Subscribe:

Ads 468x60px

05 August 2011

आरुघाटको उज्यालो

गत वर्ष जनवरीको जाडो याममा अझ सिरेटो खोज्दै गोरखा जिल्लाको ग्रामीण भेगतिर पुगिएको थियो । व्यस्ततालाई क्रमभङ्ग गरेर यसो बेलामौकामा आफूलाई नचियाए जिउनुको सार के हुन्छ र भन्ने लाग्छ । हामी नेपालीहरूमा पनि पछिल्लो समयमा घुमफिर गर्नुपर्छ भन्ने सोच जाग्दैछ, आफैंलाई ताजगी तुल्याउन र मुलुकको साथै जनजीविका बुझ्न । सिङ्गापुरदेखि थाइल्यान्ड टुरसम्मको योजना बनाउने कति नेपालीहरूलाई नेपालभित्रकै घुम्न लायक ठाउँबारे थाहा छैन । थाहा भए पनि ती ठाउँ तिनलाई उस्तो चिज लाग्दैन । घुम्नु कुनै बेलामा समय र पैसाको बर्बादी मान्थे नेपालीहरू । अझै पनि कतिपयलाई यस्तै लाग्दो हो । तर घुमघामबाट बटुलिने ज्ञान र आनन्द कुनै बन्द कोठामा पुस्तक पढेर, टेलिभिजन र सिनेमा हेरर  पाउन सकिंदैन । त्यस्तै सोचले कर्मयोगलाई थाती राखेर उतिबेला तीर्थाटनमा निस्किएका थियौं ५-६ जनाको टोली । त्यही यात्राको सम्झना उतार्दैछु :-

टाढैबाट आँखा तान्ने हिमटाँकुरामुनि थुम्को बस्ती । गोरखा बजार पुग्दा चराहरू गुँड पस्ने साइतमा थिए । साँझपख मान्छेहरू पनि सामसुम्म हुने तर्खरमा लागेका बेला हामी भने बजारदेखि चुचुरोमा रहेको गोरखा दरSunset @ Gorkha Durbarबार पुग्ने हतारमा होमिएका छौँ । बेसार झैं पहेंलिएको सूर्यास्तबेलाको किरणमा गोरखा निन्याउरो मुख लाएको जोगी जस्तो देखियो ।

बल्ल जुरेको घुमघामको मेसो, त्यसमा पनि गोर्खाली साथीबाटै पाएको निम्तो । यसैले पनि ६ जनाको टोलीमा यात्राभरिको बोझ उनै जिल्लाबासी यदुकिशोरमा पर्ने निश्चित छ । गोरखा जिल्लाकै भित्री गाउँ आरुपोखरीमा रहेकी नवविवाहिता पत्‍नीसँग भेट्ने उनको व्यग्रता आफ्नै ठाउँमा होला, अहिलेलाई पाँच साथीहरूको लर्कोले उसको होश कब्जा गरेको छ । आरुघाट र आरुपोखरी पुग्ने भोक यतिखेर भने गोरखा दरबारको थुम्को चुम्ने ध्याउन्नमा एकत्रित छ । भोककै कुरा गर्दा, काठमाडौँबाट गुड्दै आउँदा पोखरा र गोरखातर्फ फाट्ने तनहुँको आँबुखैरेनीमा खाएको खाजाले थेगेकै छ ।

