पत्थर पनि त
मन विनाको मान्छे रहेछ,
अल्झिरहेछ
जुगदेखि दोबाटोमा
कोही आउँछ कि …
Where words smile ...
December 30, 2011
December 17, 2011
कुन हो ठाउँ ?
तस्बिरमा देखिएको ठाउँ कहाँको हो ? राम्ररी नियाल्नुस् त ! विदेश हो कि स्वदेश ? पैल्याउन सक्नुभएन भने जानकारी र यससम्बन्धी थप तस्बिर हेर्न भित्र आउनुस् >>
December 6, 2011
निर्विकल्प सुर
Sketch by Suraj Shakya (http://surajshakya.com) |
नेपाली सुगम संगीतको क्षेत्रमा नारायण गोपाल त्यस्तै मुहान हुन् । जुन मुहानबाट अरु-अरु शाखा फैलिंदै त्यसले छुट्टै भंगालोको रूप लिनुपर्ने हो, तर त्यस्तो केही देखिएको छैन अहिलेसम्म । नारायणसँग दैवले नै थमाएको गला त छँदै थियो, त्यो गलामार्फत पस्किने व्यञ्जन तयार पार्न भने उनको आफ्नै मिहिनेत रहने गर्थ्यो । साथी मण्डलीको सिर्जनशील जमात छँदै थियो, आफ्नो कामलाई झारा टार्ने हिसाबले त्यो जमातमा उनले आफन्तवादको भाव घुसाएनन् कहिल्यै । गीत चयनमा अडिग रहँदै बरु आफ्नो गीतकार साथीलाई झन् खार्न लगाए, कति साथीलाई 'यस्तो त भएन' भन्दै जिल्याए । अनि कतिपयको गीत चाहिं केही जानकारी नै नदिई एकैचोटि धुन भरेर सुनाउँदा तिनलाई आकस्मिक लाभको खुसी पनि दिए ।
गायन क्षेत्रमा एक तहको जग बसाएपछि अब सुगम संगीतमा मेरै वर्चस्व ठाने होलान् उनले, स्रोतालाई तुच्छ सम्झेर मनमौजी गर्न थाले । बुझ्न सकेनन् काँध थाप्ने स्रोताले काँधबाट थेचार्छन् पनि । रातारात सुपरहिट भएका कलाकार बिहानको झुल्के घाम देखिँदासम्म गुमनाम भएको उदाहरण धेरै छ । ढकालले सबै कुरा बिर्सेर अहंकार देखाए, आफूलाई भर्सटायल गायक सावित गर्न होला पप गीत पनि गाए, आफ्नो पहिचान भुलेर ओजपूर्ण गीत चयनमा आँखा चिम्लिन थाले । यसले एउटा नयाँ सम्भावना टुसाउँदा टुसाउँदै भाँचियो । यस्तै अहङ्कारको बुई चढ्दै गरेका शिव परियार पनि देखा पर्दैछन् । मानवीय स्वभावको तुच्छतम पतनचक्र हो : संघर्ष - प्रगति - उत्पात सफलता - अहङ्कार - असफलता !
November 26, 2011
जरुर साथी .. ..
मैले…
महात्मा भनाउँदाको निन्दा गरेको छु !
नगण्य व्यक्तिलाई तर
सातौं आसमानसम्म
तारीफको पुलमा चढाएको छु
तिम्रा महापण्डित मेरो महामूर्ख !
तिम्रो स्वर्ग मेरो नरक !
तिम्रो सुन मेरो फलाम
साथी ! तिम्रो धर्म मेरो पाप !
जहाँ तिमी आफूलाई चलाक सम्झन्छौ
उहाँ म देख्छु तिमीलाई बिलकुल लाटा !
यस्तो व्यङ्ग्यात्मक कविता लेख्ने विद्रोही चेतका सर्जक देवकोटालाई सम्झिन कुनै साइत चाहिन्छ जस्तो लाग्दैन । यसैले उनको १०३औं जन्मजयन्तीको एक महिनापछि पनि यो चर्चा गर्दैछु ।
November 21, 2011
बिहेपछि
यो छातीको गिटार जलिरहँदा
नाचिरहेकी हुन्छौ,
कुन धुनले पो फुक्छ तिम्रो खुसीको मुरली ?
मैं डुबेको इनारमा
घाँटी-घाँटी आएको पानीमा
दिनहुँ तिमी ऐना हेर्छौ
तौलिन्छौ सिन्दूरी जोबन
फाटेको चौबन्दी पनि लालीगुराँस हाँस्छ !
सम्झनाको ढुंगाले अझै ताक्छ निशाना
म भइरहेको हुन्छु शीशा
कुल्चिँदै जान्छौ तिमी
कुर्कुच्चाको आँखाले हेर्दै अलप हुन्छौ
November 18, 2011
रफ्तारको बसबाट Viewfinder
फोटो खिच्ने पनि नशा नै रहेछ । यसपटक अफिसमा ८-१० दिनको बिदा लिएर पूर्वी नेपालतिर लाग्दा यो नशा अझ प्रकट भयो । मैले खिचेका केही तस्बिरमा मन भुलाएका काठमाडौंका साथीहरूले ‘ल, उताबाट राम्रा फोटो ल्याउनू है’ भनेर कोसेली फर्माइश गर्दै बिदाइका हात हल्लाएका थिए । आफू पनि त्यही सुरमा थिएँ । काठमाडौंमा कोठा र अफिस गर्दा पनि ब्याग र खल्तीबाट हत्तपत्त क्यामेरा छुट्दैनथ्यो । साधारण खालको प्वाइन्ट एन्ड सुट क्यामेराबाट कति नै राम्रो फोटोको आश गर्न सकिन्छ र, तर सम्पत्तिको नाउँमा भने झैं आफूसँग त्यही कम्प्याक्ट डिजिटल क्यामेरा छ । सानो आँखाबाट राम्रो र असल दृश्य हेरे जिन्दगीको सार हुन्छ भन्ने उखान मेरो क्यामेराको हकमा लागू गर्नुपर्ने देखिन्छ ।
पूर्वको यात्रामा पहिलो पटक झन्डै-झन्डै पूर्वी नाकामै पुगेँ यस पटक, झापाको चन्द्रगढी । त्यहाँ एकदिनको बसाइपछि उदयपुर जिल्लास्थित घर फर्किने बेला गुडिरहेको बसबाट खिचेका तस्बिर यस्ता आए -
November 17, 2011
जाडो र गलबन्दी
उपहारमा
तिमीले दियौ गलबन्दी
छेक्दै छेकेन जाडो
रोकेन तुषारोको ठिही
तिम्रो उपहारको गलबन्दीभन्दा त
असरदार रहेछ
सुन्दरी सिरेटोको खिरिलो हिलजुत्ता
