Subscribe:

Ads 468x60px

12 July 2012

पढ्नु : प्रेम [निबन्ध]

प्रेमसँग हाड नाता भएकाहरूले बुझ्छन्- यसभित्रको लगाव कति दुःखदायी हुन्छ, तर मीठो तड्पन ! भोगेपछि यस्तो लाग्दो हो, यो प्रेम भन्ने कुरा त नभइदिएकै भए पनि हुने ! तर के यसबिना संसारको सहज रफ्तार सम्भव छ ?

धेरैअघि सोचेथेँ, प्रेमबारे केही त लेख्‍नेछु । तर यसबेलासम्म त मैले त्यही सोचाइसँग नै प्रेम गरेर बसिरहेको रहेछु ।

फेरि यो बसिरहनु, बस्न सक्नु पनि त एउटा प्रेम नै हो ।

कति-कति प्रेमहरू...।


आरम्भमा प्रेमका बारेमा केही विद्वान्‌द्वारा अभिव्यक्त पंक्तिहरू :

- हरेक दिन म तिमीलाई बढी माया गर्छु हिजोभन्दा आज बढी, भोलिको भन्दा आज कम ।                                        - रोजमोन्ड गेरार्ड । 
- म प्रेममा धेरैपल्ट परेँ । र सधैं तिमीसँग ।                - एडगर एलेन पो ।
- प्रेम दुई जनाले खेल्न मिल्ने र दुवै विजयी हुने खेल हो ।         - इभा गाबर ।
- थप प्रेमबाहेक प्रेमको कुनै उपचार नै हुँदैन ।                 - थोरो ।
- प्रेम विष्फोटक सिगार हो । जानी जानी हामी यसलाई खाइरहेका हुन्छौं - लिन्डा बेरी ।
- प्रेम मेरो धर्म हो । योबिना म बाँच्न सक्दिनँ ।                 - जोन किट्स ।
- मेरो हृदयमा आएर बस । यसको कुनै भाडा तिर्नुपर्दैन ।         - स्यामुयल लभर ।

... ... र यति गमिसकेपछि के भयो ? भयो नै भने पनि उपर्युक्त प्रेमशास्त्री विद्वान्हरूसँग हामीलाई आकर्षणको प्रेम भयो सायद । आह ! क्या धारिलो चित्रण !! तर तिनको निचोरिएको भावधारा त हामीबाट गुम ! खासमा भनाइहरूका ती चास्नीले हामी लस्सादार हुनुपर्ने हो । शीतको प्रथम आवेगले भिजेको कपास झैं अझ कोमल र प्रेमिल हुनुपर्ने हो । जो बतासको वेग देख्‍नासाथै जुरुक्क उत्तेजनामा मर्किहाल्दैन, हामी त तेलको स्याहार पाएर सपक्क सुतेको त्यस्तो कपाल पो हुनुपर्ने !

यी अनगिन्ती 'हुनुपर्ने' हरूलाई हामी मानौं देउसी र भैलोको सुरिलो भाका ठानेर भट्याइरहेछौं । भट्याएर आज पोल्टोमा कति दान-दक्षिणा भरियो ? खोइ, मैले प्राप्तिलाई अङ्कगणितमा पढ्न र पारख गर्न जानेको छैन । यति जानेको छु, प्रेम गर्न । तर प्रेम गर्नु भनेको त्यस्तो जान्नैपर्ने पाकशिक्षाको तालिमकक्षा नै कहाँ हो र ? र, प्रेम गर्नुको मिठासलाई अर्थ दिन सक्यो भने पढ्नु पनि त प्रेमभन्दा कम मुलायम छैन नि ! खासमा यही जान्नुनपर्ने भएकाले अहिलेसम्म म केही न केही पढ्दै आइरहेको हो कि क्या हो ? अघिल्तिर देखा पर्ने कुनै अन्जान अनुहार पढ्नु, साथीको कोपरिएको मनको मर्म पढ्नु, आफ्नै एकालाप पढ्नु ... आदि आदि ।

तर यस्ता किसिमका पढाइको कुरामा म छैन, कम्तीमा यो अहिलेको लेखाइभरिलाई । म त पढ्नु अर्थात् ज्ञानको चकटीमा पलेंटी कसेर किताबसँग योगासन जमाउने कुराको विस्तारमा यहाँनेर फुक्न खोज्दैछु । जहाँ प्रत्येक श्वाससँगै चेतनाको सिर्सिर् अन्तरमा घुसोस् र त्यसको आयतनसँगै प्रत्येक प्रश्वाससँगै अज्ञानता बान्ता भएर निस्कियोस् ।