“बूढाले सानो दिमागले त सोचेका रहेनछन् बा !”, दरबार नजिकिँदै गर्दा त्यति टापुमा निमेक लगाएर बनाएको संरचना देख्दा माधव खतिवडा बारम्बार चकित भावले दोहोर्‍यारहेथ्यो । यो बूढा सम्बोधन उसले राष्ट्रनिर्माताको परिचय बनाएका पृथ्वीनारायण शाहका लागि खर्चेको थियो । शत्रुहरूले हत्तपत्त मुन्टो नउठाउने त्यति अग्लो र वातानुकूलित सुन्दर ठाउँमा दरबार बनाउने बारे सोच्ने दिमाग चमत्कारिक नै रहेको प्रमाण राज्यविस्तारको क्रममा झन् खुलस्त भएकै हो । झमक्क साँझमा दरबार परिसरमै अवस्थित गोरखनाथ मन्दिरको दर्शन गर्नतिर लागियो । पूजारी गुरु साँझको पूजा सकेर बासस्थान फर्किने हतारमा देखिन्थे । टीका थापेसँगै गोरखनाथको विशेष प्रसाद परिकार रोट हात-हातमा आयो । एउटा रोट चढाउँदा पृथ्वी दान गरेबराबर पुन्य मिल्ने विश्वासले भक्तजनहरू मन्दिरमा यही सौगात लिएर आउँदा रहेछन् । चिसोले अररिएको रोट मीठो मानेर चाख्यौँ सबैले ।

Giving-inform-to-fren-PujariBaपूजारी प्रदीपनाथ योगीसामु गोरखा दरबार र पृथ्वीनारायण शाहको सेरोफेरोमा केही प्रश्न सोध्न साथी बलराम दाहाल कस्सिए । आठ/दस पुस्तायतादेखि खानदानी रूपमै गोरखनाथको पूजारी रहँदैआएका रहेछन् योगीका खलक । योगीका सातौँ पुस्ताका सुन्दरनाथ पृथ्वीनारायण राजा छँदा गोरखनाथका पूजारी रहेछन् । २० वर्षो उमेरमा राजा भएका पृथ्वीनारायण राज्य विस्तार गर्ने क्रमसँगै ४५ वर्षको उमेरसम्म नुवाकोटमा रहे । काठमाडौँ हानेर राजधानी उतै सरेपछि त गोरखाको सान नाममा मात्र सीमित भयो ।

राजाको विजयको यात्रामा त्यसपछि मूल थलो गोरखा भने यथास्थितिमा पछाडि छुट्दै गरेको तीतो कथा पूजारी योगीले बताए । जितको फराकिलो फाँटमा छेकिएको उज्यालो चिनारी यही हो जस्तो लाग्यो, जुन चिनारी पराजित भएसमान देखिन्छ । 'न्याय नपाए गोरखा जानू' राम शाहकालीन आहान फेरबदल गरी 'न्याय पाए गोरखा जानू' नयाँ रटान स्थापित गर्नुपर्ने जस्तो लाग्यो ।

० ० ०

जति-जति दुर्गम, उति समयको पावन्दी र ठेगान । यस्तै भयो गोरखा सदरमुकाम छाडेर आरुघाट जाने बस चढ्ने बेलामा । अलिकति बेर भयो कि त बस छुटिसक्ने रहेछ । त्यसपछि गाउँतिर जाने बस कतिखेर लाइनमा लाग्छ, निकै कुर्नुपर्ने सास्ती ।

जिल्लाको भित्री पाटो छिचोल्दै आरुघाट र आरुपोखरीतिर लाग्न भोलिपल्ट यात्रा थालियो । कच्ची सडकमा माटो खाँदै आहालेभन्ज्याङ, घ्याम्पेसालका बस्ती हुँदै बस नागबेली बाटोहरूमा फन्को मार्न थाल्यो । ठाउँको कठिन नाम जस्तै यी भेगहरूको जीवन पनि उस्तै कठिन झल्किरहेथ्यो हाम्रा आँखाहरूमा । बस चढ्न व्यग्र भई कुरिरहेको हुल र झुत्ती खेल्दै भए पनि बसमा खाँदिने चलन त सामान्य नै मानिँदा हुन्, कच्ची बाटोमा अहिले नै पल्टिहालूँला जस्तो गरी अनेकौं पटक लच्किएको बसको चाकाचुली पनि स्थानीयबासीलाई पचिसकेको रहेछ । हामीBus-Trip नौलाहरूलाई मात्र त्यो जीवनशैली सकसपूर्ण लाग्दैथ्यो, अभ्यस्त भएका ती जिल्लाबासीहरूको त त्यही हाहाकार नै थियो जीवन । पाँच घन्टाको सफरमा बरु  सिटमा आसन जमाएका हाम्रो मुटुमा ढ्याङ्ग्रो बज्यो, छतको डन्डी समाउँदै बसको चालसँगै लच्किरहेका स्थानीयहरू एकदम शान्त रहे ।