आतंकवादी जस्तो
घुसेको छ घाँटीको सुरुङभरि
उफ्रिरहेछ शीतलहरको पाइलाले ।
November 12, 2011
मधुमास
लामो समयपछि ब्लगमा झुल्किँदैछु । रहर लाग्दालाग्दै, मन-मगजमा कुरा खेल्दाखेल्दै लेख्न नसक्नु/नपाउनु बडो पीडादायक हुन्छ । सचेत प्राणी भएको नाताले मानव मन-मस्तिष्कले सधैं केही न केही भावना र विचारको गर्भाधान गरिरहेको हुन्छ । त्यस्ता भावना-विचारले निकास पाएन भने प्रसव पीडाले रन्थनी छुट्छ र मानसिक दुर्घटनाबाट गुज्रिनुपर्छ ।
यस हिसाबमा हामी भावना र विचारको गर्भ बोकेर एउटा-एउटा निकास (चाहे त्यो सामान्य र नियमित काम होस् कि गतिलो सिर्जना) को दौडमा आजीवन लम्किरहन्छौं । यसर्थ हाम्रो यो यात्रा मधुमास नै हो । तर यहाँनेर मैले मानवीय मधुमासको कुरो गर्न लागेको होइन । हरेक प्राणीको मधुमास हुन्छ, मधुमासकै बगैंचामा तिनको अस्तित्त्वको कोपिला लाग्छ र फुल्छ । हालै गृहजिल्ला उदयपुर जाँदा प्रकृतिको काखमा यस्तै मधुमासको शीतल ओढिरहेका फट्याङ्ग्रा जोडीहरूसँग जम्काभेट भयो । खेतभरि पहेंलपुर धान झुलेको समय, कतै धान काट्न खेताला लागेका छन् । कतै भने धानको बोझ घरमा थान्को लगाउने चटारो छ । धानखेत नियाल्दै हिंडिरहँदा आलीभरि फट्याङ्ग्राको जुलुस कुनै उत्सव मनाए झैं उफ्रिन्छ ।
तस्बिरमार्फत तिनको गोपनीयता मैले यहाँ भंग गरें, पाप नलागोस् । फट्याङ्ग्राको मधुमासको तस्बिर हेर्न भित्र आउनुस् -
October 21, 2011
October 10, 2011
चिठी ना कोइ सन्देश .. ..
जगजीत सिंह [1941 - 2011] |
October 2, 2011
September 30, 2011
दसैं आयो है !
लालाबालाको लागि त आउँछ दसैं |
हुनत, 'सहरको दसैं' सानो हुन्छ, दसैं मान्ने खास जमात गाउँतिर उर्लिएपछि दसैं उतै बढी फक्रिन्छ । गाउँलेहरूकै ओइरोले त सहरलाई 'सहर' बनाएको हो । काठमाडौंको दसैं कहिल्यै पनि खुलेको देखेको छैन । बरु तिहारमा बेहुली झैं रातो-पिरो हुन्छ । यसैले भुक्तभोगी दाइहरूले दसैंमा गाउँ जान नपाएर काठमाडौंमै कुथुर्किनुपर्दा भनेको सुनेको छु, "यहाँ दसैंमा साह्रै नरमाइलो, तिहारमा बरु ठीक !"
September 22, 2011
पाटन
पाटन दरबार स्क्वायर परिसरमा आयोजित तीनदिने साहित्यिक जात्राको तेस्रो तथा अन्तिम दिन झमझम झरी परेको थियो । जात्रामै भाग लिन निकै समयपछि पाटन पसिएको थियो । जात्रा चलुन्जेल तीनै दिन आसपासका पुरातन सम्पदाले लोभ्याइरह्यो । मन्दिरका रात्ता भित्ता र भुइँ पनि राताम्मे ।
कृष्ण मन्दिरको सेरोफेरोमा केही फोटो पनि खिचियो ।
September 16, 2011
अनौठो परिस्थिति, कुँवर र इंतजाम
अजीब परिस्थितियों में ।
September 13, 2011
‘साझा’लाई बचाऔं !!
अपडेट : प्रधानमन्त्री बाबुराम भट्टराईले अनसनस्थल शान्तिवाटिका पुगेर मागहरू पूरा गर्ने आश्वासन दिएपछि लेखक नयनराज पाण्डेले तेस्रो दिन (सेप्टेम्बर १४ मा) आमरण अनशन तोडेका छन् ।
कलेज स्तरको पाठ्यक्रममा रहेका पुस्तक र साहित्यिक कृतिको मनग्गे बिक्री गर्दै आए पनि नाफा भएको कहिल्यै सुनिंदैन । वितरण सन्जाल मुलुकमै सबैभन्दा बढी भएको संस्थाले जनक शिक्षा सामग्री केन्द्रद्वारा उत्पादित विद्यालय स्तरका पाठ्यपुस्तक पनि देशभरि बिक्री-वितरण गर्दै आएको छ । साझा प्रकाशनको संस्थागत सुधारको लागि दबाब दिंदै साहित्यकार नयनराज पाण्डेले आमरण अनसन सुरु गरेका छन् । रत्नपार्क शान्तिवाटिकामा अनशन थाल्दा प्राय सबैजसो साहित्यकारको साथ र ऐक्यबद्धता पाए उनले । साझाका पूर्व अध्यक्ष, महाप्रबन्धकहरू र पूर्व बोर्ड सदस्यको प्रत्यक्ष सहभागिता रह्यो । कारण, उनका मागहरू जायज छन् । साझा सञ्चालक समितिका सदस्य रहेका पाण्डेले संस्थामा अनियमितता भएको भन्दै त्यसको सुधारको माग गर्दै आन्दोलनको बाटो रोजेका हुन् ।
साहित्यकारहरु र (साझा प्रकाशनका) अंशियारहरूको ध्यानाकर्षण गर्दै नयनराजले प्रमुख रूपमा तीनवटा माग राखेका छन् :
September 9, 2011
अफ्रिका
गजल : जवानीका घोडा
बा-आमाका चिसा गोडा अलपत्र छाडेर
कुद्यौं जवानीका घोडा अलपत्र छाडेर ।
कहाँ के खजाना बटुल्न हतारिए झैं,
हिँड्नुपर्छ आफ्ना जोडा अलपत्र छाडेर ।
कुन साँगुरो आँगनमा निस्सासिन जान्छौ,
घरको यो बाटो चौडा अलपत्र छाडेर ।
प्यास त तिमीभित्र थियो, बाहिर खोज्दैछौ,
गग्रेटोका माटो र रोडा अलपत्र छाडेर ।
बा-आमाका चिसा गोडा अलपत्र छाडेर
