Subscribe:

Ads 468x60px

27 June 2009

सुर न ताल, मदन गोपाल !

हारमोनियम जुरुक्कै उचालेर उनी मञ्चबाट दर्शकदीर्घाको एक कुनातिर ओझेल भए, स्रोतामण्डलीले बल्ल तृप्‍ति र चैनको श्‍वास फेरे ।

अचम्मको कुरो ! गाउने कलाकार गला बिसाएर छेउ लागेपछि स्रोता मन्त्रमुग्ध भएर रमाए ।

गायन अवधिभरि 'यातना' बेहोरिरहेका हलभरिका सङ्गीतप्रेमीहरू सङ्गीतकै लहरबीच रहेर पनि गायक र वाद्यवादक टोलीका सामु आकुल-व्याकुल देखिन्थे । उनीहरूको चेहरामा भाव त बाँकी थिएन नै, त्यसको ठाउँ लिएको थियो हैरानी र विरक्तिले । मानौँ उनीहरू कुनै शोक सभाका गम्भीर पाहुनाका रूपमा आतिथ्यभाव जनाइरहेछन् । म आफैँ पनि एक कुनामा कुथुर्किएर बसेको थिएँ, केही चमत्कार पो भइहाल्ला कि भने झैँ !

तर मन झन्-झन् मर्दै गएर घाटको बाटो लम्किने तर्खरमा चिसिँदै थियो । उफ् ! सङ्गीत पनि यस्तो उखरमाउलो कर्णकटु !!

जेठ २३ गते शनिबार राजधानीको आरोहण गुरुकुलको सम नाटकघरमा यस्तै वातावरण र भावदशा देखिन्थ्यो । विभोर बराल र सप्रेम अर्चना दम्पतीको छुट्टाछुट्टै गजलकृतिको विमोचनको कार्यक्रममा स्वाद थप्न गरिएको गजल गायनको कार्यक्रममा स्वर ढिला पार्नासाथै गजल भइहाल्छ भने झैँ छनकमा एकपछि अर्को गायकी देखिँदै थियो । छ जनाले गजल गाएको त्यो साङ्गीतिक माहौलमा एक थिए गायक मदन गोपाल । शास्त्रीय सङ्गीतमा रत्तिएका रमेश पोखरेल, निर्मल 'म' का साथै एक समय 'भनिदेऊ आज के छ मनमा' बोलको गीत गाएर चर्चित बनेका मिलन सिंह लगायतका गायक कलाकारले आफ्नै सङ्गीतमा गाएका थिए त्यस अवसरमा । तीमध्ये रमेशले स्रोताहरूको दिल लुटे आफ्नो गायकीबाट । मदनले पनि आफ्नै सङ्गीतमा दुई गजल गाएका थिए ।

यो लेख जन्माउने र चरित चर्चामा सुहाउँदिला पात्र उनै हुन् । तर चरित्रहत्या र व्यक्तिगत आक्षेपको रूपमा यो प्रसङ्ग यहाँ उठाइएको होइन । उनी मेरा मित्रमण्डलीमा बेलाबेला अन्तरङ्ग जमघटमा आउने आत्मीय नाम हुन् । र आज यति निकट भएकैले उनलाई नेपाली सङ्गीतको एउटा निकै फेसनबदार तर घिनलाग्दो, शीर्षचर्चामा छाउने तर विसङ्गतिको कालो घोलले लतपतिएको पाटो- 'गायक बन्ने लहड'को खोतलखातलमा उभ्याएको छु ।

