February 25, 2010

ब्लगर भेलाको अढाई घण्टा

त जनवरी ३० मा 'अन्तर्राष्ट्रिय अनलाइन ब्लगर भेला' सम्पन्न भएको थियो, त्यसबारे एउटा लेख कान्तिपुर दैनिकको शुक्रबारे परिशिष्टाङ्क 'हेलो शुक्रबार' का लागि तयार पारेको थिएँ । तर 'अयोग्य' ठहरिई त्यो सामग्री प्रकाशन हुन सकेन । त्यही लेख यहाँ पस्केको छु । उता अयोग्य भए पनि 'आफ्नै हात, जगन्नाथ' गरेर ब्लगमा हालियो । जे-जस्तो छ यथा रूपमा स्विकार्नुहोला ।
--------------------------------------------------------
विश्वभरि छरिएर रहेका नेपाली मनहरु एउटै हत्केलाका औँलाहरु हुन आइपुगेका थिए । जहाँ तिनको ताल र गुन्जन पनि लगभग एउटै भाकामा संचार हुन थाल्यो । इन्टरनेट सन्जालको साझा आँगनीमा गफिँदै गर्दा प्रविधिकै एक पाटो ब्लगिङको ज्वरोले भेलाका सहभागी सबैलाई गाँजेको थियो । न कुनै खास ठाउँ न त रंगीचंगी टेन्टको जोरजाम- सूचनाप्रविधिले बौद्धिक सक्रियतामा कुतकुत्याउँदै वेब ब्लग अर्थात् ब्लग लेखनमा हौस्याएको र इन्टरनेटकै डोरीबाट ब्लगरहरुलाई बिस्तारै एकापसमा नजिक्याएको फलस्वरुप नेपाली ब्लगरहरु जनवरीको अन्तिम शनिबार अन्तर्राष्ट्रिय अनलाइन ब्लगर भेलामा जुटे र ब्लगविषयक गफगाफमा सोचमग्न भए ।

सामूहिक लेखन (टिम ब्लगिङ)को अवधारणाले अमेरिकाबाट सन्चालित दौँतरी ब्लगको पहलमा करिब ५० जना नेपाली ब्लगरहरु अनलाइनमार्फत एकै ठाउँमा एकैचोटि भेलामा ओर्लिनु ब्लग क्षेत्रमै विरलै हुने घटनामध्येको थियो । अनलाइनमा ब्लगरहरुको भीडले कुराकानी माध्यम च्याटरोलले चाप थाम्न सकस मानिरहे पनि नेपाली ब्लग उत्थानका लागि राय-विचार निकाल्न तन्नेरी ब्लगरहरुको जोस झन्-झन् उर्लिएको थियो । नेपालसहित जापान अस्टे्रलिया युएई अमेरिका कतारमा रहेका नेपाली ब्लगरहरुलाई ब्लगरको गुगल ग्रुप सन्देश सन्जालबाट डोरिँदै एकत्रित हुन अझ सहजता थपिएको थियो । भेलामा सहभागीमध्ये केही त्यो खुला वार्तालापको साक्षी मात्र बनेका भए पनि प्रायःजसोले प्रत्यक्ष रुपमै एजेन्डा उठान छलफल विश्लेषण र विमतिसहित नेपाली ब्लग र ब्लगरका समस्याबारे समाधानको स्वर उठाए । तिनमा बहुसंख्यक नेपाली भाषामा र केही अंग्रेजीमा ब्लग लेख्ने नेपाली ब्लगरहरु थिए जसमा लोडसेडिङको अपडेटेड तालिकाले नेपालमा रहेका सम्भावित सहभागी ब्लगरहरुलाई त्यो संख्यालाई हल्का बढाउन 'भिलेन'को रोल खेलिदिएको थियो । भेला सकिएपछि पनि त्यहाँ भाग लिन नपाउनुको थकथकी कतिपयमा सकिएको थिएन जस्तो कि मार्टिन चौतारी काठमाडौँकी कैलाश राईले दौँतरी साइटको मेसेज बक्समा ठेलिन्- "लोडसेडिङले गर्दा भेलामा सामेल हुन नपाएकोमा खल्लो भो !" 