कुद्यौं जवानीका घोडा अलपत्र छाडेर ।
September 7, 2011
जन्मदिन, जन्मदाता र जोखाना
सोधनी भयो :
September 4, 2011
नेपालथोक एक्सप्रेस : बन्द, बाइक र माछा
नियमित बन्दले वाक्कदिक्क भएर होला, मान्छेहरू थेत्तरो भएछन् काठमाडौंका । बिहान सबेरै गाडीको चाप कम भए पनि घाम क्षितिजको कुम-कुम आइपुग्दा बन्दको छनक नमिल्नेगरी सडक भरिभराउ छन् । यस्तो सडकको धुवाँमय नेवा प्रदेश छाडेर ताम्सालिङ प्रदेशतिर लम्किँदा माझिएको प्रकृति र खुलेको आकाशले नशालु बनायो । यस्तै नशामा लट्ठिएर कुनै बेला सास फेर्नै बिर्सिएको हो कि भने जस्तो, अनि कुनै बेला भने यति स्वच्छ वायुबाट धेरै लाभान्वित बनूँ भनेर छिटोछिटो सास फेर्ने उपक्रम चलिरह्यो ।
September 2, 2011
कम्ता हिंड्नु छैन यो बाटो …
मखमली गोरेटोलाई
पिस्दै जान्छऽऽऽ
यो घुँडाको टायर
यो बाटोमा
थारुवानको बयलगाडा अँटाउँदैन
लिम्बूवानको टमटम त झन्
उत्तानो टाङ पर्न खोज्छ
टिक्दैन मेरै पैंतालामुनि यो मूल सडक
पचास माना घ्यूमा
तातो डाडु डामे जस्तो हुन्छ
चप्पलको वाहन छ सुरेली खेल्न
पचासौं कोस बुर्कुशी मार्न तयार छु
हिँड् चप्पलबिनै भने पनि
फुटेको पैंतालाभरिको एक पत्र
चप्पल बराबर छ
August 31, 2011
भ्यागुता जस्तै उफ्रिएर
‘जनताबाट लिएर जनतामा देऊ’ भन्ने माओ-वाणी यिनले पक्कै बुझेका छन् । सामान्य अवस्थामा पनि महिनाको एक पटक आफ्नो गृहजिल्ला गोरखा पुग्ने हुटहुटी भट्टराईमा त्यही वाणीले भरेको हुनुपर्छ । तर अब गोरखा जाने फुर्सद कत्तिको पाउलान् उनले, गोरखामा मात्रै सीमित नभई समग्र मुलुकको कित्ता-कित्तामा नजर पुर्याउनुपर्ने दुरबीन यिनको हातमा आइपरेको छ । योग्य र राम्रा मान्छेले अवसर पाउनुपर्छ, बाबुराम त्यही लिकमा उभिएका छन् । तर राम्रो र प्रभावकारी काम गर्ने उनको चाहनासँगै काम गर्न दिने वातावरण पनि आवश्यक हुन्छ । नत्र दौडमा भाग लिएको धावकलाई छिर्के हान्ने लुते प्रतिस्पर्धी त जुनसुकै मैदानमा हुन्छन् । राजनीति झन् कति घिनलाग्दो खेलमैदान हो,व्याख्या गर्नु पर्दैन । यस्तो मैदानको सरसफाइमा बाबुरामको पाइला असरदार बनोस्, यही कामना छ ।
August 26, 2011
... फलानोलाई !
छातीको आरनभित्र नअटाएर
खोइ कहाँ पो फाल हानेर गयो
घोट्नु थियो चकमक जस्तै
आफ्नो एक थान सादा कलेजी
बेपत्ता नागरिक झैं,
नदेखिने ईश्वर र गुपचुप तस्कर झैं
यस्तो ऐजन ऐजन भएछ आज माया
त्यहाँ
कचौरा-कचौरा
खडेरी छ
जामाचो गुम्बाको सेरोफेरो
ठाडो उकालो अढाइ घन्टा पैदल छिचोलेर गुम्बामा पुगिसकेपछि हामीलाई फर्किन हतार भइसकेको थियो । दिन ढल्दै गएर पश्चिम क्षितिजलाई सिरानी हाल्ने तर्खरमा थियो । त्यसमाथि गेटमा रहेका सैनिक र प्रहरीहरूले साँझ पाँच बजेसम्ममा तल झरिसक्न उर्दी जारी गरेका थिए ।
शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जअन्तर्गत नागार्जुन सेक्टरको फूलबारी गेटबाट हामी जामाचो गुम्बा ताकेर उक्लिँदैछौं । पहिले कहिल्यै नआएको ठाउँ, बाटो के-कस्तो र कति कठिन भन्ने केही थाहा छैन । घुमघामको गन्तव्य बनाएको गुम्बा पनि कति महत्त्वपूर्ण र मनमोहक भन्ने समेत जानकारी छैन । घुम्नु छ, यत्तिकै हिँडिदिएका छौं । यात्राको रमाइलो भन्नु पनि यही नै हो जस्तो लाग्छ, आँखा चिम्लिएर आफूलाई बगाइदेऊ – ओम् स्वाहा !!
बालाजुबाट ओशो तपोवन र ककनीतिर जाने बाटोमा छ फूलबारी गेट, बालाजुदेखि नजिकै । नागार्जुन जंगलभित्र छिर्नुअघि गेटमा पहरा दिइरहेका सैनिक र प्रहरीसँग एकछिन भलाकुसारी गरियो । सुनसान जंगल भएकोले सुरक्षाको हिसाबले चाँडै आइपुग्नू भनेर समय तोकेका रहेछन् उनीहरूले । तर उनीहरूकै नियन्त्रणमा रहेको जंगलमा खतरा कुन कुराको ? त्यसमाथि त्यहाँ तैनाथ सुरक्षाकर्मीको अनुमति नलिईकन जोसुकै छिर्न नपाउने त्यस क्षेत्रमा कसको डर ? उन्मुक्त छाती फैलाएर हिँडेका हामी फिरन्तेलाई यस्तो कुनैपनि सीमा र बन्धन मन पर्दैन, चाहे त्यो हाम्रै भलाइको लागि निर्धारण गरिएको होस् । साँझ पाँच बजे जसरी पनि तल झरिसक्नु भन्ने उर्दीले हामीलाई पनि चिडचिडाहट पैदा गर्यो । तर केही कारण भएर त भनेका होलान् भनेर फटाफट पुगौं, फटाफट फर्कौं भनेर प्रतिजन १० रुपैयाँको टिकट काटेर उकालो खुड्किलो गन्न थालियो ।
August 20, 2011
सम्बन्ध र मौसम बदली
- “आजकाल किन चुपचाप हुनुहुन्छ ?
चाड मनाउनु भयो त ?”
