July 23, 2008

मीठो घाउ (कविता)

हे प्रिय,
मलाई पर्खिरहेका तिमी
मायाले भरिएको तिम्रो मन
निर्दोष, भावुक अनुहार
तिम्रो सामीप्यमा पुलकित भइरहेकी छु
तिम्रो निःशब्दताले तानिरहेछ ।

पहिलो सम्बोधन
उकुसमुकुस मनमा निस्सासिएर
बल्लबल्ल स्वतन्त्र भएका शब्दहरू
अबोध बालकको हठ
सामुन्नको ऐनामा देखिरहेकी छु ।

सहयात्राका दरिला पाइलाहरू
पहिलो स्पर्श
पहिलो चुम्बन
लाजले झुकेका मेरा यी आँखाहरू
कुनै सामान चोरेर भागेझैँ भागेकी म,
हामीले बिताएका हरेक क्षणहरू
भित्रभित्र खुसीको फोहोरा छुटिरहेछ ।

तर ईर्ष्याले भित्रभित्रै जलेको
मेरो यो दिमाग चिच्याइरहेछ,
तिमी म भन्दा धेरै टाढा छौ ।

- सानेपा, ललितपुर ।

हाँसोको खोजी

हाँ मीस नेपालको बर्सेनि हुने चल्तापूर्जा रमिताबारे प्रचार अभियान छेड्नु छैन । अर्थात् त्यस अभियानमा प्रतियोगी युवतीका गुलाबी ओठहरूको सप्रसङ्ग व्याख्या गर्नु यो खुजुरा लेखको ध्येय होइन । न त त्यसतर्फ एकोहोरिएको युवतीहरूको जोरजुलुम भीडमाथि हिलो नै छ्याप्न खोजिएको हो ।

तपाईँ सक्नुहुन्छ भने (स्थिति अनुकूल भए) यतिखेरै झट्ट कम्प्युटर मनिटरको शीशादार पर्दा-ऐनामा सालिकझैँ स्थिर आफ्नो मुहार हेर्नुस् । (या त तपाईँको ब्याग/मनीब्यागमै 'मिनी मिरर' हुन सक्छ, त्यहीँ प्रस्ट नियाल्नुस् ।) ऐनामा तपाईँको अनुहार नदीमा डुङ्गाजस्तै तैरिरहेको छ, पक्का हो । तर के त्यो अनुहारमा खास हुनुपर्ने स्वाभाविक श्रृङ्गार छ त ? अहँ नसोच्नुस्, बिहान आमा, दिदी वा भाउजूले लगाइदिनुभएको टीका-अक्षता फुटपाथको घिसापिटान सङ्र्घर्षमा परी पुछियो कि भनेर नअलमलिनुस् । (यदि तपाईँ महिला मित्र भए) नआत्तिनुस्- घमाइलो दिनमा ढिकुरो डाँडामा अवस्थित मन्दिरको गजुर टल्किएझैँ हरदम चमचमाउने नाकको पुन्टे फुली त कतै पेच खुस्किएर झरेन ?

यसले के साह्रो अत्यायो भन्ने सोच्नुभयो होला । तपाईँलाई अत्याएर नेपालमा बिजुलीको बचेखुचेको आंशिक लोडसेडिङ स्वाट्टै हट्ने हो र ? भए त अत्याइरहन हुन्थ्यो ।

बल्ल यहाँ कुराको मेलो टीकाधारी निधार, फुलीधारी नाक हुँदै ओठको केस्रासम्म सर्‍यो ।
अब ठीक छ । बल्ल त म तपाईँको निक्खर हाँसोको छेउछाउसम्म आइपुगेँ । यो पानाभरि अब म तपाईँ र तपाईँकै हाँसोको सन्दर्भसँग खोतलिन्छु । आह् ! यसरी खोतलिँदा तपाईँलाई एक प्रतिशत पनि घाउ दिने छुइनँ, ढुक्क हुनुस् ।

सोध्छु है, तपाईँका ओठको युगल लेकभरि हाँसोको शीतल हिउँ छरिएको छ ? छ भने यो हिउँको मोटाइ कति सेन्टिमिटर होला ? ध्यानपूर्वक कहिल्यै नाप्नुभएको छ ?

वा हाँसोको पत्र-पत्र हिउँ बाफ भएर उडिसक्यो उहिल्यै ?

अब त कतै साथीभाइबहिनीसँग जम्काभेट जुर्दा यसो फिस्स औपचारिक मुस्कान फ्याँकेर हाँसोको कोटा भर्ने होला होइन ? यही त हो नि हिजो-आजको हाम्रो खाँटी दैनिकी । कि त हामीले हाँस्नको लागि व्यस्त सांसारिक चक्रबाट छुट्टी लिएर 'हाँसो प्रशिक्षण शिविर' मा पैँताला मोड्नुपर्ने होला ।

भनेको बेलामा धीत मरेर तिर्खा मेट्न नपाइने सहरी गर्मागर्मीमा धीत मरुन्जेल अन्तिम पटक कहिले हाँस्नुभयो ? सम्झना छ ? ल ठीकै छ, बिर्सनुभयो भने पनि बिर्सिएको त्यो अन्तिम कोकोहोलो रुवाइबारे त भन्नुस् ।

हामीले हाँस्न पनि भुल्यौँ, रुन पनि धक मान्यौँ । बरु मनैमन एक गुजुल्टो तर्कमा भुलाएर आफूलाई लैनू बाछालाई जस्तै खुट्टे डोरीमा जकड्याइरहृयौँ । अनि त गाईगोठको नाकै खिहिर्‍याउने गन्धपुरी संसार नै हाम्रो मन साम्य पार्ने तपस्यास्थल बन्छ ।

हाँस्दा बढी बाँचिन्छ रे ।
हाँस्दा अनुहारको हिस्सी खुल्छ रे ।
हाँस्दा सामुन्नेको व्यक्तिमा प्रभाव जम्छ रे ।
हाँस्दा भाग्यको ढोकाले हरपल पर्खिरहेको हुन्छ रे ।

कति-कति रे हरू....। र पनि हाम्रो के लाग्छ, हाँस्नै नआएपछि !?
हाँस्न सबैलाई मन लाग्छ । हाँस्नु भनेको सुखको थोरैतिनो गुणस्तर प्रमाणचिन्ह पनि हो क्यार ।
यसैले कसरी हाँस्ने भन्ने कुरामा हाँसोकै बारे सोचीसोची मान्छेहरू धुरुधुरु रोइरहेका भेटिन्छन् ।
हाँस्नै मन लागेर गला फुकाएर तपाईँ हाँस्न थाल्नुभए पनि बेसोमती र असभ्य भन्ने आरोप लागिहाल्छ, अनि त तयही लगामले तपाईँ आफ्नो ओठ टम्म बाँध्न पुग्नुहुन्छ । अब सभ्य हाँसो कस्तो तौरतरीका र रुपरेखाको हुन्छ, कसलाई सोध्ने ? सक्कली हाँसो कता खोज्ने ? सडकछेउका बिजुलीपोलमा हाँसोलाई वाणचिन्हले देखाउने सङ्केतपाटी कहाँनेर छ ? हाँस्न त पाइएन ठीकै छ, बकाइदा व्यवस्था गरिएको मानव अधिकारको पालना त हत्तपत्त नहुने संसारमा नामनिशान केही नरहेको हाासोको अधिकार कसरी पाइएला पनि ? तर छाती फुकाएर रुन लाग्दा पनि हुतिहारा र भुसुनाको जत्रो मुटु भएको प्याउलो-प्याउली भनिएला भन्ने डर !

त्यसोभए के त सिङ्गोमा हामी सबै मनुवाहरू जन्मिँदा बखतको एक हिक्का रोदन मात्रै हौँ ?