'सुर न ताल, मदन गोपाल' टुक्का अहिल्यै झटपट बनाइएको होइन । न त यो पुरातन रूपले कुनै ग्रन्थमा गुम्सिएको आदिम पदावली हो । यो टुक्का गायक मदन गोपालसँगै जन्मिएको हो । भन्नु नपर्ला, उनको सन्न्यास वा बिदाइसँगै यो टुक्का पनि निदाउनेछ अवश्य नै । यो टुक्काबारे आरोपित उनै पनि जानकार छन् । अलि चञ्चले छन्, कुरो चपाएर-लुकाएर बोल्न नजान्ने सरल र खुलस्त व्यवहार उनको हकमा कमजोरी भइदिएको छ । उनले हाँसोमा खिलखिलाउँदै डेढ सय-दुई सय गजलप्रेमीको भीडसामु त्यस गजल समारोहमा समेत गाउनुअघि आफैँ कुरा निकाले- "भन्न त भन्छन् मलाई- सुर न ताल मदन गोपाल, आज त्यस्तै होला कि जस्तो छ । हारमोनियम बिग्रिएको थियो, बनाउन दिएको ठाउँबाट समयमा ल्यादिएन र आज गाउने गजल रियाज गर्न पाइएन । जति तयारी सुरुमा कम्पोज गर्ने बेलामा गरेको थिएँ, त्यति नै हो त्यही नै सुनाउँछु ।" यति भनेर झ्यापुल्ले कपाल मुसार्दै फेरि खिलखिलाए उनी र गाउन थाले -

"पर्‍यो जब रात कोही याद आयो
चढ्यो जब मात कोही याद आयो ।

कुनै पनि फूलले साथै दिएन,
झर्‍यो जब पात कोही याद आयो ।

… … … … "

- (विभोर बराल, 'उड्दै गए सपनाहरू' गजलकृति- २०६६ बाट)

अर्का थिए, निर्मल 'म' । यिनको नाम त नौलो छ नै, गायन पनि अद्‌भूत रहेछ । जम्मा ५-७ मिनेटको अवधिमा सकिने गजल गाउनुअघि उनले १०-१५ मिनेट नै आलाप तान्नमा खर्चिदिए । कस्तो गायकी हो ! गजलको बीचमा आलाप तानिएको त सुनिएको थियो, गाउनुअघि पनि गला सफा गर्न र प्राविधिक तयारीको मेसो मिल्दै गर्दा तथा स्रोताको ध्यान पूरापूर केन्द्रित हुने अवस्था कुर्नलाई गायकले केही बेर आलाप तानिएको कतिपय कार्यक्रममा सुनिएको हो । तर निर्मल 'म' ले त यस्तो गरे, मानौँ उनले तानेको आलाप चाहिँ मुख्य गायनको कार्यक्रम हो र गाउनुपर्ने गजल चाहिँ आलाप हो ! १५ मिनेटको आलाप, धोद्रो गला…. उफ् ! यातनामय भयो हल । बुझिन्थ्यो, उनले शास्त्रीय गायनमा दखल राख्छन्, तर गजल सुन्न भेला भएका सर्वसाधारणलाई तिनको शास्त्रीय गायनसँग के को नसनातो र लेनदेन !? त्यो विद्वता त्यहाँ देखाउने उनलाई के जरूरी । आलाप तानेर रियाज त उनले आफ्नै निवासमा गर्नुपर्थ्यो । तर उनी त्यसरी नै भुनभुनाइरहे । तबला र गिटारमा साथ दिने जीवन राई र सन्जु शाहीको अनुहार त्यो अवधिमा हेर्न लायक थियो । ती वाद्यवादकद्वय पनि वाक्कदिक्क थिए सायद गायकदेखि ।

मदन गोपाल त एक उदाहरण मात्र हुन् । निस्प्रभावी गायकीलाई दु:ख दिईदिई सङ्गीतको कमलमा हिलो छ्‌याप्नेहरू त उनीभन्दा गएगुज्रेका होलान् । कम्तीमा मदनहरूलाई त सङ्गीतप्रति आस्था र लगाव छ । नेपाली सङ्गीतले पछिल्लो एक दशकमा ठूलो फड्को मारेको छ । फलत: कलाकार, सङ्गीतकार, प्राविधिक र साथसाथै पर्दापछाडिका ओझेल पात्र र आर्थिक रूपमा पनि सधैँ हातलागी शून्य हालतमा रहने गीतकारका दिन पनि फिर्दै गए । चोक-चोकमा रेकर्डिङ स्टुडियो खुल्न थाले । गीत गाएरै, सङ्गीत बनाएरै खाने दिन आउन थाल्यो । देशभित्रका कुना-कन्दराका साथै विदेशका विभिन्न महँगा ठाउँमा साङ्गीतिक कन्सर्टका कार्यक्रममा गएर दुई-चार पैसा जोडेर भविष्यको मुख हेर्ने बाटो पनि बन्दै गयो । यसो भएपछि दिल खोलेर सङ्गीतमा भिजेर काम गर्दा यसको गुणस्तरमा पनि सुधार हुने सम्भावना देखियो ।

