January 30, 2011

प्रेमको खोपमा जोर परेवा

Couple“अब सँगै उड्न हामीलाई केही सहज होला है !”, चराले पखेटा टकटक्याए झैँ सर्टमा हल्का देखिन थालेको भुवा झार्दै उसको छेउमा फुसफुसाउन मन लाग्छ । यो कुरा सुन्न ऊ ठीक यतिखेर साथमा छैन ।
एउटै छानामाथि घाम तापिरहेका जोर परेवा वल्लो छेउ र पल्लो छेउमा बसेर घुरिरहे झैँ पिरो दूरी टाँगिएको छ हामीबीच । र पनि ऊ नहुँदा पनि उसको आत्‍मीयताको कसिलो बन्धनले रक्षाकवचको काम गर्छ । म त्यही आत्मीय अनुभूतिको झोलुङ्गोमा निश्फिक्री लोलाउन थालेको छु । भन्छन्-  कवि, प्रेमी र पागल यस्तै विचित्र खालका अनुभूति गर्छन् । आममानिस भन्दा अलिकता भाँचिएको कित्ता । अब गाउँमा आमासँग टेलिफोन कुराकानी गर्दा ‘आमा, म राम्रैगरी बिग्रिएँ’ भनिदिए हुनेभयो अब ।
उसले याद गरेर राखेकी छे, हाम्रो पहिलो वार्तालाप, भेटघाटको सुरुवाती बेला । ‘आज घरमा गुन्द्रुकको अचार बनेको छ’ देखि ‘किन यस्तो म जस्तो अभागी हुन्छ होला है मान्छे’ भन्नेसम्मको प्रसङ्गमा उसले सुनाउने वृत्तान्तको जुहारी कुनामा मैले कान थाप्दैआएको छु । ऊ बेलाबेला त्यही पुराना दिनबारे प्रसङ्ग सुनाउँछे, यस्तो भा’थ्यो है ! स्कूलकी जेहेन्दार र लगनशील विद्यार्थी जस्तै उसले यी सबै कुरा स्मृतिको एलबममा तास झैँ फिटेर राखेकी छे । बरू   मैँ पो हुँ हुस्सु ! मेरो मनको भित्तामा कतिखेर-कतिखेर उसको प्रेमिल पेन्टिङ टाँगियो, हेक्कै छैन । मन त्यस्तै हो मग्नमस्त मात्र हुन जान्दछ, हिसाब राख्दैन केही कुराको । म झरेँ पात जस्तै उसको आनन्द वनमा । एकदम पहेँलिएर ।
“आखिर वो भी फस गया हाऽ हा ऽऽ हा ऽऽऽ "

केही दिन पहिलाको कुरा - बिहे हुन लागेको आफ्नो पुरुष मित्रको बारेमा अफिसका सहकर्मी दाइ टिप्पणी गर्दै थिए । त्यो टिप्पणी केवल ठट्टा थियो या यथार्थको गह्रुङ्गो बिटा, खै बुझिनँ । मभित्र भने त्यही फस्ने कुरा हरियो रहर भएर मौलाउँदै गएको छ । मान्छेहरू अनेकौँ जमघटहरूमा प्रेम सम्बन्ध र विवाहबारे यस्ता तीता टिप्पणी, गुनासो, चर्चा विभिन्न अनुभवी मान्छेहरूकै मुखबाट सुन्छन्, र पनि आखिर किन होमिन्छन् सम्बन्धमा ? किन आफ्नो चोटपटकविहीन मनलाई गुडाइदिन्छन् बन्धन भनिने विवाहको झीरतर्फ ? मैं पनि त किन त्यस्तै हुँदैछु ? अब यस्ता कुरा ‘घर सल्लाह’को रूपमा उसैलाई सोधे हुने भएको छ मैले :) ।
सहरमा अरूलाई कत्तिको भावनात्मक संकट पर्छ कुन्नि, म भने बेलाबेला रुखिन्छु । सधैं यस्तै लाग्दै आयो, विभिन्न अवसररूपी चारो छोप्ने दौडाहामा लाग्नेहरूको फौज हो सहर । यहाँ मन, भावना भन्ने कुरा उच्चारण गर्नु पनि वाहियात हुन सक्छ । चोइटा मन लिएर कसैसामु सहानुभूति खोज्दै पुग्दा उपहारमा झन् हजार चोइटा  पाउन के बेर !  मान्छे नै मान्छेको चाङ लाग्ने सहरको कुनै चोकतिर मोटरसाइकल लड्दा त्यसैमा च्यापिएर निरुपाय लडिरहने बिचराहरूलाई  थुप्रै पटक सडक किनारबाट नियालेको छु । दया गरेर पनि कसैले सहारा दिँदै उठाइदिंदैन बाइक । मेरो पाइला पनि त त्यस्तो सहयोगी कार्यमा नसर्न थालेको धेरै भयो । यस्तो निष्‍ठुरी मनले म माया गर्न खोज्छु, माया पाउने आश गर्छु यो सहरमा ! खासमा निष्कपट र कमलो हुनुपर्ने मन-मुटु भन्ने चिजलाई पनि कुनै रिपेयर सेन्टरमा लगेर पानीको फोहराबाट सफा पार्नुपर्ने स्थिति छ । कुनै फर्निचर सेन्टरमा लगेर खाक्सीले चिल्याउनुपर्ने भएको छ ।

यस्तो सहरमा यस्तो खिया लागेर रुखिएको मनले खोज्ने रहेछ साथी । आफैँमाथि पनि पत्यार नहुने जाली सहरमा कसैमाथि पत्यार गर्न मन लाग्ने रहेछ । उसले आफूमाथि कति पत्यार गर्ला, माखेसाङ्लो जस्तै छ सम्बन्धभित्रको सुरुङ पनि । कता जोडिँदा कता पुगिने, नहिँडेको बाटोमा पाइला मोडिने । ‘होइन होइन’ भन्दाभन्दै नाटकीय मोडको बुई चढेर आखिरमा ‘हो’ मा परिणत हुने युगल आवाज । ‘अपरिभाषित’ सम्बन्धमा खुसी खोज्दै त्यसैमा ‘परिभाषा’ खोज्ने आशामुखी हेराइले यस्तै नतिजा दिन्छ कसैकसैको जिन्दगीमा । मेरो जिन्दगी त्यस्तै एकथान गन्ती गरिपाऊँ !
लेख्‍न खोजेको कुरा सायद यति टुक्रामा अँटाएन, अँटाउँदैन पनि । माया र सहृदयी भावको कुनै आकार पनि त हुन्न अँटाउनलाई । यो कुरा उसले बुझे मेरो लागि काफी । उसले मात्र । यही हो यो सहरमा अत्यासको भुङ्ग्रोमा खङ्ग्रङिएर प्रेमिल सिंचाइ खोज्दै भौँतारिएको मनको मायालु घोषणा । यो भौँतारिनुले अब कुनै ठेगानको बिन्दु पाए झैँ लाग्दैछ । त्यो टुङ्गोको बिन्दु ऊ नै हो ।

No comments:

Post a Comment