमभन्दा कम मुलायम छैन नि ! खासमा यही जान्नुनपर्ने भएकाले अहिलेसम्म म केही न केही पढ्दै आइरहेको हो कि क्या हो ? अघिल्तिर देखा पर्ने कुनै अन्जान अनुहार पढ्नु, साथीको कोपरिएको मनको मर्म पढ्नु, आफ्नै एकालाप पढ्नु ... आदि आदि ।
तर यस्ता किसिमका पढाइको कुरामा म छैन, कम्तीमा यो अहिलेको लेखाइभरिलाई । म त पढ्नु अर्थात् ज्ञानको चकटीमा पलेंटी कसेर किताबसँग योगासन जमाउने कुराको विस्तारमा यहाँनेर फुक्न खोज्दैछु । जहाँ प्रत्येक श्वाससँगै चेतनाको सिर्सिर् अन्तरमा घुसोस् र त्यसको आयतनसँगै प्रत्येक प्रश्वाससँगै अज्ञानता बान्ता भएर निस्कियोस् ।
प्रेम : आफूले आफैंलाई भुलेर आफूलाई अरुमा पाउनु । मैले कतै पढेको । आफूलाई सम्पूर्ण रुपमा बिर्सिएर उसैमा समर्पित हुनु प्रेम हो रे । यो पनि पढेको । यसरी पढाइमार्फत प्रेमलाई बुझ्दाबुझ्दै पढ्नुसँगै प्रेम बस्यो । बरु प्रेमसँग नै प्रेम भएन सायद !
आज आएर अलिकता आफ्नै भोगाइ, अलिकता बाहृय बुझाइ तौलिएर हेर्दा लाग्दैछ, आफूबाहेकको अस्तित्वलाई प्रेम गरेर प्राणीले आफ्नो कमजोरीको स्तर स्वयम् पुष्टि गर्छ । कसैलाई प्रेम गर्नु आज शुद्ध रूपमा प्रेम गर्नुमै मात्र व्याख्या हुन्छ भन्ने छैन, गरिँदा-गरिँदा त्यो प्रेम- प्रेम थाप्ने पात्रको आँखामा सस्तोपनको बेकामी चश्मा भएर झर्ने खतरा प्रबल रहन्छ । कठै, झिरिप्प शीशाहरू....!
यति लेखिसकेपछि एउटा नोटबुकमा केही समयअघि कोरिन पुगेको दार्शनिक पङ्क्ति सम्झिन पुगेँ । झ्वाट्ट पङ्क्ति के सम्झिनु, नोटबुकमा केही कोरेको छु भन्ने मात्र हेक्का भयो, पल्टाएँ- 'प्रेम : कुनै अवस्था हो कि काम ? अर्थात् प्रेममा छु कि प्रेम गर्दैछु ?'
यसको खास तथ्य उधिन्न सोचमा डुबुल्की मारेँ, र केही सोच्न सकिनँ । छुट्यो केवल रन्थनी । अवस्था, काम, छु, गर्दैछु....। प्रेमभित्रको लगावपछि झ्याङ्गिन कसैको समक्षमा जाहेर गर्दा कसैलाई हिउँद मासमा घामको तमतम्याइलो सहीछाप धस्काए झैं हुँदो हो भने कसैलाई कृपावादको फिर्ता खेल लाग्दो हो । के टुङ्गो छ र एकनास हुनुपर्ने ?नाप्न मिल्ने भए मनको कुनाकानी आयतन र सङ्कुचनको मात्रामाथि अध्ययन गरेर आम मनहरूबारे एउटा निष्कर्ष रिदिन हुन्थ्यो - हेर बाबू-नानी हो, आपसको मन यस तवरले पिँजडा झैं साँगुरिन्छ र क्षितिज झैं फैलिन्छ, नौनी झैं गल्छ र इस्पात झैं गाँठिन्छ.....।
खुङ्खार पण्डित अर्थात् विशेषज्ञहरूले प्रेमको पन्ना एकपछि अर्को गर्दै अति तन्मयतापूर्वक थपिरहे प्रेमशास्त्रको उत्थानमा । मानौँ प्रेम नै नगरी-नगरी । यदि प्रेम गर्नतिर ती लाग्दा हुन् त शास्त्रका ठेलीमा जिल्दामाथि छिप्पट भाकामा ढ्याप्प शीर्षक मात्र ओगटिएर बस्थे होलान् । भित्रका पन्नाहरू त निष्प्राण जीवको श्वासनली झैं एकदम खाली-खाली । बिनाप्रेम, अनुभवहीनताको त्यस्तो अनुभवी बलमा प्रेमशास्त्रीहरूले प्रेमको बारेमा रास-रास लय बगाउनु पनि विचित्र प्रेम-महफिल लाग्छ ।
पढ्नुको के कुरा, पुस्तकमा आँखालाई बगरमा टक्रक्क उभिएको बकुल्लामा रुपान्तर गरी छोडिदिने हत्तेदेखि पर आफ्नै जिन्दगी पढ्न नजानेर/नसकेर धुरुधुरु रुने जमात हाम्रो सामाजिक पुस्तकालयमा टन्नमन्न होलान् । पढ्दापढ्दै कसैको आँखालाई निद्राले छल गर्छ, कसैको आँखामा विरहले जल भर्छ । कति फरक छन् प्रेमका नमुनाहरू ! आफ्नो अज्ञान देख्न र ज्ञान देख्न पढ्ने अलग-अलग ढाँचाको संसारमा यस्तो पनि होला, कोही अज्ञान र ज्ञानको खिचडीलाई धुवाँ छुटाउन्जेल पगाल्न पढिरहेको होस् । त्यस्तो तपमा कुनै न कुनै प्रेमी त होला । जागिर खान पढ्नु, आनन्द बटुल्न पढ्नु, केही सिक्न पढ्नु, सिकाउन पढ्नु, पाण्डित्य प्रदर्शन गर्न पढ्नु... एउटै पढ्नुभित्र पनि कति-कति प्रेमहरू पत्रेदार भएर बसेका छन् । र आजको जमानामा एउटा मान्छे ती सबैखाले प्रेम गर्दै अथवा गर्नलाई नपढिरहेको होला र, किटान गर्न गाह्रो छ । कारण, ती सबै-सबै प्रेम नै त हुन् फरक अनुहारका । प्रेम सबैलाई चाहिन्छ, सबै यसलाई अँगाल्न उत्सुक हुन्छन् । मतलब हुन्न, प्रेमपछि गहिरो रापको तातो मिल्ने हो या उँचो चापको चिसो । बस्, प्रेम भए पुग्यो ।
