Subscribe:

Ads 468x60px

11 February 2010

हामी के लेखिरहेछौँ ?

पुस २५ शनिबार जनवरी ९ को कान्तिपुर दैनिकमा झलक सुवेदीको 'लेखनशक्तिका कुरा' शीर्षकीय लेख पढ्दा दिमाग रन्थनियो । लेखमा उठाइएको कुरा आफूमा पटकौँ उठ्ने गरेकै थिए सुवेदीले त्यस कुरालाई सोदाहरण सविस्तार अभिव्यक्त गरेपछि आफ्नो मन्थनसँग मेल खाएकाले रन्थनीको मात्रा ह्वात्तै बढ्न पुग्यो ।

साँच्चै लेखनको शक्ति कति हुन्छ ? कस्तो र कुन अवस्थामा लेखन प्रभावकारी हुन्छ र कुन सन्दर्भमा ज्यादा प्रभावी या एकदम निष्प्रभावी हुन्छ अखबारी लेखनमा विभिन्न भाव र भङ्गीमामा शीर्षकका जुरो जड्दै लेखरचनाका चराहरु दैनिक उडाइएको पाइन्छ । म्यागेजिन र अन्य माध्यमतिरका शीर्षकहरु पनि गन्ती गर्दा यो उडानले साइबेरियाबाट बसाइ सर्ने चराको संख्यालाई पनि माथ गर्ला ! तर यी तमाम लेखनगत चराका उडानले कत्तिको पङ्खा हम्किएको छ ? उडानक्षेत्रमा लेखकीय झटाराहरुले कत्तिको सिकार गरेका छन् ? यसको लेखाजोखा कति भएको छ ? लेख्ने व्यक्ति स्वयम् ले लेखाइको प्रंभाव र असरबारे कति अध्ययन-अवलोकन गरेका छन् ? छाप्ने माध्यमले कति तौलिएका छन् ? यी लेखाइका बन्डलहरुको हरहिसाब राख्नमा पाठक-मण्डली कहाँनेर छ ? कि त लेखाइहरु पत्रपत्रिकाहरुलाई 'रिक्त स्थान पुरयेत' र लेख्नेहरुलाई 'खल्ती गरम कार्जे' को रीत हुन् ? यो त कदापि होइन होला । त्यसैले लेखाइको मूल्य हुन्छ भने त यसको मूल्यवत्ताबारे नियाल्नु पनि आवश्यक नै हुनुपर्ने हो ।

सुवेदीले उक्त लेखमा उल्लेख गरेका छन् कुनै घटना-परिस्थितिमा मिडियामा लेखिएकै कुराको दबाबले निकै काम गरेर स्थितिमा निकै बदली पनि ल्याउँछ, फेरि कुनै बेला भने अर्को घटना÷परिस्थितिमा लेखाइको प्रभाव फिटिक्कै देखिँदैन । सेतोलाई कालो भनेर दोहोर्याउँदा-दोहोर्याउँदा त्यो चिज कालै ठहरिने खतरालाई मिडियाको प्रभावसँग जोडेर हेर्ने एकथरी दृष्टिकोण पनि छ गलत प्रयोगको अर्थमा । यही जोडअनुसार कालो सुनलाई सेतोमा चोख्याउने 'पेलान विद्या' पनि हुँदो हो गुपचुप वा खुला रुपमै । मिडियाको चलखेल र शक्तिको आडमा हुने प्रभावलाई एक ठाउँमा राख्ने हो भने खुद्रा लेखरचनामार्पुत हुने प्रभावले देश समाज वर्ग समूह र एउटा व्यक्तिमा कति योगदान गर्ला । वा बेहिसाब नै लेखिँदैछन् सबै कुरा ? गरिँदैछन् तर्जुमा ? साहित्य रचनालाई आत्मरति र मनको धोको मेट्ने नामले टारे पनि यस्ता साहित्येतर अखबारी लेखरचना त साहित्य होइनन् नि ! तिनमा त आत्मसन्तोषको लागि लेख्ने भन्ने ट्याग भिराउन नैतिकताले नदिँदो हो नि ! लेखनमा जिम्मेवारीबोध र पारिश्रमिकको ऋण चुक्ता गर्ने समाजमुखी भाव पनि त हुँदो हो एउटा स्तम्भकार र लेखकमा । लेखन पेसा बन्नुपर्छ, व्यावसायिकताको रङ देखिनुपर्छ यसमा, तर खालि कमाउने विद्या बनिरहेको त छैन भन्ने चस्काले छोप्न थालेको छ पछिल्लो समयमा ।

साँच्चि के लेखिँदैछ ? हामी के लेखिरहेछौँ ?
यो प्रश्न अब अखबारी लेखनदेखि उछिट्टिएर जुनसुकै माध्यम र लेखनकर्ममा फन्को मार्न आइरहेछ ।

2 comments:

  1. एकदमै राम्रो प्रश्न उठाउनु भो धाइबा जी । लेख्नेहरूले के को निम्ति लेखिरहेछन् ? अनि के लेखिनुपर्छ ? यिनमा पनि सोच्नुपर्ने बेला भएको छ ।

    ReplyDelete
  2. झलक सुवेदीको माथि उल्लेखीत लेख पढ्दा मेरो मनमा पनि केही कुराहरु उठेका थिएँ।

    'खुल्ला बजार' र मिडीयामा के लेखिन्छन, कसले पढछन र त्यसका तत्काल र दूरगामी के कस्ता प्रभाव रहन्छन भन्नेमा भने जुनसुकै स्थान वा मिडीमामा लेख्नेले पनि इमानदारीका साथ सोच्नु भने पक्कै आवश्यक छ जस्तो लाग्छ ।

    हैन भने त तपाइले नै लेख्नु भएजस्तै पत्रिकाको लागि'रिक्त स्थान पुरयेत' र लेख्नेहरुलाई 'खल्ती गरम कार्जे' मात्रै चलिरहनेछन ।

    ReplyDelete