Subscribe:

Ads 468x60px

13 February 2010

Flash back : Mr Lonely, I love you !

प्रेम थिएँ तिमी पूजा थियौ ।

प्रेममा परेपछि कहिले-कहिले त टापुको घर जस्तो भइँदो रहेछ, सबै खापा र कब्जाहरु बन्द भएको । सबै कुरादेखि बेखबर । दुई जना मात्रै, एक्लै !

हामी यस्तै भएका थियौँ सायद ।

दुई जनाको एक्लोपनमा समाज टाढा हुनु/हुन पुग्नु कति पीडादायक हुँदोरहेछ म बुझ्दैछु । सामान्य व्यवहारमा पनि तिम्रो हिचकिचाहट र हुत्तिएर आउने मायालु आवेगमा संकोचको 'स्पिडब्रेकर'ले पार्ने अवरोधले म कायल भएँ धेरै । यस्तै लेखिएको रै'छ दैव ! कन्चटमा चोर औँला टक्कराउँदै म रिँगटामग्न बन्थेँ ।

मात चढेका अँगालोको भार काँधमाथि पाउँदा म लुपुक्क हुनुपर्थ्यो होला । बच्चा जस्तै । पुरुषहरु किन बच्चा हुन खोज्दा रहेछन् अब मैले आफैँ अनुभूति गर्दैछु । किन उनीहरु आफ्नो बालापनमै फर्किन आतुर हुँदा रहेछन् र आफूलाई प्वाँख झैँ कसैको काखमा बिसाउन खोज्दा रहेछन्, मैले आफ्नै ढुकढुकीको गुन्जन नापेर थाहा पाएँ ।

अँ त, पूजा नामले पनि मबाट तिमीतिरै मेरा आरतीहरु केन्द्रित हुनु कुनै नौलो कुरा पनि थिएन । सोही भयो । म त एउटा राजनीतिक कार्यकर्ता जस्तै भएछु, तिम्रै नेतृत्वमा डोरिँदै गएँ ।

डेढ वर्षका अनेक प्रहरमा म धिपधिप नै सही पिलपिलाएकै थिएँ आत्मीय तापक्रममा ।

पन्जाबी रेस्टुरेन्टको दुईटा टेबलमा हामीलाई घुरेर हेर्ने त्यो कैलो आँखावाल वेटर अझै हाम्रो बाटो हेरिरहँदो हो । उसलाई के थाहा, समय कुन-कुन बोझ बोकेर कति लचक्क नुहिन सक्छ ! त्यो वेटर जो फ्राइ मःमः र भेज स्प्रिङ रोलको अर्डरमा केही अप्ठेरो मान्दै मुसुक्क मुस्काउँदै हामीतिर सोझिन्थ्यो, सके अहिले अन्तै सोझिरहेको होला । बिल तिर्न हामीले गर्ने मौन हानथापमा ऊ साक्षी थियो । मेरो पुरुष अहम् र नारी पनि आत्मनिर्भर हुन सक्छे भन्ने तिम्रो सबलता अचेल ऊ अरु नै जोडीहरुमा खोज्दो हो । एउटै मियोमा जिन्दगी टिक्न नसक्नेबारे पत्तो नहुँदानहुँदै पनि के थाहा, ऊ कतै उछिट्टिइसकेको होस् अर्कै रेस्टुरेन्टमा अर्कै खाले ग्राहकहरुको अर्डर लिनमा ।

गालाको ती खाडलमा नभासिएको भए म पनि त कतै फुत्किसकेको हुने थिएँ ।

- 'साँझ पर्यो अब जाम् न' तिमीले हतार मान्दै मेरो कुममा बजाएको ढिसुम् । अझै मीठो दुखाइ यहीँ गाडिएको झैँ छ ।

- 'पर्ख न, अब लास्ट राउन्ड कफी खाम् अनि ससुरालीको बाटो हुँदै तिमीलाई पुर्याउँला है !' आलटाल गर्दै मस्का मार्नमा म पनि के कम ?

