Subscribe:

Ads 468x60px

10 May 2010

कोही छैनौँ आकाश र पातालका

Shiris3
झ्यापुल्ले दिनको टाउकोमा कसैले ब्लेड चलाएर सफाचट पारिदिए जस्तो छ । पक्कै पनि दिनकै सडक ताजा । एकछिन अगाडिको झलमल्ल घाम र चहकिलो सडकको सुग्घरी रुप कति सुकुमार थियो !

मानौँ भोकले आकुलव्याकुल भएको बेला दूधिलो मकै पोलेर कसैले आँखा अगाडि नचाइदिएको होस् ।

बुर्कुसी मार्दै चिप्लिरहेका गाडीले हेडलाइट टल्काइरहेछन् । तर अलकत्रे सडक सेतो हुने भए पो ! 
 
रिमरिम साँझ पर्दैछ । सडकछेउ नीलै उज्यालिएका शिरीषका झुप्पाहरूसमेत अँधेरो मुख लगाइरहेका । अब रूखमा बत्ती टाँगिदिएर तिनको चोला फेरिदिने कुरा कहाँ हुन्छ र ? मेरी मनसुनको कपाल जस्तै नरम होला, म अनुमान गर्छु शिरीषको झुप्पाबारे । क्लिपले समेटेको उसको कपालतिर एक नजर लगाउँछु । छेउमा ढेपिँदै हिँडेकी उसको चाला पनि शिरीषकै जस्तो निन्याउरो छ अघिदेखि । नहोस् पनि किन, मैले भाउ दिएको भए पो !
 
उसको कुरो सुन्दा केटाकेटीहरू बरू तैबिसेक लाग्छ । पल्पसा क्याफेको नायक पात्र दृश्यले बोल्ने संवादमा जस्तै रोमान्टिकताको भरपूर खोजिरहेकी थिई ऊ मेरो बोलीमा । म कसरी पो सक्थेँ उपन्यासको पात्रमा रुपान्तरण हुन ?  उसो त म खलनायकको चरित्रमा त थिइनँ । र पनि उसले अझ नायकको हाउभाउमा चकलेटीपन भेट्न कुनै औपन्यासिक पात्रको भूत ममा सवार होस् भन्ने चाहिरहेकी । तर म उसलाई पल्पसाको ठाउँमा राख्‍न तयार हुने कुरै थिएन । कल्पनामा पनि छिनभरको लागि मैले उसलाई पल्पसासँग दाँजिनँ, कहिल्यै । उपन्यास पढ्दै गर्दा पल्पसा र दृश्यको प्रेमालापको कुतकुती करेन्ट बोकेर जब उपन्यासमा दौडिएको पाउँथेँ, त्यतिबेला झ्वाट्ट दिमागमा त्यो जोडीको जस्तै मिठास आफ्नोमा पनि भैदिए त क्या गजब हुन्थ्यो भन्ने गुलियो भावले छोप्थ्यो । तर उपन्यास एकसरो पढिसिध्याएपछि त्यो ज्वरो एकदम ठन्डा भो । मैँ पो भएँ फ्रिज जस्तो । बसमा भएको विस्फोटको घानमा पल्पसा प्राणहीन हुन पुग्छे उपन्यासको पुछार भागमा ।

धत् ! म सातो लिन खोज्दैछु उसको । ऊ माने पो ! कल्पनाको गगनमा रकेट हाँक्ने उसको पाइलट मन धन्नको ! तर त्यो पाइलटले सतहको यथार्थबारे भने किन आँखा चिम्लिएको होला हरे !

मेरो हातमा अखबार मुठिएको छ । पढ्नुपर्ने, विचार्नुपर्ने, दिमाग दुखाउनुपर्ने केके हो केके । शनिबारको दिन भन्दैमा को फुर्सदले बस्छ र हिजोआजको समयमा ? जस्तो कि, कोठाको कुना छाडेर म निस्किएको छु युगल मिलनमा सडकतिर ।  अघि भर्खर एउटा ‘गरिब होटल’मा हामी दुईले मिट्ठ्याएको पकौडाको चिल्लोपन ओठको कापमा बाँकी रहे झैँ छ । कति सकसकाएको मुख । आजभोलि तै बोल्न धन्न पाइन्छ । तर सुनुवाई खोइ कहाँ हुन्छ र अचेल ? चिच्यायो भने चाहिँ बल्ल खासखुस गरे झैँ सुनिन्छ । भर्खरै पत्रकार विजयकुमार (पाण्डे) को ‘सत्य सहने साहस छ भने’ शीर्षकको आलेख पढेर रन्थनिएको छु । पढिसकेपछि मन थामिएन । आँखा चिसै छन् । उसले रुमाल दिइन त के भयो, आँसु त रोएरै पुछिन्छन् । उसले लगाएको कुर्ता-सलवारको पहेंलपुर रङ पनि एकदम धमिलो भो – आँसुको चश्मा चढेपछि आँखा त त्यस्सै पावरलेस !

