Subscribe:

Ads 468x60px

13 June 2009

तिमी रहे मुलुक डुब्न्याछ !!



केही वर्षअघि एउटा फिल्मी गीत खुबै चलेको थियो, उखानलाई उसिनेर पचाएको त्यस गीतको भाकाले भन्थ्यो-
"बुझ्नेलाई इशारा काफी छ,
नबुझ्नेलाई पिरती भारी छ….. ।"

यो 'भारी'पनको यथार्थलाई पिरतीको भुलभुलैयामा रङमङिनेहरूले त्यसको मादक घुलाइबाट फुर्सद पाएर कतिबेला बुझ्न भ्याउलान्, त्यो अर्कै कुरा हो । तर, बुझेर पनि बुझपचाउनेहरूको एउटा जमातका कारण भारीपन क्विन्टल र टनदेखि पनि बढेर विष्‍फोटको तहमा उक्लिँदै गएको भान हुन थालेको छ । त्यो पनि हाम्रै नेपालमा । कुरा हो देशको राजनीतिको, कुरा हो नेताको अनि कुरा हो नेताको बगलीमा तैरिएको सपनाको माछो खाने धुनमा नेताको मयलको गन्धलाई समेत 'वाह माछो-सुवास !' भन्ने विश्‍वासमा पछ्‌याइरहेका जनता-जनार्दनको हूलको । अनि खास चाहिँ, यही नेपालको रङ्गशालामा खेल र खेलाडीको उछिनपाछिन गहिराइबाट नाकै ठोक्किने सतहमा आइपुग्दा पनि 'मूर्खदेखि राम डरायो' भन्ने उखान काखी च्यापेर तर्किँदैछन् सर्वसाधारण, निरीह भावदशामा । आशा गर्दागर्दा हारेको थकित ज्यान लतारेर यावत् कुरामा आफ्नै खतरनाक सहनशीलतादेखि भयभीत छन् उनीहरू ।

खेलाडीहरूले खेलको तौरतरिका जान्नु अत्यावश्यक र बढ्ता जान्नु र बठ्याईँ अपनाएर विभिन्न घुमाउरा नियमहरूसम्म पहुँच विस्तार गर्नु चाहिँ खतरनाक हुन्छ । आम खेलविज्ञानले पनि यही भन्दो हो- चाहिँदो मात्रामा बुझ, त्यसैको दायराबाट विजेताको ताज हासिल गर । तर कहीँ नभएको जात्रा नेपालको नमूना मैदानमा देख्‍न पाइन्छ- घघडान रेफ्री र कोच यी खेलाडीहरूको अराजक शैलीलाई नै मानक खेलप्रणालीको रूपमा स्विकार्न अभिशप्‍त छन् । कारण, बहुमतको कदर गरिने लोकतान्त्रिक परिपाटीको 'अत्याधुनिक' रूप भीडतन्त्रमा अभ्यस्त हुँदै नागरिक सर्वोच्चताको मोहक नाराबाट स्वयम् सर्वोच्चताको लाभदायक शिखर आरोहणतर्फ हान्निएको छ । आफूअनुकूलको गफ लगाइदियो, हल्ला छरिदियो, गीत गाइदियो, भाकल गरिदियो, सडक उचालिदियो; काम तमाम ! लाज पचाएरै लाजको व्यापारलाई फाइदाकारी रूपमा भजाउन तल्लीन छन् नेतृत्वका शिरहरू । सम्हाल्ने, समन्वय गरिदिने कर्तव्यबोध कसैले आफ्नो ठेकेदारी कित्तामा राखेकै छैन ।

कति दुर्भाग्य छ भने, आफ्नो माटोको गन्धदेखि 'एलर्जी' भएर विदेशी आकाशमा सयरको मौका छोप्नेहरूको हातमा देश गएको छ, आफ्नो मुठीभरका मनमानी गुटको मुद्दालाई 'जनताको' भन्ने थेगो बसालेका अराजक हूलको पोल्टामा जनमतको काँटा भारी हुनगएको छ । सबैभन्दा बढी आशा गरिएको/भर परिएको र पाका मान्छेहरूको भीड भएको समाजवादी दल 'अल्लारे' अदबमा देखिएको छ । अनि अल्लारे युवाहरू भने दिनदिनैको गाईजात्रै राज्यव्यवस्थादेखि आजित भएर हतासपनको सिकार भएका छन्, ढाड नै उठाउन नसक्ने गरी ।
पैसाको जोहो गर्न सक्नेहरू कमाइ, पढाइको लागु विदेश जालान् तर विवश अनुहारहरू त यस्तै राज्य-रमिताको साक्षी बस्दै दिन गन्ती गररिरहन बाध्य छन् । भएको थोरै पैसा लगानी गरेर केही व्यापार-व्यवसाय गरौँ भने देशको स्थिति सहज छैन, भरपर्दो वातावरण र लगानीको सुनिश्‍चितता छैन, यत्तिकै बसौँ भने घर-परिवारमा बेरोजगारको बिल्ला, विदेशमा कमाइ गरिरहेका साथीभाइमाझ खिसीटिउरीको पात्र । विदेशै गइसकेका कतिपय भने भनेजस्तो तलबपानी र व्यवस्था नभएकले तथा ठगीको मारमा परी हार खाएर फर्किएका छन् र पैसा फस्ने भयले मन भएर पनि अर्को चोटि हत्तपत्त आँट्दैनन् । जम्मामा, गरूँ न मरूँको भावदशामा चाउरिएका छन् युवा । कुबेलामै केश फुलेको छ, जाँगर र आत्मबल घाटको ताजा लाशसँगै सती गएको छ तिनको ।

