Subscribe:

Ads 468x60px

23 January 2014

जागिर : एक कारागार

भात खाने लतले राम्रैगरी गाँजेपछि मैले जागिर खान थालेँ । अहिले भात र जागिर दुवै कुराको अम्मल छ ।

आजकाल जागिरको दौडमा अमिलो पसिनाले गुम्स्याउँछ । पसिनालाई संसारकै महँगो अत्तर ठान्ने म यो बगिरहेको पसिना र अलमलिंदै बगिरहेको बागमतीमा खासै फरक देख्न छाडेको छु ।

Job_Labourमहिनाभरि रगतलाई श्रममा पोतेर म आफ्नो अनुहार नियाल्ने गर्छु जिन्दगीको फ्रेममा । त्यहाँ आफ्नै चित्र सधैँजसो केही अपूर्ण देख्छु । कि त चोसो नमिलेको चित्र बन्छ । कि त छिटा रङले कतै न कतै फोहोर पारेको हुन्छ । त्यो एक थोप्लो छिटालाई ‘सेक्सी कोठी’ भनेर मक्ख पर्न पनि सक्दिनँ । खुसी हुने नाममा ‘फेसन शो’ कहाँ हो  र जिन्दगी !

सबैले खान्छन् जागिर । जागिर नरुच्ने र नपच्नेले आफ्नै उद्यम र व्यवसाय थालेर मालिक बन्छन् । आफ्नै उद्यम थाल्ने जुक्ति र शक्ति नहुँदा मैले पनि धेरैले जस्तो जागिर नै खाएँ । अखाद्य फल पनि थिएन यो, नखाएर बस्नलाई । यस्सै सुरक्षित हुनलाई भविष्य कतै र कसैबाट ‘स्पोन्सर्ड’ थिएन पनि । लगानी र सम्पत्तिको नाममा भएको एउटा ज्यानलाई पसले बनाएँ र थालेँ जागिरको मादक पसल ।

जागिर खान थालेयता धेरै परिवर्तन भएँ । उसो त जागिर नखाए पनि परिवर्तनको सांसारिक नियमले ननिमोठी कहाँ छाड्थ्यो र ? बुवाले सानोमा निमोठेको कान अलिक छिप्पिएको छ, तर यो छिप्याइले पनि समयको बोली सुन्न सक्दिनँ खासै । धेरै कुरा भुल्न थालेको छु जागिर खाएयता । जागिर खाइरहँदा भात र खाजा समेत भुल्न पुग्छु ।

जागिरले हो कि खै के कारण हो, बुवाले सानोमा सातो लिएको र हरदम गाली खाएको कुरा समेत भुलिसकेँ । मलाई सोझ्याउन बुवाले भाँच्ने बाङ्गो सिर्कना पनि भुलिसकेँ । कैलेकाहीँ आफैंलाई पनि भुल्दो रै’छु । त्यस्तो बेला विपश्यना ध्यानमा गुरु सत्यनारायण गोयन्काको धोद्रो स्वर ‘सास पर ध्यान दो !!’ हठात् सम्झिन पुग्छु । तब मात्रै पो संसारमा आफ्नो अस्तित्व बोध हुन्छ ।

ध्यानगुरुले सासमा ध्यान दिन सजग गराए जस्तै बुवाले पढाइ र भविष्य रटाउनुभयो । बुवाकै कारण जागिर खाएँ । घरबाट छोरा काठमाडौं हिंड्ने बेला बुवाले लिखुरे नाडीले दुई हजार-चार हजार रुपैयाँको नोट थमाउनुहुन्थ्यो । बुवाको नाडी हावामा हल्लँदै छोराको हत्केलामाथि आउँथ्यो, मेरा सानो हत्केलाले त्यो नाडीमा पीडाको कम्पन मापन गर्थ्यो । पैसा पाएर मक्ख पर्नुको साटो सरर्र काँप्थ्यो मेरो मुटु । सन्तानका लागि जुनसुकै आमा-बाले जस्तोसुकै कष्ट पनि सहन्छन् । वर्षामा छाता बन्छन् र ओत दिन्छन्, बाढीमा डुंगा बनेर खिइन्छन् ।

