October 3, 2010

दस्स्स्स्सैं !!!

तेस्सिमा हौ, यो दसैँ त आइगो गाँठे ! काठमान्डुमा ठिटाहरूले चङ्गा उडाउनुभन्दा पहिल्यै हामी जस्ता रोजीरोटी गर्नेहरूको मन चाडबाडले फुरफुर उड्छ ।
म हरि बादुर खड्का ।
कसैले हरि भन्छन् । ठिटाहरू ‘बूढा दाइ’ भन्छन् । जोईले सुबोधेका बा भन्छे । तर जे भने पनि म त उही हो नि, रामेछापको मैलाधैला माइला ।
ड्राइभर काम गर्छु  हजुर । रामेछापमा पनि धुस्रेफुस्रे भए पनि सडक त छन्, तर मालिकहरू छैनन् हजुर । नत्र त उतै चलाउँथेँ नि गाडी । उता म जस्ता नोकरहरू मात्र छन् । अरूको खेत खोस्रने, इ: यसरी मैले जस्तै अरूको गाडी चलाउने । पहिले इन्डियाको गाडी लाइसेन्स थियो साथमा, नेपालमा इन्डियाको लाइसेन्सले गजबले गाडी चलाउन पाइन्थ्यो । चलाएँ । 
Shabda-Driver दसैँमा घर जानु छ । मालिकको गाडी चलाएर वर्षभरि केही बचाएको छु । मन मारेर बचाएको हो हजुर रुपियाँ । फुक्का छाडेर हिँडेको भए दुई-चार हजार जाबो त दारूसारुमै खत्तम हुन्थ्यो । अनि, घरका जहान र केटकेटी मात्र के, मेरो पनि उहिले नै चिलिम फर्किसक्नेथ्यो ।
           ***
दसैँ फक्रिसक्यो अब, गामतिर गुलमोहरको फूल झुले जस्तै । यो चिसो-चिसो बिहान सुरु हुँदा त झन् दसैँ आए-आए जस्तो महक हुँदो रै’छ हजुर । म सँग के नै छ र, लगाएको एकसरो लुगा बाहेक ? एउटा झोला छ थोत्रिएर धुर्कुटान भाको ।  त्यसैमा कोचेको छु लालाबालाका लागि एक-एक जोर लुगा । तिनकै आँखामा त हो नि, कति रहरलाग्दो गरी तैरिन्छ चाडबाडको खुसियाली । हामी उमेर पाकिसकेकाहरू तिनै बालबालाका लागि खुराक पकाउने भान्से न हौँ ।
अँ त, अफिसबाट बिदाबारी भएर हिँडेको छु म रामेछापतिर । भोलि  सँगै घरतिर लाग्ने कुरा हिजो साँझ दाजुले गरेका थे । दाजु-भाउजूसँगै गाउँ जाने सल्लाह थियो । दाजुले नै बोला’का थे – “आ न त, मेरै कोठामा राति बास बस, दाजु-भाइ सँगै जाम्ला एकाबिहानै ।” तर मैँ मानिनँ । सखारै आउँछु भनेर यतिखेर रिमरिमे बिहान त्यतातिर बाटो तताउँदैछु । दाजु बसेको घट्टेकुलो पुग्न एकाबिहानै ट्याक्सी चढेर अनामनगरको उकालो बाँसघारीतिर उक्लिँदैछु । उकालो पार भएपछि अलि पर वरको बोट आउन बाँकी नै छ, छेउमा आर्मीको अडडा पनि छ क्यारे ! तर उकालो मोड सुरु हुनासाथै ट्याक्सी डेग चलेन ।
थोत्रो ट्याक्सी चलाउने बूढा ड्राइभर हुन त मेरै पेसाका हुन्, तर बढी दयालाग्दो देखेँ तिनलाई । मैले सोधिनँ पनि उनलाई, कसरी मनाउनुहुन्छ यसपाला दसैँ ? चाउरीका रेखाहरूले घेरा हालेको उनको तनावयुक्त  अनुहार नै आफैँमा जवाफ थियो । कनेर पनि उक्लिन नसकेपछि ट्याक्सीलाई बिदा गरेर पैदलै अघि बढ्नु वेश लाग्यो । बूढालाई बिदा गरेँ । बाँसघारीको उकालो छिचोल्नै लाग्दा त्यही अँध्यारोमा फिलिमहुँदी ठ्याक्क गुन्डा निस्किए झैँ खै कताबाट ५-६ जना पाखुरावाल केटा देखापरे । मेरो सातो गयो । अरू बेला दसैँ आए जस्तो अनुभव दिने बिहानको चिसो हावा पनि प्राण उड्दाको बरफ जस्तो भान भो । मेरी बास्सै, अब के पो हुने हो !? मुटुमा गैँती बजारे जस्तो लाग्न थालिगो ।
***
कन्चटमा खुकुरी नचाउँदै केटाहरू मेरो खानतलासी लिने रूपमा उत्रिए । म चुँ सम्म बोल्न सकिनँ ।
“के-के छ त सँग भन् ?”, केटाहरूले र्‍याखर्‍याखती पार्न छाडेनन् । बोल्न करै लाग्यो ।
“दसैँमा गाउँ जान हिँडेको हुँ हजुर, यसो केटकेटीका लागि कपडा बोक्या छु, अरू त के हुनु र ?”, कनेँ यति बल्ल ।