तर यस्तै सम्भावना र आशाको झुल्कोबीच खतरनाक भाइरसको प्रवेशले नेपाली सङ्गीतको आशलाग्दो आकाशमा ग्रहण लाग्यो । यो भाइरस हो- 'मान नमान मैँ तेरा मेहमान' भन्ने भाँतीमा 'डेढअक्कली' गायककार र सङ्गीतकारको ओइरो । बोली फुट्नासाथै गायक, बाजालाई छोएर आवाज निकाल्नासाथै सङ्गीतकार । गीतकार पनि त्यस्तै, साँवा अक्षर लेख्‍न जान्यो कि त गीतकार बन्ने धुन । एलबम निकालिहाल्ने भोक, रातारात चर्चाको धुरीमा देखिने लालसा, सबैलाई चिनाउने सस्तो प्रचारको दौडधुप । तब त जन्मियो टुक्का - सुर न ताल मदन गोपाल !

स्कूले बेलामा 'बलभन्दा बुद्धि ठूलो', 'कलम बलियो कि तरबार बलियो' आदि विषयमा अतिरिक्त क्रियाकलापअन्तर्गत वादविवाद प्रतियोगीता हुन्थ्यो । तर 'पैसा ठूलो कि प्रतिभा ठूलो' भन्ने विषयमा कहिल्यै प्रतियोगीता भएन । अहिले यसो सोच्दा त्यो एउटा महत्वपूर्ण पाटो त छुटिगएछ लौ जाऽऽ भन्ने लागिरहेछ । कारण, पैसा खर्चेर एलवम निकालेर रातारात चर्चा बटुल्ने होडमा लहसिएका 'अगायक'हरूको तागतअघि कैयन् प्रतिभाहरू पहुँच र मौका नपाई गाउँको गुफा-कन्दरामा सीमित बनेका छन् । यो सत्य हो । पैसा छैन भने गला मात्र भएर त कुन गायकलाई हत्तपत्त म्युजिक कम्पनीले पत्याएर लगानी गर्ला र यहाँ ? साँचो कलाकारको मूल्य छैन, लगानी फस्ने डरले बरू गाउने छाँटकाँट नभएपनि पैसावाल 'गायक' (!) को घाँटीमा झुन्डिन्छन् कम्पनीहरू । उसै पनि आधाजसो त आजकाल त मेसिनले नै गाउने प्रविधि आइसकेको छ तानतुन मिलाएर । पूर्वेली गायक कुवेर राई यसकै उदाहरण हुन् । स्वरसम्राट् नारायण गोपालको दुरुस्तै आवाज निकाल्ने खुबी भएका तथा आफ्नो छुट्टै मौलिक स्वरका धनी राई कुन संयोगले अवसरको भण्डार राजधानी सहर एक सहर आएर पनि बसे, तर के कारणले यहाँ टिक्न सकेनन् । खेती-किसानी गर्दै अहिले गाउँमै सङ्गीत-साधनामा तृप्‍त छन् उनी । अनि यता सहरमा चाहिँ अलिकति गुनगुनाउन जानेको भरमा हाहाऽऽ होहोऽऽ मच्चाएर सिङ्गै सहर कब्जा गरूँला झैँ तालमा मदन गोपालहरू चिच्याइरहेछन् ।

