Subscribe:

Ads 468x60px

27 February 2011

ढोका / धोका : यो कथा होइन

“कसैको स्वागतमा
पस्छु ‘ढोका’बाट
र पुग्छु ‘धोका’सम्म ….”

केही पहिले लेखेको कविताको अंश कसैको जीवनसँग मेल खाएको थियो । मेरो साथी झलक शीशाको नाजुक मुटु लिएर मेरो शरणमा आइपुगेको छ । आफू मर्माहत हुँदा कसैले मर्म बुझ्ला भन्ने आशाको लहरोमा झुन्डिनु सिबाय के नै हुन्छ र उपाय ?

ढोका खुलै छ है तिम्रो लागि !
साथी झलकले त्यो केटीलाई स्वागत गरेको थियो आफ्नो जिन्दगीमा । तर त्यसरी महत्वसाथ स्वागत पाएकी ‘विशेष अतिथि’ अहिले ऊ बाट निकै टाढा पुगिसकेकी छे । चाहेर पनि अब दुई ज्यान एक हुन नसक्ने रुखो अवस्था । मानौं माया कुनै ग्लू हो, र अहिले त्यो ग्लू विभिन्न सङ्क्रमणले टाँस्ने कामै नगर्ने गरी ‘ड्यामेज’ भइसकेको छ ।

“उसलाई जुन ढोका दिएको थिएँ पस्न, निस्किनलाई त्यही प्रयोग गरेर अलप भई”, झलक सुकसुकायो । पस्ने र निस्किने फरक-फरक ढोका त विशेष समारोह र परिस्थितिबिना कहीँ पनि हुँदैन । उसको कुरा नबुझेर टोलाएर बसेँ । उसको बह भने बल्ल गह भरिएर चुलिएको देखिँदै थियो । आँसु भरिएको आँखा साह्रै बोझिलो भए झैँ काँतर भएर भुइँतिर टाउको घोप्ट्यायो । भुइँको धुलोमा तप्प आँसु खस्दा दुइटा खोपिल्टा बने । “लोग्नेमान्छे भएर रुनु हुन्न लाटा !”, मैले भनिनँ । भावनामा के को लैङ्गिक सबलताको कुरा !

उसको सामु बस्दा कुनै नाटक हेर्दैछु जस्तै लाग्यो । कोही मान्छे कसैको लागि यति मूल्य राख्‍ने पनि हुन्छ ? अचम्म लाग्यो । के गरूँ, कसो गरूँ को अलमलमा भाँसिंदै थिएँ । रुँदै थियो ऊ, तर म डुब्दै थिएँ । झलकले बोलेको संवाद पनि कुनै नाटकमा पात्र पड्किए भन्दा कम थिएन । मेरो अन्तरङ्ग साथी झलक, काठमाडौँ आएपछि नै बनेको । सहरिया आफन्तसँगको डोरी त्यसो त चलनचल्तीमा काँचो हुन्छ, आज ‘हाइ’ भन्यो भोलि ‘बाइ’ भइसक्छ ! फास्टफुड कल्चरले निमोठेको । त्यसलाई उछिनेर हामी छिप्पिएको हाँगोमा मित्रवत सुरेली खेल्न सकेका थियौँ । मनपेट दिएको यस्तो निकट नाता छाडेर अन्त कहाँ पो जान्थ्यो ऊ विरह साट्न ! एकाबिहानै मेरो डेरा नजिकको पार्कमा बोलायो । नक्सालको नागपोखरी पार्क, जहाँ अक्सर साँझपख जोडीहरू कुममा कुम र हातमा हात थुपारेर लोलाउँछन् । 

Osho-Tapoban

“यार, न मैले उसलाई मायाको पूर्ण बोध गराउन सकेँ, न उसले मलाई”, झलकको हिक्क-हिक्क पार्कका मान्छेहरूको चापमा केही सुक्दै निस्किरहेको थियो, “तर कस्तो अचम्म, दुवैलाई थाहा छ आपसमा माया भने छ ।” पूर्ण बोध । यही दुई शब्दमा मेरो मथिङ्गल हतकडीमा जस्तै अल्झियो । कस्तो हो यो, मायाको बोध गराउन नसक्ने/ नहुने तर माया भने आपसमा हुने अवस्था । खै, आफू मायाको खेलाडी नपरिएको बबुरो परियो, अन्योलले धमिलो भो दिमाग ।

