July 29, 2011

स्वयम् सर्वोच्चता

सामान्य भान्सामा अवस्थाअनुसार व्यवस्था गरिन्छ, राजनीतिको भान्सामा भने कुरै अर्को हुन्छ । भान्से चौरासी थरी र पकवान पचासी थरी । यो भान्सामा एकफेरा नागरिक सर्वोच्चताको खिचडी पनि पाक्यो । तर कोही अघाए त मरिजाऊँ ! अगस्तीको श्राप लागेको हो कि भान्से नै उधुम भोका परेर हो, त्यो 'सर्वोच्चता'ले त 'नीचता'को पखाला मात्र चलायो । लुडो खेलको भर्‍याङबाट चढ्ने र सर्पबाट सुलुत्त चिप्लिने जस्तो ।  

प्रयोगमाथि प्रयोग गर्नुमै त टिकेको छ नेपाली भान्सा । यो मेसोमा पालो अब स्वयम् सर्वोच्चताको ! समग्र उच्चतालाई माथ गर्ने सर्वोच्चता । नयाँ विचार र विधिव्यवस्था औपचारिकताको सिउर नचाउँदै कागजपत्रमा शोभायमान बन्नुले अहिलेसम्म केही शुभ लाभ नभए पनि बेलाबेला निस्किने हलुका गफगाफले भने नागरिक जीवनमा उधुमको रौनक भर्छ । स्वयम् सर्वोच्चता त्यस्तै मज्जाको चास्नी हो ।
Pic Source - www.flamewarriors.com बोलीको सम्हालिनसक्नु बाढीमा हेलिएर हलुका रूपमै निस्किएको नागरिक सर्वोच्चता ताछिएर-माझिएर स्वयम् सर्वोच्चताको असली निखारमा पेश भएको छ । यो त्यस्तो भरिभराउ कन्तुर हो, जसलाई जति खर्च गर्‍यो त्यति नै बाँकी रहिरहन्छ ।

अरूलाई महान् र महापुरुष ठहर्‍याएर पछि लाग्दालाग्दै पिपलको फेदमा ओझेल परेको बोन्साइवृक्ष भएको छ आज मान्छे । नचाहँदानचाहँदै नोकर साहू सर्वोच्चताको लागि आफू घोटिनेपिसिने गर्छ । अकुशल मास्टरजीको सहज जागिरयात्राको बन्दोबस्त मिलाइराख्‍न 'गुरुदेवो भवः' मन्त्र जप्दै चुपचाप लाटो कक्षाकोठा स्विकारेर आदरभावको सर्वोच्चता कायम गर्छन् चेलाचेली । यसैगरी, हो मा हो मिलाउँदै आज्ञापालन र कर्तव्यको एकसूत्रीय मैदानमा नेतागिरीलाई वैतरिणी तारेर खुबी सर्वोच्चता साबित गर्छन् कार्यकर्ता ।

यी सबै सर्वोच्चता स्वयम् सर्वोच्चताको सामु चित खाएर ढल्छन् । कारण, एकबाटै सुरू भएर अनेक हुने सामान्य सत्य मान्ने हो भने स्वयम् सर्वोच्चतामा लाहाछाप नलगाई सुखै छैन । स्वयम् बाटै बढेर समाज र समूह बन्ने भएकाले स्वयम् सर्वोच्चतालाई केन्द्रविन्दुमा राखेर पवित्र स्वयम्-सेवा नगरी समाज सेवा गर्न असम्भवै हुनजान्छ । अरू सामाजिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय सेवा गर्ने अभिभारा पूरा गर्नमा पनि स्वयम् सेवालाई आभ्यासिक चरणमा उपयोग गर्न सकिएला । स्वयम् सर्वोच्चताको लाभदायक पाटोलाई व्यक्तिगत नाफाखोरको साँगुरो वृत्तमा मात्र नहेरी यसरी बहुआयामिक रूपमा पनि हेर्नुपर्ला । 
   
डार्बिनको विकासवादी सिद्धान्त, न्युटनको चालसम्बन्धी नियम आदि घघडान वैज्ञानिक विषयको प्रतिपादन हुनुअघि नै स्वयम् सर्वोच्चताको मनमौजी अवधारणा निस्किएको हो भन्दा फरक पर्दैन । संसारका सवै जीवले आफू जतिसुकै पिउसे र पिन्चे होऊन्, आफ्नै बडप्पन र उँचाइको डिङ हाँक्न छाडेका होइनन् । अरू त अरू, हुल्लडवाज केटाकेटीको निशानामा परेर सलाईको बट्टाभित्र कैद भई भ्वाइँभ्वाइँ कराउने खेलौना रेडियोमा अनुवाद भएको गोब्रे किरो समेत त्यो भ्वाइँभ्वाइँ गुन्जनमा जब 'मैँ हुँ मैँ हुँ' भने झैं छनक दिन्छ अनि त यो स्वयम् सर्वोच्चताको नारा साँच्ची नै सोह्रै आना मनासिब लाग्छ । जब प्राणीको सृष्टि भयो र त्यसमा पनि मानवजाति पृथ्वीमा आयो, स्वयम् सर्वोच्चताको पूजाकक्ष सधैँ जगमग रहिआएको छ । त्यस पूजाकोठामा कसको तस्बिर प्राथमिकतापूर्वक पुजिन्छ ? कुरै छैन, पूजारी स्वयम्‌कै पुजिन्छ ।

देश चलाउने राजनीतिदेखि परिवार चलाउने घरनीतिसम्ममा स्वयम् सर्वोच्चताको अनलिमिटेड डिमान्ड देख्दा यो लरतरो पाराको जिनिस त होइन रहेछ भन्ने प्रस्ट हुन्छ । स्वयम् सर्वोच्चताको मोहनीले लटि्ठन थालेपछि दल, गुट र मण्डलीले नपुगेर सग्लै आफैं मात्रको एकसदस्यीय उच्चस्तरीय स्वयम्सभा निर्माण गर्दा पनि नपुग्ने भइसक्यो अब । यो विकासवादी यात्राकै प्रमाणचिन्ह हो । आफूले भनेको केही भएन र आफ्नो सोचाइअनुरूप काम बढेन भने यहाँ स्वयम् सर्वोच्चता कायम भएन भन्दै उफ्रियो-पाफ्रियो समस्या टरिहाल्छ । सर्वोच्चता दुरुस्तै राख्‍ने काम अरूको जिम्मा ।  

1 comment:

  1. कुरा कत्ति कत्ति, उदाहरण कत्ति कत्ति!
    मज्जाको छ!

    ReplyDelete