गायन, चित्रकारिता, कवित्व आदिलाई सामान्यतया जन्मैदेखि प्राप्‍त ईश्‍वरीय वरदानको रूपमा व्याख्या गरिन्छ । तर प्रतिभाले निखार अभ्यास र निरन्तरको साधनाबाटै पाउँछ, यसमा शङ्कै छैन । शून्यबाट उठेर साधनामै घोटिएर प्रतिभा हासिल गर्नेहरूको संसारमा कमी छैन । भाग्यमानी डोकोको रचना भयो भन्नासाथै त्यसमा दूध त कसरी पो अँड्छ र ? केही टालटुल त गर्नैपर्छ । त्यही टालटुल गर्ने चालचुल नै हो साधना र सङ्घर्ष ।

हतारमा उदाउने सूर्य प्राकृतिक होइन, एउटा नियम-समयमा बाँधिएको सूर्यले नै प्राणीजगत्‌लाई जीवनप्रक्रियामा साथ दिन्छ । आजको पुस्ता हतारमै हिँड्छ, हतार प्राकृतिक हिँडाइ कदापि हुँदै होइन, त्यो धेरै टिक्दैन, खरायो झैँ थाक्छ र बेलैमा लम्पसार परेर थान्को लाग्छ । कम्तीमा गाउन मन हुनेले अर्थ न बर्थ, सुर न ताल चिच्याएर विशुद्ध सङ्गीतको भोकमा रहेका सर्वसाधारणलाई यातना र कष्‍ट नदिए हुन्थ्यो । सडकमा फ्याँकेर छाडे पनि तिनका क्यासेट र सीडी लिनेवाला कोही छैनन् । बरू गाउनै छ भने 'बाथरूम सिङ्गर' बने वेश । कम्तीमा बाथरूमभित्र रहने 'सावर', ऐना र धाराले त्यो गुनगुन र भुनभुनको विरूद्धमा विद्रोह गर्ने उत्तरआधुनिक समय नआउन्जेल 'बाथरूम सिङ्गर'को पदवी सुरक्षित छ !

10 comments:

  1. लेख्दा बढी लेखिएला भन्ने डर .. नलेख्दा छुटिएला भन्ने डर ...!

    यो पोष्ट पढ्दा मलाई तीनवटा कुरा भन्न मन लाग्यो...

    पहिलो प्राय हरेक प्राणीलाई आफ्नो बारे नराम्रो लेखेको देखे झनक्क रिस उठेर आउँछ ....

    दोश्रो तर हरेक ब्लगरले आफ्नो मनको कुरा लेख्न पाउनु पर्छ ...आफुलाई नराम्रो लागेको कुराको पनि राम्रो मात्र बर्णन गर्ने भने त पोष्टको औचित्य नै सकिई हाल्छ नि | त्यसैले धाईबाजीले मन नपरेको कुरा मन परेन भन्दा आफ्नै राम्रोको लागि भनेको हो भन्ने बुझेर ती गजल गायकहरु पक्का रिसाउनु हुन्न होला ..

    अनि तेश्रो धाईबाजीले दोश्रो अन्तिम प्यारामा भन्नु भए झैं कलामा साधना र संघर्षको ठुलो हात हुन्छ | यसलाई उहाँहरुले बुझ्नु भए देखि केहि समय पछी यो ब्लगमा अर्को पोष्ट पक्का पढ्न पाइन्छ "सुर र ताल ..मदन गोपाल"

    आफ्नो कुरा गर्दा म कार्यक्रममा थिईन त्यसैले सो कार्यक्रम बारे मेरो मनको कुरा भन्न सक्दिन ... पोष्ट बारे यति चाहिँ पक्का भन्न सक्छु ...

    पर्‍यो जब रात कोही याद आयो
    चढ्यो जब मात कोही याद आयो ।

    कुनै पनि फूलले साथै दिएन,
    झर्‍यो जब पात कोही याद आयो ।

    भन्ने गजलले मलाई पुरा फ्रेश बनायो ...