दरिद्रभन्दा दरिद्र कोटिको जीवनचर्याको केन्द्रविन्दुमा पनि राजनीति हावी भइआएको परिवेशमा राजनीतिभन्दा पर रहेर सोच्न खोज्दा पनि यसको अमिवा औँलाहरूले गाँज्न छाड्दैनन् । राजनीतिले अरू सारा सामाजिक जीवप्रणाली र गहिरो संवेदनशील मुद्दालाई पनि ओझेल तुल्याइदिएको छ । जगत्‌मा राजनीति चर्किएको छ, रगतमा त्यही राजनीति लहरिएको छ । दुर्गम गाउँको रोगी हाटबजारमा डढेको तेलको खिर्‍याउने हरकसँगै लपेटिएर आउने मुरही, ढुङ्ग्री, कचेरी, चप आदिको खुद्राखाद्री खाजाको परिकारमा राजनीतिको बाछिटा जब चल्छ, सबै बगाएर केवल एकपातो प्याल्‌प्याले कागज मात्र बाँकी बस्छ हत्केलामा । सहरको अचाक्ली हडतालमा रिक्साको त्रिखुट्टी नचाउँदै बन्द सवारीको विकल्पमा अवसर के छोपेको हुन्छ धनुषाको लखनदासले, हेर्दाहेर्दै यही राजनीतिको नौटङ्कीले नामुद कार्यकर्ताको कुशलताको 'स्याहार' पाएर उसको रिक्सा दुई मुठी कवाडीमा परिणत हुन्छ ।

विकल्पको अनुहार खोज्दा जनताले आलोपालो उनै दर्जनजति अनुहारको घेराबन्दी पाए जनताले, सत्ताको कोठेपदमा । जहाँ ती जनता नामका रमितेहरू कोठेपदका कालो कोठाजसरी मूल्यहीन, जीवनहीन र उपेक्षित बन्दै गए । कोठेपदको गहुँगोरो कोठामा लमकलमक घर कोर्दैजाने पात्रहरू तै बदलिए, प्रवृत्ति ऊँटको पिठिउँमा आसन जमाएर उस्तै कुरुप चालमा लस्किरह्यो यो कुना, त्यो कुना । जनता तिनका त्यो खेलका कि त माइक भए, कि माइक्रोफोन । फुकिँदा-फुकिँदा कान सुन्निएको दर्दनाक विपनामा यी जनता 'नयाँ नेपाल'को मिटरब्याण्डभरि घुमिफिरी उही एउटा स्टेशन र अर्को स्टेशनको धोद्रो सुरमा लट्ठिने 'ड्रगिस्ट' बनाइएका छन् । स्वप्नजीवी यी 'जन-ड्रगिस्ट'को काम अरू के हुन्थ्यो, आश्‍वासनको ट्याब्लेट खायो, नशाले मस्त भएर गर्वशाली नाक मुसार्‍यो-बस्यो ।

रणबहादुर शाह जस्ता सनकी र कामाशक्त राजाले पनि खोइ कस्तो विवेकको सुई चलेर हो भनेका थिए त्यस समयमा- "म मरे मुलुक डुब्न्या छैन, भीमसेन मरे मुलुक डुब्न्या छ ।" तर वंशज परम्परामा लतारिँदै आएको राजतन्त्रपछि अनेक यत्‍नले हासिल प्रजातन्त्र, लोकतन्त्र र लोकतान्त्रतिक गणतन्त्र वहालीको रोमाञ्चकारी यस अवस्थासम्म आइपुग्दा पनि त्यसरी कसैलाई 'फलानो नभए मुलुक डुब्न्या छ' भन्ने सुयोग्य अनुहार नदेखिनु राष्टट्रिय विस्मात् हुनगएको छ । शोभायमान पद खाली-खाली छ । आज अनेक खेल, जालझेल गर्दै प्रयोगशालापछि प्रयोगशाला देशलाई बनाइसकेपछि र अवसरपछिको अवसर जनताको वाहुलीबाट थापेर पनि चेतबाबा काशी नभएका, यी मुटु र शिर सुदूर शौचालयतिर बुझाएर आएकाहरूलाई कुन संज्ञा र उपमाले सम्मान गर्ने ?

यसो हेर्दा, उहिलेदेखिको आधुनिकतम नेपालको यात्राक्रममा गोरखा दक्षिण वाहुदेखि अनेकका त्रिशक्ति पट्ट बाँडिएको ऐरेगैरे असीमित सूची सम्झिँदा अहिलेका नेताहरूलाई दिन बाँकी कुनै पदक, तक्मा बचेको छैन । सिवाय, अन्तिम वाणी: "वत्स (अर्थात् हे बच्चा) ! तिमी रहे मुलुक डुब्न्याछ !! केही त पुन्य गरिदेऊ !!!
तिमी नरहे पो केही हु्न्थ्यो कि यहाँ ?"

