Subscribe:

Ads 468x60px

20 August 2011

सम्बन्ध र मौसम बदली

- “आजकाल किन चुपचाप हुनुहुन्छ ?
चाड मनाउनु भयो त ?”

    एक समय थियो, उनको लेखिका मुहारसँग भर्खर सीधासीधी परिचय बन्नBalli-Manisha-Book पुगेको थियो मेरो । र, त्यो पनि कुनै मध्यस्थकर्ताको सहाराले । उनको औपन्यासिक कृति बजारमा छाएर चलेको गर्मागर्मी देखेर निक्कै अन्तरालमा म कायल बनेथेँ । तर कस्तो भने, पुस्तक-कृतिभन्दा अघि नै उनको मुहार-कृति सामुन्नेमा आइदियो ।  नतिजा, बल्ल मेरी पाठकीय भोक उनैको कृति खोज्दै बुक सपसामु प्रकट भएथ्यो । त्यसपछि म चुप बस्न सकिनँ, एकै बसाइमा आद्योपान्त उधिनेँ त्यो औपन्यासिक डायरी । अर्थात् उपन्यास कृति- वल्लीको डायरी । पढाइको संयोग खुब जमेथ्यो त्यसबेला । लेखिका र पाठकलाई एक्कैचोटि न्याय भएथ्यो सायद ।

बीचमा उनी अखबारी लेखनमा आक्कलझुक्कल उपस्थित हुन्थिन् र कहिले भने डेरा सरेर लठिभद्र हाल टुङ्ग्याउँदैछु भन्ने खबर दिन्छिन् । कहिले आफैं खबरदाता बनेर कुनै टेलिभिजनमा झुल्किन्छिन् । सबै आँगन कहाँ फाप्छ र मान्छेलाई, कहिले त चौकुना आँगनले लखेटेरै कायल पार्छ र अर्को-अर्को विकल्पको खाता खोल्न परीक्षामा उभ्याउँछ । उनै मनीषा गौचन निकैबेर समयको नेटोमा निलिएर बसिन् र आज मौनता तोड्दै अकस्मात् देखा परी उल्टै सोध्छिन्- 'आजकाल किन चुपचाप हुनुहन्छ ?'

मौसम फेरिएको छ । चिसोको डिग्री मानौं हिमालयको उच्च खुड्किलोमा उक्लिएको छ । रातको चुपचापमा यसरी एक्लिएर शब्दसँग सम्बन्ध सजाइरहँदा पनि लेखनको एकाग्रतालाई जाडोले सौतेनी व्यवहार देखाइरहेको छ । र जाडोग्रस्त यस्तो रातमा त निद्राभन्दा प्रियतम कुरा अरु हुन्न क्यार ! हामीलाई मानौं निद्राले न्यानो लयमा मधुर मुरली फुक्न निम्ता दिइहाल्छ ।

फेरिएको मौसमसँगै अदलीबदली धेरै कुरामा घटित भइरहन्छ । कुनै बदलीमा हामी हिसाबकिताब गर्नतिर लागेर त्यसलाई मनको कन्तुरमा सङग्रह गर्छौं । कतै भने भ्रमकै उल्लासमा रमाउन भए पनि त्यसप्रति आँखा चिम्लिदिन्छौं । यसरी नै काटिँदै जान्छ यात्राको अर्को-अर्को रिबन । रिबन कटाइमा थपडीको साटो आफ्नै मनको ढुक-ढुक !!

यो केही समयअघिको कुरा । शब्दकी सारथी मनीषा उतिखेर साइतै नजुराएरै पनि कतै न कतै जम्काभेटमा पेश भइहाल्थिन् । भेटपछिको भलाकुसारी  :  आँखै छोप्न आइपुग्ने छोटो केशराशि सम्याउँदै उनी कहन्छिन् -

- साहित्यमा संयोगको पाइला प्रवेश,
- मुस्ताङकी आमाबारेको सम्झना कविता,
- आफूसँगै छोरी हुर्काउनुभित्रको सहरी व्यथा,
- घरायसी परिबन्द र व्यस्तताको भीमकाय बिटो,
- अनि, र पनि उत्कट आशावादी यात्राको अविरल उडान.............।

त्यस्ती थकाली युवती अहिले सहरमा दुर्लभ भइदिएकी छ । बीचबीचमा कहिले झुलुक्क देखा पर्छिन् टेलिफोनमा र कीर्तिपुर विश्वविद्यालयको डाँडामा आफ्ना कथा एवम् अखबारी लेख नियाल्न निम्तो गर्छिन् । म आफ्नै अव्यवस्थालाई यसो झुलुक्क हेर्न भ्याइरहेको हुन्नँ र नियाल्नदेखि आत्तिएर निम्तोमा त्यतातिर पुग्न अर्समर्थ बन्छु । ) कहिले भने दिदीको अभिभावकत्व बोके झैं गरी उनी झपार्छिन् फोनबाट –’किन हौ यति निराश-यति थकित ?’

त्यो अभिभावकत्वपूर्ण गाली पाएर म आफूमा सुरक्षाको अतिरिक्त जलप अनुभूति गर्न पुग्छु र मनैमन उत्सव मनाउँछु । भनिरहेको हुन्छु मनैमन प्रेमपूर्वक - 'गौचन दिदी, तिम्रो अस्तित्वमुखी यात्रालाई मन पराउँदै स्वतन्त्र म्याराथनलाई सघाउन एउटा भाइ थपिएको छ है ।' यति मात्र त सुनाउन चाहेथेँ मैले, जुन आवाजले उनलाई अँध्यारो यात्रामा इन्धनको चमक भरिदेओस् । तर त्यो सबै सुन्नलाई उनको उपस्थिति अलप भएको छ । खोई त्यो आफन्ती चिन्ताको बोल -'यति निराश - यति थकित' ?

अब त त्यो सब रहेन । अब त बरु सुनेको छु- ती लेखिका ‘सेतो छडी’ नामको दोस्रो औपन्यासिक टेकोबाट पाठक संसारमा बढ्दैछिन् । पहिलो उपन्यासको समर्पण पृष्ठमा भने झैं छोरी युथीका बैंशालु पहाडमा चढिनसके पनि उनको मातृ भूमिका अद्यापि शिखरको परीक्षामा छँदैछ । सम्बन्धको इन्द्रेणी रङमध्ये चाहे सादापन नै बाँकी होस्, उनलाई आमाको छहारी बन्नुमा शीतल अनुभूति हुन्छ क्यार ! क्यार पनि होइन, हुन्छ नै । उनी असफल छोरी, असफल पत्‍नी, असफल बुहारी यी धेरैधेरै भइन् होला, तर उनलाई मञ्जुर छैन आमाको भूमिका असफल बनोस् । उसै पनि आमा के कहिले असफल भएकी छिन् कहीं ?

मैले कहिल्यै जोख्‍न भ्याएको छैन सम्बन्धलाई । कुनै मोडमा एउटा अनुहार एकाएक गहकिलो छापसहित आत्मीय आँखाभरि छाउँछ र एकाएक फेरि राष्ट्रिय बेपत्ता नागरिकहरूको सूचीमा नाम चढाउन झैं हराइदिन्छ । यस्तोमा जोखाइको हिसाबकिताब र औचित्य नै के ? र यदि टुट्नु एकदिन छँदैछ, र त्यो पनि हलुका धक्कामै कतै मिल्किनु छ भने सम्बन्ध गाँसिनुमा के उत्साह ? हेर्दाखेरि यो प्राप्तिभित्रको निराशावादी सम्बन्धको मूल्य नै के ? जहाँ दुइटा मन अङ्कमालमा साथसाथ मूलबाटोमा लहरिँदा-लहरिँदै कुनै दोबाटोको आविष्कार गर्न झैं, कोलम्बस चाल बढाउँछन् बेग्लाबेग्लै ।

हिजो स्कुले बेलामा 'मीतज्यू' भनेर बोलाउने सम्बोधन समयको वेगसँगै एउटा र अर्को पाइला परिबन्दवश कता-कता बहकिनुपर्दा लोप भइसक्छ । सम्बन्ध यस मानेमा के डाइनोसर हो ? कलेजमा सुरुमा निक्कै सकस मान्दै पछि बल्लतल्ल झ्याम्मिएको दुई मन कक्षा सकिएपछि त्यही चोकबाट आ-आफ्नो गन्तव्यतिर छुट्ने क्रममा फाट्दा-फाट्दै साँच्चै कतिखेर असली वियोगमा फाटिसक्छ । मौसम होस् त सम्बन्धको । रेडियो र टिभीमा 'आजको मौसम सफा रहनेछ वा बेलुका आंशिक बदली हुनेछ' आदि सारा चिरबिराहटलाई सम्बन्धको मौसमले काँचै खाइदिन्छ । एक सेकेन्डअघि मुस्काउँदै कफीको अन्तिम सुरुप् युगल रुपमा लियो, एक सेकेन्डपछि कुनै असमझदारीमा टक्कर खेलेर सुकसुकाउँदै बोल्यो -'अलविदा !'