प्रेम : आफूले आफैंलाई भुलेर आफूलाई अरुमा पाउनु । मैले कतै पढेको । आफूलाई सम्पूर्ण रुपमा बिर्सिएर उसैमा समर्पित हुनु प्रेम हो रे । यो पनि पढेको । यसरी पढाइमार्फत प्रेमलाई बुझ्दाबुझ्दै पढ्नुसँगै प्रेम बस्यो । बरु प्रेमसँग नै प्रेम भएन सायद !

आज आएर अलिकता आफ्नै भोगाइ, अलिकता बाहृय बुझाइ तौलिएर हेर्दा लाग्दैछ, आफूबाहेकको अस्तित्वलाई प्रेम गरेर प्राणीले आफ्नो कमजोरीको स्तर स्वयम् पुष्टि गर्छ । कसैलाई प्रेम गर्नु आज शुद्ध रूपमा प्रेम गर्नुमै मात्र व्याख्या हुन्छ भन्ने छैन, गरिँदा-गरिँदा त्यो प्रेम- प्रेम थाप्ने पात्रको आँखामा सस्तोपनको बेकामी चश्मा भएर झर्ने खतरा प्रबल रहन्छ । कठै, झिरिप्प शीशाहरू....!

यति लेखिसकेपछि एउटा नोटबुकमा केही समयअघि कोरिन पुगेको दार्शनिक पङ्क्ति सम्झिन पुगेँ । झ्वाट्ट पङ्क्ति के सम्झिनु, नोटबुकमा केही कोरेको छु भन्ने मात्र हेक्का भयो, पल्टाएँ- 'प्रेम : कुनै अवस्था हो कि काम ? अर्थात् प्रेममा छु कि प्रेम गर्दैछु ?'

यसको खास तथ्य उधिन्न सोचमा डुबुल्की मारेँ, र केही सोच्न सकिनँ । छुट्यो केवल रन्थनी । अवस्था, काम, छु, गर्दैछु....। प्रेमभित्रको लगावपछि झ्याङ्गिन कसैको समक्षमा जाहेर गर्दा कसैलाई हिउँद मासमा घामको तमतम्याइलो सहीछाप धस्काए झैं हुँदो हो भने कसैलाई कृपावादको फिर्ता खेल लाग्दो हो । के टुङ्गो छ र एकनास हुनुपर्ने ?नाप्न मिल्ने भए मनको कुनाकानी आयतन र सङ्कुचनको मात्रामाथि अध्ययन गरेर आम मनहरूबारे एउटा निष्कर्ष रिदिन हुन्थ्यो - हेर बाबू-नानी हो, आपसको मन यस तवरले पिँजडा झैं साँगुरिन्छ र क्षितिज झैं फैलिन्छ, नौनी झैं गल्छ र इस्पात झैं गाँठिन्छ.....।

खुङ्खार पण्डित अर्थात् विशेषज्ञहरूले प्रेमको पन्ना एकपछि अर्को गर्दै अति तन्मयतापूर्वक थपिरहे प्रेमशास्त्रको उत्थानमा । मानौँ प्रेम नै नगरी-नगरी । यदि प्रेम गर्नतिर ती लाग्दा हुन् त शास्त्रका ठेलीमा जिल्दामाथि छिप्पट भाकामा ढ्याप्प शीर्षक मात्र ओगटिएर बस्थे होलान् । भित्रका पन्नाहरू त निष्प्राण जीवको श्वासनली झैं एकदम खाली-खाली । बिनाप्रेम, अनुभवहीनताको त्यस्तो अनुभवी बलमा प्रेमशास्त्रीहरूले प्रेमको बारेमा रास-रास लय बगाउनु पनि विचित्र प्रेम-महफिल लाग्छ ।

