Subscribe:

Ads 468x60px

22 January 2012

आज दुवै आँखा गुमाएँ …

{ Attachment brings suffering }

पत्रमित्र साथी,
हस्याङफस्याङ गर्दै बरालिएको जिन्दगीमा तिमीलाई जमेको माया !

तिमीलाई पत्र लेख्‍न बस्दा हातभन्दा बढी मन काँपिरहेको छ । अदृश्य मनको कम्पन कति ज्याद्रो हुन्छ, तिमी बुझ्छौ नि ? यो पत्र तिमीले स्वीकारै पो गर्ने हौ कि होइनौ, डर यत्ति छ । म बेठेगानामा त निशाना ताकिरहेको छुइनँ नि ? आजको समय पल-प्रतिपल रफ्तारमा छ, साइबर युगमा सूचना-सन्देशको प्रसारभन्दा तीव्र रूपमा परमाणु विस्तार र विरोधी स्वरको होड छ विश्वमा । यस्तोमा तिम्रो मन मात्रै स्थिर रहला भन्ने के ग्यारेन्टी ! तिमीभित्र चञ्चलताले जुरो उठाउँदो हो यदाकदा । यसै पनि हामी आधुनिक मान्छे यथास्थितिवादमा विश्वास गर्दैनौं अचेल । यसबीचमा तिम्रो चायादार कपालले विदेशको चिसोमा अझै चायाको च्यादर ओढे होलान् ( कि पायौ त्यहाँ प्रभावशाली सेम्पुको स्याहार ?), मेरो मनमा पनि टाँस्यो होला समयले असंवेदनशीलताको  पत्रे चट्टान । त्यो चट्टान च्यात्दै यति एउटा पत्रको भाकाTear... Pic Source - www.sirpatrickofireland.wordpress.com भए पनि तिमीसम्मन् भर्न खोज्दैछु । कोसौं पर रहेको परदेशमा बस्न पुगेकी नितान्त तिमीलाई मेरो भावनात्मक भुल्का ।

भुल्काको कुरा गर्दा भुल्का-भुल्का रगतको सिर्का छर्ने मेरो मुठीदार मुटुको कुरा सुनाउने व्यग्रता जाग्यो । तिमीसँगको भौतिक दूरीपछि मेरो मुटु कुनै बालकको हातमा पुगेको सलाइको डिब्बा बनेको छ, जसलाई त्यो बालकले खेल्ने नाममा यति जोडसाथ हल्लाएको छ – बढ्ता टङ्कारको कारण त्यसको चालसम्मको होश अब छैन मलाई । म जिउँदै त छु ? चिमोट्ने नङ पनि हिजो मात्रै काटिहालें । यो पिरो मुटु कति पोल्छ भने, मानौं तन्दुरी ढावामा प्रतिपल सेकिइराख्‍ने तावामा छुटेको रोटीको टुक्रा यही मुटु हो !

“हजुर, अरु सब ठीक छ निऽऽ ?”, हल्का लेघ्रो ताने जस्तो तिम्रो चिरबिर बोलीको एउटा केस्रा यतैकतै अलमलिएको छ, अझै यो सहरमा । सहरको किनारमा बसेर म आवाजहरूको बाढीमा तिम्रो त्यो आवाजलाई बेलाबेला केलाउँछु र त्यसमै अल्झिन्छु । अनि त म आफूलाई नै केलाएर झिक्नुपर्ने स्थितिमा हराइसक्दो रहेछु । “म ठीक छु प्यारी !”, यो जवाफ दिने ठीकठाक अवस्था पनि मेरो रहँदैन । यो सहरमा अचेल हिउँद यामको कारण मात्र घाम नलागेको होइन, सूर्यमूखी फूल बगैंचाबाट निमोठिएर कतै अन्तै पुगेको छ !

यताको घाम उता सूर्यमुखीको बस्तीतिर बसाइँ सर्‍यो कि ?