एक समय थियो, उनको लेखिका मुहारसँग भर्खर सीधासीधी परिचय बन्न पुगेको थियो मेरो । र, त्यो पनि कुनै मध्यस्थकर्ताको सहाराले । उनको औपन्यासिक कृति बजारमा छाएर चलेको गर्मागर्मी देखेर निक्कै अन्तरालमा म कायल बनेथेँ । तर कस्तो भने, पुस्तक-कृतिभन्दा अघि नै उनको मुहार-कृति सामुन्नेमा आइदियो । नतिजा, बल्ल मेरी पाठकीय भोक उनैको कृति खोज्दै बुक सपसामु प्रकट भएथ्यो । त्यसपछि म चुप बस्न सकिनँ, एकै बसाइमा आद्योपान्त उधिनेँ त्यो औपन्यासिक डायरी । अर्थात् उपन्यास कृति- वल्लीको डायरी । पढाइको संयोग खुब जमेथ्यो त्यसबेला । लेखिका र पाठकलाई एक्कैचोटि न्याय भएथ्यो सायद ।
बीचमा उनी अखबारी लेखनमा आक्कलझुक्कल उपस्थित हुन्थिन् र कहिले भने डेरा सरेर लठिभद्र हाल टुङ्ग्याउँदैछु भन्ने खबर दिन्छिन् । कहिले आफैं खबरदाता बनेर कुनै टेलिभिजनमा झुल्किन्छिन् । सबै आँगन कहाँ फाप्छ र मान्छेलाई, कहिले त चौकुना आँगनले लखेटेरै कायल पार्छ र अर्को-अर्को विकल्पको खाता खोल्न परीक्षामा उभ्याउँछ । उनै मनीषा गौचन निकैबेर समयको नेटोमा निलिएर बसिन् र आज मौनता तोड्दै अकस्मात् देखा परी उल्टै सोध्छिन्- 'आजकाल किन चुपचाप हुनुहन्छ ?'
August 15, 2011
गाईजात्रा : दुई जोडा च्वास्स !!
पृथ्वीमा चाहिं के लोप हुने हो फेरि
प्लटिङ गरिसकियो यता सबै जमिन,
चन्द्रमातिर भाग लाउने हो कि घडेरी !
गरिबी, विभेद र बेरोजगारी
एक घर एक सभासद् भए
ढुक्कको सामाजिक रखबारी !
म चुम्बक भएर नजोडिने कुरै भएन
अर्को ध्रुवको चुम्बक भेटिए
ज्यान त्यतै नमोडिने कुरै भएन ।
सभासद्की छोरी झन् मापाकी होली
संविधानसभाको म्याद सारे जस्तै
भन्ली सुहागरात भोलि ! भोलि !!
------------------------------------------------
गाईजात्राको अवसरमा सबैलाई शुभ कामना ।
August 13, 2011
अस्पतालको घनचक्कर
‘पैसाको काल – अस्पताल !’
अन्नपूर्ण पोस्ट दैनिकमा जतिबेला व्यङ्ग्य स्तम्भ लेख्थेँ, स्वामी रामदेवलाई पत्र भन्ने एउटा लेखमा नेपालका ‘रोगी अस्पताल’का थलिएको चालाबारे झाँको झार्ने प्रयास गरेथेँ । हुनत ती स्तम्भलेखहरूमा मेरो कोठे गफकै भरमार चल्थ्यो, न वस्तुगत अध्ययन, न यथार्थ तथ्याङ्क र न त कुनै स्थलगत अनुसन्धान नै ! समसामयिक राजनीतिक र सामाजिक परिवेशमा जे-जस्तो हुन्डरी चलेको छ, त्यसमै छेडखानी गर्न विषयवस्तु पर्याप्त हुन्थ्यो ।
“ चितवनको भरतपुर क्यान्सर अस्पतालमा नयाँ ‘लीला’ भएछ । अस्पतालको यस्तो लीलामध्ये कतिपयमा बिरामीको इहलीला छिनमै समाप्त हुन्छ । भरतपुरमा चाहिं, एक महिलाको घाँटीको अपरेशन गर्नुपर्नेमा पाठेघर निकालेर फालिएछ । चिकित्सा पद्धतिले उपचारको नयाँ शैली त पत्ता लगाएको होइन होला ! पाठेघर निकाल्दा घाँटीको रोग कसरी निको होला !? ”
सेवाभन्दा पैसामुखी हुँदैगएका अस्पताल र त्यहाँका डक्टरहरूको जूका प्रवृत्तिले सर्वसाधारणहरूलाई कसरी डसेको छ र ती निर्धाहरूको मनस्थिति आधुनिक चिकित्साशास्त्रबाटै कसरी विकर्षण हुँदैछ भन्ने झलक उतारेको थिएँ त्यो व्यङ्ग्यात्मक पत्रमा । लेखमा कतिपय प्रसङ्गमा काल्पनिकताको प्रचुरता र अतिशयोक्ति पनि भयो होला, तर नेपालको चिकित्सा सेवामा अझै पनि जनसाधारणको सहज पहुँच बन्न सकेको छैन । भव्य अस्पतालको ‘पसल’भित्र एकोहोरो व्यावसायिकताको पखेटा फिँजाउँदैछ चिकित्सा क्षेत्रले । कर्णालीमा चामल लिनका लागि लाइन लागे जस्तै जहाँ पैसाको मुठो लिएर पंक्तिबद्ध भए पनि सही उपचार पाउने ग्यारेन्टी हुन्न ।
August 6, 2011
बल्छी #NotPoem
मणि हराएको सर्प जस्तो
कसले च्यात्यो सात चिरा इन्द्रेणी,
निराशा आफैं चकित पर्ने गरी
यो नौजवान
जिन्दगीको लमतन्न सडकमा
आमाले कति बालिन् होला दीर्घायुको बाती
यता आफ्नो छाती भने
मैं हराएको हुँ कि
म जस्तो जवान सपना हराएको हो,
खोजिरहन्छु सहरको बगरमा
धुलोका कणहरूसँगै उडिरहन्छु ।
थाप्नुपर्छ रे जिन्दगीमा बल्छी
जोहो गर्नुपर्छ रे सक्दो धेरै सिकार
हेर्छु पृथ्वीको कुण्डमा -
चिन्तन होइन चिन्ताको बल्छीमा
(Photo : Kalpana Rai)
August 5, 2011
आरुघाटको उज्यालो
गत वर्ष जनवरीको जाडो याममा अझ सिरेटो खोज्दै गोरखा जिल्लाको ग्रामीण भेगतिर पुगिएको थियो । व्यस्ततालाई क्रमभङ्ग गरेर यसो बेलामौकामा आफूलाई नचियाए जिउनुको सार के हुन्छ र भन्ने लाग्छ । हामी नेपालीहरूमा पनि पछिल्लो समयमा घुमफिर गर्नुपर्छ भन्ने सोच जाग्दैछ, आफैंलाई ताजगी तुल्याउन र मुलुकको साथै जनजीविका बुझ्न । सिङ्गापुरदेखि थाइल्यान्ड टुरसम्मको योजना बनाउने कति नेपालीहरूलाई नेपालभित्रकै घुम्न लायक ठाउँबारे थाहा छैन । थाहा भए पनि ती ठाउँ तिनलाई उस्तो चिज लाग्दैन । घुम्नु कुनै बेलामा समय र पैसाको बर्बादी मान्थे नेपालीहरू । अझै पनि कतिपयलाई यस्तै लाग्दो हो । तर घुमघामबाट बटुलिने ज्ञान र आनन्द कुनै बन्द कोठामा पुस्तक पढेर, टेलिभिजन र सिनेमा हेरर पाउन सकिंदैन । त्यस्तै सोचले कर्मयोगलाई थाती राखेर उतिबेला तीर्थाटनमा निस्किएका थियौं ५-६ जनाको टोली । त्यही यात्राको सम्झना उतार्दैछु :-
