Subscribe:

Ads 468x60px

02 April 2013

अरबौं मान्छेहरुमा…

Lonely

विरही गीतहरुमा भन्दा तीव्र रुपमा आजका मान्छेको चित्त दुख्ने गर्छ । यस्तो लाग्छ, चित्त दुख्नैका लागि हो । गलामा गाँठिएर प्याकप्याक हुने गरी अलल्लिन आउने भक्कानो सबैले कुनै न कुनै समयमा नापेको हुन्छ ।

तपाईं सानो छँदा आफूले किनिमागेको जुत्ता बा-आमाले नल्याइदिंदा खुबै चित्त दुखाउनुहुन्थ्यो । त्यो दुखाइ नयाँ जुत्ता लगाउन नपाएरभन्दा बा-आमाले आफूलाई माया नै नगरेको अर्थ्याएर बढ्ता बिझ्ने गर्थ्यो । होइन र ? अझ घरदेखि अलिक पर बा वा आमाको पछि लतारिंदै हिंड्नुपर्दा तिनको साथमा रहन पाउँदाको खुसीलाई अर्कै पीरले उछिन्थ्यो । प्याउले बनेर तपाईं पट्यारलाग्दो हिंडाइको मर्म बुढाबुढीले नबुझेको भनेर मुर्मुरिनुहुन्थ्यो । मुर्मुरिनलाई आफ्नो मान्छे चाहिन्छ । दङ्ग्याउँदै तर्किनका लागि पनि आफैंलाई हेर्दै कोही आइरहेको हुनुपर्छ । आज कसैलाई हेर्नुपर्ने ठाउँमा तपाईं आफैं हुनुहुँदो हो । प्याउलेपनको मार खाने अचानो बनिरहनुभएको होला । चक्र हो । घुम्दै आउँछ र च्वास्स रेट्छ पनि ।

चित्त बुझ्ने र दुखाउने कुरा सानै पनि काफी हुन्छ । मनको नौनी पगाल्न कसैको हत्केलाको प्रेमिल स्पर्शले आरनको रातो र तातो फलामको काम गर्दैन र ? बालापनमा बाको काँधमा बसेर आँगनभरि गरेको सयरलाई हवाईजहाजको उँचो उडानले छुन सक्छ र ? घरछेउमै डगरतिर डुल्दा बेठेगान भएको धड्कनको चाल र सासको गति घर पुग्नासाथै स्वाभाविक रुपमा थामिंदैनथ्यो र ?  ती दिन अब त रहेनन् । र पनि अझैसम्म सम्झना नामको भान्सेले स्वाद चटाइरहिछे । यो भोक समय चिप्लिंदै गएसँगै झन् झन् बढ्नेवाला छ ।

एउटा भोक मार्न पाँच वर्षअघि सुरु गरेको थिएँ एउटा भान्सा । अर्थात् यो ब्लग । भान्साघर जस्तै अनेकथरी परिकार बनाउँदै पस्किंदै आएँ । कसैको आँत भर्न होइन, आफ्नै तलतल मेटाउन । आफैंसँग बात मार्न । यो खुला पाटीमा आफ्नै प्रेमका नांगाभुतुंगा किस्सा फलाकें, लाज पचाएरै सम्बोधन गरें प्रिय मनलाई, आत्मसम्मानलाई चटपटे खाने कागजमा गुटमुट्याएर ढाडै भाँच्चिने गरी आत्मीयतामा झुकें, रोएका रातहरुको ओसिला केस्रा फुकाएँ, सफलता र असफलताका बेग्लाबेग्लै आँसुको क्यानभास टाँगें । होला, कतिपयले यिनैमा आफ्ना कथा र व्यथाको आलो पेन्टिङ भेटेर सुकसुकाउने मौका पाए । मन हलुका पारे । कतिपयलाई बोझिलो ओखर र अर्थहीन गन्थन पनि लाग्यो होला ब्लगका नौरंगी सामग्री । यी रंगहरुमा कसैले छेपारा पनि देखें होलान् मलाई । एक समय मुहार चाटिचुटी पारेर प्रिय चित्र बनाएको अनुहारमा अर्को समय जथाभावी कालो लतपत्याएको हुन्छु होला । तर म त रङहरुको बजारमा मयुर बनेर अ्नुभूति र अभिव्यक्तिको मञ्चमा निस्केको हुँ । उद्देश्यविहीन र मन फुक्काफाल पार्ने लेखनका कारण कसैले केही नभेट्नु स्वाभाविकै हो । निकै अघि एउटा साथीले भन्थ्यो, ‘तिम्रो लेखाइमा केन्द्र नै हुन्न । कुरै हुन्न ।’ अर्कोले भन्थ्यो, ‘जति पढे पनि बुझिन्न ।’ खासमा, म बुझिनका लागि लेख्दिनँ कि ? भन्दाभन्दै बुझिन्न भन्ने समस्या कहाँनेर हुन्छ भन्ने पनि जान्दिनँ । अनि जब जीवन र भोगाइ नै विशृंखलित र विसंगत छ भने लेखनमा शृंखला, संगति खोज्नु सुहाउँदो कुरा पनि नहोला । फेरि विकेन्द्रीकरणको अभ्यास हुन सकेन भनेर संघीयताको विषय उठिरहँदा केन्द्रको हिलोमा जाकिएर किन आहाल बस्नु ? लेखिसक्दा अरुसम्मन् पुगोस् र सम्प्रेषण होस् भन्ने लागे पनि लेखिरहँदा सबै आशक्तिबाट निरपेक्ष हुन्छ लेखक सायद । यसकारण नै लेखाइको क्रम निरन्तर बग्न सम्भव हुन्छ क्यारे । निश्चित हिसाबको खेल भए लेख्नुमा के मजा हुँदो हो खै ! क्यालकुलेटरमा २ + २ को प्राविधिक योगफलभन्दा लेखनको फल अलिक बेग्लै हुन्छ । भलै सत्य र तथ्यको ठाउँ लेखनमा पनि जरुर सुरक्षित हुन्छ ।