फेरि हदै लच्कियो बस खाल्टोमा । 'अब सबैले नारायण भनौँ नारायण...', मोटो ज्यानका साथी बलराम डरमर्दो परिस्थितिलाई हँसमुख वातावरणमा मोड्ने प्रयासमा देखिए । 'भज प्रभु नारायण', उनी अझै ओठ बजाइरहेका थिए । भ्रमणदलका सहयात्री सुदीप र श्याम पनि यसमा मसाला थप्दै थिए । अलि अघिल्तिर के बढिएको थियो, एउटा ट्रिपर सडकदेखि बुर्कुशी मारेर कान्लामुनि हुर्मुरिएर तेर्सिएको प्रत्यक्ष देखियो, त्यसपछि त झन् हंसले ठाउँ नै छाड्यो । एक जोडी वृद्ध दम्पती आफ्नै सुरमा डन्डीमा हात झुन्ड्याएर थर्थराएरै भए पनि यात्रारत छन् ।

कहीँ बुङबुङ्ती माटो, कहीँ हिलाम्मे । न गर्मी न जाडो, ठीक्क मौसम पाएर सुबिस्ता अनुभव गर्न पाए पनि सिँचाइले नछोएका गर्खे फाँट र दैव सम्झाउने छाँटका रोगी सडकको गति देख्दा भने मन चिसिन्छ । देब्रे लहरमा पङ्खा लिएर हम्किन कोही बसे झैं मनास्लु हिमशृंखलाले भने शीतल बाँडिरहेछ । 

एक झुन्ड विद्यार्थी गुरुम्म बसमा छिरे । दुल्लभ उच्च मावि घ्याम्पेसालमा पढ्ने छात्राहरू रहेछन् । बैजनी रङको कुर्ता-सलवार र त्यसमाथि सेतो धर्सा भएको कालो स्वेटर लगाएका उनीहरूले कलम कपालमा सिउरिने सजिलो तरिका अपनाएका छन्, ब्याग बोक्ने फेसन अँगाल्न सकेका छैनन् । 'ल हेर, यस्तो भए पो, आफ्नै घरको तातो भात खानु छ, यसो बिहान-बेलुका गाई-भैसी स्याहारेर दूध र दही कुपुक्क खाएर गाउँकै क्याम्पसमा जान पाउनु छ, ख्याल काइदा छ र !', बलराम दाहालले ठिटीहरूलाई निशानामा पार्दै आफ्नो सहरिया विद्यार्थी जीवनको किस्सा पनि थपे । एउटै बसमा भए पनि परिचय त परको कुरा, एक शब्द बोलचालसम्म नगरेका ठिटीहरू लजाएर रातो-पिरो होलान् भनेको, त्यस्तो देखिएन । 'अँ त्यही त, भनेजस्तो त्यति सजिलो भइदिए त किन यस्तो हुन्थ्यो र ?' तिनैमध्येकी एउटीले जवाफी झटारो हानी । ठिटीहरूको हाँसोले एकछिन बसभित्रको वातावरण गुन्जियो ।

