Subscribe:

Ads 468x60px

02 March 2011

चेपागाँडाको पुच्छर निमोठ्दै आएँ : शुभेच्छुकलाई पत्र

   प्यारी पाठक,
र, यो पत्र लेख्‍न बस्दा तिमीले मलाई अनुभूतिको थप्पड लगाइरहृयौ, अब यसरी म पिरोलिएर नपोखिई सुख मिलेन । आत्मिक सुख । मान्छेहरू सुखको जोहो गर्न विमानबाट सात समुद्र पारिको दूरी तय गर्छन्, म यही एउटै देशको पल्लो कुनाबाट यसरी खोक्दैछु । तिमीसम्मको आगमन मेरो औषधि ! म जान्दछु, यो पत्रको तिर्सना तिमीलाई जुग-जुगदेखि थियो । र पनि बल्ल २५ वसन्त पार भएको समयमा आएर म तिम्रो तिर्सनाका तहलाई सामसुम पार्न खोज्दैछु । यो कत्रो त्याग गर्‍यौ तिमीले, पर्खाइको त्याग । यति त मान्छ्यौ होला, पत्रको गर्भाधानमा रन्थनी छुटेर म तिमीकहाँ विश्राम लिन आएको छु । युगमा एउटा लेखकले एउटी पाठिकामा आत्मीयताको बिसाउनी खोजेको छ । होला यो सामान्य घटना नै,  तर हामी दुईको लागि त यो समयले नै साँचेर राखिदिएको तराजुको जोडी पल्ला हो, जसमा दुवै सराबरी नजोखिई अब धर छैन । सायद यही जोखाइ बनिदेला जम्मै सांसारिक रिक्तता मेटिदिने भरिलो पोषण, के बेर ?

Letter-Writingतिमीलाई थाहै छ, दुनियाँमा सुन दिनेहरू बरु पाइलैपिच्छे भेट्न सकिएला (पशुपतिको कुनामा भट्ट भएर कुँजिए मात्र पनि पुग्छ), तर सुन्दिने भोका मन पाउनु कति हत्तेको कुरा हो ! र भाग्य हो, मैले त्यस्तो दुर्लभ भोकको दर्शन पाएँ, तिमीले नै मलाई खोजीखोजी टम्म गोलाकार ओठलाई घोल्न लगायौ । र म यसरी धक फुकाएर बोल्न लाग्दैछु । घटना जस्तोसुकै होस् पहिलो जम्काभेटले प्राणीगत जीवनमा गहिरो असर छोड्छ रे । (र बिस्तारै भेटघाटको चाप बढ्दै गएसँगै हातमा आएको सुन धूलोसरह भए झैं अर्कोप्रति हलुकापनको सस्तो भाव पनि जागिदेला, के ठेगान !)

यो पत्र पनि त तिम्रो प्लेटर्फममा मेरो सम्बोधनको पहिलो उडान हो । मैले त उडान भरिदिएँ, अब दैव जाने- तिम्रो प्लेटफर्म भरिन्छ या भरिन्न । दैवको खटनमा मनले सन्तोक पाउँछ रे, मेरी आमाले भनेको । अक्सर सबैका आमा यस्तै बोल्छन् । आमाहरू अनुहार, विचार र बचाइमा फरक भए पनि संसारका जम्मै आमा भावनामा चाहिं एउटै हुन्छन् क्यारे । एकदम प्रेमिल, एकदम समर्पणको ध्याउन्न । फरक यति हो, सबै आमाहरू रूपमा आमा नै भए पनि आफ्नी आमाले जस्तो आशिष्‌को धारा कसैले खन्याउँदैन । लेखकको शाब्दिक दरबारको आसपास पहरा दिइरहने पाठक पनि एक हिसाबमा आमा जस्तै लाग्छ ।

जसरी आमाले सन्तानको तरक्कीमा आफैं समेत कुनै आरोहणमा उक्लिए झैं फुलेल भएर धाप दिन्छिन् र कपट वा कुनै भुलमा मायालु आवेगसहित सजग पार्ने गाली गर्छिन्, पाठक पनि लेखकलाई त्यसरी नै प्रतिक्रिया खन्याउँछ । म बच्चो लेखक पनि कुनैबेला आफैंमा पाठक थिएँ कसैको । एकदम ज्याद्रो । अझै भइरहेछु । मैले उतिबेला फलानो लेखकको चमत्कारिक लेखन बान्कीमा तरंगिदै घ्यू खाएको चिल्लो अनुभूतिमा चिप्लिए झैं बोध गरेको थिएँ । अनि कुनै बेलाको पठनमा भने 'यसले किन यस्तो गरेन/लेखेन हरे' भनेर दिमागको तार गुजुल्टिएर भोल्टेज हाइ र लो हुने स्थितिमा झट्का बेहोर्न पुग्छु । मानौं लेखकमा आफ्नै हक रहेको होस् ।

तिमीले मेरो त्यस्तै पूर्वकथाको झलक दिंदै मलाई गुन लगाइरहेकी छ्यौ । र तिम्रो तारिफ र आलोचनाको भान्साको परिपाकबाट हुर्किरहेछु । मेरो अस्तित्व पनि त तिमीले स्विकार्नु र नस्विकार्नुमै टिकेको छ । कलमले जतिसुकै बदमासी र कीर्तिमान गरे पनि पाठकको अभावमा त्यो सबै शून्य बराबर हुन्छ । लेखेरै मात्र दाल गल्ने भए वर्ड्र्सवर्थ, मिल्टन, टल्सटय, बच्चन र यता हाम्रा लेखनाथ, देवकोटा र शंकर जन्मिएर-घिस्रिएर पनि कहीँ उक्लिने थिएनन् । भ्यागुता बनेर छलाङ हान्नुसाटो उनीहरू चेपागाँडा नै भएर सुलसुलाउँथे । म पनि चेपागाँडाको चुच्चिएको पुच्छर ठुट्याउँदै छलाङ मार्न खोज्दैछु । तिम्रो सामीप्यताले नै हो त्यो पुच्छरमा कैंची चलाएको । तिमीले गर्ने आलोचना र सुझावको खाक्सीले घोटिएर म चिल्लो बन्दै आएँ । यो कैंची अझै धारिलो बन्दै जाओस् ।

पत्रको यो आरम्भिक खुड्किलो त हो, मेरो लेखनले निरन्तरता पाइरहुन्जेल जारी रहनेछ पत्राचार । तिम्रो पाठकीय घुर्की बढ्दै गएर मेरो व्यक्तिगत र पारिवारिक तहमा बज्रिन नआइपुगोस्, यति छ इच्छा । परबाट हेरेको दृश्य नजिक आइपुग्दा त्यो त्यही नलाग्न सक्छ, नहुन पनि सक्छ । तर मेरो लेखन र जीवन समान रूपमा लैजाने भरमग्दुर प्रयासमा हुनेछु । चाहे कसैले आरोपले मुख कालै पारिदेओस्, म मुखुण्डो लगाएर हिंड्ने छुइनँ । म तिमीले बाँचेको समाजमा तिमीजस्तै साधारण भएर टहलिनेछु । कुनै ठूलो आकाङ्क्षा पाल्नु छैन । म यति त जान्दछु प्यारी पाठक, राम्रो गन्तव्यमा पुग्न फराकिलो बाटोमा जिउ लरबराउँदै बाटै ढाक्ने गरेर हिंडेर हुँदैन । आली-आलीबाट सन्तुलन बनाउँदै पैदलबाट खुला समुद्रसम्म पुग्नुपर्ने देशमा जो रहेका छौँ हामी !

यसपालि यति नै ।

1 comment: