Subscribe:

Ads 468x60px

03 February 2011

एनटीभीको जवानी !

'नेपालको जेठो टेलिभिजन  २६औँ वसन्त पार गरेको मस्त तरुनो वयमा आइपुगेको छ ।NTV-Main  समयको कसीमा घोटिएर आएको हिसाबमा ‘नेपाल टेलिभिजन’लाई पट्ठो मात्र होइन, अब पत्यारलाग्दो पनि मान्नुपर्ला । एउटा घरमा छोरो (वा छोरी पनि अबको समयमा के कम) उमेरको उकालो लागेर लाठे बनेपछि घर थाम्ला/ली भन्ने आस बूढाबूढीमा बढ्छ । यस्तै, उमेरको फन्कोमा पाकेको नेपाल टेलिभिजनले नयाँ आएका टेलिभिजनहरूको दाँजोमा परिपक्व पाइला मात्र नचाली आफैँले बसाएको पुरानो जग भत्काउँदै  आधुनिक स्वरूप खडा गर्दै जानुपर्ने आवश्यकता महसुस आफूले गरेकै होला । नभन्दै यसै कुरालाई मनन गर्दै टेलिभिजनको २६औं वार्षिकोत्सवको अवसरमा सञ्चारमन्त्री शङ्कर पोखरेलले वाणी दिइहाले, "अन्य टेलिभिजनको भन्दा नेपाल टेलिभिजनको राष्‍ट्रिय दायित्व बढी छ ।" राजधानीमा आयोजित वार्षिकोत्सव समारोहमा मन्त्री पोखरेलले अर्को मीठो कुरा पनि गरेछन्, सरकारी सञ्चार माध्यमलाई निजीकरण गरेर जनताप्रतिको जवाफदेहिताको कार्यबाट सरकार मुक्त हुन सक्दैन रे ! 

मन्त्रीज्यूले बोले जस्तो व्यवहारमा त्यो भए त वेशै हो । सरकारी सञ्चार माध्यमलाई निजीकरण गर्नु नै स्तरीयता र चुस्त अग्रसरताको सिँढी होइन । सरकारी भन्ने लेबल राखे पनि त्यसलाई नयाँपनमा ढाल्न उदार सोच र सरकारी मुठीबाट स्वायत्त पारे त्यही हुन्छ निजी सञ्चार माध्यमभन्दा प्रभावकारी । जनताप्रति जवाफदेही हुन्छु भन्नेलाई कसले रोक्ने हो र ? टेलिभिजनहरूको बाढी आएको पछिल्लो समयमा प्रायजसो च्यानलले समाचार च्यानलको नाममा भारतीय न्यूज च्यानलले गर्ने ‘समाचारमा आँधीबेहरी’ र ‘तिललाई पहाड बनाउने’ शैली  अपनाएर दिक्याइरहेको बेला राष्ट्रको टीभी बन्न कुनै सूत्रको खोजी त नेपाल टेलिभिजनले गर्नैपर्छ । तर म यहाँ नेपाली टेलिभिजनहरूको  लेखाजोखा गर्ने क्रममा छुइनँ । बरू राष्ट्रको सञ्चार भनेर दाबी गर्ने नेपाल टेलिभिजनको २६औं वार्षिकोत्सवको अवसरमा नेपाल टेलिभिजन कर्मचारी संघले आइतबार आयोजना गरेको ‘एनटिभी नाइट’ कार्यक्रमको प्रसङ्ग कोट्याउन लाग्दैछु ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रमको सुरुमै कर्मचारी संघका अध्यक्ष गोपाल दाहालले ‘२६ वर्षको जवानीमा टेकेको नेपाल टेलिभिजन जिम्मेवार बनेको’ टिप्पणी गरे । हो, जवान भएपछि गम्भीरता र दायित्वको भार बढ्छ, अरूले हेर्ने दृष्‍टिकोण र गर्ने अपेक्षा पनि फराकिलो हुन्छ । एउटा संस्थामा पनि यो नियम लागू हुन्छ - व्यतीत गरेको समय,  अभ्यास गरेका विधि र प्रविधिका हिसाबले । 

