Subscribe:

Ads 468x60px

10 April 2010

हँसाउँदै आउने, रु(वाउँ)दै जाने

Charit-charcha
व्यङ्ग्य स्तम्भमार्फत कलात्मक शैलीमा राजनीतिक चिरफार गर्ने सञ्चारकर्मी भरत भूर्तेल आफैँ खबरमा परिणत भएका छन् । ‘चरितचर्चा’ स्तम्भमार्फत एउटा-एउटा राजनीतिक चरित्र र पात्रलाई शब्दको कठघरामा उभ्याउने स्तम्भकारलाई नै यसरी चरित चर्चामा पेस गर्नुपर्ला भन्ने चिताइएको थिएन । राजधानीको गौशालास्थित एक होटेलको बाथरूममा झुन्डिएर आत्महत्या गरेको अवस्थामा (९ अप्रिल, शुक्रबार) उनको शव भेटियो । उनको मृत्युबारे प्रहरीले अनुसन्धान गर्दैगर्दा उनको आत्महत्या पनि रहस्यकै रूपमा रहेको छ । के त्यस्तो बाध्यता पर्‍यो उनलाई आत्महत्या नै गर्नलाई, त्यो विवशताको पाटो पनि उनीसँग थियो होला । तर एउटा सचेत बौद्धिक व्यक्तित्व, सञ्चारकर्ममा अरूलाई सही-गलत बुझाउने र खबरदारीको औँला उठाउने अनि व्यङ्ग्यको तीर-कमानबाट हँसाउँदै सोच्न बाध्य पार्ने राजनीतिक टिप्पणीकारले हरेस खाला र आफैँलाई पासो लगाउँला भनेर कसरी सोच्नु ?

हुन त संसारमा बडेबडे विद्वान् र चिन्तकले जीवनको एक मोडमा पुगेर निरुपाय भएपछि आत्महत्या गरेका उदाहरणहरू निकै पाइन्छन् । विशेष गरेर अन्तर्मुखी स्वाभावका कतिपय मानिस र कवि-लेखकहरू मनैमन बहकिएर मृत्युको बाटो स्वेच्छाले रोज्ने गर्छन् । यसमा कतिपय समाजको मूल्याङ्कन नगर्ने र बाँच्ने अनुकूलतामा बाधा थोपर्ने बेसोमती पारा कारक हुने गर्छ भने कतिपय स्थितिमा आत्महत्या गर्ने व्यक्तिकै सहनशक्ति र जीवनलाई हेर्ने-सम्झौता गर्ने दृष्टिकोणको कमजोरीले पनि भूमिका खेल्छ । तर व्यङ्ग्य र हास्यको सम्मिश्रण गर्दै अरूलाई हँसाउने व्यक्तिमा आत्महत्या नै गर्नेसम्ममा पीडा, कुण्ठा र कमजोरी रहेको पाउँदा विडम्बना लाग्छ । यो समाज र देश नै पो एउटा जीवन निर्बाध रूपमा जिउनको लागि लायक छैन कि भन्ने सन्देह पैदा हुन्छ ।

भरत दाइसँग व्यक्तिगत रूपमा दोहोरो चिनाजाना मेरो कहिल्यै भएन । उनी कान्तिपुर पब्लिकेसन्सको साप्‍ताहिक प्रकाशन नेपालBharat_Bhoortel म्यागेजिनमा सल्लाहकार सम्पादकका रूपमा कार्यरत रहँदा एउटै सञ्चारसंस्था (म कान्तिपुर टेलिभिजनमा छु) मा काम गर्ने हिसाबमा खाजा खाने मेसोमा धेरै चोटि आमनेसामने भएको थियो । त्यस्तो बेला मेरो अभिवादन उनी ग्रहण गर्थे चुपचाप, बिना परिचय नै हाम्रो जम्काभेट हुन्थ्यो र हामी त्यसरी नै परिचयरहित छुट्थ्यौँ । भेटघाटको कार्यक्रम बनाएर एउटै टेबलमा कहिल्यै बसिएन । अहिले सम्झिन्छु – भरत दाइ अलि शान्त, अन्तर्मुखी पाराको मान्छे देखिन्थे ती भेटहरूमा । चाउरीले डामेका उनका मुहारमा चिन्ताका छिटाहरू पनि मडारिएका हुन्थे क्यार । मानसिक रोगी जस्तो अलि झोक्राउने प्रकारको ।

नेपाल साप्‍ताहिकमा ‘चरित चर्चा’ पढ्न थालेयता मैले अन्नपूर्ण पोष्टमा लेख्दै गरेको ‘चटनी’ स्तम्भमा पनि केही स्वरूप फेर्नुपर्छ कि भन्ने विचार्न थालेको थिएँ । कारण, भरत दाइको चोटिलो र सरस लेखन मन पराउनेमध्ये म पनि एक भइसकेको थिएँ । र उनको त्यो शैली र प्रविधिसँग मोहित भएर यही नै तरिका पो हो खास प्रहार भन्ने मनस्थितिमा म पुग्थेँ बेलाबेला । उनको लेखनसँग हुन त ‘नेपाल’मार्फत नै मेरो पहिलो साक्षात्कार हुन पाएको थियो । रहेछन् उनी पुराना सञ्चारकर्मी । छोटो शैलीको संवादात्मक प्रस्तुति, चुट्किलो प्रहार र रामवाणको झलक दिने उनको व्यङ्ग्यले हँसाउँदै नेपाली राजनीतिको यथास्थितिबारे सोच्न बाध्य पार्थ्यो । विषय राजनीतिक हुने तर सजिलो गद्यमा । उनी कहिले एक पात्रलाई पत्रकारहरूको सामु पेस गर्थे र अन्तर्वार्ताको परिवेश बनाएर नाटकीय बखान गराउँथे, कहिले दुई वा तीन राजनीतिक जीवलाई उतार्दै जुहारी चलाएर समकालीन राजनीतिक मञ्चमा देखिँदै गरेको यथार्थ घटनाको चिरफार गरेर पाठकसामु नाङ्गेझार पार्थे । जसको बारेमा लेखिएको हुन्थ्यो, ऊ स्वयम्‌ले पढ्दा पनि बडो प्यारले पढ्ने जस्तो लाग्थ्यो प्रस्तुति ।
अब त त्यो अवसर रहेन ।

इन्द्र लोहनी बित्दा खरो प्रस्तुति र खबरदारी स्वर रोकिएको महसुस भए जस्तै लाग्दैछ यतिखेर ।

उनको आत्माले शान्ति पाओस् ।

2 comments:

  1. म पनि उहाँको नियमित पाठक थिएँ | बडो सशक्त ढंगले लेख्नुहुन्थ्यो उहाँ| अहिले बडो नरमाइलो लागिरहेछ | उहाँको आत्माले चिरशान्ति पाओस |

    ReplyDelete
  2. हिजो नागरिकन्युज खोलेर स्तम्भमा हेरेँ पनि उहाँको कुनै नयाँ लेख आएको छ कि भनेर....भरे त कान्तिपुरको ईपेपरमा आत्महत्याको खबर पो सुन्नु पर्यो.......साह्रै नरमाईलो लाग्यो मलाई त...साँच्चै पढ्न नपाइने हो त अब भरत दाइको लेखहरू ? अझै पाईन्छ कि जस्तो लाग्छ....

    ReplyDelete