Subscribe:

Ads 468x60px

30 June 2009

बुबाबिना

माबारे जताततै लेखिएका छन्, आमाको महान्‌ता र गरिमालाई पृथ्वीसँग तुलना गरिएको पाइन्छ । साहित्य र धार्मिक वर्णनमा माता-महिमाको शृङ्खला चहकाउँदो गरी उज्यालो छ । त्यसको अघि बुबा अर्थात् पिता-महिमा शून्य नै छ भन्दा फरक पर्दैन । बुबाबारे साहित्य र धर्म-संस्कृतिमा कमै पढ्न पाइन्छ । देवी-देवताको आराधना गर्ने र रिझाउने मेसोमा सगोलमा "त्वमेव माता च पिता त्वमेव, त्वमेव वन्धु सखा त्वमेव" भित्र समेटिएर आउँछन् पिता ।

यो कविता मैले त्यही अभाव पूर्ति गर्ने हिसाबमा कोटापूर्ति गर्न लेखेको भने होइन । तर लेखिसकेपछि साहित्यमा पिता-प्रसङ्ग कति होलान् भनेर लख काटेँ । आफूले पढेकामध्येमा, र आफैँले लेखेकामध्ये पनि कति मात्रामा र कुन प्रसङ्गमा पिताको कुरा आयो भनेर सम्झिन खोजेँ, दिमाग स्क्यान गरेँ । तर जवाफ चित्तबुझ्दो आएन । यो कविता २०६३ सालको रचना हो मेरो । २०६२ सालमा अनाममण्डली संस्थाबाट देउसी खेल्न साथीहरूसँग संस्थालाई सहयोगको साथमा आफूलाई पनि रमाइलो पनि हुने देखेर देउसी खेल्न काठमाडौँ चहारिएको थियो । त्यसै क्रममा सर्जक मित्र विभोर बरालको काठमाडौँ टङ्गालस्थित घरमा पनि पुगियो । माथि छतमा उपद्रै किसिमले उफ्रिएर रमाइलो गरी भट्याइयो, नाचियो । घरधनीले साथ दिएर देउसेलाई जोस र आत्मीयता थपेको विरलै देखेको मैले त्यहाँ विभोरपिता वासुदेव बराल र हजुरआमाको रमाइलो सहभागितालाई लोभिएर हेरिरहेँ । ज्यादै आत्मीय देउसीमध्येको एउटा देउसी थियो त्यो ।

देउसीको रमझम सकिएपछि सबै साथीसङ्गी जीवनगाडीको इन्धन जुटाउने रनाहामा च्यापिएर आ-आफ्नै कामको मेलोमेसोमा हराए । यस्तैमा एक दिन सुनियो- हामीसँग रमाएर देउसीमा साथ दिने मित्र विभोरका बुबा वासुदेव बराल बित्‍नुभएछ । २०६३ मङ्सिर १३ गते बित्‍नुभएछ उहाँ । सुनेर खै कस्तो अत्यासले किचिएँ म, यत्तिकै झोक्रिएँ-फन्किएँ, सामान्य स्थितिमा फर्किँदा कविता थियो साथमा । म कवितामै रोएँ, सुकसुकाएँ । एउटा सन्तानको ठाउँमा बसेर लेखेको थिएँ कविता । वियोगको रन्थनीले मलाई हत्केलाबीचमा कागती बनाइदिएको थियो, निचोरिएँ र अमिलिएँ । त्यसमा मित्र विभोर जीको स्वानुभूति लदबद मिसिएको थियो क्यार मभित्र ! त्यही कविता आज यहाँ प्रस्तुत गरेको छु । कविता उनै बुबा वासुदेव बरालमा समर्पित छ । र साथमा मित्र विभोर जी र बहिनी विप्‍लवीलाई पनि यतिबेला सम्झिरहेछु ।



बुबाबिना

जानुभयो बुबा,
जसरी
मध्यरातको आकाशबाट
झट्ट खसेर जान्छ
फेरि नफिर्ने गरी
रहरलाग्दो पिलपिल तारा ।



बुबा जब साथ हुँदा
हाम्रो आँसुका कारखानामा
भोटेताल्चा हुन्थे
मनमा जे रहन्थे पोख्‍नलाई
सारा निस्किन्थे मूल फुटेर
र बुबा बन्नुहुन्थ्यो
समर्पित स्रोता,

खै त अब
हाम्रो बोलीको
एकै सुका मोल रहेन ।

बामे सर्दा
बुबाले दिनुभएको एउटा औँला
हाम्रो भरोसाभरि
कति भरिलो हुन्थ्यो
न्यानो औँलाको त्यो गोलाइ
बालापनलाई खित्का बाँडिरहने
कति सुन्दर खेलौना थियो !
अहिले बुबा हुनुहुन्न
बुबासँगै उठे ती मायालु औँलाहरू

हो नि, अब त
सहारा छुटेर यो जिन्दगीको बगरभरि
कस्तोसँग लरबराएर पुक्लुक् पुक्लुक्
लड्नुपर्ने हो !