मलाई बिदाइका बेला काठमाडौंमा बस्ने र पढ्ने खर्च दिंदा भलै बुवालाई कुनै बोझ र तनाव नभएको होस् । तर, त्यो बेला एसएलसी पास भइसकेको जवान छोरोले घरलाई अझै पनि पैसा र दाल-चामल मार्फत ताछिरहँदा आफ्नै नजरको अग्लो भीरबाट पटकपटक पछारिन्थेँ र थिलथिलो भएर दुख्थेँ म । त्यही दुःखाइले मन अमिल्याइरहँदा जागिर खानु बाध्यता थियो । हतारहतार कतै अल्झिनु थियो । कसैगरी घरको आश गर्नुपर्ने दिन सकियून् भनेर कामना गरिरहन्थेँ हरघडी । ती बेला लेखिएका डायरीमा अल्लारेपनका भाका कमै छन् मेरा । बाटामा हिंडिरहँदा त्यतिबेला २०-२२ वर्षको एउटा युवक युवतीहरुका ओठ र छातीको नापनक्सा लिन छाडेर आज पैसा भेटिन्छ कि भन्ने आशले भुइँतिर नजर गाड्दै पाइला सार्थ्यो । कर्म गर्ने एकजोर हत्केलालाई कसैले ‘बाल’ दिइरहेको थिएन । आफैं पनि पढाइ र कामको दोबाटोमा फाट्न सक्ने हालतमा थिइनँ सायद त्यो बेला । जागिर खानैपर्ने आत्मदबाब पर्नुमा घरको हालत खराब थिएन, स्वाभिमानले भक्कुमार पिटेर मेरो हालत खराब पारिरहेको थियो ।

एक दशक हुन लाग्यो जागिर खान थालेको । दश वर्ष लामै कालखण्ड हो एउटा व्यक्तिको जीवनमा । यो अवधिको आफ्नो जीवन र यात्राको उपलब्धि नापेको छैन मैले । जीवन-यात्राको कुरालाई अलग्गै केलाउने हो भने, जागिरको आम्दानी र सफलता के कुरालाई मान्ने ? महिनैपिच्छे थापिने तलबलाई कि सुरक्षित हुँदै जाने भविष्यलाई ? म जान्दिनँ । सुरक्षित त खै कसरी भन्ने ! जहाँ टेकिरहेछु, कुन बेला भासिन्छु जस्तो लाग्छ ।  र पनि प्रिय छ जागिर । सास र धड्कनको अलंकार प्रियसीलाई लक्षित गरिन्छ भने मेरो प्रियसी नै जागिर बनेको छ । जागिर नगरे म बहुलाउँछु । पाएको र खाएको जागिर छाडे मानौं म मरिहाल्छु ।

अहिलेको हेराइमा जागिरको उपलब्धि मेरा पाक्दै गरेका कपाल र थाक्दै गरेको ज्यान हो । अमेरिकी राष्ट्रपति बराक ओबामाको पहिलो कार्यकालपछि उनी अनेक तनाव र पिसानले गलेर बुढो देखिएको र पहिलेभन्दा फुलेको भनेर कतै पढेको थिएँ । आफ्नो जीवनको सत्तामा जागिरको भोगचलन गरेयता म पनि त्यस्तै भएको छु आज, केही फुलेको / केही थाकेको ।

स्वभावले मलाई जोगी बनेर हिंड्न मन लाग्छ । जहाँ कुनै हतार नहोस्, रुटिन नहोस् । नमस्कार नहोस्, जयजयकार नहोस् । तलबको नाममा रगत र पसिनाको थुप्रोलाई गणितमा राफसाफ गरेर मिलाउने दुस्साहस नहोस् । होस् त केवल मनको रफ्तार ! जोगी बनेर हिंड्न जति नै मन फुरफुर गरे पनि जागिर पनि खाइरहन मन लाग्छ । यही कुलतले जकड्याएर राखेको छ । मानौं, राति निदाउँदा सपनामा सयर गरिरहँदा पनि अफिसियल पोशाकमै हुन्छु, ता कि हाकिमको बोलावट आयो भने तुरुन्ता तुरुन्तै सपनाबाटै आँखाको ढकनी च्यातेर हाजिर भइहाल्न सकूँ !