पढ्नुको के कुरा, पुस्तकमा आँखालाई बगरमा टक्रक्क उभिएको बकुल्लामा रुपान्तर गरी छोडिदिने हत्तेदेखि पर आफ्नै जिन्दगी पढ्न नजानेर/नसकेर धुरुधुरु रुने जमात हाम्रो सामाजिक पुस्तकालयमा टन्नमन्न होलान् । पढ्दापढ्दै कसैको आँखालाई निद्राले छल गर्छ, कसैको आँखामा विरहले जल भर्छ । कति फरक छन् प्रेमका नमुनाहरू ! आफ्नो अज्ञान देख्न र ज्ञान देख्‍न पढ्ने अलग-अलग ढाँचाको संसारमा यस्तो पनि होला, कोही अज्ञान र ज्ञानको खिचडीलाई धुवाँ छुटाउन्जेल पगाल्न पढिरहेको होस् । त्यस्तो तपमा कुनै न कुनै प्रेमी त होला । जागिर खान पढ्नु, आनन्द बटुल्न पढ्नु, केही सिक्न पढ्नु, सिकाउन पढ्नु, पाण्डित्य प्रदर्शन गर्न पढ्नु... एउटै पढ्नुभित्र पनि कति-कति प्रेमहरू पत्रेदार भएर बसेका छन् । र आजको जमानामा एउटा मान्छे ती सबैखाले प्रेम गर्दै अथवा गर्नलाई नपढिरहेको होला र, किटान गर्न गाह्रो छ । कारण, ती सबै-सबै प्रेम नै त हुन् फरक अनुहारका । प्रेम सबैलाई चाहिन्छ, सबै यसलाई अँगाल्न उत्सुक हुन्छन् । मतलब हुन्न, प्रेमपछि गहिरो रापको तातो मिल्ने हो या उँचो चापको चिसो । बस्, प्रेम भए पुग्यो ।

'प्रेम गर्नु' लाई विपरीत लिङ्गीबीचको दोहोरी भाका भन्ने बुझिदिए सङ्गीतको एकाङ्गी आलाप मात्र हुन जाला । प्रेमको जरामा एउटै रस थलथलिएर रहे पनि चारैतिर हुत्तिएर जाने हाँगाबिँगाको हिसाब कसले राखोस् ! जस्तै कि, प्रेम गर्नुः भाइचाले ढलको पानीमा गोडा रङ्ग्याई-रङ्ग्याई काउली र गोलभेँडामा पानी पटाउनु । प्रेम गर्नुः हजुरआमा विष्णुमाया आफ्नो घरको चियारङ र चिनी बचाइबचाई छिमेकको घरमा चिया-पाहुना लाग्न जानु । प्रेम गर्नुः आफाले दनुवारले छोराछोरीको पढाइ बिग्रिने डर पचाएर लोकलाजका कारण बजारबाट डाँडाको घरमा टेलिभिजन भित्र्याउनु । प्रेम गर्नुः प्राण धानिरहेको स्वस्थ मिर्गौला बेचेर पुर्खाले चलाउँदै आएको पत्रिका प्रकाशनलाई निरन्तरता दिनु । प्रेम गर्नुः शून्यताको चिच्याहटदेखि झर्को मानेर पागल हुँला-हुँला आफ्नो मनस्थितिलाई निश्चिन्त आधारमा बिसाउन परिवारमा फर्किनु । प्रेम गर्नुः स्वाभिमान बचाउन समूहको भाँडभैलोबाट तानिएर टापुको बासमा जानु । प्रेम नै प्रेम...। जम्मामा, प्रेम गर्नुः समग्रमा संसारमा रहनु र आफ्नो अवस्था (त्यो चाहे रहर वा विवशताको उपज) लाई आत्मसात् गरेर श्वासप्रवाहमा चिप्लिरहनु...।

 

र म यही चिप्ल्याइलाई थप रौनकता दिन केही न केही पढ्दैछु । अर्थात् प्रेमको पुष्टकारी चपाउँदै । कथम् यो पुष्टकारीको मोजमज्जामा म पात्तिँदापात्तिँदै बेहोसीवश दाँतले नरम जिभ्रोमा रत्तिभर पनि धावा बोलेर रगतको सिर्का उमार्‍यो भने त्यसको तातो मिठासलाई पनि म पुष्टकारीकै स्वाद सम्झेर कृतज्ञ बनूँला । सायद खासमा, त्यही त हो प्रेम !

1 comment:

  1. पोथी पढ पढ कर जग मुआ, पंडित भयो न कोए
    ढाई आखर प्रेम के, जो पढे सो पंडित होए

    Remembered Doha of Kabir. :)

    Loved this post.

    ReplyDelete