बुबाबिनाको नयाँ वर्ष र
असार १५ को रस,
दसैँको गाढा टीका
अनि देउसीभैलीको तिहार
र घाम ताप्दै चपाइने
माघे सङ्क्रान्तिको तिलको लड्डु …
अहँ छैन
केही स्वाद छैन ।

आँखामाथि बुबाको
त्यो टल्किने चश्‍मा
हाम्रो लागि ऐना थियो
शृङ्गारकक्षको बेहुली झैँ
खुलेर
बरोबर हेर्थ्यौँ चश्माभरि
र देखिन्थ्यौँ भित्रैसम्म
बुबा ऐना नै हुनुहुन्थ्यो
र त हामीमा सज्जा थियो,
हरेक सोचहरूमा
हाम्रो उमेरको हनुहार पढीपढी
अनेक लगनले सरक्क खुसी थुपार्ने
बुबाको हात
ठेलैठेलाले कतिविघ्‍न घाइते हुँदो हो !


बुबाबिना
हाम्रो मुहारमा सज्जाको बदला
अब दागको दु:ख खोपिएरै बसिरहला ।

बुबासँगको देउसी-भैली
जे रहेछ यसैपाली रहेछ,
फेरो लाउने जोगी जस्तै
दसतिर हामी डुलेनौँ
बुबासँगै देउसी गायौँ
बुबासँगै भैली भाक्यौँ
पट्याएको इस्टकोट जस्तै
असङ्ख्य चाउरी बोक्ने
मायालु हजुरआमा
र लहरै कुर्सीमा बुबा
देउसी गाउँदै हामी
फुर्किएर नाचिरहँदा
कस्तरी आनन्दमा जाग्नुभएथ्यो,
थाहा थिएन-
बुबा यसरी हाँसीहाँसी हराउनुहुन्छ,
बुबाको त्यो कुर्सी रित्तो छ
चप्पल बजाउँदै ठमठम चाल मार्ने
फराकिलो छत पनि चुपचाप छ

बुबाबिनाको बिहान
म उठ्न सक्दिनँ कि !
(बुबाले मिलाइदिने अलार्म घन्टी
खै त अहिले म कहाँ सुन्न पाऊँ ?)
बुबाबिनाको यो रात
सायद सुत्‍न सक्दिनँ कि !
(कहाँ छ र
मैले कोल्टे फेर्दा शिर मुसार्ने
त्यो आशीर्वादमय हत्केला ?)

बुबाको चम्किलो चश्मा
त्यो त्यही टेबलमै छ
गलबन्दी ह्याङ्गरमा
उसैगरी झुन्डिएको छ
छैन तर बाँकी
मेरा आँखामा सङ्लो दृष्‍टि
छैन जिन्दगीमा मखमली न्यानोपन,
यस्तै त हो
आँसुमा नबग् बहिनी !
आमासँगै बुबा टाढा गए पनि
तेरो त म छु
म पनि यदि गएँ भने
रुनू
ए बहिनी
रोइरहनू रहर भरिभरि ।

बुबा गएपछि
आइरहन्छन् आँखाको दुरबीनमा
धूलो जस्तै बुङ्बुङ्ती आँसु
र केही देखिन्न
केही पनि ।




***

16 comments:

  1. धेरै सुन्दर तरिकाले राख्नु भो। केहि भन्न खोज्दै छ यो मनले तर सकिन यहाँ राख्न। हामीले शायद अन्याय गरेका छौ बुबालाई। हुन सक्छ हामी बुबा भित्र आमा र आमा भित्र बुबा देख्छौ अनि सवै कुरा त्यी ऐना भित्रको माया र मखमली न्यानोपन को खोजिमा एकोहोरो बाटो हिडेका हौला। जे होस तपाईले सहि तबरले न्याय दिनु भो। आभार सबै पिताहरु प्रति र तपाईलाई पनि।।।

    ReplyDelete
  2. खै ! म त अवाक् रहें...

    ReplyDelete
  3. मेरो त बोली नै बन्द गराइदिनु भयो

    ReplyDelete
  4. मलाई के लागिरहेको छ भने आज सम्मको साहित्यिक इतिहासमा लेखकहरू धेरै मात्रामा पुरुषहरू नै छन् जसको कारण उसले नारीको चर्चा आमाको रूपमा या प्रेमिकाको रूपमा स्वभावत धेरै नै गर्यो होला | तर मलाई "झोला" कथाको पनि सम्झना भएको छ एकसाथ |
    आज आमाको महिमा गाउने छोरो भोलि आफ्नी श्रीमतीप्रति कुन रूपमा प्रस्तुत हुन्थ्यो होला सोचिरहेछु ! युग परिबर्तन संगै बिचार परिवर्तन हुने हो या बिचार परिवर्तन भएर युगमा परिवर्तन आउने हो कुन्नि !
    खै किन बुबाको बारेमा साँची लेखिएन छ | कि लेखेर नसकिने भएर होला कि लेख्ने नपर्ने भएर होला |
    के भनु कारण त अरू पनि सयौं होलान |
    कविता एकदम भावुक लाग्यो | धईवाजीको कलमै बान्कि परेको
    लाग्छ |