    ReplyDelete
  2. शुरुको हरफ देख्दै अचम्म लाग्यो - गुरुकुलमा हुने कार्यक्रमहरु पनि यस्तो हुने रहेछ हगि ? आफैंलाई यत्ति प्रश्न गरें ।

    ReplyDelete
  3. धेरै धन्यवाद मिलनजी, मनको कुरा खुलेर राखिदिनुभयो ।

    तपाईँका तीन कुरामा म क्रमश: दुई कुरा भन्छु:

    # हो, मानिस स्वभावैले प्रशंसाको भोको हुन्छ र हरेक व्यक्तिलाई आफूविरुद्धको घोचपेच र आलोचना बिझाउँछ । र क्षमता र हुती नभएको व्यक्तिले आफूमा त्यो नभएको विचार्दैन र स्विकार्दैन । यस्तोमा कसैगरी त्यस्तो अनुभूति दिलाउन झनक्क रिस उठाएर भए पनि यस्तै हामी साथीभाइ र शुभेच्छुकबाट नै हो । मदन गोपाल मेरा चिनाजान थिए र नै मलाई सरोकार भयो र यति खुलेर लेख्‍न अघि सरेँ । अनि यो फेरि कुनै व्यक्तिविशेको खेदो गरेर लेखिएको पनि होइन (मैले लेखमै पनि भनेको छु), बरू नेपाली सङ्गीतको विसङ्गतिलाई उधिन्ने प्रयास हो । केही राम्रो हुन्छ कि भन्ने आशा अनुरूप ।

    # हामी ब्लगरले मनमा लागेको कुरा त लेख्‍ने हो । तर क्षतविक्षत तरिकाले जे पायो त्यही लेख्‍ने पनि होइन । यही स्वतन्त्रताको बीचमा मनको भावलाई खुलेर बिसाउँदा सन्तुलन, जिम्मेवारी र सामाजिक सरोकारका कुराले पनि उत्तिकै बाँधेको हुन्छ हामीलाई । यो त हामीले महसुस गरेकै कुरा हो ।

    अनि जडितज्यू,
    यो गुरुकुलमा भएको गजल कार्यक्रमविशेषमा लेखिएको टटाँसो नभई त्यसमा आधारित भई नेपाली सङ्गीतको 'हावा गायन'बारे चर्चा गरिएको लेख हो । अनि गुरुकुलमा हुने सबै कार्यक्रम गुरुकुल आफैँले पनि गर्दैन । कार्यक्रमका लागि भाडामा हल उपलब्ध पनि गराउँछ यसले । तब त स्वाभाविकै हो, कार्यक्रम आयोजकपिच्छे स्तर तल-माथि हुने गर्छ । अनि गजलको त्यो कार्यक्रम 'झुर' भन्ने पनि थिएन, केवल एकाध गायकले त्यहाँ दम तोडिदिएका हुन्, त्यत्ति हो ।
    तपाईँलाई पनि धेरै आभार !

    ReplyDelete
  4. मलाइ पनि आचम्म लागिरहेछ गुरुकुल उत्कृस्त कला सधन प्रस्तुत् गर्ने ठाउजस्तो लग्थ्यो।

    ReplyDelete
  5. सुर ताल आ आफ्नै ठाउमा छन, तर गज़ल खरर....वाचन नगरी यसरी गाएर प्रस्तुत गर्ने चलन बढ्दै गएकोमामा धेरै खुसि लाग्यो।

    टासोले त्यस्तो साह्रै घोचपेच गरेको चाहि छैन है यस्तो त साथिभाइमा चलि हाल्छ नि हैन र? अनि कमि कमजोरी र गल्ति औल्याइदिनु एउटा असल मित्रको कर्तव्य पनि त हो ।

    भित्र भित्र झनक्क रिसाउनु भयो कि गोपाल जी ? यसरी भावनामा डुबेर शव्दहरु खिप्ने लेखकको ब्लगमा गरिएको यो चर्चा परिचर्चाले त एक हिसाबले तपाइको उचाई झन बढाएको नै ठान्छु म त, अब रियाज र तयारीमा आफ्नो कमि कमजोरी रहेको कुरा त मनन गर्नु भएकै रहेछ त्यहि बेला, अब चाहि धाइबाजीलाइ "ताल जमाए गोपालले" भन्न बाध्य पार्ने गरि पूर्ण तयारीका साथ प्रस्तुत हुनु होला - कुनै दिन ।