“त्यसो भए के बिग्रेको रहेछ र ? दुवैलाई थाहा रे’छ एकले अर्कालाई प्रेम गर्छौ भनेर, बिस्तारै पो गाढा बन्ने हो त माया ।”, ढाडस दिन खोजेँ, तर मेरो सान्त्वना दिने तरिका नै खै के नमिले जस्तो बनावटी लाग्यो बोलिसकेपछि । तर यी दुई चखेवाले आफू र आफ्नो माया पवित्र रहेकोमा आपसमा खुबै प्रतिस्पर्धा गर्दा रहेछन् भन्ने बुझ्दै थिएँ । यही अहम्‌को टकरावले पो दुईको कलिलो माया खाएको हो कि ?

“होइन यार, कसले कसलाई महत्व दिएको र नदिएको कुरामै सधैँ चर्काचर्की भएर हैरान भइयो अनि मैले आफैँले ब्रेक अप देको“, बल्ल उसले अलिकता सत्य ओकल्यो । यो सत्य नाभीबाटै निचोरिएर आए जस्तो नमीठो भएर छायो पार्कको परिवेशभरि । आफूले गरेको माया साबित गर्नुपर्ने परिस्थितिबाट गुज्रिएछ केटो । मैले पनि आफ्नो स्कुले बेलाको प्रेम सम्झेँ । बुबाको पैसा चोरी-चोरी कसरी मैले उसलाई चाँदीको औँठी बनाएर चिनोस्वरूप दिएको थिएँ । केटीको नाम ‘स’ बाट सुरु हुन्थ्यो । औंठीको बिटमा ‘S’ खोप्न लगाएर दिंदा कम्ता रमाएकी थिइन ऊ । तर गाउँमा त्यो पनि ७-८ कक्षामा पढ्ने त्यो किशोर बेलामा, कहाँ पो खुला रूपले प्रेमालाप गर्दै हिँड्न साहस हुन्थ्यो र । घरमा केही गरी खबर पुगेमा छाला काढ्लान भन्ने त्राही । माया मनभरि भए पनि एउटै स्कुलमा अलि जुनियर क्लासमा पढ्ने ऊ सँग भेटघाट र गफगाफ गर्ने क्रम बाक्लो पार्न सकिनँ । यसै कारण उसलाई मबाट मायाको महसुस कम हुँदै गयो । ऊ चिठी पठाउँथी, मलाई जवाफ लेख्‍न पनि डर लागेर आयो । तर्किन थालेँ । ऊ सँग मेरो हल्का भेटघाट र बोलचाल देख्‍दा नै स्कुलका एकथरी बाउँठा केटाहरूले खिसीटिउरी र आलोचना गर्न थालेको पाउँदा आफूलाई निकै सम्हालेर खुम्च्याउन थालेको थिएँ । समयक्रममा म एसएलसीपछि थप पढाइको लागि सहरतिर पसेँ । ऊ उतै गाउँतिरै छुटी । अन्तरालमा उच्च शिक्षाको लागि ऊ काठमाडौँ नै आइछे । कसो-कसोगरी सम्पर्क भयो । भेट्दा त्यो पुरानो मायालाई फेरि निरन्तरता दिन सकिन्छ कि भन्ने प्रस्ताव राखेँ । ऊ ढक्क फुली – “हुन्न, कसरी-कसरी यति लामो समय मैले एक्लै पार गरेर आएको छु । अब एक्लै बाँच्ने ।” तैपनि आस लागेर आयो । उसका औंलामा आफ्नो चिनो खोज्दै हातमा हेरेँ, चासो लागेर औंठीबारे सोधेँ । उसले कति सजिलै ‘हरायो’ भन्ने  जवाफ दिई । बाफ रे ! म कति पिरोपनमा रुमलिएँ, त्यो पिरो वेदनाले छिनमै जलेर कायल भएँ । त्यही जलन हो के माया ! जुन माया त्यो दिनपछि उसलाई मैले कहिल्यै देखाइनँ । कहिल्यै भेटिनँ । ऊ यही काठमाडौँ सहरमै त छे । उसलाई मेरो मायाले नराम्रो लाग्ला कि भनेर मबाट जोगाउँदै छेउ लगाइरहेछु …. ….