'प्रेम गर्नु' लाई विपरीत लिङ्गीबीचको दोहोरी भाका भन्ने बुझिदिए सङ्गीतको एकाङ्गी आलाप मात्र हुन जाला । प्रेमको जरामा एउटै रस थलथलिएर रहे पनि चारैतिर हुत्तिएर जाने हाँगाबिँगाको हिसाब कसले राखोस् ! जस्तै कि, प्रेम गर्नुः भाइचाले ढलको पानीमा गोडा रङ्ग्याई-रङ्ग्याई काउली र गोलभेँडामा पानी पटाउनु । प्रेम गर्नुः हजुरआमा विष्णुमाया आफ्नो घरको चियारङ र चिनी बचाइबचाई छिमेकको घरमा चिया-पाहुना लाग्न जानु । प्रेम गर्नुः आफाले दनुवारले छोराछोरीको पढाइ बिग्रिने डर पचाएर लोकलाजका कारण बजारबाट डाँडाको घरमा टेलिभिजन भित्र्याउनु । प्रेम गर्नुः प्राण धानिरहेको स्वस्थ मिर्गौला बेचेर पुर्खाले चलाउँदै आएको पत्रिका प्रकाशनलाई निरन्तरता दिनु । प्रेम गर्नुः शून्यताको चिच्याहटदेखि झर्को मानेर पागल हुँला-हुँला आफ्नो मनस्थितिलाई निश्चिन्त आधारमा बिसाउन परिवारमा फर्किनु । प्रेम गर्नुः स्वाभिमान बचाउन समूहको भाँडभैलोबाट तानिएर टापुको बासमा जानु । प्रेम नै प्रेम...। जम्मामा, प्रेम गर्नुः समग्रमा संसारमा रहनु र आफ्नो अवस्था (त्यो चाहे रहर वा विवशताको उपज) लाई आत्मसात् गरेर श्वासप्रवाहमा चिप्लिरहनु...।
र म यही चिप्ल्याइलाई थप रौनकता दिन केही न केही पढ्दैछु । अर्थात् प्रेमको पुष्टकारी चपाउँदै । कथम् यो पुष्टकारीको मोजमज्जामा म पात्तिँदापात्तिँदै बेहोसीवश दाँतले नरम जिभ्रोमा रत्तिभर पनि धावा बोलेर रगतको सिर्का उमार्यो भने त्यसको तातो मिठासलाई पनि म पुष्टकारीकै स्वाद सम्झेर कृतज्ञ बनूँला । सायद खासमा, त्यही त हो प्रेम !
June 27, 2012
June 25, 2012
कवि कृष्णभूषण र काठमाडौंलाई हाँक दिने कविता
June 24, 2012
एकेडेमी, कविता जात्रा र 'सम्बोधन फूलको'
एकेडेमीको अस्वस्थ चाला देख्दा कतिपय साहित्यप्रेमीको त नेपाली साहित्यको वर्तमान धाराप्रति नै मोहभंग हुँदो हो । कविता महोत्सवको पछिल्ला वर्षको झलक हेर्दा नेपाली साहित्यमा भनसुन र आफन्तवादको लालमोहर लगाउँदै आएको देखिन्छ एकेडेमीले । खै यसको गरिमा र मर्यादा ? देख्नेहरु त बरु एकेडेमीको कविता महोत्सव पञ्चायतकालमै ओजपूर्ण थियो भन्छन् । यस्तै बनावटी महोत्सवको आयोजना गर्ने हो भने आगामी वर्षदेखि एकेडेमीले कविता महोत्सवलाई 'गाईजात्रे महोत्सव' भनेर आयोजना गरे हुन्छ ।
May 26, 2012
लेखिकालाई सम्पादकको पत्र
त्यो समय ठेगाना भएर पनि बरालिएर हिँडेको पर्यटक जस्तै थिएँ म । मियो भेट्टाएर पनि टिक्न नसकेको चञ्चल अवतार । जीवनमा कसैको आगमन भएको समय थियो त्यो । बाफ रे, खुबै व्याकुल हुने मन ! धड्कनका चरा एक मिनेटमा ७२ भन्दा बढी चोटि छातीको पर्खालमा भ्याट् भ्याट् ठोक्किएर मर्थे । शान्तिमा पनि त्यसै अशान्ति । उतिबेलाको व्याकुलताको छनक यो पत्रले दिन्छ । जीवनकै जस्तो विशृंखलता र विसंगतिको अंश पनि भेटिएला यहाँ । यो चिठी उनैको लागि लेखिएको थियो उतिबेला । तिनले पाइन् र जवाफ पनि दिंदै गइन् पश्नोत्तरी खेल जस्तो ।
आत्मीय नातालाई सम्पादक र लेखिकाको रुपमा ढाल्दै साहित्यिक रोगन दिँदा यस्तो लेखिएको थियो चिठी, जस्ताको तस्तै :
असोज ११,०६४
नक्साल
स्नेही लेखिका,
प्रेमिल कामना ।
तिम्रो प्रश्न र अनन्त विरक्तिको अनुहार लिएर सम्पादकलाई पत्र आउनुभन्दा धेरै अगाडि नै यो पत्र लेखिनुपर्थ्यो । तर समय हुने रहेछ कुनै पनि कुरा र काम आयोजनाको । भनौं न, भेट भएर पनि तिमी र म धेरै अन्तरालमा एक-अर्काको चाहनामा सराबरी मिल्यौं । पहिलो पत्र लेख्दै छु तिम्रो नाममा । र सायद तिम्रो जन्मसँगै यो पत्रको बीज फुटेको भए हुने थियो । तब तिम्रो आयुकै हाराहारीमा सोच र समझ राख्न पत्रले सामर्थ्य राख्ने थियो । पत्र जतनसाथ पढ, के थाहा पहिलो यो पत्रपछि अर्को पत्र सायद नलेखिएला । प्रेम हामीबीच कायम रहे पनि पत्रको खाँचो हामीलाई नपर्ला । मलाई गर्ने प्रेमजत्तिकै पत्रले पनि तिमीबाट छत्रछाया पाउने आस छ । नत्र लेख्नुको अर्थ नै के...।
May 13, 2012
बार्गेनिङ्को संवाद र विवाद
कान्तिपुर पब्लिकेसन्सको साप्ताहिक प्रकाशन नेपालको बैशाख ३१ (May 13)को अंकमा प्रकाशित आफ्नो निबन्ध सबैसामु बाँड्न मन लाग्यो -
- कान्छु, सिद्धियो आलु ?