    ReplyDelete
  6. मलाई पनि निरासित जस्तै बनायो गुरुकुल जस्तो स्वच्छ प्रतिभाको बिसौनी मानिएको ठाउँमा सुर न तालका मदन गोपालहरुको रजाई देख्दा(पढेको भरमा) । गुणस्तरिय गायकी को भन्दा संख्यात्मक गायकीले जरा फैलाईरहेको सन्दर्भमा धाइवा जी को यो झोकिलो आवाज ले "सुर न तालका मदन गोपाल" हरुलाई केहि राहत अवस्य मिल्नेछ ।

    तर निश्चय पनि गायकीमा भएको रमाइलो कुरालाई ब्लगमा मार्फत पस्कनुलाई अन्यथा ठान्नू हुने छैन गायकी मण्डलले किनकी धाइबा जी को मुखले माथि नै बोलिसकेको छ अन्तरंग सहयात्रीको बारेमा । धाइबा जी ले एउटा सकारात्मक कुराको प्रसंगमा बोल्नु भएको मात्र जस्तो लाग्छ मलाई

    ReplyDelete
  7. तपाईको टाँसो र टिप्पणीमा पनि जो बाँकी यथोचित पढेपछि यो बिषय भने छर्लंङगै भयो ।

    म आफू पनि १-२ पटक मजबूरीमा यस्तो बेसुरा-रागको श्रोता बन्नु परेकोले तपाईको पीडा राम्ररी बुझें ।

    जे होस आफूले 'कान-फट'सङ्गीत सुनेर पनि हामीलाई भने गज्जब मनोरञ्जन दिनु भयो । एकदमै स्वाद लागयो यो पोष्ट ।

    गाएक मञ्चबाट ओझेल भएपछि, स्रोतामण्डलीले तृप्‍ति र चैनको श्‍वास फेरेको

    "गाउने कलाकार गला बिसाएर छेउ लागेपछि स्रोता मन्त्रमुग्ध भएर रमाए"

    भन्ने हरफहरु पढेपछि धेरै बेर एक्लै पनि हाँसें म त ।

    ReplyDelete
  8. यस्तो 'पिडा' भोग्ने 'सौभाग्य' मिलिरहन्छ हामीलाई। आफ्नो क्षमतालाई नतौलीकनै लहडको भरमा लेखक-कवि, संगीतकार र गायक हुने फेशन छ हामीमा। अभ्यास र साधना कुन चराको नाम हो पनि धेरै लाई थाहा हुँदैन। समाजको औसत बुद्धि र सौन्दर्य-चेत त्यति माथिको नभैसकेकोले त्यस्ता ब्यक्तिलाई वाह! वाह!! गर्दिने केहि हुन्छन् पनि। कतिपय अवश्थामा त्यो वाह! वाह!! प्रायोजित वा किनिएको पनि हुनसक्छ।

    हामीलाई धाइबाजीले गरेको यो शल्यकृया जस्तै धेरै शल्यकृयाहरुको आवश्यकता छ। आफ्नै निकट मित्रको कमजोरीमाथि यति सटिक र खुलस्त आलोचना गर्न डराऊँछन् धेरै मान्छे तर गर्नैपर्ने कुरो हो यो।

    ReplyDelete
  9. नेपाली साहित्यमा गजलले वाचन बाट गायनमा फड्को मार्न नसक्नु को एउटा कारण यो पनि हो जस्तो लाग्छ । गजल भन्ने बितिक्कै राग र शास्त्रीय संगित नभै नहुने भन्ने सोचाइ हाबिनै छ । अनि गायकहरु पनि कनिकनि गजल लाई शास्त्रीय संगित नै बनाउन खोज्छन् ।धाइबा जी को आशयलाई बुझ्नेहरुले सहि रुपमा बुझिदिए धेरै राम्रो हु्न्थ्यो ।

    ReplyDelete