Subscribe:

Ads 468x60px

21 December 2008

गजलको पुन:जागरण र मेरो गजलकार

गजलमा हात नचलाएको धेरै भएको थियो । एक जुग नै भने हुने ! पछिल्लो समय ब्लगमा हालेका गजल पनि वर्षदिनअघिका थिए, तिनबाटै आफ्नो 'गजलगो'को चिनारी बचाउने लोभ पूरा गर्दै आएको थिएँ । तर यसरी बिनसित्ति पुराना सिर्जनाको ब्याज खाएर बसिरहन गाह्रो लाग्यो । तैपनि फेरि गजल लेख्‍छु भन्ने कुरा मनमा जोख्‍नु समेत सजिलो कुरा थिएन मेरो लागि, मुड नै हराइसकेको थियो । कविता सिर्जनामै मलाई आफ्नो खुबीप्रति आत्मविश्‍वास र सन्तुष्टि मिलिरहेको थियो र समकालीन एवम् अग्रजहरूको धाप पनि । र पनि एक जमानामा मरिमेटेको क्षेत्रलाई चटक्क माया मार्न पनि नसकिने रहेछ । यद्यपि, गजलको सिर्जना अनि म बीचको साइनो वर्षौँ भू-गर्भमा गाडिएर रूप गुमाइसकेको चाबीको झुत्तासमान थियो, एकदम खियादार । त्यस्तो माध्यम अपनाएर मेरो सिर्जनात्मक दैलो खोल्नु वशको कुरा लागेन मलाई ।

यस्तो अनेक सकसलाई चिर्दै आफूभित्रको सुषुप्‍त अनुभूतिलाई चलाएँ र गजलको चकमकमा झोसेँ । अरूका गजल पढेँ, गजलबारेको चर्चा र टिप्पणी साथीसङ्गीको ओठबाट आमन्त्रण गरेँ । अनि यही हो है जिन्दगी भनेझैँ तालमा घोरिएर गजलको खेस्रामा औँला घिसार्न लागेँ । ब्लगमा राखिएका मेरा गजलबारे दाइ साथी दीपक जडितज्यूको सङ्केत र उहाँकै गजल-वहाबले पनि यसै मेसोमा आएर मेरो गजल लेखनको पुन:जागरण कालमा तेल थपिदियो । समृद्धिज्यूले पनि आफ्ना गजलको सन्दर्भबाट मलाई जगाउनुभयो । र म लागेँ जोर जोर पङ्क्तिको तानाबानामा । यसबीचमा कति नयाँ पङ्क्ति लेखिए, सर्लक्क पूरै मेटिए हिसाब रहेन । गजल नलेखिनुका कारण केही थिए, एक: गजल लेख्‍ने र सुनाउने साथीभाइको सङ्गति र कार्यक्रमबाट टाढै रहनु; दुई : गजलमै केही गर्ने तत्परताको कमी । गजल लेख्‍ने साथीहरूको सङ्गतिमा नरहनुको मुख्य कारण त राजधानीमा पहिले जस्तो मन बहलाउने गजल-गोष्ठि नहुनु नै हो ।

२०५९ सालमा मीन भवन क्याम्पसका साथीहरूले सुरु गरेको गजल गृह नामक संस्थाको नियमित गजल संलाप कार्यक्रम नयाँ गजलकार जन्माउने र पुरानालाई उक्साइरहने गतिलो मञ्च थियो । दुई-तीन शृङ्खला पुग्दानपुग्दै लोकप्रियता कमाउन त्यसलाई कति पनि बेर लागेन । नियमित गोष्ठिसँगै पछि द्वैमासिक गजलप्रधान पत्रिका पलाँस पनि प्रकाशन हुन थाल्यो । त्यसले झन् गजलका सर्जक र प्रेमीहरूलाई गजलसँग रमाउने अर्को बहाना दियो । संस्थाले देशभरि प्रतिनिधि बनाएर सञ्जाल विस्तार गरेको थियो । संस्थालाई टिकाउन र अगाडि प्रभावकारी तवरले हाँक्न व्यवस्थापन-संयोजन आदिका कुरामा साथीहरू पक्कै पनि पापड त बेल्थे नै, तर कार्यक्रमले ख्यालख्यालमै व्यापकता पाइरहेको थियो ।