दुल्लभ उच्च मावि पहिलोचोटि सुन्दा त 'दुर्लभ उच्च मावि' नाम विकट ठाउँ जस्तै कति सार्थक भन्ने लागेको थियो । घ्याम्पेसाल आउनुअघि नै साँगुरो बाटोका कारण दुईतर्फी गाडी पास नभएर जाम भएपछि छात्राहरू पैदलै क्याम्पसतिर बढ्न खोजे । तर फेरि के सुर चल्यो, बसमै उक्लिए । गन्तव्य अझै टाढा रहेकोले हाम्रो भने विकल्पै थिएन बसमा खुम्चिएर बस्नुभन्दा ।

० ० ०

ओख्लेको भात होटल त्यसरी पहिलो चोटि गोरखाको भित्री भागको फेरो मार्ने हाम्रो लागि अर्को नमूना चिज बन्यो । राजमार्गको सफरमा बसले यात्रुहरूलाई कहीँ कतै खानाको अर्को विकल्प नभएको एकलासको होटलमा लग्ने गरे जस्तै त्यहाँ पनि एकलासको होटल थियो त्यो । राजमार्गका प्रायः होटलमा खाना खाँदा स्वेच्छाले आफ्नै आँखाअघि लुटिनुपरेको धेरैले भोगेका हुँदा हुन् । यहाँ पनि छेउछाउमा चरो-मुसो देखिँदैन कुनै घर-टहरा । फुल प्लेट खाना खानेलाई खन्डे थालमा र हाफ खाना खानेलाई सादा थालमा दिइने चलन रहेछ यहाँ ।

आरुघाट बजार पुग्दा छेउमै लमतन्न परेर बगेStul-riverकी बूढी गण्डकीले सुसाएको लबजमा हामीलाई स्वागत गरे झैं लाग्यो । बसबाट बिदा भएर इस्तुल खोलामा छप्ल्याङछुप्लुङ खेल्दै आरुघाट बजारको उकालोतिर लाग्न उपयुक्त ठान्यौं । पाइन्ट घुँडा-घुँडा सुर्किएर खोलामा हिंड्दा-हिंड्दै साथीहरू प्रकृतिसँग एकाकार हुन कतिसम्म हुरुक्कै भएछन् भने न साबुन छ, न तौलिया छ नुहाउन तम्सिए । साथीहरूबीच परी-परीका फोटो सेसन चल्यो एक मेलो । 

आरुघाटमा आरुका फूलहरू भने कतै देखिएनन् । आरु सबै स्वाहा भएकाले पो ठाउँको नामै आरुघाट भएको हो कि, एक मनमा यस्तै लाग्यो । 'यो म पढेको स्कुल', जिल्लाबाSchoolसी साथी किशोरले भीमोदय उच्च मावि लगायत आरुघाट बस्ती आसपासमा भ्रमण गराए । २०६४ सालमा स्नातकसम्म पढाइ हुनेगरी बहुमुखी क्याम्पसको स्वरूप पनि लिएछ उच्च माविले । बजार क्षेत्रमा अंग्रेजी बोर्डिङ स्कुल खुल्ने संस्कृति आरुघाटमा पनि झ्याङ्गिएको पाइयो । तर आम र्सवसाधारणको छोराछोरी पनि पढ्न सक्ने हिसाबमा भीमोदय स्कुलमै विद्यार्थीहरूको चाप अधिक हुने रहेछ ।

हामी आरुघाटमै एउटा होटल बुक गरेर किशोरलाई इस्तुल खोलापारिको आरुपोखरीतिर पत्‍नीमिलनको लागि पठाउने निश्चयमा पुग्यौँ । सबैजना सँगै काठमाडौँ फर्किने गरी आएकोले घरमा अलि समय परिवारसँग रहोस् भन्ने सोचले हामी पाँच भाइले उसलाई छुटकारा दियौँ, भोलिपल्ट बिहान उसकै घरमा आइपुग्ने वाचासहित । बेलुका साथीहरू आरुघाटमाथिको आरुटारतिर चहारेर मोही खाईवरी आँत भरेर आएछन् । बास बस्ने कुरा गर्दा त्यतैका एउटा बूढा बाजेले 'एक छाक खान र यसो सिरान हाल्न दिनु कुन ठूलो कुरो भयो र बाबू' भनेर आतिथ्यभाव दर्शाएछन्, साथीहरू होटल बुक गर्दाको पैसो खेर गयो भन्दै निकैबेर चुकचुकाए ।

लोडसेडिङमा आँखा तिर्मिराएर बस्न बानी परेका हामीलाई आरुघाटले निदाउन दिएन । झम्के साँझदेखि नै उज्यालोको रौनकले मन मतमताइरह्यो । कारण, आरुघाटमा लोडसेडिङ रहेनछ । स्थानीय स्तरमै मिलेर निकालिएको बिजुली वर्षायाममा खेतीपातीको बेलामा सिँचाइ गर्नुपर्दा मात्र लोडसेडिङको चपेटामा पर्दोरहेछ । एकातर्फ शान्त इस्तुल खोला र अर्कोतर्फ सुसाउने बूढीगण्डकी नदीलाई च्यापेर आरुघाट बजार अन्ततः निदाउँदै गयो हामीसँगै । अर्को दिन निम्तारु भएर आरुपोखरी पुगी सेल, मोही र देवालीमा पूजा गरेको खMeal-Timeसीसँग भोक साट्नु छँदै थियो । नभन्दै सिंगै एक दिन आरुपोखरीमा न्यौपाने परिवारसँग बित्यो । गाउँको सरलता नै यही हो, कति छिटै आत्मीयता र निकटता बसिसक्छ । बिहानको खाना जन्तेबाख्रो खान बसे झैं लाइनमा पलेंटी मारेर खाइयो । बेलुका पनि उही पलेंटी शृंखला ! साथी यदुकिशोरको बाबा, आमा, भिनाजुका साथै मावली हजूरबासमेत एक दिन बित्दा नबित्दै हाम्रो घनिष्ट बनिसकेका थिए । अझ मावली हजूरबा त ठिटाहरूको ठट्यौलीमा आफ्नो होचो कद झन् खुम्च्याउँदै 'हेर हेर बज्या हो !' भनेर इत्रिँदै खितखिताउने भइसकेका !

० ० ०

पर्सिपल्ट बिहान आरुपोखरीबाट आरुघाट उक्लिँदै गर्दा कुहिरोको ज्याकेटमै धमिलो अनुहारमा थियो आरुघाट । 'ओइ कान्छी, ओहोइऽऽ', कसैले डाँडाबाट बोलायो । तल एउटी फुच्ची गिट्टी कुटिरहेकी छ । गिट्टी फुटाउनमा एकोहोरिएको उसको सिर अझै उठेन । उसको नाम अरुणा गुरुङ रहेछ, भीमोदय स्कुलमा कक्षा ४ मा पढ्ने । सँगै स्कुल जानलाई साथीले बोलाएकी रहिछ ! एक बोरा गिट्टी कुट्दा ३५ Aarughatki-Arunaरुपैयाँ आउने भएकोले स्कुलबाट बचेको समय ऊ गिट्टी कुट्ने गर्दी रहिछ । फोटो खिच्दा जम्मै दु:ख बिर्सेर मुस्काई । अरूणा जस्तै अरू केटाकेटी पनि ट्वाक्-ट्वाक् पार्दै थिए धुलौटे सडकको दायाँ-बायाँ ।