टाढैबाट आँखा तान्ने हिमटाँकुरामुनि थुम्को बस्ती । गोरखा बजार पुग्दा चराहरू गुँड पस्ने साइतमा थिए । साँझपख मान्छेहरू पनि सामसुम्म हुने तर्खरमा लागेका बेला हामी भने बजारदेखि चुचुरोमा रहेको गोरखा दरबार पुग्ने हतारमा होमिएका छौँ । बेसार झैं पहेंलिएको सूर्यास्तबेलाको किरणमा गोरखा निन्याउरो मुख लाएको जोगी जस्तो देखियो ।
बल्ल जुरेको घुमघामको मेसो, त्यसमा पनि गोर्खाली साथीबाटै पाएको निम्तो । यसैले पनि ६ जनाको टोलीमा यात्राभरिको बोझ उनै जिल्लाबासी यदुकिशोरमा पर्ने निश्चित छ । गोरखा जिल्लाकै भित्री गाउँ आरुपोखरीमा रहेकी नवविवाहिता पत्नीसँग भेट्ने उनको व्यग्रता आफ्नै ठाउँमा होला, अहिलेलाई पाँच साथीहरूको लर्कोले उसको होश कब्जा गरेको छ । आरुघाट र आरुपोखरी पुग्ने भोक यतिखेर भने गोरखा दरबारको थुम्को चुम्ने ध्याउन्नमा एकत्रित छ । भोककै कुरा गर्दा, काठमाडौँबाट गुड्दै आउँदा पोखरा र गोरखातर्फ फाट्ने तनहुँको आँबुखैरेनीमा खाएको खाजाले थेगेकै छ ।
August 3, 2011
भोक र सपथ
July 29, 2011
स्वयम् सर्वोच्चता
प्रयोगमाथि प्रयोग गर्नुमै त टिकेको छ नेपाली भान्सा । यो मेसोमा पालो अब स्वयम् सर्वोच्चताको ! समग्र उच्चतालाई माथ गर्ने सर्वोच्चता । नयाँ विचार र विधिव्यवस्था औपचारिकताको सिउर नचाउँदै कागजपत्रमा शोभायमान बन्नुले अहिलेसम्म केही शुभ लाभ नभए पनि बेलाबेला निस्किने हलुका गफगाफले भने नागरिक जीवनमा उधुमको रौनक भर्छ । स्वयम् सर्वोच्चता त्यस्तै मज्जाको चास्नी हो ।
बोलीको सम्हालिनसक्नु बाढीमा हेलिएर हलुका रूपमै निस्किएको नागरिक सर्वोच्चता ताछिएर-माझिएर स्वयम् सर्वोच्चताको असली निखारमा पेश भएको छ । यो त्यस्तो भरिभराउ कन्तुर हो, जसलाई जति खर्च गर्यो त्यति नै बाँकी रहिरहन्छ ।
July 26, 2011
व्यस्त विद्यार्थीको दैनिकी
शनिबार-
स्कूलदेखि लागेको बानी, शनिबारको निश्फ्रिक्री र आरामदायी सुताइ । यो निद्रा पनि भगवान्ले विद्यार्थीकै लागि बनाइदिए जस्तो छ । बिहान घाम सिमलको रुखमाथिसम्म छिप्पिउन्जेल लाजै पचाएर सुतिरहेँ । कलेजको परीक्षा चलिरहेछ । आऽऽ यस्तै हो, परीक्षाको के कुरा, आउँछ-जान्छ । उसै पनि जिन्दगी जिउनु भनेकै पल-पल एउटा न एउटा परीक्षा चलिरहने प्रक्रिया त हो नि भन्ने सोचेर आफैंलाई थुमथुम्याएर ओछ्यानमा गुडुल्किरहेँ । दिउँसो नुहाउने रुटिन सधैँको शनिबारजस्तै चल्यो । विद्यार्थीको ज्यानमा डेढअक्कली ज्ञानको थुप्रो हुन्छ भन्नुहुन्थ्यो स्कूलको हेडसरले, यो ज्यानमा मयलको थुप्रो पनि उत्तिकै हुँदो रहेछ ।
July 14, 2011
अँगालो
July 9, 2011
फेरि फूल
गीतमा ‘तिमी फूल जस्ती’ भनेर उपमाको हाँगामा आफ्नी प्रियतमालाई झुलाएको धेरै उदाहरण पाइन्छ । फूलहरू त्यसका लागि सुहाउँदिला पनि लाग्छन् । देख्दा आकर्षक र स्पर्शमा पनि कोमल । देखिनु र हुनुको अन्तर्विरोधयुक्त अर्थात् बहुरपी हुँदैनन् फूलहरू । काँडा र फूल जीवनका दुई पाटा भए पनि फूल नै सबैको रोजाइमा पर्छ । काँडाको तारिफ कतैबाट अझसम्म सुन्न पाएको छैन । भलै मान्छेहरूले भोगाइमा काँडा पनि पचाइराखेका हुन्छन् ।
गत वर्ष फूलका कुरा पोस्टमा फूलका करिब एक दर्जन तस्बिर बाँडेको थिएँ । यसपटक पनि फेरि फूलकै सन्दर्भ लिएर केही तस्बिरसहित आएको छु । यात्रामा हिंड्दा प्रकृतिको वरदान हाम्रो मुलुकमा हरियालीले ढपक्क छोपेको दृश्यले त्यसै शीतल बनाउँछ । त्यही हरियालीमा विविध बुट्यान र फूलले मक्ख बनाउँछ । यात्राको दौरान खिचेका फूलका तस्बिरहरू हेर्न भित्र आउनुस् :-
June 30, 2011
June 19, 2011
June 17, 2011
रुने कला
"क्वाँऽऽवाँवाँ....." आर्थिक कमरेड झन् डाँको छाडेर कहालिनुभो । ठूलो चोक्टा पाउन हान्निएको तर झोलमा डुबेर भिजेको बिरोलोजस्तै जुम्से भावमा दायाँ-बायाँ लत्रिएको उहाँको मझौला जुँगा त्यो रसिक क्रन्दनले लफक्कै भिजिसकेको थियो ।
June 12, 2011
सूर्यग्रहण
कहाँ थाहा थियो र
बन्न हुन्थ्यो
सानोतिनो सूर्य
समाउन दिन हुन्थ्यो
किरणका औँलाहरू
बुद्धु थिएँ
बुद्धु भएरै बसिरहेँ
मेरो यो चुपचापलाई
सम्झिदिनू है तिमीले
सूर्यग्रहण ...
