Subscribe:

Ads 468x60px

13 August 2008

वार्षिकोत्सव यो पहिलो

प्रिय पल,
पत्र नलेखेको पनि जुग बितिसकेछ । कसरी पो बितेछन् ती क्षणहरू...। बिना वार्तालाप, बिना साउती । अब त कसरी लेख्‍ने पत्र भन्ने जस्तो पो भइसकेछ, औँला नै सरिरहेका छैनन् । र पनि तिम्रो लागि सबै अनकनाइहरूलाई सम्भव बनाएर यो पत्रलाई पूर्णता दिन बुर्कुसी मारिरहेछु । र, आज त विशेष शुभ साइतले मात्र यो पत्र लेख्‍न हुटहुटी जगाएको छ मलाई । तिथिमिति याद राख्‍ने बानी भए तिमीले पनि बुझेकी छ्‌यौ, यो पत्र किन लेखिनुपर्‍यो । तिम्रो लागि मैले गर्ने हरेक प्रयास कसरी पो अर्थहीन हुन सक्छ र !

धेरै पहिले तिमी र मैले एक-अर्कालाई औँल्याउँदै भन्ने 'तिमी' र 'म' बाट 'हामी' भएको अब त एक वर्ष पनि भएछ । अर्थात् एक वर्ष बूढो हाम्रो सम्बन्धको चोला । यसै बहानामा खुसियाली मनाऊँ कि सम्झेर ती युगल दिनहरूको फ्लासब्याक शब्दचित्र उन्दै तिमीसँग आत्मीय साउती मार्न यति सम्बोधन बिछ्‌याएको छु । तिमीलाई त 'के यस्तो नौटङ्की हौ !' भन्ने लाग्दो हो । जे लागोस्, मेरो मनको सबैसबै मिठास तिमीबाट छोपेर तिमीलाई नै सौगात ।
दिनहरूको हिसाबकिताब उतार्दा औँठी बेर्नुपर्ने तिम्रा औँलीहरू फतक्क गलिदेलान् । आखिर एक वर्षका ती दिनको हिसाबमा नाफा-नोक्सान जे-जस्तो छ, हाम्रै हातलागी त हो । भदौ ६ ले अझै पनि आँखाभरि अङ्कमाल गरिरहेछ । त्यो कालमोचन..., कालमोचनभित्रकै एकदिनको आकस्मिक सङ्कट र आफसेआफ मोचन..., खुला सडकमा हजारौँ ट्वाल्-ट्वाल् आँखाहरूको हामीमाथि आगलागी..., आपसमा अनगिन्ती झगडाको तातो घुर र त्यसको ध्वाँसोले पिरिएको हामी दुईको अँध्यारो मुहार..., आरोपहरूलाई चोर औँलाको टुप्पोमा राखी एक-आपसमा निकै नजिकिएर ताकेको घम्साघम्सी तीर..., तर फेरि त्यत्तिकै निकै नजिकिएर आत्मीयता बाँड्दै खितखिताउन भने नसकेको हाम्रो युगल भावदशा..., अनि कहिले भने छिट्टै घुर्कीको डिग्रीलाई मोबाइल फोनको रिङटोनसँगै 'साइलेन्ट' गरेजस्तो फन्किएको त्यो मनमा हँसमुख भाव फिर्ता ल्याउन व्यग्र भई फकाउनुपर्दाको हैरानी...,
कति-कति ती कुराहरू.....।

मेरी पल,
संसारमा आफूभन्दा दोस्रो व्यक्तिलाई बुझ्नु अग्घोरै गाह्रो कुरा हो । र सम्मान गर्नु चाहिँ दाँतबाट पसिना आउने दशा । दाँतबाट पसिना आउनु धनधान्यको लोभलाई भन्छन् क्यार ! मानौँ आजका मान्छे स्वाभिमानको नाममा अभिमानको फुली काँधमा थुपार्ने खुजुरा पैसा हुन्, जो अर्को व्यक्तिको सम्मान गर्दा कसोकसो खर्च भएर सिद्दिउँला कि भनेझैँ सतर्क हुन्छन् । यस्तो सतर्कताको के नै अर्थ ! म पनि त्यस्तै 'सतर्क' मा गोडा फड्कारेर सोझिने पल्टनवाज भइरहेँ कि, खोइ के भएँ म ? स्वाभाविक रूपमा म तिमीलाई परीक्षा दिँदै छु, जाँच्नु है मलाई जाँच्नु । प्राप्‍ताङ्क कति आउला, म त तिम्रै दुई आँखाको हस्ताक्षर-सिग्नल कुरिरहेछु ।

सङ्गत गुनाको फल भन्छन्, तिमीसँगको हिमचिमबाट म मैँ भएर रहिरहन गाह्रो भयो । म अलिअलि मैँ रहेँ होला, धेरै अंशमा त म तिमी भइसकेँ । आखिर म त म रहिनँ प्यारी पल ! तर अचम्म, यो म म नहुनुमा मलाई कुनै अप्ठेरो र आपत्ति छैन । तिमीले बरू मलाई सम्बन्धको सुरूवातताका भनेकी थियौ- "तिमीले मलाई सुरूमा नै (नारायणको पल्पसा क्याफेकी) पल्पसा बनायौ, (पारिजातको शिरीषको फूलकी) बरी म हुन सकिनँ, तर (पावलो कोयल्होको 'द अल्केमिस्टकी) फातिमा बगाउन सकेनौ ।"

