Subscribe:

Ads 468x60px

14 October 2009

भनिन् उनले - "यसो च्याउनुभयो"

नारीहरूको मनोभावलाई लिएर नारी पात्रकै मुखबाट पोख्‍नेगरी पुरुष लेखकहरूले धेरै साहित्य र लेखोट लेखेका छन् । नेपाली सङ्गीत फाँटमा हेर्दा त गायिकाहरूले गाएका नारीसुलभ कोमलता, लज्जा र विरहहरू घोलिएका प्राय: सबैजसो गीतहरू पुरुष लेखकले नै लेखेका छन् । यसको मूल कारण, नारी सर्जकहरूको सङ्ख्या कम भएकोलाई मान्ने गरिन्छ ।
बाहिरी संसारमा खुलेर झ्याङ्गिने र अपेक्षाकृत बढी सल्लाह-परामर्श गर्दै रचना संयोजन गर्नुपर्ने कला-सङ्गीतको क्षेत्रमा सहज रूपले घुलमिल गर्न नसक्दा नारी सर्जकहरूले नारी भावलाई अभिव्यक्त गर्नुपर्ने रचनाको जिम्मा पनि अघोषित रूपमा पुरूष सर्जकहरूको पोल्टामा सुम्पिदिएका छन् । यसलाई पक्कै पनि उचित र सन्तुलित मान्न सकिँदैन । सके भने नारीहरूले पनि (नै) लेखे हुन्छ नि त नारी मनोभावका रचनाहरू भन्ने तर्क पनि अघि सार्न सकिएला ।
तर नारीहरूको अनुभूति, पीडा, उठ्नुपर्ने र नउठ्नुपर्ने मुद्दाहरू लगायत समग्र मनोभावहरू जति मात्रामा नारी सर्जकहरूबाट तिक्खर र प्रभावकारी रूपमा आउने सम्भावना हुन्छ, त्यति पुरुष लेखकबाट लेखिनेमा शङ्कै हुन्छ । पुरूष लेखकले स्वानुभूति गरेर त्यो नारीव्यथालाई लेख्‍नै हुँदैन भन्ने बन्देजको कुरा गरेको होइन मैले यहाँ । खालि, नारी समाजले भोगि-चाखिराखेको परिस्थितिबारे प्रभावशाली भावधारा सोझै नारीबाटै बढ्ता निख्खर रूपमा आउनेथ्यो कि भन्ने सम्भावनाको हेराइ हो । कारण, भीरमाहुरीलाई भीरको कुरा थाहा हुन्छ, लाठे छोरो गुमाएको आमैलाई नै गुमाउनुको पीर थाहा हुन्छ । भनेपछि, मूलबाटै भुलभुलाएको पानी शुद्ध र शीतल हुन्छ । तर नेपाली लेखनमा त्यसरी पीडितकै हातबाट कलम नसर्ने, प्रभावितले आफ्नो कोलाहल र प्रफुल्लता व्यक्त गर्न नसक्ने स्थिति कायमै छ, आगामी कैयन् समयसम्म यो जग भत्किने छाँट पनि देखिँदैन ।
मैले पनि त्यही रोगग्रस्त लेखाइको कापमा च्यापिर यो कलम निचोरेर एउटा नारी मनोभावको गजल-रचना नारी-पात्रको मुखबाट बखानेको छु । कस्तो लाग्छ, सुहाउँदो कि भद्दा, पढेर पारख गर्नुहोला ।



न त जानुभयो न त आउनुभयो
दैलोबाटै फेरि यसो च्याउनुभयो ।


बोलाई बसाउन मैले भुलिगएँ,
त्यसैले पो हो कि घुर्की लाउनुभयो ।


बन्द झ्यालभित्र बेखबर म बनेँ,
इशारा त्यो गर्दा दु:ख पाउनुभयो ।


हुन्न भन्दाभन्दै पराई बाबु झन् झन्,
जहाँ पुग्छु त्यहाँ खुबै धाउनुभयो ।


बिदा गर्नै गाह्रो लोभी हजुरलाई,
घुम्टी खोल्दै आफैँ सरमाउनुभयो ।

8 comments:

  1. नारीका मुद्दा उठाउन नारी नै हुनु पर्दैन । तर अभिव्यक्त गर्दा नारी नै बन्नु नपर्ला कि ?

    ReplyDelete
  2. नारीको सहि भावना उजागर गर्न नारी नै हुनुपर्छ भन्ने कुरामा म पनि सहमत छु । जति अरूले बुझ्न खोजेपनि बुझाइ र भोगाइमा धेरै फरक हुन्छ ।

    गजल चैँ अलि नबुझेजस्तो भयो दाइ !!

    ReplyDelete
  3. नारी मन भएका लेखकहरुले नारी भावना व्यक्त गर्न सुनेर र देखेर पनि सक्छन् जस्तो लाग्छ मलाई त ।

    ReplyDelete
  4. 'नारीहरूको अनुभूति, पीडा, उठ्नुपर्ने र नउठ्नुपर्ने मुद्दाहरू लगायत समग्र मनोभावहरू जति मात्रामा नारी सर्जकहरूबाट तिक्खर र प्रभावकारी रूपमा आउने सम्भावना हुन्छ, त्यति पुरुष लेखकबाट लेखिनेमा शङ्कै हुन्छ ।' यो शङ्का मलाई पनि लाग्छ भलै मैले पनि नारी बोलीमा लेखेको छु । लेख्नु मनको,ह्रदयको,भावनाको (सबै उहि हो क्यारे), मश्तिष्कको खेति हुँदा यि कुराहरुको लिङ्ग बिभेद पनि नहोला त्यसो त ।
    गजल राम्रो छ अझ एक अक्षर घटाएर निस्किने गेयमा बगाउँदा अझै राम्रो हुन्थ्यो कि ?

    ReplyDelete
  5. अली अली हांसो अली अली घत पर्यो। सायद चिनेको मान्छेलै लेखेर होला नक्कली नारी भाव दर्सिएको। तर गजल गजब छ।

    ReplyDelete
  6. साह्रै राम्रो !!..... तर नारी भावना भनेर संबोधन गरिए पनि यो गजलमा पुरुष भाव र मनोदसालाई अप्रत्यक्ष रुपमा निकै मिठासपूर्ण तरिकाले तर सरल भाषामा प्रस्तुत गरिएको छ ... हैन र? :)

    ReplyDelete
  7. Maiya PaudelOctober 16, 2009

    Bastaw mai nepali nari haru sirjana tara kamai matra lagne bhayekole yo tito sataya agalna bibas hunupareko chha.Yo pani purus harulai garba garne thau hami nariharulenai derakheka 6u. malai pani sarai dukha lag6.

    ReplyDelete
  8. आफ्नो आफ्नो नजर हो सायद। मैले चाहीँ जे हो त्यही सिधे पढे र सिधै बुझ्न खोजे। तर यो कुरा चाहिँ साचो होकि बिज्ञानलाई मान्छेकै लिङग परिवर्तन गाह्रो छैन होला तर साहित्यमा चाहिँ गाह्रो हुन्छ यो काम। कुनै सुत्र बिना भएर होला सायद साहित्यमा।
    राम्रो लाग्यो मलाई!! धेरै धेरै धन्यवाद। र साथै दिपावलीको शुभकामना!!

    ReplyDelete