***
जुलाई २३, २००८ (नक्साल)

एक परदेश

तै प्रदेशको कुराले अलमल्याएको छ, कतै भने परदेश पलायनको विवशताले गाँजेको छ । आजका हामीलाई उम्किने र चैनको सास फेर्ने ठाउँ फिटिक्कै छैन । सीमा र इलाकाको हिसाब गर्नेले आफू-आफूको हिसाब गर्न कहाँ हो कहाँ छुटाएका छन् । हिसाब गर्नेले पनि आफ्नो एक टुक्रा ज्यानको मात्र एकोहोरो लगत राखेका छन् । यस्तै कुराले विरक्तिएर पूर्वी नेपालबाट राजधानी हान्निएका ग्वालाकिसन भाइसँग मेरो भेट भयो । विमानस्थलको मुख्य प्रवेशद्वारछेउ पोकोपन्तरा बोकेर टक्रक्क उभिएका भाइको अनुहारमा अलमलको भाव किरिङमिरिङ कोरिएको थियो ।

'रामराम किसन भाइ !', पुरानो परिचयलाई भजाउँदै शिष्टाचार व्यक्त गरेँ । सबैजना आफ्नै नाक चिल्याउनलाई तेल पेल्न बुर्कुशी मार्ने राजधानीजस्तो मतलबी ठाउँमा रामराम अभिवादन सुनेर सुरुमा त उनी जिल्ल परे । न आफूले केही काम पार लगाउन सक्नु, न त कतै कसैकोमा कान फुकिदिन सक्नु, हैसियतबिनाको मान्छेलाई कसले गर्ला नमस्कार भन्ने सोचेर सायद भाइ त्यतिखेर झुक्किए । प्लेनहरू आवतजावत गर्दाको हल्लाले पनि बोली सुनिएन क्यारे ।

'किसन भाइ रामराम !', फेरि हातलाई निधारमा खप्ट्याएर कराएँ ।

'अरे पतरकार बाबू, मैले त झन्डै नपहिचानेको तपाईँलाई...', भाइले बोलीमा स्थानीयपन घुलेको आत्मीय स्वर निकाले । मन गदगद भयो । सामान्य लेखापढी गर्ने मान्छेलाई पत्रकार बनाइदिएकोमा झनै दंग परेँ ।

'भाइ, के गर्दै हुनुहुन्छ यहाँ ? झोलीतुम्बा पनि ठूलै बोक्नुभा'छ त !' चुरो कुरो चुहाउन प्रश्‍नको एक छेस्का ठेलेँ ।

'अरे के बताऊँ पतरकार बाबू, म थोडी यहाँ हावाजहाजको पखेटा गन्न आएको हुँ र ? म त चल्ने हो बाहरतिर ।' भाइको मन जलेको कुरा उनको बोलीको तातोपनबाट थाहा भयो । के सुर चलेछ, विदेश जान कस्सिएछन् भाइ । उदेक लाग्यो । बिहे नगरी बसेका उनको तराईमा चल्तापूर्जा पान पसल र केही खेती रहेको मलाई थाहा थियो । दुई वर्षअघिको एक भेटमा जे गर्नु छ गाउँमै बसेर गर्छु, काठमाडौँको शरणमा आउँदिनँ भन्ने मान्छे आज देशै छाड्न तम्सिएका छन् । गाउँमा एकाएक सबै टाट पल्टियो कि क्या हो, सद्‍भाववश भाइप्रति पीर जाग्यो ।

'के भयो भाइ ? पसल अनि घरमा सबै ठीक त छ ?' हतारिँदै सोधेँ ।

'ना ना बाबू, उता सबै हाम्रो सही सलामत नै छ । तर के बातले हो, यहाँ बस्ने चाहतै छैन । जनतालोगको संविधान बन्छ र अब त ठीकठाक होला कि भनेको त कुछो संभावना देखा परेन बाबू । नयाँ नेपाल होइन बाबू, बाफ रे बाफ यहाँ त ऐया नेपाल पो अनुभव भोगतनु परिरहेछ । आफ्नो देशभीतर चोक्टा फक्टामा बाँटिएर-छाँटिएर उस्तो प्रदेश उरदेशमा के बस्नु बाबू ? बरु परदेशतिरै चल्ने । जाने हो हामी दूर जाने हो...। ल बाबू रामराम !' किसन भाइले भक्कानिँदै यति मात्र बताउन सके । सुनेर मन यस्तो कुँढियो, मानौँ हेर्दाहेर्दैको ऐना प्याट्ट फुटेको होस् ।

उनी ठमठम विमानस्थलभित्र लम्किए । त्यो पाइला भासिँदै गर्दा विडम्बनाको पदचाप गुञ्जाउँदै थियो - एक परदेश ।
***
जुलाई ८, २००८ (नक्साल)

July 14, 2008

मौन स्वीकारक !

नेपाली निबन्धको आँगनमा तुलसीमठसरि महकिएका शङ्कर लामिछाने, जसले सम्वत् २० को दशकमा कमालको शब्दकला देखाए । उनको एक निबन्ध छ- मौन अभिव्यक्ति ।

गोधूलि संसार सङ्ग्रहमा समाविष्ट उक्त निबन्धमा पाठकको स्थान र आफ्नो रचनागर्भको बारेमा उनी भन्छन्- 'अनि म निर्धक्क लेख्‍न थाल्छु, उसले (पाठकले) नबुझ्ला भन्ने शङ्का मलाई हुँदैन ।'

अनि यस्तै लेखनयात्राबाट दिक्क लागेको प्रसङ्ग कोट्याउँदै शङ्कर यस दिक्कताको रहस्य अगाडि खोल्छन्-'लेख्‍ने कुराले होइन, लेखनबीचका कुराले, अझ स्पष्ट भन्ने हो भने नलेखिने कुराले ।' उनको त्यस मौन लेखको सार हो- जे नलेखिएको/नभनिएको हो, त्यसैको सहज भावको गाढा रस प्रकट भएर रहनु...। जस्तो कि, लेखको पुच्छर चिल्याउने क्रममा उनी शब्द बाट्छन्- 'यत्ति सारा लेखेर पनि मैले जे-जति व्यक्त गरेँ त्यसभन्दा बढी त लेख्‍न नसकेर पो व्यक्त गरेको रहेछु !! क्या हास्यापद परिस्थिति ?'

र शङ्करको जस्तो परिस्थिति त लेख्‍ने-बोल्ने प्राय सबैजसो 'महात्मा'हरूले आजको महान् समयमा बोध गर्ने कुरा हुन् । कारण, बोध गर्नुभन्दा तीसँग अन्य विभूति हुन्छ नै कहाँ र ! ती सायद बोध गरेरै जन्मँदा हुन् र बोध गर्दागर्दै मर्नेछन् ।

यस्तै तर अलिक भिन्न परिस्थितिमा छु म पनि । अर्थात् मौनताको सामनामा । तर यो मेरो परिस्थिति अभिव्यक्तिको वैचारिक एवम् भावनात्मक वहाबको क्रममा उत्पन्न भएको नभई बरु अभिव्यक्तिको तयारी प्याकेजपछिको चुनौती हो । समयको एउटा-एउटा टापुमा रहेर त्यसलाई सांसारिक समुद्रमा तैर्‍याउँदै बगाइरहेका भावकजनको मौनता नै मेरो मैले पाएको जवाफ भएर रहेको छ । अर्थात् मेरो ब्लगरको भावयात्रामा उनीहरू मौन स्वीकारक । मेरा मौन स्वीकारकहरूको विशेषता मलाई पूर्ण स्वीकार छ । म र मेरो भावलाई हेर्छन्-देख्छन् तर त्यो हेराइ र देखाइको अनुभवलाई प्रतिक्रियाको लहरमा राखेर आवाज दिँदैनन् । जे छ नराम्रो या राम्रो, पढ्छन् र स्वीकार्छन् ।
त्यसैत्यसै मक्खजस्ता उनीहरू...।

मेरा ती पाठक (अर्थात् स्वीकारक) साथमै छन् मेरो, तर निःशब्द !

उसो त मेरो ब्लगर चिनारी उस्तो परिपक्व पनि हुँदै होइन । जसले प्रतिक्रियामा केही न केही पाउनैपर्छ भनेर मैले हकदाबी गर्न अथवा घुर्कीपूर्ण रिस देखाउन सुहाओस् । र म यसरी आज तिनको चुपचापको अन्त्यको लागि आफ्नो कुण्ठाभरित दुखेसो यहाँ सुनाइरहेको पनि छैन । 'लौ सुन मेरो रामकहानी', म यस्तो विज्ञापनको बजारमा एकरत्ति छैन । म त मेरा तिनै मौन स्वीकारक भावक मित्रहरूको परिचयलाई गर्वको छातीमा तक्मासरि सजाएर यहाँ उभिएको छु । भन्नु र देखाउनुमा यहाँ केही छैन, जे कुरा छ- नभन्नु र नदेखाउनुमै लुकेका गुदी कुरा हुन् । यसर्थः यो ब्लगमा आँखा डुलाउने ओ प्रिय मन, तिम्रो यो मौन परिचयलाई मैले आत्मसात गरिसकेँ । तिमी प्रतिक्रियामा केही नबोल, तर तिम्रो यही अभनाइबाट म धेरैथोक गुनगुनमा लिएर त्यसैको बलमा झन्-झन् यो ब्लगको संसारलाई रङ्ग्याइरहेछु । बोलेर नक्कल-झक्कल प्रदर्शन गर्नु र लोलोपोतो घस्नुभन्दा तिम्रो मौनताको सादा हिस्सी मलाई यथेष्ट पुगेको छ । बोल्नुको सस्तोपनभन्दा तिमी धेरै चोखो चुलीमा छौ मेरा प्यारा स्वीकारक !
मौनताको यो साथ पाइरहूँ है !
***
जुलाई १४, २००८ (नक्साल)

किताबमा किरोसरि

शकअगाडि साझा प्रकाशनको मासिक पत्रिका गरिमा पढेसँगै पुस्तकको संसारतिर डोरिएको थिएँ । उक्त पत्रिकाका समालोचना, पुस्तक परिचय तथा विश्‍व साहित्य पृष्ठमा उनिएर आउने पुस्तक तथा लेखकका नामहरूबाट त्यो किशोरवयमा देशी-विदेशी साहित्यबारे आधारभूत ज्ञान मिल्दै गयो । तर, उदयपुरको भित्री मधेसमा त्यसबेला सिङ्गो किताब नै कहाँ पाइन्थ्यो र पढ्नु ? हुटहुटिएको मनले चुप बस्न नदिएको फल के मिल्यो भने, साझा प्रकाशन काठमाडौँको ठेगानामा कृतिहरूको नाम र पैसासहित खामबन्दी पत्र पठाएँ । त्यहाँका सहृदयी एकजना दाइ लव भण्डारीले अलपत्र परिराखेको पत्र भेटेर मुनामदनघुम्ने मेचमाथि अन्धो मान्छे किताब पठाइदिनुभएछ । त्यसपछि त किताब मगाउँदै घरै बसीबसी पढ्ने क्रमले पखेटा नै फिँजायो । कोठामा मध्यरातलाई उछिनेर बत्ती कति बले, टुङ्गो भएन ।

दिदीको किताबमा धरर आँसु
त्यसअगाडि पनि लुकिछिपी दिदीहरूको क्याम्पसे कोर्सका किताब खूब पढियो । डेभलपिङ इङ्लिसटेल्स अफ अल टाइम्सका रोमाञ्चक कथाहरू अनि नासो कथासङ्ग्रह, रुपमतीबसाइँ उपन्यास एउटा स्कुले केटोको लागि खजानाको भन्डार बनेको थियो । दिदीहरूको करकर सहँदै भए पनि किताब च्याप्दै खलपात्र रिकुटेको शब्दजालमा फसेर यौनशोषणबाट ठगिएकी बसाइँकी नायिका झुमा अनि श्रीमान्‌को बेवास्ता भोगेकी अपजसी पत्‍नी रुपमतीको पीडासँगै सुकसुकाउन पाउँदा संसारै जितेजस्तो सन्तोष लाग्थ्यो । उपन्यासका प्यारा पात्रहरू गाह्रोसाह्रोमा परेको बेला झ्वाट्ट भगवान् बनेर देखापर्ने बसाइँको मोटे कार्कीको मोटो छविलाई आफ्नो फित्कौली ज्यानमा ढालेर हेर्दा अझै पनि रमाइलो लाग्छ ।

आमसञ्चार अध्ययनका क्रममा काठमाडौँ पसेपछि भने किताबको संसारमा छनोटले मज्जा लिएर खेल्न पायो । गौतम बन्धुहरूका घामका पाइलाहरू अलिखित उपन्यास पढ्दाको रोमाञ्चकताले लट्ठयाएर मोटो किताबको हाउगुजी पनि हट्यो । आञ्चलिकताको भावभूमिमा लेखिए पनि घामका पाइलाहरूले समयको एउटा पाटोलाई सचित्र एवम् जीवन्त उतारेको छ । नेपाली औपन्यासिक पठनको क्रममा धच गोतामेको उक्त कृति छुटाउनै नहुने नाम हो भन्ने लाग्छ । उपन्यासमा पवन र अणुको निश्छल प्रेमालामले जति मख्ख बनाउँछ, पवनको हजुरबा बिरामी हुँदा सोधिने 'अन्तिम इच्छा के छ ?' भन्ने निष्ठुर प्रश्‍नले भक्कानो छुटाउँछ ।

धेरै पहिलेदेखि चर्चा सुनेरै चित्त बुझाउनुपरेको शङ्कर लामिछानेका निबन्धकृतिहरू पढ्न राजधानीमै सम्भव भयो । पढ्न थालेपछि उनका एब्सट्राक्ट चिन्तनः प्याज, गोधूलि संसार, विम्ब प्रतिविम्बलगायतका जम्मै किताब नछिचोली मन मानेन । ती किताबहरू धेरै साथीलाई उपहार पनि दिएँ, त्यसपछि त मेरै साथी-सर्कलमै शङ्करका फ्यानहरू बढ्दै गए । सूक्ष्म विषयवस्तुमा पनि तीव्र चेतना उघारेर सरल भाषामा विश्‍लेषणात्मक चिरफार गर्न सक्ने शङ्करको शैलीमा पाठकलाई हुरुक्कै पार्न सक्ने सामर्थ्य पाइन्छ । एउटै निबन्धमा उनी विशृङ्खलित प्रसङ्गको बुनोट भरेर पनि सरस शृङ्खला तयार पार्छन् र सामान्य घटना-परिवेशका विसङ्गतिलाई रोचक प्याकेज बनाएर बोलीचालीको गद्य पस्किन्छन् । उनकै कृतिको अमिट छापले जेलेर आफ्नो निबन्धरचनामा त्यो शैली कताकता टुसाएको पाउँदा म हैरान हुन्छु । चोरीको आरोप शङ्करलाई लाग्यो, तर मेरो विश्‍लेषणमा उनी प्रभाव ग्रहण गर्दै रचनागत निजत्व देखाउने खुबी भएका नेपाली सर्जक थिए ।


लादेनसँगको आतङ्कवादी साँठगाँठ !
किताबसँगका प्रसङ्ग सुखदायी मात्र छैनन्, दुःखद् पनि छन् । माओवादी समूहले सात महिना लामो युद्धविराम भर्खरै भङ्ग गरेको बेला थियो त्यो । २०६० सालको दसैँको बिदामा घर गएको थिएँ । टीकाको दुईदिनअगाडि घरबाट १० किलोमिटरपर साथीको घर जाने क्रममा किताब बोकेकै कारण सुरक्षा जाँच स्थलमा पाँच घन्टा थुनिएर मानसिक र शारीरिक यातना भोग्नुपर्‍यो । अन्य किताबसँगै कविताको डायरी पनि साथमा थियो । जाँचस्थलबाट इलाका प्रहरी कार्यालय पुर्‍याइएको मलाई चौकीका सईले त्यो डायरी हेरेर एउटा कविताको भाव खुलाउन लगाए । कवितामा दमनको विरोध र परिवर्तनको शङ्खघोष देखेर सईसा'ब भयभीत थिए । मलाई विद्रोही पार्टीको मान्छे सम्झेर घेराउमा पारिएको थियो । नेपाल समाचारपत्र दैनिकको आइतबारे परिशिष्टाङ्क उपहार (त्यसबेला प्रकाशित हुन्थ्यो, हाल बन्द छ ।) पनि साथमा बोकेको थिएँ । त्यसको मुखपृष्ठमा ओसामा विन लादेनबारेको तस्बिरसहित मूलसामग्री छापिएको थियो । त्यसैलाई समेत केरकार गर्दै सेनाका जवानहरूले 'लादेनसँग के साँठगाँठ छ ?' भनेर आफ्नो दयनीय सोच र अनपढ व्यवहार छर्लङ्ग्याए । तिनको आतङ्कित मानसिकताले जिल्ला-जिल्लामा मजस्तै कतिविघ्न मान्छे पीडाको सिकार भएका होलान् भन्ने सोचेर कहाली लाग्यो । नत्र त्यसअघि किताबका कारण कुनै दिन सास्ती बेहोरिएला भनेर चिताएकोसम्म थिइनँ । मेरो साथमा डा. अरुण सायमीको 'जेठ १९ २०५८ पछि' लगायतका अन्य प्रगतिशील किताबहरू थिए । ती किताब राजधानीको भेटस्वरूप साथीलाई दिन लगेको थिएँ ।

तर त्यो घटना मेरो हकमा वरदान साबित भयो, इख जागेर म झन् प्रगतिशील किताब पढ्नमा एकोहोरिएँ । चे ग्वेभाराको जीवनी, गोर्कीको आमालगायतका कृतिहरू त्यसपछिकै अध्ययन-उपलब्धि हुन् । आमा त्यति कलात्मक रुपले बुनिएको सशक्त किताब होला, लागेको थिएन । मूलपात्र पेलागेया निलोभ्नाले मजदुरहरूको बस्ती घुम्दा र साहसिक कदम चाल्दा जनस्तरको कथाव्यथा सतहमा आएर परिवर्तनको लागि जुरुकजुरुक भइन्छ । उपन्यासभरि प्रस्ट अनुहार लिएर बसेका पाभेल भ्लासोभ, आन्द्रेई, निकोलाइ र साथीहरू गाउँका आफ्नै दौंतरी हुन्‌झैँ लाग्छ ।

जीवनमै प्रभाव पार्ने किताब खलिल जिब्रानको दार्शनिक कसीको कृति प्रोफेट (गुरु) हो । २८ वटा भिन्न विषयमा नायकपात्र तपस्वी अलमुस्तफाद्वारा अभिव्यक्त अमृतवाणी जपिरहूँ लाग्ने खालका छन् । जस्तै, कानुनबारे तपस्वी बोल्छन्- 'तिमी कानुन बनाउँदा प्रसन्न हुन्छौ, तिनलाई खारेज गर्दा अझ आनन्द मान्छौ ।'

July 11, 2008

आफ्नै ऐनामा ब्लगको टापु कारखाना

१० जुलाई बिहीबारको कुरा । मार्टिन चौतारीको आँगनमा कैलाशजी भेटिनु भयो । फिडेल क्यास्ट्रोमाथिको ओलिभर स्टोनको डकुमेन्ट्री फिल्म Comandante हेर्न बिहीबारे शृङ्खलाको बहाना चौतारीले जुराएको थियो । कैलाशजी चौतारीकै एक सदस्य-अनुहार । उहाँको अनुहारिक हिस्सी कैलाशको कुटी ब्लगमा जस्तै वास्तविक दुनियाँमा पनि सादा-सरल खुलेकै छ । धेरैधेरै मनहरूमध्ये कैलाशजी पनि मेरो एउटा शुभेच्छुक मित्र । विशेषतः ब्लगको संसारमा फैलिएसँगै उहाँको हितैषी सामीप्यता मैले पाउन थालेँ ।
शुभेच्छासाथ कैलाशजी ब्लगबारे सुझावको स्वर दिनुहुन्छ-
'ब्लगको नाम किन हाम्रो LiFe ? किन यस्तो अङ्ग्रेजीको लेपन ?'
र अहिले नाम फेरेर पनि फेरि ब्लगको नाम नेपाङ्ग्रेजीमा 'CaFe मङ्गलम्' पाउँदा उहाँ सायद दङ्ग हुनुहुन्छ होला ।

अनि कहिले फेरि भन्नुहुन्छ -'धाइबा, कलेज-कलमको प्रोमोलेवल तपाईँको ब्लगमा राख्‍न पाए क्या झकास् देखिएला है !'

उता बारबार उहाँको प्रशंसाभरित गुञ्जन भेटैपिच्छे म सुन्न पाइरहन्छु । बोल्नुहुन्छ- 'जम्दै छ तपाईँको ब्लग....जम्दै छ ।' म उहाँको 'जम्दै छ' कथनलाई जमाइको गतिहीन ढिक्काको अर्थमा बुझ्दिनँ, बरु बुझ्छु- हिउँचुलीझैँ उँचाइ लिनुमा । तर त्यति साह्रो त होइन है कैलाशजी ! म बढ्तै बेलुन हुन बेर छैन, कहाँ पुगेर श्वास फुस्किन सक्छ के ठेगान !

कैलाशको कुटी ब्लगमा उहाँको बस्तीभित्र पस्दा एउटा ग्रामीण शीतलताको लाभ लिएजत्तिकै मजा पाइन्छ । विशेषगरी, 'गाँठे' थेगोले उहाँको अभिव्यक्ति-लहरमा चटक्क चटनीको काम गर्छ । र पाठक त्यही 'गाँठे' शब्दकै मिठासँगै समग्र खुराकतिर लहसिँदै बढ्छ ।

चौतारीको लघुहलमा फिल्म सकिँदा एकैसाथ फिल्म हेरिभ्याएको उल्लास र फिल्मबाट मुक्ति मिलेको खुसियाली मनाइँदै थियो । कैलाशजीको दर्शन मिल्यो । पछिल्लो भेटमा पनि उहाँसँग उभिँदाउभिँदै गफको वेग बढ्यो । त्यस वेगमा अवश्य पनि ब्लगको बात नघुस्ने कुरै थिएन । उहाँको ओठ फेरि चले- 'जम्दै छ तपाईँको ब्लग...।' सुनेर रमाउन खोजेँ, तर त्यसको परिभाषित आधारभूमि फेला नपारेर अझै उहाँका मुखमा भरोसाको आँखा लगाइरहेँ । ती ओठका पखेटा फेरि फटफटाए- 'तर खोइ त, अलि ब्यापक पार्नुपर्‍यो नि होउ !' उहाँको आशय ब्लगबारे प्रचारप्रसार गर्नुपर्नेमा केन्द्रित थियो । हो, ऐना छ भने हेर्ने आतुर आँखाहरू पनि त चाहिन्छ । तब न हेराइ र दर्शनको तालमेल सुखद् जोडी बन्ला ! र, म त त्यस मामलामा निश्चय नै मूक महर्षि छु, जो धुनी जगाएर त्यसैलाई हेरीहेरी हेरेरै मात्र ताप ग्रहण गरिरहन्छ ।

कैलाशजी, ब्लग (त्यो चाहे व्यक्तिगत नै किन नहोस् ) सानोतिनो रहरको प्रयास भए पनि पक्कै पनि त्यो सामुहिक थपथपाहट र आडभरोसाको भावनात्मक कारखाना हो । ब्लग चलाउनु कुनै धारा बगाउनुजस्तै हो । उद्देश्य एउटै रहेको हुन्छ- तिर्खालुलाई साम्य पार्नु । र म त्यस्तै धारा बन्न चाहन्छु, जसको खोजी गर्दै तिर्खालु आफ्नो प्यासको रमरम कराहीलाई चिस्याउन आऊन् र म सहर्ष आफूलाई खन्याउन पाइरहूँ । एउटा खूब जम्ने उखान छ- खोला धाउँछ कि तिर्खा ? सोचिल्याउँदा म आफैँ धाउनुपर्ने हो क्यारे ! तर ब्लगको हकमा म आफूमा त त्यस्तो तिर्खा रहेन । लाग्छ, यदि असल कुरा मसँग छ भने मुठी बाँधिरहेर पनि औँलाको काप-कापबाट भए पनि त्यसको सम्यक् सुगन्ध छिचोलिएर संसार गम्किने नै छ । नत्र त त्यो नहुन्जेल मेरो ब्लग मेरै ऐनामा मेरो अनुहारको एकल दर्शन वा प्रदर्शनसम्म हो । जहाँ एक्लो टापुमा म ब्लगको कारखानामा अक्षरलाई प्याकिङ प्रोडक्टमा आकार दिइरहेछु । चुपचाप तालमा ।

कैलाशजी, के म अझै बाहिरै छु ?
हेरुँ, यो प्याकिङ प्रोडक्ट एकदिन कसो निर्यात नहोला ?
सायद दैलो खुल्नेछ तपाईँहरूको साथसाथको करकरबाट... ।

***
जुलाई ११, २००८ (नक्साल)

हाम्रो फ्युजन (कविता)

- अनिता


सिङ्गो तिमी
सिङ्गो म
कोरिएका रेखाहरू
मेटिँदै जाँदा
थाहै नपाई आधा-आधा भएछौँ

आधा तिमी
आधा म
थाहै नपाई हामी भएछौँ
शब्दको संयोजनझैँ
विलीन चित्रझैँ
हाम्रो फ्युजन
निकै राम्रो !
निकै अनुपम !!