गत २००८ अगस्तमा पहिलो ब्लगर भेलाको अनुभव लिएर आइसकेकाले यो दोस्रो भेलाको मज्जा यसैमा थियो- के र कसो गर्ने भनेर कसैलाई बढी सम्झाइ-बुझाइ गर्नुपरेन । सहभागीहरु आफैँ ब्लग वार्ताको रुटमा 'गाइड' थिए । भेला सुरु हुनुअघिदेखि र पछिसम्म पनि ब्लगर जमघटमा बहसको सिर्जनशील कुश्ती खेलिरहेका अनलाइन च्याटकर्ताहरुले भेला अवधिभरिमा विविध बुँदामा आलोपाला सिलसिलेवर विचार राखे । छलफलका क्रममा व्यक्तिगत तहमा मुख्यगरी कतारको दोहामा रहेका विनोद रिजालले आफ्नो एजेण्डा राखे- 'देशको बारेमा आ-आफ्ना ब्लगमार्फत लेखरचना लेख्ने र पुराना ब्लगरले नयाँहरुको अवलोकन गरी सल्लाह दिने । यसै गरी अमेरिकाबाट सपनासंसारले विषय उठाए- 'संसारभर छरिएर बसेका ब्लगरहरुको हकहितका लागि एउटै आवाज उठाउने साथै ब्लगरमात्र नभई उसका परिवारको समेत स्वास्थ्योपचारमा आर्थिक सहायता जुटाउनॆ ।' शब्दतरंगको नाममा ब्लग लेख्ने काठमाडौँबासी वर्ड्सवेभले 'नेपाली ब्लगर र ब्लगबारे सधैँ कुराकानी र कदम चाल्ने ब्लगरहरुको साझा संयन्त्र बनाउनुपर्ने'मा जोड दिए ।  कुनै औपचारिक समारोहको रौनक नभए पनि सभापति तथा स्वागत मन्तव्यको व्यवस्था र नेपाली ब्लगलाई गति दिलाउने बुँदागत विषयहरु प्रस्तावनामा लगेर छलफल गर्ने कार्यले कुनै भद्र सभाभन्दा कम थिएन दोस्रो अन्तर्राष्ट्रिय ब्लगर भेला ।

भेलामा स्वागत मन्तव्य गर्ने जिम्मा पाएकी अमेरिकाको लुइजियाना राज्यस्थित टिबेडोमा निकोल्स स्टेट युनिभर्सिटीकी २० वर्षीया अन्जली तिमल्सिनाको भेला-अनुभव यस्तो छ - "अनलाइन नै सही सामूहिक अन्तकृया हुँदाको महत्व नै बेग्लै ।" त्यो भर्चुअल मिटिङ जम्यो भनेर उपलब्धि सम्झिनेमध्येकी उनलाई प्रत्यक्ष आफ्नो विचार राख्न पाउने र तुरुन्तै त्यसको फिडब्याक पाइहाल्ने विशेषता असरदार लागेछ । 

पालैपालो बोल्ने क्रम तोके पनि ठूलो संख्याका कारण अनलाइन प्रविधिको कठिनाइले वार्तालाप आ-आफ्नै हिसाबले बत्तिन पुग्दा 'टेक्स्ट च्याट' को त्यो भेलामा भ्वाइस च्याटको विकल्प पनि जोडदार खोजी भएको थियो । नभन्दै गहनापोखरी काठमाडौंका दिलीप आचार्य अघि सरे "अर्को भेला अडियोमा गर्ने हो भने म सहयोग गर्नेछु ।" यति मात्र कहाँ हो र १४ वटा प्रपोजल पास गरेको भेलाले छैटौँ नम्बरमा यही विषय समावेश गर्यो "आधुनिक अडियो-भिडियो कन्फ्रेसिङ टुल प्रयोग गरी आगामी ब्लगर भेलाहरु सन्चालन गर्दै जाने ।"  च्याटरोलबाट घुम्टो खोलेको भेला सस्वर विश्वभरि गुन्जिएमा नेपाली ब्लगरहरुको बीचमा त्यो चमत्कारै भएर स्थापित हुनेछ । यो आइडियालाई उनीहरुले 'क्या गज्जब !' तारिफ दिए ।

