Subscribe:

Ads 468x60px

19 May 2014

नेपथ्य

ठ्याक्कै दुई महिना भएछ ब्लगमा अक्षर नकोरलेको ।

फुटेको एउटै अक्षर पनि नलेख्दा मन उप्किए जस्तो, छाती रित्तिए जस्तो लागिरह्यो । यदाकदा ब्लग लेख्न बस्थेँ र विचारशून्य भएर टोलाउँथेँ । यद्यपि स्पष्ट भइरहन्थेँ आफूमा, लेख्नुपर्ने कुरा कति छन् बाबै ! यही धेरै कुरा भएर हो वा मुड नआएर हो, यसबीचमा लेख्न सकिनँ ।

लेख्ने समय र मनस्थितिलाई अलिकता गाँज्यो होला न्यु मिडिया भनिने फेसबुक र ट्विटरले पनि । केही साथी भन्थे – ब्लगमा लेख्ने कुरा स्टाटस र ट्विट लेखेर भुसुक्कै सकिस् !

आफूलाई लाग्थ्यो – दिमाग भनेको भाव र विचारको कारखाना न हो । एकथरि कुरा स्टाटस र ट्विट बनाए पनि अर्कोथरिलाई ब्लगमा राखूँला भन्ने लाग्यो । तर, किन हो लेख्ने मुड सुनसान रह्यो ।

यो दुई महिनाको एकान्तवास र नेपथ्यको यात्रा निकै लामो लाग्यो । पीडादायक पनि । कता-कता बोलिरहे पनि ब्लगमा नबोल्दा आफूमा चिन्तन र आवाज नै छ कि छैन जस्तो प्रश्नले घोच्ने गर्छ । जुनसुकै विषयमा विचार पोखे पनि आफूसँगको कुराकानीका रुपमा लिएको छु सधैं ब्लगलाई । आफूलाई भेट्छु यहाँ । अस्तित्वबोध हुन्छ शब्दकोशको यो पानामा ।

यसबीचमा नयाँ-पुराना केही पुस्तक पढेँ । केहीको समीक्षा लेखेँ अखबार/पत्रिकामा । केही राम्रा फिल्म हेरेँ । कबड्डी, हाइवे, क्विन, टु स्टेट्सले मनमा छाप पारे । यो अवधिमा राम्रा मान्छेसँग नारिएर पनि हिंडेँ । प्रेम जस्तो केही झिल्कोले औंल्यायो छातीभित्र र मैले आफूभित्र फेरि मुटु फेला पारेँ । बाँच्ने दौडका क्रममा बाँचिरहेको छु भन्ने कुरा नै चटक्क बिर्सेर बेहोशीको यात्रा अँगाल्ने हुस्सुराम हुनबाट अलिकता जोगिएँ त्यो साथले ।  क्यामेरा भिरेर जानी-नजानी फोटो खिचे फरक ठाउँ, अनुहार र समुदायको । क्यामेराको लेन्समा आफ्नो मुहार कहिल्यै नपारे पनि आफूले ताकेका दृश्य आफू देखिए जस्तै छ्याङ्ग लागिरह्यो ।

यी विभिन्न व्यस्ततामा पनि मैले पाएँ आफूलाई । सायद ब्लग लेख्दाको जस्तै मन चंगा पार्ने प्रयास हुन्थ्यो ।  खुसी र आनन्दमा त मान्छेलाई आफू बाँचेको अनुभूति हुने हो नि !

तर, लेख्दा जुन रुपमा हामी मन-मगज नै टाठो बनाएर, चेतनालाई सोहोरेर विचारको एउटा पुञ्ज बनाउँछौं र मन शान्त हुने गरी पोख्छौं नि आफूलाई, ती विभिन्न कर्ममा उत्तिको शान्ति मिलेनछ क्यार । केही छुटे जस्तो लागिरह्यो ।

अब नेपथ्यको यो मौन व्रत तोडेँ । नियमित लेख्छु अब ।

2 comments:

  1. शायद समयको गती संगै धेरै बानी हरु बन्दै जनी छुत्दै जानी होला है? पहिले भन्दा अहिले ब्यस्त जीवन पक्कै भएको हो तर फेरी जे लेखाइ को हुटहुटी हो त्यो फेरी नलेखी कहाँ र कसरी शान्त हुन्छ र हगी ?

    ReplyDelete
  2. सरकारले लेख्न नछोडुम् । हामी पढ्न छाड्दैनौ ।

    ReplyDelete