Subscribe:

Ads 468x60px

11 June 2013

गौंथली बोल्यो #Namje #Bhedetar

Hemjaमे महिनामा CaféKavita को पाँचौं शृंखला पूर्वाञ्चल विशेष कार्यक्रम इटहरीमा सकिएको भोलिपल्ट हामीसँग समय उब्रियो । कम्तीमा दिनभरि । बेलुका त हामीले काठमाडौं फर्किन बस चढ्नुपर्ने थियो ।

इटहरीको गर्मी छल्न भेंडेटारतिर उक्लिने कुरा भयो । ‘एसी काठमाडौं’ छाडेर निस्किएका हामी अलिकता गर्मीले पनि हपक्क पाक्दै थियौं । यस्तो अवस्थामा साहित्यप्रति विशेष चाख राख्ने स्थानीय दन्त चिकित्सक दाइसाथीहरुको ‘भेंडेटार प्रस्ताव’ शीतल थियो ।

पूर्वी नेपालको यात्रामा इटहरीदेखि अझै पूर्व चन्द्रगढीसम्म र दक्षिणमा विराटनगर पुगे पनि उत्तरतिरको यात्रामा अघि नबढेको मलाई भेंडेटारको सफर गर्मी छल्नुभन्दा अझै बढी महत्वको हुनेवाला थियो । पहिलो पटक पुग्दै थिएँ धरान, भेंडेटार । कतिपय ठाउँ निकै चल्तीको भए पनि कामविशेष नपरीकन र मेसो नमिलेसम्म पुगिन्न । यसै कारण सायद भेंडेटारसँग मेरो दूरी कायम थियो । चार वटा बाइकमा आठ भाइ उक्लियौं डाँडातिर । भेंडेटारबारेको किस्सा खुबै सुनेको थिएँ, छिनछिनमै मौसम बदलिन्छ । घाम लागिरहँदा पानी दर्किन सुरु भइसक्छ । नभन्दै मान्छेको मनभन्दा कम रहेनछ रुपमती भेंडेटार । मौसमको बदली त खासमा भेंडेटार पुग्नुअघि नै धरानबाट अलिकता उक्लिनासाथै अनुभव हुन थालेको थियो । हप्प गर्मीको लुगा चिसोपनले च्यात्दै लगेको थियो । भेंडेटारभन्दा अझै माथि उक्लियौं हामी । नाम्जे भन्ने गाउँ रैछ । होमस्टे पनि रैछ यस ठाउँमा । ‘होटल दीप’मा छिर्‍यौं । घामले धपक्क बलेको डाँडामा पानीको सिर्का तप्किन थाल्यो हामी बस्दाबस्दै ।  उसिनेको आलु, तुोङ्बा मगाइयो ।

मन तातो पानी थप्दै तोङ्बाको चुस्की लिन थालियो । जि्नदगीमा पहिलो पटक भेंडेटार आएको म पहिलो पटक तोङ्बामा डुब्दै थिएँ । ठाउँमा आएपछि ठाउँको स्वाद नलिनु पनि कसरी ! राम्ररी नपखालेको कोदो परेछ, किरिकिरी भो मुखभरि । तर, शीतल मौसमले जिन्दगीकै स्वाद मीठो बनाएकाले अरु स्वाद तपसिलमा पर्‍यो । यसैले त साथीहरु भाँडामा पानी थप्दै नलीबाट जिन्दगी चुस्दै थिए । भर्खर खनेर उसिनेको आलुको खपत पनि बढी भयो । पुदिनाको चटनी र भेंडे खुर्सानीको देख्दै डरमर्दो अचारमा लटपट्याउँदै आलु चोपेर खाँदा आँत भरिंदै थियो ।

पसलभित्रै बचेरा कराएको सुनियो । कुनातिर माथि गौंथलीको गुँड रैछ । तीनवटा बचेराहरु चुच्चा खोल्दै चारा खोजिरहेका । आमा चाहिं चारो लिन नजिकै गएकी रैछे । आई । बचेराहरुले कोरस गायन उराल्न लागे जस्तै सामूहिक रुपमा मुख खोले फेरि । त्यहाँ जीवन सुसाएको थियो । समय नरम पैंतालाको चक्र छाप्दै सुस्तरी अघि बढ्दै थियो । निकै आनन्दको क्षण । हेरेर मात्रै बस्न सकिनँ । यति नजिकबाट र स्पस्टसँग गौंथली र बचेरालाई देखेको थिइनँ कहिल्यै । माथितिर सोझ्याएँ क्यामेरा ।

फ्लासको झल्याकझिलिकले बचेराहरु उज्याला झिल्कासँगै झनै चुच्चाहरु खोल्दै थिए । चारो आइपुग्यो भन्ठान्दा हुन् ! माउ गौंथली भने तस्बिर खिच्न खोज्दा लाजले कतै छलिएकी थिई । राम्रैगरी तर्सेर । परेला भर्खरै केही दिनअघि उघ्रिए जस्ता बचेराहरुको तस्बिर खुब ध्याउन्नले खिच्न थालें, पापको वास्तै नगरेर । खासमा क्यामेरा फ्लासले तर्सिंदै थिए ती । तर, धेरै तड्पाउन मन लागेन । मैले कुनै वस्तु/जीवलाई प्रेम र चिज गरे पनि त्यो घेराउ र पिछा उसका लागि उकुसमुकुसको कारक समेत बन्न सक्छ भन्ने पनि बुझिदिनुपर्छ । मैले बुझे जस्तो गरें ।

खिचेका केही तस्बिर यस्ता आए :

 

Gauthali-1

 

Gauthali-4

 

Gauthali-2

 

Gauthali-3

 

Gauthali-5

 

Gauthali-6

 

Gauthali-7

 

Gauthali-8

1 comment:

  1. रमाइलो भएछ । यात्रामा धेरैथोक भेटिन्छन् अनुभव गर्न र तिनलाई लेख्न । यसरी पुगेर फिरेपछि लेखेको राम्रो

    ReplyDelete