लेख पढेपछि यस्तो लाग्यो, बरू यो नपढेकै भए हुने । जानेपछि, थाहा पाएपछि र पढेपछि मन पोल्छ, दिमाग रन्थनिन्छ । परेर-भोगेर जिन्दगी नै पोल्नेको हविगत झन् के हुँदो हो ! कम्तीमा उहिलेउहिले अज्ञानता त दु:ख निवारणको कारण हुन्थ्यो ! उतिबेला सूचना-सञ्चारको साँगुरो सीमाका कारण भयङ्कर घटना पनि चेपिएर कता हराउँथे । नत्र त दैनिक व्यवहारमा अक्सर ज्ञान नै पीडा गुड्ने बाटो भएर स्थापित हुने गर्छ अहिलेको समयमा । यतै सनसनी उतै सनसनी … ।

यतिखेर उसको हातका चुरा नबजेको भए हुने । चुराको खनखन पनि कस्तो गर्जने हुँदोरहेछ मन बिथोलिएको बेला ।

“चिडचिडा हुने होइन है, भन्द्‌याछु”, अँध्यारोमा मेरो निन्याउरो अनुहार नियाल्दै उसले घुर्कीको एक ढिसुम् दिई ।
“म चिडचिडा ?” झोक्किन खोज्छु । तर उसको मायालाग्दो अनुहारले झोक्किनै आउँदैन ।
“हो त के !“
“यो तनावमय देशभन्दा त कम नै चिडचिडा हुँला म ।”
“मेरी हजुरआमा भन्दा चाहिँ चौखण्ड बढ्ता नै हो ।” उसको रिस नाकभरि अग्लिएको छ अझै ।

म ऊसँग सक्दिनँ ।

यस्तो बेला ‘केटाकेटी मान्छे’ भन्दै पन्छिन रुचाउँछु । अनि ऊ ओठका कुना हलुका तान्दै मुस्काउँछे जितारु पारामा । यसैमा सायद हाम्रो सम्बन्धको संयोजन लुकेको छ ।

Roadd साँझपख हामी दुईलाई फुटपाथबाट टहलिँदै हिँड्न मन पर्छ । खास जिन्दगी त यही हो जस्तो । सडकमा सवारीसाधनहरू आफ्नै रनाहामा हुन्छन् । सबै आफ्नो सुरमा हतारपतार कामकाजी दुनियाँबाट आ-आफ्ना गुँडतिर लस्किरहेका बेला हामीले पनि आफ्नो सुर भजाउन पाउँछौँ । यतिबेला त्यो सुरलाई भने केही चिन्ताका बादलले मलिनता थोपरेको छ । देशमा मच्चिने खेलाडीहरूको मनमौजी व्यवहार देख्दा-देख्दा कहिलेकाहीँ त अन्धो नै बनूँ कि जस्तो झोंक चल्छ । तर मैले आँखा नदेख्‍दैमा दृश्य बन्द हुने हुन् र ? फेरि सन्केको दिमाग ठेगानमा आउँछ ।
जिन्दगीमा भेट्नो समाउने ठाउँ नभेटेर हैरान भएका कति होलान् । यस्तो बेला म एउटाले कसैको हात समातेर ढुक्क हुन कसरी पो सकूँला । उसको हातबाट बाफ सर्ला जस्तो गर्दै तर्किन्छु थोरै । उसको नजरमा आज के म बढ्तै अनौठो जीव बन्दैगएको हो ? अब शिरीषका झुप्पाहरूलाई पछाडि छोडेर हामी बढ्यौँ । अब सुनसान वातावरणलाई चिर्दै होटेल तथा पसलहरूको लहर अघिल्तिर सुरु भएको छ ।
२०६२-६३ को आन्दोलानताकाको त कुरा हो, मनसुनसँग चिनजान भएको । एउटा वेबसाइटमा बर्बर शाही राजविरुद्धमा मैले लेखेको कविता छापिएको थियो - ‘कसिंगर’ शीर्षकमा । त्यसपछि त ऊ आँखामा राख्दा पनि नबिझाउने हुन थाली । कविता पढेर मप्रति खुबै झुकेकी थिई । म पनि लचक्कै नुहुदै गएँ ऊतिर । त्यस कवितामा  सबभन्दा उसलाई विशेष मन परेछ :

वर्षा आउँछ
र कन्टेनरमा लिपेर जान्छ कसिंगर
हुरी रन्किन्छ
र समेटेर लान्छ कसिंगर -
इतिहासको भिरालो नदीवेगमा … …

