Subscribe:

Ads 468x60px

07 March 2010

परिवर्तन

"हिजोसम्म जो रोईरोई बाँचिरहेका थिए
आज तिनै हाँसीहाँसी मर्न तयार छन् …"

 
क्याम्पस प्रवेशको कलकलाउँदो बेला थियो त्यो । नेपाली विषयको कक्षामा युगकवि सिद्धिचरण श्रेष्ठले ठाडै हमला गरे कवितामार्फत । युवा जोस र पखेटा आकाशतिर उचालिएको सोच भएर होला , त्यो बलशाली कविताले आफूमा निकै तरङ्ग पैदा गर्यो । 'परिवर्तन' शीर्षकको कविता थियो त्यो । अहिले परिवर्तनको सामयिक गन्तीको आँधीवेहरी पार गर्दै आफैँ समेत परिवर्तित रुपमा आइपुग्दा पनि कविता भने मानसपटलमा बाफिइरहेकै छ अझै ।

परिवर्तनको आफ्नै चरण हुन्छ परिवर्तनको वहाबलाई बुझ्ने विभिन्न बाटो हुन्छन् । कुनै प्रत्यक्ष त कुनै घुमाउरो रेखा । मैले भने त्यही छोटो कविताको रापबाट परिवर्तनको तापक्रम नापेँ होला ।

बलिदानको वेग र त्यसैमार्फत विद्रोहको ज्वरोलाई कवितात्मक डिग्रीले नापेका छन् कविले यसमा । यसपछि पनि कविता तन्किएर अघि बढ्छ तर मलाई भने यही दुई हरफ यादगार छ । रोईरोई बाँच्नुको बन्दी विवशतालाई हाँसीहाँसी मरेर नामेट पार्न चाहन्छन् जनता ।

परिवर्तन चाहिन्छ - समाजमा देशमा विश्वमा । अझ चलनचल्तीको भाषामा भनिन्छ "परिवर्तन हुनुपर्छ ।" नेताजीहरुको ब्रेक नभएको जिभ्रो यो गर्नुपर्छ र त्यस्तो नगर्नु फजुल हो भन्दै नानाथरी कुराहरुको किनारमा फड्कारिए जस्तै परिवर्तनको नारा पनि जथाभावी बतासिइरहेछ । भुराभुरी नेताहरु टोल समाज र घरघरमै छ्यासछ्यास्ती जन्मिएका छन् ।

परिवर्तनको रन्कोले त पछिल्लो समय सिङ्गो मुलुकलाई नै छोएको हो । सिरमा हुनेहरु बल्ढ्याङ खाएर एकैचोटि पाउमा झरे, सडकका मान्छे शासक भए । सोझो रुपमा जनमानसले बुझ्दा ठूलै बदली आयो राष्ट्रिय मौसममा । तर लुगा धुने धोबीले आफ्नै रीतमा लुगा धोइरह्यो लुगा सुकिरह्यो आफ्नै ढङ्गमा । परिवर्तनपछि लुगा धुने मान्छेले लुगै धुन छाडेर उपरखुट्टी लगाउन पाउनुपर्छ भन्ने होइन । धोबीको कोठामा धाराको टुटी जोडिन नसक्ला एउटा कुवा त बनोस् । तर तर परिवर्तनको आभास सबैले उपरखुट्टी लगाएर 'परमानन्द गर्ने' रुपमा बुझ्न चाहे, यस्तै फल ग्रहण गर्न इच्छा राखे ।  


सबैलाई लाग्दो हो- म यो भन्दा बढी गर्न सक्छु चाहन्छु । खोइ मैले उडान भर्ने आकाश यो साँगुरो बाकसभरिको आयतन मेरो होइन । म सुन्निएर पड्किजाने बेलुन होइन तर सधैँ उस्तै सुकेनासमा ठोस रहिरहने बेमौसमी काँक्रा पनि होइन । लाग्दो हो यस्तैयस्तै … । तर के त बन्द बाकसदेखि बाहिर चिहाउन परिवर्तन भनिँदो ती ज्वालामुखी विस्फोटबाट कुनै चिरा फुटेको छ
 

परिवर्तन भन्नु बिहानको चटनी-भात र बेलुकीको भात-चटनीको उल्टापुल्टामा मापन गर्नुपर्ने अवस्था छ । दैनिक उही रुटमा उही लोकल बसको शरणागत भई कार्यालय धाउनु । दैनिक उही भात होटलको बेन्च तातो पार्नु । दैनिक 'केही गरौँ' भन्ने हाकिमको थेगोमा अभ्यस्त हुनु । दैनिक सहकर्मीहरुको निरपेक्ष सङ्गतिबाट न साथ भइएको न विरानिएको अनुभूतिमा टोलाउनु । दैनिक 'अब त छुट्टी त भो' भन्ने बोलीमा हाइ काढ्दै चिसिएर कार्यकक्षबाट ओरालो झर्नु ।
 

परिवर्तनको भुलभुलैयामा हामी जिन्दगीको राजपथमा चक्रपथभन्दा टाढा कतै मोडिन भ्याएका छैनौँ । चक्रपथको उही भाउन्न पार्ने चक्कर । सीमित ।

3 comments:

  1. परिवर्तन भन्नु बिहानको चटनी-भात र बेलुकीको भात-चटनीको उल्टापुल्टामा मापन गर्नुपर्ने अवस्था छ ।
    अनी जीन्दगीको उही चक्रपथे राजपथ । अती चित्त बुझ्दो लाग्यो । साह्रै चोटिलो प्रहार छ तर राजनीतिमा भावना र भावनाको अराजक राजनीति भित्र तपाइ हामी चुर्लुम्म डुबीसकेका छन निकास हिन बाढीको बेगमा ।
    लेखन अझै प्रहारमुलक बन्दै जावोस् ।
    http://patriotnepali.blogspot.com/

    ReplyDelete
  2. परिवर्तन... उफ्! शब्द आफै रुँदै होला बिचरा! फलाक्नेहरुले परिवर्तन, रुपान्तरण, अग्रगमन आदि जे-जे फलाके पनि हामीहरुले भोगिरहेको त केवल पाखण्ड मात्रै हो, कहिले कसको, कहिले कसको। जे होस्, व्यक्तिगत जीवन र देशको स्थितिलाई सँगसँगै राखेर लेख्नुभएको परिवर्तनको सवाइ सटिक छ।

    ReplyDelete