Subscribe:

Ads 468x60px

18 January 2009

ढुङ्गे युगको बेला

विश्‍वव्यापी आर्थिक मन्दी, उखरमाउलो खाद्य सङ्कटको पिल्साइ, इन्धन तथा हरेक वस्तुपदार्थको सीमित भण्डार, सीमित भूमि र असीमित एवम् बढ्दो जनसङ्ख्याको चाप । यावत् वस्तुस्थितिको गोलमटोल रहेको आजको घडीलाई भोग्दा/हेर्दा लाग्छ, कतै यो सिङ्गो मानवसभ्यता ढुङ्गे युगतिर फर्किने क्रममा त छैन ? हाम्रै नेपालको कुरा गर्ने हो भने पनि (चाहे यस्तो हुनुमा हाम्रै योजनाहीनता र अदक्षताले काम गरेको किन नहोस् !) विद्युत्‌ ऊर्जाबाट हामी बिस्तारै टुकीमाराको धिपधिपे कालखण्डतिर मोडिँदैछौँ । कतै ढुङ्गे युगतिर प्रस्थानको नेतृत्त्व हामी नेपालीले नै त गर्न थालेको होइन ? यसो हो भने त अरु केही कुरामा नभए पनि एउटामा त हाम्रो अगुवाइ साबित हुनेछ ।

ऊर्जाविहीन ढुङ्गे युगीन सभ्यतालाई बिर्साउने (भनौँ सम्झाउने) भाँतीमा सलादको नाममा काँचोकचिलो खुराकतिर हामी धेरै पहिलेदेखि मोडिइसक्यौँ । विशेषत: नेपालजस्तो 'विकासोन्मूख मुलुक'को हकमा, बजार क्षेत्रमा खुला शौचालयको उदार अवधारणाअनुरूप जतासुकै हामीले बाटोछेउमै मलमूत्रत्यागलाई निरन्तरता दिएकै छौँ । लज्जा, नैतिकताको यस्तो दहन ढुङ्गे युगकै सरोकारविहीन सभ्यताको सिको नगरी कसरी पो सम्भव हुन्थ्यो र ?

हिन्दु धर्मग्रन्थमा आधारित भएर हेर्दा, विभिन्न युगको चक्र पार गर्दै अहिलेको कलियुग आएको हो । र यसपछि अर्को युग खुट्टा उचालेर बसेको छ । त्यसो त, वैज्ञानिकहरूले पृथ्वीको पनि निश्‍चित आयु भएको र एकदिन मानव समुदाय चन्द्रमा हुँदै मङ्गल ग्रहतिरको बसाइँमा जाने आकलन गरेका छन् । राजधानीका साहित्यिक जमघटहुँदी कुरा चल्दा साथीहरूबीच बेलाबेला बहस हुने गर्छ- 'पहिले लय र छन्दको बोलवालाले बौद्धिक सर्कललाई हाँकेको थियो, पछि मुक्तलय र गद्य बान्कीमा रुचि फैलियो र अब गजल आदितिर बहर-लयको कुराले उही पुरानै छन्द-समय आउँदैछ ।' हेरौँ, कुनै दिन हाम्रो पुच्छर उम्रिन थाल्यो भने त्यसैबेला स्वत: समयले ढुङ्गे युग सिद्ध गर्ने नै छ । अहिले चाहिँ ढुङ्गे युगको पृष्ठभूमिलाई लिएर मैले एक वर्षअघि लेखेको औंसत गजल नै पढौँ । यसबाट हामीलाई ढुङ्गे युगलाई स्विकार्न तयार हुन थोरै भए पनि 'आधार शिविर' खडा गरिदेला कि ???




हुन्न थियो लुगाफाटा ढुङ्गे युगको बेला

हातै हुन्थ्यो चम्चा-काँटा ढुङ्गे युगको बेला ।

न त आगो न त अन्न चापचुप भै खेप्थे,
थिए कि त मान्छे लाटा ढुङ्गे युगको बेला ।

लालाबाला रुवाएर कन्दमूल खोजीमा,
तय हुन्थ्यो लामा बाटा ढुङ्गे युगको बेला ।

जे छ मजा जिन्दगीमा जोगिनलाई मान्छे,
भुसुनालाई हान्थ्यो भाटा ढुङ्गे युगको बेला ।

हाँस्ने-रुने-हल्ला गर्ने भाषाको व्यापारमा,
केको नाफा केको घाटा ढुङ्गे युगको बेला ।


फेब्रुअरी ८, २००७ (बिहीबार)

7 comments:

  1. साथै अर्को कुरा, नाङ्गिदै हिडने संस्कृतीले पनि त यसको पुष्टी गर्छ नि त हैन र?

    ReplyDelete
  2. कति राम्रो गजल । मलाई त एकदमै मनपर्यो ।

    ReplyDelete
  3. जतिसुकै सभ्य भनिएपनि मान्छेको मन भने अझै आदिम र हिंस्रकनै छँदैछ। खोल फेर्दै गयो होला मान्छेले, अनुहार चिल्ल्याउँदै गयो होला मान्छेले तर उसले अरुलाई दु:ख दिन र मार्न छोडेको छैन। त्यसैले एक हिसाबले संसारका सबै देशका मान्छे हामी सधैं ढुंगे युगमै छौं।
    जकहाँसम्म भौतिक सुविधाको अभावले सृजना गर्ने 'भौतिक' ढुंगे युगको कुरा छ, त्यो चाहिं पत्रु राजनीतिज्ञहरु बढी भएका तेश्रो विश्वका अभागी देशहरुको भागमा परेको छ। दुर्भाग्य र लाजकै कुरा भनौं, हामी पनि त्यहि समूहमा छौं।

    यति खोकिसकेपछि अब कुरोको चुरो, तपाईँको गजलतिर जाऊँ। दामी छ! धेरै अर्थ बोकेको छ तह-तहमा! झन् यो शेर

    "जे छ मजा जिन्दगीमा जोगिनलाई मान्छे,
    भुसुनालाई हान्थ्यो भाटा ढुङ्गे युगको बेला ।"

    त करोडको छ। सधैंभरि ढुंगे युगको यातना र 'भाटे कारवाही' खप्ने भनेकै भुसुनामात्रै हुन्। अरु त यो आएपनि जोगिएका छन्, त्यो आएपनि जो जोगिएकै छन्।

    गज्जब छ! अरुपनि जाँदै गरोस्।

    ReplyDelete
  4. राम्रो गजल पस्कनु भयो । हरेक टाँसोमा विषयवस्तु अनुशारको तस्विर खोज्ने तपाईंको कलालाई पनि मानेँ मैले त ।

    ReplyDelete
  5. kura t raamrai -garnu bhaeko rahe6 ...cafe mangalam ........hamro samaaj bhandaa pni hami nai yastai6au tysaile t yo samaaj pni - yo gati tir jaadai6.....

    ReplyDelete
  6. बसन्त जि को सटिक प्रतिकृयाले गजल मा चार च् द ( जून ) लागेको छ ।

    ReplyDelete
  7. धाइबाजी निकै राम्रो गजल लेख्नु भएको रहेछ
    ढुंगेयुगको यथार्तलाई भावनामा धन्यबाद ।

    ReplyDelete