Subscribe:

Ads 468x60px

21 March 2009

चोरसभा

बार-बार खुलेआम
सडकछेउको दुर्गन्ध झैँ
वा, चोकको लोभी मगन्ते झैँ
आउँछ, आइरहन्छ चोर

जहाँ स्वर्ग जस्ता
सुन्दर बस्ती मौलाउँछन्
तिखारेर हत्केलाभरि पिरो नङ्ग्रा
जन्मिइहाल्छन् कलकलाउँदा चोरहरू

रसिलो लबज
सुकिलो कवच:
उसको मस्तराम व्यक्तित्वले
चोरलाई चोर भन्न
ठोकिदिन्छ ताल्चा आम ओठहरूमा

बस्तीको पवित्र बगैँचामा
आफ्नो भद्दापन थुपार्छ चोर
मिचेर छाडिदिन्छ असरल्ल
कर्णधार पुस्ता जस्ता रङ्गीन फूलहरू
र निमोठेर खान्छ कसिला जरा
पस्छ घरको उल्लासमा
मतलब गर्दैन -
टेबलमाथिको भाँडो कम्प्युटर
र सुटकेसको अन्तिम पत्रमा सम्हालिएको
आमाचिनोको स्वर्णऔँठी

बरू लुछेर लैजान्छ
उज्यालो हार्डडिस्कको जडान
पारिदिन्छ गुजमुज्ज
दिमागका सुनौला तारहरू
तब गायब हुन्छन् एकैसाथ-
समुद्रमा पनदुब्बी जहाज झैँ
ट्याउँट्याउँ ओठको चाल
हराउँछ सिरानीछेको
बृहत् शब्दकोष

सामुन्नेमा-
देखेर उदास जेलघरको
रिक्त-अपूरो 'विशिष्‍ट बन्दी कक्ष'
सधैँ परिरहेछ
छक्क पर्नु परिरहेछ
चोरको यस्तो चलाखी बोक्न
कहिलेसम्म सक्छ काँध खुस्किएको यो कुप्रो बस्ती ?

ए थकाली बा !
खोइ
बाली तहसनहस पार्दा साँढे धपाउने
ती लाठी र भालाहरू,
धुलाम्मे गलैँचा झैँ
किन नटकटक्याउने
सिङ्गो बस्ती कुटुकुटु टोक्ने
चोरका बेइमान खल्तीहरू ?
किन सरक्कै नबढार्ने
आराम सभा मनाइरहेका चोरको यो आमसभालाई ?

11 comments:

  1. निकै रमाइलो र मार्मिक !

    ReplyDelete
  2. रसिलो लबज
    सुकिलो कवच:
    उसको मस्तराम व्यक्तित्वले
    चोरलाई चोर भन्न
    ठोकिदिन्छ ताल्चा आम ओठहरूमा

    क्या मजाको शब्द संयोजन गरेर वर्तमानको मार्मिक यथार्थलाई चित्रण गर्नु भयो ।

    साँच्चै अब त लाठी, भाला, हँसिया के के छ सब जाम्मा गरेर राम धुलाई गर्ने बेला भैसक्यो ।

    तितो यथार्थ बोके पनि जोशीलो कविता ।

    ReplyDelete
  3. रसीलो र सलल बगेको लाग्यो । गजबका शभाहरू । जीवन जी ।

    ReplyDelete
  4. धेरै राम्रो कविता जीवन दाइ !!

    ReplyDelete
  5. लौ धाइवा जि, सार्है बेजोडको कबिता पस्कनु भयो,

    यो हल्लाई हल्लाको गल्लाहरु बस्ने
    अबशेषको भग्नाबशेष जस्तो
    जहाँ बोल्ने सबै लाटो
    नबोल्ने चाँही बाठो
    रणचन्डी आईमाई पतीब्रत
    सत्पुरुष चाँही नाठो
    जहाँ चोर्नेलाई छुट छ
    साधु सज्जनलाई कालकुट छ
    कपासलाई कालो
    हाडिलाई सेतो भन्ने देशमा
    चोरहरुले आमसभा गरुन,
    बन्द हड्ताल आतंक सबै मच्चाउन
    तर यहाँ तपाईं हाम्रा
    सत्य साचो बोल्ने ओठहरुमा
    सधैं ताल्चा ठोकिएकै छ।

    ReplyDelete
  6. मार्मिक कबिता ...