ऐतिहासिक टेलिभिजनको वार्षिकोत्सवको कार्यक्रम भव्य, सभ्य र सुसंस्कृत हुने आस हुनु स्वाभाविकै हो । तर, मेरी बास्सै, कहाँ हुनु !! कार्यक्रमलाई ‘एनटीभी नाइट’ नाम दिइए झैँ नाइटी ड्रेस पहिरिएर बसेकी कुनै घरबूढीको झलक दिन्थ्यो त्यहाँका प्रस्तुतिले ।  कार्यक्रमको सुरुवातमा कुटुम्ब समूहको साङ्गीतिक प्रस्तुतिले ध्यानमग्न बनायो हलको माहौल । टप्पा नृत्य, मैनाली थरकी भोजपुरी गायिकाको स्टेज शोलाई न्याय गर्ने भाका,  पूर्वेली लोकभाकामा परम्परागत नेपाली भेषभूषा पहिरिएका टोलीको प्रस्तुतिले संस्कृतिको संरक्षणमा एनटीभी नै एकमात्र जिम्मेवार भन्ने बोध गरायो । यो टेलिभिजनले प्रस्तुत गर्ने सामग्रीहरूमा पनि भाषा, संस्कृति र समाजको कुरा अन्यत्र भन्दा बढी पाइन्छ, राष्ट्रको टेलिभिजन हुनुको अर्थमा आधारभूत विषयवस्तु यति त हुनैपर्‍यो । तर यो बोध पानीको फोका जस्तै क्षणमै बिलायो, जब कुनै फेसन च्यानलमा पश्चिमा ठिटा-ठिटीको लचकता देखाए झैँ छोटा र उत्तेजक पहिरनमा नर्तक-नर्तकी मञ्चमा झुल्किन थाले । NTV Silver Jublee 2010

टेलिभिजन २५ वर्ष पुगेको अवसरमा गत वर्ष निकालिएको २५ रुपैयाँको सिक्का

नेपाली नै भए पनि फिल्मी गीत, साउन्ड बक्स नै उचाल्ने भद्दा खालको रिमिक्स नम्बरमा झिल्के बनेर आएका युवक र गरिबीको पीडाले लुछिएकी जस्ती न्यून वस्त्रधारी युवतीको कम्मर मर्काइमा मैले नेपाल टेलिभिजनको सान भन्दा अवसान नै देखेँ । कुनै बेला विशिष्‍ट बान्कीको साथ आउने विश्‍वघटना, कोरस टेलिशृङ्खला जस्ता ज्ञानबर्द्धक, सचेतनामूलक र परिवर्तनकामी सामग्री प्रसारण हुने   एनटीभीको कार्यक्रम हेरिरहेको छु भन्ने नै बिर्सिएँ मैले । होला, निजी टेलिभिजनको आधुनिक र उदारीकरणको बाटो पैल्याएको प्रस्तुतिबाट लोभिएर बढ्दो प्रतिस्पर्धा बुझ्दै आफ्नो झुत्रेझाम्रेपनलाई काँचुली फेर्न चाह्यो होला एनटीभीले । तर एनटीभीले त्यस्तो प्रतिस्पर्धा स्विकार्ने नै होइन, अझ राष्ट्रिय प्रसारण माध्य भएकाले मुलुक र नागरिकहरूको प्रतिनिधित्व तथा राष्ट्रियताको चिनारी दिने हिसाबले यसको आफ्नो अलग्गै दायित्व छ । अत: विषयवस्तुमा विविधता, प्रस्तुतिमा नयाँपन र प्रविधिको आधुनिक स्वरूपमा जान टेलिभिजन भीडमा प्रतिस्पर्धालाई आँखा सन्काउनु अपरिहार्य भए पनि प्रतिस्पर्धा बाहिर छ एनटीभी । वार्षिकोत्सव कार्यक्रम जस्तो संस्थाकै दर्पणको रूपमा बुझिने र त्यसैअनुसार झल्किनुपर्ने समारोहका झलकहरू भने बिछट्टै आयातीत लाग्दै थिए । फेरि हलमा त्यस्तै ‘रङ्गीन’ मिजासका नृत्य प्रस्तुतिमा हुटिङ र सिठी बजिरहेको थियो । यसले पनि नेपाली दर्शकको रूचि कुन रूपमा मोडिँदै गइरहेछ भन्ने प्रतिविम्बित गर्दै थियो । र नेपाली भाषा र संस्कृतिको अघोषित प्रवक्ता र परिचायक टेलिभिजन एनटीभीले त्यही रुचि र चाहलाई पछ्याउँदै बजारबाट टपक्क उच्छृङ्खल नक्कल टिपेर वार्षिकोत्सव कार्यक्रम मनाएको थियो । यस हिसाबमा  २६औँ वसन्तको संख्या नापेर मात्र होइन, चालढालको कोणले पनि एनटीभीमा जवानी चढेको अन्दाज गर्न सकिने देखियो ।    