लुगाको झोला भनेर केटाहरूले मानेनन्, आधिकारिक जाँचबुझ निकाय जस्तै ओल्टाइपल्टाइ गरेर हेरे । झोलाभित्र गोडा-दुएक हजार रुपियाँ दाम दसैँमा टीकारीहरूलाई दिन खुजुरा बनाएर लिएर हिँडेको थेँ । केटाहरूले थुते । पूरै जिउ छामछुम गर्न थाले । अघि बताएको थिइनँ हजुर, कम्मरमा एउटा मैलो गुम्छामा वर्षभरि कमाएकोमध्ये जोगाड गरेको २७ हजार दाम बाँधेर पाइन्टको भित्रपट्टि बेरेको थेँ । बुद्धि त पुर्‍याएको हुँ । तर बाटोमा यस्ता सिकारी ढुकेर बसेका होलान् भन्ने के पत्तो ? पूरै शरीर खानतलासी लिँदा केटाहरूको हातले पैसाको त्यो मुठो पनि फेला पारिहाले । गर्धनमा खुकुरी ताकेर बयान लिइरहेको बेला जे-जसो होस्, ज्यान जोगाऊँ भन्ने धुन त हुन्छ नि ।
कतै गुहार मागूँ भने पनि खुकुरी छप्किहाल्ला कि भन्ने डर छ । डरले आकुल हुँदै बरू सर्वस्व लुटिन तयार भएँ । होसहवास कता गुम भयो-भयो हे दैव ! सात पत्र पारेर बेरेको रुपियाँ मुट्ठ्याएर केटाहरू  सायद विजय मनाउँदैथे होलान् । म भने शीत जस्तै चिसिएँ । खुकुरीले यहीँ गिडेर फाल्दिने हुन् कि भनेर मुटुसम्मै ओसिलो भो । मृत्युकै बोध भो खुकुरी तेर्स्याएर आफू बलिको बोको बनाइँदा । झोलामा भएको खुजुरा बनाएको दाम भने केटाहरूले आपसमा सल्लाह गरेर मैँलाई फिर्ता दिने भए । नाडी घडी भने थुते तिनले । ‘लौ अब जा ‘भन्दै केटाहरूले उकालो छिचोलेर आर्मीको अड्डाभन्दा अघिल्तिरसम्म पुर्‍याइदिएर फर्किए ।
***
जसोतसो लडखडाउँडै खै कुन सुरमा दाइको कोठा त पुगेँ । त होश पटक्कै छैन । अनुहार खङ्ग्रङ्ग सुकेको छ । एकोहोरो । दाजु-भाउजू घेरिएर सोध्छन् के भो ए होइ !! भाइ भने प्वाक्कै एक शब्द फुटाउँदिनँ । दाजु जिल्लिए । बल्लबल्ल खुकुरी गर्धनमा सोझ्याएको डर केही मत्थर भएपछि सबै कथा सुनाएँ । दाजुले जे भो-भो, यसो हामी खर्चबर्च दिउँला, घर पुगेपछि एउटा उपाय होला हिँड भनेर ढाडस दिँदैछन्, तर मेरो मन बुझेको छैन । म जान्नँ घर, फन्किन्छु खुब । यस्तोमा कुन मुखले पो जाऊँ घर ? एउटा गरिब लुटिँदा कतिसम्म लुटिन्छ र सातो कतिसम्म गायब हुन्छ, मैले यही बिहान थाहा पाउँदैछु ।
यस्तैमा केही दिन काठमान्डूमा बिते । दसैँ अब सूर्य जस्तै टाउकैमाथि टेकिन आइपुगिसकेको छ ।
ड्राइभरी काम गर्ने अफिसका मालिकले पनि म लुटिएको कुरा था’ पाएछन् । बोलाए ।
“उसो भा’ पैसा कत्ति पनि बचेन होइन हरिबहादुर ?”, सान्त्वना दिए । साथमा १० हजार दाम पनि हातमा दसैँ खर्च थमाइदिए ।
लुटिएको घाउमा मल्म यही भो । खिस्स हाँसेँ ।
सहरमा कोही-कोही त भगवान् नै भेटिन्छन् हजुर ।
अब रामेछापमा दसैँ मनाउन पुग्छु । त्यो बाँसघारीको बाटो त मरिगए जान्नँ ।
सहरमा ठाउँठाउँमै त्यस्ता राक्षस भेटिन्छन् ।

2 comments:

  1. वास्तविकता वोकेको अनि सन्देशमूलक । दशैं र धेरै नेपालीहरुको प्रतिनिधित्व गर्ने यो कथा साह्रै मर्मस्पर्शी लेख्नु भएको रहेछ । यसलाई हामीले हाम्रो साइटमा पनि पोष्ट गरेका छौं । धन्यवाद - Nepalarab team

    Link: http://www.nepalarab.com/articles_view.php?id=864

    ReplyDelete
  2. Its so terrible to read yet so true...these things happen daily in various dark alleys of Kathmandu city....It captures the underlying truth and the current time....It pinched me..!!

    ReplyDelete