May 9, 2012
शिरीष याम
फोटोग्राफीको नशाले पनि अनेक गराउँछ । साधारण ‘प्वाइन्ट एन्ड सुट’ डिजिटल क्यामेरा बोक्नु छ, ठूलै खजाना मिल्ने उमंगमा कहिले शहरको भीडमा त कहिले एकलास पाखातिर बरालिनु छ । तर सिकारी गतिलो नभए पनि गतिलो सिकार खोजेर कहाँ हुनु र ?
शिरीष फूलको यो सिरिज तयार पार्ने बेलामा निकै बरालियो ज्यान । दृश्यको राम्रो ‘मूड’ नरहेपछि एकै ठाउँमा पनि विभिन्न समयमा फेरिफेरि पुग्नुपर्ने । कहिले बिहानीपख, कहिले मध्याह्नको छिप्पट दिन र कहिले भने घाम ओइलाउने बेला । ‘काठमाडौं शहर, घुम्न लाउँछ रहर’ भन्ने भावले यो बेला शहरतिर फन्को मार्दा शिरीष फूलहरुले आँखै निभ्न दिंदैनन् ।
ननिभेका आँखाहरुले देखेका शिरीषका तिनै प्राकृतिक टुकीहरुको दर्शन गरौं न त !
April 19, 2012
April 13, 2012
काठमाडौं किताब : पाँच पन्ना
साझा प्रकाशनबाट छापिने 'गरिमा' मासिकको २०६८ चैत अंकमा मेरो निबन्ध छापिएको थियो, पत्रिका पढ्न नपाउने साथीहरुको लागि सोही निबन्ध यहाँ राखेको छु -
कहिलेकाहीं यो समयलाई नै समय दिन मन लाग्छ । अपेक्षा-भयदेखि वितरागी रहेर ओम स्वाहाको शैलीमा आफूलाई त्यसै बगाइदिनु ... । समयकै सिरानी र डस्नामा दैनिकी फिट्दै आए पनि कति जनाले पो समयलाई समय दिँदा हुन् र ? यस्तै भाव आएर मन र मगजमा ओथारो बसिरहेको बेला सहरतिर निश्फिक्री निस्किन मन हुन्छ । उसै पनि मन भनेको मसी जस्तो न हो, यसो छर्किए पुग्ने।
पन्ना- १ :
मान्छेहरूको बजारमा आफूलाई कतै नभेट्ने गरी हराइदिन र एक कुनामा टुसुक्क बसेर त्यो बजारमा आफैंलाई नियाल्नु छ भने सहर उत्तम मञ्च हो । म भने यसको लागि नयाँ सडक परको वसन्तपुरले पर्खिरहेको पाउँछु । वसन्तपुरमा वसन्त छैन त के भयो, मान्छेहरूको हरियाली त छ ! उः मन्दिरको खाँबोमा आड लागेर गोडा हल्लाउँदै लोलाइरहेका एक जोडीको आँखाभरि पालुवा लहराइरहेको देखिन्छ । तिनको मनमा त अझ सिङ्गो जंगल नै सुसाइरहेको होला । परमाणु बम र तेल कुवाको खिचातानीमा हुनसक्ने सम्भावित विश्वयुद्धको झल्का तिनको मनको दायरामा परेका छैनन् । कामना छ, नपरोस् पनि । अब त्यो जोडीको गोपनीयतालाई सम्मान गरेर अलि फराकिलो बनौं । साँझको बेला घामको मन्द छाप गालामा बोक्दै मान्छेहरू उछिनाउछिन गर्दै छन् । छन् भरिया, छन् मन्दिरका सैनिक गार्ड, छन् लट्टे बाबाजी, छन् घुमघाममा कता-कताबाट आएका गोराहरू।
'विकासी मान्छे रै'छन् है !',
बेसारे दाँतलाई हावा चखाउँदै सडक बालक फुसफुसाउँछ छेउकै आफ्नो साथीसँग ।
'हुम् ऽऽऽ हो है ! हिहिहि',
अर्को चाहिँको बेसारे दाँतले त जुनी नै फेरुँला जस्तो गरी बाहिरी संसार चिहायो ।
झट्ट सुनेको हुँ संवाद हिँड्दाहिँड्दै । वसन्तपुरको भीडभाडयुक्त परिवेश । राजधानी खाल्डोको विशेषता भनेकै यही भीड हो । पहिले-पहिले यो खाल्डो एउटा पोखरीको रूपमा थियो रे, निश्चय नै यहाँ धेरै भ्यागुताहरू पनि हुँदा हुन् । अहिले तिनको ठाउँ मान्छेहरूले लिएका छन्।
अँ त, विकासी मान्छे !