सानेपा, ललितपुर ।

मोमिला अर्थात् मनको मुचुल्का

'म तिमीलाई प्रेम होइन सम्मान गर्छु, मेरो आशक्ति होइनौ तर स्वीकार गर्छु ।' पीडासँग एकाकारमा रम्न सक्ने अपवादको मन छ उनीसँग । यति मात्र होइन, उनी त कताकताको साहस उरालेर त्यही पीडासमक्ष सुझावको स्वर पनि भर्छिन् - '.... कर्मच्युत भएर तिमीले आफ्नो प्रोफेसन नै बिर्सिदेऊ भनेको होइन तर तिमी अहमी नहुनु ।' अनि फेरि पनि पीडालाई नै प्रिय सिंहासनमा बसालेर उनी पूजा गर्नलाई हात कमाउँदिनन्, बरु प्रार्थनामा ओठ घोलेजस्तै स्वाभाविक धुन सुनाउँछिन्- '...जीवनसँग प्रेम बस्नु नै तिमीविरुद्ध सङ्र्घर्ष गरिरहनु हो र-पनि विशिष्ट प्रतिद्वन्द्वीका रुपमा तिम्रो आतिथ्य सत्कार गर्न म चुक्नेछैन ।'
- मोमिला/ प्रकृति र कलाको रोमान्टिक मूर्च्छना, २०६० ।

मोमिलासँग म विगतदेखि नै थिएँ । हाम्रो साथसाथको इतिहास बडो रोचक थियो । यति फरक थियो, उनको अनुहारको आभाभन्दा नृत्याङ्गना अक्षरहरूले मलाई हायलकायल पारिरहे । उसै पनि सोझो अनुहार साइनो गाँस्नका लागि होइनन् भन्ने म ठान्दछु, त्यो त चिनारीको एउटा लेवल मात्र । सम्वत् २०५७ को फागुन महिनामा उदयपुरको आँगनीमा हातमा पत्रिका पल्टाउँदा पल्टाउँदै सोच्न पुगेथेँ - यो के पारिजातको अर्को अवतार ?

त्यतिखेर पढ्दा पैयुँ भन्ने शब्द दिमागमा खूब घुसेको रहेछ । त्यो पत्रिका साझा प्रकाशनको मासिक भेट गरिमा थियो । प्रकाशित निबन्धमा मोमिलाको सर्जक-स्वरुप कवितात्मक रौनकमा तिनताका मेरो किशोरवयको कमजोर चेतनालाई हाँक दिन सुरेली खेलिरहेथ्यो । त्यही थियो मोमिलासँगको प्रथम सफारी । शिरमा घुम्टो हालेको कलात्मक तस्बिर देख्दा खोइ कसोकसो त्यसले पारिजातको झल्को दिइरहृयो । यतिखेर ७ वर्षहाराहारीको समय चिप्लिएर अहिले प्रमाण हेर्दा थाहा भयो मोमिलाजस्तै कलात्मक बान्कीका रहेछन् उनका सिर्जनाहरू । मोमिला सबैको मिश्रति अनुभूतिजस्ती छिन् र पनि खास कोहीजस्ती छैनन् । उनी आफैँजस्ती छिन् ।

प्रकाशनको ठीक २ वर्षपछि निबन्धकृति ईश्वरको अदालतमा आउटसाइडरको बयान पल्टाउँदा केही रचना अगाडि नै विभिन्न पत्रिकामा पढिसकेका परेका रहेछन् । र पनि समयको प्राविधिक चेपोमा तिनको बचेखुचेको स्मृति पृष्ठ पनि दिमागबाट उप्किँदै गएकाले सङ्ग्रह नै नयाँ जन्मसमान मेरो सामु ताते गर्न औँला मागिरहेथ्यो । राजधानी आएपछि केही साहित्यिक उत्सवको छानोमुनि मोमिलाको लयात्मक हक्कीपनसँग साक्षात्कार भयो । भेलाको बीचैबीचबाट ठमठम अगाडि गएर मोमिला शब्द नचाउँथिन्, अरुहरु श्रोतादीर्घामा त्यो अद्‍भूत ऊर्जाबाट चार्ज हुन्थे । कार्यक्रम समापनपछि चर्चा चल्थ्यो- यस्ती मोमिला, उस्ती मोमिला !

उनै मोमिला जुलाई ६ को आइतबारे अपराहृन थापाथलीको साञ्चारिक थलो मार्टिन चौतारीमा थिइन् । सन्दर्भ थियो उनकै आउटसाइडर कृतिमाथिको छलफल कार्यक्रम । उच्चस्तरीय सर्जकदेखि निम्नस्तरीय (वास्तवमै) पाठकसम्मले भरिभराउ हलमा डा. डीपीको ठाउँ लिँदै रङ्गवादी सर्जक धर्मेन्द्रविक्रम नेम्वाङ प्रतिसमालोचना सिद्धान्तबाट आउटसाइडरको इन्साइडर शल्यक्रियामा व्यस्त थिएँ । रङ्गवादीको बाङ्गो भाषा बुझ्न उपस्थितहरूलाई गाह्रो भइरहेको थियो, र पनि नयाँपनले पुष्टिएको धर्मेन्द्रको विश्लेषणमा सबैजना जिब्रो फड्कारिरहेका थिए । कतिसम्म भने उनले मोमिलाको निबन्धकृतिभित्र कथा, कविता, नाटक आदिको के-कति चलखेल प्रतिशत छ भनेर फटाफट लगत निकाल्दै गर्दा श्रोतादीर्घाको हाँसोले हल सानोतिनो लाफ्टर च्याम्पियनमा परिणत भएको थियो । यसरी साहित्यमा निहित भाव र शैलीलाई समीक्षकले गणितीय बाँडफाँडमा केस्राकेस्रा छुट्याइरहेका थिए । दोस्रो क्रममा डा ज्ञानु पाण्डे मोमिलाको व्यक्तिगत पाटोसँग सिर्जनात्मक पाटो रूजु गर्दै अस्तित्वको चिनारी झल्काउन आइपुगिन् ।

जगमगाउँदो मुस्कानलाई कृतिको आवरणमाभन्दा पातो-पातो निबन्धमा असरदार फैलाउन सफल कार्यक्रमकी पाहुना मोमिला पाठकहरूसँग सोझासोझी भएर बोल्दा मार्टिन चौतारीको साहित्यिक बहसले सार्थकता पाइरहेको थियो । त्यहाँ एउटा लेखक मात्र नभएर जीवनद्रष्टाले आफ्नो भोगको समयलाई अनुभवको खुला वक्तव्यमा साटेर जीवनको कटु सत्य ओकल्दै थियो । 'पीडालाई प्रेम गर्न सक्नेले नै जिन्दगीमा जिन्दगीलाई नै जित्‍न सक्यो', मोमिलाको अनुभूति ओठमा नाच्दै थियो । उनको लेखकीय स्वीकारोक्ति मनको निख्खर मुचुल्का भएर प्रकट भइरहेथ्यो । पुस्तकमा समाविष्ट १६ निबन्ध उनका यिनै भावका सविस्तार चित्रमाला हुन् । कृतिभित्र एउटा वाक्यको गहनता पनि खेर जानदिने खालको छैन । मार्टिन चौतारीको पुस्तकालयमा कार्यरत एक मित्र तीर्थ विष्टको प्रतिक्रिया थियो -'सबै वाक्य उस्तै गम्भीर र सम्झिरहनुपर्ने महत्व बोकेका र एकचोटि पढेर स्वाद नबुझिने खालको छ, सबै राम्रैराम्रोको बीचमा कुनलाई राम्रो भन्ने अलमलिएँ ।' अवश्य, एउटा लेखकको सफलता पाठकको यस्तै अनुभूतिको बहावमा लुकेको हुन्‍न र ?
***
जुलाई १० , २००८ (नक्साल)