June 10, 2011
झापड खानेले जुत्ता नखाऊन्
प्रधानमन्त्रीको कुर्सीमा बसेको एक सातापछि बिबीसी नेपाली सेवालाई विशेष अन्तर्वार्ता दिँदै झलनाथ खनालले भनेका थिए, “कतिपय जनता राजनीतिक दलहरुप्रति अलि बढी आक्रोशित पनि छन् । तर जुन मान्छेले मलाई झापड हाने, तिनले मलाई झापड हानेर आज बालुवाटार ल्याइपुर्याइदिएका छन् । त्यसो हुनाले मैले त उनलाई धन्यवाद दिएको छु ।”
सात महिनासम्म प्रधानमन्त्री चयन हुन नसकेको रिक्तता मेट्दै आसीन भएका उनलाई तै जे-जस्तो भए’नि मुलुकले प्रधानमन्त्री त पायो भनेर त्यतिबेला धेरैले मन बुझाएका थिए । रिक्त स्थान पुरयेतको अर्थमा । अब चाहिँ गतिलो मान्छे आयो भनेर हिसाब गर्ने ठाउँ त कतै थिएन । जे होस्, प्रधानमन्त्री निर्वाचनको एकपछि अर्को नौटङ्कीबाट छुटकारा मिलेको थियो ।
शान्ति र संविधानको राष्ट्रिय मुद्दालाई सबैले अर्जुनदृष्टि बनाएर अघि बढ्नुपर्छ भन्ने उनको महावाणी नै हो । अघि बढ्ने चाहिँ कसले हो, दैव जानून् । राजनीतिक वृत्तमा थेगो बनेको छ - यस्तो गर्नुपर्छ, बनाउनुपर्छ, हुनुपर्छ भन्ने । मानौं कुनै अदृश्य शक्ति वा दूत आएर गरिदिन्छ सबै । अरूलाई खेताला लगाए जस्तो उर्दी र आह्वानमा पड्किदिए भयो ।
June 3, 2011
मुदिता
चुरा बजेको हातको झङ्कारभन्दा पहिल्यै कोइली स्वर फुट्यो । भुसुनाको आवाजले पनि शान्ति बिथोल्ने मौनतामा घेरिएको म त्यो स्वरले झस्किएँ । क्यामेराको सन्तुलन बिग्रेर दृश्य लतपतिएको आयो । यतिबेला म ऊ सँग ठुस्किनुपर्ने । साँझपख जूनको हलुका प्रकाशको संयोजनमा बुद्धको प्रतिमाको तस्बिर कैद गर्दै थिएँ । यतिबेलै उसले बोलाउनुपर्ने !
लौ जा, पेच पर्नेगरी मैले पनि जवाफी झटारो हानेँ । प्रहार खेपेर ऊ कटाक्षले खुत्रुक्कै हुनुपर्ने हो, तर ‘हो है’ भनेर खितित्त हाँसेर टारिदिई । मापाकी केटी रै’छे जस्तो लाग्यो ।
May 27, 2011
Blue City ~ Blue Mimosa
अलकत्रे कालो सडकमा नीलो सर्ने गरी झरी वर्षिन्छ । मनसुन सुरु भएको भने होइन है ! शिरीषको फूलको वर्षा कुनै झरीभन्दा कमको छ र ? तपाईँको काठमाडौंका सडकमा बैशाख-जेठको हप्प गर्मीमा यस्तै निलाम्मे शीतल बटुल्न पाइन्छ । तपाईं यसबेला यो सहरमा हुनुहुन्छ कि हुनुहुन्न कुन्नि, मैले भने सडकको चक्कर मार्दा वरिपरि शिरीषैशिरीषको सरगम बजिरहेको पाएँ । अब त यसपाली यो सरगम पनि सुक्ने बेला भयो । यसैपाली सडक परिक्रमा गर्दा देखिएका नीलाम्मे दृश्य तस्बिरमा कैद गरेको छु -
May 20, 2011
आत्मप्रकाशनभन्दा परको आनन्द
भनिन्छ, आत्मप्रकाशनमै छ आत्मिक तृप्ति । लेखेर-बोलेर मनभित्रका उहापोह बाहिरी संसारलाई पढाउँदा-सुनाउँदा अपार खुसी मिल्छ रे ! सत्य हो एक हदसम्म । तर यो सत्य आंशिक मात्र हो कि भन्ने लाग्छ । आफूलाई अभिव्यक्त गराउने खुसीभन्दा पर अरूको उकुसमुकुसले पनि मुखरित हुने पुल बन्ला कि भनेझैं हामीलाई पर्खिरहेको हुन्छ । हामी कति त्यो उकुसमुकुसको नजिक पुगेर हावा खुस्काएर त्यसमा ताजगी भर्न सक्छौं भन्ने मूल प्रश्न हो । अरूको भाव उतारेर त्यसमा बोली भरिदिनुमा चाहिँ झन् दोब्बर खुसीको भेल उर्लिने रहेछ । भोकले आकुल-व्याकुल कोही मान्छेलाई खान्की दिएपछि त्यो व्यक्तिको मुहार छाएको तृप्ति देखेर तपाईं आफैं पनि मुस्काउनुभएको छैन र कुनै बेला ? अरूको खुसीमा भागीदारी भएर तपाईँले पनि सुखद अनुभूति गरेको हुनुपर्छ केयौं पटक । समाजसेवाको थालनी पनि यस्तै आनन्दको लाभ लिने ‘लालसा’का साथमा भएको हुनुपर्छ । यहाँनेर समाजसेवामा लालसा शब्द जोडिएकोमा आपत्ति पनि मान्न सकिएला, तर यो लालसा अरूलाई दिएर आफू टन्न भएको प्रफुल्ल भाव सञ्चय गर्ने चाह मात्र हो । यो कुनै भ्रष्टाचार होइन ।
भ्रष्टाचार हो भने त्यस्तो खुसीको एउटा लुटेरा म पनि हो । सन्दर्भ फेसबुक सञ्जालमा रहेको मेरो फोटो एल्बम Creator’s Corner को हो । [हेर्न आफ्नो फेसबुक एकाउन्टमा लग इन गरिसकेपछि यहाँ क्लिक गर्नुहोला ।]
May 17, 2011
काठमान्डू !
May 11, 2011
रातो पछ्यौरी ओढेर को आइरहेछ ?