11 comments:

  1. भद्रगोलको यो परिस्थितीलाई यति भद्र हिसाबले लेख्नुभयो । सँधैंझैं लेखाईले मोहनी लगायो । हिंड्दै जाँदा बाटोहरु दोहोरिनुलाई स्वभाविक मानेपनि त्यो नीरस हुन्छ नै तर हिँडीरहँदा बाटो पक्कै फेरिन्छ ।

    ReplyDelete
  2. जोतारे धाइबाजी गजब लेख्नु भयो तपाईले। बढो उत्तम तरिकाले परिबेशलाई छछल्कयाउनु भयो। ईतिहासले शायद त्यसै भन्थ्यो होला तर अब परिबेश फरक छ र यिनिहरु देशले धान्नै नसक्ने गरी मोटाएका छन्। तर पनि जोतारे धाइबाजि यिनिहरुबाट पुन्य हुने कुनै आशा भने छैन मलाई त। उत्कृष्ट लेखन।

    ReplyDelete
  3. राजनीति ले सबै कुरा म प्रभाब पारीसक्यो। अरु त के भन्नु र बिध्यालय समेतलाई पनि।

    ReplyDelete
  4. साह्रै सशक्त विचार राख्नुभयो। सधैं तर मारेर बसिरहेका ब्यक्तिहरुको एउटा समूहलाई डाँडा कटाउनु देश बनाउने पहिलो कदम हो, तपाईँले भनेजस्तै। तिनले न आफू राम्रो गरेका छन्, न नयाँ विचार-नयाँ पुस्तालाई आउन दिएका छन्।

    ReplyDelete
  5. शालीनतापूर्वक बढो मजाले दह्रो चडकन मार्नु भएछ।
    पुरै लेख र विशेष गरी लेखको अन्तिम वाक्यमा मेरो पनि पुरै समर्थन छ। म पनि भन्छु:

    वत्स तिमी रहे मुलुक डुब्न्याछ !! केही त पुन्य गरिदेऊ !!!

    ReplyDelete
  6. यथार्त भावनाको चडकन रुपि लेखले मनमा शितलता दियो धाईबा जी । तपाइको बिचार र अनुभूतिहरुका डायरिमा लुकेका मनोबृतिहरुको जस्तै बिकास आम जगतमा हुनु जरुरी देख्छु म त ।

    साच्चै पो उनिहरु नरहेमा बन्थ्यो के त मुलूक?
    भनेर सोच्नु पर्ने बेला आइसक्यो अब ।

    ReplyDelete
  7. शाहित्यिक झटारो राम्रै तरिकाले हानु भएछ धाइबा जी, अहिले को परिस्थितिलाई सुहाउँदो भेट्टाएँ खुशी लाग्यो।

    ReplyDelete
  8. व्यङ्ग्य ले ठाउँमै छोएको हुनुपर्छ । यो हाम्रा नेतृत्व गर्नेभन्ने शिरहरु ले हाम्रा लागि कहिले सोच्दैनन् । तिनीहरु ले लाज घिन सबै पचाइसकेकाछन् ।

    ReplyDelete
  9. कडा दम दिनु भो धाईबा जी | यी नेताहरु बाँकी रहे देश डुब्ने नै स्थिति रहेको छ ...

    ReplyDelete
  10. साह्रै गज़बको व्यंग्य पस्कनु भयो, धाइबाजीको सुमधुर साहित्यिक मिठास अरु बेला जस्तै यो चोटिलो व्यंग्यमा पनि अनुभुव गर्न पाइयो। देशलाई विनाशको प्रयोगशाला बनाउनेहरुलाई यहि अन्तिम वाणी बाहेक अरु केहि भन्न सकिने अवस्था भएन ।

    "सहरको अचाक्ली हडतालमा रिक्साको त्रिखुट्टी नचाउँदै बन्द सवारीको विकल्पमा अवसर के छोपेको हुन्छ धनुषाको लखनदासले, हेर्दाहेर्दै यही राजनीतिको नौटङ्कीले नामुद कार्यकर्ताको कुशलताको 'स्याहार' पाएर उसको रिक्सा दुई मुठी कवाडीमा परिणत हुन्छ ।"

    आज अनेक जालसाजी गर्दै सिंगो देश नै लखन्दासको साइकल, त्यसपछि कवाडीमा परिणत गर्न कम्मर कसेर लागि परेका छन यी अनगिन्ति तक्माधारीहरु, अब यिनलाई डाडो पो कसरी कटाउने?

    ReplyDelete
  11. धाइबा जी, को यो चोटिलो र घोचिलो
    बाणले आजका यि मुलुकमाराहरु लाई
    च्वास्स घोच्नुपर्नेहो, तर लाज नभएका
    हरुलाई जती भनेपनी कमैहुन्छ कि कसो
    मित्रहरुहो?

    ReplyDelete