यसरी तिमीले औपन्यासिक पात्रको प्रसङ्ग र व्याख्याबाट त्यसबेला मलाई कायल पारेकी थियौ । मैले केही बनाइनँ तिमीलाई प्यारी, तिमीले नै मलाई सबथोक बनायौ । यत्ति हो, पल्पसा नामले तिमीलाई पुकार्न मैले म पराएथेँ । पल्पसा क्याफेकी पात्र पल्पसा वियोगान्त कथानकमा जिन्दगीबाटै भेट्नो चुँडिएर बिलाएकीले तिमीलाई मेरो सम्बोधन 'पल्पसा' पटक्कै मनपरेको थिएन । आह् ! मृत्यु बेहोरेकी पल्पसालाई तिम्रो सन्दर्भमा त्यही असर कसरी पो चिताउन सक्थेँ र म ? मैले सोचेको र दिएको त त्यही नाम थियो, जसलाई पछि तिम्रै अपेक्षाले 'पल' बनायो । मेरी प्यारी पल !

एक पल । एक सेकेण्ड । एक मिनेट । एक घन्टा । एक दिवा । एक रात्रि । एक दिन । एक महिना । एक झरी । एक हिउँद । एक वर्ष । विगतमा यस्तै-यस्तै जोडिएर हाम्रो यात्रा बन्दै आयो यस कुनासम्म । अब अर्को-अर्को कुनासम्म कसरी लग्ने, हाम्रै संयुक्त जिम्मा त हो । सबै कुरा एउटैलाई जिम्मा दिए त पहाडकी रौतेनी दिदी पहिरोको घानमा परेजस्तै हाम्रो यात्रा फुस्सै जान के बेर ! कति आँत पोल्दो हो, केके कुरा निस्किएर घम्साघम्सी पर्छ । दुई भएपछि यस्तै त हो नि, फुइ (आगो) सल्किन्छ बेलाबेला । कहिले रमाइलो मस्कामस्की, कहिले पिरोलिने घम्साघम्सी । सँगैका भाँडाकुँडा त बेलाबेला टकराइहाल्छन् नि । हामी पनि तिनै भाँडाकुँडा हौँ, जो बेलाबेला असमझदारीको रोगनबाट फूर्ति झिकेर टकराउँछौँ । तर टकराएर एकछिन झनन्न टङ्कार छोडेर भाँडाकुँडा पुर्ववत् स्थिर भइहाल्छन् । हामी पनि त्यस्ता सानो भुइँचालो पचाउन सकौँ है ! समयक्रममा कुनै कुराले त्यति टकराउँदैमा यात्राको गाडी छुटाउने मोड नमोडिनू है ! सानो कुराको झिल्कोलाई मुस्लिँदो ज्वाला बनाउन मनैमन हूरीबतास नफुक्नू है ! है प्यारी ?

अब ओर्लिन्छु यो पत्रबाट । वार्षिकोत्सवको हल्लाखल्ला भीड यसपाली यिनै शब्दहरू भए । पाहुना पनि शब्दहरू, अनि सत्कार टक्र्याउने पनि शब्दहरू नै । यो उत्सव यस्तै भयो । अनि तिमीलाई उपहार !?
- त्यो त सबैसबै मैँ हुँ तिम्रो लागि । लौ, ग्रहण गर ।
राख है जतनले ।
प्यारी पल, बिदा !
अगस्ट १३, २००८ (नक्साल)

2 comments:

  1. नितान्त निजी 'पल' संग जीवनको मानसरोवर ( अझ मन सरोवर भने बेश होला ) मा हामीलाई पनि हेलाउनु भएकोमा ब्यक्त गर्नै नसकिने खुशी लाग्यो । पत्रमा उल्लेखित मनहरु (तपाईंको र 'तपाईंको' ) को सरोवरमा सुन्दर कमलहरु फूलीरहुन - शुभकामना छ ।

    पहिलो पटक तपाईंको क्याफेमा छिर्दा गरेको कमेण्ट प्रति कता कता अफसोच छ म भित्र । सामान्यतया हामी मान्छेमा कुनैपनि कुरा झलक्क हेरेर टिप्पणी गर्ने जुन स्वभाव हुन्छ - त्यो त्यसैको उपज मात्रै हो भनेर बुझिदिनुहोला । मैले बढ्ता जान्ने हुन खोजेको जस्तो देखिएकोमा भने स्वयं शरमले पानी भएको छु ।

    ReplyDelete
  2. ढिलै भएपनि बार्षिकोत्सवको शुभकामना
    पलहरु , जिवनहरु
    जिवनका पलहरु
    सधै‌ बगिरहून
    यसैगरी

    ReplyDelete