शोभराजकी प्रेमिका र मिडियाको तालु

सामाजिक बजार कुनै न कुनै युवतीको उर्लँदो भाउलाई चर्काचर्की नगरी कहिल्यै छुट्टी मनाउँदैन । महाभारतकी कुन्ती, द्रौपदी हुन् या रामायणकी सीता । यता हामी बाँचेको समयमा हेर्‍यौँ भने भारतकी सिनेमा-सुन्दरी ऐश्वर्या राय चर्चा र चाखकी एउटी उदाहरण हुन् । बलिउडका बिग बी का रुपमा चिनारी रोपेका अमिताभ बच्चनका सुपुत्र अभिषेकसँग लगनगाँठो बाटिएपछि ऐश्वर्या रायको चमक सिन्दूरको पत्रभित्र धूमिल हुँदै गयो । यस घटनाबाट यति बुझौँ, कुमारी चर्चामा बजारले फुर्सदसाथ रमाइलो भोग्दो रहेछ । उनी अहिले बजारबाट टाढिएकी छन् । भलै ऐश्वर्याको वाहवाहीले उनको वैवाहिक यात्रासँगै टाप कसेको होस्, उनीपछि अरुहरू त्यस्तै रौनकताले यो सामाजिक बजारलाई चर्चा गर्ने इलम जुटाइरहेका छन् । विज्ञापनको नाम बनाइएका छन् । यस्तै एउटा नाम हो- निहिता विश्वास ।

अदालतबाट फैसला भई हत्याको आरोपमा केन्द्रिय कारागार काठमाडौँमा कैदको सजाय काटिरहेका कथित अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजकी २० वर्षीया प्रेमिकाका रुपमा निहिता अहिले राष्ट्रिय-अन्तर्राष्ट्रिय मिडियामा छाएकी छन् । मिडियामा यस अद्भूत प्रेमप्रसङ्गको कभरेज हेर्ने हो भने रातारात पोखराका बालक कमल नेपाली राष्ट्रिय नायकमा स्थापित भएको घटनालाई धूलो चटाइदिएको छ । मानौँ व्यस्त सडकमा शोभराज र निहिता हातेमालोमा अघिअघि भागिरहेछन् र आम मिडिया पर्सनहरू कलम, नोटबुक र क्यामेरा तिखार्दै ठेलमठेल भीडमा पछिपछि कुदिरहेछन् । गजबको सूचना-गाईजात्रा !

पत्रकारिताको पाँच वर्षलामो (खासमा छोटो) औपचारिक अध्ययनका क्रममा एउटा कुराले सधैँ मलाई मोहनी छुटाइरहन्थ्यो । मानव अभिरुचिका सामग्री आम सर्वसाधारणमाझ सञ्चारकर्मी बिक्ने सबैभन्दा सहज बाटोको रुपमा मैले बुझेको थिएँ । तर रोचकता बाँड्ने नाउँमा एउटै व्यक्ति र घटनाको खेदो खनेर त्यही सनसनीपूर्ण प्रचारको जगमा मिडियाले आफ्नो चर्चायात्रा बढाउन खोज्नु पक्कै शोभनीय हुन्न । मिडिया यति कमजोर र आश्रति हुनुहुन्न, कुनै घटना र सामग्रीको टेको लिएर आफ्नो बजार बढाउनु परोस् । तर शोभराज-निहिता प्रसङ्गमा मिडियाले आफ्नो तालुको कुरकुरे हाड आखिर कुहिसकेको साबित गरेरै छाडे ।

शोभराजजस्तो अन्तर्राष्ट्रिय अपराधीको जीवनशैली के-कस्तो रुपमा अग्रसर हुँदै छ, उनको मुद्दा कुन निकासमा पुगेको छ वा अड्किएको छ, यो जानकारी दिनु मनासिब होला । तर '२० वर्षीया ठिटी आई, औँठी लगाई, शोभराजकै लागि जन्मेकी हुँ भनी, प्रेमीको व्यक्तित्व आकर्ष भएको दाबी गरी, नेपालको कानुनले छेके पनि फ्रान्समा गएर ६४ वर्षीय बूढोको दुलही बन्छु भनी' भनेर सनसनी व्यापार मच्चाउनु मिडियाको गएगुज्रेको ताल हो । आज देश र जनताको सुविधा र सहज जीवनयापनको लागि कर्तव्यनिष्ठ हुनुपर्ने मिडिया एउटी युवतीको मुखमण्डलमा केन्द्रित हुनु र उसको वक्तव्यमा आश्रति हुनु मिडियाक्षेत्रकै लाजमर्दो अवस्था हो । खाद्यान्नको अभावले देशको पश्चिमी भेगमा नागरिकको कत्लेदार पेट देखिएको छैन, मिडियाको आँखीझ्यालमा जेलको कैदीकी प्रेमिकाको औँठी चमक छरिरहेछ ।

***
जुलाई १०, २००८ (नक्साल)

आगो बाँच्ने आमाहरू (कविता)




- गणेश कुमार


ओ... आगो पिउने आमाहरू हो !
ओ आगो जिउने आमाहरू हो !
तिमीहरूले
आगो पिउन मात्र पाउन्नौ
आगो जिउन मात्र पाउन्नौ
अब
आगो जन्माउने प्रयास गर
आगो जन्माउने साहस गर

मैले देखेको छु
समयको कालखण्डमा
धर्म र परम्पराको
कालो बादलभित्र गुटमुटिएर
निर्विरोध आगो पिउँदै बाँचिरहेका
मेरा आमारूको कारुणिक कथा....

मैले भेटेको छु
समाज र संस्कारको
अँध्यारो खाडलभित्र भुटभुटिएर
निर्ममतापूर्वक आगो पिउँदै
निर्विवाद बाँचिरहेका
मेरा आमाहरूको दारुणिक व्यथा...

आमाहरू हो...!
अब तिमीहरूले पनि
आगो बाँचेका आफ्ना आमाहरूलेझैँ
नयाँ पुस्तालाई/कोपिला आमाहरूलाई
इतिहासको कालकोठरीमा थुनिएर
आगो पिउन सिकाउनु हुन्न
आगो जिउन सिकाउनु हुन्न
अब तिमीले त
कलङ्कति इतिहासको
कालरात्रिहरू फोडेर
साङ्ला र दाम्लाहरू तोडेर
जुनेली आकाश छाउन
सुनौलो बिहान ल्याउन
कोपिला आमाहरूलाई
सगौरव
आगो जन्माउन सिकाउनुपर्छ !
आगो दन्काउन सिकाउनुपर्छ !!
आगो घन्काउन सिकाउनुपर्छ !!!


गिज्यान, पर्वत ।

* प्रस्तुत रचना कविको शीघ्र प्रकाशोन्मूख कविताकृति अग्नियात्राबाट लिइएको हो ।

उक्त कृतिको सफलता एवम् जनप्रियताको लागि क्याफे मङ्गलम् ब्लगरको मङ्गल कामना !

July 2, 2008

रोपाहार बनेर आऊ है !