    ReplyDelete
  5. सबैको मनले उजागर गरेको कुरामा म पनि थपिए । आमा को बारेमा जति साहित्यमा लगाव छ बुबाको बारेम निकै कम छ यो बिदितै कुरा हो । एउटै सिक्काका दुई पाटाबिचको चर्चा-परिचर्चामा कम चर्चामा आउने पाटो(लेखनमा) लाई लिएर प्रस्तुत गर्नुभएको कबिता अति नै मन छुने लाग्यो धाइब जी ।

    ReplyDelete
  6. साहै सुन्दर कबिता धाइबा जी !!नि:शब्द भएँ।

    ReplyDelete
  7. हो रहेछ त्यसैले त तपाईंले बुबाको सम्बन्धमा यति डुबेर लेख्नु भएको कविता पढेर पनि बुबाको बारेमा खरर टिप्प्णी लेख्न पनि सकिनँ । आमाको बारे भए पक्कै आउनेथ्यो कुराहरु । कविता राम्रो छ ।

    ReplyDelete
  8. मूल कविता र भूमिका समेत अत्यन्त उत्कृष्ट हुँदांहुँदै पनि साँच्चै टिप्पणीमा केही लेख्‍न सकिएन । सायद तपाईको यो कविता आफैंमा पूर्ण छ ...

    ReplyDelete
  9. कविता साह्रै मन प-यो। वास्तवमै साहित्यमा आमाको तुलनामा बाको उपश्थिति नगण्य छ। जति छ त्यसमा पनि धेरैजसो पितालाई क्रूरताको पर्यायको रुपमा देखाईएको छ। पितृवात्सल्य कति कोमल हुनसक्छ र कति ममतामयी हुनसक्छ भन्ने कुराको अनुभव छ मलाई, बच्चैमा आमा बित्नुभएकोले। तर पनि मैले यसरी हेर्न सकेको रहेनछु, आज धाइबाजीको यो टाँसोले आँखा खोल्दियो मेरो। धन्यबाद तपाईँलाई!

    ReplyDelete
  10. धाइबाजीका शव्दहरु संगै म पनि हराएँ ती दिनहरुमा, जहाँ बुबाको औंला समाउदै कति कति लामा बाटाहरु पत्तै नपाइ हिडिन्थ्यो टुकु टुकु ...।
    एउटा सम्झना पंक्षी जस्तै उडेर आँखाको डिलमा आएर टक्क रोकियो -टिलपिल, पोखिएला जस्तो । ती दशैँ का दिन हुन्थे, चिटिक्क नया लुगामा सजिएर बुबाको औला समाउदै(कहिले काँध चढ़दै) मामाघर लम्कने केटो म हुन्थें, पुग्ने बेला त्यो दगुर्दै तगारोमा पहिलो पाइला राख्थ्यो र भन्थ्यो -"यी बुबा भन्दा त म नै पहिला भएँ " अनि हजुरबा हजुर आमा दंग,, आफु त झन फुरुङ्ग ! लाग्थ्यो पहिला भईएकै हो ।

    छातीभित्र कोरिएका आत्मियता अनेकौं पलहरु आमाका जति छन त्यति नै बुबाका पनि छन,यो जीवनको बाटो संगै हिड्न सिकाउने वा हात समाएर अक्षर लेख्न सिकाउने बुबाको त्यो हात आमाको जस्तै नै हो , मलाइ पनि लाग्दैछ तर साहित्यमा बुबाको नाउँ किन गौण भएको होला खै कुनी?

    ReplyDelete
  11. कतै पढेको थिए

    "असह्य एउटा आभास हो मृत्‍यु क्रुरतम यथार्थ"

    ReplyDelete
  12. एकदमै भाबुक बनायो - लेखले । बहुतै मार्मिक ।

    ReplyDelete
  13. हो नि ! बाबा भन्दा त ममिको नै बढ़ी कुरा गरिन्छ र माया पनी बढि नै गरिन्छ ... तर यसको मतलब बाबा लाइ चाहि माया नै गरिन्न भन्ने चाही होइन |
    तर तपाई ले त बाबाबिनाको कुरो सुनाउनु भो - दुःख लाग्यो |

    ReplyDelete
  14. Your post has made me emotional and speechless. also, liked your poem immensely. thank you so much for sharing.

    ReplyDelete
  15. Dherai nai marmik kabita...
    Jhandai royeko ma ta...
    Soche aafno jiwan ma yesto bhayeko bhaye k hunethiyo...ma kalpana ni garna sakdina...baba bina ko sasar...
    But reality is that nothing is immortal...reality bites...accept garnai parne kasto badhyata...

    Maan ko kuna kuna choyo...kabita le dada...

    ReplyDelete