हालै नेपालमा नयाँ संविधान बनाउने क्रममा उठेका कुराजस्तै भेलामा पनि सर्सर्ति कुरा उठे । भाषा जाति पहिचान आदि । फरक कति भने ती मुद्दा खास समूह र वर्गले संविधानमा स्थान दिलाउनका लागि उठायो यहाँ भाषा र जातिको कुरा उठ्दा भने सिङ्गो ब्लगक्षेत्रकै गति र प्रगतिसँग जोडिएको थियो । नेपाली तथा अन्य भाषी ब्लगरले नेपाली भाषाको शुद्धतामा ध्यान दिने एउटा बुँदा र अर्को बुँदामा जातीय नारालाई निरुत्साहित गर्दै एउटै जात नेपालीलाई नेपाली ब्लगरको चिनारीमा स्थापित गर्ने भ्रातृत्वभावलाई पनि भेलाले सर्वसम्मत अगाडि ल्यायो । आफ्नो ब्लगको लेखसामग्री अनुमतिबिना र क्रेडिट नदिई अर्कोमा दुरुस्तै सारिएको पाउँदा धेरै ब्लगरको मन धुरुक्क रोएको रहेछ । "त्यस्ता चोरबारे त सार्वजनिक रुपमै ब्लगमा लेखेर बेइज्जत गर्नुपर्छ" भेलाबीचमै कसैले आवाज उठायो । लगत्तै जवाफमा ब्लगचोरीलाई निरुत्साहित गर्नुपर्ने भन्दै सबैले टेक्स्टमा फुत्त-फुत्त टाइप गरे- 'ताली !' 

नेपाली ब्लगरहरुको विश्वव्यापी जमघटमा नेपालको कुरा छुट्ने कुरै भएन । भेला समाप्तिपछि दौँतरी ब्लगमा नेपालियन मदन बराल ले भेलाको टेक्स्टको लिङ्क बाँड्दै ब्लग लेखे "ब्लगरबाट व्यक्त हुने कुरा इमानदारीपूर्वक निस्किने वाक्यांश हुन्छन् जुन अहिलेको नेपालमा पाउन निकै दुर्लभ छ ।" यसबाहेक उनले भेलामा उठेका एजेण्डालाई कार्यान्वयन कसरी गर्न भन्नॆ अबको चुनौती रहेको पनि ठम्याएका छन् । जुन चुनौती सबै ब्लगर नताती पार लाग्न सम्भव छैन ।

9 comments:

  1. राम्रो कुरा 'हेल्लो शुक्रबार' मा छाप्न मिल्दैन के ! हा हा

    ReplyDelete
  2. राजनीति भएको भए छापिन्थ्यो होला , यो अराजनीतिक विषय पर्यो, छापिएन, ल जे होस पढेर रमाइलो लाग्यो। धन्यवाद तपाईँको यो प्रयास को लागी !

    ReplyDelete
  3. भेलाका रमाईलो स्मरण फेरि ताजा भयो । जे होस केही कमी कमजोरीका बाबजूद भेला सफल नै भएको ठहर गरेको थिएँ मैले पनि । तर पत्रकार (मिडिया)ले नै ब्लगको महत्व नबुझेर यस्ता लेखलाई अयोग्य ठान्नुका कारण भने बुझ्न सकींन मैले :)

    ReplyDelete
  4. @aakar ... LOL!

    Since you have posted in your blog, a link to archive would be great!

    ReplyDelete
  5. Thank you dhaiba ji for the write-up.
    YEah it reminded the blog bhela again!

    ReplyDelete
  6. ब्लगर भेलाको राम्रो लेख तयार पार्नुभएको रहेछ। हाम्रा 'स्वनामधन्य' सम्पादकहरुको योग्य-अयोग्य छुट्याउने काइदाको त के कुरा गरिराख्नु र!

    ReplyDelete
  7. thank u dhaiwa sir ...... for ur historical post.........

    ReplyDelete
  8. यहाँ जसको शक्ती उसको भक्ती चल्ने देशमा यस्ता हामी जस्ता सर्वसाधारण मान्छे हरुले गरेको कहाँ मुल्याङ्कन हुन्छ र छापिन्छ त धाइवा सर । त्यही भएर होला हजुरको पोस्ट छाप्न अन्कनाएको,छाडिदिनुस यस्ता कुराहरु । तर पत्रकार (मिडिया)ले समेत ब्लगको महत्व नबुझेर यस्ता पोस्टहरु छाप्न मन गर्दैन भने अरुले झन् कसरी सही र गलत ठम्याउने त हजुर ?
    जे भए पनि भेलाका रमाईलो स्मरण फेरि ताजा हुने खालको पोस्ट राख्नु भएकोमा आभार व्यक्त गर्दछु।

    ReplyDelete