प्रिय पल,
हेर न, समय नामबाट 'पल'मा रुपान्तरण गरेँ तिमीलाई । प्यारी पल । सुहाउँदो छैन त ? हतारको दुनियाँमा छोटो नाम । फेरि एकपल्ट (सायद) शब्दका शूलहरूले दुखाउन आएको छु । धेरैपछि यसरी आएँ । कुनै न कुनै बहाना खोजेर झटारो फ्याँक्ने मेरो चाललाई यसपाली पनि सदाझैँ स्वागत गरेर हेर्न सक्छौ-सक्दैनौ, म हेर्नेछु । के गर्नेछ्‌यौ तिमी, म पक्का हेर्नेछु । तर पहिलेजस्तो अब त म कहाँ रहेँ र ? म त अब तिमीलाई धर्मको भावले हेर्ने त्यस्तो प्यारो भइसकेँ । र पनि तिमीलाई सताएर आत्मीयता जाँच्ने नै छु । उसै पनि अचेल मलाई परीक्षा लिन मन लाग्छ । थाहा छैन, खोइ किन ? जिन्दगीभरि आफूले परीक्षा दिइरहनु अनि दिइरहनुपरेको बदलास्वरुप म यसरी प्रस्तुत भएको हुँ कि ? हुन सक्छ । उसो भए त बदलाको तीर ताक्ने मेरो मन कतिविघ्न हिलाम्मे रहेछ है ! असार-साउनको खेतका गह्राहरूजस्तै...। हिलाम्मे हिलाम्मे... ।

यतिबेला मौसम पनि त रोपाइँकै छ । सर्वत्र हिलाम्मे खेतको लागि ताउरमाउर । भर्खरै असार १५ को धान दिवस पनि हामीमाझ गुज्रिएर गयो । त्यस दिन दही-चिउरा-आँपको त्रिखुराकमा तिमी साँझपख भए पनि रमाएको थाहा पाएँ । सुनेर मलाई पनि गुलियो लाग्यो । मानौँ तिमीसँगै मेरो जिब्रो जोडिएको होस् । इन्द्रियको संवेदना हाँगा बनेर मानौँ तिमीसम्मन् झ्याङ्गिएको होस् । खोइ, जे भनेर मिलाए पनि ट्वाक्कै मिल्छ हामीबीचमा । उपमा, रुपक, वक्रोक्ति सबैसबै । भोलि के लेखेको छ कुन्नि हाम्रो ? तर भावीको लेखालाई 'ल है यस्तो लेखेको छ मेरो भाग्यमा' भनेर आजसम्ममा कसले पो प्रमाणमा देखाउन सकेको छ र ? कसैको टाउकोमा कागजको एउटा चिर्कटोसम्म फेला परेको खोइ त आजसम्ममा कुनै मिडियाले फुकेको ? अतः काकी र हजुरआमाले हेरेको चिनाको कुरा निकालेर यस्तो रे उस्तो रे तिमी नभन, हामी आफ्नो लेखा आफैँ कोर्दै अघि बढौँ ।

सुन न पल,
यसपाली रोपाइँको पर्वमा रम्न पाइएन । गाउँतिरको गोरेटो भुलिएर सहरतिरै फोहोरको डङ्गुर हेर्नमा रमिता पाइयो । नत्र ताछेको र हिलो भरेर चिल्याएको आलीको डिलमा उभिएर रोपाहारहरूको हात छुपछुपु हिलोमा गाडिँदै अनि फेरि बीउ फुकाउनमा लम्किएको दृश्य हेर्न कम्ता जोश हुन्नथ्यो । त्यो जोश नव निर्माणको आसले भरिएको मनबाट फुत्रुक्क खस्दै आँखामा रङ्गिन्थ्यो । मङ्सिरमा धान पाक्ला अनि गोरुको दाइँबाट सुरुरु सुनजस्तै चमकले धान आँगनमा जम्मा होला, नव निर्माणको यस्तैयस्तै आस ।

यसपालीको मौसममा सिउसिउ पिरो मान्दै खाइने न गुन्द्रुकको अचार, न उसिना चामलको फुलिएको भात ! उसिना चामल र गुन्द्रुकको अचार खानलाई भए पनि खेतालाको हूल जम्मा हुने रोपाइँ कहिले होला भन्ने लाग्थ्यो बालापनमा । अनि त रोपाइँ सुरु भएपछि खेतालाहरूको लागि खाजा बोकेर हुर्रिँदै खेततिर लम्कियो र घरमा खान छाडीछाडी रहर लागेर आफूले पनि रोपाहार र हलीसँगै टपरीमा गुन्द्रुक र भात खायो । रहरैरहरमा फुच्चा गोडाले फुत्रुक्फुत्रुक् उफ्रिँदै बाउसे बनेर हिलाम्मे गह्रामा टुटुल्का उठेका मकैका ठुटा जराहरू थिच्यो, माटाको डिल सम्यायो । बुबा पनि छोराले काम गर्‍यो भनेर दङ्ग पर्नुहुन्थ्यो, आफू हिलो खेल्न पाएकोमा झनै महादङ्ग ! अब त त्यो सब कहाँ र ?

मेरी पल,
कुनै वर्ष हामी सँगै हौँला । मिलेछ भने आऊ है रोपाहार बनेर । त्यतिबेला मुख्य बाउसे म आफैँ गर्नेछु । अनि तिम्रो लागि आलीबाटै तिमीसम्म बीउ हुर्‍याइदिउँला । बीउ हुर्‍याउँदा जिउमा छिटाछिटी हिलो लागेमा नरिसाऊ है, हिलोले समेत नपत्याएको रोपाइँ पनि के रोपाइँ ! अनि खाजा पनि गम्छाले बाँधेर बेलैमा थपक्क आलीको डिलमा ल्याइपुर्‍याउँला । गुन्द्रुक र उसिना चामलको भात निल्न नसकेमा नआत्तिनू, तिम्रो लागि मात्र बोनसस्वरुप मस्यौराको झोल हुनेछ । अनि त्यतिबेलै झरी परेमा केको पीर, कुनै रोपाहार दिदीको घुम बोकेर तिमीलाई ओढाउँला । आउनू है आउनू रोपाहार बनेर । म पनि तिम्रो रोपाइँमा पर्म तिर्नेछु ।
***
जुलाई २, २००८ (नक्साल)

श्रमगीत

ग्लिएर तिमी नै
पसिनापसिना बनिरहेको हौ कि
बग्नुपर्ने पसिना
थोरै थामिएर
यत्तिको तिमी रहिरहेकी हौ
... ...

खोइ के पो हो,

यतिखेर त
त्यही तिम्रो थाकेको घडीले
टिक्‌टिक् सियो तिखार्दै
सेकेन्ड-सेकेन्ड
मिनेट-मिनेट
घन्टा-घन्टा
चुप्पचुप्प मलाई उनिरहेछ

सडकमा
ढिकिच्याउँ तालमा
सुस्तसुस्त चाल मारिरहेका
पयरका ती जोडी बचेराहरू
कहिले वर्षाको सिर्काले अलमलिन्छन्
सानो रातोपिरो त्यो अनुहार
कहिले घामको पहेंलो फूलदानीभरि
झन् रात्तै ओइलिन्छ

र पो सुहाउँदैन अघिल्तिर स्याउ,

बगिरहेर पनि म
नदीको यो दिशाहीनतामा
आह ! छुइनँ है छुइनँ
बालुवा उखरमाउलो भइरहेको
तिम्रो बगर-यात्रामा

किन हो यस्तो दूरीको चोइटा,

यति त हो नि है-
पसिना पोखिएर
सुक्खा भइसकेको तिम्रो
पैँताला भिजाउन
रगत भुलभुलाएर मैले
मुटुभरि राखिरहेको ।

बैशाख १९ मे दिवस, २०६५
नक्साल ।

भवतु सब्ब मङ्गलम् -३

धर्मको त्यो टाँकुरोमा

विपश्यना ध्यानयात्राका रोचकताले अझसम्म पनि पछ्‌याउन छाडेको छैन । रोचक यस कारणले पनि बन्यो, त्यसरी ध्यानमा म जिन्दगीमै पहिलो चोटि सहभागी भएको थिएँ । हुन त धेरै कुरा एकफेरा त पहिलोचोटि नै हुने गर्छ जिन्दगीमा । र, धेरै सुखद् वा धेरै दुःखद् जे भए पनि मानिसले त्यसलाई स्मृतिको कन्तुरमा साँचेर राखिरहेको हुन्छ । म पनि खुत्रुके काखी च्यापेर बस्ने त्यस्तै एउटा 'मनुखे' परेँ, र त तेस्रो पटक पनि त्यही एउटा समयलाई अर्को पाटोबाट हेर्न र पाठक-मित्रलाई बाँड्न यतिखेर जुटिरहेको म । शब्दका यी एक-दुई सिक्का तपाईँको साथमा भजाऊँ है त !