यसपाली लामो समयसम्म दिमागमा आउँ परेन, सोचेँ – यसरी त व्याकुलताले मनमै आउँ पर्छ । सधैंजसो ब्लगमा केही गुदी भर्न तम्सिने मन खल्लो भइरह्यो । यसो कम्प्युटरको दराज खोल्दा विभिन्न समयमा खिचेर क्यामेराबाट खन्याइएका तस्बिरहरू तह-तह रै’छन् । त्यसमा पनि भर्खरै महिना दिन जति अगाडि शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै सुन्दरीजलको यात्रामा जाँदा गुराँसमय जङ्गलको तस्बिरहरूले लोभ्याए । यसपाली तिनै फोटो सदुपयोग गर्न मन लाग्यो ।
राष्ट्रिय फूल लालीगुराँस पहिलोचोटि आँखाभरि सँगाल्न पाउँदा असीम शीतल अनुभूति नहुने कुरै भएन । वनैभरि सैनिक टुकडी जस्तै छपक्कै छरिएको
May 2, 2011
April 30, 2011
एकदिन वसन्तपुर
April 24, 2011
लोकतन्त्र
April 17, 2011
ध्यानबाहिरको धुन
Vipassana meditation is a way of self-transformation through self-observation.
२५ सय वर्षभन्दा अघि गौतम बुद्धले थालनी गरेको मानिने ध्यानविधि विपश्यनासँग गाँसिन पाउने हामी आधुनिक प्राणी धन्य हौं । ध्यान भन्दैमा सांसारिक जीवनसँग चटक्कै साइनो तोडेर जङ्गलको एकान्तवासलाई अपनाउनुपर्ने हाउगुजीले पनि छोपेको छ कतिपयलाई । तर सामाजिक जीवन परित्याग नगरी गृहस्थ नै रहेर विपश्यना जस्ता जीवनका गाँठा खोल्ने ध्यानको लाभ लिन पाइने हुनाले लोकप्रियता बढ्दै गएको छ ।
विपश्यना ध्यानको कुरा गर्दा सामान्यतया १० दिनको प्याकेजलाई स्टान्डर्ड मानिन्छ । आफ्नो शरीरकै संवेदनालाई अनुभूति गर्दै तीप्रति न आशक्ति न वैरभाव राख्नु नै यो ध्यानको मूल मर्म हो । बस्, जे-जस्ता भाव उत्पन्न हुन्छन्, नियालिरहने र होशपूर्वक रहने । ध्यानको टस बसेपछि दैनिक जीवनमा पनि ठीक यस्तै प्रणाली आफूमा विकसित हुने हो । कुनै पनि राम्रो वा नराम्रो कुराप्रति न मोह, न पूर्वाग्रहपूर्ण उत्तेजना, सम भएर नियाल्ने मात्र । १० दिनको विपश्यना शिविरमा पञ्चशीलको पालना गर्दै वाणीमा समेत लगाम दिएर आर्यमौन कायम राख्दा म जस्तै धेरैलाई उकुसमुकुस हुन सक्छ/भयो होला । तर बिस्तारै त्यही अनुशासन र पावन्दी नै पो खास स्वच्छ र सन्तुलित जीवन रहेछ भन्ने अनुभूतिगत चेत खुल्दै जाने रहेछ । दुई वर्षजति अगाडि पहिलो पटक १० दिने ध्यानमा जाँदा शिविरबाट फर्किने दिन ठूलै वियोग खेप्दैछु भने झैं मनलाई उदासीले बेरिरह्यो ।
ध्यान शिविरमा बसेर निश्चित अवधिको ध्यानविधिको स्वाद चाखेर जीवनले कोल्टे फेरिहाल्ने भने होइन । असली ध्यान साधना त शिविरबाट फर्केर पूर्ववत् सामाजिक जीवनमा परिचालन भएपछि सुरु हुन्छ । ध्यान भनेको बाली रोपेर पाकेपछि एकैचोटि काटेर खाउँला भन्ने चिज होइन । यो त नियमित अभ्यास र जीवनपद्धति नै हो । एकपटक ध्यान शिविरमा बसेर ध्यान सिक्नासाथै चमत्कारको आशा राख्ने अल्छेहरूको हालत मेरो जस्तो हुन्छ ! शिविरबाट फर्केर दैनिक जीवनको मेलोमा तनावयुक्त भेलबाढी झेल्ने क्रममा ध्यान गर्ने कुरा कता पर्छ, नियमित रुटिन लथालिङ्ग भएर कहाँ पुग्छ केही ठेगान हुन्न । फलस्वरूप ध्यानमा जानुअघि जसरी किरिङमिरिङ फोहोरी अक्षरयुक्त कालोपाटी जस्तो थियो मन-मस्तिष्क, त्यही साबुत हुन आइपुग्छ ।
दाल-भात-डुकु जस्तो जीवनको प्राथमिकतामा गणना हुन नसक्दा ध्यानको आनीबानी पछिल्लो नम्बरमा आउने होइन लगभग कट्टी नै हुने रहेछ । जस्तो कि, मैले ध्यानमा निरन्तर आफूलाई टस बसाउन सकिनँ । जीवनका आरोह-अवरोहका क्रममा ध्यानको आधी-एक घन्टे रनाहा बोझिलो ‘जागिर’ जस्तो भइदियो सायद, राजीनामा दिनु नै वेश लाग्यो । फर्केर आएपछि केही समय त गरें, तर दिनदिनै पलेंटीमा आफैंलाई कुरिबस्न सकिएन । आफैंलाई धोका दिने प्रेमी भएँ म ! नत्र त ध्यानबाट फर्केपछि नै हो, मैले सबैको मङ्गल कामनासहित आफ्नो ब्लगको नाम बदलेर ‘क्याफे मङ्गलम्’ राखेको थिएँ । ध्यानको प्रतिफलस्वरूप नै संसार क्षणभङ्गुर छ, सबै कुरा अनित्य हो भन्ने बोध भएर पनि त्यसलाई ‘संस्थागत’ गर्ने प्रक्रियामा अलि लोसे भइयो ! कामकाजी दुनियाँ भन्यो, साथीभाइ भेटघाट भन्यो, आफन्तप्रतिको दायित्व पूरा गर्ने दौडमा लाग्यो, त्यत्रो १० दिन खोरमा ओथारो बसेझैं कमाएको ध्यान त भुसुक्कै ।
ध्यानभित्र छिरेर जीवनको खुसी र शान्ति यसैमा छ भनेर चिनेर मात्र पुग्दैन । त्यसलाई बोध नै गरेर आत्मसाक्षी राखी अभ्यासलाई घोटिरहनुपर्ने रहेछ, चाहे पृथ्वी नै कोल्टियोस् । नत्र हैसियतबिनाको स्वादे जिब्रोलाई एकदिन पाँचतारे होटलमा चौरासी व्यञ्जन चखाए झैं साधनाको सोचबिना ध्यान शिविर चहार्ने काम जीवनलाई विशृङ्खलित तुल्याउने उपक्रम मात्र बन्न पुग्छ । एकचोटि ध्यानको केस्रा छोडाएपछि ध्यानबाहिरको धुनमा दरफराइरहेको अहिलेको मेरो मनले त्यही भन्छ । जुन धुनमा कुनै सङ्गीत छैन, हल्लाखल्लाको यातना मात्र छ । ध्यानमा पूर्ववत् धैर्य नसँगाली यो यातनाबाट अब छुट्टी पाइन्न पनि ।
सबको मङ्गल होस् ।
* तस्बिर : www.phivelogic.com
April 16, 2011
प्रिय चार्ल्स !