मायालु मान्छेलाई साहस र आक्रोशको भावना पनि उस्तै मन पर्दोरहेछ । मन परेपछि सबथोक हीरा । प्रेमदेखि अरूतिर फैलिँदो रहेछ संसार । उसैसँग भेटेर सिक्दैछु यी कुरा । “सङ्गत गुनाको फल, देख्यौ ?”, ऊ बेलाबेला जिस्क्याउँछे । यस्तो बेला उसका आँखाले जुनेली छर्छन् ।

तर उसका आँखाको मधुर ज्योतिभन्दा सपना भत्किएका आम आँखाहरूको फ्युज गएको रङले कालो बनाउन थालेको छ मन । जस्तो कि, विजयकुमारले त्यो लेखमा उठाएका छन् कसरी देशमा भ्वाङ पर्दैछ र त्यसमा राजनीतिको खेलले हानेको कति गोलको भूमिका छ ? एक-अर्कालाई पन्छाउँदै एकल गायनले बजार पिट्न चाहने कलाकारको धुन चढेको छ नेतागिरीमा । जो नीतिबेगर राजनीतिमा सुँगुर झैँ चोबलिएका छन् र अरूलाई समेत हिलोको छिटा पार्दैछन् । यस्तोमा अझैसम्म नेपाल साँचो रूपमा एक राष्‍ट्र बन्न नसक्नुको धरातलीय यथार्थको साक्षी हुनुभन्दा यहाँका सर्वसाधारणले गरून् पनि के ?

मेरो मुठी कसिँदै आयो । यसभित्र अहिले जे भए पनि पग्लिसक्नेथ्यो सायद । उसले मेरो मनस्थितिको अन्दाज गरिछ क्यार । निधारसम्म हत्केला ल्याई, “सन्चो छैन हो ?” म कोलाहलको दुनियाँबाट युगल सामीप्यताको यथार्थमा फर्केँ । उसका आँखा चिम्सा भएर मैँतिर सोझिएका छन्, ल्याम्पपोस्टले दया गरेर धमिलो टर्च ताकिरहँदा त्यो प्रकाशमा उसका नरम र भर दिन तम्तयार आँखाले टेको दिए । “म ठीक छु”, अनुहार हेर्दाहेर्दै रुँला जस्तो भएको भावावेश सम्हाल्दै बिल्डिङमाथि सानले बसेको होर्डिङ बोर्डतिर टाउको घुमाएँ । विज्ञापनमा एउटी किशोरीले संकेत गर्दैछे: "रुचि छैन त केही छैन ।” यसलाई मैले नेपालका नेताहरूमा राम्रो गरौँ भन्ने रुचि नै नभएकाले केही पार लाग्दैन भन्ने अर्थमा जोडेर हेरेँ ।

“अब तीन वर्षपछि हाम्रो बिहे है”, उसले आज पनि यो भन्ने पक्का थियो । मनसनुको मनसुनी वर्षामा यो आवाज नमिसिएको त कुनै भेट नै हुँदैन । उसले आज पनि औँला भाँची – तीन वर्ष । "नानू, मुश्‍किलले आउँदो तीन दिनको हिसाब गर र योजना बनाऊ, यो समयमा निश्‍चितता केही कुराको छैन”, मलाई यसरी नै भन्न मन थियो ।  तर उसको मन तोडिएला भनेर चुपचाप बसेँ । बस्न पनि प्रेम उसको सतही बनोटसँग मात्र बसेको छैन, उसको समग्र चालचलनसँग फिटिँदै जाँदैछु म । तास फिटिए जस्तो, अथवा पानीमा मह घुले झैँ । अब ऊबाट आफूलाई झिक्नु रगतबाट रङ झिकेर फाल्नु जस्तै असम्भव लाग्दैछ । हुँदाहुँदा उसको घरसम्मन्‌को  नाता पैल्याइसकेको छ मनले । उसको आमा, बा । उसले सबभन्दा मन पराउने खेलौना गुडिया । उसले स्याहार्ने फूलबारी । मैले नजिकबाट भेटेको छु, महसुस गर्दैछु सबैलाई । र मलाई डर भनेको यत्ति छ : कतै उँचनीच जातको कुरा निकालेर मेरै घरतिरकाले पो मेरो मन तोड्ने छैनन् पछि ? मैले उसलाई तीन दिनको मात्र योजना बनाऊ भन्ने आशयमध्ये एउटा यो पनि हो । आफ्नो खुसीको लागि घरको सोचलाई भड्काएर त कसले अन्तरजातीय बिहे गरेको गर्व सँगाल्न सक्ला ? म यस्तै ‘बिचरा म’ हुन बेर छैन ।

