Subscribe:

Ads 468x60px

14 June 2009

समय-प्रस्थान

केही समयअघि माइसंसार.कममा एउटा तस्बिर देखेँ, झ्वाट्टै पिरो भएर आयो मन । तस्बिर हेरेर कविता लेख्‍न आह्वान गरिएको पोष्‍ट थियो त्यो । के झोँक चल्यो कुन्नि एकै मेहेरोमा कविता लेखिभ्याएँ, र उक्त ब्लगमा कमेन्ट बक्समा खसालिदिएँ पनि । नत्र हत्तपत्त त्यसरी सार्वजनिक मञ्चमा र प्रतियोगीतामा हात हालिहाल्न मन लाग्दैनथ्यो, कविता लेखाउनमा तस्बिरकै हुटहुटीले काम गर्‍यो होला , यतिखेर यस्तै सोच्दैछु । त्यसरी पहिलोपटक म सहभागी भएको थिएँ ।


तर आजका मितिसम्म त्यो 'फोटो हेर्नुस् कविता लेख्‍नुस्' शृङ्खलाको नतीजा आएको छैन । माइसंसारले पछिल्लो समयमा बढ्दो राजनीतिक घटनाक्रमको चपेटामा साहित्यलाई ठाउँ दिन नसकेको अवलोकन गरिरहेको थिएँ । उसको आफ्नै विवशता होला भन्ने लाग्यो । नतीजा नआए पनि केही घोत्लिएर लेखेको कविता त्यसै खेर जान दिन मन लागेन र मायाले स्याहारेर आफ्नो क्याफेमा पस्किँदैछु । कविता एकै बसाइमा लेखेकोले त्यति रङ पाकेको छैन, तैपनि तस्बिरमा आधारित तातो कविता यस्तै झटपटको सम्झेर स्विकार्नुहोला ।
-----------------------------------------------------------------------


* तस्बिर: माइसंसार.कम


नतातो हाउभाउसहित
एकैफेरा जाग्नु छ अकस्मात् सुर्योदयसँग
र निभ्नु छ कुनै साँझ जस्तो चिसो एस्ट्रेमा,
ताप्नु छ आफैँलाई भरदिन
हाल्नु छ आकाङ्क्षाको तरल-तरल बग्दैजाने तेलधारा
थप्नु छ खिइँदै गएको ठूटे उत्साहमा नयाँ सलेदो

यसरी नै त जिउनु छ,
यसरी नै त घर्कदै जानु छ-
समयको सेतो जुल्फीको टुप्पाबाट फेदीतिर

आँखाको पर्खाल फोरेका थियौ-
जब आएका थियौ प्रथम आरोही बन्छु झैँ भाकामा,
सायद त्यस्तै आवेग निचोर्दै फेरि पग्लिनेछौ
बिदाइको पिरो रापमा उम्लिएर

नरोऊ ओ जिन्दगी !
यो ध्वाँसोले अँगालोमा बेरेको कुमारी आकाश
तिम्रो होइन
हरबरी खेलिरहने यो गोधूलिको नरम वायु
बस्दैन तिम्रो साँगुरो खल्तीमा
आउँछौ तिमी हावा बहने रीत जस्तै
सजिलै आउँछौ
जान्छौ सजिलै
एउटा चक्रभन्दा बढी तिमीले कतै घुम्नुछैन

सुर्तीको पातमा च्यापिएको कोक्याउने स्वादले
निम्तो दिन्छ चोखा ओठहरूलाई
आँधीबाट जेनतेन बचेको बचेरी ढेपिँदैढेपिँदै
पुग्छे सर्पको टोड्काछेउ
यस्तै त हो-
निस्किएपछि सडकको उन्मुक्त उल्लासमा
फेरि घुम्दैफिर्दै पस्नुपर्छ उही अँध्यारो गल्ली
वा, खचाखच झुप्पादार बस्तीको उकुसमुकुसमा

तिम्रै बुइ चढेर युगौँयुगदेखि
समय गइरहेछ घामको पहेंलपुर तमसुक फट्टा गर्दै
जिन्दगी, तिमी त सधैँ छौ
यतै कतै
धूवाँदार आकाशमुन्तिर
देहको शालिग्राम घोट्दै
तिमी बाँचिरहेछौ

आगो बाँचेर
आगो ओकलेर
आगो पचाएर
बढिरहने तिम्रो अग्नियात्रा…,

प्रकृतिको पूजामा तिम्रो यो आराधन
कति प्यारो
कति मुलायम !


***

11 comments:

  1. काँचोनै भएपनि मिठो छ धाईबाजी!