मायामा न जित हुन्छ, न त हार नै भन्ने सुनेको थिएँ । माया गर्ने मान्छे दुवैले जित्छन् रे । तर मेरो अगाडि पिलपिलाइरहेको झलक प्रतिस्पर्धा र अहम्‌ले माया चुँडिएको पीडाको कथा बताउँदै थियो । कथाको स्रोता भन्दा बढ्ता हुन नसकेकोमा म भने चुकचुकाउँदै थिएँ ।

“उसलाई साथीसँगै जीवनसाथी बनाउँदा मनैबाट म कति ढुक्क थिएँ, कति बलियो बन्दै थिएँ”, झलकको गला सुन्निएर आयो, “ऊ भने मेरो हरेक कुरामा गुनासो गर्ने, खालि माया र रेखदेखपूर्ण व्यवहार पाइनँ भन्दै फर्माइश गर्ने भएर बढ्तै गई । कसरी पो सक्थेँ र म यार यसरी तारन्तार गुनासो र बिलौना सहन ?” उसलाई आफ्नो मायाको अवमूल्यन भएको पिरोपनले खुर्सानीकै काम गरेको थियो, आँखा अझै सुनसान हुन सकेको थिएन ।

“जे भए पनि तिमीले आफैँले माया तोड्न नहुने”, बुद्धपुरुषले चेलालाई उपदेश दिए झैँ मैले झलकको टाउको मुसारेँ ।  

“त्यो पीडा मलाई थाहा छ, माया त मैले पनि गुमाएको हुँ नि !”, पोलेको छातीमा हत्केला घिसार्दै बोल्यो, “माया दिएर उसलाई खुसी र संरक्षण दिन खोजेँ, त्यही माया थोरै र झुटो भन्दै ऊ मलाई आफूबाट अलग गराउन ललकारे जस्तो लाग्यो र मैले बिदाइको ढोका खोलिदिएँ । माफ गर कृपा !” कस्तो प्रेमी हो ऊ । हुन त यस्तो विरहबाट घेरिएको उसको अवस्था विचारेर सान्त्वना दिनुपर्ने हो, तर मलाई भने हाँसो उठ्दै थियो उसको भावप्रति । आफैँले सम्बन्ध तोडेको भन्छ, अझै माया गर्छु भन्छ । सहरिया माया यस्तै पागलपनबाट ग्रस्त हुन्छ कि क्या हो, दिमागले कामै गर्न सकेन ।

“पीर नगर यार । अब रोएर के फाइदा ? समयले सबै कुरा ठीक गर्छ । उसको र तिम्रो दुवै जनाको घाउ ठीक गर्छ”, मेरो बोली खै कुन आवेशमा निस्कयो ।

बिहानको कलिलो सूर्य उसको गालाको पहरा भएर पार्कको बीचमा रहेको पोखरीमा खस्यो । पोखरीको पानी पनि चम्कियो । माया साँच्चि उसको गालाको आँसुमा टल्के जस्तो हल्का उज्यालो हुन्छ कि पोखरीको पानीको चहक जस्तो झलमल्ल !? खुट्याउन सकिनँ । उसको त नामै झलक, आँसुकै झलक एकफेरा देखाउँदै फुसफुसायो, “कृपा, मैले तिमीलाई धोका दिएँ प्यारी, मलाई माफ गर ।”

सहरमा झलक जस्ता क्षमा माग्ने मायालुहरू छ्यासछ्यास्ती हुन सक्छन् । तर उसको मायाको गहिराइ उसैलाई मात्र थाहा छ । जुन माया ऊ मरेपछि मात्रै मर्नेछ …. ।

3 comments:

  1. मानौं माया कुनै ग्लु हो ... ।
    आजका प्रेमी-प्रेमिका दुवैका लागि सन्देशमूलक, निकै मन पर्‍यो धाइबाजी । समाज भित्रकै एक रोग भनौं वा फेसन जस्तो बनेको यो माया प्रेमका विषयमा यति मजाले लेख्‍नुएको रहेछ ।
    धन्यवाद ।

    ReplyDelete
  2. यो माया भन्ने चिजै यस्तै हो...

    ReplyDelete