सडक बालकको बोली सियो बनेर छातीमा उनिइबस्छ।
यो उपनामको निशाना त्यो बालकले गल्लीछेउ टहलिरहेका एक हुल विदेशीहरुतर्फ ताकेको थियो । निशाना कस्तो भने, अस्वाभाविक अग्ला र परिपुष्ट काँटका गोराहरूमध्ये एउटा झ्यापुल्ले चाहिँ फिस्स हाँस्यो,सडक बालकको नेपाली संवाद बुझे झैं । उनीहरू वास्तवमै विकासी खालका देखिन्थे । झन् सडकछाप बनेर हिँड्ने ती बेसहारा पिलन्धरे केटाहरूको आँखामा त ती गोराहरू भयानक जीवकै रूपमा उभिएको मान्दा हुन्थ्यो । एउटै पृथ्वीका दुई फरक जीव जस्ता उनीहरू । तब त विकासी कुखुरा अनि विकासी बीउकै कोटिमा मान्छेमा पनि विकासी फुर्को गाँसिन कुनै आइतबारको कुरो भएन।
आज मानवता लोकल कुखुरामा समेत टिक्न नसकेको बेला मान्छे भने विकासी र उत्तरआधुनिक विराट्तामा फैलिएको छ।
पन्ना- २ :
'करुवा, थाल, गाग्री लाने हो बैनी ?'
धोद्रो स्वरले कान चिर्छ । असनको गल्ली हिँड्दा पसलहरूको रूप थरीथरी । ग्राहकहरू थरीथरी । पसल र ग्राहकबीचको ठुँगाइ पनि थरीथरी । 'सामान लाने हो ?' भन्ने कतिपय प्रश्नमा 'मेरो इमान लैजाने हो ?'भन्ने निरीहता पनि गाँसिएरै नआउँला भन्ने के ग्यारेन्टी ? म प्यार बेचिदिन्छु भनेर गीतको बोलमा त बजिरहेछ वर्षौंदेखि, त्यो बोलको व्यावहारिकता यता आएर हाम्रो समयमा कतिपयको जीवनमा पनि बजिरहेको नहोला र ? अक्सर हामीले महानगरमा वेश्यावृत्तिमा मात्र मान्छे बेचिएको तथ्य निकालेका छौं । वृत्ति, अर्थात् काम । चाहे बाध्यता, चाहे रहरको मेलो । कुनै रोजगारी वा वृत्तिमा आजका मान्छे जेलिएकै छन् । चाहे बाध्यता, चाहे रहरले ।
यस हिसाबमा हामी सबैले आफूलाई पल-पल बेचिरहेका छौं । वेश्यावृत्तिको दोष समाजले शरीरको नाङ्गोपनको मोलमोलाइका कारण एउटा जमातमा भिराइदियो । तर जो मनदेखि नाङ्गो छ, नैतिकतादेखि मोलमोलाइमा पग्लिएर ठ्याम्मै आफूमा टिकेको छैन, उसको परिचयात्मक हिसाब कुन रूपमा उतार्ने हो ? बेकार छ वृत्तिको कित्ता विभाजन । बेकार छ इलमीहरूको नैतिक र अनैतिक सीमारेखा । बेकार छ । मान्छे लुगाभित्र नाङ्गो हुनु फुच्चे दर्शनको कुरा । कोठाभित्र, सभा-सम्मेलन, विशिष्ट कक्ष र अति गोप्य बैठकमै पनि नाङ्गोपन अझ सघन हुँदै जानु चाहिँ आजको सत्य !
त्यो पसलेले बैनीको सम्बोधनले आत्मीयता बोध गराएर चाहे करुवा र थाल बेच्ला । भाउ कसेर मुनाफा मिल्ला उसलाई । तर व्यापारिक रणनीति अपनाएर गरेको मोलतोलका कारण इमानको परीक्षामा ऊ विफल नै भएछ भने पनि सहरका कैयन् सुग्घरीहरूको दाँजोमा घिनलाग्दो कहलिनेछैन । कारण, तुलो समाएपछि दायाँ वा बायाँ तख्तामध्ये कुनैमा उँचनीच पारेर केही अतिरिक्त लाभ निकाल्नु व्यापारले दिएको अघोषित प्रमाणपत्र हो । तर व्यापार नगर्नेहरूलाई लाभदायक अधिकार कसैले थमाएको छैन ।
सडक सुतिरहेको छ सामुन्नेमा, गोही जस्तै छ आतुर- केही निल्न झैं ।
पन्ना- ३ :
साँझहरू चोर जस्तै हुन्छन् । तर कता-कता चिनाजाना जस्ता पनि । अर्थात् चिनाजाना चोर ! चिनाजाना लागे पनि हरेक साँझ भिन्नाभिन्नै अनुभूति बोकेर गुँडमा जुरेली बनेर आइपुग्छन् घरको आँगनभरि फन्को मार्न । पाहुनालाई बिर्साउने या भनौं सम्झाउने गरी । सडकमा भेटिने साँझ भने संयोगको जम्काभेटमा आउने पुराना मित्र जस्तो लाग्छ ।
यही साँझमा कोही ठेलागाडामा दिनभरि धुस्नो भएको ज्यान तङ्ग्राउँदै घरतिरको बाटो नाप्छन् । कोहीसाँझमा घरबाट निस्किन्छन् उदासीको 'ह्याट्रिक' सहेर । घरमा पोखिएको साँझ र घर बाहिरको साँझनिश्चय नै निकै फरक हुन्छ कि त ? अँ, कोही घरको स्विमिङ पुल छाडेर हाम फाल्छन् बाहिरको ताल-तलैयातिर । नजिकको तीर्थ हेला पनि त त्यसै बनेको उखान होइन ।
एक प्रिय कवि छन् रमेश क्षितिज । भीडभाडमा उति निस्किँदैनन्, रुख-टोड्काको कोइली चरी जस्तै । तरसुर उत्तिकै महक भरेर निकाल्छन् कविताको कुहुकुहुमा । उनले 'अर्को साँझ पर्खेर साँझमा' कविताकृतिमा खुलेर माया गरेको आभास हुन्छ साँझलाई । त्यस कृतिलाई उनको मास्टरपिस भनेर बखान्दा साँझ अझ चहकिलो हुन्छ युवा कविहरूको । खासगरी उमेश अकिञ्चन, चन्द्रवीर तुम्बापो, सुको साइबर, बाबु त्रिपाठी आदिको जमघटमा दिन कुप्रिएर बूढो साँझ बनिसके पनि साँझको कायामा जवानीका भुल्काहरू प्रकट हुनथाल्छन् ।
साँझ खासमा केही होइन, र सबैथोक पनि हो । मनोभावको तरङ्गसँगै साँझको पाउजु फरक-फरक झङ्कारमा थर्किनु नौलो लाग्दैन । देशमा आज कस्तो साँझ परेको छ, खुट्याउँदा आँखैपिच्छेको फरक खुट्याइ हुँदो हो । तर त्यो खुट्याइको एउटा परेलीमा आँसुको चुकले दाग परेको पक्कै छ । देशको आँखामा एक मुठी कसिङ्गर कसलाई बिझाइरहेको छैन र ?