तिमीसँगको छोटो समयको सङ्गत, मैले जिन्दगीको लामो र गम्भीर पाठ पढें यसबीचमा । आत्मीयताको लागि भौतारिंदा मान्छेले सबै साँध-सिमाना नाघ्नुपर्ने स्थिति किन आउँदो रहेछ ? एकबारको जिन्दगीमा मान्छेले खुसीसाथ जिउने चाहनामा निचोरिएको मुटु कति मरेतुल्य भएर तपक्क आँखाको किश्तीमा सजाउने रहेछ ?  र सबभन्दा ठूलो कुरा, सुख-सुविधाप्रतिको दौडाहा चल्ने आजको जमाना पनि मान्छेमा मान्छे मात्र भएर बाँच्ने भोक कति रहेछ ? उफ् ! भतभती भयो छाती ।

तिमी केटी, म केटा । भेटघाटको आरम्भिक समयमा आपसको अपरिचय तोड्न कम्ता मुश्किल परेन । बोल्न नखोज्दा-नखोज्दै, नसक्दा-नसक्दै बोलियो कि, बोल्दा बोल्दै बोल्न सकिएन, जोर रिबन भएर हामी सम्बन्ध नामको चुल्ठोमा बाटिएछौं । थाहा पाउँदा खोल्नै नसक्नै गरी गाँठो परिसकेछ त्यो रिबनमा । छुट्ने बेलामा बिदाइको हात हल्लाउने तर्खर गर्दा पो हात उठ्यो, हल्लियो पनि । मन भने नराम्ररी थला परेछ । यसको औषधि सात समुद्रपारिकी तिमी नै हो भन्दै प्रेस्क्रिप्सन बनेर आऊ पनि भन्न नसक्ने परिबन्दमा म छु । परिबन्द कस्तो हुन्छ भन्ने कुरा आतंकवादीको चपेटामा परेको कुनै निरीह परदेशी वा छोरो बेपत्ता भएर ईश्वरको पूकारामा दिनानुदिन हृदय भष्म बनाइरहेकी आमालाई सोध्नुपर्दैन । तिमीलाई नै सोध्छु म प्यारी, कस्तो हुन्छ परिबन्द, विवशता ? त्यसको जवाफ स्वयम् तिम्रो जीवन हो यतिबेलाको, म यसको छटपटी देखिरहेछु र आफैं पनि झन् छटपटाइरहेछु । मन करप्प निमोठेर वियोगको सौगात एकापसलाई विनिमय गर्ने २१औं शताब्दीका हतभागी जोडी हाम्रै हो ।

मैले तिम्रो नाम रुचि राखेको थिएँ, रुचि अर्थात् मेरो चाहनाको अर्थमा । मैले मात्र मनैमन चिन्ने र अरूको हेराइबाट तिम्रो पहिचान लुकाउने खोल थियो त्यो नाम । यही खोलको रक्षाकवचमा हाम्रो प्रेमको पालुवा लागेछ । तिम्रो नामिक चिनारीमा सीमित तिमीप्रतिको मेरो रुचि झन्-झन् एकतमासको ध्याउन्नमा परिणत हुँदै गयो र सामाजिक मर्यादाको किल्ला भत्काउँदै मैले दुवैको साझा घरको कल्पनासम्म गरेँ । तिम्रो बिदाइसँगै आज त्यो घर भासिएको छ कहिले नबन्ने गरी  । रामऽऽ ! कसरी पो बनाएछन् हाम्रा बाजे र बाहरूले घर !! चानचुने काम रहेनछ घर निर्माण । गृहस्थी जीवन झन् कति आङ सेकाउने खालको होला हे दैव !