गायनका लागिNTV-Nite-2067 गायक त राम्रै छानिएका हुन् । राजेशपायल राई, ‘मेरो दिल छ पोखरामा’ गाउने प्रमोद खरेल, ‘लैजा रे’ का हेमन्त राई, ‘काफल गेडी कुटुक्कै’ भाकामा महेश बुढाथोकी । तर सबै गायकको प्रस्तुति जमेन । अझ राजेशले त ‘पर्सि मेरो एलबम राई इज किङ सार्वजनिक हुन लागेको बेलामा यसरी तपाईँहरूसामु आउन पाएँ’ भनेर आफ्नो प्रमोसन गर्दै त्यही एलबमको शीर्ष गीत ‘राई इज किङ’ गाएर (गाए के भनूँ, चिच्याए) खल्लो बनाए हल । बैगुनी रै’छौ मायालु गायकबाट स्रोताको अपेक्षामा तुषारापात ! उनको एकल कन्सर्ट भए मिसमास गीतमा एकाध त्यस्ता नयाँ र कर्णकटु (श्रुतिमधुर गीत कस्तो हुन्छ, यहाँ उल्लेख गरिरहनु नपर्ला) गीत परेको भए पचाउँथे होलान् दर्शक-स्रोताले, तर भद्दा गरी चिच्याएरै गायकले टारे ।  त्यसरी विशेष कार्यक्रममा गायक-गायिकालाई गाउन निम्ता दिइसकेपछि के-कस्तो गीत गाउन दिने, लगाउने भन्नेमा रत्तिभर ख्याल नगरेको पाइयो टेलिभिजनले । साल्सा डान्स, बी-बोइङ जस्ता धेरै सुनिएका तर प्रत्यक्ष नदेखेको प्रस्तुति पस्किनु रोचक पाटो थियो । आधुनिक स्वरूपमा देखा पर्ने नाममा आफ्नो मौलिकता र धरातल छाड्दै भड्किलोपन अँगाल्नु हुँदैन भन्ने मात्र आग्रह हो । कार्यक्रम प्रस्तोता सुमित र मन्दिराको जोडीले नेपाल टेलिभिजनको मर्मअनुसार नेपालीपनमै ध्यान दिँदै अधिकांश नेपालीहरूको सम्पर्क भाषाको रूपमा रहेको राष्ट्रभाषा नेपालीमै उद्‌घोषण गरेको भए वेश हुनेथ्यो । विश्‍वका विभिन्न भागमा प्रसारण पहुँच भएको र नेपालको अफिसियल टेलिभिजनको नाताले व्यापक दर्शक क्षेत्र विस्तारका लागि अङ्ग्रेजी भाषाको सहारा लिनु अबको समयमा जरूरी नै हुँदो हो । फेरि कार्यक्रम ‘लाइभ’ टेलिकास्ट हुँदै थियो । तर  त्यस्तो कार्यक्रम हेर्न पुगेका दर्शकहरू सबै युवा पुस्ता नै र अङ्ग्रेजबाज हुन्छन् भन्ठान्नु टेलिभिजनको भूल भयो ।

2 comments:

  1. असाध्यै गहन कुरा हो यो | सरकारी संचार माध्यम भएपछि त्यसका केहि सीमाहरू हुनैपर्छ | निजी च्यानलहरुसंग प्रतिस्पर्धामा जानु पर्छ भन्दैमा आधिकारिक माध्यमको रुपमा गहकिलो र परिपक्क देखिने जिम्मेवारीबाट पछि हट्नखोज्नु किमार्थ राम्रो होइन | आफ्नो मौलिक चरित्र यसले भुल्न हुँदैन |

    ReplyDelete
  2. धन्यवाद, कार्यक्रमको बारेमा जानकारी दिनुभएकोमा । किङ राई र रामकृष्ण ढकाल पनि प्रतिष्पर्धा नबुझेका केहि उदाहरण हुन् भन्ने लाग्छ । प्राविधिक पक्षमा मात्र प्रतिष्पर्धा गरिदिए भाषा, संस्कृति र पहिचान जोगाउन सफल हुने थियो ठिटो ।

    ReplyDelete