यो साँझको ऐजन ऐजन सिलसिला हामीले नपर्खिए पनि साँझ त पाइलाभरि नै बल्छी बनेर बिझिरहेको भान हुन्छ ।
पन्ना- ४ :
उज्यालोको चक्की गाडीहरूको ताँतीबाट टपक्क सडक र फुटपाथमा खस्नु त एउटा उदाहरण मात्रै हो । यसैगरी खस्छ सपनामय फुल, आँखाको गुँडबाट । गाउँघरमा र सहरतिरै पनि घरको भित्ताको खोपीमा रहेको गुँडबाट भँगेराको बचेरा खसेको देखेको छु थुप्रैपल्ट । आँखा नउघ्रिएको, पखेटाको नाममा सामान्य आकार मात्र रहेको बचेरा गुँडबाट कसो-कसो भित्ताको सतहतिर सर्न पुग्छ र फेरि गुँडतिरै फर्किने असफल प्रयास गर्दागर्दै भुइँतिर टप्किन्छ । माउ कुन दिशामा आहारा बटुल्ने रनाहामा रहँदै गर्दा यता बचेरा चाहिँ कमिलाको आहारा बनेर खोस्टामा परिणत भइसक्छन् .... ।
खस्नुको अर्थसँग धेरै त ट्राजेडीहरू मात्र जोडिएका हुन्छन् । फरक यति हो - प्यारासुटमा एउटा मानिस खस्दा जीवन जोगिन्छ, किसानको खाँदिएको शरीरबाट पसिना खस्दा प्रकृतिको बालीले खुसियालीमा आकार हाल्छ । नत्र प्रायजसो त खसाइको अर्थले गाडीको हेडलाइटबाट प्रकाश खस्नुको साधारण घटना मात्र बोक्दैनन् । सहरमा त्यस्ता खसाइहरू हरेक अस्तित्वसँग नहुँदा हुन् त सहर नै बन्ने थिएन ।
कति-कति कर्मीहरूको लाशको पाइला टेक्दै-टेक्दै एउटा दुर्गम गाउँसम्म बाटो पुगेको हुन्छ । बाँदर लड्ने अक्कर भीडमा सिकर्मीहरू गैँती र घन वर्षाउँदा-वर्षाउँदै मृत्युको मुखमा पुग्ने दुर्घटना कहाली अखबारका एक-दुई कोलमको समाचारमा पढेर हामी कहाँ मर्मबोध गर्न सक्दा हौं र ? र पनि त्यसै गरी बाटो निर्माणको काम भइरहेछ । हामी पनि 'फलानो नेतृ र ढिस्कानो अभिनेताको बोलचाल बन्द' कै स्तरमा अति सामान्य तहमा ती तमाम दुर्घटना र कहाली पढिरहेछौं, क्षणमै भुलिरहेछौं । फगत मसालाको रूपमा लिइरहेछौं, 'हो त, कोही सगरमाथा चढ्दाचढ्दै बित्छन्, कोही अरूको लागि बाटो बनाउँदा बनाउँदै आफैं बाटो हुन्छन् ।' खासमा हाम्रो अनुभूतिको तह नै सगरमाथा जस्तै चिसो भइसकेको छ, कुनै कुरामा प्रतिक्रिया दिने सस्तो हतारो त्यही बाटो जस्तै वेगवान बनिसकेको छ । चिसिएको पाङ्ग्रा झैं ।
पन्ना- ५ :
काठमाडौंमा खेत छैनन्, खेती छ । रुखहरू छैनन्, गुँड छ । अझ भनौँ न, घर छैन, मात्र कोठाहरू छन् । थकाइको उडानपछि अवतरणको सुस्केरा छैनन्, केवल बेचैनी र अत्यासको भुनभुनाहट छ । एक पाटोबाट हेर्दा यस्तै-यस्तै हो । हेर्ने आँखा र झेल्ने देहअनुसारको व्याख्या न हो ! किटिएकै परिभाषाको कुरा गर्नेहो भने पानीलाई के भनेर चिनाउने ? पानी जस्तै पानी ... । यो भन्दा बढी के ?
खासमा पानी जस्तै पानी भए झैं मान्छे जस्तै मान्छेको आयाममा बस्न जाने/सकेको भए संसार अर्कै भइसक्नेथ्यो क्यार ! त्यही नभएर अहिलेको संसार त्यो अर्कोको पनि अर्को भइसकेको छ सायद । त्यही नहुनाले नै त्यो हुनुपर्ने भनेर खोजी, चाह र अपेक्षामा त्यसको मूल्य स्थापित भएको हो क्यार !
पानीकै कुरा गर्दा सहरमा पानी पर्दा सडकमै कुलकुल नदी देख्न पाइन्छ ! मान्छेहरू छतको एउटा कुनामा बगैंचा रच्ने गर्छन् । सहरमा मान्छेहरू सार्वजनिक सवारीसाधनलाई पनि कुनै प्रतियोगिता र परीक्षाकै स्तरमा महत्वका साथ लिन्छन् । गुरुम्म हुलमा उछिनाउछिन गर्दै को झुन्डिन सक्ने पहिले, चढ्न नसकेरको छुट्ने ? कस्तो भने, एकदिन त्यस्तै ठेलमठेलमा यात्रुहरू कोचिए बसमा । कन्डक्टरलाई मान्छेहरू जति खाँदिएर बसून्, उति धेरै थप मान्छे चढाउन पाउने हाइसन्चो । करायो ढोकाबाट, 'हेलो दाइहरू, अलि पछाडि सर्नू त पछाडि, त्यत्रो खाली ठाउँ छ त्याँ !'