- 'उहुँ हुन्न, तिमी यतैबाट जाऊ ।' खोइ किन तिम्रो रोकावटले तिमीसँगै भइरहने मेरो चाहनालाई नराम्रोसँग मर्मत गर्थ्यो । म मुर्मुरिन्थेँ मायालु रङमा । पिराउथेँ । तिमीलाई मान्न करै लाग्थ्यो ।

प्यारी लेखिकाको परिचय पनि जोडेको थिएँ तिमीमा । मलाई सम्पादकको बिल्ला भिराएर थाहा छैन किन तिमीले त्यत्रो ठूलो बोझ बोक्न सक्ने हैसियतमा मलाई भर गर्यौ । काँचै थिएँ । सायद तिमीले पकाउन खोज्यौँ । म हदै गलेँ तिम्रो पकवानमा । सबै मीठो हुँदै गयो । एउटी लेखिकालाई उसका तमाम रचनाहरुमा खार्दै लैजाने सम्पादनको जिम्मेवारी लिन दह्रो मुटु बनाउनु जरुरी थियो । कारण, त्यो मुटुको एउटा भित्तामा तिम्रै मायाको बाछिटा आलै थियो । अँ त, हाम्रो पकवान तृप्तिको तहमा एकदमै मीठो भयो ।

सायद यसैले त तिमी अघायौ, म अघाएँ । अघाएपछि उठ्नु स्वाभाविकै थियो । सँगै पलेटी घुँडा मारेर बसेका हामी उठ्यौँ ।

प्रेमको संस्थागत स्वरुप भन्छन् क्यारे । अन्ततः बिहे भयो । बिहेको मण्डपमा तिमी एक्लै थियौ । मेरो ठाउँ त अर्कै स्वाँठ (तर कस्तो भाग्यमानी !) ले लिएको थियो । मेरो प्रेमको बारेमा तिमीलाई अन्दाज अलि कमै भएको हुनुपर्छ । नत्र तिम्रो बिहेमा निम्तो पाएको भए म आउने थिइनँ र ? तिम्रो पूजाघरमा दैवहरु भिन्नाभिन्नै गन्तीमा वर्गीकृत भएको देख्दा म हेरिरहेँ । तर केही देखिनँ । नदेख्नुमा मेरै दोष थियो, आँखामा पानीजाली जो भरियो ।

हामी दुई जना थियौँ, एक्लै ।
अहिले म छु - नितान्त एक्लो ।

उही मुटुमा मायाको जरुवा उसैगरी भुलभुलाइरहेछ । छेउमा सुनाउनुपर्ने कोही छैन । भित्रभित्रै आफैँमा थर्किरहेछ : Mr Lonely, I love you !

2 comments:

  1. बिल तिर्न हामीले गर्ने मौन हानथापमा ऊ साक्षी थियो । मेरो पुरुष अहम् र नारी पनि आत्मनिर्भर हुन सक्छे भन्ने तिम्रो सबलता अचेल ऊ अरु नै जोडीहरुमा खोज्दो हो । एउटै मियोमा जिन्दगी टिक्न नसक्नेबारे पत्तो नहुँदानहुँदै पनि के थाहा ऊ कतै उछिट्टिइसकेको होस् अर्कै रेस्टुरेन्टमा अर्कै खाले ग्राहकहरुको अर्डर लिनमा ।

    धाइबा जी सार्है घतलाग्यो पोष्ट । सार्है मर्माहित भएँ । प्रेम प्राप्ती मात्र हैन समर्पण पनि हो कि कसो ?

    ReplyDelete
  2. साह्रै राम्रो लेख कुनै कुना बाट पनि खोट लगाउने ठाउँ छैन धन्यवाद छ अंकल लेख पढने अवसर पाय

    ReplyDelete