रोजेको कारागार हो जागिर, मेरो निम्ति । निराशावादमा सास चुहाउनेहरु जन्मलाई नै हतकडी र नेल मान्छन्, पृथ्वीलाई कारागार सम्झन्छन् । म आफूलाई मुक्त पार्ने लालसाले जागिरमा जेलिंदै गएको कयौं पात्रमध्येको एक हुँ । हो त, कारागारमा खान पाइन्छ, बस्न पाइन्छ । बाथरुमको सुविधा पनि हुन्छ ।

साँगुरो सुरुङको बाटो रै’छ जागिर भन्नु । पस्ने द्वार छ, फर्किऊँ भने मोडिने एक इन्ची ठाउँ छैन । मोडिने ठाउँ भन्नु एक घुस्सा साहस र जोखिम त हो । जुन जोखिम उठाउन हामी जागिरेहरुले सकिरहेका छैनौँ ।

जागिर : खाएर खाइनसकिने र नसकेरै खाइने जिनिस !
जागिर : नखाई नहुने र खाएर पनि नअघाइने हावाको भुसुना !

मलाई अचेल जागिर र बिहे उस्तै लाग्छ । खाए पनि पछुताइने र नखाए पनि थकथकी लाग्ने । जागिर खाएर अहिलेसम्म कोही मान्छे ठूलो भएन (खास-खास सरकारी कारिन्दा बाहेक), बिहे गरेर पनि लोकलबाट कोही विकासीमा उक्लेन ।

जागिर अर्थात् नित्यकर्म ।

म जागिर खाइरहेछु ।

6 comments:

  1. ‘मजदुरी‘ र ‘मजबुरी’ जागिरको एकसिक्काका दुइ पाटा झै हुन् । जागिर कि ‘जा’,‘गिर’ को तापमा यो शहरमा छटपटिएर हिँड्दा मेरो पनि यस्तै अनुभव थियो। बडा गज्जप लाग्यो तपाईँको लेखोट ।

    ReplyDelete
  2. 'jagir' is the fate of us all, a metaphor of the absurdness of human life and vanity of human struggle, a tale of Sisyphus! beautifully crafted and great sense of humor! keep writing, Dhaibaji. :)

    ReplyDelete
  3. गज्जप जागिर- नखाउ दिन भर को सिकार खाउ कान्छा बाउ को अनुहार

    ReplyDelete
  4. गज्जब लाग्यो है

    ReplyDelete
  5. बेलायतमा पहिलो पटक जागिर खाँदा मलाई म लीलाम भएको गुलाम जस्तो लागेर एस्तो लेखेको थिएं !

    बोली लगाउनेहरुका सामु म
    निशब्द मौनब्रतमा सुनिरहेछु
    गुलामहरु माथि मालिकहरु मुल्य लगाइरहेछन
    हाट बजारको बिकारु बस्तु झै म मुल्य बढाउदै छु आफ्नै
    मालिकहरु मुल्य थप्दैछन
    अनी अन्तिम मुल्य मा म
    एक सय साठी -१
    एक सय साठी -२
    एक सय साठी -३
    खडेरी रहेछ क्यारे
    आकाश छर्लङ छ, न बादल मडारिएको छ
    न कतै पानी बर्सिने संकेत नै छ
    तै पनि आँधी हुरी चले झै लागिरहेको छ
    सुनामीले किनारबाट बगाएको नाउ झै हराइरहेछु
    लीलामी पछीको गुलाम म
    आत्म-सम्मान बिक्रीका लागि कराइरहेछु
    एक सय साठी -१
    एक सय साठी -२
    एक सय साठी -३

    ReplyDelete
  6. कति मिठो र सरल शैलीमा आफ्नो कुराहरु प्रस्तुत गर्नु भएको रहेछ ... एक दम मन छोयो सायद ... आफ्नै कथा सँग मेल खाएर नी होला .. दोहर्याएरै पढे !
    मैले ब्लग चहारेर पढे मध्येकै उत्कृष्ठ लाग्यो यो लेख |
    अनिल (आकार ) जी को ब्लगको 'मेरो बिहेको कथा' अनि दिनेश दाइको कविता-'हिसाब र बोझ' अनि यो ब्लगको 'जागिर : एक कारागार' मेरो मन भित्र रहने भयो !

    ReplyDelete