पछाडि दुई-तीन जना तन्नेरीहरूको लहरमा मैं पनि उभिएको थिएँ झिल्टुङको यात्रामा छतको डन्डी समाउँदै । खलासीको आदेश आउनासाथै तीमध्येको एउटा तन्नेरी फुसफुसायो, 'जिन्दगीमा पनि कहिल्यै अगाडि जान सकिएन, हुँदा-हुँदा बसमा धरी पछाडि फेला परियो हे दैव !!' तन्नेरीहरूले विवशताको हाँसो फिस्स हाँसे । यस्तो सहरमा जो पनि रोल नम्बर एक ल्याएर पहिलै बन्ने दाउमा हुन्छन्, तर दाउ लागे पो !
दाउ छोप्ने प्रयासमा कथाहरूको लम्बाइ बढ्दै जान्छ एउटा-एउटा पाइलाको ।
पन्ना थपिँदै जान्छ कथाहरूको ।
जस्तो कि, कति कुरा लेखेर उतारेँ भन्ने भावमा फुरुङ्ग पर्नु मैले बेकार छ यहाँनिर, लेखिन त कति-कति यहाँका कुरा बाँकी नै छन् ।
बाँकी लेखाइ कलम र की-बोर्डबाट लेखेर सग्लो रूपमा उत्रिने पनि होइनन् । तिनलाई बाँचेरै उतार्नुपर्छ । खासमा यसैले सहर जीवितै छ । हामी बाँचिरहेछौं । कति सय वर्षपछि काठमाडौँको अन्तिम पन्ना पल्टाउने कोही त जरुर होला, भाग्यमानी र अभागी दुवै । यतिखेर हामी भने बीचकै पन्नाहरूमा रुमल्लिने फुर्सदमा छौं ।
सङ्क्रमणको एउटा अपूरो कालखण्ड जस्तै ।
April 1, 2012
चौथो चुम्बन
ठट्टैमा बित्छ जोबन, अरुको त के कुरा ?
ब्लग लेखनका चार वर्ष पनि ठट्टैमा बितेसरि गए । अप्रिल फुलकै दिन चार वर्षअघि थालेको यो ब्लग माझेर चम्काउन मेरो अविरल प्रयत्न रहँदै आयो । तर ब्लग लेख्नु र चम्काउनु अनन्त यात्रा रहेछ । पूजाकोठाको थाली एक दिन चम्काएर पार पाइने हो र ? अँ त, पूजाकोठाको कुरा गर्दा केही समय यता ब्लग भनेको पूजाकोठा र ब्लग लेखन चाहिं पूजा हो जस्तो लाग्न थालेको छ । ब्लग लेखन पूजा नभए यसबाट यति आनन्द र तृप्ति कसरी मिल्दो हो !
ब्लगका चार वर्षमा लेखनका महत्वाकांक्षी योजना केही पनि पालिएन । निरुद्देश्य लेखन । सबै काम मिसनसहितको गरिन्न रै’छ जीवनमा, सबै कुरा योजनासहितको पनि हुन्न रै’छ संसारमा । कुनै योजना पूरा गर्छु भनेरै लाग्नेहरुबाट त कुनै छनक मिल्दैन यहाँ, स्वयंसेवा (आफ्नो) को लहडबाट सुरु गरिएको ब्लगले कुनै बोझ के पन्छाओस् ! खालि रहरले लेखियो, स्वर्गै हडपेको खुसीमा फुलेल भइयो, सधैं १६ वर्षको जोबन ज्यानमा कसिएर बसिराखे झैं वासन्ती सुगन्ध अनुभूति गरियो । आह्, ब्लग भनेको खुला गगनमा चराको भाँतीमा उड्नु हो ! कुनै शिकारीको परवाह नगरी । चराको वायुवेगको उडानबाट प्रतिफलको आशा के राख्नु ? बरु आफ्नो उडानबाट कसैलाई आफैं उडेको अनुभव हुँदो हो, कुनै न कुनै सन्तुष्टि मिल्दो हो । ब्लगको शक्ति र प्रभाव त्यही नै हो ।
चार वर्षको यात्रा पूरा गरी पाँचौं वर्षमा ब्लग लम्किनुलाई मैले वर्षैपिच्छे चुम्बनको विम्ब भिडाएको छु । चौथो चुम्बन पनि मैले गरिभ्याएँ । तर जति नै बार गरे पनि चुम्बनले केहीको जन्म दिंदैन । यो त कुनै गोलो घेरोको अक्वारियममा माछो ठोक्किरहनु जस्तै छिपछिपे चाल हो । जन्मको लागि अलग प्रयास चाहिन्छ र केही समय पनि । यो ब्लगले त्यो गन्तव्य भेट्ने दिशा पैल्याओस् ।
सदा झैं म, मेरो लेखन र ब्लग मन पराएर-नपराएर हौसला र सुझाव दिने सबैलाई सम्झिरहेछु ।
चियर्स !!