माघ महिना लागेर पनि मध्य माघतिर समय बढिसकेछ । मैले भने पुस महिनामा थिग्रिराखेको क्यालेन्डर पल्टाउनुपर्ने मेसो नै पाइनछु । हुन त, जिन्दगी नै उही पुरानै पृष्ठमा लडेको छ भने क्यालेन्डर पल्टाउनु-नपल्टाउनुले मात्र के अर्थ राख्छ र ? तैपनि पल्टाएँ, म त अझै तिमीसँगैको दिनहरूमा अल्झिएको रहेछु ।

मलाई नफुकाई आफू मात्रै फाटेर कहाँ पुग्यौ एक्लै ? कि त सुनकेस्री रानीलाई हरण गरे जस्तै कुन राक्षसले लग्यो तिमीलाई सुदूर देशमा ?

'”हामी त आखिरमा बटुवा त हौं, केहीबेरका यात्री”, झोंकाझोंकी चलेको बेला यस्तै कुराले म घुर्क्याउँथें तिमीलाई । ताकि तिमीले त्यस्तो होइन, हामी त सधैंका सहयात्री पो हौं भनिदिन्छ्यौ कि भन्ने आशले । सोइपरी मेरै अपेक्षा बुझेर तिमी प्रेमले बोल्थ्यौ उस्तै नम्र वचनमा । तर आखिरमा हामी बटुवा नै भयौं । खासमा म निख्खर बटुवा । तिमी खोलापारि पुग्यौ, वारि म यायावर जीवनमा चलमलाइरहेछु । पछि कुनै समयमा चिठीपत्रको इतिहास कसैले बनाएछ भने मलाई सस्तो भावुकता वा रुन्चे प्रलाप प्रकट गर्ने पत्र लेखक भनी टिप्पणी गर्ला । रुन्चे प्रलाप नै हो यो । मान्छेको जीवनको आधा पाटो आँसुले भिजेको सत्यलाई म बायाँ कोल्टे सुतेर कसरी छोपूँ ? यो त ह्वाङ्गै छ !

जिन्दगीमा कुनै प्रतियोगितामा सामेल छुइनँ म । थाहा पाएसम्म बाल्यकालदेखि नै प्रतियोगिता-प्रतिस्पर्धादेखि टाढै बसें । पराजयको डरले होइन, कुनै न कुनै रेशको बहानामा नाटकको पात्र नबन्ने सोचका कारण । तिम्रो पछि पनि त म कहाँ कुदेँ र ? खासमा हामी समानान्तर रफ्तारमा थियौं, र त एक-आपसलाई भेट्यौं । तर आज प्रतियोगिताको हिसाबले हेर्दा म रेशमा निकै पछाडि छुटेको धावक हुँ, जसलाई धपेडीले रगत बान्ता हुने गरी खोकी लागेको छ र बाटोमा रङ भर्दै भए पनि ऊ पाइला लतारिरहेको छ । यो रङ तिम्रो लागि मेरो नामको सिन्दूर तुल्याउन सकेको भए कुनै रक्तदान गरेभन्दा निकै पुन्यको काम हुन्थ्यो होला । अब त्यो पुन्य यो जुनीमै सम्भव छैन प्यारी । र झन् महादु:खको कुरो- अर्को जुनीको कुनै विश्वास छैन । यही जुनीमा पल्लो घरको नखुलेको झ्याल अर्को जुनीसम्म पुग्दा सामसुम भित्ता मात्र हुने हो कि !?

यस्तै बेटुङ्गोको अड्कलबाजी छ र नै जिन्दगीमा जिज्ञासा र चाख भरिएको होला । म पनि कुनै मोडमा तिम्रो सजीव छाया देख्‍न पाउने चाखले बाँच्नेछु । बाँच्न पनि रुँदै बाँच्न मान्छेलाई दैवले जन्मैदेखि थमाएको अभिभारा हो कि ? यस्तै लाग्छ । शिशु बेलामा च्याँहा-च्याँहा आलाप भर्ने कलाकार आजीवन कुनै न कुनै बहानामा आलाप तानिरहन्छ । मान्छेहरू रोएर पीडा हल्का पार्ने कुरा गर्छन् । मैले पनि गरें प्रयास । तर अन्तरमा कता गाडिएको खिल, शूल आँसुसँग कहाँ बग्दो रहेछ र ! बरु पानी सकिएको कुवा जस्तै आँसु पोखिएपछिको आँखा मरुभूमि बन्छ । मरुभूमि राम्रो कुरो होइन, मरुभूमिमा सागर हुन्छ भने दु:खको सागर मात्र हुन्छ । तिमीले त्यस्तो सागरमा कहिल्यै हुनु नपरोस् ।