आकाशे पुलको छायामा अब उसलाई घर पठाउने गाडी कुर्ने स्टेशनमा आइपुगेको छु । छुट्ने बेलामा अत्यासले उसको अनुहारको रोगन हराएको झुलुक्क कतै बाइकबाट आएको हेडलाइटको चहकले देख्छु । सधैँ ताल यस्तै हो उसको । कसो-कसो उसको यो आत्मीयताको बाछिटाले मलाई भिजाइरहेको हुन्छ । र पनि यति साह्रो आत्मीयता त नवर्षाए हुन्थ्यो जस्तो पनि लाग्छ । “केटाकेटी मान्छे !”, उसको काननेर फुसफुसाउँछु । ऊ रुन्चे हाँसो हाँसेर मेरो पाखुराका मुड्की सोझ्याउँछे ।  यसै गरी चलेको छ । उसलाई बिदा गर्छु ।

यतिखेर गाडीले दान दिएको उज्यालो पाइलाभरि बिछ्याउँदै हिँड्दै सोच्दैछु: चल्नु त यहाँ निकै चल्नुपर्ने कुराहरू छन् समाजमा, देशमा, विश्‍वमा । सबै यही धर्तीका उस्तै बनौटका र करिब उस्तै भावदशाबाट खेदिएका मानिस त छौँ । आफू-आफूबीचमै जुझेर व्यस्त हुँदा कहिले लिने छुट्टी चुनौतीका लहराहरूसँग पाखुरी बजार्न ? आखिर यहाँ जुध्नुपर्ने शंकास्पद कोही पनि त छैनन् आकाश र पातालका । यतिखेरै मोबाइल फोन थर्कियो ।

“घर पुगेँ है, तिमी बिचरा बाटैमा हौला”, मनसुनको एसएमएस रहेछ । म्युजिक बटन थिचेर इयरफोनको टुसो कानमा घुसार्नुअघि उसलाई ‘रिप्लाइ’ गरेँ : “तिमी जस्तै सुरक्षित तवरले घर पुगून् सबै मान्छे । गुड नाइट !” 

मूल सडकबाट डेरा छिर्ने गल्ली मोडिँदै गर्दा मलाई अँध्यारोले निल्यो ।

6 comments:

  1. भर्खरै तपाईंको ब्लगमा पस्न नसकेको गुनासो ओकलेको थिएँ र भर्खरै यत्तिका दिनसम्म नपस्दाको सम्पुर्ण प्यास(न्यास्रो) मेटिने गरेर प्रसङ्गवश आएका कुराहरु पढ्न पाएँ । कत्ति रमाईलो !

    'भन्न चाहन्छु त्यो बाटोहुँदै ती चार पाईलाहरु सँगै घर पुगुन् चाहे बिस्तारै अध्याँरो गल्लीको बाटो हुँदै चाहे बेलैमा' तर पर्खन्छु केहि छैन ।

    ReplyDelete
  2. danger cha ni dhaiba sir...kati lamo rahecha upanash pade jasto..

    ReplyDelete
  3. अस्ति र हिजो पनि पढें, के लेखौं-के लेखौं भयो। तपाईँको लेखाईको शक्तिले नि:शब्द बनायो। अहिले भर्खरै फेरि एक पटक पढें।
    एकदम सशक्त निबन्ध, जहाँ नीजि भावनाहरु र देशको ब्यथा एकै ठाऊँमा पोको परेको छ।

    ReplyDelete
  4. जुग भयो भेटघाट नभाको पनि है धाइबा जी,,,
    प्रेम र निजी अनुभवहरुको सौन्दर्य भित्र पोखिएको यो सामयिक चिन्तन अपार मर्मस्पर्शी छ, भावहरुको सघनता र गहन प्रस्तुति उस्तै मिठो छ ।
    “तिमी जस्तै सुरक्षित तवरले घर पुगून् सबै मान्छे । गुड नाइट !”

    ReplyDelete
  5. ati ramro.....
    I really liked your writing style.... Iknow after reading you for five minutes for the first time... the walk with you wii be long. long enough for us not to forget each other.

    ReplyDelete
  6. अन्तराल भएछ यी शब्दहरुले च्यापिन नपाएको मेरो मनको भित्तो। आउन त खोजेकै हो समयको घेरा र धाइबा जी को फेरिएको ब्लगको फेरोलाई अझै समाबेश गर्न नसकेर बसेछु ।
    मायालुको पारामा जोडिएको देशप्रेम र शहरी परिवेशको गाठोमा फुकेर बसेको त्यो मुटु अनि सामाजिक जरोसङ्ग तर्सिएको मन। जोडदार प्रस्तुति ।

    ReplyDelete