-----------------------------------------------------------------
गत वर्ष ब्लगको चौथो वार्षिकोत्सवमा लेखेको गन्थन पढ्ने भए - तीनवर्षे ब्लगिङ र आत्मस्वीकृति : यो अप्रिल फुल होइन ।
March 29, 2012
युद्ध
फुर्सदमा रै'छन्
बूढा महादेव
पार्वतीको कपालमा
मार्दैछन् ठुङ
खै, म चलाउँछु अब त्रिशूल
गंगा अब बगाउँछु यतै ।
फेरि गुलजार
March 17, 2012
साँझपख स्वयम्भू
धार्मिक हिसाबले स्वयम्भू स्तुपाको महत्व विशिष्ट छ । पर्यटकीय आकर्षणमा पनि यसले चुम्बकको काम गर्दै आएको छ । धेरै फिरन्तेहरु स्वयम्भूको थुम्कोमा त्यहाँको अर्धमुदित नयनको दर्शन गरेर मन ‘पवित्र’ पार्न नभई मन ‘शीतल’ पार्न उक्लिने गर्छन् । अझ गजबको कुरो त, स्यवम्भू पुग्नुको कतिपयको उद्देश्य स्वयम्भू परिसरका सम्पदाको दर्शन नभई माहुरीको चाका जस्तै फैलिएको काठमाडौं उपत्यकाको संरचना अवलोकन गर्नु रहेको हुन्छ । आज त्यही थुम्कोतिर उक्लेर सुस्ताऔं ।
अरु तस्बिर हेर्न भित्र पसौं -
March 15, 2012
घुम्ने मेचका सुहाउँदा मान्छे
लेख्नेहरूले लेख्न सक्थे, यो देश -
धुपी, सल्ला र हिमालहरूको देश,
भूपी, हल्ला र रिमालहरूको देश ।
तर सम्झिनेहरूले कवि भूपी शेरचनलाई स्मृतिमा रेसारेसा केलाउँदा उनका विभिन्न पाटो खुल्दै जान्छन्, चर्चाको क्रम 'हल्ला'मा गएर टुङ्गिइहाल्दैन । हल्लाको गुप्त तहबाट पार भएर यथार्थका फग्लेटाहरू स्मृतिको झ्यालमा प्रकट हुन थाल्छन् ।
हामी, मेरो चोक, यो हल्लैहल्लाको देश हो लगायतका शक्तिशाली कवितामा बाँचेका भूपीबारे अनेक रङ्गीन प्रसङ्ग उनीसँग उठबस गर्नेहरूको मानसपटलमा आलै छ । भूपीका समकालीन तथा अन्तरङ्ग मित्र कवि तथा गीतकार रत्नशमसेर थापाको सम्झनामा भूपी रङ्गीन मिजासका मान्छे हुन् । उतिबेलाको काठमाडौंमा एकातिर नारायणगोपाल, भूपी र रत्नहरूको गीताङ्गे जमघट हुन्थ्यो भने उता कृष्णभक्त, द्वारिका श्रेष्ठ, मोहन कोइरालाहरूसँग मिसिँदा उनै भूपी र रत्न साहित्यिक रौनकमा धुवाँदार बहस गर्थे । भीमदर्शन रोका, शङ्कर लामिछाने र मोहनहिमांशु थापासँगको 'यारोँ दोस्ती' पनि कम थिएन । मिलनसार स्वभावका थिए भूपी र असाध्यै मीठो गरी बोल्थे । बोली नै पिच्छे ठट्टा गरिरहनुपर्ने ।
March 6, 2012
तिम्रो हरामखोरको डायरी
पहिरिएर बालुवाको ओभरकोट
गमक्क गम्किँदै
आएछौ नि हाम्रो बस्तीमा !
जाबो हावा भन्थ्यौ हामीलाई
अब भन,
हत्केलाको लगौँटी बाहेक
के हुनेछ तिमीसँग,
के हुनेछ बाबुसाहेब ?
March 3, 2012
तरबार र धार
पर्यटक जस्तो बादल !
कुनै नेपाली कविले उपमा दिए झैं आकाशको सीमाहीन देशमा बादलको मनमौजी वहकाव पर्यटकीय उडानभन्दा कम इर्ष्यालाग्दो हुँदैन । घरि सलाइको काँटी जस्तै छरिएर बिलाउँछ, घरि अमिवाको अवतार लिंदै झोल्लिएर तन्किन्छ ।
केही समयअघि काठमाडौंछउकै सेतो गुम्बा जाँदा बादलको त्यस्तै बथानले टाउकोभरि थिच्यो । कस्तो भने, घरैघरको सिउरले आकाश छोपिने काठमाडौंदेखि छलिएर डाँडातिर पुग्दा आकाशको बाथटबमा चोबलिएको नाङ्गो नौजवान जस्तो भएर फनफनाएको देखियो बादल । त्यही रुपाकृतिको केही झलक हेरौं :
February 28, 2012
होली
तिमीसँगको होली पो होली !
रङ्ग्याउनु ..
भिजाउनु ...
चुपचाप - चुपचाप
रङहरूको आरोहण
न तिमीले सङ्कोच मान्ने
न मलाई धक लाग्ने ।
February 23, 2012
- शिवरात्रि लाइभ -
वागमती कुलकुलाएको आवाज सुन्न के पाइन्थ्यो ! ऊ नै च्याट्ठिई-“हात समात न हौ, म हराउँछु के !” उसको मुख हेरेँ, कलिलो काँक्रामा कसैले चक्कु घिसारे जस्तै देखियो ।
भीडमा उसको झर्को बोलीले सुटुक्कै मैं पो हराइदिऊँ कि जस्तो झोंक पनि नचलेको होइन । तर हामी त जीवनसाथी पो त भन्दै साथमा रहने मैच्याङलाई पशुपतिको भीड देख्दैमा झिंजो मानेर कसरी पो छाड्न सक्थेँ र ?
तर हातै समातेर त के हिंड्नु गाँठे, अप्ठेरो लाग्यो । कसैले देख्ला, नदेख्ला भन्दा पनि आफ्नै हेराइमा यस्तो हर्कत अलि विचित्र लाग्छ । तर पश्चिमा संस्कृतिको बैशाखीमा रत्तिँदै आएकी स्वरूपा त्यस्तै छे, उसलाई सब कुरा जायज लाग्छ । स्वरूपा यसैले रूपसँगै जीवनशैलीको हिसाबले पनि झिलिमिली छे । उहिले उताको संस्कृतिलाई बैशाखी बनाएर रमाई, अहिले यो भीडमा मलाई बैशाखी बनाउन खोज्दैछे ! “केटीहरूको कुरो बुझ्न सकिन्न ब्रो”, कसैले भनेको थियो कुन सर्कोमा । ठीकै भनेको रै’छ त्यो जैरेले । अहिले दिव्य ज्ञान पलाए जस्तो भयो ।
February 21, 2012
रत्न दाइ, लेखकीय अहम् र धुपौरे
January 31, 2012
घर फर्किरहेको मानिस
गीतिकारिताको २५ वर्षे यात्रापछि पहिलो गीति एल्बम लिएर आए रमेश क्षितिज । आफ्नै पुच्छ्रे परिचय ‘क्षितिज’ नाममा । सँगालोमा परेका गीतहरूमा यिनले शैली र विषयगत विविधता दिए पनि एउटै खालका भाव उनेका छन्, मान्छेका कुरा, ती मान्छेका मर्म र मनका कुरा ।
मान्छे र मनका कुरा गर्ने क्षितिजका शब्दमा पस्न सजिलो र आनन्दमय पनि लाग्छ । दिनभरि टन्टलापुर घाम खेप्दै पहाडको आफ्नै घरमा पुगेर मोहीले आँत मेटे जस्तो ! सामान्य व्यवहारमा काव्यलाई ओखर मानेर त्यसको स्वाद लिने प्रयाससम्म नगरी ‘कठिन’ भनेर उपाधि दिने एउटा पठित जमात हामीकहाँ सधैं छ । क्षितिज ती उपाधिदाताको लागि पनि सहज बनेर लेखिन्छन् । यसैले यिनलाई पछ्याउन मलाई प्रिय लाग्छ । यी कुनै सीमा कोरेर कुनै गुटको ऐनामा साँगुरो झलक दिंदैनन्, यसैले उनी सबैका हुन सकेका हुन् कि । उनलाई पढिनभ्याएकाको लागि यो बयान निराधार लाग्न सक्छ, एक पटक पढ्नेले भने एउटा-एउटा मोहनी मन्त्रमा बाटिएर पटक-पटक यिनको खोलामा धाएका छन् ।
January 23, 2012
सात फेरो
आज दुवै आँखा गुमाएँ …
{ Attachment brings suffering }
पत्रमित्र साथी,
हस्याङफस्याङ गर्दै बरालिएको जिन्दगीमा तिमीलाई जमेको माया !