उक्त कार्यक्रम, पछि शाही शासनको उकुसमुकुस र आन्तरिक खिचातानीका कारण रोकियो । त्यसपछि त्यो पक्षघात भएसरि ढलिरह्यो, त्यही रूपमा उठेन । पछि पुरानै अध्यक्षले आफ्नै हिसाबले सानो ढाँचाको कार्यसमिति बनाउनुभएर पलाँस पत्रिकाले भने अद्यापि पाइरहेको छ । कार्यक्रम बन्द भएसँगै ममा गजल लेखनप्रति लगाव टुट्दै गयो । त्यसरी देशव्यापी गजल-माहोल तताउने कार्यक्रम पनि संस्थाभित्रको पद र नामको घानमा परेर बन्द भएको कुरा थाहा पाउँदा निकै नमज्जा लाग्यो, एक किसिमले गजलप्रति नै मोहभङ्ग भयो ।

आज मात्रै दुइटा गजल लेखेँ । सङ्ख्यात्मक कोटाको हिसाब गरेर त के मक्ख पर्नु ? र पनि यो मेरो लागि अपार हर्षको कुरा हो- म फेरि गजल लेख्‍नमा एकोहोरिएँ । तिनै दुईमध्ये बालापनको प्रसङ्गमा लेखिएको एक गजल यहाँ पस्किएको छु :


खस्ने गर्थ्यो बम-गोला हाम्रो सानो स्कूलमाथि
पापी आँखा परे जस्तो सुकोमल फूलमाथि ।

उमेरले हुने हो कि विवेकले ठुलो मान्छे,
छ्‌याप्नु छ्‌यापे हिलोमैलो मानवको कुलमाथि ।

जेजे गर्‍यो आफूले ती सबै काम सही हुन्छन्,
पछुतोको भावै छैन आफ्नो कुनै भूलमाथि ।

फूर्र नाच्ने माछी देख्दा सहन्नन् यी रत्तिभरै,
सिङ्गो नदी छेक्छन् अनि हाँस्छन् काकाकुलमाथि ।

तागतको फिँज हेर कतिविघ्न उम्लिएको,
जोरी खोज्दै खनिँदैछन् बारुलाको हूलमाथि ।


डिसेम्बर २१, २००८ (नक्साल, काठमाडौँ)

4 comments:

  1. फूर्र नाच्ने माछी देख्दा सहन्नन् यी रत्तिभरै,
    सिङ्गो नदी छेक्छन् अनि हाँस्छन् काकाकुलमाथि ।

    जोखेर भन्नुपर्दा यो शेरलाई करोढको भन्छु म तर माछीको नचाईलाई लेखिएको अनुकरणात्मक शब्द भने खट्कियो । दोश्रो र चौथो शेरमा काफिया अक्षर दोहोरिएपनि त्यो भने शब्दले ढाक्न सफल छ ।

    जेजे गर्‍यो आफूले ती सबै काम सही हुन्छन्,
    पछुतोको भावै छैन आफ्नो कुनै भूलमाथि ।

    करोढमै आउने अर्को शेर यो लाग्यो र दोश्रो गजल पनि पढ्ने हुटहुटी जागेको छ है ।

    ReplyDelete
  2. गजल मेरो पनि मन पर्ने बिधा हो। 'मनपर्ने' मतलब 'पढन मनपर्ने'। कहिले काहि लेख्‍ने कोशिस पनि नगरेको हैन तर प्राय २-३ शेर पुरा भएपछि, के के चित्त नबुझेर अड्किन्छन् ।

    तपाईको पुन:जागरणमा भने पुनर्ताजगी प्रष्ट देखिएको छ।

    जेजे गर्‍यो आफूले ती सबै काम सही हुन्छन्,
    पछुतोको भावै छैन आफ्नो कुनै भूलमाथि ।


    निरन्तरताको शुभकामना!!

    ReplyDelete
  3. जेजे गर्‍यो आफूले ती सबै काम सही हुन्छन्,
    पछुतोको भावै छैन आफ्नो कुनै भूलमाथि ।

    आहा दिन भरि नै पढु पढु लाग्ने कति मिठो
    अनि यस्तो गजल गुरु भएर पनि किन छोडनु भाको त? पुन आगमनमा बधाई छ ।

    ReplyDelete
  4. दिलीप जी ले भने जस्तै मेरो पनी गजल पढ़न मन पर्ने विधा हो -लेख्न चाहि खोई कसैलाई देखाएकै छैन -२/४ ओटा त लेखेकों थिए तर भाका नमिले जस्तो लागेर त्यसै थाती राखे।

    यती राम्रो लेख्नु हुदो रहेछ निरन्तरता दिदै जानुस है ।
    अनि दीपक जी ले भने झै अर्को दोश्रो गजल पनि पढ्ने हुटहुटी जागेको छ है ।

    साथै सिकारु जी ले जस्तै भन्न मन लाग्यो - आहा दिन भरि नै पढु पढु लाग्ने कति मिठो ।

    गजल मा पुनलेखन गर्न थाल्नु भएको मा बधाई छ ।

    ReplyDelete