गीतकार वीरेन्द्र राईले सात सयभन्दा बढी गीत लेखिसकेका छन्। सयौं
गीतमध्ये एउटा उनको मनको सबैभन्दा नजिक छ, जसले उनलाई २६ वर्षयता बेलाबेला
झस्काइरहन्छ। मुटु असह्य हुने गरी रेटिरहन्छ। खोटाङबाट काठमाडौं आएर राईले गीत–संगीतमा राम्रो नाम कमाए।
घर–गृहस्थीमा आफ्नै संसार सृष्टि गरेर अघि बढे। तर, एक समयमा पत्रमित्र
साथी हुँदै प्रेमिका बनेकी पात्रले उनलाई उही तरुनो बेलामा पुर्याइदिइन्। बैंसमा प्रेमको भुङ्ग्रोमा परेर छटपटाएका गीतकार राईले सफल गीत र असफल प्रेमको दुःखान्त किस्सा यसरी सुनाएः
सानो छँदा रेडियो नै सञ्चारको एकमात्र साधन थियो । रेडियो नेपालबाट गीतहरू सुन्ने क्रममा आफू पनि यस्तै गाउन पाए कस्तो हुन्थ्यो भन्ने रहर पलाउँथ्यो । त्यसबेला लेखक–कवि बन्छु भन्ने एक मनमा पनि थिएन।
२०४० सालमा एलएलसी परीक्षा दिएर उच्च शिक्षा पढ्न खोटाङबाट काठमाडौं आएँ । गायक बन्छु भन्ने सोच मनभरि थियो । गायक बन्नलाई सुरतालको अनेक ज्ञान चाहिने रहेछ भन्ने बुझेपछि यो बाटो मेरो होइन भन्ने लाग्यो । बरु कवि–लेखकहरूसँग सरसंगति बढ्दै जाँदा गीत र कविता लेख्न थालेँ।