Subscribe:

Ads 468x60px

09 November 2008

अर्थात् अग्निशिखा

शब्दका खेलाडीहरूलाई, अक्षरका प्रेमीहरूलाई शुकदेव नेपाल नामको अस्तित्वसँग कुनै परवाह नहुन सक्छ । ५३ वर्षघिको जन्मसमयमा (सम्वत् २०१२ असार १८) शुकदेवकी आमाले त्यो प्रसव पीडाबाट झट्ट छुट्टी लिएर सायदै सोच्न भ्याइन् - छोराको कर्मयात्रा र गहुँगोरो भविष्य । तिनै शुकदेव समयक्रममा अग्निशिखाको पहिचानमा सिर्जनशील जीवनको इतिहास कोर्दै देखापरे । जीवनमा देखापर्नुजत्तिकै स्वाभाविक डुङ्गामा अग्निशिखा जीवनको नदीबाट पारि तरे, दायाँ-बायाँ धारमा कृति र कीर्तिका छालहरू छचल्काएर छाड्दै ।
दसैँको टीका सम्झिँदै राजधानीबाट जिल्लातिर फाल हान्दै गर्दा काठमाडौँ खाल्डोबाट बाहिरिने गल्छीमा थामिएको बसले अखबार किन्नलाई फुच्चे हकर जुराइदिएको थियो । असोज ७ गते बिहानको कुरो । तब अखबार समाउनासाथै पहिलो पाताले नै टाउकोमा दसैँको टीकाभन्दा वजनदार टाँसो पोतिदियो । पढ्छु- हृदयाघातबाट अग्निशिखाको निधन । शिखा त अघिल्लो दिन बिहानै सांसारिक चोलाबाट बिदावारी भइसकेछन् । एउटा हृदयाघातले यता अर्को घात मलाई दियो । सती वयरको झ्याम्टाले पाखुराभरि कोतरेजस्तै पिरो भयो ।
हृदयाघातको बिरामी हुनु भनेको त्यस्तो हो, म कल्पना गर्छु, त्यो झट्कासरि झ्वाट्ट आउँछ, सायद पीडितलाई पनि पीडाको फुर्सदिलो हिसाब नहुनेगरी । कतिपयलाई हृदयाघातले धेरैपटक जिस्काइरहन्छ र पनि केही गर्दैन । धेरैजनालाई यसले पहिलो चुम्बनमै एकैचोटि कलकलाउँदो जीवनबाट चुँडेर लैजान्छ । अग्निशिखा नेपाली साहित्य र सञ्चार क्षेत्रका त्यस्तै एउटा फूल भएर झरे ।
अग्निशिखा मार्क्सवादी चिन्तनका पक्षधर । आज धेरै मान्छे पार्टीको छातामुनि ओतिएको आधारमा कम्युनिस्ट हुन्छन्, पार्टीले कम्युनिस्ट ! यस्तो लाग्छ, यो रोग छिपछिपे क्रान्तिकारिताको कीरा लागेका दूषित मनहरू अवस्थित हाम्रो जस्तो मुलुकको अब्बल विशेषता र धरातलीय यथार्थ हो । तर अग्निशिखा विचारले कम्युनिस्ट थिए, त्यही भएर बाँचे । मरणोपरान्त कुन पार्टीले उनको शवमा झन्डा ओढायो, यो विषय होइन । विषय हो, उनी कस्तो व्यक्तित्वको गुदी लिएर समाजको निरन्तरको कायापलट-दौडमा आफ्नो जिम्मेवारीमा कतिसम्म वेगिए ? यस मानेमा पुष्ट फलयुक्त पक्का छवि मेरा आकलनमा उनको रहृयो ।
२०६० चैत्रताका उनको पुस्तक आस्थापुञ्ज किनेको थिएँ, डिल्लीबजारको कुनै पुस्तक पसलबाट । मसँग भएको उनको त्यही मात्र एउटा किताब हो । जुन किताब उनले यसरी समर्पण गरेका छन् -
समर्पण
ती सबै कम्युनिस्टमा
जसले कम्युनिस्ट हुनुको गौरवलाई
आफ्नो स्वार्थपूर्तिको लाइसेन्स बनाएनन् ।