    ReplyDelete
  7. जोतारे धाइबाजीको कविता त गज्जब थियो नै प्रबिणजीले अर्को दनक दिनुभएछ तीं माथि | सुन्न त अनन्द आउँछ नै तर दुर्दशा भोगिरहनेहरुका लागि यो अनन्दको कुरा होइन र कुनै कविता या रमिता पनि | कविहरू आफ्नो कविताको बारेमा सोचुन् , राम्रो कुरा | तर आशा गरौं देशले हमेशा कविता भोगि नाराहोस् | बरु कविता नाबिकोस् बजारमा | त्यो इतिहाँस बनोस चाहे कविताको वा देशको |
    अझै पनि देश कविता भोग्दैछ भूपिको :
    "यो हल्लै हल्लाको देश हो |"
    जय देश !

    ReplyDelete
  8. सबै शुभेच्छुकलाई हार्दिक आभार !
    आकारजी, वेदनाथजी, प्रवेश भाइ अनि मिलनजी, सारमा मलाई थपथपाहट थप्नुभएकोमा धेरै उत्साही छु । कविता मेरो मुख्य विधा, यसमा आगामी दिनमा अन्य रचनाहरूमा मेरो खुकुलो पक्ष पनि खुट्याएर भनिदिनुहुनेछ भन्ने आशामा छु ।
    दिलीप दाइ, चोरहरू त हाम्रै अघिपछि इज्जतदार शानले हामीलाई नै पाठ पढाउने हैसियतमा कुर्लिरहेका छन्, हेरौँ, रामधुलाइ दिने दिन चाँडै आओस् । तर यो रामधुलाइ भौतिक भन्दा पनि हाम्रो मनबाट तिनको निष्कासन नै तिनलाई पुग्दो हुनेछ ।
    प्रवीणजीले पनि सम्मतिमा चोटिलो गद्य छर्नुभएको छ । साँच्चै यहाँ हामी सबैले साँचो बोल्ने हो भने त भुइँचालो ने जानेछ । नाङ्गो बादशाहलाई वाह क्या नयाँ ढाँचाको पोशाक भन्नु परे झैँ छिप्पट ताली बजाउनु परिरहेछ ।
    चुडामणिजी, नयाँ पाइलालाई न्यानो स्वागत छ क्याफेको आँगनीमा । तपाईँको कुरा बेग्लै र अलि असरदार लाग्यो । पक्कै हो, कविता लेखिनैलाई त देशको यो विकराल हालत को पर्खिरहेको र चाहिरहेको होला र ? बरू कविता नै नलेखियोस्, त्यसबारे लेख्‍नु नपरोस्, स्थिति ठीक चालमा आइदिए हुनेथ्यो । हामी लेख्‍नेहरूको कलम पनि अरू विषयमा सर्न पाउनेथ्यो । दुर्दशा देशले भोगिरहेछ । तर हामीले त्यो दुर्दशा भोगेर, समभाव राखेर-स्वानुभूति गरेर अक्षरमा उतारेका हौँ कविता लगायतका रचना ।

    ReplyDelete
  9. म त ढिलो पो भएछु जिवन जी । मलाई पनि यथार्त बोकेको सान्दर्भिक कबिता लाग्यो । अनि जवाफमा प्रबिण जी ले कोर्नु भएको कबितापनि अति नै रमाइलो लाग्यो।

    ReplyDelete
  10. bahiri chorko ko bhanda mayalu ra dil chor kai kavita lekhnu besh jeevan jee...

    ReplyDelete
  11. सिकारूजी अनि Lone Wolf जीलाई पनि आभार ।
    सूर्यजी, समाजमा उपद्रो मच्चाउने चोर-प्रयासलाई 'ओट' लगाउने भन्दा 'उलार' गराउनमा केही बल मिल्छ कि भनेरै हामी केही लेख्दै छौँ, हेरू नतीजा के-कस्तो मिल्छ....।
    अनि नयाँ मित्र Lone wolf जी, तपाईँको कुरा पनि रमाइलो लाग्यो । बाहिरी चोरको भन्दा दिल चोरकै कविता लेख्‍नु वेश भन्ने तपाईँको सङ्केत अलि बुझेँ, अलि बुझिनँ । यो वेश भन्नाले के-कस्तो फाइदाकारी कुरा रहेछ नि ? तर एउटा कुरा के हो भने, बाहिरी चोरले गर्दा एउटा ठूलै समुदाय र संसारै मारमा पर्छ र खास क्षेत्रलाई त्यसले दूरगामी असर छोड्छ । तर दिलचोरले एउटा व्यक्तिलाई केही समयसम्म पिरोल्छ । अत: कुन कुरा महत्वको रहेछ त ? म आफैँ पनि पीडित हुँ दिलचोरीको सवालमा :-)
    तर यति भन्नासाथै मन र मायाको कुरालाई मैले कम आँकेको होइन । प्रेम कविता पनि लेखिनुपर्छ र मैले पनि बेलाबेला लेख्दै आएको छु । तपाईँ यसै Cafe को मेनूमा स्वाद लिनुहोला प्रेम कविताको आगामी पलमा ।

    ReplyDelete