    ReplyDelete
  2. अहिले सम्झदैछु मन्जुल सरको 'मृत्‍यु कविताहरु ' यो पनि तेसैमा मिसिएर बग्यो । उस्तै कञ्चन छ । एउटा तस्बिरमा घोत्लिएर त्यती चाँडो कविता लेख्नु सानो कुरो होइन।कविको संवेदनाको चरमता हो यो। कविताले यसै मानव चोलाको इतिश्री बोलेको छ । दुईमुठी खरानीको कटु यथार्थ त हो आखिर मान्छे।

    ReplyDelete
  3. धाइबाजी , यो कविताको स्वाद माईसंसारमै लिएको हुँ पहिलो पल्ट । आज पुन यसमा डुब्ने अवशर मिल्यो । हरफ हरफले जीवनको मूल्य बोध गराउँछन् यसको सत्य मृत्यु हो भनेर ।

    ReplyDelete
  4. निकै राम्रो अनि मार्मिक !!

    ReplyDelete
  5. कबिता मिठो छ धाइबा जी ।। आशा गर्छु ढिलै भएपनि आउने नतिजाले पक्कै शिखर चुम्नेछ ।

    ReplyDelete
  6. Really wonderful poem. Dherai nai marma bhayeko...jivan ko truth lai ekdum mazza le portray gariyeko.....

    Bhasik avibyakti...malai ekdum maan paryo..

    I wish all the best...for my Sansar's result..

    ReplyDelete
  7. नरोऊ ओ जिन्दगी !
    यो ध्वाँसोले अँगालोमा बेरेको कुमारी आकाश
    तिम्रो होइन
    हरबरी खेलिरहने यो गोधूलिको नरम वायु
    बस्दैन तिम्रो साँगुरो खल्तीमा,
    आउँछौ तिमी हावा बहने रीत जस्तै
    सजिलै आउँछौ
    जान्छौ सजिलै
    एउटा चक्रभन्दा बढी तिमीले कतै घुम्नुछैन।




    जीवनवोध गराउने मार्मिक कविता, धाइबाजीका हरेक शव्दहरु आफैमा गहन र परिपक्व भावहरुको संचार गराउछन,
    मनको भित्रि पत्र छोएर तरंग उमार्छन ।

    ReplyDelete
  8. कविता निकै राम्रो लाग्यो मलाई.....माईसंसारले निक नतिजा निकालेन होला ?

    ReplyDelete
  9. धाइबा जी,
    यो तपाईंको भावना यथार्थ हो।
    जिन्दगी आखिर एकमुठी खरानी न हो।
    झुल्किनु अनी अस्ताउनु। सत्य एबम निर्बिबाद
    एथार्थलाई घुमौरोपाराले पस्किनुभएकोमा धन्यवाद।

    ReplyDelete
  10. मानिस जन्मैबाट एउटा लक्ष बोकेर आएको हुन्छ त्यो हो मृत्यु्। तर हामि बिच बाटोमा फगत अल्झिन्छौ र आफ्नो लक्ष बिर्सिन्छौ अनि मर्नु पर्ने कुरा कयौ पटक बिर्सन्छौ। अन्याय गर्छौ, पाप गर्छौ र सान्सारिक्तामा रुमलिन्छौ। जिबनको अन्तिम अन्तिम तिर जब पुग्छौ तब हामिलाई मृत्युको आभाष हुन्छ, आफूले गरेका पापहरुको बोध हुन्छ र पाप मोचनका खातिर तिर्थ बर्तमा लाग्छौ। तर कयौ पटक ठिला भइसकेको हुन्छ। जे होस राम्रो र जिबन्त कुरालाइ उठाउनु भयो। र जिबनको बोध गराउनु भयो। धन्याबाद हे तपाईलाई।

    ReplyDelete
  11. जीवन यथार्थलाई सुन्दर शैलीमा कवितामा प्रस्तुत गर्नु भएको छ धाईबाजीले ... फोटोको सुन्दरतालाई अलिकति नि तल नहुने गरि रचिएको छ कविता.... मलाई एकदमै मनपर्यो...

    तर अहिले सम्म माइ संसारमा प्रथम चुनिएको कविताको स्तर हेर्दा ... उत्कृष्ट कविता छान्ने परिपाटी, आधार र निर्णयाकको क्षमता नि एक हद सम्म छर्लंग हुन्छ... त्यसैले यो कविताले कस्तो स्थान हाँसिल गर्ला म भन्न सक्दिन...

    यो चाहिं पक्का हो... माइ संसारमा जे जस्तो निर्णय भए पनि ... यो कविता उत्कृष्ट छ...

    ReplyDelete