समर्पणको ओज निकै गहन हुन्छ । यसको अर्थ आलाकाँचा ठिटा-ठिटीको 'म तिमीप्रति मन-मगजले पूरै समर्पित छु प्यारा/प्यारी !' भन्ने स्पस्टीकरण बोलमा हुन्न । समर्पण मनको बोलीबाट गरिन्छ, रगतमै गुन्जिएको हुन्छ । शिखाको उक्त हक्की मनबोलीबाटै थाहा हुन्छ उनी बिना लाइसेन्सका कम्युनिस्ट थिए । त्यसभन्दा पहिलो र प्रमुख कुरो, उनी मानिस नै भएर बाँचे ।
अन्तर्राष्ट्रिय मामिलामा विशेष दखल राख्ने शिखा पत्रकारितामा पनि त्यही ज्ञानलाई अस्त्र बनाएर चल्तापूर्जा पाठकप्रिय लेखक/स्तम्भकार रहे । पछिल्लो समयमा नयाँ पत्रिका राष्ट्रिय दैनिकमा सहायक सम्पादकका रुपमा क्रियाशील उनी राजनीतिक पृष्ठभूमिमा विभिन्न अन्तर्राष्ट्रिय क्रान्तिकारी हस्तीहरूको गौरवशाली जीवन-इतिहास केलाउनमा बढ्ता रुचि राख्थे । उनका प्रायशः पुस्तक पनि तिनै शिखर व्यक्ति-व्यक्तित्वका जुझारु जीवनकथा समेटिएको रुपमा प्रकाशन भएको पाइन्छ ।
यो सबै मेरो बिलौना र चर्चा पनि अब यतिखेर मृत्युपछिको आराधना भइगयो । तर उनको जीवन छँदै पनि जब्बर प्रतिभा भनेर मनभरि राखेको कद हो- अग्निशिखा । बाब्बा ! कसरी लेख्न सकेका होलान् यतिविघ्न गहिरो विवरणको र कलात्मक बान्कीका लेखहरू !! त्यो पनि विदेशी अनुहारहरूका ! पढेर म चकित हुन्थँ ।
गत असोजको सुरुवाती दिनमा भएको सामुहिक जमघटमाझ नयाँ पत्रिकामा कार्यरत मेरा सहपाठी अर्जुन पौडेलसँग प्रसङ्गवश अग्निशिखाबारे कुरा उप्काएको थिएँ । जिज्ञासासूचक भावले उनलाई सोधेको थिएँ - 'अफिसमा के गर्छन् अग्निशिखा चाहिँ ?' त्यतिबेला शिखा जीवितै थिए, उनी त जीवनको आखिरी घडीसम्मै कलमसँग एकाकार रहने सौभाग्यशालीमध्येका रहे । मेरो जिज्ञासामा अर्जुन बोले-'अनुवाद गरी बस्छन् उनी, जहिल्यै उनको जुटाइ त्यस्तै हो ।'
उक्त दैनिकमा सुरुवातदेखि कार्यरत अधिकांश पत्रकारहरूले पत्रिका छाड्ने क्रममा तीव्रता आएको सन्दर्भमा कुरा हुँदा सबै राम्रा मान्छे पत्रिकाबाट बाहिरिइसके भन्ने प्रतिक्रिया मित्र अर्जुनले दिएका थिए । अनि हतारिएर मैले 'अग्निशिखा त छन् नि ?' भनेर सोध्दा 'छन्' भन्ने जवाफ मिल्यो । मनैमनमा एउटा राम्रा मान्छे त (पत्रिकामा) रहेछन् नि भन्ने लाग्यो । तब मैले सोधेको थिएँ- 'के गर्छन् अग्निशिखा चाहिँ ?'
नयाँ-नयाँ अखबार प्रकाशन हुने तर्खर हुँदै गर्दा र नेपाली छापा संसार दक्ष जनशक्तिको तानातानी गर्न हाटबजारमा परिणत हुँदा त्यसको प्रतिफलमा छनोटको विकल्पहरू पत्रकारहरूको लागि खुला भएका छन् पछिल्लो समयमा । वर्षौँदेखि पुराना पत्रिकाहरूमा रहेर खारिएका पत्रकारहरूको 'बार्गेनिङ पावर' ती नयाँ प्रकाशनको सामु एक्कासि बढेको छ । वहाल रहेको अड्डामा भन्दा राम्रो अवसर भएमा अन्यत्र जान जोकसैको मन हुन्छ । यस कुरामा, अरुको अधिकारको कुरालाई स्वर भर्ने पत्रकार चुक्ने कुरै छैन । तर राम्राभन्दा राम्रा अवसर भन्दैमा यता र उता घस्रिने डुलुवा रोग लाग्यो भने पत्रकारको पनि खैरात हुन्न होला ।
अन्त्यमा, ३९ हस्तीहरूको जीवनगाथा सँगालिएको शिखालिखित पुस्तक 'आस्थापुञ्ज' को भूमिकाबाट उनी कसरी रमझम दुनियाँबाट ज्ञानगुनको बौद्धिक फाँटमा कोल्टे फेरे भन्ने प्रसङ्ग उनकै शब्दमा यहाँ खुलाउँछु । अनर्थ लाग्दैन भने यहीँनेर भन्न मन लाग्यो, तलको कायापलट-कथा पढ्दा रत्‍नाकर डाकू वाल्मीकीमा परिणत भएको किस्सा याद आउँछ । कस्तो लाग्छ, आफैँ पढ्नोस् है त एकचोटि -

'कुनै जमाना थियो- मेरा कोठामा खातका खात हिन्दी फिल्मी पत्रिका हुन्थे । म, फिल्मी नायक-नायिकाकै गफमा जुट्थेँ । सपनामा पनि नायक-नायिका नै देख्थेँ । हेमा र जीनतसँग सपनामा कुरा हुन्थ्यो, सायरा र शर्मिलासँग सपनामै भेट हुन्थ्यो । म र मेरो मामा-चेलो हिमाञ्चल भट्टराईको रुमानी संसार यस्तै थियो ।
एकदिन त्यो संसारमा जबर्जस्त हस्तक्षेप । त्यो दिन जब म र हिमाञ्चल फिल्मफेयर पत्रिकाका सामग्रीमा डुबिरहेका थियौँ । कभरमा छापिएको जीनतको ग्ल्यामरस फोटोमा मग्न थियौँ । अचानक जेठा मामा कोठामा आउनुभयो । केही भन्नुभएन, मेरो हातबाट फिल्मफेयर थुत्‍नुभयो । र, झ्यालबाट बाहिर फ्याँक्नुभयो । बिना एक शब्द बोली कोठाबाट बाहिरिनुभयो । म र हिमाञ्चल स्तब्ध भयौँ । हाम्रो रुमानी संसार चकनाचुर भयो ।
म मामासँग रिसाइनँ । मेरा आँखा खुले । कोठाबाट फिल्मी पत्रिका हटाएँ । फिल्म हेर्न छाडेँ । हिरो-हिरोइनका गफ पनि छुटे । कोठामा भित्रिन थाले प्रगतिशील साहित्यका पुस्तकहरू । गोर्की र लु शुन, प्रेम चन्द र हवार्ड फास्टका रचनामा हामी डुब्न थाल्यौँ । अर्थात्, अब सुरु भयो यात्रा हिमाञ्चलसँगै आस्थापुञ्जको आकाशतर्फको....।

नोभेम्बर ५, २००८ / © जोतारे धाईबा

******************************************************************

2 comments:

  1. "उ फेरी आउनेछ" भन्ने उनको कृति मैले धेरै पटक दोहोर्‍याएर पढेको छु, तर अहिले मसँग उनका कुनै किताब पनि छैनन् ।

    "उनलाई सँधै सम्झिरहन सकियोस्"

    ReplyDelete
  2. अग्निशिखामा हार्दिक श्रद्धाञ्जली!

    ReplyDelete