टाढाटाढै वारि र पारि हेराहेर गर्दा न अपेक्षा, न सहयात्राको सोच, न त सपनाकै युगल उडानको कुरा । जसै निकटतामा बाँधिन थालिन्छ, व्यथाको राग छुट्छ । यस्तै अवस्थामा छौं हामी । निकटता भुल हो भन्ने निष्कर्ष अहिले निकाल्ने हो भने आगामी समयमा भावी पुस्ताले सबै कुरामा मानक नै बदलिदेला । समग्र मिलनका कुरा, आपसी सहमति, वल्लो गाउँ र पल्लो गाउँबीचको पुल नै गलत हो भन्ने लाग्ला उनीहरूलाई । किन टुङ्गिन्छ निकटता एउटा दुखाइमा ? किन आत्मीयताको कोमल फुलले बिछोडको भविष्यफल पनि साथै सिउरेर ल्याउँछ ?

यी कुरा सोचिरहँदा केही दिन भयो, मैले केही देख्‍न सकेको छैन । म एकदम अन्धो भएको छु ।

आज दुवै आँखा गुमाएँ
आँसुको जो चश्मा लगाएँ …

अहिले आँसुले पुरिएको आँखाले आगामी दिनमा तिम्रो नयाँ जीवनको खुसी देख्‍न पाउने आशा छँदैछ । मुहारभरि सीमित तिम्रो हाँसो मनसम्म पुगोस् । जीवनमा एउटा मान्छेले पत्रमित्रको प्रेम वियोगमा आँसुको दह बनायो भनेर त्यसमा डुबिनराख्‍नू ।

बाँकी अर्को पत्रमा ।

उही तिम्रो बटुवा ।

3 comments:

  1. कस्ले भन्छ घाउलाई माया गर्नुहुन्न?

    यो कल्पना होला या सत्य होला या अर्धसत्य होला या एकतर्फी सत्य होला, जे भएता पनि यो घाउ सुम्सुम्याएको नै ठहर्याएको हुँ मैले र यो सुम्सुम्याईले जो कोहि घाउ नहुनेहरु पनि कदाचित् सञ्चो भएको महसुस् गर्नेछन् झन् घाउ हुनेहरु त निको नै भैजालान् कि? तर कुरा यो पनि आउँछ कि घाउ लागेका मनहरुले घाउलाई एक घाउकै परिचयमा चिन्नुपर्छ ता कि त्यो अर्बुद बन्न नपाओस् ।

    त्यसैले धाइबाजीको फेसबुकको कुनै स्टाटसमा मैले एकदिन लेखेको थिएँ, 'वास्तवमा यहाँ मन दुखेको ओखती सिवाय अरु केहि उपलब्ध छैन ।'

    ReplyDelete
    Replies
    1. स्यालुट !!
      आफ्नो यो गन्थन सत्य नै हो भनेर जाहेर गर्दागर्दै निकै उपल्लो कोटिको घाउ भोगेको त्यो मनको घाउभन्दा यो घाउलाई सानै मान्छु । तर सबै घाउ दुख्दा रहेछन् । दुखाइको डिग्री र आयु मात्र फरक । र दु:ख बोक्ने भरिया कस्तो छ, त्यसले पनि अर्थ राख्ने रहेछ । यस मानेमा म सधैंको भरिया !

      Delete