राम्रो-नराम्रो जस्तोसुकै प्रतिक्रिया पाए पनि अरुका लागि मेरो ब्लग बेलाबखतको सहयात्री हो । मेरा लागि भने साथीदेखि सन्तानसम्मको साइनोमा फैलिएको छ यो । यसले नै मसँग अपेक्षा र घुर्कीको अस्त्र चलाउने अधिकार पाएको छ । जस्तो कि, अप्रिल एकमै जन्मदिन परे पनि एक दिनपछि मात्रै ब्लगको चर्चामा देखिंदा यसले चित्त दुखाएको हो कि झैं अनुभूति गर्दै छु । आजकाल त्यति हेरचाह नपुगेको सन्तान बनेको छ यो । यति बोध गरे पनि जागिरको दौड, प्रविधको हस्याङफस्याङ र मान्छेहरुको बजारमा म आफूलाई कहाँ कहाँ बेचेर सकिरहेको हुन्छु, पत्तै हुन्न । ब्लगमा आफूलाई हेर्न अनुहार नै बाँकी नरहे जस्तो हुन्छ । २००८ अप्रिल एकमा सुरु गरेको थिएँ ब्लग । आफ्नो भावना अटाउने र खुल्ने नामको खोजी र फेरफारमा धेरै बरालिंदा पछिल्लो समय ‘शब्द’बाट ‘शब्दकोश’ नाम जुराएको छु । ‘शब्द’ एउटा पूर्ण शब्द भईकन पहाडको टाँकुरामा फुलेर झरिहाल्न लागेको फूल जस्तो लागेको थियो । ‘शब्दकोश’ अब आफैंमा पहाडको टाँकुरा लाग्दै छ, जहाँ धेरै फूललाई मगमगाउन निम्तो छ ।

पछिल्लो समय आफैंलाई व्यस्त मान्दै, आफूदेखि छुट्याउँदै लगे पनि मेरो खास पहिचान र मुहार त यही ब्लग रहेछ । नत्र म खै कहाँ छु ? उदयपुर मैले छाडेर हिंडेको दशक नाघ्यो । काठमाडौंको भीडमा म तिलको दाना हुँ कि तोरीको ? लगत छैन । साथीभाइको सम्बन्धमा म भेट भइन्जेलको ‘उपस्थिति’ हुँ, मानौं हाजिरी खाता लिएर बसेको होस् कोही । घर-परिवारसँगको सम्पर्कमा म दूरसञ्चारको अभिवादन र सम्बोधनको दोहोरीमा अभ्यस्त हुँदाहुँदै दूऽऽऽर को सञ्चारकै कोटिमा ‘आवाज’मा सीमित हुन थालिसकें । माया मैले पनि बेस्मारी गरेको हुँ । तर, प्रेमिकाको ओठमा म कतै बाँकी छुइनँ, तिनमा अर्कै ब्रस र कुचीले बढारिसक्यो र त्यही रङ उसलाई सुहाउँछ अब  । आत्मामा परेको छापको त खै के कुरा गर्नु ! आफ्नो छाप नै नक्कली भन्नु वेश होला, दुर्घटनाग्रस्त ट्रकको पिंधमा लतपतिएको सायरी जस्तै अब मेटिइसक्यो । म यतै अक्षरहरुमा छु । यहाँनेर, हैरानी र सास्तीका कुरा छन् भने कतै आँसु होलान्, संघर्ष र जुझाइको कुरा आए भने कतै पसिना होलान् अनि श्रम र लगनको प्रसंग आए भने रगत पनि होलान् ।  वीर्यवान् बाउको सन्तान त्यस्तै तरलताभन्दा अघि बढ्न सकेन सायद ।

मेरो ब्लगलाई, शब्दको यो सासलाई बाँचुन्जेल तातै राख्न सकूँ । बगाउन सकूँ ।

मदनकृष्ण श्रेष्ठले एउटा गीत गाएका थिए –
अरबौं मान्छेहरुमा तिमी एक मन मिल्ने मान्छे
म मन मिल्ने मान्छे भेट्दा संसार नै भुल्ने मान्छे …

सुनेर म किशोरवयमा पनि टोलाउँथें । हुरुक्क भएर गुजुल्टो पर्थें । गीतलाई ओठसम्म डल्लो पारी गुडाएर सुसेलीमै कसैलाई निम्तो दिए झैं गर्थें । यतिका समयमा साउतीको आवाज यही ब्लगले बुझ्यो सायद । मनको भाका यसैसँग मिल्छ । एउटै लयमा गाउँछ यसले ।

जन्मदिनको शुभकामना शब्दकोश !

4 comments:

  1. मेरो पनि शुभकामना । तपाईका लेखाई र शब्द चयनलाई कुन शब्दले बर्णन गर्ने मैले त्यो शब्द खोज्ने दुस्साहस गर्न सकिन ।

    ReplyDelete
    Replies
    1. हार्दिक धन्यवाद सुमनजी ।

      Delete
  2. सधैझैँ मन्त्रमुग्ध...लेखाईको बान्कीले लोभ्याउँछ के मलाई..:)
    शब्दकोशलाई जन्मदिनको मुरी मुरी शुभकामना ।।

    ReplyDelete
    Replies
    1. धन्यवाद ।
      प्रेमपूर्ण हेराइले सबै खोट ओझेल पर्छन् :)

      Delete