हाम्रो आफ्नै नियन्त्रणबाहिर रहेका हामीलाई निश्चित लिक दिएर सुलुसुलु चिप्लि“दै जाने समय र सम्बन्धको सत्य जोकसैलाई मन पर्दैन । तर त्यसकै कटु चोटपटक र तिक्खर पोषण पाएर हामीले हुर्किनु छ । मन पर्ने त हामीलाई सम्बन्धको सुरिलो भाका हो, जहाँ आपसमा अविरल दोहोरी गुनगुनाइरहन पाइयोस् । तर सम्बन्धको हावापानी हाम्रो वायुमण्डलमा कहाँ ठीकठाक रहन्छ र ? र त एकालापमा हामी उस्तै पिरो मनमा झन्-झन् खुर्सानी खेती गरिरहन पुग्छौं । विवशतावश ।
 
आजै बिहानपखको कुरा, घरायसी विवशताका कारण काठमाडौं खाल्डोमा विश्वविद्यालयस्तरको उच्च शिक्षाको बोझ उचाल्न नसकेर जिल्ला भासिएको मेरो स्कुले सहपाठी भीमबहादुर खड्का फुटपाथमा हिंड्दाहिंड्दै सामुन्नेमा फेला पर्‍यो । यस आकस्मिक भेटले छक्क हामी दुवै पर्‍यौ“ । जिन्दगी कस्तो व्यङ्ग्यात्मक ऐना छ भने, नाम र थरबीच कुच्रुक्क घुस्रिएको 'बहादुर' खासमा ऊ रहेन । उसको सोलोडोलो अनुहारलाई दुःखले आफ्नो खल्तीमा पट्याएर मुजैमुजा पारेको मैले देखे“ । घरबाट सहर आएको बखत सोझै हुत्तिएर मसँग आत्मीय सम्बोधन साट्ने उही परम मित्र आज बेखबर लुकिछिपी हिँडिरहेछ । किन ? बुझिनँ

सोधेँ - 'आएर एकचोटि नभेट्ने यस्तो पनि हुन्छ ?'
- 'कहाँ छौ भनेर खोज्दै हिँड्दै थिएँ, आखिर बाटैमा भेटियौ,' सडकछेउ उभिएकै ऊ अनुहारको अप्ठेरो सम्हालेर बोल्यो । बोल्नमा कस्तो धारिलो ऊ ! तर त्यो पत्यारिलो पनि भइदिए कति राम्रो लाग्नेथ्यो ।
- 'के गर्दैछौ ? पढाइ छाडेर कता हरायौ ?'
- 'एकाध दिन अलि व्यस्त छु, फुर्सदमा कुरा गरौंला नि है ?' ऊ फुत्किन खोज्छ । मिलाएको हात म बिस्तारै खुस्किन दिन्छु । अन्ततः केही दिनपछि सम्पर्कमा आउने वाचा पाएर उसलाई सडकमै बिदा गर्छु ।

एउटै खोयाको हरियो मकै छोडाएर खाएको भीम र म आखिर दाना-दाना मकै झैं बाँडिएर फ्याकियौं । कुन-कुन कुनामा । कुनै बेला उसको 'अविदित ऐंसेलु' नामसँगै गाँसिएर म साहित्यिक सहयात्रामा हक्की भएर जुट्ने गर्थेँ । अब त मौसम बदलियो कि ऊ आफैं, हिसाब कसरी निकाल्ने ? भागी विवाह गरेर पारिवारिक सन्तुलन मिलाउँदै गरेको ऊ बिहेपछि भन्थ्यो, भनिरहन्थ्यो, 'बिहेपछि म टाढिउँला भनेर पिरोलिएको ? टाढिन्नँ यार । म बदलिन्नँ । पछि पनि एउटै बिछ्यौनामा तिमीसँगै सुत्‍नेछु ।’  तर सँगै सुत्‍नु त के कुरा ! कस्तो विडम्बना छ भने, साइत जुराएर पनि झुलुक्क भेट हुन गाह्रो छ । 

तर उसले मनभरि कति-कति मित्रवत् रगत सिञ्चित गरिरहे पनि आखिर मौसमको झोक्का खेप्न बाध्य भयो ऊ । हुर्किँदै गरेको छोरोको मायामा मित्र भीम सर्जाम जुटाउन जिन्दगीभरि बुर्कुशी मार्दैछ । उही भीमकी मानसिक सन्तुलन गुमाएकी आमा गाउँमा सम्बन्धको सम्बन्धमा केही सोच्न सक्दिनन् । 'भोक लाग्यो छोरा तँलाई ?, बाँच्न सकस पर्‍यो हो ?' केही सोध्न सुद्दी नभएकी आमा क्षितिजतिर एकोहोरो आँखा छाडिरहन्छिन् ।

'क्षमा पाऊँ है', सायद आफ्नो यस्तो असक्षमताका लागि उनले कति-कति भनिरहेकी हुन्छिन् होली, मनैमन ।

2 comments:

  1. a wonderful writing! took me to the depth of emotions. Best wishes to Manisha ji and Jotare ji for the beautiful days ahead!!!

    ReplyDelete