महान् कलाकार चार्ली च्याप्लीनको संवादविहीन कमेडी फिल्मको एक झलकसम्म हेर्नेमध्ये उनीसँग हेलमेल बढाउन नचाहने को पो होला र ? प्रत्यक्ष जम्काभेट असम्भव भए पनि सम्झनामा इतिहासको विरासत नै भएर उभिएका छन् उनी । सन् १८८९ अप्रिल १६ मा बेलायतमा जन्मिएका च्याप्लीनको एक सय २२औं जन्म जयन्ती मनाउने क्रममा छौं हामी ।
एक समयमा च्याप्लीन आफैंले भनेको कुरा उनीतिरै सोझियो । अर्थात् यही कुरा चाहान्छौं भनेर जनसाधारणले फर्माइश नगरे पनि आफ्नो कलाकारी खुबीले सबैको मुखमा बूजो लगाउन उनी सफल हुँदै गए । आफ्नो रुचिबारे उसबेलाका सर्वसाधारणको अज्ञानतालाई उनले कखरा नै पढाए भन्दा हुन्छ । सिनेमामा स्वराङ्कनको अडियो प्रविधि नभित्रिंदै बाजागाजा र हाउभाउकै मद्दतले छुट्टै शैली स्थापित गर्दै वर्चश्व राख्दै गए । गम्भीर विषयवस्तुमा समेत जटिलताको कुनै हाँगाबिंगाबिना सजिलै हाँसोको फोहोरा उनेका छन् उनले फिल्ममा । त्यसलाई उनको सफलता र परिचय दुवै मान्दा हुन्छ । यान्त्रिक जीवनशैलीको चपेटामा होशपूर्वक श्वास फेर्न र जिउनै बिर्सिन थालेका अचेलका मान्छेहरूको लागि उनको जस्तो फिल्मको खाँचो झन् बढी हुन सक्छ ।
जुँगे आइकनबिनाका च्याप्लीन र जुँगासहितका
कलाकारिता यात्रामा सङ्घर्षको कोलबाट पेलिएरै उनी खारिंदै गए । आमा हानाले डोर्याएको स्टेज शोको बाटोबाटै उनले चुलीतिरको गन्तव्य समाए । गायन प्रस्तुतिको क्रममा आमाको गलाले काम नगरेपछि पाँच वर्षे फुच्चे चार्लीले पहिलो पटक स्टेजमा दूधिला ओठ सुसेले । तर गायकमै उनको चाल रोकिएन, अभिनयमा उनको करिअर आठ वर्षको उमेरमा थालनी भयो । त्यसपछि पाँच फिट पाँच इन्चको केटोले चमत्कार गर्दै गयो ।
April 15, 2011
नयाँ वर्ष : केही सिस्नु मुक्तक
मोह
प्राइभेट जागिरेले सरकारीलाई हेरे जस्तै
डिट्ठा सा’बले विचारीलाई हेरे जस्तै
संविधानसभालाई सभासद्ले यसरी हेर्दैछन्,
दाइजोप्रेमी पुरुषले पियारीलाई हेरे जस्तै ।
आधुनिक प्रेमी
हिमाल जस्तै कञ्चन छ हाम्रो माया भन्थ्यो
जलवायु परिवर्तनले कालो चट्टान बाँकी रह्यो,
तैपनि वचनमा अडिग छु भन्दै आधुनिक प्रेमीले
’माया कहिले गोरो, कहिले कालो’को नारा भाकिरह्यो ।
प्रस्ताव
माइती छोड्दा तिमीले रुवाबासी गर्नू
घर भित्र्याएपछि रुने पालो मेरो
बिहेपछि मैं ‘बेड टी’ टक्र्याउँला
पिज्जाको बिल तिर्न नमान अप्ठेरो ।
नियमित आकस्मिकता
अनिकालमा त कनिका पनि भातकै सिता जस्तो
मन रमाएपछि यतै रमिता उतै रमिता जस्तो
चुनावअघि नेताको वाणी अहा कति गहकिलो,
जीवनकै द्वार खोलिदिने भगवद् गीता जस्तो !
- - - - - - - - - - - - - - - - - - - - - - - - - - -
नयाँ वर्ष २०६८ को अवसरमा सबै पाठक, ब्लगर र आत्मीय साथीमा शुभ कामना !
मुलुकमा अमनचैन देख्न पाइयोस् ।
April 9, 2011
April 6, 2011
जब पहिलो बच्चा जन्मियो
एक बेला मैले घरमा जुठो लोटाउँदै र थाल-भाँडा मस्काउँदै गर्दा मेरो काकाको छोरीलाई भनेको पनि थिएँ- “हेर् काली, मैले बिहे गर्ने केटीले सुख पाउँछे ।” कुरा सुनेर बहिनी खितखिताएकी थिई । नभन्दै त्यसले त मैले भनेको कुरा भिनाजुहरू सबै जनालाई फैलाइसकिछे । हुन पनि अहिले मेरी बुढियालाई हाइसन्चो छ ! ज्यान झिरिप्पै भएर हुनु न खानुको दुब्लो छ, केही गर्ने तागतै छैन जस्तो देखिन्छ भनेर मलाई पहिला उसले गरिरहने गनगन पनि अहिले बन्द छ । पहिले त मलाई लोसे, सुस्त र ढङ्गबिनाको देख्ने उही थिई । परिआउँदा सब गर्न सक्छु भन्ने जवाफ अहिले व्यावहारिक रूपमा दिँदैछु र संजिताको मप्रतिको हेराइ पनि अचम्म सँगले फेरिएको छ अहिले । माया र भरले यसरी हेराइ बदल्दो रहेछ ।
बिहे भएर आएको महिना दिनमा उसले छेड हानेकी थिई ।
कहाँ छे होली मेरी संजिता ? छोरीको नाम सबनम नै राखूँला ? मैं पनि त्यस्तो सहयोगी श्रीमान् बन्न सकूँला ? पहिलो बच्चा जन्माएको त कुरा गरियो, तर जन्माउन चाहिँ कतिवटा जन्माउने ?