तिमीलाई पत्र लेख्न बस्दा हातभन्दा बढी मन काँपिरहेको छ । अदृश्य मनको कम्पन कति ज्याद्रो हुन्छ, तिमी बुझ्छौ नि ? यो पत्र तिमीले स्वीकारै पो गर्ने हौ कि होइनौ, डर यत्ति छ । म बेठेगानामा त निशाना ताकिरहेको छुइनँ नि ? आजको समय पल-प्रतिपल रफ्तारमा छ, साइबर युगमा सूचना-सन्देशको प्रसारभन्दा तीव्र रूपमा परमाणु विस्तार र विरोधी स्वरको होड छ विश्वमा । यस्तोमा तिम्रो मन मात्रै स्थिर रहला भन्ने के ग्यारेन्टी ! तिमीभित्र चञ्चलताले जुरो उठाउँदो हो यदाकदा । यसै पनि हामी आधुनिक मान्छे यथास्थितिवादमा विश्वास गर्दैनौं अचेल । यसबीचमा तिम्रो चायादार कपालले विदेशको चिसोमा अझै चायाको च्यादर ओढे होलान् ( कि पायौ त्यहाँ प्रभावशाली सेम्पुको स्याहार ?), मेरो मनमा पनि टाँस्यो होला समयले असंवेदनशीलताको पत्रे चट्टान । त्यो चट्टान च्यात्दै यति एउटा पत्रको भाका भए पनि तिमीसम्मन् भर्न खोज्दैछु । कोसौं पर रहेको परदेशमा बस्न पुगेकी नितान्त तिमीलाई मेरो भावनात्मक भुल्का ।
भुल्काको कुरा गर्दा भुल्का-भुल्का रगतको सिर्का छर्ने मेरो मुठीदार मुटुको कुरा सुनाउने व्यग्रता जाग्यो । तिमीसँगको भौतिक दूरीपछि मेरो मुटु कुनै बालकको हातमा पुगेको सलाइको डिब्बा बनेको छ, जसलाई त्यो बालकले खेल्ने नाममा यति जोडसाथ हल्लाएको छ – बढ्ता टङ्कारको कारण त्यसको चालसम्मको होश अब छैन मलाई । म जिउँदै त छु ? चिमोट्ने नङ पनि हिजो मात्रै काटिहालें । यो पिरो मुटु कति पोल्छ भने, मानौं तन्दुरी ढावामा प्रतिपल सेकिइराख्ने तावामा छुटेको रोटीको टुक्रा यही मुटु हो !
January 1, 2012
२०१२ मा दुई कुरा
समयको बहानामा योजनाको पन्तुरो फुकाउने चलन नयाँ होइन । चाहे सुरुवातको घडीमा होस् वा समाप्तिको चरणमा, आत्मसाक्षी राखेर हामी योजना र वाचाको सूची बनाउन तम्सिहाल्छौं । यस्तै सूची यसपालि आफ्नो दिमागमा पनि फुरेको छ, वर्ष २०१२ को बहानामा ।
पहिलो योजना छ, यस वर्ष म धेरै पढ्छु ।
अध्ययन निकै सीमित भएको छ पछिल्लो समयमा । किताबका पन्नाभन्दा भातका सिता र निद्राका घन्टाको अंकगणितमा अल्झिन थालेको छ जिन्दगी । बौद्धिक साहचर्यमा रमाउन खोज्ने एउटा युवाको लागि यस्तो चाला हानिकारक हो । तात्कालिक रूपमा आफ्नो पेशागत कामको लागि चाहिने कुरा त ‘फास्टफुड’ हतारोमा पढिएकै छ । तर पाठ्यपुस्तक इतरको अनौपचारिक अध्ययन भने सुनसान छ । पुस्तक नभएर नपढेको भने होइन । किनेर, उपहारमा पाएर थुपारेका पुस्तक जम्मा पार्ने हो भने आफू छोपिनलाई बडेमानको भकारी नै तयार हुँदो हो । तर पढाइतिर ताउरमाउर नै चल्दैन । पढाइ पातलिंदा लेख्ने मसी पनि पातलिनु स्वाभाविकै हो । लेखाइको रङ निकै फिका भएको अनुभव हुँदैछ । मुख्य कुरो त, आफू गुदीयुक्त नभएपछि उभिएको भुइँ नै भासिएला जस्तो लाग्दोरै’छ । फितलो लागिरहेछ आफू । आफू अघिका पुस्ताले नयाँ पुस्तामा अध्ययनै छैन भनेर यत्तिकै थेगो बनाउने गरेको कुराले अहिले हो न हो, आफैंलाई घोचो बनेर बिझाउन थालेको छ ।