काठमाडौँ फर्किने बेलामा गोर्खाली आरुघाटबाट फाल हालेर बूढी गण्डकीपारिको धादिङे आरुघाटबाट बस चढियो । १० बजे गुड्ने बसमा एकाबिहानैदेखि टिकट र बस्ने ठाउँ ओगट्ने हानथाप हुँदोरहेछ । बसको हुट खाली देख्नु नै भाग्यको कुरो हुने भएकोले झोलातुम्बा काखी च्यापेर हामी त्यही 'हवाई बाल्कोनी'मा उक्लियौँ । उस्तै खाल्टाखुल्टी बाटोमा हुनसक्ने सम्भावित दुर्घटनालाई 'नारायण' जपेर पन्छाउँदै बाटो के तताइएको थियो, पट्टा भाँचिएर बस अघि बढ्न नसक्नेगरी ओथारो बस्यो । धन्न मालवाहक ट्रक चल्दोरहेछ र राहत मिल्यो । अब बसको हुटबाट ट्रकको हुटमा बसाइँ सरियो । हनुमान डाँडादेखि ठसठसी कनेको ट्रक धुलाम्मे बाटोमा पौँठेजोरी खेल्दै अघि बढेपछि काठमाडौं पुगिने विश्वास त भयो, तर पाङ्ग्राबाट चक्कराएको धुलोको मुस्लो सोहोरिएर आउँदा ६ जनाले एकापसको अनुहार हेरेर हाँस्ने अवस्था भएको थियो । अलिकति भिरालो बाटोमा ट्रक मोडियो कि, ज्यान हुत्तिएर भुइँतिर बजारिने हो कि भन्ने त्राहीमा बाटो काट्दै आइयो ।

बल्ल मलेखु झरेपछि ट्रकभित्रको सिट पाइयो । ट्रक चालक आफैं ट्रकधनी रहेछन्, नारायणथान काठमाडौँका मेघराज लामा । एकैछिनको घुलमिलमा मनकारी देखिएका लामा रसिक पनि रहेछन् । राम्रो कुराकै खोजमा जीवनयात्रा चल्ने विषयमा हामी तन्नेरीहरू ट्रकको गतिसँगै गफको फाँको मारिरहेका थियौँ । 'राम्रा कुरा सधैँ टिक्दैनन् नि हजुर', त्यही प्रसङ्गमा उनले कुरा जोडे, 'राम्री स्वास्नी पनि टिक्दैनन् ।'

अविवाहितको संख्या ज्यादा रहेको हाम्रो टोलीमा श्रीमतीको कुरो कसरी पो बुझ्थ्यौं र !
----------------------
गोरखा यात्राकै केही तस्बिरहरू केही समयअघिको पोस्टमा राखेको थिएँ । त्यो पनि हेर्नुहोलासचित्र गोरखा

5 comments:

  1. आफ्नै गृहजिल्ला गोर्खाबारे यस्तो गजबको लेखले खुशी बनायो । बूढी गण्डकी, मनास्लु, आरुघाट यी सब गोर्खा जिल्लाकै पहिचान हुन् । आरुघाट स्थित भीमोदय उच्च माविमा प्रचण्डले पनि एक समय टिचिङ्ग गर्नु भएको थियो । मित्र जोतारेजीलाई धन्यवाद ।

    ReplyDelete
  2. लेख रोचक छ तर शब्द र भाषा खासै सरल लागेन...

    ReplyDelete
  3. I felt like I was travelling along with...very nice presentation and descriptions. Keep writing. Would love to read more.

    ReplyDelete
  4. कति सरल लेखाइ । साह्रै राम्रो लाग्यो । मलाइ यस्तै लेखाइ मनपर्छ । छलछाम र अनावश्यक श्रंगाररहित, सलल बगेको । यात्रा संस्मरणलाई तस्बिरले न्याय गरका छन् । कसो कसो गरेर पेजमा पुगियो । पढियो । लेखिरहनोस । अझ धेरै पढ्न मिलोस् है

    ReplyDelete
  5. मेरो जिल्लाको बारेमा यस्तो लेखहरु पढ्न पाउनु खुशीको कुरा हो किनकि यसले गोरखा लाई चिनाउन निकै मद्धत गर्छ ! तर शब्द अलि सरल भइ दिएको भए अझ सुनमा सुगन्ध हुने थ्यो कि ???

    ReplyDelete