Subscribe:

Ads 468x60px

10 January 2011

जसले हान्यो, त्यसले जान्यो

शुक्रबारे बिदाको दिन, कहिले साथीहरूसँग जोसिएर त कहिले एक्लै टहलिन मन पर्छ । सधैँ हतारमा बग्नुपर्ने टेलिभिजनको कामबाट यसो छेउ लाग्दै हप्‍ते बिदा मनाउँदा आफूलाई पूरै सुस्त बनाउन मन लाग्छ, स्क्रु ढिला भएको मेसिन जस्तै ।

अन्य पेसा-व्यवसायको मान्छेलाई पनि त्यस्तै हुँदो हो । बिदाबाट ताजगी बटुल्दै आफूलाई रिचार्ज गरी फेरि पुरानै कामकाजी रफ्तारमा फर्किनुपर्ने नियति । फेरि मनाउन पनि हामी नेपालीले मनाउने बिदाको खाकाअन्तर्गत कति नै पो फराकिलो सुविस्ता हुन्छ र ? जे कुरामा पनि आर्थिक सीमाले ‘भिलेन’को काम गर्छ । तर हाम्रो मनकारी स्वभाव जाती छ, बिदाको दिन साथीभाइ र घरपरिवारको साथमा बस्न पाएकै खुसीमा हामी चङ्गा बन्छौँ ।

यस्तै मेसोमा कोठामा चिया समेत नखाई जनवरी ७ को शुक्रबारे बिहान निस्केको थिएँ सडक सफरमा ।  Cold !नक्साल-हात्तीसार-कमलपोखरीको नियमित रुट पछ्याउँदै पुतलीसडकबाट बागबजारको मोड समातेँ । रत्‍नपार्क अगाडिको शान्ति वाटिकामा पुग्दा गणेशमानको सालिक पछिल्तिर रानीपोखरीको किनार छेउमा मान्छेहरूको गुरुम्म हुल देखेँ । पचहत्तरै जिल्लाका थरीथरीका मान्छेहरू भेटिने भनेर रत्‍नपार्क क्षेत्रलाई चिनिन्छ । कस्ता मान्छे कुन नियतले वा कस्तो सद्‌भावले ओहोरदोहोर गर्छन्, अनुमानसम्म गर्न गाह्रो पर्छ । उसै त सहरी परिवेश, कसैलाई भर र पत्यार गर्न नसकिने माहौल मानिन्छ, त्यसमाथि विरानो मान्छेका लागि पनि चिनो लगाउने जस्तो साझा ठेगाना बनेको र राजधानीको सवारी आवागमनको मियो ठाउँ - खुला र अस्तव्यस्त रत्‍नपार्क क्षेत्र । त्यस्तो ठाउँमा बिनसित्ति कसैले केही फतफताए पनि छिनमै मान्छेहरू गोलबद्ध भएर कुनै भाग छोप्न झैँ जम्मा भइहाल्छन् ।

त्यही पनि फुर्सदको दिन यत्तिकै बरालिन निस्किएको म के रहेछ त्यो हुलमा भनेर उतै मिसिन गएँ । देखेँ – दुवै हात कक्रक्क परेको अवस्थामा रहेको २२-२४ वर्षको नौजवानको शव । एकाबिहानै यस्तो दृश्य देख्दा भाउन्न भयो । मन अमिलिइरह्‍यो । को हो, के भएर मरेको हो केही पत्तो छैन । छेउमा दुई जना प्रहरी थिए, उनीहरू पनि असमञ्जस अवस्थामा थिए । शव रहेको ठाउँदेखि  थोरै पर युवा बाहुल्य रहेको भीड त्यो युवाको मृत्युको सन्दर्भमा सहरी क्षेत्रको (अ)सुरक्षा स्थिति र व्यक्तिगत रूपमा अपनाउनुपर्ने सतर्कताबारे चर्चा गर्न थालेको थियो ।  एक प्रहरी जवान पनि भीडको आडैमा उभिएर राज्यको बेकम्मा सुरक्षा व्यवस्थाबारे भीडमा सहभागीहरूले उडाएको खिल्लीको साक्षी बन्दै मुस्कुराइरहेको थिए । तर उनले नाकमा लगाएको मास्कले गर्दा त्यो मुस्कान खुलेर प्रकट हुन सकिरहेको थिएन ।

Cold-!2दुर्बल  संयन्त्र र अपराधी संरक्षणको संस्कार भएपछि तमासे नभई के गर्ने !

यी उभिएर हेरिरहेका साम्बाहाम्फे थरका प्रहरी अधिकारीलाई ती युवक के भएर मरेका रहेछन् भनेर जिज्ञासा राखेँ मैले । “पिटिएर मरेको हो ?”, बुझ्न खोजेँ ।

“काँ हुनु, जाडोले कठ्याङ्ग्रिएर मरेको हो”, निश्चिन्त भएर सुनाए तिनले । हुन पनि एउटा हात बटारिएर कुमसम्म पुगेको र अर्को हात खुम्चिएर अघिल्तिर आएको थियो । तर ज्याकेट र पाइन्ट लगाएको अवस्थामा र राजधानीको अरू ठाउँमा ओतिएर बस्न मिल्ने सुविधा हुदाहुँदै  ऊ खुला आकाशमुनि पछारिन किन आयो होला ?   जाडोले नै कठ्याङ्ग्रिएर मरेको हो भन्ने सत्य हो भने पनि त्यो कल्पना गर्दा मात्रै पनि आङ सिरिङ्ग भयो । यस्तै हो यहाँ वर्गीय भिन्नता – कोही भोको पेटमा मर्छन्, कोही धेर खाएर पेट ढाडिएर !

“आफ्नो सुरक्षा आफैँ गर्न सक्ने हो भने आफ्नो खैरात छ, नत्र छैन ।” एउटा बोल्यो ।
समर्थनमा गुञ्जन सुनियो युवाहरूको ।

प्रहरी र राज्यको सुरक्षा संयन्त्र उनीहरूका लागि ठट्टा बनेको थियो । राजधानीका सुनसान खालका एक-दुईवटा ठाउँको नाम लिएर उनीहरूले ती ठाउँमा एक्लैदुक्लै र रात-बिरात नहिँड्नुमै आफ्नो कल्याण हुने निष्‍कर्षमा पुग्दै थिए सबै । यसैगरी सहरमा सबैजना आ-आफ्नै सुरमा रहेकाले एउटाको वास्ता र फिक्री अर्कोले नगर्ने अरूलाई जेसुकै परे पनि मूकदर्शकमा सीमित हुने चलनबारे चर्चामा बत्तिंदै थिए सबै । मृतक युवाको अनुहार हेर्दा पिटाइबाट मरेको जस्तो हलुका रक्ताम्य थियो । त्यो युवा पिटिएर मरेको हो कि भने गाइँगुइँका बीच यहाँ जसले जसलाई पिटे पनि, पिटपाट गरेर कतै गयो भने गको गयै हुने, कुनै कारबाही र सोधखोज कतैबाट नहुने व्यङ्ग्य पनि आयो । जुन व्यावहारिक रूपमा तीतो यथार्थ पनि बनिआएकै छ ।

”यहाँ त जसले हान्यो त्यसले जान्यो भन्ने अवस्था छ ”, 
समाजमा  बदमासहरूको बोलवाला रहेको र त्यो बदमासीमा राज्यको प्रशासनले पनि आँखा चिम्लिएर अनुमोदन  गर्ने जस्तो प्रवृत्तिप्रति लक्षित गर्दै बोले अर्का ।   

Cold-!3हामी पनि रमिते ! : सहयोगी होइन दर्शक बन्ने सहरिया प्रचलन

दुई जना सडकमा जुधिरहेको छ भने पनि यहाँ त छुट्याउने कोही हुन्नन्, छेउमा उभिएर भिडेको हेर्नेको लाइन पो लाग्छ  भन्ने टिप्पणी गर्‍यो पछाडि झोला भिरेको अलि टाठो युवकले । हुन पनि हो, बरू गाउँतिर छुट्याउँछन् जुधिरहेका दुवै पक्षलाई समाएर । सहरतिर त छुट्याउन पनि मान्छेहरू कसरी अगाडि सरून्, जुधिरहेका मान्छे को कस्ता छन्, कतिसम्ममा खतरनाक हुन सक्छन् ती र के निहुँमा भिडेका हुन् भन्ने खुट्याउन पनि सकिन्न ।  यसकारण उनीहरू चुपचाप आफ्नो बाटो लाग्छन्, या त रमिते बन्छन् । यही सहरमा छु आफू पनि । आफू पनि दर्शकहरूमै परिणत हुँदै गए जस्तो लाग्दैछ ।  

Cold-!4 शव वाहनमा हाल्न मृतकलाई लैजाँदै प्रहरी

खासमा त्यो बिहान मृत्यु जत्तिकै चिसो थियो । त्यही बोध गर्दै थिएँ फर्किँदा ।

6 comments:

  1. मन साह्रै कुँडियो । हामी रमिते भन्दा अरु केहि बन्न सक्ने ठाउँ छ कि छैन यहि कुरा मनमा खेलिरहेको छ ।

    ReplyDelete
  2. Its so sad :( ....

    Death is inevitable...however I feel that one should die a heroic death...people die like cats and dogs in the street...and it pains as well. Well the above post pained me as well. But dying this way seems pathetic :(

    ReplyDelete
  3. सलाईको काँटीजस्तै ओस्सियो मन ।

    ReplyDelete
  4. 'खासमा त्यो बिहान मृत्यु जत्तिकै चिसो थियो । त्यही बोध गर्दै थिएँ फर्किँदा ।'

    OMG! भाउन्न छुटाउने कुरा ।

    पहिलो तस्वीर र ब्लगको उठान अनि टाइटल हेर्दा कुनै हँसमुख स्वभावको अ/परिचित युवक न्यानो घाममा उत्तानो पल्टेर आनन्द मनाईरहेको रहेछ भन्ने लख काटेको थिएँ ।

    ReplyDelete
  5. कति सस्तो जीवन ?

    ReplyDelete
  6. संबेदना भन्ने चिज नै हराइसक्यो साला यी शहरहरुमा ।

    ReplyDelete