बुद्धजस्ता प्यारा मनहरू
शिवपुरी राष्ट्रिय निकुञ्जको बगलमै बुढानीलकण्ठको थुम्कोमा १० दिवसीय मौन ध्यानशिविरमा बस्दा नबोलेरै पनि केही नवयुवकहरू अन्त्यमा छाड्नै नसक्ने साथीका रुपमा परिणत भएका थिए । शान्तिको तरङ्गले झड्कादार काम गरेको थियो कि ? कारण, हामी त्यहाँ भगवान् बुद्धले बुद्धत्व प्राप्त गर्न स्वअनुभूतिमार्फत पैल्याएका विपश्यना विद्याको अभ्यास गर्न जुटेका थियौँ । बुद्धको अर्द्धमुदित नयनले हामीलाई ओत दिइरहेथ्यो कि त्यहाँ ? धर्मको तपोभूमि र मान्छेको मनको अपरेशन गराइने त्यो ठाउँको हावापानी नै त्यस्तो हो कि, हामी आफैँ नराम्रोबाट फेरिएर तीक्ष्ण मानवतावादी भएका हौँ, जसलाई हेर्‍यो ऊप्रति माया र करुणाको जरुवा आफूभरि भुलभुलाइरहृयो । त्यसै क्रममा १० औ दिनको बोल्न मिल्ने समय आइपुग्दा मनभरिको आत्मीय भक्कानो सानोतिनो झुन्ड-झुन्डको जमघटभित्र उर्लिएको पाइयो । जमघटहरू । कतै वृद्धको झुन्ड, कतै अधबैँसेको, कतै युवकहरूको ।

अर्कै कोठामा बसे पनि आत्मीय हुन आइपुगेका एक मित्र थिए- गोङ्गबुनिवासी पूर्ण गुरुङ । लाहुरे परिवारका पुत्र पूर्ण १० दिनको शिविरबाट साँच्चिकै पूर्ण भएको अनुभव लाभान्वित मनको पेटारोबाट खुरुखुरु जमघटमा खोल्दै थिए । उनको बोलीमा भद्रताको वजन थियो, चालमा गम्भीरताको समथर भावभूमि थियो । कुनैबेला बुबासँग झर्कोफर्को देखाउने उनी अब ती सबै पूर्वघटनामा पछुतोको भाव बोकेर 'धत् ती दिनहरू !' भन्दै आफैँलाई चिरफार गर्दै थिए । आफ्नै अपरेशनको त्यस्तो राजीखुसी अवस्था १० दिने ध्यानशिविरकै कमाल त थियो ! क्रोध जागेर कुनैबेला फलस्वरुप प्रहरी चौकीको आँगनीमा पुगेका उनी घुम्दै सम्प्रदायको छापविहीन विशुद्ध धर्मको शरणमा आए । तब त बल्ल उनले आफ्नो जीवनले न्याय पाएको सुखद अनुभूति सँगाल्न पाएका थिए ।

अर्का मित्र थिए- असीम पाण्डे । नामजस्तै ज्ञानगुनका कुरामा उनको असीमता व्यापक देखियो, खासगरी अध्यात्मको फाँटमा । त्यति कलिलो युवामा धर्मकर्मको प्रकाण्ड ताप देखेर समकालीन अरु अनुहारहरू गुरुम्म उनलाई घेरेर केही तात्तिन खोजिरहेका थिए । शिविरमा उनको दोस्रो पटकको यात्रा रहेछ । बुढानीलकण्ठकै बासिन्दा रहेका असीमको परिवारमा सबै ध्यानी र विपश्यी रहेछन् । तब त त्यो पारिवारिक प्रभावको रन्को उनमा खूब छुटेको रहेछ । समकालीन युवा सबैले उनको तारिफ गरे । त्यस्तै विराटनगरका रोशन रोकाले त अहिलेसम्म हिँड्दै आएको गलत मार्ग छोड्नमा विपश्यनाले वरदानको काम गरेको प्रफुल्लता साट्न पनि छुटाएनन् । दुईवटा प्रेमको असफलता भोगेका रोका अब आफूलाई चाहिँ आफ्नो प्रेम मिलोस् भन्ने सदिच्छासाथ काठमाडौँ आएका रहेछन् । आफ्नै प्रेम नपाएको कालो पल यतिन्जेल उनले खपेछन् । म बसेकै कोठाको छेउमा रहेका दिनेश काफ्लेलाई साथीहरूले लाफ्टर (laughter) नाम दिएका थिए । कारण, ध्यानको लागि आएको मान्छे अर्को कोठाबाट हाम्रो कोठामा आएर आर्य मौनलाई तोडी एउटा न एउटा उटपट्याङ कुरा निकालेर हँसाउँदा रहेछन् । कहिले भोजनालयको चेपोबाट खैरिनी (विदेशी केटी) लाई चियाएको प्रसङ्ग, कहिले केटीलाई हेरेको ठान्दा बूढी मान्छे फेला परेको विडम्वना !

अनि धर्मको दियोमा तेल थप्नेहरू...
कुनै साधकले आर्य मौन पालनामा कतै विश्रृङ्खलता ल्याएमा सम्झाउने अनि त्यसले अन्य साधकको ध्यानमा विघ्न पार्ला भनेर निगरानी गर्न शिविरमा धर्म-सेवकको व्यवस्था थियो । तिनले घन्टी बज्दा पनि नउठ्ने साधकलाई ब्युँझाउने मात्र होइन, चाहिने अत्यावश्यक सरसामग्रीको जोरजाम पनि गर्ने रहेछन् । ध्यानको समयमा हलभित्र हरतरहको व्यवस्थापन गर्ने धर्म-सेवकहरू अरु त अरु, भोजन-कक्षमा 'भिक्षाम् देही' भनेझैँ थाल थापेर लामबद्ध भिक्षुसमानका साधकहरूलाई खाना पस्किने काममा पनि उनीहरू नै टुप्लुक्क । (साधिकाहरूको फाँटतिर पनि यस्तै थियो कि के थियो । शिविरमा साधक एवम् साधिकालाई आवास, भोजनालय नै छुट्टै व्यवस्था गरिएकोले एकअर्काको कुरा थाहा नहुनु स्वाभाविकै थियो ।) पुरुष र महिला एकअर्काको लागि ध्यानका बाधक हुन् भन्ने विपरित लिङ्गको आकर्षणलाई मनन गरेर त्यस्तो कडिकडाउ गरिएको थियो सायद ।

बिहान ४ बजेदेखि राती ८ साढे ८ बजेसम्म ध्यान र विश्रामको सङ्केतस्वरुप बारम्बार घन्टी बजाउने कलङ्कीका झलक मगर दाइ, भान्छा सम्हाल्ने हिरो चालक हेम तामाङ, साधकहरूले माझेको भाँडाकुँडा थान्कोमान्को लगाउनेदेखि तातो र चिसो पानी छुट्टाछुट्टै डब्बामा राखी हामीलाई खुवाउने कृष्णराम नगरकोटी दाइ सबैजना हाम्रो धर्मको यात्रामा डुङ्गा खियाएर तारिदिने माझीदाइ भएर आएका रहेछन् ।

धर्म-सेवकहरू अजीत श्रेष्ठ, श्याम महर्जन, सुरेश शर्मा, अम्वेस देसार र जीवन क्षेत्रीले हाम्रो आलोकाँचो ध्यानलाई काबुमा मात्र ल्याएनन्, अनुशासन र लगनको व्यावहारिक दर्शनलाई जीवित नमूनामा देखाएर धेरै कुरा सिकाए । यति सबै भयो ।
भुल्न ?....
सबैलाई सकिनेछैन ।

***
जुन २९, २००८ (नक्साल)